साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पाकाको मस्तिष्क स्फुर्तिमा भिटामिन !

तथ्यगत, वैज्ञानिक बिचार नबोकेका विभिन्न उमेरसमुहका मानिस त्यस्तो अप्रमाणिक कुराको प्रचारमा होमिएर समय, स्रोतमात्र व्यर्थ खर्च गरिरहेका छैनन् आफ्नै शरीर पनि बिगारी रहेछन् ।

Nepal Telecom ad

मानिसको भौतिक विकाससँगै नयाँनयाँ लक्षणसहित केही असामान्य शारीरिक अवस्था सिर्जना भए । औषधि विज्ञानमा काम गरिरहेकालाई कुतुहल भएकाले विभिन्न अनुसन्धान सुरु गरे । सन १९०५ मा कोर्निलिएसले जन्तुको आहारमा शुद्ध प्रोटिन, कार्बोहाइड्रेट्स, चिल्लो, लवण र पानी सँगसँगै अलिकति दुध ख्वाएमा मज्जाले सप्लाउने गर्छ । उनको ठम्याई थियो कि सामान्य शारीरिक बृद्धि र मर्मतका लागि दुधमा कुनै आजसम्म पत्तो नलागेको साह्रै थोरै भए पनि काम लाग्ने वस्तु हुनैपर्छ । सन १९११ मा क्यासीमिरले चामलको जलप ढुटोबाट सन्तृप्त पदार्थ निकाले र परेवाको स्नायु प्रणाली बिग्रिएको निको पारे । त्यस सन्तृप्त वस्तुलाई जीवनको आधारभूत वस्तुको रुपमा ‘भिटामिन’ भनियो, सन १९१३ मा दुई समुह वर्गीकरण गरेर चिल्लोमा घुलन हुने र नहुने भनियो । पहिला एउटै भिटामिन भनिए पनि आँखा रोग हुन नदिने र भएमा फाइदा पुर्‍याउनेलाई भिटामिन ए, धनुष्टङ्कार र हाड बाङ्गिने रोग लाग्न नदिने र भएमा घटाउने काममा लाग्नेलाई भिटामिन डि भनियो । पानीमा घुलनशील भनिएको र विशेषगरी छाला सम्बन्धी रोग स्कर्भी निको गर्ने सन्तृप्त पदार्थलाई भिटामिन सि भनि १९२८ मा पहिचान गरियो । यस सन्दर्भमा पाका मान्छेलाई किन विभिन्न भिटामिनका समिश्रण ‘मल्टीभिटामिन’ नियमित सेवन पर्दछ भन्ने चर्चा गरौँ ।

के मिश्रित भिटामिन आवश्यक छ ?
गत वर्ष हार्वाड स्वास्थ्य प्रकाशनका बरिष्ट सम्पादक डा. रबर्ट स्मेरलिँग अनुसन्धानपछि भन्छन् पाका मान्छेको मस्तिष्क सहित स्वस्थ्य रहन मिश्रित भिटामिन नियमित सेवन गर्न आवश्यक छ । यसो गर्नाले पाका र अतिपाका मान्छेमा स्मरण शक्ति कायम रहने र उमेरजन्य बिर्सने समस्या पनि घट्न सक्छ । आजकाल लाखौँ मानिसहरू विभिन्न कमजोरी र रोगव्याधमा बचावटका लागि पनि थप खुराकको रुपमा भिटामिन नियमित सेवन गर्छन् । कतिपयले त खासै समस्या नभए पनि नियमित खानामा आवश्यक तत्वहरू अभाव हुनसक्छ भनेर पनि नियमित दैनिक वा हप्तामा एक पटक भिटामिनहरू भएका औषधि चक्की वा झोल खाने गर्छन् । कतिजना भने रोग नलागोस्, लाग्न लागे पनि पर सरोस्, आफ्नो शरीरको प्रतिरक्षा प्रणाली बलियो होस्, मस्तिष्कको स्वास्थ्य राम्रो बनाउन र भित्री जैविक प्रणाली नियमित नियन्त्रण रहिरहन्छ भनेर पनि भिटामिन लिने गर्छन् । हुन त, धेरैले आफूखुसी विभिन्न स्वास्थ्य सम्बन्धी विज्ञापन र नातेदारका सल्लाहमा फाइदा पुग्छ भनेर त्यसो गरेको पाइन्छ र केहीले मात्र प्रामाणिक विज्ञको नापजाँचपछि आवश्यक मात्राको भिटामिन सेवन गरेको देखिन्छ ।

