बालबालिकालाई मोबाइलको लतबाट जोगाऔ

अति पाका मान्छेमा आनन्दको समस्या !

तपाइँका हरेक काम तपाइँ आफूमात्र होइन समाजलाईनै उपयोगी भई आनन्ददायक बन्नु पर्छ । यस कामको थालनी तपाइँ आफैँबाट सुरु गर्नुहोस्, आनन्दको वर्षा खोज्न साउन पर्खनु पर्दैन ।

Nepal Telecom ad

पृथ्वीमा भएका सबै प्राणीमा उमेरअनुसार कतिपयमा प्रजातिगत र बंशानुगत बिभिन्न रोगव्याधले सङ्क्रमण गरेको हुनसक्छ भने कैयौँ आनन्दको जीवन व्यतित गरिरहेका हुन्छन् । पाको उमेर सुरुहुने करिब ६० वर्षका मात्र होइन ७०, ८० वर्षका महिला र पुरुष भर्खर वयस्क भएझैँ कामकारवाही र चलखेल गरिरहेका पनि देखिन्छन् । उनिहरूको सामाजिक गतिबिधि र सम्बन्ध देख्दा किशोरकिशोरी र वयस्कहरू ईष्र्या गर्ने अवस्था पनि हुनसक्छ ।

१. आफ्नो स्वास्थ्यको मात्रै कुरा !
प्राय मानिसहरू उमेरिदै जाँदा केहीनकेही स्वास्थ्य समस्याले ग्रसित हुन सक्छन् । कतिपय मानिस आफ्ना समस्या अरुलाई भन्न पाउँदा मन हलुको भएको अनुभव गर्छन् र नसोधे पनि मौका पर्नासाथ ललरी गाउन थालिहाल्छन् । के बुझ्न अति आवश्यक छ भने औषधिले मौसमी र सरुवा रोग, घाउखटिरा, काटेको, भाँच्चिएको र सल्यक्रियाबाट पार पाइने रोगव्याध मात्र निको हुन्छन् । बंशानुगत र उमेरिदा च्याप्ने रोगव्याधलाई निमिट्यान्न पार्न त सकिन्न बरु नियन्त्रण गरेर जीवन बाँचुन्जेल सुखमय बनाउने हो । कतिपय अर्का थरीका मानिस बिरालोले बिष्टा लुकाएझैँ आफ्ना कुरा लुकाउँछन् र अझ रोगव्याध लागेको त झन भन्दै भन्दैनन् । जीवित प्राणीमा रोगव्याध लाग्नु पनि दैवी अपराध र पापको फल भएझैँ गर्छन् । यस्ता दुबै थरिका मानवीय स्वभाव वास्तवमा सामाजिक प्राणी मानवकालागि अनमेल पारीदिने, बिब्ल्याँटो बनाउने र थप दुख पाउने कारक बन्दछन् ।

पहिलो कुरा त तपाइँका रोगव्याध बारेमा भेटेर सुनाइएको मानिस कतिको जानकार हुनुहुन्छ ? दोश्रो, तपाइँले आफ्नो कुरा सुनाएर उहाँलाई अप्ठ्यारो सप्ठ्यारो के पर्छ ? तेश्रो, के उहाँले तपाइँको हितमा केहि सल्लाह दिन सक्नु होला ? यदि यस्ता कुराको समाधान हुन्न भने तपाइँका रोदन ‘गनगन’ बाहेक के होला त ? उल्टो तपाइँको सम्बन्धमा नकारात्मकता आई प्रत्युत्पादक हुनसक्छ । एउटा घटना भन्न मनलाग्योः एकजनालाई आफ्नो रोगका कारण बिहान बेलुका सकेसम्म हिँड्ने सल्लाह चिकित्सकले दिएका छन् । एक पटक हिँड्दाहिँड्दै बाटोमा पछारिएर लडेँ, घुँडा र एउटा हातमा अलिकति चोट लाग्यो । आफूलाई दुखेकोमा सहानुभूति र मायाले ‘चुक्कचुक्क’ पाइन्छ कि भनेर आफन्त ठानिएकालाई भने तर कुराले उल्टो पो असर गर्‍यो । आफूलाई हेरबिचार गर्नेले अबदेखि नहिँड्नु भनि हुकुम लगाए, नमान्दा अरु कुरामा पनि असहज होला भनि माने । आफ्नो व्यथा र स्वास्थ्यमा प्रतिकुल प्रभाव बढ्दै गयो, झनझन स्वास्थ्य खस्कँदै गयो । आफन्त र घुम्दा साथ दिने साथीहरू ‘यो त कता पुगेर लड्ने रहेछ, बाँचे त ठिकै हो तर चोटपटक धेरै लागे र हिँड्नै नसक्ने भयो भने त हामीलाईनै बोझ हुन्छ । भैगो यस्तासँग नहिँडौ’ भनि तर्कन थाले । रहँदाखाँदाका साथीभाइ पनि बिस्तारै गुमेको अवस्था आइलाग्यो र जीवननै एक्लो पो भयो ।

