साइबर अपराध सम्बन्धी सचेतना सामग्री

डाँडामाथिका उज्याला जून !

त्यो त कुहिरो लागेको दिनमा सूर्य उदायझैँ हो भने अँधेरी रातमा देखिएको डाँडामाथिको उज्यालो जुन हो । रातमा अल्मलिएर बाटो खोज्न गाेरेटो लागेकालाई गाह्राे हुँदा जुनको टहकमा सात डाँडा नाघ्ने आँट आउँछ होइन र ?

Nepal Telecom ad

डा. मुकेशकुमार चालिसे :

विभिन्न उमेरसमुहलाई मानिसहरूले कुरागर्दा आआफ्नै ढङ्गले बिभिन्न शव्दबाट भनेपनि सँसारभरीका मानव समुदायमा उस्तै प्रतिक र उपमा दिईन्छ । केटाकेटीहरूलाई मुना, दुईपाते विरुवा, पालुवा, कोपिला उदाउँँदो सूर्य आदि भनेको सुनिन्छ । कैयौँ समुहमा अञ्जान, निर्दोष, अझ ‘भगवानले हात थाप्ने उमेर’ समेत भन्न भ्याउँछन् । त्यसैले त गाई, भैँसी, कुकुर, बिरालामात्र होईन बनैया मांसहारी प्राणीले पनि नजिक पर्दा केही बिगार नगरेको कथा हाल्छन्, सिनेमातिर पनि देखाउँछन् । गाउँघरतिर हुर्केका मान्छेलाई केटाकेटी बामे सर्दै गाई छेउ पुग्दा माया गरी चाटेको घटना कुनै अनौठो नहोला । चितुवाले आमालाई मारेर खाए पनि सानो बच्चा बाँदरलाई आफ्नै देखरेखमा अरु बन्यजन्तुबाट जोगाएको अफ्रिकाको घटना एउटा सानो सिनेमा मार्फत सार्वजनिक पनि भएको थियो ।

किशोर-किशोरीलाई गम्भीर भई प्रगतितर्फ उन्मुख भएका देखेमा ‘हुने विरुवाको चिल्लो पात, बेलैदेखि पाको कुरा पो गर्छ’ भनि सम्बन्धितले नाक फुलाउने पनि गर्छन् । उनीहरूका हालचाल ठिक नलागे वा भए चनमते, बुद्धि नउम्रेका, छतौरा, अनाडी, आलाकाँचा, उरन्ठेउला, आदि भनेर माया, दया देखाउने वा उडाउने पनि गरिन्छ । बढ्दो उमेर र विभिन्न चाहनाले अनेक कुरा मनमा आउँदा छेउटुप्पा नबुझे पनि अलि जान्ने जस्तो देखाउन उत्सुक हुन्छन् । आन्तरिक जैविक उत्पादनको दोसाँधमा रहेका यो उमेरसमुह अलिअलि निर्देशित अलिअलि अराजक र ठोस लक्ष्यविहिन पनि हुन्छ ।

नागरिकता लिने उमेर पुगेर वयस्क हुनलाई आन्तरिक बाह्य लक्षण अङ्कुराउन थालेपछि किशोर-किशोरीहरूमा आफ्नोभन्दा कम उमेरकालाई ‘केटाकेटी’ भनि समाज वा विद्यालयतिर अलि फुरफुर बढेको देखिन्छ । अनि सक्ने घरका महाविद्यालय र नसक्ने घरका कामको खोजीमा निस्कँदा ‘बडो जिम्बेवार भएको’ अनुभूति भेट्न सकिन्छ । परिस्थितिअनुसार परिपक्वता यस उमेरसमुहमा ‘जोरीपारीको वा नातेदारको सिको गरेर’ भए पनि बढ्न थालेको पाइन्छ । ‘हस्याङफस्याङनै जीवनको नियमितता हो, जति सकिन्छ कुद्ने हो !’ भन्ने मन्त्रको वशिभूत भएको यो उमेरसमुहको सबैतिर उस्तै चरित्र बनेको देखिन्छ । हरेक नौला र व्यक्तिगत कुरामा लाभ देखिने भएमा एक वर्ष पछिको पनि हेक्का नराखी दौडन ‘रिसल्लाको घोडा बन्ने’ यो उमेरमा घर र ईष्टमित्रले उनीहरूको ईच्छामा सहयोग गर्न गम्भीर सल्लाहसहित अग्रसर हुनुपर्छ । त्यसो गरेमा उनीहरूको क्षणिक उन्मादमा हुने असफलतामा पछि ‘तपाइँले पनि हुन्छ भन्या भन्ने अपजसको भागी’ पाका मान्छे हुनु नपर्ला !

