बागमती प्रदेश सञ्चार कार्यालय लामो

अहिलेका मेरा साथीहरू

म यस्तै चिन्तनमा अल्झिरहेछु । तपाईं पनि काम कम भए वा अशक्त भए र नित्यकर्म सकेपछि केही त सोच्दै हुनुहोला हैन त, फुर्सदमा हुँदा ?

स्तनधारी धेरै प्राणिहरू समुहमा बस्न रुचाउँछन् । एकान्तप्रिय कोही पनि समागमको बेला र बालख कालमा समुह वा जोडामा वा आमासँग त रहन्छन् नै । अशक्त हुँदा वा बुढ्यौलीमा उही प्रजाति वा समुहको नजिक पर्न खोज्छन् । साथी नहुने मानिस त को होला ? मानिसका हरेक उमेर समुहमा दौँतरी हुन्छन् । सानो छँदा नजिकका होलान् भने उमेर बढ्दै गएपछि टाढाटाढाका र नाता नपर्ने बढी होलान् । महाविद्यालयतिर अध्ययन गरेको भए त विषय सम्बन्धित साथी पनि थपिए होलान् । सामाजिक राजनीतिक क्षेत्रतिर पनि चाख भएको भए ती क्षेत्रका त्यतिखेर एकै ओछ्यान र एकै थालका सहभागी पनि थपिए होलान् । कतै कर्मचारी भई काम गरेको भए त्यस फाँटका पनि सुक्रबार/शनिबारको रमाइलोमा साथ नछोड्ने थुप्रै भएहोलान् । पठनपाठनको क्रममा कति चेलाचेली आफ्ना अनुयायी र ‘सर का सर वा म्याडम का म्याडम’ भनि झुत्ती खेलेर पछिलाग्ने साथै गुरुपूर्णिमामा मात्र होइन अरु बेला पनि कोशेलीपात सहित शुभकामनारुपि चाकरी कति वर्षिय होलान् ? साँच्ची ती सबै साथीहरूमा यतिखेर को कता होलान् ? के तपाईंलाई वर्षमा एकपटक मात्र पनि सम्झन्छन् ? अथवा सम्झने कुनै सङ्केतसम्म पनि थाहा पाउनुभएको छ ? तपाईंको परिवार पनि होला अथवा नाताकुटुम्ब त पक्कै हुनुपर्छ । पहिला तपाईं सक्रिय हुँदा जस्तै तपाईंको चाख अनुसारको खानपान र चिजबिज घरमा भित्रिन्छन् कि ? तपाईंको बिचार र व्यवहारको चर्चा वा खातिरदारी हुन्छ कि अझै ? तपाईं घरमा छ वा छैन भनि वास्ता हुन्छ कि हुन्न ? तपाईंका कुरा वा सोचाई नबिराई समयमानै पूरा हुन्छ कि हुन्न ? तपाईंलाई परिवारको अभिन्न जिम्बेवार र आदरणीय देख्छन् कि अझै ? कि देख्या नदेखेझैँ गरेर तर्किन्छन् ? दिनभरिमा एक पटक पनि तपाईंलाई के कसो छ भनि सोद्धछन् कि ? कि केही अति भएर आफ्नाे बिचार भन्न बाध्यहुँदा सुन्छन् कि सुन्या नसुनेझैँ गर्छन् ? कि घटीमा तपाईंका कुरा पुरा नहुँदै ‘हुँ वा अँ’ भन्दै बाटो लाग्छन् कि बोल्यो कि पोल्योको स्थिति छ ? तपाईंलाई सञ्चो नहुँदा कतिजनाले सोधपुछ गरे वा बिरामीपर्दा कतिजना वरपर आए ? कतिजना घर बाहिरकाले मर्दापर्दा केही सहयोग पुर्‍याउन खोजे कि ? यतिखेर तपाईंका ती विभिन्न कालखण्डका अभिन्न भनिएका आफन्त र साथीहरू कत्तिको भेटिन्छन् ? कोही अझै साथलाग्न खोज्छन् कि ? म यस्तै चिन्तनमा अल्झिरहेछु । तपाईं पनि काम कम भए वा अशक्त भए र नित्यकर्म सकेपछि केही त सोच्दै हुनुहोला हैन त, फुर्सदमा हुँदा ?