पाठः आफ्ना कमजोर पक्ष माया पाइन्छ भनेर नउरालौँ, यसले भइआएको सुख र मनको चइन खोस्न मात्र सहायक हुन्छ । तपाइँलाई आफ्नो मनको बह पोख्न मन छ भने बरु आफ्ना बरपरका प्रयोगगर्ने सामान, निश्छल चराचुरुङ्गी, पालिएका घरेलु जीवजन्तु आदिलाई सुनाऔँ । उनीहरू मुख नफर्काई तपाइँका कुरा सुनिदिन्छन् र तपाइँ ‘सहानुभूति राखेर धेरैले सुने आफ्ना कुरा’ भनि आनन्द लिन सक्नुहुन्छ । उनीहरू तपाइँका कुरा सुनेर उडाउने, खिसि गर्ने र भाग्न सक्तैनन् र तपाइँ मक्ख पर्ने अवशर पाउन सक्नुहुन्छ ।

२. तपाइँका लागि सबैले काम गरिदिने ?
तपाइँको उमेर ढल्कियो भन्दैमा तपाइँको काम वा आवश्यक्ता अरुले पूरा गरिदिउन् भन्ने केही छैन । अरुले तपाइँका चाहना किन पूरा गर्ने ? साँच्चीनै किन पूरा गर्ने ? के बाध्यता अथवा परमकर्तव्य किन हो ? तपाइँसँग किन ऋणी छन् र तपाइँका काम सबै निरुत्तर गर्नुपर्ने ? किन अह्राइरहनु हुन्छ अरुलाई ? यस्तो लाग्छ तपाइँ काम गर्न होइन बोल्न र अह्राउन मात्र बाँच्नु भएको हो । सबैका आआफ्नै चाहना, काम र बेफुर्सदी समय हुन्छन्, आफ्ना कुरा छाडेर तपाइँका पछिलाग्नु पर्ने किन ? यसो गरेमा तपाइँ ‘गनगने र पिँढीसाँढे’को उपाधि पाउने सम्भावना छ । आफू बसेको ठाउँबाट नहल्लने, वरको सिन्को पर नसार्ने तर बोलिरहन सक्ने, आदेश दिइरहन सक्ने, अरुको काममा सघाउने त कुरै छाडौँ आफ्नै कामको रोइलो गरिरहने । यस्तो बानी भएमा तपाइँलाई कति दिन मन पराउलान् ? तपाइँका गनगन कति समय सुनिरहलान् ? मुख फर्काउन थाले भने कस्तो अवस्था आउला ? तपाइँले परिवार वा बसेको आश्रयमा कस्तो व्यवहार पाउनुहोला ? मुख बाहेक सबै अङ्ग काम नलाग्ने भए पनि आफ्ना आवश्यक्ता र भनाई सिमित गर्नुहोस्, अरुलाई अह्राउने कम गर्नास् । थोरैमा चित्त बुझाउने बानी बसाल्नोस् अन्यथा ‘बसेर बोले कसैले नसुन्ने र उठेर बोले हावाले उडाउने’ अवस्था आश्रयमा भोग्नुहोला !

तपाइँ यदि शारीरिकरुपले अझै काम गर्न सक्नुहुन्छ भने आफ्नो काम आफैँ गर्नोस् न, हुन्न र ? त्यतिमात्र होइन, कुनै शिपयुक्त हुनुहुन्छ भने त्यस कामलाई निरन्तरता दिएमा तपाइँलाईनै फाइदा होला ! बरु हतार के छ र ? ज्यानले सकेको र भ्याएको गर्नुहोस्, तपाइँले तारिख धान्ने दु्रतता किन गर्नुपर्‍यो ? एक पाकी महिला चाडबाड आयो कि कामको भिड सघाउन आफैँ अघि सर्थिन्, सकेको मतापले गर्थिन् । उनलाई चाडपर्व आयो कि झुराउने र निम्ता गर्ने आफन्तको ताँती लाग्थ्यो । कति ठाउँमा त भान्छाको साँचोनै उनकै हातमा सुम्पेर घरधनी अरु काममा व्यस्त, कति विश्वास र मान ?

