साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पाका मान्छेलाई एक्लो नपारौँ !

लगातार साथीभाइ र परिवारले त्यस्तो गरेमा निदाउन नसक्ने, शरिरको प्रतिरोधी क्षमता घटने, खान मन नलाग्ने र अरु अनौठा लक्षण देखापर्न सक्छ ।

Nepal Telecom ad

संसारमा भौतिक विकाससँगसँगै मानिसका स्थापित मूल्य र सामाजिक मान्यतामा निकै फेरबदल हुँदै आाएको छ । अझ आधुनिकताको नाममा पैसो केन्द्रीत बजारबाद, खुलाअर्थनीति र यान्त्रिक उन्नतिले मानिसका मानविय आदर्श एक प्रकारले सस्ता र आत्मकेन्द्रीत भएका छन् । अहिले आदर, अदब, शिष्टाचार, नैतिकता, धक, शरम, लज्जा, गुनमान्ने र गुन लगाउने सबै धेरैका लागि अनौठो शब्द बनेका छन् । यस्ता प्राकृतिक र मानवनिर्मित आदर्शका कुरा अझै कतै छन् भने भएकाहरू वा पालना गर्नेका लागि पनि परम्परागतभन्दा फरक शब्दार्थमा अभिव्यक्त हुन्छन् । हिजोसम्म प्रयोग हुने शब्द नै हराएझैँ भएका छन् भने फरकफरक भूगोल र समुहमा बोलिने मानव समुहका मौलिक भाषिक प्रयोग पनि घुलनशीलताले छ्यासमिस भएका छन् । त्यसैले होला खासखास समुहमा प्रयोग हुने आदरार्थी शब्दहरू बेढङ्गले प्रयोग हुने गरेका छन् । त्यस्तो भाषिक भिन्नताको प्रत्यक्ष प्रभाव पुस्तान्तरणमा खल्लोपन उम्रिदै गएको पाइन्छ । नयाँ पुस्तालाई त आफ्नै मनमोजी छँदैछ, पिरलो त पुराना पुस्तालाई पो छ ।

आजका पाका मान्छे नेपालमा भौतिक र राजनीतिक उथलपुथल अधि र प्रारम्भ कालका उपज हुन् । शिक्षादीक्षा र पारिवारिक अनुसाशन आजकाले कम कल्पना गर्नसक्ने स्थितिबाट उहाँहरू हुर्किएका हुनुहुन्छ । आफूले बालककालमा सिकेका कुरानै ध्रुबसत्य ठानेर अघि बढेका र कष्ट सहेरै भए पनि परिवारको आजको स्थितिमा ल्याइपुर्‍याएका हुन् । यतिखेर आफूले सोचेको र ठम्याएको सत्य नयाँ पुस्ताले नपत्त्याउँदा वा अर्घेल्याईं गर्दा कति चित्त दुख्दो हो ? बाहिर घुँक्क गरी डाँको छोड्न नसके पनि मनमनै कति रुनुहुन्छ होला ? जीवनमा हण्डरठक्कर पाएका, अनुभवी र बुझक्की पाका मान्छे त्यसैको फल एक्लो हुन रुचाउँछन् र मान्छेका झ्याउँझ्याउँ भन्दा एकान्त खोज्न थाल्नुहुन्छ । एकान्तप्रिय हुनु त्यति राम्रो र सामाजिक स्वभाव होइन, यसले परन्तुमा पाका मान्छेमा समस्या र रोगव्याध उब्जाउँछ ।

एकान्तप्रिय र सामाजिक बहिस्कारको सोच
अहिलेका पुस्ताको लवाईखवाई, बोलीचाली र समाजिक मर्यादालाई अलग ढङ्गले प्रस्तुत गरिएकोमा एक किसिमको दृढ स्वभाव र मनोविज्ञानमा हुर्केका पाका मान्छेलाई खपिसक्नु हुन्न । पारिवारिक मोहले सम्झाईबुझाई गर्दा पनि नभएर उल्टै आफूभन्दा कम उमेरकाले उतर्सिदा वा मुखमुखै लाग्दा पाका मान्छे आफूलाई एक्लो र बहिस्कृत सम्झन थाल्छन् । बिस्तारै चुपलाग्ने वा प्रतिक्रिया नदिने अवस्थामा पुग्दा उहाँहरू एकान्त रुचाउने र समाजिक रुपले आफू अलगथलग भएको अनुभूति गर्न थाल्नुहुन्छ । प्राय भिडभाड नरुचाउने, सकृय वयस्कहरूका जमघटमा नजाने र आफूभन्दा कम उमेरका परिवारका सदस्यसँग पनि त्यति बोलचाल नगर्ने हुन थाल्नुहुन्छ । यस्तो हुन थाल्यो भने परिवारले जिम्बेवारीपूर्वक सोच्नै पर्छ । यस्तो लक्षण देखापर्नु पाका मान्छेहरू बिस्मृतिमा जाने कुलक्षण हुन् र यसलाई समाधान गर्न लामो औषधिको प्रक्रिया पुर्‍याउनु पर्ने पनि हुनसक्छ ।