स्थति
अँ, विभिन्न सेवामा रहेर सेवानिवृत्त भएपछि सक्षम हुँदा त योग्यता अनुसार काम गर्दा समय गएको पत्तै हुँदैन । बाहिर जाने काम नभए घरमा कत्ति कत्ति । हिजोसम्म परिबारका अरु सदस्यले गर्ने कामनै सघाइदिँदा नि धेरै काम हुन्छ र समय काटन पनि सजिलो हुन्छ । सकेसम्म कम बोल्ने र लुरुलुरु काममा लागि रहने । जाने र मनलागे भान्छाकै काम सघाउँदा पनि घरका अरुलाई धेरै हलुँगो हुन्छ । हुन त, तपाईंको काम कत्तिको मन पराउलान् भन्ने चाहिँ आआफ्नाे स्थान अनुसार हुन्छ है । तर शारीरिक दुर्बलता र बुढ्यौलीले गाँज्दा भने व्यक्तिका चलखेल सिमित हन्छन् र अलि पराधिन हुँदो रहेछ । त्यस्तो अवस्थामा मनमा लागेका जस्तो कुरा भए पनि, जसरी भनेपनि चुपचाप सुन्ने र मुख फर्काएर चित्त नदुखाउने साथी हुँदामात्र आफू अशक्त भई सिमित स्थानमा रैथाने भइदिँदा मज्जा लाग्दो रहेछ । आफू शारीरिकरुपले अशक्त वा बुढ्यौली लागेर थन्किएपछि आफ्ना कुरा सुनिदिने, झर्को नमान्ने, सके सञ्चो बिसञ्चो सोध्ने, मद्धत गर्ने, नसके मौनरही दुःख प्रकट गर्ने पो साँच्चो साथी हुँदारहेछन् । अझ जानेका राम्रा, घतलाग्दा र फाइदा पुग्ने कुरा एक-अर्कामा साटफेर गर्ने पाए त झन समय काट्न सजिलो हुँदोरहेछ । घुस्घुसे, कञ्चुस, स्वार्थी, रिसाहा र ठग त बेकामे हुँदारहेछन् यस्तो अवस्थामा । परिवार र नाता कुटुम्बमा पहिलेको जस्तै भनेको मान्ने र ईच्छा गरेको बेला खानपिन र तातोचिसोको ख्याल गरेपो मसक्क केही गर्ने अझै आँट आउँथ्यो होला । आफ्नाे काम आफैँ गर्न नसक्ने भएपछि अझ धेरै सन्तोषी बन्नु चाहिँ आफ्नै हितमा हुन्छ, आग्रहकारी बन्नु दुखःको बाटो बनिँदो रहेछ । दिन काटे रात कसरी काट्नु, रात काटे दिन कसरी काट्नु भन्नेपर्‍या अवस्थामा, कोही नकोही वा केही साथी चाहिँदो रहेछ, नत्र त बिलौना कस्ले सुन्ने र मन कसरी बुझाउने ? साथीहरूसँग म चैँ रमाइरहेको छु । वास्तवमा रमाउने भनेकै साथीहरूसँग रहेछ ।

हिजो मेरा काम र ध्यान अन्यत्र छिरोलिएका थिए । जेजस्तो काम गरियो त्यस्तै साथीहरू बनेका थिए । पढुन्जेल सहपाठीहरू साथी भए, कोही त सँगै खाने सुत्ने समेत । म नगए पढन नै नजाने, मैले नखाए नखाने, अझ एउटै थालमा जुठो पनि खाने । घरमा दिइएको खर्च समेत मेरा लागि खर्च गर्ने । कति धेरै माया गर्ने, कत्ति छुट्टिन नखोज्ने । घरघरमा मनाइने चाडबाडमा समेत सँगै बस्न खोज्ने । साथी त छाँया जस्तो, हलगोरु जस्तो सँगसँगै । विद्यालयको पढाई सकेर महाविद्यालय प्रवेश गर्दा त पास हुने मात्र भेटघाट हुनथाल्यो, कत्ति साथ छुट्ट्यो गनि साध्यै भएन । एक दुई पुराना अरु सबै नयाँ साथी पो थपिए । अझ विषय मिल्ने पो थप साथी हुन पुगे । उमेर बढ्दै थियो, धेरै कुरा परिवर्तनसँगै चाहना, ईच्छा र आकर्षण पनि थपिने घट्ने हुँदै थियो । हिजो सर्वश्व लाग्ने बिस्तारै टाढा हुँदै थिए ।