पाठः शारीरिकरुपले असक्षम भए पनि जति सक्नुहुन्छ त्यति भए पनि आफ्नो काम आफैँ गर्नुहोस् । नसकेको तपाइँका काम अरुले आवश्यक्ता अनुभव गरुन् र गर्न अघि नसरेसम्म आफैँ नउराल्नोस् । जे छ, जस्तो छ त्यसैमा चित्त बुझाउनोस्, तपाइँको पकडबाट धेरै कुरा तपाइँको बढी उमेर, निस्कृयता र कम आयआर्जनले खोसिसकेको छ । पहिलेको जस्तै आदेशानुसार काम गर्ने परिस्थिति र मान्छे अब छैनन् भन्ने भित्रैबाट बुझ्नुहोस् । सारीरिकरुपले सक्षम वा अर्धसक्षम भए त आफ्नो काम सक्ने आँट आफैँ समय लिएर गरे हुन्छ, कसैको मुख ताक्नु सर्बथा नराम्रो हो ।

३. गुनासो र ठस्ठस  कति ?
उमेरिदा प्राय मानिसहरू सामान्य काम गर्दा पनि ठस्ठस गरिरहेका देखिन्छन् । अलिअलि काम पनि गर्छन् तर सँगसँगै के के भुत्भुताउने र ठस्ठस गरिरहेका भेटिन्छन् । घरका कतिजनाले ‘नसक्नेले नगर्नु नि, कसलाई घुर्की लगाएको होला ?’ भनेर छनक हान्छन्् । पाका मान्छे बल झिक्न भनी कन्ने र ठस्ठस गर्ने सामान्य भए पनि कसैलाई सुनाउनको लागि खुईइ गर्ने, आफूले गरेकोमा प्रशँसा पाउन काम गर्ने होइन । आफ्नो स्वास्थ्य तरोताजा बनाउन सकेको काम गरिरहने हो भने अरुलाई सुनाउन ‘खुईइ गर्ने’, आफैँले गर्नु परेकोमा घुर्की लगाएको बुझिनेगरी ‘सुस्केरा हाल्ने’, मन नपर्ने काम गरेँभनी ‘हरिनाम जप्ने’ गर्नुहुन्न । यो उमेर र स्वास्थ्यको प्रतिकुलताको बाबजुद तपाइँको मिहेनतमा अवमूल्यन गराउने बानी आफैँ किन गर्नु ? किनकी तपाइँका पीडा र भोगाईलाई बाँडचुँड गर्ने बहुत कम मानिस छन् र सबै आआफ्नै समस्यामा छन् । तपाइँका साँच्चिीकै दुख र पिराउ अरुलाई उस्तै नभोगेसम्म नाटक लाग्न सक्छ साथै अतिभएमा तपाइँलाई उछित्तो काढने जवाफ फर्काउलान् ! अनि तपाइँको काम ‘कुना पसि रोई’ बाहेक के होला त, त्यो उमेरमा ?

सकेको चलखेल जतिसुकै उमेर पुगे पनि गरिरहने हो, यसले तपाइँका आन्तरिक प्रणाली स्वस्थ्यराख्न मद्दत गर्छ । सेवा निबृत्त वा पाको उमेरमा बसिबसी खाने कल्पना नगर्नु होस्, त्यो सुख पाउने बाटो होइन । उदाहरणको लागिः एक जना अति पाका नेपाली वाङमयका हस्तीले आफ्नी सहयात्री भर्खरै गुमाउनु भयो । उहाँहरू परेवाका जोडी जस्तो एकअर्कालाई साह्रै सघाउने र महिलाले विशेष आफ्ना खसमका हरेक क्रियाकलापमा ज्यान दिएर मद्दत पुर्‍याउनु हुन्थ्यो । घरमा पचाससाठी साथी जम्मा हुँदा पनि झर्कोनमानी अझ हौसिएर खानपिन मिलाउनु हुन्थ्यो । बाहिर लौरो टेकेर पनि साहित्यिक निम्तामा हिँडेको हिँड्यै गर्ने श्रीमानलाई ओच्छ्यान परेका बेला पनि श्रीमतिले सफा लगाउन र एक गाँस खाएर हिँड्न भन्ने अनि श्रीमान त्यसै गर्ने । साँझ परेपछि मिठामिठा गफ गर्न र औषधिमूलोमा सघाउन श्रीमान भन्नुहुन्थ्यो, ‘दिन मात्र मेरो, साँझ र रात त बुढीमाउको’ भनि मोबाईल समेत स्विच अफ गरी बस्ने ।