अमेरिकी विज्ञान, इन्जिनिएरिङ र चिकित्सा राष्ट्रिय प्रतिष्ठानको रिपोर्ट अनुसार भौतिक उन्नतिको चुलीमा पुगेको भनिएको अमेरिकामा ४५ वर्ष माथिका वयस्कहरू मध्ये एकतिहाइभन्दा बढीले एक्लोपन अनुभव गर्दछन् । त्यस्तै ६५ वर्ष माथिका पाका मान्छेले आफू सामाजिक रुपले बहिस्कृत वा अलगथलग भएको अनुभूत गरेको दुखेसो पोखेका छन् । सामाजिक रुपले व्यक्तिवाद प्रभावी भएर पारिवारिक व्यवहारले त्यस्तो भएको छ भने कतिपयको एकल हुनु, परिवारका सदस्यहरूको अल्पायुमै देहावसान हुनु, असाध्य रोगले परिवार र साथिभाइबाट अलग पारिनु, ज्ञानेन्द्रीय विशेष गरी कान नसुन्नुले पाका मान्छेमा त्यस्ता समस्या भएका छन् ।

एकान्तपन वा एक्लो अनुभूति सामाजिक सम्बन्ध र सम्पर्कको अभावमा आउने मनोवैज्ञानिक भावना हो । यस्तो जति मात्रामा भए पनि व्यक्तिको सहने क्षमता र स्वास्थ्य अवस्थामा पनि निर्भर गर्दछ । सामाजिक रुपले अलगथलग भए पनि नभए पनि परिस्थिति मन नपर्ने वा जानेकोभन्दा फरक परे पनि व्यक्तिले सामाजिक अलगाव महसुस गर्न सक्छ । यस्तो स्थिति धेरै रहनु स्वास्थ्यको हिसाबले कुनै उमेरसमुहलाई ठिक होइन भने पाका मान्छेलाई त हुँदैहुन्न । बाउआमा दुबै काममा व्यस्त र परिवार एकल भई हेरचाह नपुग्दा र आफ्ना कुरा नसुनिदिँदा बालबालिकाहरू बिस्तारै एक्लो महसुस गर्न थाल्दछन् भने युवाहरू सोचे विपरित परिस्थिति बन्दा हुनसक्छन् । पाका मान्छेको कुरा कम उमेरकाले नसुनी दिँदा वा म्यादगुज्रेको गनगन भनी उडाउँदा आफ्नो अपमान भएको अवस्थामा बिस्तारै मानिसहरूबाट अलग्गिन्छन् । यस्तो धेरै समय भएमा कमजोर शारीरिक अवस्थाका पाका मान्छेमा थप अरु रोगले पनि च्याप्छ । अमेरिकी सेवानिवृत्तहरूको सङ्गठनले तीन हजार बढी पाका मान्छेको सर्वेक्षणमा एकतिहाई भन्दा बढीले आफू एक्लो महसुस गरेको भनेका छन् । अतिसय एक्लोपनको अवसादले धेरै खतरनाक रोगहरू पाका मान्छेमा निम्त्याउने कारक बन्छ । एक्लोपनले उच्चरक्तचाप, ज्ञानेन्द्रीयको कमजोरी, उन्माद, बिस्मृति र कसैमा त मृत्यूको कारक बन्छ । आफ्ना अमूल्य अभिभावकमा पिलीपिली आँसु झारेर वा गुम्सिएर उदाश भएको अनुहार कसरी हेरिरहन सकिन्छ र ? त्यसैले औषधि गरेर पनि बाँकी जीवन थोरै भएका पाका मान्छेमा देखापर्ने यो मनोवैज्ञानिक परिणामलाई वयस्कहरूले बेलैमा हुन नदिनका लागि वा उपचार गरिहाल्नु पर्छ ।