भिटामिन प्रयोग बारेमा पश्चिमाहरूमा अझ बढी निर्भरता बढेको पाइएकाले उनीहरू वास्तविकता पहिचानमा अझ बढी उत्सुक रहेको देखिन्छ । बजारमा उपलब्ध विभिन्न नाम र कामका भनि प्रचारित भिटामिनका वास्तविक स्वास्थ्य लाभबारेमा गरिएको अनुसन्धानले मिश्रित परिणाम प्रष्ट्याएको छ । अमेरिकी बचावटसेवा कार्यदलले गतवर्ष करिब ९० वटा जति बढी प्रचारित भिटामिन र थप खुराक भनिएका औषधिहरूमा गरिएको अनुसन्धानले नतिजा भनिए जसरी नआएको जनाएको छ । ती छनौटमा परेका बजारमा पाइने भिटामिनहरूले खुराकमा चाहिने पोषण र भिटामिनको कमी पुर्ताल गर्न नसकेको, छाती सम्बन्धी रोग उपचारमा सहायक नभएको, अबुर्द रोग उपचारमा थप केही सहयोग नगरेको पाइयो र आकस्मिक वा रोगबाट हुने अल्पायु मृत्युमा कमी ल्याएको कुनै प्रमाण नभेटिएको जनाएको छ ।

अहिलेसम्म पत्तो लागेका भिटामिनका विभिन्न प्रकारको समिश्रणको भिन्नभिन्न परिमाणको मिश्रणसहितको थप अतिरिक्त खुराकको सेवनको अनुसन्धान भएमा केही सकारात्मक नतिजा आउँथ्यो होला ? हो, उपयुक्त जाँचपड्तालपछि देखिएको समस्या र त्यस समस्यालाई निराकरण गर्ने खानामा पोषक वस्तुको अभाव खुट्याएर दिइने मिश्रित भिटामिन र अतिरिक्त खुराकले सकारात्मक असर गरी समस्या समाधान गरेको पाइन्छ । यस्तो गरिँदा चाहिँ मान्छेका संस्मरण र उचित मस्तिष्क सकृयतामा अनुभव गर्न सकिने प्रत्यक्ष असर भेटिएकाले पाका मान्छेमा पनि राम्रो प्रभाव पर्छ भन्न सकिन्छ । के संस्मरण र विस्मृतिमा जान लागेका वा लक्षण देखाउन लागेका पाका मान्छेमा त्यो तहको जाँचपछि दिइने खुराक र भिटामिनले काम गर्ला त ?

वास्तवमा मानिसको मस्तिष्क स्वास्थ्यलाई गुणात्मक बृद्धि गर्नेतर्फ औषध विज्ञानमा खोज सिमितनै छ । बरु शारीरिक प्रणालीमा गरिने अरु खालका सुधारले अप्रत्यक्ष रुपमा मस्तिष्कलाई प्रभाव पारेर दिमाग स्वस्थ्य बनाउन मद्दत पुगेको देखिन्छ । जस्तोः नियमित व्यायाम, चाहिँदो शारीरिक तौल कायम, मुटुलाई नबिगार्ने खानपानले मुटु, फोक्सो र कलेजोलाई स्वस्थ्य बनाई राखेमा विभिन्न किसिमका घातबाट जोगिएर केही खालका विस्मृति घटाउन सकिने देखिएको छ । यस्ता केही सामान्य लाग्ने तर महत्वपूणर् बाह्य कामबाट मस्तिष्कलाई स्फूर्तिलो बनाउन त सकिएला । बजारमा विज्ञापन गरिएजस्तो चमत्कारिक दिमाग बनाउने कुनै औषधि, थप खुराक अथवा मस्तिष्क चिकित्सा प्रणाली भने अझै विकसित भएको छैन ।

चिकित्सा क्षेत्रका अनुसन्धाताहरू कुनै खानेकुरा अथवा अतिरिक्त खुराकबाट मस्तिष्कमा प्रभावकारी असर हुने हुन्छ कि भनि अहोरात्र लागेका छन् । अल्ज्हाइमर र उन्माद बारेमा भर्खरैजसो गरिएको अध्ययनले २२०० जना पाका मान्छेका अनुभव सँगालेको छ । यस अध्ययनमा ६५ वर्ष र माथिका पाका मान्छेमा कोकोआ र ल्पासेबो भनिने थप खुराक भनिएको पोषण भनिने औषधि र एउटा बहुमिश्रित भिटामिनको मात्रा तीन वर्षसम्म ख्वाइयो । ती थपखुराक भनिने एउटा वा दुबैको प्रयोग भिटामिन सहित र रहित फरकफरक मान्छेमा गरिएर अलग वा संयुक्त मिश्रण कुन मात्रा र वस्तुबाट असर छ भनेर पनि हेरियो । यस परीक्षणमा छानिएको सेन्ट्र्रम सिल्भर भनिने भिटामिनमा खनिज तत्व र अरु पोषण विभिन्न मात्रामा २७ थरीका भिटामिनको मिश्रण रहेको छ ।

