साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ज्येष्ठ श्रेष्ठ उर्फ वोल्ड इज गोल्ड !

हामी शरीर पाका भए पनि अनुभव ज्ञान र सिपले युवा कालका भन्दा नि ताजा र पक्का छौँ । ज्येष्ठ श्रेष्ठ, उर्फ वोल्ड इज् गोल्ड ! त्यसैले जेठाजेठी एक हौँ । ज्येष्ठ नागरिक जिन्दावाद ! जेठो जेठो एक हौँ !

Nepal Telecom ad

शिशु, बालक, किशोर, युवा, प्रौढ र बूढो हुने क्रम प्राणी जगत्कै प्राकृतिक नियम हो । यसविरुद्ध चल्न कसैको केही पिताम लाग्दैन । भेदपूणर् सामाजिक संरचनामा प्रायः चेप्पिने र हेप्पिनेमा बालक, बूढा, अशक्त, विधवा, महिला तथा अपाङ्ग हुन्छन् । त्यसमा पनि यो बूढो हुनु त कालमा पुँडो सरेको खुँडो र लुँडो खाले जीवन हुँदो रहेछ । ‘उहिलेका कुरा खुइलिए, अहिलेका कुरा फैलिए’ भनेर त्यसै भनेको होइन रहेछ । उखानका गोदाम घरमा बूढाबूढीअनुकूल उखान र प्रतिकूल आख्यानको घनाघच्ची भए पनि बूढाबूढीेमैत्री उखान आलङ्कारिक राष्ट्रपतिजस्तो शक्तिहीन बनेका छन् भने बूढो विमैत्री उखान कार्यकारी प्रमुख वा प्रधानमन्त्री नै भएर बूढा जमातलाई पेल्ने, ठेल्ने, बेल्ने, धकेल्ने र धारे हात लगाएर अचेट्नेतिरै बल गर्ने हुलको बिग्बिगी छ बा !

शासनदेखि प्रशासनसम्म कार्यरत जमात आसन खोस्न र पद प्राशन गर्न हतार भएर आफूभन्दा वरिष्ठलाई डेटस्पायर, थोत्रो र कायर भनेर फायर गर्छन् बा ! तन जीणर् भएछि सोच शीणर् हुन्छ भन्ने उरन्ठेउलो सोच अधिकांश युवामा कोचाकोच छ गाँठे ? के यी युवा जमात गतिलै अष्टचिरञ्जीवी र उध्र्वरेताका सेता मान्छे हुन् त ? यस्तो कट्मिरो चिन्तनका अल्लारे देख्दा विचरा भन्न मन लाग्छ । अहिले दलहरूमा अल्लारे तन्नेरीहरू सत्तरी कटेकालाई अभिभावक बनाएर आफू दलका सुप्रिमो बन्न पर्छ भनेर पाखुरा सुर्कने शक्ति सिद्धान्तका धुपौरेहरू टनाटन छन् । तन नयाँ भएर के गर्नु ? तिनीहरूको मन भने सय वर्षअघिका जीणर् सामन्त शासकको जस्तो डुङडुङ गनाएको छ । कतिपय दलका तरूण भनिले नेताको खुट्टी देखिँदै छ । मसल बटारेर भाषण कौलासेरमात्र हुने भए संसारमा के के भैसक्थ्यो ।

नेपालमा साठी काटेर लाठी टेक्ने बनेपछि बूढोको लाइसेन्स पाइन्छ । तर भत्ता खान भने अझ दस वर्ष कुर्नुपर्ने बिप्ल्याँटो प्रावधान छ । चुनाबको बेला त पचासै कटेकालाई ज्येष्ठ नागरिक बनाएर भत्ता दिनुपर्छ भनी डुग्रने पार्टीका साँडेहरूको पाँडे धक्कू पनि नसुनेका हैनन् बूढो जमातले । तर अगुवा नै बाटा हगुवा बनेर घाँस कुँडो खाएपछि दुखेको घुँडो सुम्सुम्याउँदै चङ्खनारनका हुलका फट्याइँपूणर् भुललाई कुराले भुत्ल्याउने सिबाय के पो गर्न सकिन्छ र ? ल हेर्नोस् त उखानशिरोमणिहरूले बूढोपनमा मनका मन, टनका टन व्यङ्यबाण बर्साएका ?