बिस्तृत अध्ययन र मननको लागि सन्त पाउल ज्येष्ठ नागरिक सेवाको ‘पाका मान्छेमा एक्लोपनको स्वास्थ्यमा पर्ने नकारात्मक प्रभाव’ वारेमा लेखिएको आलेख पढ्नु फाइदाजनक नै होला । एक्लोपन मानसिक पीडा र दिमागी असहजताको त्यस्तो अवस्था हो जस्मा व्यक्तिले आफ्नो ईच्छा-आकाङ्क्षासँग समामाजिक परिस्थिति र सम्बन्धहरू विलकूल नजोडिएको पाउँछन् । उहाँहरूको वरिपरी भइरहेका कुनै पनि कुराहरू आफू अनुकुल नभएको ठम्याइरहन्छन् र समय विपरित चलिरहेको अनुभव गर्छन् । त्यस्तो भएमा कहिलेकाहीँ कुनै मान्छे त थुप्रै मान्छेको हुलमा र दिनभरीको परम्परागत विवाहको होहल्ला बिचमा पनि अति एक्लो र आकर्षणरहित जीउँदा लासहरू बिचमा भएको अनुभूत गर्छन् । त्यस्ताले जमघटको कुनै मज्जा मानिरहेको हुन्न र आफैँमा हराइरहेको हुन्छ । त्यस्तो मनमा कुरा खेलेजस्तो र टोलाएको अनुहारका मान्छेले कुनै गतिविधि गरिरहेको पनि देखिन्न । प्रतिक्रिया जनाउने स्वभाव भए मानसिक अन्तरद्वन्द्व परिस्थिति विपरित हाउभाउ उसका अनुहारमा प्रष्टै देखिएका हुन्छन् । कसैमा त एकप्रकारको चिसो ढुङ्गे अनुहार र कान्तिहिन उराठ आँखाहरू टोलाइरहेका मात्र देखिन्छन् । केही अनुसन्धान रिपोर्टहरूमा पाइएअनुसार त्यस्तो एकलोपन भइरह्यो भने मस्तिष्क प्रणालीमा नै असर गर्न सक्छ । त्यसपछि उन्माद, चिन्ताग्रस्त, आत्मलघुताभाष, अनिन्द्रा र तनावसहितको दिनचर्या बन्दछ ।

जटिल एक्लोपनका थप लक्षणहरूः
जीवनका विभिन्न कालखण्डमा एक्लो अनुभव सबै उमेर समुहलाई हुनसक्छ । त्यस्तो क्षणिक र अल्पकालिन मनस्थिति कसैलाई जोखिमपूणर् भए पनि धेरैलाई खासै फरक पर्दैन । त्यस्तो आउँछ र केही मानसिक पीडापछि नयाँ कामकुरोले हराउँछ । तर एक्लोपन र बहिस्कृत अनुभूतिले लामो समय भएमा भने सिकिस्त बनाउने लक्षण र प्रवृत्ति देखापर्दछ । त्यसो भएमा अति मानसिक पीडाबाट बच्ने उपाय क्रमैसँग गरेर पार लगाउनु पर्छ ।

असाध्य एक्लोपन के हो ?
लामो समयसम्म एक्लोपन रहन्छ र असहज सामाजिक परिस्थिति अनुभूत रहिरहनु नै मानसिक रुपले असाध्य अवस्थामा पुग्नु हो । यस्तो प्राय लगातार रुगरुगाउँदो, मायालाग्दो तरिकाले एक्लै भएको अनुभूत हुनु, अरुबाट अलगथलग र छुट्टिभिन्न हुनु र मसक्कै अरुसँग मिल्न नसक्ने तहको गुण हुनुको कारणले भएको पाइन्छ । आफूमा जहिले अभावमा बाँचेको अनुभूत हुनु, अरुभन्दा आफू जहिल्यै गरिब भएको लागिरहनु र हेपाईमा बाँचेको वा सँधै अरुले हेपिरहन्छन् भन्ने लागिरहेकाले पनि हुनसक्छ । लगातारको एक्लोपनले नियमित घुमफिरमा रौसिने मान्छेलाई पनि दुखः दिइरहेको हुन्छ । डुल्दा देखिने दृष्य र व्यक्तिहरूको क्रियाकलापले चिमोटिरहेको अनुभूत गर्ने त्यस्ता मान्छेमा घुमाई पनि बिझाउने हुन्छ र भिडमा पनि एक्लो महसुस भइरहन्छ । यस्तो असाध्य र लामो अवधिको एक्लोपनले उसको जीवनका हरेक क्षेत्रलाई नकारात्मक असर गरिरहेको पाइन्छ ।