नातीनातिना र पनाती पनि भइसकेको उहाँको हरेक काममा सहयात्री साथीको केही महिनाको थलापछि निधन हुँदा कस्तो रित्तो र खाली भयो होला ? उहाँसँग केहिदिन अघि सम्पर्क गर्दा भन्नुहुन्थ्यो, ‘डाक्टर त आफ्नै नाती पनि छ, निको हुन्छ भन्छ, तर महाभारत कथाको युद्धमा शरसैयामा सुतेका भिष्म उठेनन्, म चाहिँ त्यस्तै कल्पना गर्छु, मैले गरेर होइन, अब औषधिले फर्काए फर्काउला नभए म के गरुँ, मैले ठूलो दुर्घटना हुने देखेको छु, मेरो सहयोगी……।’ साञ्चै उहाँ अहिले निधनको पहिलो दोश्रो दिनमा मन बाँध्न होला, सामाजिक सञ्जालमा आफ्नी जीवन सङ्गिनीबारे समवेदनामा कसले के लेखे त्यही टाँसेर मन बुझाउँदै सबैलाई आँट थप्दै हुनुहुन्छ । त्यतिमात्र होइन नेपाली वाङमयका नयाँ कृति पनि उत्तिकै चाखकासाथ प्रकाशित हुनलागेको खबर राख्दै हुनुहुन्छ । कतै ‘गनगन, रोइलो र पिलन्धरे खुईइ’ गरेको, पोखेको र लेखेको देखिएन, उल्टो जीवन सिर्जनामा रमाएर व्यतित गर्दै हुनुहुन्छ । उहाँलाई आदर र ईज्जत नगर्ने को होला ? उहाँको जस्तै अप्ठ्यारो र अखण्ड पिरलोमा पनि वास्तविकतासँग जुझ्ने धर्यतामा नतमस्तक नहुने को होला ?

पाठः हरेक जीवित प्राणीलाई विभिन्न अप्ठ्यारो पर्न सक्छ, उमेरिदा बल, बर्कत र सरिरले साथ छोड्न सक्छ । यस्ता तथ्यलाई अस्विकारगरी आफुलाईमात्र आकासनै खसेकोझैँ गनगन र खुई काढदैमा रोगव्याध निको हुने र काम सकिने होईन साथै अरुको साहानुभूति पाउने सम्भावना केहि हुन्न । पिडा कम पनि हुन्न बरु त्यस्तो बानीले वाक्कलागि नजिक पर्ने पनि टाढिन थाल्छन् र आफु एक्लो परिन्छ । त्यसैले, जति सुईसुई र ठसठस गर्न मनलाग्छ, एक्लै हुँदा र मन बुझाउन एकान्तमा गरौँ । सुनिदिने र बुझिदिने वरपर अभावभए बरु नीर्जिव बस्तुलाई मनको बह पोखौँ, प्राकृतिक अनुसाशनमा बस्ने प्राणीलाई सुनाऔँ, आनन्दीत हुने सबैभन्दा राम्रो यस्तै उपायहरू हुन उमेरिदा ।