तीन वर्षपछि सेवनकर्तामा ती खुराक र भिटामिनका असर विश्लेषण गर्दा मस्तिष्क क्षमता र गतिविधिमा कोकोआ नामको थपखुराक लिनेमा कुनै फरक पाइएन । बरु मिश्रित भिटामिन नियमित सेवन गर्ने पाका मान्छेमा तपशीलका स्नायु र मस्तिष्कका समस्यामा प्रगति देखियो । छाती र भित्र्याँसमा समस्या भएकाहरूमा भिटामिनले मस्तिष्कको सोलोडोलो कामकार्वाहीमा प्रगति पाइयो । उन्माद समस्या पनि भएकामा स्मरण शक्तिमा बृद्धि र कम बिर्सेको पाइयो । सकारात्मक प्रभावको रुपमा कार्यकारी कामहरू जस्तो पूर्वयोजना र योजनाअनुसार नबिर्सिएर काम गरेको पाइयो । मिश्रित भिटामिनको तीन वर्षसम्मको सेवनपछि उपरोक्त सकारात्मक प्राप्त नतिजाको आधारमा अनुसन्धाताहरूले अनुमान गरे कि उमेरिदा हुनसक्ने मस्तिष्क कार्यक्षमताको क्षिणतामा त्यस्तो सेवनले बढिमा ६० प्रतिशतसम्म घटाउन सक्ने रहेछ ।

यस अनुसन्धानमा संलग्न ८९ प्रतिशत गोरा नश्लका र औशत उमेर ७३ वर्ष तथा आधाभन्दा बढि (६० प्रतिशत) पाका महिला थिए । उहाँहरूलाई थपखुराक र भिटामिन स्वइच्छाले ख्वाएर तीन वर्ष असरको अनुगमन गरिएको थियो । त्यस्तो सेवन र मात्रालाई पूर्वाग्रह नराखी, पन्पक्ष नगरी प्रयोग गरिने विधिनै लागु गरिएकाले अध्ययन प्रक्रियामा विश्वस्त हुन सकिन्छ । तर यस परीक्षणले पनि इङ्गित गरेको चाहिँ मस्तिष्क क्षमता र स्नायु प्रणालीको बिग्रह, दुखाई र कमजोरी नहुँदा मात्र त्यस्ता थप ‘तागतिला र आवश्यक’ भनिने औषधिले काम गर्ने रहेछन् । त्यसैले भित्र्याँसका समस्या, अबुर्द रोग, दोस्रो तहको मधुमेह र अरु स्वास्थ्यसम्बन्धी समस्या नभएमात्र थप खुराकले मद्दत पुग्दछ नभए काम नगर्ने रहेछ ।

भिटामिन सेवन गरिरहनु पर्छ ?
वैज्ञानिक र लिखतमा भरपर्दो संस्थाले गरेको अनुसन्धान भए पनि एउटा मात्र यस अध्ययनको भरमा सबै उमेरसमुहका मान्छेले नियमित भिटामिन सेवन गर्नुपर्छ भन्न सकिन्न । यस अध्ययनको क्रममा सहभागी पाका मान्छेले खाने खाना रुचाईका आधारमा खाइएको हुनसक्छ । त्यस्तो खानामा कुनै आवश्यक पोषण खुराकको अभाव भएको हुनसक्छ र थप खुराकको असर पाइयो । खानामा सन्तुलित आहार खानेबानी र व्यवस्था गरिएको भए त त्यति असर पनि नदेखाउँदो हो ! हुन त यस परीक्षणमा देखिएको थप खुराकको सकारात्मक प्रभाव अल्पकालिन पनि हुनसक्छ र मान्छेको पूरा जीवनको निमेष अवधिको परीक्षण भएकाले टुङ्गोसाथ यसै भन्न सकिन्न । त्यसैले उमेरिदा पाका मान्छेमा देखिने उन्माद, विस्मृतिका समस्या थपखुराक र भिटामिनले निको पार्नसक्छ भन्नु अलि अपरिपक्व निणर्य हुन जान्छ !