असाध्य एक्लोपनका मुख्य सङ्केत र लक्षणहरूः
असाध्य एक्लोपनका मुख्य सङ्केत र लक्षणहरू तपाईँ कस्तो मान्छे हो र कुन परिस्थितिमा हुनुहुन्छ त्यसअनुसार सबैमा फरकफरक हुन्छ । निम्नलिखित केही वा सबै तपाईंलाई भएको अनुभूत हुन्छ भने तपाईँ असाध्य एक्लोपनको सिकार हुनुभएको छ ।

१. घनिष्ठ र आत्मिय मिल्ने साथी नहुनु । साथी त होलान तर सामान्य बोलचालका, औपचारिकताका लागि मात्र । चिन्हेको त छ तर मन मिल्ने वा मनका कुरा गर्न सकिने होइनन् । सुखदुखका कुरा गरे उल्याउलान् भन्ने डरलाग्ने साथीमात्र ।

२. कसै अरुसँग आत्मिय गहिरो सम्बन्ध राख्नै नसक्नु । तपाईँका साथीभाई होलान् र परिवारजन होलान् तर सम्बन्ध भने छिपछिपे मात्र रहनु । खुलेर एकआपसमा मसक्क कुराकानी गर्न असमर्थ हुनु । कुराकानी भए पनि सतही र चोचोमोचो मिलाएजस्तो मात्र हुनु र लाग्छ उनीहरूसँग साथ त छ तर सम्बन्ध नै छैन ।

३. जहाँ रहे पनि जोसँग साथै भए पनि सामिप्यता अनुभूत नभएर एक्लोपनको उराठिलो आँधि मनमा चलिरहनु । कुनै सभा र समारोहमा गए पनि पचासौँ मानिसको बिचमा भए पनि एक्लो, आफूमात्र र कुनै सम्बन्ध नराखेको महसुस हुनु । काम गर्ने ठाउँमा पनि आफू एक्लो र अरु एकातिर भएको लागिरहनु । हुँदाहुँदा सार्वजनिक सवारी प्रयोग गर्दा, बिहान बेलुका घुम्न निस्कँदा र व्यस्त बजारबाट हिँड्दा पनि आफूमात्रको हेक्का हुनु । लाग्छ तपाईँ आफैँमा हराई रहनुभएको छ र कसैलाई तपाईँको वास्ता छैन भन्ने कुराले मन कुँढिइरहनु ।

४. नकारात्मक सोचाईले ग्रसित भएर आफ्नो क्षमता र मूल्यको कुनै विश्वास नगर्नु । चाहिनेभन्दा आफु हरेक कुरामा कमजोर भएको लागिरहनु । यस्तै मनको पीडा र सोचाइको फल अरु खालको असाध्य एक्लोपनको सिकार होइन्छ ।
यस्तो हुनुमा परिस्थितिजन्य समस्याले थप बल पुर्‍याईरहेको हुन्छ । जस्तो तपाईँले सम्बन्ध राख्न खोज्दा वा केहिभन्न खोज्दा अरुले वास्ता नगर्ने र नसुन्ने भएकोले मन कुँढिएर समस्या थपिएको हुन्छ । अरुसँग सम्पर्क र राख्न लाख प्रयत्न गरे पनि उस्तै व्यवहार नपाएर वाक्कव्याक्क र बेवास्ता गरिन्छ भने समस्या थपिएर रोग नै देखापर्छ । लगातार साथीभाइ र परिवारले त्यस्तो गरेमा निदाउन नसक्ने, शरिरको प्रतिरोधी क्षमता घटने, खान मन नलाग्ने र अरु अनौठा लक्षण देखापर्न सक्छ ।

असाध्य एक्लोपनले स्वास्थ्यमा असरः
लामो अवधिको एक्लोपना महसुस गरिरहँदा स्वास्थ्यमा धेरै तरिकाबाट असर गरिरहेको हुन्छ । असाध्य एक्लो अनुभव भइरहँदा शरिरभित्र कोर्टिसोल भन्ने हर्मोनको मात्रा बढि उत्पादन हुन्छ । कार्टिसोल हर्मोन अति चिन्ता हुँदा शरीरमा उत्पन्न हुनथाल्छ । त्यस्तै भइरहेमा बढिमात्राको कोर्टिसोलले शरीर सुन्निने, अतिमोटो हुने, मधुमेह नियन्त्रण गर्ने ईन्सुलिन उत्पादनमा रोक लाउने, एकाग्रभएर सोच्न नसक्ने र अरु अनौठा लक्षण देखिन थाल्छन् । बेलैमा उपचार नगरिए थपअरु मनसिक र सारीरिक रोग बल्झिन सक्छ, त्यसमाः १. उन्माद २. अनिन्द्रा ३. दोस्रो तहको मधुमेह ४. मुटु रोग ५. उच्च रक्तचाप ६. मानसिक रोग र भावनात्मक बिग्रह र ७. चिजविजको गलत प्रयोग बानी ।