विभिन्न हण्डरठक्कर खाँदै पुरा वयस्क पङ्क्तिमा पुग्दा हिजोसम्म ‘खहरेझैँ गडगडाउने सबैजना समतल तराईको नदिजस्तै मन्दगतिमा’ रुपान्तरण भएर जीवन धान्न थाल्छन् । सफलताको गम्भीर मुस्कान र असफलताको विषादले अनुहारमा छायाँ प्रष्ट्याउने वयस्क ‘एकसरो निणर्यात्मक काममा घोटिनुनै आफ्नो कर्तव्यानुभूति’ भएर लागिरहेका हुन्छन् । आफ्नो भएकै र आफूले जानेकै काम ‘कसरी दिगो राख्ने र प्रगति थप गर्नु परे कसरी जोड्ने भन्ने कोर्राले हानिएझैँ, कहिले फूर्तिकासाथ र कहिले घिच्चिएझैँ’ धामा गरिरहेका भेटिन्छन् । रहँदाबस्दा उमेरले पनि ओरालो घच्याट्न थाल्छ, ईन्द्रियहरू थकान मार्न थाल्छन् र आफूलाई पाको उमेरको अनुभूति गर्दा नगर्दै बाहिरी सेवाबाट अवकाश हुन्छन् । घरखेतीमै रहेका पाका मान्छे, बढेका छोराछोरी प्रतिको पाए र भ्याएसम्म कर्तव्य पुरा गरी ‘नातीनातिनाको च्याहाँचुहुँ’मा रमाउन थाल्छन् ।

पाको उमेरमा पाइला टेकेको छनक- छालाको चाउरी बढेर, काला रौँमा सेता साथी आएर, ज्ञानेन्द्रीय र कर्मेन्द्रीयका स्फूर्ति कमजोर भएर झस्का दिन थाल्छ । आँटेको काम, ईच्छित ठाउँ र बलको कुरामा बिस्तारै पछि पर्न थाल्नु, साथीभाइ आफ्नो भोगाईअनुसार खोज्नु, हिजोसम्म रिस उठ्ने मान्छेसँगको रिस कम हुनु, सजिलो र आरामी कुरामात्र मन पराउने लक्षण थपिन्छन् । कतिपय पाका मान्छेहरूमा आफ्ना कुराबाहेक अरुका कुरा नमान्ने र नपत्याउन,े एकोहोरो पूर्वाग्रही बानी लागेको हुन्छ भने धेरैजसोमा अब जीवन अर्काको अह्रोटमा हिँड्ने त होला भनि ‘त्वम शरणम्’को मुद्रामा ढल्केको देखिन्छ । आफूमा विशेष ज्ञान, शिप र अनुभव भएकाहरू चाहिँ आफ्नो बाटो आफ्नै मतापले हिँड्दै गर्दा बेलाबेलामा ‘झ्याइँकुटी पार्नखोज्ने आफन्त र ईष्टमित्रसँग दुर्वाशा हुन’ पनि बेर लाउन्नन् । कसैलाई बाधा नपारी लुसुलुसु हिँडिरहने पाका मान्छेलाई ईतरिएर अरुले घेरै झिँझोल्नु ‘सुतेको बाघलाई उठाउनु’ जस्तो हुन्छ है ! पाका मान्छेलाई स्वाँगे ‘आदर’ होइन ‘सहयोगी माया’ देखाउनु अरु उमेरसमुहको कर्तव्य हो, यसलाई संस्कारको रुपमा कहिलेदेखि समाजमा स्थापित गराउने होला ?

