सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

पाकामा साईटिकाको समस्या !

पाका मान्छेको उमेर बुद्धि र अनुभवले घरपरिवार र समाजलाई बाटो देखाउने हो, पहलमानी देखाउने बेला होइन भन्ने व्यवहारलेनै जनाउ सबैलाई दिऔँ र आफू पनि सतर्क रहौँ ।

Nepal Telecom ad

पृथ्वीमा भएका सबै प्राणीमा उमेरअनुसार विभिन्न रोगव्याधले हैरान पारेको हुनसक्छ । पाको उमेरतिर उकालो चढ्दा त पहिले भेउ नै नपाइएका शारीरिक र मानसिक विभिन्न असामान्य सङ्क्रमण भएको हुनसक्छ । कतिपय मान्छे बलियो बाङ्गो छउञ्जेल नढिम्किएका प्रजातिगत र बंशानुगत रोगहरूले पाको उमेरमा कमजोर भएकोमा मौका पाएझैैँ झम्टेर थला पार्न सक्छन् । अझ आधुनिकताको नाममा रासायनिक पदार्थ मिसाई लोभलाग्दा र आकर्षक बनाइएका तयारी बजारिया खानेकुरा तथा पेयपदार्थले कुनै पनि मानिसका उमेरमा पहिरो ल्याइरहेको हुन्छ भने पाको ज्यानलाई त भनिसाध्ये नहुने बिगार पुर्‍याएको पाइन्छ । उमेरिदै जाँदा हुने नसा सम्बन्धी रोगहरू असामान्य हिँडाई र बसाईले बैँशमानै च्याप्न सक्छ । तिनीहरूमा शारीरिक आन्तरिक बनावटमा बिग्रह र मान्छेकै आफ्नै स्वभावका कारण पनि नसाका रोगहरू बल्झन सक्छन् ।

हरेक काम अनलाईन र कम्प्युटरबाट भन्ने नाममा कथित आधुनिक मानिस जडवत एकै ठाउँमा चाकलमाडे बसेर दैनिक काम सकिरहेकोमा गर्व गरिरहेका देखिन्छन् । तर यसप्रकारको कामले मानिसको दैनिक व्यायाम हुनेमा नभएर शारीरिक प्राकृतिक गतिमा कमी भएर स्वास्थ्यमा प्रतिकुल असर परिरहेको देखेभोगेका छौँ । लगातारको एकै प्रकारको बसाई, बसिरहँदा दिक्क भई अप्राकृतिक आसन, व्यायामको नाममा एकाएक शारीरिक बाहिरी र भित्री अङ्गमा झटका लाग्ने खेलकुद र भ्रमण आदिले मुख्यगरी मेरुदण्डमा कुअसर गर्दछ । लामो अन्तरालको बसाईपछि अकस्मातजस्तो हुने त्यस्ता व्यायामले कम्मरको मांसपेशी र हाडलाई प्रभाव पार्न सक्छ भने दुख्ने हुन थाल्छ । कम्मरको दुखाईमा विभिन्न अरु रोगका कारणले भए पनि साईटिका प्रमुख समस्याको रुपमा धेरैमा देखापरेको छ । कम्मरको दुखाई फैलिदै गएर तिघ्रा, पिँडुला र पैतालातिर सर्छ र दुखाई असहनीय भई गोडा चाल्न र हिँडननै नसक्ने हुनसक्छ ।