यसरी सबै खालका समस्याले मान्छेको आयुनै छोट्टिन सक्छ र अल्पायुमा नै निधन हुनसक्छ । त्यसैले त्यस्तो लाग्नथाल्यो भने समयमा नै चिकित्सकको परामर्श लिएर उपचार गरिहाल्नु पर्छ, किन कि बिस्तारै मानिस बिस्मृत्तिमा जानथाल्छ र अल्जहाईमर जस्ता रोगको सिकार हुन्छ ।

मान्छेसँग व्यवहारः
बालबालिका र किसोरकिसोरी मात्र होइन पाका मान्छे पनि आफ्नै अड्डीमा रहन सक्छन् । अक्षम्य वा खतरनाक परिणाम आउने छैन भने हेरबिचार गर्नेले उमेर र शारीरिक अवस्थाअनुसार उनीहरूका आग्रह पुरा गरिदिनु राम्रो हन्छ । यी तिनै उमेर समुहका मानिस धेरैपटक आफ्नो कुरा लागु नहुँदा र अरुले नसुनिदिँदा बिस्तारै एक्लो महसुस गर्न थाल्छन् । परिवारका सदस्य र ईष्टमित्रबाट आफ्ना आग्रह लत्याउँदा, नपत्याईदिँदा र नसुनिदिँदा आफूलाई बहिस्कृत अनुभूति गर्न थाल्छन् । लामो समय त्यस्तो भइराखे केटाकेटी एकोहोरा, जिद्दिवाल र अन्तरमूखी हुँदै गएर कसैका अघि नपर्ने, कुरा लुकाउने, दुव्र्यशनमा लाग्ने र कोही त अपराधिक कर्ममा संलग्न हुन पनि थाल्छन् । मानव जीवन अमूल्य छ, जिम्बेवार वयस्कहरूले सकेसम्म मानिदिनु राम्रो होला ।

पाका मान्छेहरू आफ्ना कुरा सुनिदिए पनि सन्तोष गर्छन् । परिवारका हर्ताकर्ताले पाका मान्छेलाई कुरै पर्न नदिने, अर्घेल्याईं गर्ने, खिसिटिउरी गर्ने, सञ्चोसुविस्ता नसोध्ने, पारिवारिक आदर र सामाजिक ईज्जत नराखिदिने भएमा उहाँहरू आत्मग्लानीले कम बोल्न थाल्नुहुन्छ । पाका मान्छे कम बोल्न थाल्नु, उमेरअनुसार सिकाई सधाई गर्न अग्रसर नहुनु र पिलिपिली उराठ आँखाले हेरिरहनु उहाँको हितमा हुँदैन भने परिवारको पनि कुदिन आउनलाग्यो भनि बुझे हुन्छ । उहाँहरूमा एक्लोपना विकास हुन्छ र कुण्ठित भएर रोग मात्र ल्याउने होइन विस्तारै परिवारको बोझ बन्न थाल्नुहुन्छ । उहाँहरूका आफ्ना कुरा सुनिदिने र मानिदिने मान्छे नभएर विभिन्न असामाजिक र अनौठा गतिविधि गर्न सक्नुहुन्छ ।

धुमधुम्ती परेर बस्नु, मन बहलाउन लागुपदार्थ सेवनतिर आकर्षित हुनु र मन बेचैन भएर उन्मादमा जानु पनि एक्लोपनको उपज हो । पाका मान्छेमा त्यस्तो बढ्न थालेपछि हिँडाईमा असन्तुलन हुनु, एक्लै हिँड्दा वा सपनामा बरबराउनु, घरी अप्राशाङ्गिक हाँस्नु वा रुनु, बिस्मृत्ति हुनु र एल्जहाईमरका लक्षण देखिनु सामान्य हुन आउँछ । विक्षिप्त हुँदैजाँदा पाका मान्छेमा शरीर र बलले नसके पनि कुण्ठाले स्व वा विपरित लिङ्गसँग यौनजन्य क्रियाकलाप गर्न खोज्नु पनि देखापर्न सक्तछ । वास्तवमा मानसिक बैचैनी र अपमानबोधको पिरले पाका मान्छे अमानविय र अनैतिक भनिएका सबै काम गर्न उद्यत भएका देखिन्छन् ।