मैले आफू गतिविधि कम गर्ने र धेरै गर्न नसक्ता मेरा साथदिने को होलान् भनि हेक्का नै राखेको थिइन । अब साथीहरू छैनन् वा कम भए भनेर, जहान वा नाताकुटुम्बले पत्याएनन् भनेर निराश हुने होइन । बरु आफ्नो अनुकुलका जोड्न पो थाल्नु पर्छ । नयाँनयाँ साथी आफूलाई सघाउने वा मनपर्ने स्वभावका जोड्नु पर्छ किनकी तिनीहरूमात्र तपाईंको धनसम्पति वा जायजेथाको आकाङ्क्षी हुँदैनन् । उनीहरू त भेटे पिच्छे ‘कस्तो छ ? कत्तिको रुच्छ ? औषधिले फाइदा पुगेको त छ ? अब कहिले जँचाउन जाने, म पनि आउँ ? अस्ति जचाउँदा के भने डाक्टरले ? अलि सञ्चो होला भन्यो ?’ भनेर सोध्छन् अथवा आफ्ना गतिविधि सुनाए पनि सुनिरहन्छन झर्को नमानी र जसोगरे पनि यसबेलामा त्यसै हो भनि सान्त्वना दिइरहन्छन् । अब हेर्नोस्न, म बाहिर जाइआइ गरिरहन सक्दिन, प्रायः अहिले मेरा अभिन्न साथीहरू पहिला कहिल्यै ध्यान नदिइएका तीन थरीका सन्निकटहरू भएका छन् । समयक्रमले विभिन्न लालसामा नजिक परेका पुराना हराए, यतिखेरका मेरा साथीहरू चैँ मैले आफैँ रोजेको हो । ती मलाई मन पर्छन्, मप्रति सहिष्णु छन् र साथ नछोड्ने हुँदा मलाई मन परेका छन् । उनीहरू जस्तोसुकै अवस्थामा मौन भई मेरा कुरा सुनिरहेझैँ तथा म जसरी सोचिरहेको हुन्छु, सहमति जनाएको जस्तो लाग्छन्, केही प्रतिवाद वा घोचपेच गर्दैनन् । आफूलाई क्या सन्तोष लाग्छ ! ती मेरा वरपर रहन्छन् र मौन सामिप्यतास्वरुप टुलुटुलु हेरेर मलाई समर्थन गरिरहन्छन्, जसोगरे पनि केही भन्दैनन् । तिनको यसो चर्चा गरौँ है त !

कोठाकै भित्ता मेरा साथी
म अचेल करिब घटीमा सोह्र घण्टादेखि बाईस घण्टासम्म यी मित्रहरूसँग नै हुन्छु । मेरा कोठाका चार दिशाका चार भित्ता र छत समेत पाँच भाइ प्रेमपूर्वक मलाई नियाली रहन्छन् । मैले बसेर वा पल्टेर जसो गरे पनि केही भन्दैनन् । कोठामा बसुन्जेल हेरिरहन्छन्, दिक्क हुँदा निन्याउरो देखिन्छन्, अँध्यारो भएझैँ गर्छन्, खुसी हुँदा मसक्क मस्किएझैँ लाग्छन्, उज्याला देखिन्छन् । मेरो मनोविज्ञानसँग निकै तादात्म्यता राख्छन् । यिनीहरूले मलाई हुरी बतास, झरीमा जोगाएका छन् र तातो चिसो बाहिरको वातावरणबाट पनि सुरक्षित राखेका छन् । अहिलेसम्म आफ्नाे स्वभावमा स्थिर छन्, समाजको मानविय मौसमी रङ अनुसार रङ फेरेका पनि छैनन् । कहिलेकाहीँ बाहिर जाँदा ‘बसिराख्नु, मेरा किताब, औषधि, ओछ्यान तथा लुगाहरू जहाँको त्यहीँ सुरक्षित राख्नु र यताउति नपार्नु नि’ भनेर हिँड्छु, मौन स्विकृती दिन्छन् र फर्केपछि यसो नियाल्छु तलमाथि गरिदिएका हुँदैनन्, अनि धन्यवाद भन्छु, खुसीले उज्याला हुन्छन् । कहिलेकहीँ कोही मनुवा पसेर तलमाथि गरेका दिन, भित्र पस्दा बिचराहरू अशक्तताको घोसेमुण्टो लगाएर याचना गरिरहेझैँ, सजल नेत्र बिस्फारीत गरिरहेझैँ लाग्छ । के गर्नु, रैथाने मित्रहरू एकछिन ठुस्सिएपछि आफ्नाे पनि मनले मान्दैन अनि ‘भैगो एकपल्टलाई, अबदेखि रोक्नु है’ भन्छु, खुसीले पुलकित हुन्छन् र उज्याला देखिन्छन्, फेरि कुनैदिन बिगारी दिनेलाई केही भनेर बर्बराउँदा उनीहरू मेरो कुरा सुनेर कोही आएर मलाई नै झम्टे के गर्नु भनि सोचमग्न अथवा बिलखबन्दमा परेझैँ गर्छन् ।