नेपालमा कोरोना अतिूक्ष्म निस्कृय जीवाणुको सक्रियता बढेसँगै आधुनिक चिकित्सा प्रणालीसँगसँगै आयुर्वेद चिकित्सा र जडिबुटीको सेवन बारेमा धेरैनै प्रचार भयो । बाँच्ने सबैको रहरले बेसार, गुर्जो, तुलसीपत्र, ज्वानो, सिधेनुन, कपुर लगायत घरेलु उपयोगका मसला र बस्तुहरूको प्रयोग र व्यापार ह्वात्तै बढ्यो । हुँदाहुँदा बिहानको पहिलो चिया गुर्जोको, राती खाना पछिको दुध बेसारयुक्त अनि दिनभरी ज्वानो वा कपुर सुँघ्ने त घरघरका दैनिकी बने । प्रमाणिकरुपमा अनुसन्धान पश्चात कोरोना जीवाणुलाई ती बस्तुको सेवनले हराएको वा निर्मूल गरेको लिखत कम पाइए पनि मानिसका आस्थाका भरमा निकै प्रचार थपिए । व्यक्तिका शारीरिक क्षमता र आन्तरिक विश्वासको भरमा केहीलाई फाइदा भएको समाचारले बजारमा साम्राज्य बिस्तार भयो । हुँदाहुँदा घरघरमा ती बस्तुका गोदाम लाग्न थाले । त्यहि मौकामा अन्य मानविय रोगबारे पनि आयुर्वेदीय औषधिको सिद्धताको बिस्कुननै लाग्यो भने योगको प्रचार व्यापक भयो । कथित आधुनिक जीवनशैलीमा रमेका सहरियाहरू चलखेल कम गर्ने बानीबाट योगमा भनिएका व्यायाममा अग्रसर हुँदा निश्चियनै शारीरिक तन्दुरुस्ती बढेकाले झन प्रभाविलो भयो । नेपाली समाजमा ‘ठूलाबडा र धनीले जे गर्‍यो काम, रैती ठान्दछन् त्यहीँ पुगिने धाम’ सोचाई छँदैछ, के चाहियो ? सबैका भेटघाटमा कुराको प्रमुख चर्चा आयुर्वेदका जडिबुटी महिमा र अक्सिजन सिलेण्डर थुपार्ने कुरानै रह्यो ।

त्यसखालको महिमा बिस्तारले नसाजन्य आन्तरिक रोगव्याधमा पनि हमला गर्नेको कमी रहेन ! साईटिकालाई आयुर्वेदमा ग्रिदर्सी भनिने रोगसँग मिल्दोजुल्दो छ भनि व्याख्या व्यापक भएको छ । ग्रिदर्सी भनेको भाताजा नानात्मजा व्याधिको एक प्रकार भनिन्छ, भाताले ग्रिदर्सी शरीरको आन्तरिक नदीमा प्रभाव पारेर, कम्मरलगायत खुट्टामा असर गर्दछ र पिँडुला कडा हुने र घोच्नेपोल्ने गर्दछ । यो दुखाई कटीबन्धबाट सुरु हुन्छ, जाङ्घ र गोडातिर गई गोडा उचाल्नै असजिलो बनाउँछ । यस्तो हुँदा अमुक व्यक्तिको हिँडाईको चाल गिद्धको (ग्रिध्रा) जस्तो भएर ग्रिधर्सी व्यथा भनिएको हो ।

रोगको पहिचानपछि आवश्यक शल्यक्रिया र तुरुन्त प्रभावकारी औषधि सेवनको बिधि कम भए पनि आयुर्वेदिक औषधिमा ‘नकारात्मक असर नभएको तर लामो समय खाने’ भनिन्छ । बिरामीको चालचलन तथा ‘भावीले लेखेको भाग्यरेखाअनुसार ग्रहदशा हेरेर’ पनि उपचार जोडन खोजिएकाले र अप्रशोधित र जथाभावी मिश्रणको कारणले भनेको रोगमा भनिएको औषधि प्रभावकारी हुन्छ र ? भन्नेमा पद्दतीप्रति धेरै मानिसमा अविश्वास देखिन्छ । पछिल्लो खेप आधुनिक चिकित्सा विज्ञानका बिज्ञहरूको प्रयोगशाला परिक्षणहरूबाट लामो समय त्यस्ता औषधि सेवनले रगत र कलेजोमा खराबी गरेको साथै अप्रत्यासित रक्तचाप घटाएको जानकारी बजारमा व्याप्त छ । प्राकृतिक जडिबुटी र बाह्यरसायन नमिसाईएको भनिएका औषधिमा गुन त होला तर अप्ठ्यारो परिसकेकोमा तुरुन्त आरामी गराउने दु्रत प्रभावकारीता नदेखिएकोले सर्बसाधारण पढालेखामा भरोसा कम भएको देखिन्छ । आकर्षण चाहिँ कम मूल्यमा जघन्य भनिएका रोगको औषधि पनि उपलव्ध भएबाट कम आय भएकामा अझै भरपर्ने चिकित्सा प्रणालीमा रहने छ ।