पाका मान्छे जून हुन्ः
अहिले नेपालमा पाका मान्छे पहिलेका जस्तो ‘काल पर्खिएर बस्नुपर्ने र पिलन्धरे स्वभाव भएका’ धेरै कम सङ्ख्यामा भेटिन्छन् । सामाजिक चेतना र औषधिको प्रयोगबाट ज्यानले सकेको काम गर्न उत्सुक बढि देखिन्छन् । प्रशासनिक, प्राविधिक र घरगृहस्थीकै काममा पनि बढिजसो विज्ञानसम्मत र समय सुहाउँदो काममा लागिरहने स्वभाव धेरैमा पाइन्छ । अचेलका पाका मान्छे ‘सेवानिबृत्त, बुढेसकाल, बृद्ध अवस्था’ भनेर समय काट्न तासमा रमाउने, चिया पसलमा अर्काको ठूटोमा आशामूखी बनेर कहिले सर्को तानीसक्ला भनि पर्खने गर्दैनन् । उनीहरू त् पाको उमेर लागेपछि बिगत जीवनमा भोगेका उज्याला पक्ष अघि ल्याउन, नकारात्मक पक्षबारेमा पछिका पुस्तालाई सचेत बनाउन लागिपरेर समय गुजारेको देखिन्छ ।

हुन पनि यस शताव्दिको सुरुवातदेखिनै त्यतिखेरका बालबालिका र किशोरकिशोरीहरूले त्यसअघिकाले कल्पनानै नगरेको राजनीतिक सामाजिक परिवर्तन देखे । जङ्गी निजामती प्रसाशनिक फेरबदल, शैक्षिक प्रचार र आर्थिक चलखेल मनग्य आफ्नै आँखाले देखे र भोगे । समयअनुसारको परिवर्तनलाई हैसियत अनुसारनै आत्मसात् गरे तथा आफूलाई सक्दो सक्षम बनाए । विविध नयाँपनमा आङ्कलन गरिएको प्रतिस्पर्धामा खारिएर पाका मान्छेले अहिले रहेका देशभित्र भएका समग्र जनशक्तिमा सबैभन्दा बढि ज्ञान र अनुभव बटुलेका छन् । अहिले ठिकै र थोरै लाग्ने अध्ययन र उपाधि पाएको देखिए पनि बडो कष्टमा मिहेनत, लगन र एकाग्रताकासाथ प्राप्त गरेकाले ज्ञानका भण्डार भन्न सकिन्छ । त्यसैले त त्यतिखेर म्याट्रिक पासले गरेजति उद्यम र बुद्धि अहिलेका स्नातकले अबलम्बन गरी प्रगति गरेको देखिन्नन् । अझ त्यतिखेरका स्नातक वा स्नातकोत्तर भएका त अहिलेका मैँ हुँ भन्ने विज्ञभन्दा हैसियत बढि भएका पाइन्छन् । नेपालमा अहिले विद्यावारिधि गरेका भनि क श्रेणीको ढ्याके तक्मा बोक्नेहरू कतिधेरै उनकै स्नातक गुरुभन्दा कति ज्ञानमा निम्छरा र टिठलाग्दा भएका, होइन त ? उदेक लाग्छ ।

पहिले पाका मान्छेले पढ्नु भनेको राम्रो लेख्नपढ्न र जान्नेसुन्ने हुनुमात्र होइन सँगसँगै घरपरिवारका काममा पनि पोख्त हुनु योग्यता बुझिन्थ्यो । ‘दुईचार अक्षर फुटाउन जान्नेले घरको काम नजान्ने हुन्छ र ?’ भन्ने मानसिकताले अध्ययन गरिन्थ्यो । विद्यालय र नोकरीबाट फर्केपछि लुगा फेरेर पोल्टामा खाजा हालेर कि गाई फुकाएर कि स्याउला-घाँस लिन कुद्नु परिवारको नैतिकताभित्र पथ्र्यो । सहरबजारका छोकडाछोकडी त्यसैगरी कि घरकै व्यवसायिक काममा जुटथे कि पारिवारिक काममा लाग्थे । त्यसैले अध्ययन साँच्चैको ज्ञान आर्जनका लागि भएर एकचित्त लगाएर हुन्थ्यो, ढाँट्न पाइने कम्प्युटर र मोबाईलको घोसेमुण्टो व्यवहार देखाउन त्यतिखेर पर्दै पर्दैनथ्यो । कतिपय त अध्ययन भनेको घोकन्ते र सस्वरबाचन पो हो भनि टोलै थर्काएर पढ्थे । जे होस् अनेक बहानामा ‘आफैँले आफैँलाई ठग्ने वातावरण र प्रविधिको विकासले’ आफ्ना मान्यजनलाई झुक्याउने अवस्थै थिएन । त्यसैले जे जस्तो वृत्ति लिए पनि सबै पारदर्शी र पारिवारिक हितमा भएकाले जे हुन खोज्थे त्यसमा पारखी, गुणवान र अनुभवी बन्नु कालबेला अनुसार परिवारकै ईज्जतको कुरा थियो ।