—बूढोको छोरो, कुबेलामै टुहुरो । बूढाको पूता, यता न उता । बूढा जति ओह्रालो लाग्छन्, उँभो चढ्ने त हैसेबैँसे । बूढापाकाले कुरा बिगार्छन्, ढुङ्गामुढाले बाटा बिगार्छन् । बूढाबूढीको आँगनै परदेश’ । यो हन्तकाले जमातले कतिसम्म भन्न बाँकी राखेनन् भने— बूढाबूढीलाई ख्वाएको र भीरबारीमा मल हालेको एउटै हो । गोरु बूढो भए भीर खोज्छ, मान्छे बूढो भए निउँ खोज्छ । हे हरि ! हे नारन ! यसरी हामी पाको जमातलाई खानै नदिने र ताल पारेर घरबाटै निकाल्बास गर्न खोज्नेहरू चैँ कहिल्यै बूढाबूढी बन्दैनन् ? के यिनीहरू ब्रह्माका सनतकुमार र ऊध्र्वरेता नै हुन् त ?

ल हेर्नोस् त, अझ बूढाबूढी अमैत्री उखानका भाँति—भाँति ताँती लागेर दाँती नै खुस्काका ?— तनले बूढाबूढी भए पनि मनले त हुँदैन नि ? यसो बसिबिँयालोमा गफ गर्‍यो भने नातिनातिनी पुस्ताका ढाडेढाडीहरू प्वाक्क भनिदिन्छन्— बूढी आइमाई पात्तिएको र बूढो मान्छे मात्तिएको सुहाउँदैन । यसो हाम्रा सौभाग्यवती बूढीहरूले श्रृङ्गार गरे भने यी नयाँ ठेट्नाहरू प्याच्च बोलिदिन्छन्— बूढेस कालको सिँगारपटार र बूढी घोडीको लाल लगाम, भनेर भुतुक्कै पार्छन् गाँठे । अझ खिसी गर्दै उरन्ठ्यौला मोराहरू बूढा जमातलाई टुहुरा बनाउने धम्कीसाथ भन्छन्— बूढी भा नि लान्छु म ता भात त पकाइदेली ? हरे राम ! किरा परेको थुतुनु ? के सुन्न परेको यो कानले ! बूढो आयो लुरुक्क, बूढी उठी जुरुक्क । बूढो गोरु खोइलाको भर । बूढो गोरु तँगारो बाहिर । बूढो गोरुले सिङ हल्लाको र बूढी आइमाईले… हल्लाको । आदि भनेर उछित्तै काट्छन् यी ठेट्नाका हुलले । हो बूढो भएपछि घुँडा तिख्खिने र धोती झोल्लिने हुन्छ अनि त मोरामोरीहरू प्याच्च भनीहाल्छन्— बूढो भएछि घुँडाको सिङ र धोतीको पिङ हुन्छ ।

अझ उखाने पण्डाहरूले वाक्बाँणको डण्डा चलाएर सीमान्तकृत नै बनाउँदै भन्छन्— बूढो स्वाँठभन्दा डरलाग्दो स्वाँठ अरु कोही हुँदैन । ‘स्वाँठ’ भनेको त दुष्टतापूणर् व्यवहार गर्ने, सारै बदमास, बुद्धि विवेक विचार हुँदै नभएको माहामूर्ख लण्ठक हो । ल हेर्नोस् हामीलाई कति भित्तैमा पुर्‍याका ? महाधूर्त आख्यान पण्डितहरूले ?‘ बूढो र बालोको रिसले केही नाप्दैन‘ भन्ने उखानको बलमा अर्धनग्न भई बटारिएका र चटारिएका छौँडाछौँडी हामीले खबरदारी गरेर केही चर्को बोल्दा थाङ्ना, कन्जर्भेटिभ, अनुदारवादी, पुरातनको आरोपको खोप लगाउँछन् ।