साईटिका कसरी ?
वास्तवमा साईटिका भनिने नसा रोग कम्मरको चौथो, पाँचौ जोर्नी अथवा पुच्छास्थीको पहिलो जोर्नीको नसा उत्पत्तिस्थलमा हुने समस्याले गराउँछ । समस्या देखिनुमा कि ती नसाहरू मेरुदण्डका जोर्नीमा च्याप्पिन्छन् कि अन्य कारणले उत्तेजित हुन्छन् । मेरुदण्डको बनावटनै दुईतिर हाँगिएका चक्काचक्का परेका हाडहरूको जोर्तीले बनेको हुन्छ । हरेक अलगअलग ती हाडलाई जोडिँदै उचित चलायमान बनाउन हरेक दुईटाका बिचमा नरमखालका ग्वाँखजस्ता आसन हुन्छन् । यस्तो बनावटले हाडहरू घोटिएर नखिइने र नदुख्ने भएको हुन्छ । धेरै मात्रामा मेरुदण्डमा बोझ भएर वा प्रयोग भएर वा अन्य कुनै कारणले ती जोर्ती हाड खिइने वा दुई जोर्ती बिचका नरम आसनजस्ता ग्वाँख च्यातिने अवस्था आएमा दुबै हाडजोर्नीलाई समाइराख्ने तन्तु पनि बिग्रन थाल्छ । त्यसपछि कम्मर हलचल गर्न, तन्काउन वा विभिन्न तरिकाले बङ्क्याउन गाहारो र कष्टदायक हुन्छ भने असर भएको बाहिरनै पोलेको जस्तो तातो भई राँक्किन सक्छ । त्यस्ता भाग सुन्निने र बेलाबखत ढाडको गतिमा घोटिएर वरिपरीका मांसपेशीका तन्तुलगायत नसानै उत्तेजित हुने र असहनीय दुखाई हुन थाल्दछ । स्थिति बिग्रदा बिरामी सुतेर उठन, उठबस गर्न, हिँड्न र ठडिन पनि नसक्ने भई नदुख्ने जसरी हुन्छ त्यही स्थानमा कुँजिएर बस्ने वा सुतिरहने हुन्छ । हुँदाहुँदा लामो स्वास फेर्दा पनि दुखेको भाग झस्किने, दुख्ने र असह्य पीडाले बिरामी आँसु झार्न थाल्दछ ।

समस्याका प्रकारहरूः
हार्वाडका चिकित्सकहरूले साईटिकाको दुखाई कम गर्ने र बिस्तारै निको पार्ने विभिन्न उपाय सुझाएका छन् । त्यसका लागि उनीहरू पहिला लक्षण र कारणहरू बारे राम्रो जानकारी लिएर मात्र उपचारमा अघि बढ्न भन्दछन् । साईटिका सम्बन्धित स्नायु प्रणालीमा नोक्सानी हुने र दुखाई गराउनमा मेरुदण्डका त्यसैसँग सम्बन्धित नसाहरूमा भएका विभिन्न नकारात्मक कारणले हुनसक्छ । समग्रमा साईटिका भएको बिरामीमा देखिने लक्षणहरू निम्नलिखित हुन थाल्छन् ।