यस काममा बिजुलीको प्वाल टालेको पातोमा रहेका काला किलाको देखिने टाउकोले चक्षु अभिव्यक्तिको राम्रो भूमिका खेल्दछ, ती काला नानी कति खप्पिस भित्री कुरा भन्न ? अस्तिन त्यसोहुँदा मैले बिर्सेर बर्बराउँदा ‘प्रवेषी’ले थाहापाई आएर मलाई थुर्नुथुर्दा बिचराहरू कम्ता शोकमा परे र ! धेरैबेर उदास र निलोकालो अनुहार लगाएर रहे । थुराई खाँदा बोल्ने आँट नभएकाले प्रवेषीको अगाडि त बोल्न सक्तिन, ऊ गएपछि मैले नै ‘यस्तै हो, मेरो पुरानो अहम बिनासित्ती जागेर आफैँले गल्ति गरेँ, चुपलाग्छु भन्छु, अति भएपछि फुत्किन्छ, तर बेला त चुपलाग्ने हो नि, मेरै गल्ति भयो । भैगो, अबदेखि गल्ति दोहोर्‍याउन्न’ भन्छु, साथीले अब भनाइ खानु नपर्ला भनेर उनीहरू खुसी हुन्छन् । त्यसपछि हेर्छु, बिजुलीको प्वाल खुसीले रातो हुन्छ अनि काला किला टाउके आँखा चम्किला देखिन्छन् । मेरो बिचारमा पक्कै मेरो आत्मआलोचना र स्विकारोक्तिमा मस्केर खुसीका आँसु झारिरहेका छन् । मेरा पाँच भाइ यी साथीहरू अटल, मौन सम्मती गर्ने, बिना प्रतिवाद मेरा कुरा सुन्ने सच्चा स्रोता र सधैं मेरै वरपर साथदिने अन्यान्य मित्रमा दरेको छु ।

साथी बनेका झ्याल र ढोका
गर्मी र जाडोमा मौशम अनुसार खोल्दा र लाउँदा मैले छोइदिएको मख्ख पर्छन् मेरा कोठाका झ्याल र ढोका । नचाहिने बेला खुल्ने र लाग्ने नगर्नु भनि सम्झाउन जोर्तीमा साना ग्वाँख राख्दिन्छु, अनि त मरे हल्लँदैनन् । बरु बेलाबेला मेरो मित्रताको सद्भाव ठानेर त्यही ग्वाँखमा आड लागिरहन्छन् । यसो बाहिर बतास चले चेपबाट हावा छिरेको जानकारी दिन सिट्ठी बजाएजसरी सुईंईं गरिदिन्छन्, म ठिक बेठिक छुट्ट्याएर पर्दा लगाई दिउँ कि झ्यालढोका नै खोलुँ केहि भन्दैनन् । अँ, पर्दा लगाए अलि उत्सुक हुन्छन् र चियाएर म के गर्दै छ भनि हेर्छन् । आफू मनखुसी लाग्ने बन्द हुने गर्दैनन्, मेरो अह्रोट मान्छन् । दिउँसोको हावा, घाम र उज्यालो मनग्य कोठाभित्र छिर्न दिन्छन् र राती बत्ति निभाएर सुत्दा सडकको उज्यालो अलिकति छिराएर शौँचालय जान सजिलो पार्छन् । चिसो हुँदा लगाए पनि प्राणवायु चाहिन्छ भनि चेपबाट बिस्तारै छिराउँछन् । मेरो धेरै कुरा ख्याल गर्ने ती मेरा असल शुभचिन्तक मित्रहरू कहिल्यै साथ छोड्दैनन् । यिनीहरू मेरा दोस्रो तहका अन्यन्य मित्र भनि यिनैसँग रमाइरहेछु ।

