साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बूढो यमराजको पुँडो

आफ्नै सम्पत्तिमा अर्काकी छोरीको रजाइँ हेरेर शरणार्थी बन्न पुगेका उत्तरार्द्धका बूढा देख्दा बूढ्यौलीदेखि दिक्क छु । त्यसैले त बूढो यमराजको पुँडो ब्रहृमज्ञान पाएको छु ।

Nepal Telecom ad

जब पचासले शरीरमा बतास हुल्छ, त्यसपछि वृद्धत्वका प्रमाणपत्रहरू अङ्ग-प्रत्यङ्गले खुरुखुरु दिन थाल्दारहेछन् । आँखाहरू भित्र पस्नु, निधारमा मुजापरी सरल र बक्ररेखा देखापर्नु, भित्र हिम्मत हुँदाहुँदै पनि शरीरले प्रतिक्रियामा बोल्नु, रौँ राज्यमा श्वेत आतङ्क मजैले झाङ्गनिु, हातगोडाका तन्दुरुस्तीपनामा सुस्ती देखिनु, दृष्टि एवं श्रवण शक्तिमा केही मन्दता छाउनु, कम्मर र ढाडले पीडाको भाषा बोल्नु, वार्धक्यका सुरुआती आभूषण रहेछन् । हाट, पर्व, मेला र यात्रामा भेटिएका अपरिचितले खै, खै बूढा बा ! बाजे ! हजुर्बा ! आदि सम्मानको नाममा अपमान बर्साएको देख्दा झ्वाँक उठेर तिम्री आमा, बज्यै र हजुरआमाको पेवा हुँ र ? भन्नु जस्तो जङ पनि उठ्छ तर घर्कंदै गएको तागतले त्यस्तो उच्छृङ्खल ल्यागत देखाउन कहाँ भो र ? अहिलेको मार्सल आर्टको युगमा ।

’बूढो’ यो शब्द संस्कृतको ’वृद्ध’ बाट आएको तद्भव रूप हो । वृद्ध, पण्डित, प्रवयस् स्थविर, जीन, जीणर्, जरत् यसका पर्यायवाची हुन् । अङ्ग्रेजीमा बूढोको महत्त्वलाई झल्काएर ’वोल्ड इज् गोल्ड’ भन्ने उखान चल्तीमा छ तर विडम्बना ! व्यवहारमा आल्मोनियम र प्लास्टिक जत्ति पनि गणना गर्दैनन् परिवार र समाजले । सुस्तरी आक्रमण गर्न लागेको वार्धक्यलाई परास्त गर्न विभिन्न नौला विधि-प्रविधि आएका छन् । रौँराज्यमा मेहन्दीका कुङ्गन्धी मार्फत ’काले-राते’ आन्दोलन मच्चाएर ठ्याम्मै एरेली गोरे भाइ र अफ्रिकी काले दाइ बन्यो । क्रिमको बलमा मसाजको पलमा छालाहरू तन्काउने काम, गिजा मात्र रहेर खोबिल्टिएको अनुहारलाई टम्म र उज्यालो बनाउन नक्कली दाँत हालेर आँत हर्हर बनाउने तमासा पनि गरिन्छ । अनि भएभरका अभक्ष्य बस्तु हामदेव गरेर रामदेवको योग, व्रत र ध्यान पछ्याउने पनि नगरिने होइन तर घर्किसकेको उमेरका लागि यी सबै फुस्सा कसरत बन्छन् ।

भर्खरैको कुरा हो, पचास पुग्दै सखाप भएका दाँतलाई पुनर्जीवन दिन अर्थात् नयाँ दाँत हालेर थात्रेपन हटाउन काठमाडौँ गएर दाँत राखियो । दसदस हजारको नयाँ दाँत राखेर ऐभाँत हुन पाएकोमा भैँमा न भाँडामा भएको थिएँ । दाह्रीजुँगा खौरिएर दाँतमा बौरिएर ठिटो पल्टँदै केही समयपछि घरतिर फर्के । बसमा नातागतले रिँङटा छुट्यो र वाकवाकी लाग्यो । भँुडीभित्र भएका सिरिखुरी सबै बाहिर हाम्फाले । विरेचनको क्रममा बल परेर भर्खरैका नयाँ दन्तलहर ह्वातै उछिट्टयिो, दुर्भाग्यवस बसको पछिल्लो पाङ्ग्राले भैँमा झरेको दाँतलाई धुलोपीठो पारेर छाडिदियो । अशक्त अवस्थामै भए पनि बस रोक्न लगाएर बीच बाटोबाटै पुनः दन्त क्लिनिकमा आई दस हजार फेरि खर्च गर्न परेको सम्झदा अहिले पनि दिक्क लागेर आँउछ ।