०कम्मरको कटिभन्दा तल्लो भाग, फिलाका जोर्नी र गोडा पुरैमा ठिकठिकै सहन सक्नेदेखि असह्य दुखाई हुनु ।
०दुखाई र उत्तेजनाका कारण उपरोक्त भागहरूकासाथै पैतालामा लाटोपन आउनु र गोडा कमजोर भएको अनुभूत गरिनु ।
०हिँडडुलले दुखाई झन बढाउनु र त्यसैले बिरामीको चलफिर रोकिनु ।
०पिँडुला, गोडा, बुढी औँला र पाइतालामा सियोले घोचेझैँ दुख्नु र पोल्नु ।

ऐँजेरु जोर्नीः
मेरुदण्डमा एकअर्कामाथि खप्टिएर रहेका हाडका चाङका भागहरूमध्ये सबैभन्दा चलायमान र भारबहन गर्ने कम्मरका जोर्नी हाडहरूनै हुन् । कम्मरको दुखाई जुनसुकै उमेरमा हुने भए पनि बयस्क र पाका मान्छेहरूमा सामान्यतया मेरुदण्डको सबै जोर्नीका बिचमा रहेका नरम आसनजस्ता ग्वाँख दुई हाडबिच हुन्छ । कुडकुडे हाडभन्दा पनि नरम ती अन्तरजोर्नी झिल्झिले ग्वाँखहरूले गर्दानै हामीले हिँड्दा, दौडदा, बस्दा, जीउ मर्काउँदा र सामान उचाल्दा मेरुदण्डमा पर्ने भारलाई पचाएर सहज बनाइरहेको हुन्छ । अन्य गतिविधिमा त्यसको लचकता र भार खपत गर्ने भई पछारिने, कतै ठोक्किने र दुर्घटनामा शरीरको असन्तुलन लगायतबाट हामीलाई बचाएको हुन्छ । ती अन्तरजोर्नीका झिल्झिलेमा समस्या भएमा सँगसँगै रहेका मेरुदण्डका हाड बचावटको त्यस्ता पत्रको अभावमा छोइने, घोटिने र त्यसबाट हाँगिएर जाने नसाहरूलाई थिच्न पनि सक्छ । त्यो भाग खिइएर वा च्यातिएर कमजोरभई बिग्रह भएर दुखाई, पोलाई र सुन्निने हुन्छ ।

समस्या धेरै भएमा त्यो अन्तरजोर्ती हाडको खिइएको भागले ठाउँ छाडेर मेरुदण्डका जोर्नीहाड एकातिर ऐँजेरु पलाएझैँ पुक्क निस्केको जस्तो हुनसक्छ । यस्तो समस्या भएमा त्यहाँको स्नायुले असामान्य हुँदैछ भन्ने सङ्केत मगजलाई पठाउँछ र हामीले दुखाईले हिँडडुल गर्न अप्ठ्यारो साथै उठबसमानै समस्या भएकोे चाल पाउँछौँ । प्राय चिकित्सकबाट तथ्य निरोपण गर्नु अघि यस्ता बिरामीलाई मेरुदण्डको एमआरआई गर्न लगाइन्छ । फोटोमा प्रष्ट देखिन्छ नसा थिचिएका भागमा मेरुदण्डमा रहेको मगजदेखि आएको स्नायुको धर्सो लुप्त हुन्छ अथवा मेरुडण्डका जोर्नीका चाङनै असामान्य भएका हुन्छन् । यसले गर्दा ढाड दुख्ने, छिटो हिँड्न नसक्ने तथा कम्मरको लचकतामा कमजोरी आएको हुन्छ । यसोहुँदा असर परेका मानिस उठबस गर्न, उफ्रन, दौडन, तनक्क जीउ तन्काउन वा वर्किफर्की छिटो गर्न सक्दैनन् । कतिजना नेपाली अझै कम्मर र ढाड सड्केको भनि भर्‍याङमा उत्तानो परेर निको पार्न कोशिस गर्छन् ।