ल्पासेबो अलि बढि मान्छेमा प्रयोग गरिएको र कोकोओको तुलनामा बढि समय सेवन गराइएकाले निणर्यमा पुग्न झन् धरमर भयो । किन कि त्यसको सेवनले ६५ वर्ष माथिका मिश्रित भिटाभिन सेवन गरिरहेका पुरुषहरूमा मस्तिष्कको क्रियाकलाप र स्फूर्तिमा कुनै भिन्नता ल्याउन सकेन भने प्रगतिको कुरै छोडौँ ! अमेरिकामा मान्छेको मृत्यु हुनेमा प्रमुख कारणमध्ये पाँचौँमा पर्छ हृदयघात, र बाँचेमा पनि विभिन्न असक्षमता सहित पाका मान्छे ओच्छ्यान पर्छन् । धेरै असक्षमता स्नायु र मस्तिष्क सम्बन्धित भएर नै थप समस्या भोगिएको पाइन्छ । अनि सधैं भिटामिन र पोषक खाना खानेमा किन मस्तिष्कका समस्या आयो त ? यसको कारणसँग जोडिएर भित्र्याँस र अन्य स्वास्थ्यका समस्याले सबै क्रियाकलाप सञ्चालन गर्ने स्नायु प्रणाली र मुख्य अङ्ग मस्तिष्कमा परेको अतिचापको कारणले भएको प्रष्ट हुन्छ । त्यसैले शरीरका अरु प्रणालीलाई स्वस्थ्य राख्न सकिए नितान्त स्नायु र मस्तिष्कका रोगव्याधबाहेक संस्मरणको समस्या नभई, विस्मृति जस्ता घातक परिणाम कम हुने सम्भावना बढ्छ । भिटामिन सधैँ खाँदैमा सबै रोग निको नहुने तथ्य पनि बुझ्न जरुरी छ ।

के गर्ने त ?
भिटामिनका उपयोगिता बारेमा धेरै रोगहरूमा अचुक सावित हुँदाहुँदै पनि स्नायु र मस्तिष्कका जटिल समस्याबारेमा थप अनुसन्धान हुन बाँकि छ । त्यस्ता अनुसन्धानमा कुन उमेरसमुहलाई भिटामिन फाइदाजनक हुन्छ, कति मात्रामा सेवन गर्नु आवश्यक छ र भिटामिनको अवयवमा कुन भागले कुन अङ्गलाई असरदार प्रभाव पार्छ ? भन्ने दिशामा काम हुनुपर्छ । त्यस्ता अनुसन्धानका दायरामा विभिन्न उमेरसमुहका अत्यधिक मानिसहरू संलग्न गराइनु पर्छ भने विभिन्न क्षेत्र र नश्लका मानिस हुनुपर्छ । सामाजिक, भौगोलिक, समुहगत आधारमा स्नायुको क्रियाकलाप, मस्तिष्क क्षमताको अनुभव र ठम्याई फरक किसिमले अभिव्यक्त भएका हुन्छन् । त्यसै फरकको आधारमा उन्माद, विस्मृति र अन्य मस्तिष्कका रोगको मात्रा र घनिभूत अवस्था निरोपण र निदान गर्न सकिन्छ । त्यसैले मिश्रित बहुआयामिक भिटामिन र थप खुराकले अल्ज्हाइमर जस्ता निको नहुने रोगमा अझै काम गर्छ वा गर्दैन हेर्नै बाँकि छ ।

सामान्य अन्य कमजोरी वा संक्रमणमा अति उपयोगी भिटामिन र यसका समिश्रणले काम गरेता पनि मानसिक रुपमा अन्य उपाय नहुँदा मनको शान्तिका लागि भिटामिन कम हानी गर्ने थपखुराक हो । सबैतिर प्रचारित भएका शक्तिदायक पेय पदार्थ, औषधि र रसायनहरूमा भएका विभिन्न अवयवले विभिन्न प्रकारले निकाल्ने उर्जा शरीरलाई उपयोगी लागेमा पनि ‘तागत दिने र भिटामिनयुक्त’ भनिएको व्याख्यातिर हामी अलि भर नगरी हालौँ । ती सबका विज्ञानसम्मत अनुसन्धान र प्रष्ट प्रत्यक्ष प्रमाण छैनन्, हो विश्वासका आधारमा मनोधारणामा आराम देलान् ! बरु माथि भनिएका झैँ अनुसन्धान अघि बढेमा केही पछि सुरक्षित, सर्वसुलभ, सुपथ भिटामिन र थपखुराक पत्तो लागि करोडौँको हितमा स्तरीय जीवन जीउन मद्दत पुग्ने छ । त्यस क्रममा पाका मान्छेको हितमा पनि पक्कै उपचारले फड्को मार्ने छ । त्यसैले मस्तिष्क समस्या नआओस् र थप जटिलतातिर उन्मुख नहोस् भनेर अन्य रोगव्याधमा भिटामिनको प्रयोग चिकित्सकको भनाईमा ठिक होला । तर समस्या आइसकेको हो भने त्यस्ता खुराकबाट रोगसँग लड्न र उम्कन गाह्रो हुन्छ ।