४. असन्तोषी चित्त किन ?
पाका हुँदै गएपछि मानिसमा एक किसिमको आफ्नो ज्ञान र अनुभवको अहम बढछ कि क्याहो ? हरेक मानिस नयाँ सिर्जना र थप काम गर्न नसकि आफुले गरेका पुराना कुरामा अल्झिन रमाउँछन् । हुनत् थाहा पाएका काम र ज्ञाननै सम्झन र दोहोर्‍याउन सजिलोले होला ? आफूले थाह नपाएको भनि नयाँ पुस्ताका नयाँनयाँ काममा अभ्यस्त हुन र प्रशँसागर्न पनि कञ्जुस्याइँ गरेकाले अन्तरपुस्ता सम्बन्ध लुप्तताको समस्या भोग्न थाल्छन् । आफुले गरेका मात्र होईन अरुले गरेका काममा पनि घातहुने खतरामा घटना नपुगेसम्म हस्तक्षेप गर्ने होईन सन्तोषी बन्नुपर्छ नि ! अरुले उनिहरूलाई मनपर्ने खानेकुरा खालान, मनपर्ने लुगा लगाउलान, अहिलेकै तरिकाले बोल्लान, तपाइँ किन चित्त दुखाउने ? के तपाइँ सबै नियन्त्रणमा राख्न सक्नुहुन्छ र तपाइँले भनेजस्तै होस् भन्ने चाहनु हुन्छ ? यो सरासर भ्रम मात्र हो । तपाइँ एक्लैले यो संसार काल्पनिक कथामा ‘शेषनागले पृथ्वी थामेको’ जस्तो गर्न सक्नु हुन्छ भन्या ?

हो, तपाइँ आफू चाहिँ जिज्ञासु हुन नछाडनोस् र असन्तोषी भई नयाँ कुरा सिक्न पछि नपर्नोस् । हामी बाँचुन्जेल थपिने ज्ञानले हामीलाईनै तरोताजा र समयसापेक्ष बनाउँछ । यसोगर्दा तपाइँको मस्तिष्क तिखो, फुर्तिलो र अद्यावधिक रहन्छ र मन पनि किशोरकिशोरीझैँ उत्सुक र उमेरदार हुन्छ । सचेत र बिज्ञानसङ्गत धारणा राख्ने सबैजना प्रमाणिक तथ्यको खोजीमा जीवन बिताउँछन् र जे छ, जति छ त्यतिमा चित्त बुझाउँदैनन् । फलस्वरुप सबै उमेरसमुहसँग मिलनसार तथा मैत्रीभाव राख्दछन्, उमेरिदैमा कित्ताकाट गरेर ज्ञानको स्रोतबाट नछोइने भएर बस्दैनन् । अर्का एक आठ दशक नाघेका अति पाका मान्छे किशोरकिशोरीको खेलौना बनेको र वयस्कको कामको भाँडो बनेको मोबाइल र कम्प्युटरका विविध काम सिकेर समाजोपयोगी काम अघि बढाए । उहाँले बिभिन्न उमेरसमुहसँग उनीहरूका सकारात्मक कुरामात्र गर्नुभएन हेलमेलले थप सिर्जना बढाउने कामसमेत उनीहरूलाई सिकाई सामाजिक सदभाव बढाउनु भयो । छोइछिटो मान्ने अर्का एकल्काँटे भई सामान्य सामाजिक कार्यमा पनि देखिन छाडनु भयो र आजकाल बिस्तारै ‘एकादेशका एक्ले नायक बन्नु’ भएको छ । साञ्ची यसो गर्दा उहाँलाई, सपरिवारलाई र समाजलाई ? कस्लाई फाईदा पुग्छ हँ ?

पाठः जति टाढा बस्यो दुरी बढछ, उमेरसमुहमा देखापर्ने दुरी घटाऊँ, फाईदा उमेरिएकालाईनै हुन्छ । आजभन्दा छ दशक अघिको राम्रो’ समयसापेक्ष राम्रो भएपनि अहिलेको बिकशित मानसिकतालाई सकारात्मक पक्षबाट प्रयोग गर्दा आफैँलाई फाईदा पुग्ला । आफ्नो मात्र होईन समाजकै फाईदामा हरेक क्षण र दिन अघि बढन पाका मान्छेलाई कस्ले रोक्नसक्ला र ?