ओछ्यान नै प्रिय साथी
मेरो ओछ्यानमा केहि सहभागी छन्, टाउकोतिर दुईटा तकिया- एउटा टाउको राख्न अर्को एउटा हात राख्न, गोडातिर दुईटा तकिया- एउटा पाइताला अड्याउन अर्को घुँडा राख्न, सिरक र तन्ना सहितको डसना आ-आफ्नो ठाउँमा । राती खुट्टा करकर खान लाग्दा तलका दुई तकिया आफ्ना ढाडमा खुट्टा राखिदिन अनुनय गर्छन्, कुम दुख्नखोज्दा माथितिरको एउटा तकिया यता ल्याउने कि भनी विनय गर्छ, मित्रहरूले भनेको मान्नै पर्‍यो, बिचराहरू मेरा जर्खरिएका गोडा आफ्नै थाप्लामा राख्न पनि दिन्छन्, कति मायालु छन् । ओल्टन पल्टन ज्यान लाटो र गह्रुङ्गो भएर गाहारो हुन्छ, बिचरा खाट चुइँक्क चुइँक्क गरी मसँग दुःख व्यक्त गरेको लोली मिलाउँछ । डसना मलाई सजिलो पार्न चारहातको भए पनि गाहारो होला एकै ठाउँ सुत्नोस् भन्छ र सुत्छु, उसैको त्यो भाग दबेर खाल्डो परिसक्यो त्यैपनि अईया भन्दैन, सहिरहन्छ ।

खाटसँगैको सानो टेबलमा लहरै औषधि छन्, कुनपछि कुन खाने पँक्तिबद्ध बसाएको छु, आफ्नो ठाउँमा नै बस्छन्, मिसिएर मलाई अल्मल्याउँदैनन्, त्यसैले राती बत्ति नबाल्दा पनि छामेरै थाहा पाउँछु र सेवन गर्छु । दिउँसो प्रायः आफ्नै ठाउँमा पट्टिएर सिरक बस्छ भने सबै सिरानी मेरा ढाड पछाडि आडा दिन जुर्मुराउँदै बिहानै आउँछन् भने सिरक प्रातः नित्यकर्म गर्न म नउठेसम्म मलाई न्यानो गर्न मैमाथि सुकोमल तरिकाले पसारिरहन्छ । म उठेपछि आङ तान्दै सिरक आफ्नो ठाउँमा गुडुँल्किन्छ, तन्ना एकफेर तङ्ग्रिन तन्कन्छ । धेरैजसो बिहान ८.३० सम्ममा यी मित्र यथास्थानमा आसन जमाइसक्छन् ।

अर्को रमाइलो साथी कौशी
अरुलाई बाधा पर्दैन र छ भने मजस्तालाई कौशी र आँगनतिर हल्लनु रमाइलो हुँदो रहेछ । यसो कौशीतिर उक्ल्यो चारैतिर हेर्‍यो, रङ्गी बिरङ्गी कति घर बनिसके ? कति घरमा तला थपियो ? अनि कुन घरले कति तला किन थप्यो होला ? एकछिन चिन्तन गर्‍यो, यसो गर्‍या भए हुने, उसो गर्‍या भए हुने, किन नगरेको होला भन्नेमा मनोगत छलफल गर्‍यो, कति समय जान्छ पत्तै हुँदैन । अनि भेट भएका साथीलाई सुनायो । एक भेट त त्यसैमा बित्छ । अँ, कौशी अलि अग्लो ठाउँमा भए थप मज्जा, टाढासम्म देखिन्छ, सूर्य र चन्द्रमा उदाउँदो अस्ताउँदो हेर्न सकिन्छ भने जाडोमा ढाड सेकाउन पनि पाइयो । अझ उपत्यकामा भए वरपरका डाँडा र तिनका विभिन्न तहमा बनेका पैसा र घमण्डका खात अर्थात मठ, मन्दीर, गुम्बा, रिसोर्ट आदि । अथवा बेचेर नसकेको भए बोट बिरुवा र जङ्गलका आकार प्रकार तथा उज्यालो पर्दा तिनमा देखिने कान्ति । अहा, कति मनमोहक हुन्छन् ती सब ।