पोको बोक्नेदेखि डोको बोक्नेसम्म :

कतिपय त आफ्नो उद्येस्य ‘बाबुबाजेको ईज्जत राख्न र वंशको नाम चलाउन’ भन्नेमा गर्व गर्दथे । त्यतिखेर ‘मलाई यस्तो मनपर्छ, मेरो यस्तो ईच्छा छ, म अवसरको खोजीमा छु’ भन्ने व्यक्तिवादी कुरा सार्वजनिक गर्न पनि सक्तैन थिए । यस्ता कुरा ‘लाजमर्दो र एकलकाँटेपनको’ विषय हुन्थ्यो । सामाजिक मर्यादा यतिधेरै थियो कि एकअर्कालाई माया र आदरले हुरुक्कै हुने जोडी पनि ग्यालग्याल्ती सन्तान होउञ्जेल आफूभन्दा मान्यजनका अगाडि बोल्न धक मान्थे । धेरै संस्कार सामुहिक शिष्टता, प्रगति र हितबाहेक अरुतिर केन्द्रीत हुँदैनथे । आजका पाका मान्छे धेरैले चाँडे घरजम गरेर अध्ययनतिर लागेका र घरमा केटाकेटी भएपछि महाविद्यालय गएका थिए भने कति व्यवसाय गर्दै दुखजिलो गरेर रातबिरात पढेर उपाधि लिएका थिए । त्यसैले अध्ययन गर्नु भनेको ‘गुणवान बन्न सिक्नु र ईज्जत राख्न अघि बढ्नु’ भन्ने साँध ननाघि आफूलाई स्थापित गर्न कोसिश हुन्थ्यो । यो सामुहिकताले आजका पाका मान्छेले विद्यालयका धेरै उपाधि नलिए पनि पछिल्लो कालखण्डमा ‘खै त अहिलेकाले जित्नेगरी कामधाम र अनुभवी भएका ?’ यो भनाईले शिक्षामा भोगिएको स्खलनतातर्फ लौरो लगाउन्न त ?

पोको बोक्नेदेखि डोको बोक्नेसम्म, हप्तौँ हिँड्नेदेखि वायुयान चढ्नेसम्म, आँटो च्याँख्ला र ढिँडोमा पेट भर्नेदेखि होटेलमा चौरासी व्यञ्जन खानेसम्म, गाउँ नछाड्ने बेलादेखि काम परेमा देशदेशावर डुल्नेसम्मका पुस्ता हुन अहिलेका पाका मान्छे । पहिला हिँड्दा चौतारा र पाटीको बास हुँदै आफैँ पकाई खाई गर्ने धर्मशालामा आराम गर्ने समयबाट अहिले पैसाले दैनिक काम सबै कोठामै सम्पन्न हुने सुविधायुक्त होटेलमा ढल्किने पुस्ता हुन् अहिलेका पाका मान्छे । छामछुम गर्दै रात बिताउने, उज्यालोको लागि दियालो, टुकी, लालटिनदेखि चकाचौध बिजुलीको पउलमा विभिन्न घरायसी मेसिन चलाउन अनुभवी पुस्ता हुन् अहिलेका पाका मान्छे । खरीपाटी, सिसाकलम, मसी चोपेर निगालाका कलम, मसी भर्ने कलम, अनि टङ्कण लेखन, लिथो पेल्न जानेका, जुत्ता फुकालेर भित्र पस्ने कोठामा कम्प्युटर चलाएका अहिले काखे कम्प्युटरमा बानी परेका हुन् आजका पाका मान्छे । वर्षमा एक पटक वा कसैको विवाहमा मासुको भोजन पाउने बेलादेखि अहिले पसलबाट एकै पटक धेरै मासु ल्याई डिपफ्रिजमा दैनिक उपभोग गर्न राख्ने हुन् पाका मान्छे ।