अन्त्यमा,
बजारवादको महामारीको बेला प्राकृतिक खानपान र पथपरहेजको जानेको परम्परामा समेत बिचलन भएको समाजमा जन्मिएदेखिनै अतिरिक्त बाजारु चिजविजको खपत बढेको पाइन्छ । बुद्धि तिक्ष्ण बनाउने, सतर्क र फूर्तिलो बनाउने नाममा विभिन्न पेय पदार्थ र नामधारी ‘चिकित्सक’का सल्लाहमा बिभिन्न औषधि सेवन गर्ने जमात बढ्दै छ । हुँदाहुँदा परीक्षामा सम्झन सहयोगी, दिमाग तरोताजा बनाउने, स्मरण शक्ति बढाउने भनि विभिन्न चमत्कारी तेल, खुराक, रसादी र औषधि भनि बेचबिखन निकै बढेको पाइन्छ । तथ्यगत, वैज्ञानिक बिचार नबोकेका विभिन्न उमेरसमुहका मानिस त्यस्तो अप्रमाणिक कुराको प्रचारमा होमिएर समय, स्रोतमात्र व्यर्थ खर्च गरिरहेका छैनन् आफ्नै शरीर पनि बिगारी रहेछन् ।

विभिन्न शारीरिक मानसिक हिसाबले कमजोर हुन थालेका पाका मान्छे पनि निराश हुने अवस्था आइलाग्दा बाँच्ने तृष्णाले आलाकाँचा र वयस्कहरूका ‘चमत्कारिक औषधि’को प्रभावमा परि सेवन गर्न सक्छन् । विज्ञको उचित सल्लाह र प्रमाणित ज्ञानका आधारमा भनिएका कुराबाहेक अरु कुनै पनि बस्तुले साँच्चैको काम नगर्ने तथ्य चाहिँ मस्तिष्क र स्नायुका समस्यामा देखापर्दछ । त्यस्तोमा प्रमाणित भिटामिनको प्रभाव पनि नपर्ने तथ्यलाई स्विकार गर्दै अन्य वैकल्पिक खोजपड्ताल तथा अप्रत्यक्ष उपचार गर्नुपर्ने हुन्छ, तर निर्क्याेल गर्ने जिम्मा पनि विज्ञ चिकित्सकलाईनै दिनु सुरक्षित हुनु हो । प्रचारप्रभावले बजार पिटिरहेका ‘रामवाण’ भनिएका चटके औषधिका हल्लाको पछि नलागौँ, भर गर्ने त कुरै छैन ।

०००
माघ १९, २०७९
चालिसेडाँडा, ललितपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाको मान्छेका तथ्य कुरा बुझौँ

पाको मान्छेका तथ्य कुरा...

डा. मुकेशकुमार चालिसे
पाका मान्छेमा अलमल !

पाका मान्छेमा अलमल !

डा. मुकेशकुमार चालिसे
हामी हेपिने मान्छे हो र ?

हामी हेपिने मान्छे हो...

डा. मुकेशकुमार चालिसे
बृध्दभत्ता– पहेँला अक्षता कि पिण्ड हो ?

बृध्दभत्ता– पहेँला अक्षता कि...

डा. मुकेशकुमार चालिसे
कसरी पाटी बन्दैछन् घरहरू… ?

कसरी पाटी बन्दैछन् घरहरू…...

डा. मुकेशकुमार चालिसे
हामीलाई एकै नापो काम लाग्दैन है !

हामीलाई एकै नापो काम...

डा. मुकेशकुमार चालिसे
वृद्ध हुन् कि वा युवा…

वृद्ध हुन् कि वा...

कविराज घिमिरे
पाको मान्छेका तथ्य कुरा बुझौँ

पाको मान्छेका तथ्य कुरा...

डा. मुकेशकुमार चालिसे
पाका मान्छेमा अलमल !

पाका मान्छेमा अलमल !

डा. मुकेशकुमार चालिसे
हामी हेपिने मान्छे हो र ?

हामी हेपिने मान्छे हो...

डा. मुकेशकुमार चालिसे
0
Would love your thoughts, please comment.x
()
x