मध्यपहाडमा तपाईं बस्दै गरेको भए त हिमालय पनि देखिन्छ कि ? देखिए त कुन चुचुरा देखियो कुन बादलले छोप्यो र कुन समय प्रष्ट देखिन्छ ? कुन चुचुरा वा श्रृङ्खलामा हिँउ कम छ कुनमा ढाकिएको छ भनि गहन चिन्तन मनन गर्न पाइयो र थाहा पाएर हौसिन पाइयो । नदेखिएको हेर्न फेरि जान समय सोच्यो अनि मनोविनोद गर्न पाइयो । त्यतिमात्र कहाँ हो र ? त्यो ठाउँ भएर कति, कति बगाल, कुन प्रजातिका चरा कता जान्छन् ? किन जान्छन् होला ? कताबाट आउँछन् होला ? चारो कता टिप्छन् होला अनि बास कहाँ बस्छन् होला ? आदि जैविक तथा वातावरणीय विषयमा पनि बडो विषद गम्भीर चिन्तन गर्न सकिन्छ, त्यसमा अल्झँदा त समय त कति सकिन्छ कति ? समय बिताउन कति सजिलो ? त्यसपछि भेटमा साथीभाइसँग नयाँ विषयमा गफ गर्दा, त्यहाँ पनि समय कट्छ मज्जाले, आआफ्नो तर्क राख्न सक्छन्, जानेको अनुभव भन्न सक्छन् र सम्भावना भन्न सक्छन् ।

कोरोना महामारीपछि कौशी बगैँचाको हल्लाले सहरियालाई च्यापेको छ । सोखका लागि पनि गमलामा फूल तथा कलमी बिरुवा लाउने र सामाजिक सञ्जालमा ईख्याउने बग्रेल्ती छन् । तपाईं पनि त्यस्तै घरमा बस्नुहुन्छ भने अनुमति लिएर यसो गोडमेल तथा सिँचाईमा सहभागी हुन सक्नुहुन्छ । हेर्नास्, त्यतिमाथि पुतली र माहुरीहरू आइपुग्छन् कि ? कुनै प्रजातिका कीरा देखा पर्छन् कि ? चिप्लेकीरा, गँड्यौला, खुम्रे र लाहीकीराहरू लाग्या छन् कि ? कसरी त्यहाँ, त्यति माथि पुगे होलान् ? बडो गहन अनुसन्धान गर्नुपर्ने हुन्छ थाहा पाउँन । अनुमति प्राप्त छ भने कौशीमा रहेका बिस्कुन र सुकाएका लुगाहरू तयारी भएका छन् भने उठाइदिन सक्नुहुन्छ । तर अनुमति नभए त्यस्तो आँट नगर्नोस् नि, फेरि अर्को झँटाई भेट्न बेर लाग्दैन । त्यसरी तपाईंको समय पनि अघि बढ्छ अनि काम पनि हुन्छ, नतिजा थाह भए, सरोकारवालाले करबल कृतज्ञता जाहेर गरे तपाईं कति मख्ख, होइन त ? यही कुरा भेटिने साथीसँग नयाँ विषयमा गफिँदा कम्ता मज्जा आउला ? ज्यान पनि कसरत हुने मज्जा पनि आउने, फाइदै फाइदा ।

