डा. मुकेशकुमार चालिसेडाँडामाथिका उज्याला जून !
त्यो त कुहिरो लागेको दिनमा सूर्य उदायझैँ हो भने अँधेरी रातमा देखिएको डाँडामाथिको उज्यालो जुन हो । रातमा अल्मलिएर बाटो खोज्न गाेरेटो लागेकालाई गाह्राे हुँदा जुनको टहकमा सात डाँडा नाघ्ने आँट आउँछ होइन र ?
डा. मुकेशकुमार चालिसे :
विभिन्न उमेरसमुहलाई मानिसहरूले कुरागर्दा आआफ्नै ढङ्गले बिभिन्न शव्दबाट भनेपनि सँसारभरीका मानव समुदायमा उस्तै प्रतिक र उपमा दिईन्छ । केटाकेटीहरूलाई मुना, दुईपाते विरुवा, पालुवा, कोपिला उदाउँँदो सूर्य आदि भनेको सुनिन्छ । कैयौँ समुहमा अञ्जान, निर्दोष, अझ ‘भगवानले हात थाप्ने उमेर’ समेत भन्न भ्याउँछन् । त्यसैले त गाई, भैँसी, कुकुर, बिरालामात्र होईन बनैया मांसहारी प्राणीले पनि नजिक पर्दा केही बिगार नगरेको कथा हाल्छन्, सिनेमातिर पनि देखाउँछन् । गाउँघरतिर हुर्केका मान्छेलाई केटाकेटी बामे सर्दै गाई छेउ पुग्दा माया गरी चाटेको घटना कुनै अनौठो नहोला । चितुवाले आमालाई मारेर खाए पनि सानो बच्चा बाँदरलाई आफ्नै देखरेखमा अरु बन्यजन्तुबाट जोगाएको अफ्रिकाको घटना एउटा सानो सिनेमा मार्फत सार्वजनिक पनि भएको थियो ।
किशोर-किशोरीलाई गम्भीर भई प्रगतितर्फ उन्मुख भएका देखेमा ‘हुने विरुवाको चिल्लो पात, बेलैदेखि पाको कुरा पो गर्छ’ भनि सम्बन्धितले नाक फुलाउने पनि गर्छन् । उनीहरूका हालचाल ठिक नलागे वा भए चनमते, बुद्धि नउम्रेका, छतौरा, अनाडी, आलाकाँचा, उरन्ठेउला, आदि भनेर माया, दया देखाउने वा उडाउने पनि गरिन्छ । बढ्दो उमेर र विभिन्न चाहनाले अनेक कुरा मनमा आउँदा छेउटुप्पा नबुझे पनि अलि जान्ने जस्तो देखाउन उत्सुक हुन्छन् । आन्तरिक जैविक उत्पादनको दोसाँधमा रहेका यो उमेरसमुह अलिअलि निर्देशित अलिअलि अराजक र ठोस लक्ष्यविहिन पनि हुन्छ ।
नागरिकता लिने उमेर पुगेर वयस्क हुनलाई आन्तरिक बाह्य लक्षण अङ्कुराउन थालेपछि किशोर-किशोरीहरूमा आफ्नोभन्दा कम उमेरकालाई ‘केटाकेटी’ भनि समाज वा विद्यालयतिर अलि फुरफुर बढेको देखिन्छ । अनि सक्ने घरका महाविद्यालय र नसक्ने घरका कामको खोजीमा निस्कँदा ‘बडो जिम्बेवार भएको’ अनुभूति भेट्न सकिन्छ । परिस्थितिअनुसार परिपक्वता यस उमेरसमुहमा ‘जोरीपारीको वा नातेदारको सिको गरेर’ भए पनि बढ्न थालेको पाइन्छ । ‘हस्याङफस्याङनै जीवनको नियमितता हो, जति सकिन्छ कुद्ने हो !’ भन्ने मन्त्रको वशिभूत भएको यो उमेरसमुहको सबैतिर उस्तै चरित्र बनेको देखिन्छ । हरेक नौला र व्यक्तिगत कुरामा लाभ देखिने भएमा एक वर्ष पछिको पनि हेक्का नराखी दौडन ‘रिसल्लाको घोडा बन्ने’ यो उमेरमा घर र ईष्टमित्रले उनीहरूको ईच्छामा सहयोग गर्न गम्भीर सल्लाहसहित अग्रसर हुनुपर्छ । त्यसो गरेमा उनीहरूको क्षणिक उन्मादमा हुने असफलतामा पछि ‘तपाइँले पनि हुन्छ भन्या भन्ने अपजसको भागी’ पाका मान्छे हुनु नपर्ला !