हुन त केही उखानप्रवर्तकहरूले हामी मैत्री उखान सूक्तिमा पाका जमात बचाउने जुक्ति निकालेर भनेका केही सूत्र पनि छन् । जस्तै— बूढा पाकाको लिनू अर्ति, जिउमा झिक्नू फूर्ति । बूढाबूढीको अर्ति, नपार्नु जर्ती । बूढिया र बुज्रुक रहेनन् जहाँ, साँझको दियो जाग्दैन त्यहाँ । बूढो मानिस र गिलो भातले कहिल्यै बिगार गर्दैन । बूढापाका हिँडेको बाटोमा हिँड्नु । कतिपय भद्र एवं ज्ञानी जनहरूले यो पाको अवस्थाको हाकोडाको समाजमा हुनुपर्छ भनेर कड्किँदै भैरवी बनेर पैरवी छेडेका छन्— ‘जेष्ठ नागरिक जिँउँदा इतिहास, सिप र ज्ञानका भण्डार, अतीतका पौरख र वर्तमानका पुस्तकालय हुन् । घर, परिवार, समाज,राष्ट्र र संसारकै पथ प्रदर्शक र प्रतिष्ठा हुन् । सबै भाषा, वर्ग, धर्म, संस्कृति र समुदायका तीर्थस्थल हुन्छ ।’

तर के गर्ने नयाँ पुस्ताले यी नैतिक बोलीका तौललाई फुस्सा बनाएर हाम्रै सिहार सुसारबाट बलवान् बनी हाम्रै कमोदमा नाचेर हामी कतिपयलाई नै बेसहारा बनाएर पाटीपौवामा बेवारिसे छोडिरहेका छन् । मातृ देवो भव, पितृ देवो भव, आचार्य देवो भव, माता तु पार्वती देवी, पिता शङ्करमेव च । भन्ने वचनलाई बूढापाकाको सुखमय उत्तरार्ध बनाउने पोलिसी वा डिप्लोम्यासी भनेर उल्टै उडाउँछन् र पेल्छन् । हामी बूढो जमात सक्रिय हुँदैमा भएभरका सम्पत्ति आफ्नो नाममा नामसारी गरेर छोरा र नाति पुस्ताका लफङ्गाहरू वित्तीय संस्थाबाट अनावश्यक ऋण लिई खाओपिओ मोज करोका ग्याङ बढ्दै गएका छन् । मोटर साइकल, मोटर र कारमा हार लागेर ब्वाइफ्राइन्ड तथा गर्लफ्राइन्ड सित डेटिङ गर्ने भनेर हाम्रो दुःखले आर्जेको सम्पत्ति तामसी भोजमै पो सक्छन् बा ? कसलाई भन्ने कहाँ उजुर गर्ने ? तनावको तनाव ?

अहिले त हाम्रो औसत उमेरमा बढोत्तरी आएकोले विश्वमा बूढाबूढीको संख्या झन्नै डेढ अरब पुग्न लाग्यो । नेपालमा झन्नै एकतीस लाख हामी बूढाबूढीको संख्या छ भन्छन्- मिथ्याङ्क जम्मा गर्ने तथ्याङ्क विभाग । त्यसैले बेला बेलाका म्यादी सरकारले बनाएका ऐन, नियम, कानुन र निर्देशिका कार्यान्वयन गर्न दबाब दिएर यो उत्तरार्धलाई धन्य बनाऔँ । हामी शरीर पाका भए पनि अनुभव ज्ञान र सिपले युवा कालका भन्दा नि ताजा र पक्का छौँ । ज्येष्ठ श्रेष्ठ, उर्फ वोल्ड इज् गोल्ड ! त्यसैले जेठाजेठी एक हौँ । ज्येष्ठ नागरिक जिन्दावाद ! जेठो जेठो एक हौँ ! जय बूढा, जय बूढी ! आशीर्वाद ठिटाठिटी ।

‘माला-चिन्तन’ निबन्ध-संङग्रहबाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
बिदा र हल्लाको देश !

बिदा र हल्लाको देश...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
सान जाेगाउने हाेस् 

सान जाेगाउने हाेस् 

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- संस्कार !

जय- संस्कार !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
अगुल्टाले च्वाइँ ! जय ज्वाइँ !

अगुल्टाले च्वाइँ ! जय...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
पिण्ड स्थाने पिण्डम् !

पिण्ड स्थाने पिण्डम् !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x