आँगनकै छेउकुना
कौशीमा उक्लन गाहारो भए आँगनतिर ओर्लेर हल्लिनु मजै हुन्छ । आँगन वरपर त्यता गमला छन् वा करेसाबारी यसो बिचार्नोस् त । गमलामा त कौशीकै प्रक्रिया भइहाल्यो, करेसाबारीमा अझै कसरत गर्ने ठाउँ हुन्छ है । तुलनात्मक हिसाबले कौशीभन्दा बढि झारपात जमिन र नजिक ठाउँमा उम्रन्छन् । झारपात केलाउन नै धेरै समय लाग्छ, गन्धे, कुरो, कालीमुन्टे, सिरु, थाकल आदि उम्रने प्रसस्त संभावना हुन्छ, तिनको गोडमेल बहुत आवश्यक हुन्छ । त्यस्तै, मौसमी तरकारी, सागपात, अल्पकालिन बोटबिरुवाहरू तथा दीर्घकालिन फलफूल र सदाबहार बोटबिरुवा कता रोप्दा र सार्दा राम्रो त्यो गर्न सक्नुहुन्छ । अनुभवीले मात्र सबै काम नलाग्ने झार चिन्छन् र बोटबिरुवाको सप्लाउने तरिका थाहा पाउँछन्, तपाईंको अनुभव गज्जब कामलाग्छ, त्यसबाट तपाईंको समय काटिने र श्रम गरेर सन्तोष प्राप्त गर्न सक्नुहुन्छ । त्यस्तै, घरकाले पालेका कुकुर, चराचुरुङ्गी छन् भने तिनको पानी र खानाको अवस्था अनि सफाईमा ध्यान दिएर अनुकुल बनाइदिन सक्नुहुन्छ । धारो, ईनार र पानीको स्थितिको आँकलन गरी पानीको जगेर्ना गर्न सक्नुहुन्छ । बरु अनुमति लिन चैँ नबिर्सनोस्, नत्र आफू ताक्छु मुढो, बन्चरो ताक्छ घुँडो होला ! मलाई कहिलेकाहीँ बिब्ल्याँटो परेकाले सम्झाई हाल्या !

अन्त्यमा
बाहिरफेर गएर काम गर्न सक्ने शारीरिक अवस्था छ भने सकेसम्म बढि समय काममा लाग्न कोशिस गर्नुहोस् । काम नै नभए पनि दिनमा एक पटक सकेको र ईच्छा लागेको ठाउँतिर घुमफिर गर्नुहोस् । बाटोघाटोमा आएका परिवर्तनबारे आनन्दमानी विश्लेषण गर्नुहोस् । सकेसम्म हरियोपरियो बोटबिरुवा भएतिर आफ्नो भ्रमण क्षेत्र बनाउनुहोस् । आफ्ना उमेर समुह र बिचार समुहका महिला पुरुषहरूसँगको भेटघाट बढाउनुहोस् । यदि शारीरिक अवस्था धेरै चलखेल गर्न नसक्ने छ र पढ्नलेख्न मन लाग्छ भने मनपर्ने राम्रा पुस्तकहरू जम्मा गरेर पालैपालो पढ्न प्रयाश गर्नुहोस् । यो बानी त घुमफिर गर्नसक्ता पनि गरे हुन्छ । पढ्ने एकाग्रताले परिवारसँग अनावश्यक वादविवादबाट पनि बचिन्छ । पढिसकेपछि ससानो टिप्पणी लेख्नेगरे झन राम्रो, चाहिएको बेला उल्लेख गर्न सजिलो हुन्छ । शरीरको अवस्थाले साथ नदिएर तथा बुढ्यौली लागेर घरपरिवार वरपर नै तपाईं सिमित हुनुहुन्छ भने केहि कुरा पहिला गर्नेभए पनि अब सुधार गर्नोस् । हैकम, आदेश, ठूलो स्वर, हकारपकार, गाली, रिस, सल्लाह, जस्ता शासकीय गुण छोड्नोस् । कम बोल्न थाल्नोस्, कसैले केही भने पनि कडा प्रतिक्रिया नदिनोस्, सुनिरहनोस्, थोरै कुरा भन्नोस् । अरुलाई मनपर्ने काम मनलागे गर्नोस् नलागे केहि नभन्नोस्, सहनशील हुनुहोस् । आफूलाई चाहिने र आवस्यक कुरा समयमा नपाए पनि केही नभन्नोस्, दिने सरोकारवालाले भ्याएनन् होला भनि चित्त बुझाउनोस् । खाना पनि जे पाइन्छ बुद्धले जस्तै ज्यानराख्न हो भनि निशङ्कोच मिठोमानेर खानुहोस्, मिठोलाग्ने र ईच्छा लागेको खानेकुरा नभए पनि निर्धक्कसँग बाँचिन्छ भनि सन्तोषी बन्नुहोस् ।