मेरुदण्डमा प्वाल साँगुरिनुः
दिमागदेखि पुच्छास्थीसम्म एउटा नसा शरीरभरीको मेरुडण्डभित्र कुलोजस्तो ढुङ्ग्रोबाट गएको हुन्छ । त्यस नसाकै कारणले टाउकोदेखि कम्मर तलसम्मका भागका हरेक अङ्गमा स्नायु प्रणाली फिँजिएको हुन्छ । यसैले हाँगाबिँगा बनाएर शरीरका अन्तिम टुप्पासम्म मस्तिष्कले अठोटेका समाचार लैजाने र अङ्गले देखाएका संवेदनशिलता फिर्ता लगेर मस्तिष्कलाई जानकारी दिने काम गर्छ । स्नायु प्रणालीको काम त्यस नसाको कुलोमा अप्ठ्यारो नपरेसम्म सामान्य स्नायु प्रणाली र अङ्गहरूका काम प्राकृतिकनै हुन्छन् । त्यो नसालाई सहजै तलसम्म पुर्‍याउने ढुङ्ग्रो विभिन्न कारणले साँगुरो हुनसक्छ भने मुख्यगरी उमेरिदा शरीरमा हुनजाने तीनवटा प्रमुख कारणको गठजोडले हुने गर्छ ।
०मेरुदण्डका जोर्ती हाड खिइनु
०हाडेबाथले शरीरका जोर्नीहरू बिग्रनु
०जोर्नीका दुईतिरका हाडलाई उचित स्थान र दुरीमा चलखेल गराउने बलिया तन्तु मोटा भई भद्दा हुनु ।

यसरी मेरुदण्डको भित्रीभाग साँगुरो हुँदानै नसाहरू थिचिने, थिचिएको ठाउँमा दुख्ने, पोल्ने समस्या देखापर्दछ । कम्मरको जोर्नीले नै शरीरको माथिल्लो भागको तौल बोक्ने, तल्लो भागलाई चलायमान बनाउन स्नायु प्रणाली फिँजाउने काम गर्ने हुनाले कम्मरको नसा गएको ढुङ्ग्रो साँगुरो हुनासाथ सबै समस्या हुन आउँछ । यो विशेषगरी पाका मान्छेमा बयस्कताको अन्तिम उमेरदेखिनै हुन सक्छ । कुनैकुनै मानिसमा जन्मजात पनि यो समस्या हुनसक्छ तर बहुत कममा त्यस्तो देखिएको र दुर्लभ मानिन्छ । गर्भका बच्चा जन्मदा मेरुदण्डको त्यो नसा जाने ढुङ्ग्रो कसैकसैमा विभिन्न कारणले चाहिँदो भन्दा साँगुरो हुन्छ र बढ्ने क्रममा ठूलो र ठिक्कको हुनुपर्नेमा मेरुदण्डको समस्याले पुक्क पर्नुकासाथै बाथ विकसित भइदियो भने त कम्मरको समस्या आइहाल्छ । किशोरकिशोरी अवस्थामा यौवनको तुजुकले अनुभूत नगरे पनि चालिस नाघेपछि त्यस्ता मान्छेले कम्मर दुखेको, कटकट खाएको र सामान्य सामान उचाल्दा पनि गाह्रो भएको, कम्मरमा दुखेको ‘गनगन’ गर्न थाल्छन् । चिकित्सकले प्राय पाँच किलोग्राम भन्दा बढि हातमा नझुण्ड्याउनु भनि सल्लाह दिने र दुबै हातमा बराबर तौल उठाई सन्तुलन राख्न भन्ने त्यसैले हो । यस्ता मान्छे पाको उमेर पुग्दा त धेरै समस्या भई ‘लौन, एक पित्को तेल लगाइदेओ, अलि कम हुन्छ कि ?’ भन्दै तातो पानीको रबड झोलो बच्चा बोकेझैँ कम्मरमा बाँधेर कोठाचोटा गरेका भेटिन्छन् ।