निराकरणः
१. पारिवारिक र सामाजिक सदभाव तथा ईज्जतको लागि परिवारका वयस्कहरू नै जिम्बेवारीपूर्वक पाका मान्छेको हितमा व्यवहार गर्न थाल्नुपर्दछ । पाका मान्छे आफ्ना दशकौँका अनुभव र सामाजिक प्रभावलाई त्यसै त्याग्न सक्तैनन् । कोही स्वभावैले व्यवहारमा लचकता कायम राख्ने होलान् र कोही कम बोल्ने स्वभावका होलान् । उनीहरू मनका कुरा मनमा नै दबाएर राख्न सक्लान् तर धेरै पाका मान्छे आफ्नो आर्जित ज्ञानमा गर्वकासाथ आफ्ना परिवारले अङ्गीकार गरिदिउन् भन्ने नै सोच्छन् । उहाँहरूका कुरा सकेसम्म पुरा गर्नु नै राम्रो हो, नसके कम्तीमा आदरपूर्वक सुनेर आश्वासन दिने गर्नुपर्छ । त्यसबाहेक स्थिति जटिलतातिर जाँदैछ भने केही बाहिरी सहयोग पनि लिनु आवश्यक पर्छ । जस्तोः समान उमेर समुहकासँग भेटघाट गराउने, उस्तै उमेर समुहकाले गतिविधि गर्ने कार्यक्रममा लैजाने, पाका मान्छेका क्लब, व्यायामशाला, खुला ठाउँको भ्रमण गराउने र चिकित्सकसँग सरसल्लाह लिने गर्नु गराउनु पर्दछ । खुल्ला घामको पारिलो ठाउँमा भ्रमण गर्नाले पाका मान्छेमा दिमागी हर्मोनहरू ईण्डोर्फिन र सेरोटोनिनको मात्रा शरीरमा बढ्न गएर मन चङ्गा लाग्ने, निन्द्रा राम्ररी लाग्ने र खुसी हुने प्रवृत्ति बढ्छ ।

२. कोही आफन्त वा जीवनसाथी गुमेको पिरले पनि कतिपय मान्छे एकोहोरिन्छन् । त्यस्तालाई सकेसम्म त्यस्तै एकलका समुहको भेला र स्वस्थ्य उपचार केन्द्रतिर घुमाउँदा पनि अनुभव आदानप्रदान भएर आफ्नो अवस्थामा सन्तोष बढ्ला । जीवनजगत बारेमा सिर्जनात्मक प्रबचन दिने कार्यक्रममा उपस्थित गराउनु पनि लाभदायक होला । बरु पाका मान्छेमा के कारणले एकोहोरोपन विकास भएको हो त्यो बुझेर छुटकारा पाउने उपाय पत्ता लगाउनु पर्दछ । आत्मीय र भावनात्मक मित्र नहुनु वा भएको टाढा हुनु, नाताकुटुम्बको अर्घेल्याईँ र असाध्य रोगव्याधले सामाजिक बहिस्कृतमा पर्नु आदि विविध कारणले हुने एक्लोपन र उदासीलाई अलगअलग किसिमले निराकरण खोजिनु पर्छ । समयमा निराकरण गर्न नखोजिए सामाजिक बहिस्कार अनुभूत गर्ने पाका मान्छेमा छिटै विभिन्न कुलक्षण र उतारचढाव हुनसक्छ । उच्च रक्तचाप तलमाथीभएर आत्तिने हुने, मुटुमा समस्या आउने, अछन्द्याईलो मोटाई हुने, सरिरको प्रतिरोधी क्षमता घटेर सामान्य रुघाखोकी र ज्वरोले थला पर्ने हुनसक्छ । प्रष्ट रोग नदेखिए पनि छटपटी बढ्ने, उन्माद हुन थाल्ने, ज्ञानेन्द्रीयका काममा अभर हुने, एल्ज्हाईमर हुने र कसैको त अचानक मृत्यूसमेत हुनसक्छ । अनि आफ्ना अभिभावकको येथेष्ठ ख्याल गरेर समयमानै मनका कुरा बुझेर अघि बढनुपर्छ आफन्तले । ‘खोई रोग नै पत्ता लाग्दैन, केही रोग पनि देखिँदैन, के भको के भको ? नहुरुक्क नजुरुक्’ भनेर पाका मान्छेलाई हतोत्साहित गरेर होला त ? उहाँहरू विविध कारण तथा स्वभावले आफैँ यसोभयो उसोभयो भन्न नसक्नु होला तर वयस्कहरूले समयमा नै बुझ्नु र गर्नुपर्‍यो नि उपाय । एक पटक आफ्ना पाका मान्छे गुमेपछि फर्केर आउन्नन् है, पछि विलौला गाएर केही हुन्न ।