बजार गएर बा आउँदा चाकुको टुक्रा, सित्तल पिप्लामेठ, पुष्टकारी हुँदै चकलेट र केकसमेतका स्वाद थाहा पाएका छन् पाका मान्छेले । हाते चिट्ठीदेखि आकाशवाणी हुँदै घरघरमा टेलिफोन मात्र होइन हातहातमा मोवाइल हल्लाउने पुस्ता हुन् अहिलेका पाका मान्छे । केही सयमा एक तोला सुनदेखि अहिले नातिनातिना पुस्तालाई चाहिँदा लाख रुपियाँ तोेला सुनका गहना किन्न नहिचकिचाउने पुस्ता हुन अहिलेका पाका मान्छे । समाजको बृहत परिवर्तन, सेवा व्यवशायको विविधता र आर्थिक ढाँचाको अपत्यारिलो स्फिती, मुद्राको हदसम्मको अवमूल्यन र उँचनिचलाई भोगेका छन् अहिलेका पाका मान्छेले ।

केटाकेटी हुँदा आफूलाई परेको दुखको तोडले दानदक्षिण पाएकोदेखि कमाउँदा सकेको साँचेर जोगाई आफूभन्दा मुनिकाले दुख नपाउन् भनि चलअचल सम्पती जोर्ने हुन् पाका मान्छे । हरेक पटकको खान्गीमा एक चिम्टी भए पनि जोगाउने चलन त्यसै चलाएका होइनन् होला ? यतिखेरको पउल रुपियाँपैसा र व्यक्तिगत खर्चमा अहिलेका तन्नेरी देशविदेश पढ्न जाने रकम पाका मान्छेले थुकतेल गरी जोगाएको सम्पति होईन र ? अहिलेका पाका मान्छेले केटाकेटीमा पाएको भौतिक सुविधा जस्तो भए अहिलेका केटाकेटीले के गर्लान् ? अहिलेकालाई सामान्य लाग्ने कुरा पाका मान्छेले कहिले भोग्न पाए होलान् ?

वयस्क हुँदा सामाजिक दायित्वसहितको विद्याआर्जन, समयसापेक्ष विविध अनुभव, एकतन्त्रदेखि राजतन्त्र, संसदीयदेखि गणतान्त्रिक भनिने विभिन्न ढङ्गका जनतामाथि राज चलाउने राजनीतिक व्यवस्थाका प्रत्यक्ष साक्षि हुन् अहिलेका पाका मान्छे । उहाँहरू सबैखाले सामाजिक परिबर्तनका भूक्तभोगीमात्र होइन कतिपय त प्रत्यक्ष सहभागी र जोदाहा कार्यकर्ता भएको सगर्व सम्झन सक्नुहुन्छ । देशमा मानिएका कैयौँ शहीदहरू, वीरविराङ्गनाहरू, कविकलाकारहरू र देशको नाम राख्न अद्वितीय काम गरेका सबैजसो उहाँहरूका दौँतरी भएको अहिले पनि सगौरव पाका मान्छे भन्नसक्नु हुन्छ ।