अति आवस्यक आफ्ना कुरा आफैँले पुग्ने ठाउँमै राख्नोस्, कसैलाई सोध्ने वा माग्ने नगर्नोस् । आफूले गरेका असल र सार्वजनिक काम सम्झेर मख्ख पर्नुहोस्, सुन्न ईच्छा गर्ने साथीभाइलाई भने पनि परिवारमा नभन्नु होस्, उनीहरूलाई सँधै सुन्दा झर्को लाग्छ । परिवारकाले जे गरे पनि अहा कति राम्रो भन्ने आँट गर्नुहोस् । भविष्य अब के हुन्छ र भनि चिन्ता नगर्नोस् बरु जति बाँचिन्छ आनन्द लाग्ने कुरा सोचिन्छ र बाँचिन्छ भनि प्रफुल्ल रहनुहोस् । अब गर्न सक्ने यति नै हो ।

ल.पु. चालिसेडाँडा
२०७८ मङ्सिर ७

लेखकका यस्तै अन्य सामग्रीहरू
१. बुढ्यौलीमा हामीले गर्ने कामहरू, फित्कौली डट कम अनलाईन, २०२१ दिसम्बर २८
२. हामीले किन यस्तो भोग्छौँ ?, फित्कौली डट कम अनलाईन, २०२२ जनुवरी ११
३. हामी जता भए पनि !, फित्कौली डट कम अनलाईन, २०२२ फरबरी ४
४. हामी यस्तैमा छौँ साथीहरू !, परिसम्बाद डट कम अनलाईन, २०२२ फरवरी ९
५. हामीलाई फुर्सद छैन, के गर्नु ? (१), फित्कौली डट कम अनलाईन, २०२२ फरबरी १७
६. हामीलाई फुर्सद छैन, के गर्नु ? (२), फित्कौली डट कम अनलाईन, २०२२ फरबरी २४
७. हामीलाई फुर्सद छैन, के गर्नु ? (३), फित्कौली डट कम अनलाईन, २०२२ मार्च ५
८. हामीलाई फुर्सद छैन, के गर्नु ? (४), फित्कौली डट कम अनलाईन, २०२२ मार्च २०
९. कसरी पाटी बन्दैछन् घरहरू.. मकालुखबर डट कम अनलाईन, १४ चैत्र, २०२२ मार्च २९
१०. हामीलाई फुर्सद छैन, के गर्नु ? (५), फित्कौली डट कम अनलाईन, २०२२ मार्च ३१
११. हामीलाई फुर्सद छैन, के गर्नु ? (६), फित्कौली डट कम अनलाईन, २०२२ अप्रिल १३
१२. बृद्धभत्ता- पहेँला अक्षता कि पिण्ड हो ? मकालुखबर डट कम अनलाईन, २२ चैत्र, २०२२ अप्रिल ६

बागमती प्रदेश सञ्चार कार्यालय लामो
हामीलाई फुर्सद छैन, के गर्नु ?(६)

हामीलाई फुर्सद छैन, के...

डा. मुकेशकुमार चालिसे
हामीलाई फुर्सद छैन, के गर्नु ?(५)

हामीलाई फुर्सद छैन, के...

डा. मुकेशकुमार चालिसे
हामीलाई फुर्सद छैन, के गर्नु ?(४)

हामीलाई फुर्सद छैन, के...

डा. मुकेशकुमार चालिसे
हामीलाई फुर्सद छैन, के गर्नु ?(३)

हामीलाई फुर्सद छैन, के...

डा. मुकेशकुमार चालिसे
हामीलाई फुर्सद छैन, के गर्नु ? (२)

हामीलाई फुर्सद छैन, के...

डा. मुकेशकुमार चालिसे
हामीलाई फुर्सद छैन, के गर्नु ?(१)

हामीलाई फुर्सद छैन, के...

डा. मुकेशकुमार चालिसे
हामीलाई फुर्सद छैन, के गर्नु ?(६)

हामीलाई फुर्सद छैन, के...

डा. मुकेशकुमार चालिसे
हामीलाई फुर्सद छैन, के गर्नु ?(५)

हामीलाई फुर्सद छैन, के...

डा. मुकेशकुमार चालिसे
हामीलाई फुर्सद छैन, के गर्नु ?(४)

हामीलाई फुर्सद छैन, के...

डा. मुकेशकुमार चालिसे
हामीलाई फुर्सद छैन, के गर्नु ?(३)

हामीलाई फुर्सद छैन, के...

डा. मुकेशकुमार चालिसे
हामीलाई फुर्सद छैन, के गर्नु ? (२)

हामीलाई फुर्सद छैन, के...

डा. मुकेशकुमार चालिसे