अन्त्यमा,
एकोहोरोपन र सामाजिक अलगाव सबै उमेर समुहको लागि स्वास्थ्य बिनास गर्ने खतरनाक लक्षण हुन् अभिभावक भएका बालबालिका, किसोरकिसोरी र वयस्ककाको हेरविचार र न्युनीकरणका काम पाका मान्छेले दिलोज्यानले गरेको पाईन्छ । परिवारको समस्या, सामाजिक उथलपुथल, मुल्यमान्यतामा आएको नकारात्मक सोचाई र रोगव्याधका कारणले पाका मान्छेमा निराशा र एकोहोरोपना आएर असाध्य हुन लाग्यो भने पुरा परिवारनै उव्देलित हुनसक्छ । बेलैमा जिम्बेवार भई परिवारका वयस्कहरूले बिग्रेको पारिवारिक बोलीव्यवहार अनुकुल बनाउन थालौँ । अवस्थाको मात्रा हरेर उचित चिकित्सकसँग परामर्श लिऔँ ।

तपाईंहरूका आनीबानी र ईच्छा अनुकुल पाका मान्छे नहोलान् तपाईंहरूको जस्तै उहाँहरू पनि आफ्नो अनुकुल हुन पाउनुपर्छ नि । कहिँकतै सम्झौतागर्न नसक्ने छ दशक माथिका पाका मान्छे पनि एक्लै बसेका वा पारिएका पाइन्छन् । आफ्नो स्वभाव र अहमको चुली लागेका पाका मान्छे त त्यो उमेरमा पनि जोईपोई छुट्टिएको देखिन्छ । सँधै चिन्ता, मनमुटाव र दन्तबजानभन्दा त आफुअनुकुल शरीरले भ्याएसम्म बस्नुपनि राम्रै हो, तर यस्तो कुरा अन्तिम सत्य भने होइन । किनकी मानिस सामाजिक प्राणी हो र जन्मीएदेखि मृत्यूसम्म ऊ समुहमा नै रमाउँछ, छुट्टिभिन्नु भएर कसैले मानसिक, शारीरिक, सामाजिक, आर्थिक र बौद्धिक विकास गर्न गाहारो नै हुन्छ ।

एक अध्ययन अनुसार पाका मान्छेलाई आदरपूर्वक राखिएको, उहाँहरूको सल्लाहलाई पारिवारिक अनुसाशन र व्यवहारको शिष्टता मानिएको परिवारका केटाकेटी विद्यालय नजाने वा विद्यालयबाट नपढि भाग्ने बहुत कम हुन्छन् । त्यस्तो परिवारमा कुलत भएका वा दुव्र्यसनी केटाकेटी पनि बिरलै भेटिन्छन् । त्यस्ता सुसंस्कारी परिवारमा मानसिक रोग कम लागेको भेटिन्छ भने आत्महत्याजस्तो निकृष्ट काम भएको हुँदैन । पाका मान्छेको ईज्जत भएको परिवारमा सबै सदस्यहरू सहयोगी, शिष्ट, सामाजिक र एकसेँ एक अब्वल कामगर्ने भएर निस्किएका पाइन्छन् । एक पटक सँसारकै नाम चलेका र प्रसिद्ध मानिसहरूका जीवनी पढौँ त । उपरोक्त कुराको ठिक उल्टो एकलकाँटे, व्यक्तिवादी पाका मान्छे विहिन परिवार अथवा पाका मान्छे हेपिएको परिवारका केटाकेटी उस्तैपर्दा समाजमा नाक देखाउन मुस्किल पर्ने हिर्दोक र असिष्ट भेटिएका छन । त्यसैले पाका मान्छेलाई सादर घरमूलीको दज्र्यानी कायमराखौँ र मान सम्मानसहित एक्लो नबनाउँ ।