५. प्राथमिकता किन ?
उमेर ढल्केकाले तपाइँलाई विशेष सुबिधा चाहिन्छ र भन्या ? तपाइँका सारिरीक क्षमताले भ्याउँछभने पाका मान्छेको सुबिधा र प्राथमिकतामा आउन खोज्दा अलिकति अप्ठ्यारो हुँदैन र ? तपाइँ सक्नुहुन्छ भने त्यता दृष्टि किन ? हो नसक्दा र त्यो चलेको नियममा अरु पनि आउँछन् र चल्छन भने चल्नोस् अन्यथा क्षणिक दयाको आशामूखि बन्न किन र्‍याल काढनु हुन्छ ? अलिकति थप सुबिधामानै लोभिने किन ? यस्तो स्वभावले त तपाइँलाई आशे पो बनाउँछ अनि बिस्तारै अर्‍हाउने र गनगने ‘बुढाबुढी’मा परिन्न र भन्या ? कहाँ ‘देश खाई शेष भएको’ पाको भईएला र ? त्यस्तै कतिपय पाका मान्छे आफु पाको भएको बिज्ञापन गरिरहन्छन् र उस्तै पर्दा बिभिन्न तरिका र भनाईबाट अरु उमेरसमुहलाई ‘तिन चित पर्नेगरी’ पाको उमेरको ‘कुरुपता’ बणर्नगरेर समय काट्छन् । यस्तो स्वभावले त मानिसका जीवनमा आउने बिभिन्न उमेरसमुहको बिरोध भएन र ? कुन उमेरसमुहलाई बाँकी राख्ला त्यस्तो स्वभावले, बालबालिका ‘केटाकेटी’, किसोरकिसोरी ‘ठेटना’ र बयस्क ‘ढाडमा बुध्दि भएको’ हुन्छन् । तपाइँ कहाँबाट टुप्लुक्क झरेको हो र, यही मानव सभ्यताको एउटा इँट होईन र ?

कतिपय पाका मान्छेलाई उमेरबोधक बुढाबुढी भनेको मन पर्दैन भने कतिपय उमेरसमुहले हियाएर पनि पाकालाई भन्छन् । दुबैतिर अलि मिलाउनु पर्‍यो र नचाहिँदो रडाको होईन आवस्यक्ता र समय हेरेर प्राथमिकता ग्रहण लिनेदिने गरे टण्टै साफ !

पाठः समाजको विकाससँगसँगै असल परम्पराको लेप नलागेको समुहमा विविध उमेरसमुह बिच पनि ईर्ष्याा, बिग्रह र घृणाका बादल मडारिएका हुन्छन् । पाका मान्छे इतिहासका प्रत्यक्षदर्शी भएकाले कसरी बिब्ल्याँटोलाई सच्च्याउने भनि उपाय गर्न सक्छन् र स्थिति बुझेर सकारात्मकतातिर लैजान अघिसर्नु पर्छ । जीवन हरेक उमेरसमुहकालागि आकर्षक र महत्वपूर्ण हुन्छ, पाका मान्छे ‘बुख्याचा वा हुचुवा’ होईनन् भन्ने समुदायमा छापपर्ने गरी कामगर्ने दायित्वबाट पाका मान्छे पन्छिन मिल्दैन ।

६. चुस्तदुरुस्त हुन केले छेक्छ ?
कतिपय पाका महिला र पुरुष ‘पाको मान्छेले के स्वाङ पार्नु र ? पुरानै लुगाफाटा, धुस्रेफुस्रे श्रृङ्गारबिहिन र पिलपिल्याउँदो बेला त हो’ भनि बाँकी बाँच्ने अवधिमा पनि ‘गयो खाने बेला, मकन त मिल्यो राज्य बनको’ भनि ललरी र बिलौना गाउँँछन । वास्तवमा चुस्तदुरुस्त हुन, सफाईसुघ्घर गर्न, कोरीबाटी गर्न र चिटिक्क परेर हिँड्न उमेरले गरेको मात्र होईन बानीको कारण हो । कोही जुनसुकै उमेरसमुहमा पनि ल्याङफ्याङ्गे, गतिला कुराको भए पनि उपयोग नगर्ने, नुहाउनसमेत झिँझो मान्ने स्वभावले हो । नहुँदा लालायीत नहुने र हुँदा सदुपयोग गर्न केले रोक्ला र ? हो, क्षमताभन्दा बढी माग गर्नु र आशा गर्नु ठिक होईन तर हुँदा पनि ‘तपाइँको जस्तो कहाँ छ र ? आफ्नो त छैन, केले गर्नु’ भनि घर आगलागी हुँदा पनि पैसा खर्च हुन्छ भनि फोन नगर्ने जस्तै भएन र ?