स्पोण्डाईलोलिस्थेसिसः
मेरुदण्डको बनावटनै घुच्चुकदेखि पुच्छास्थिसम्म ढुङ्ग्रोभएका एकपछि अर्को हाडका टुक्रा जोडिएर बनेको हुन्छ । दुई हाडका टुक्रालाई सहजै चलाउन बिचमा नरम आसनजस्तो पत्र हुन्छ भने बाहिर नछुट्टियोस् भनी लगामजस्ता तन्तुले जोडेको हुन्छ । यस प्रकारको समस्या कुनै एक मेरुदण्डको टुक्राको अन्तरभाग बिग्रिएर र हाड जोड्ने आसन खिइएर, ठाउँ सरेर तल्लो अर्कोमाथि खप्टिन्छ तब सुरु हुनथाल्छ । प्राय शरीरको तौल र गतिविधिमा केन्द्रीत हुने कम्मरको चौथो नम्बरको मेरुदण्डको टुक्राले त्यसरी बिग्रिएर पाँचौ नम्बरलाई खब्टन पुग्छ । यसो हुँदा मेरुदण्ड भित्रको ढुङ्ग्रोमा रहेको सोझो नसा बाङ्गिने र थिच्चिने हुनजान्छ । त्यसैले मूल नसाबाट हाँगिएर दायाँबायाँ फैलिएका नसाहरूमा भार पर्नजान्छ र प्रतिक्रियास्वरुप कम्मर दुखेर साईटिका हुन थाल्दछ । यो समस्या रोगकोरुपमा किशोरकिशोरीहरूमा लगातारको कम्मर दुखाईबाट भएको पाइएको छ । यस उमेरसमुहमा यस्तो हुनु पछाडि कि केटाकेटी उमेरमा दुर्घटनाको अत्यधिक चोटपटक कि जन्मजात साँगुरिएको समस्याले हुनसक्छ । पाका मान्छेमा भने धेरैजसो हाड सम्बन्धी दीर्घरोग वा हाडेबाथको चपेटाले र उमेरमा गरुङ्गा सामान अत्यधिक उचाल्ने पछार्ने काम गरेकाले कम्मरका हाडमा अति दबाव भएर हुनसक्छ ।

ठूलो दुर्घटनाः
पहिलापहिला नेपालमा चाहिँ स्याउला झार्न रुख चढ्दा ढुनमुनिएर लड्ने, भिरको राम्रो घाँसको लोभमा जाँदा खुरमुरिने र फूर्ति लाउन लिङ्गेपिङ बेजोड मच्चाउँदा काम्रो खुस्केर पछारिँदा ढाड भाँचिएर वा कम्मरमुनि खुस्किएर यस्तो समस्या हुन्थ्यो । हिजोआज धनको उपयोगले घर अग्ला बनाउने मात्र होइन विकासको परिभाषामा समेत प्रभाव पर्नेगरी जनताको करको रकम अग्ला धरहरा बनाउने काममा खर्च हुन थालेका छन् । बाटोघाटोको दीर्घकालिन दिगो निर्माणभन्दा स्थानियको डोजर भाडाखाने दाउमा अस्थाई प्रकृतिका बाटोघाटोले सबै चाहिने नचाहिने ठाउँ छिचोलेका छन् । कामधाम र पुगुन्जेल बसिबसी गरिष्ट पदार्थ खाई ‘धनीमानी र ठूलोबडो’ देखाउने, नियमित शारीरिक श्रम नगर्ने, रोगलागेपछि व्यायामशालामा पसिना चुहाउने आधुनिकता निकै मौलाएको छ । उपरोक्त सबै कारणले ठूल्ठूला दुर्घटना पनि अचेल दैनिक खवर बनेका पाइन्छन् । कोही कति तला माथिबाट घुस्मुण्टिएको, कोही सवारी साधन पल्टेर कति फिट तल खोँचमा खुरमुरिएको, कोही खेलकुदमा पछारिएर वा केहीले लागेर खेलमैदानबाटै अस्पताल पुर्‍याइएको समाचार सामान्य भएका छन् । त्यस्तो दुर्घटनामा कम्मर, पुच्छास्थी हाड, फिला र त्यसमा काम गरिरहेका तीनप्रकारका मांसपेशी बाउँडिने, चुँडिने र घाइते हुने मात्र होइन कामनै नलाग्ने हुनसक्छ । यस्तो भएमा कम्मर वरपरका नसामा दखल पर्नु सामान्य हुन्छ र मेरुदण्ड हाड अनि भित्रको दिमागदेखि आएको स्नायुमा पनि असर गर्न सक्छ, त्यसपछि साईटिका हुन ‘आइतबार पर्खिनु’ पर्दैन ।