अन्त्यमा,
नेपालको राष्ट्रिय जनगणना २०६८मा नेपालमा कुल २,६४,९४,५०४ मानिस भएको जानकारी थियो । उक्त जनगणनामा ६० वर्ष नाघेका पाका मान्छे वा ज्येष्ठ नागरिकको सङ्ख्या २१,५४,४१० आङ्कलन भएको थियो, यो त्यसबेलाको कुल जनसङ्ख्याको ८.१३ प्रतिशत हुन आउँछ । दश वर्षपछि २०७८मा गरिएको जनगणनामा २,९१,६४,५७८ आङ्कलन भयो र पहिलेकोमा २६ लाख ७० हजार बढेको देखियो । यसमा पाका मान्छे २९,७७,३१८ थिए र कुल सङ्ख्यामा १०.२१ प्रतिशत हुन आउँछ भने पछिल्लो दशकको भन्दा २.०८ प्रतिशतले बृद्धि भएको देखिन्छ । पाका मान्छेको सङ्ख्यात्मक बृद्धि धेरै उमेरसम्म बाँच्न सकिने अवस्था सिर्जना भएको नै सङ्केत हो । युवा र वयस्कको पलायन द्रुतगतिमा भएर एक करोडको हाराहारीमा देश बाहिर भएकाले मताधिकारको आधारमा हेर्ने हो भने १६ वर्ष माथिका मध्ये पाका मान्छेको प्रतिशत एकतिहाई बढि हुनजान्छ । बिगतको बयस्क आँकडाले (७०.०९ प्रतिशत) आउँदो दशकमा पाका मान्छे झन बढ्ने छन र कुनै पनि वालिग चुनावमा आधा हुन जानेछन् अर्थार्त देशको प्रभावशाली उमेरसमुहमा पर्ने निश्चित छ ।

अहिले नेपालमा भएका पाका मान्छेको ज्ञान, बुद्धि र अनुभव अहिलेको जनसङ्ख्याको सबैभन्दा भरपर्दो र उत्तम खालको जनशक्ति भन्न सकिन्छ । पाका मान्छे कसैलाई बिगार गर्न भन्दा जानेको सिकाउन उद्यत रहन्छन् भने सामाजिक भलाईमा चिन्तनशील हुन्छन् । के आजका हाम्रा अग्रज पाका मानछे नेपाली समाजका ज्ञान र अनुभवले सबैभन्दा सबैभन्दा चहकिला आदरणीय र सहयोगी माया गर्नुपर्ने उमेरसमुह होइन र ? घरपरिवार र समाजलाई सहि दिशामा अघि बढाउन पाका मान्छेका अनुभव, लामो जीवनको सूत्र तथा उपाय सिक्न अति आवश्यक छ । उहाँहरूका कुरा, अर्तिउपदेश र सल्लाह ‘गनगन र म्यादगुज्रेको’ किमार्थ होइन, त्यो त कुहिरो लागेको दिनमा सूर्य उदायझैँ हो भने अँधेरी रातमा देखिएको डाँडामाथिको उज्यालो जुन हो । रातमा अल्मलिएर बाटाे खोज्न गाेरेटाे लागेकालाई गाह्राे हुँदा जुनको टहकमा सात डाँडा नाघ्ने आँट आउँछ होइन र ?

०००
जेठ १३, २०८०
ल.पु. चालिसेडाँडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाका मान्छेमा अलमल !

पाका मान्छेमा अलमल !

डा. मुकेशकुमार चालिसे
पाको मान्छेका तथ्य कुरा बुझौँ

पाको मान्छेका तथ्य कुरा...

डा. मुकेशकुमार चालिसे
पाका मान्छेमा अलमल !

पाका मान्छेमा अलमल !

डा. मुकेशकुमार चालिसे
हामी हेपिने मान्छे हो र ?

हामी हेपिने मान्छे हो...

डा. मुकेशकुमार चालिसे
बृध्दभत्ता– पहेँला अक्षता कि पिण्ड हो ?

बृध्दभत्ता– पहेँला अक्षता कि...

डा. मुकेशकुमार चालिसे
कसरी पाटी बन्दैछन् घरहरू… ?

कसरी पाटी बन्दैछन् घरहरू…...

डा. मुकेशकुमार चालिसे
बुढ्यौलीका सच्चा साथी

बुढ्यौलीका सच्चा साथी

वासुदेव गुरागाईं
वृद्ध मनोविज्ञान

वृद्ध मनोविज्ञान

बद्रीप्रसाद ढकाल
नमरी स्वर्ग देखिन्न

नमरी स्वर्ग देखिन्न

वासुदेव गुरागाईं
पर्दाभित्रको बुढ्यौली

पर्दाभित्रको बुढ्यौली

वासुदेव गुरागाईं
पाका मान्छेमा अलमल !

पाका मान्छेमा अलमल !

डा. मुकेशकुमार चालिसे
0
Would love your thoughts, please comment.x
()
x