यता मेहन्दी लगाउँदालगाउँदै टाउको दुख्ने, कान र आँखा कमजोर हुने रोगले भोग गरेको छ । तै पनि तन्नेरी देखिने रहरले हर्हर हुने आफ्नो वृद्धपनमा मौलाएको मूर्खतादेखि आफँैलाई अचम्म लागेर आउँछ । अमलपित्त, कमलपित्त, मधुमेह, नशा, मुटु, हड्डी खिइने र रक्तचापको तलमाथि हुनेजस्ता सयौँ रोगको गतिलो कार्खाना बनेर ’बहर रोगी’ हुनुपर्ने नियति हुँदोरहेछ वृद्धत्व ! पचासअघि मुखलाई छाडा छोडेर कुलगाडा बनी ढुङ्गो पनि पचाइन्छ भन्ने टुङ्गो नहुँदा, सनातन धर्मको नित्यकर्मको मर्मलाई लात हानेर कुहिएको रस र सिनोमा डकार्दा आज यो स्थितिको सिर्जना त भएको हैन ? प्रश्नहरू मडारिन्छन् । चिल्लो, पीरो, अमिलो, भुटुवासित माया गर्दा नै अहिले काया अर्थात् शरीर रोगले तिरमिर झ्याइँ हुन पुगेको हो । स्नान, सन्ध्या, जप, तर्पण, होम र ओमलाई जोक ठानेर पेलेकै कारण वृद्धत्त्वको पूर्वसन्ध्या उत्तरावस्धाझैँ जीणर्शीणर् बन्दोरहेछ । अनि त भौतिक न्यायालय वा आध्यात्मिक अदालत जहाँ गए पनि यो शरीरको नालिस कसैले दर्ता गर्दैन ।

मनमा वसन्त फुले नि कामना र भोग झाङ्गएि पनि वृद्धत्त्वलाई हेर्न पठ्ठापठ्ठीहरूले घीन मान्दा रहेछन् । विभिन्न सार्वजनिक स्थल र समारोहमा देखिएका कामिनी हुन् वा भामिनी, ललना हुन् वा यामिनी हुन्, अप्सराजस्ता नखरा हुन् वा चलचित्रकाझैँ छोटो म्याँडी लाउने गुडिया किन नहुन् सबैसित नजिकिन खोज्दा वाक्वाणले घोच्दारहेछन् । मेरो अङ्कलजस्तै घर्किसक्नुभएछ भनेर एउटी खितिनी गर्छे भने अरुअरु हाम्रो ड्याड र ग्रयान्ड फादरजस्तो लाग्यो, बाई भन्दै उपहासको खित्का छाड्छन् । अनि त मेरो कुतूहलको संसारमा भैचालो मच्चिन्छ बा ! स्वरमा धोद्रोपन, थरथरे आवाज, गफगाफ र खेलबाडमा साथी नपाउने, आफूले बोलेको कुरा नबिक्ने नाति जमातको घोडा बुहारी समाजको सुसेधन्दा सगाउने गोडा, नयाँपुस्ताले पूरै थोत्रिएको कोत्रिएको महसुस गर्ने यो बूढ्यौली अभिशापै रहेछ गाँठे !

बूढो उमेर खानामा कुँडो, ओठ नभएको खुँडो र खेल संसारको लुँडो जस्तै रहेछ । केही वर्ष कान्छी आफ्नी घरबूढीसमेत विश्वासबाट तिलमिलाएर ठुस्केको देख्दा आफैँलाई घर्कदो उमेरप्रति घृणा चुलिनपुग्छ । तै पनि दुई दिन बिराएर कपाल रङ्गाउँछु, फुलेका दाह्रीजुँगा नित्य खौरेर जवानीमा बौरिन खोज्छु, पटक-पटक ऐनामा मुखमण्डल चियाउँछु तर नाकबाट बाहिर निस्किएका सेता नाथे आँखामा ठुङ मार्न आइपुग्छन् । छाती र हातका पाकेका रौँले अधबैँसे मोरीहरूलाईसमेत नाक खुम्च्याउन मसला पुग्छ ।

नारन, शिव ! बूढो जीवन- घुँडोजस्तै साह्रो, कुँडोजस्तै खानामा गाह्रो र खुँडोझैँ अप्ठ्यारो हुनेरहेछ । वास्तवमा बूढोपन यमराजलाई पुँडो सार्न लगाएको नाट्यमञ्चन भएकैले हेपिएर, चेपिएर, लेपिएर मृत्युमा बाँचिरहेको छ । हिजोआजको यान्त्रिक युगमा त उमेरका पठ्ठापठ्ठीका लागि झञ्झट, काउसो, प्रगति वाधक बनेर रहनुपर्ने । फतफते, टकटके, थाङ्नु, गैली, निउखोजुवा, कन्जर्भेटिभ, सामन्ती आदि सम्बोधनमा सम्बोधित हुनुपर्छ बूढोपन । वैचारिक ऊर्जा अत्यन्त अभिनव र सिर्जनाका वासन्ती बहार बहँदा पति ठेट्ना, सतही र बोक्रेहरूले बूढोलाई आँखा तरेको तर्यैन छन् । त्यसैले त बूढो जीवन अभिशापको लुँडो रहेछ । आफ्नै सम्पत्तिमा अर्काकी छोरीको रजाइँ हेरेर शरणार्थी बन्न पुगेका उत्तरार्द्धका बूढा देख्दा बूढ्यौलीदेखि दिक्क छु । त्यसैले त बूढो यमराजको पुँडो ब्रहृमज्ञान पाएको छु ।

०००

मधुपर्क २०६७ पुस

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
सान जाेगाउने हाेस् 

सान जाेगाउने हाेस् 

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- संस्कार !

जय- संस्कार !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
अगुल्टाले च्वाइँ ! जय ज्वाइँ !

अगुल्टाले च्वाइँ ! जय...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
पिण्ड स्थाने पिण्डम् !

पिण्ड स्थाने पिण्डम् !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय भनाैँ कि भय !

जय भनाैँ कि भय...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x