गर्भधारण बेलाः
किशोरी अवस्थापछि शारीरिक स्वस्थ्यतासँगै समागमबाट गर्भधारण गर्ने क्षमता महिलाहरूमा हुन्छ । आफूभित्र आफूजस्तै प्रजाति उत्पादन गर्न गर्भधारण गर्नसक्नु महिलाहरूको प्राकृतिक अधिकार र गर्वको प्रकृयानै हो । मान्छे प्रजातिमा पहिलो सन्तान उत्सुकता र कुतुहलतामा पाका महिलाको निगरानीमा होला भने दोस्रो अथवा तेस्रो हुँदा गर्भधारण गर्ने महिलानै जानकार हुनसक्छन् । पहिलो पटक त्यति समस्या नदेखिए पनि दोस्रो र पछिको अवस्थामा शरीरभित्र अर्को शरीर बनेको, तौल र आकार बढेको कारण कतिपय आन्तरिक अङ्ग सन्तुलन राख्ने तन्तुहरू चुँडिने, तन्किएर खुकुलो हुने भएको हुन्छ । त्यतिमात्र होइन पाठेघर र कम्मरको भाग नजिक भएर मेरुदण्डको कम्मरको हाड र जोडिएका तन्तुहरूमा प्रभाव पारिरहेको हुन्छ भने पेट तन्किएर ठूलो बन्छ । त्यसैले महिलाहरूको पेट उचित व्यायाम नभए बच्चा पाएपछि प्यात्त परेको देखिन्छ भने कम्मर अगाडि झुकेर फिला उठेको हुन्छ । यी सबै प्रकृयाले कयौँ महिलामा दुई तिन सन्तानपछि सियाटिक स्नायुमा कमजोरी आई रोगको रुपमा कम्मर दुख्नु सामान्य हुनजान्छ । पहिलापहिला दशहाते पटुका बाँध्ने चलन यसैलाई पन्छाउन थियो होला अचेल आधुनिक कम्मरपेटीको पातो नै बाँध्ने धेरै भेटिन्छन् ।

उपचारः
साईटिकाको दुखाई र समस्या विज्ञ चिकित्सकलाई अवगत गराई नसाको अन्य दुखाई हो कि साईटिकानै हो खुट्ट्याई हाल्नु पर्छ । उस्तै लाग्ने दुखाई विभिन्न पाँच थरिका कारणले हुनसक्छ, आफ्नो के कारणले हो विज्ञबाट सल्लाह लिइहाल्नु पर्छ । सामान्य दुखाई कम गर्ने मलहमदेखि खाने औषधिहरू पनि बजारमा पाइन्छन्, सेवन गर्न सकिन्छ । सुरुमा हिँडाई, बसाई, सुताईका तरिका र सामान बोक्ने कम गरेर पनि उपचार अघि बढाउन सकिन्छ । दुखेको भागमा औषधि लेपन गरेर तातो र बरफको चिसोले सेकेर पनि उपचार हुनसक्छ भने अकुप्रेसर र अकुपञ्चर पद्दतीबाट उपचार गरेको पनि देखिन्छ । आवश्यक पर्दा दुखेकै ठाउँमा सोझै औषधि सुई लगाउने र शल्यक्रिया मार्फत साईटिका भई दुखाई भएको ठाउँमा थिचिएको नसाको प्वाल खुलाउने र ऐँजेरु भएको हाड मिलाउने आदि हुनसक्छ । रोगको अवस्था, बिरामीको क्षमता हेरेर चिकित्सकले एकै पटक सबैखालका उपाय पालैपालो गर्न लगाई उपचार पनि गर्ने गरिन्छ । केही नलागे शल्यक्रिया समेत गरेर साईटिकाको उपचार गर्ने पद्दती विकसित भएको छ । आयुर्वेदमा के के गर्दा दुख्छ र पोल्छ त्यसो नगर्न भनिन्छ भने ग्रहदशा दोषका आधारमा अरु उपचार अघि बढाइन्छ । रोगको मात्राअनुसार लहना, पचना पद्दती गरिन्छ भने अतिकष्टकर भएमा शोधना पद्दतीबाट उपचार गरिन्छ ।