ल.पु. चालिसेडाँडा

लेखकका अरु सामग्रीः
१. मेरा अहिलेका साथीहरू, फ्रेसन्युजनेपाल डट कम अनलाईन, २०२१ नेभेम्बर २७
२. बुढ्यौलीमा हामीले गर्ने कामहरू, फित्कौली डट कम अनलाईन, २०२१ दिसम्बर २८
३. हामीले किन यस्तो भोग्छौँ ?, फित्कौली डट कम अनलाईन, २०२२ जनुवरी ११
४. हामी जता भए पनि !, फित्कौली डट कम अनलाईन, २०२२ फरबरी ५
५. हामी यस्तैमा छौँ साथीहरू !, परिसम्बाद डट कम अनलाईन, २०२२ फरवरी ९
६. हामीलाई फुर्सद छैन, के गर्नु ?(१), फित्कौली डट कम अनलाईन, २०२२ फरबरी १७
७. हामीलाई फुर्सद छैन, के गर्नु ?(२), फित्कौली डट कम अनलाईन, २०२२ फरबरी २४
८. हामीलाई फुर्सद छैन, के गर्नु ?(३), फित्कौली डट कम अनलाईन, २०२२ मार्च ५
९. हामीलाई फुर्सद छैन, के गर्नु ?(४), फित्कौली डट कम अनलाईन, २०२२ मार्च २०
१०. कसरी पाटी बन्दैछन् घरहरू.. मकालुखबर डट कम अनलाईन, १४ चैत्र, २९ मार्च २०२२
११. हामीलाई फुर्सद छैन, के गर्नु ?(५), फित्कौली डट कम अनलाईन, २०२२ मार्च ३१
१२. बृध्दभत्ता- पहेँला अक्षता कि पिण्ड हो ? मकालुखबर डट कम अनलाईन, २२ चैत्र, २०७८, ६ अप्रिल २०२२
१३. हामीलाई फुर्सद छैन, के गर्नु ?(६), फित्कौली डट कम अनलाईन, २०२२ अप्रिल १३
१४. मेरा अहिलेका साथीहरू (परिमार्जीत), फित्कौली डट कम अनलाईन, २०२२ मे ३, बैसाख २०, २०७९
१५. हामी हेपिने मान्छे हो र ? क्यानाडा नेपाल डट कम अनलाईन, ९ मे २०२२, बैसाख २६ २०७९
१६. हामीलाई एकै नापो काम लाग्दैन है ! फ्रेसन्युजनेपाल डट कम अनलाईन, २०२२ मई १७, ३ ज्येष्ठ २०७९
१७. ज्येष्ठ नागरिकलाई बेवास्ता गरे बिकास हुन्छ र ? क्यानाडा नेपाल डट कम अनलाईन, २० मे २०२२, ज्येष्ठ ६, २०७९
१८. पाका मानिसलाई घरमै राख्ने (१) ! फित्कौली डट कम अनलाईन, २०२२ जुन १२, ज्येष्ठ २९, २०७९
१९. पाका मान्छेका तथ्यकुरा बुझौँ ! क्यानाडा नेपाल डट कम अनलाईन, १८ जुन २०२२, असार ४, २०७९
२०. पाका मानिसलाई घरमै राख्ने (२) ! फित्कौली डट कम अनलाईन, २०२२ जुन २१, असार ७, २०७९
२१. पाका मान्छेका कुरा सुनौँ ! क्यानाडा नेपाल डट कम अनलाईन, ५ जुलाई २०२२, असार २१, २०७९
२२. पाका मान्छेका रोग तह लगाऔँ ! फित्कौली डट कम अनलाईन, ५ जुलाई २०२२, असार २१, २०७९
२३. पाको मान्छेलाई एक्लो नपारौँ ! फित्कौली डट कम अनलाईन, १६ जुलाई २०२२, असार ३२, २०७९
२४. पाकोे मान्छेलाई एक्लोपनबाट जोगाऔँ ! फ्रेसन्युजनेपाल डट कम अनलाईन, २०२२ जुलाई १६, ३२ असार २०७९

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
पाका मान्छेमा अलमल !

पाका मान्छेमा अलमल !

डा. मुकेशकुमार चालिसे
हामी हेपिने मान्छे हो र ?

हामी हेपिने मान्छे हो...

डा. मुकेशकुमार चालिसे
बृध्दभत्ता– पहेँला अक्षता कि पिण्ड हो ?

बृध्दभत्ता– पहेँला अक्षता कि...

डा. मुकेशकुमार चालिसे
कसरी पाटी बन्दैछन् घरहरू… ?

कसरी पाटी बन्दैछन् घरहरू…...

डा. मुकेशकुमार चालिसे
हामीलाई एकै नापो काम लाग्दैन है !

हामीलाई एकै नापो काम...

डा. मुकेशकुमार चालिसे
हामीलाई बेवास्ता गरे विकास हुन्छ र ?

हामीलाई बेवास्ता गरे विकास...

डा. मुकेशकुमार चालिसे
0
Would love your thoughts, please comment.x
()
x