एक जना महाशय राम्रै नोकरी गर्थे र सेवा निबृत्त हुने दिनसम्म उनि ‘आफुलाई कस्तो समस्या छ’ भनी समस्याको पोको जो भेटे पनि फुकाई हाल्थे । प्राय सुँक्क सुँक्क गरेर बोल्ने उनी सेवा निबृत्त भएपछि भेटदा ‘खाना भयो ?’ भनि सोधे उन्को जवाफ प्राय ‘के खानु छ र ? खाएजस्तो गरेँ’ भन्थे । होईन उनले कहिल्यै राम्ररी पेटभरी खान पाउन्नन् कि जस्तो लाग्थ्यो । हुनत, उन्को अझै अरबौँ मोल जाने पैत्रिक सम्पती थियो र आफूले पनि हाकिम भएर राम्रै व्यवस्था गरेका थिए । केटाकेटी विदेशनै हुइँकिएका छन् उन्की दुलही चाडबाडमा गर्धननै लच्कीने गहना लाउँछिन, उनि पनि तोले औँठी र सुट लाउन कहिल्यै छाडदैनन् ।

तपाइँले आर्जेको सम्पत्ति कसैले त्यतिकै खोस्दैन, बचनमै पनि किन दरिद्रता प्रदर्शन ? अझ उमेर थपिएकाले त हिजो मुलुकै मारे झैँ ‘अहिले के सक्छु र ?’ भनि गीत गाएर कसले पत्याउला, जगत हँसाउनुबाहेक के उपलब्धि होला र ? बरु भएको चलअचल सम्पत्तिको सदुपयोग गर्ने, भेटेका मान्छेलाई समुदायकोलागि असल, सकारात्मक कामगर्न प्रोत्साहित गर्ने गरेमा आफ्नो र अरु सबैको भलाई होला । त्यस्तालाई सबैले झुराउलान र नजिक पर्न पनि खोज्लान् ।

पाठः समय परिस्थितिअनुसार भएको स्रोतको राम्ररी परिचालन गर्न पाको उमेरमा अनुभव थपेर अझैँ सिक्नुपर्छ । आर्जेको ज्ञानको सदुपयोग गर्ने यो उमेरसमुह सबैभन्दा उत्तम बेला हो भनि बुझौँ किनकी ज्ञान, सिप र अनुभवको मान हुने समय यही हो । सामान्यतया मानिलो हुने तपाइँको यो उमेर दुधको तरजस्तै महत्वपूणर् पदार्थ भएको उमेर हो, जुन ठिक्क भए तागतिलो र बढिभए बिभिन्न रोगको कारक भएजस्तै तपाइँ समाजको बोझ बन्नुहुन्छ । रोजाई तपाइँमा निहित छ ।

अन्त्यमा,
पाको उमेर समाजको गहना हो । तपाइँका हरेक काम तपाइँ आफूमात्र होइन समाजलाईनै उपयोगी भई आनन्ददायक बन्नु पर्छ । यस कामको थालनी तपाइँ आफैँबाट सुरु गर्नुहोस्, आनन्दको वर्षा खोज्न साउन पर्खनु पर्दैन तपाइँका घरआँगनमा कहिले परौँ भनि पर्खिरहेका छन् ।

०००
फागुन ७, २०७९

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
पाका बाआमाका अनौठा समस्या !

पाका बाआमाका अनौठा समस्या...

डा. मुकेशकुमार चालिसे
पाका मान्छेमा पेटका अलमलिने समस्या !

पाका मान्छेमा पेटका अलमलिने...

डा. मुकेशकुमार चालिसे
पाका मान्छेमा अम्लपित्त र वाकवाकी समस्या !

पाका मान्छेमा अम्लपित्त र...

डा. मुकेशकुमार चालिसे
ओझेलमा अतिपाका महिलाका समस्या !

ओझेलमा अतिपाका महिलाका समस्या...

डा. मुकेशकुमार चालिसे
सौभाग्यले पाको भइन्छ, बेलैमा मिलाऔँ !

सौभाग्यले पाको भइन्छ, बेलैमा...

डा. मुकेशकुमार चालिसे
पाका बाआमाका अनौठा समस्या !

पाका बाआमाका अनौठा समस्या...

डा. मुकेशकुमार चालिसे
बुढापाकाको खानपान

बुढापाकाको खानपान

वासुदेव गुरागाईं
पाका मान्छेमा पेटका अलमलिने समस्या !

पाका मान्छेमा पेटका अलमलिने...

डा. मुकेशकुमार चालिसे