अन्त्यमा,
साईटिका वा कम्मरको दुखाईले हिँडडुल र उठबससमेत अप्ठ्यारोमा परेका पाका महिला र पुरुष ज्यादै कष्टकर भोगाईमा परेका हुन्छन् । पाका पुरुषको दाँजोमा महिला बैँशमा प्राकृतिक धेरै पटकको गर्भधारणको कारणले पनि बढि खतरामा हुन्छन् । उमेरिदा पनि सबै काम आफैँ सक्छु, भनि बयस्कहरूलाई पनि ‘केटाकेटी के जान्दछन् र ?’ भनि अति माया देखाई बयस्क उमेरजस्तै घरायसी वा बाहिरी उचाल्ने पछार्ने काम नगरौँ । जोर्नी खुस्किन र तन्तुहरू च्यातिन बेर लाग्दैन, अनि कम्मरलेनै सबैभन्दा बढि धोका दिन सक्छ । पाका मान्छेको उमेर बुद्धि र अनुभवले घरपरिवार र समाजलाई बाटो देखाउने हो, पहलमानी देखाउने बेला होइन भन्ने व्यवहारलेनै जनाउ सबैलाई दिऔँ र आफू पनि सतर्क रहौँ ।

०००
चैत २६, २०७९
ल.पु. चालिसेडाँडा

लेखकका प्रकाशित पुस्तकः
१) पाका मान्छेका कुरा (२०७९).पृ.१४६+१०, भुँडीपुराण प्रकाशन, काठमाडौँ
२) मानिला मान्छेका धामा (२०७९) पृ.२१४+१४, इण्डिगो ईन्क प्रा.लि. काठमाडौँ

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
पाकाको एक्लोपन पनि उत्पादनशील !

पाकाको एक्लोपन पनि उत्पादनशील...

डा. मुकेशकुमार चालिसे
पाकाको औडाहा र सुन्निने समस्या !

पाकाको औडाहा र सुन्निने...

डा. मुकेशकुमार चालिसे
पाकामा मस्तिष्क क्षमता घट्ने समस्या !

पाकामा मस्तिष्क क्षमता घट्ने...

डा. मुकेशकुमार चालिसे
पाका मान्छेमा घुर्ने समस्या !

पाका मान्छेमा घुर्ने समस्या...

डा. मुकेशकुमार चालिसे
उमेरिँदा हिँड्ने र लड्ने समस्या !

उमेरिँदा हिँड्ने र लड्ने...

डा. मुकेशकुमार चालिसे
पाकाको एक्लोपन पनि उत्पादनशील !

पाकाको एक्लोपन पनि उत्पादनशील...

डा. मुकेशकुमार चालिसे
सक्रियता

सक्रियता

श्रीधर लामिछाने
पाकाको औडाहा र सुन्निने समस्या !

पाकाको औडाहा र सुन्निने...

डा. मुकेशकुमार चालिसे
पाकामा मस्तिष्क क्षमता घट्ने समस्या !

पाकामा मस्तिष्क क्षमता घट्ने...

डा. मुकेशकुमार चालिसे