विभिन्न हण्डरठक्कर खाँदै पुरा वयस्क पङ्क्तिमा पुग्दा हिजोसम्म ‘खहरेझैँ गडगडाउने सबैजना समतल तराईको नदिजस्तै मन्दगतिमा’ रुपान्तरण भएर जीवन धान्न थाल्छन् । सफलताको गम्भीर मुस्कान र असफलताको विषादले अनुहारमा छायाँ प्रष्ट्याउने वयस्क ‘एकसरो निणर्यात्मक काममा घोटिनुनै आफ्नो कर्तव्यानुभूति’ भएर लागिरहेका हुन्छन् । आफ्नो भएकै र आफूले जानेकै काम ‘कसरी दिगो राख्ने र प्रगति थप गर्नु परे कसरी जोड्ने भन्ने कोर्राले हानिएझैँ, कहिले फूर्तिकासाथ र कहिले घिच्चिएझैँ’ धामा गरिरहेका भेटिन्छन् । रहँदाबस्दा उमेरले पनि ओरालो घच्याट्न थाल्छ, ईन्द्रियहरू थकान मार्न थाल्छन् र आफूलाई पाको उमेरको अनुभूति गर्दा नगर्दै बाहिरी सेवाबाट अवकाश हुन्छन् । घरखेतीमै रहेका पाका मान्छे, बढेका छोराछोरी प्रतिको पाए र भ्याएसम्म कर्तव्य पुरा गरी ‘नातीनातिनाको च्याहाँचुहुँ’मा रमाउन थाल्छन् ।
पाको उमेरमा पाइला टेकेको छनक- छालाको चाउरी बढेर, काला रौँमा सेता साथी आएर, ज्ञानेन्द्रीय र कर्मेन्द्रीयका स्फूर्ति कमजोर भएर झस्का दिन थाल्छ । आँटेको काम, ईच्छित ठाउँ र बलको कुरामा बिस्तारै पछि पर्न थाल्नु, साथीभाइ आफ्नो भोगाईअनुसार खोज्नु, हिजोसम्म रिस उठ्ने मान्छेसँगको रिस कम हुनु, सजिलो र आरामी कुरामात्र मन पराउने लक्षण थपिन्छन् । कतिपय पाका मान्छेहरूमा आफ्ना कुराबाहेक अरुका कुरा नमान्ने र नपत्याउन,े एकोहोरो पूर्वाग्रही बानी लागेको हुन्छ भने धेरैजसोमा अब जीवन अर्काको अह्रोटमा हिँड्ने त होला भनि ‘त्वम शरणम्’को मुद्रामा ढल्केको देखिन्छ । आफूमा विशेष ज्ञान, शिप र अनुभव भएकाहरू चाहिँ आफ्नो बाटो आफ्नै मतापले हिँड्दै गर्दा बेलाबेलामा ‘झ्याइँकुटी पार्नखोज्ने आफन्त र ईष्टमित्रसँग दुर्वाशा हुन’ पनि बेर लाउन्नन् । कसैलाई बाधा नपारी लुसुलुसु हिँडिरहने पाका मान्छेलाई ईतरिएर अरुले घेरै झिँझोल्नु ‘सुतेको बाघलाई उठाउनु’ जस्तो हुन्छ है ! पाका मान्छेलाई स्वाँगे ‘आदर’ होइन ‘सहयोगी माया’ देखाउनु अरु उमेरसमुहको कर्तव्य हो, यसलाई संस्कारको रुपमा कहिलेदेखि समाजमा स्थापित गराउने होला ?
पाका मान्छे जून हुन्ः
अहिले नेपालमा पाका मान्छे पहिलेका जस्तो ‘काल पर्खिएर बस्नुपर्ने र पिलन्धरे स्वभाव भएका’ धेरै कम सङ्ख्यामा भेटिन्छन् । सामाजिक चेतना र औषधिको प्रयोगबाट ज्यानले सकेको काम गर्न उत्सुक बढि देखिन्छन् । प्रशासनिक, प्राविधिक र घरगृहस्थीकै काममा पनि बढिजसो विज्ञानसम्मत र समय सुहाउँदो काममा लागिरहने स्वभाव धेरैमा पाइन्छ । अचेलका पाका मान्छे ‘सेवानिबृत्त, बुढेसकाल, बृद्ध अवस्था’ भनेर समय काट्न तासमा रमाउने, चिया पसलमा अर्काको ठूटोमा आशामूखी बनेर कहिले सर्को तानीसक्ला भनि पर्खने गर्दैनन् । उनीहरू त् पाको उमेर लागेपछि बिगत जीवनमा भोगेका उज्याला पक्ष अघि ल्याउन, नकारात्मक पक्षबारेमा पछिका पुस्तालाई सचेत बनाउन लागिपरेर समय गुजारेको देखिन्छ ।
हुन पनि यस शताव्दिको सुरुवातदेखिनै त्यतिखेरका बालबालिका र किशोरकिशोरीहरूले त्यसअघिकाले कल्पनानै नगरेको राजनीतिक सामाजिक परिवर्तन देखे । जङ्गी निजामती प्रसाशनिक फेरबदल, शैक्षिक प्रचार र आर्थिक चलखेल मनग्य आफ्नै आँखाले देखे र भोगे । समयअनुसारको परिवर्तनलाई हैसियत अनुसारनै आत्मसात् गरे तथा आफूलाई सक्दो सक्षम बनाए । विविध नयाँपनमा आङ्कलन गरिएको प्रतिस्पर्धामा खारिएर पाका मान्छेले अहिले रहेका देशभित्र भएका समग्र जनशक्तिमा सबैभन्दा बढि ज्ञान र अनुभव बटुलेका छन् । अहिले ठिकै र थोरै लाग्ने अध्ययन र उपाधि पाएको देखिए पनि बडो कष्टमा मिहेनत, लगन र एकाग्रताकासाथ प्राप्त गरेकाले ज्ञानका भण्डार भन्न सकिन्छ । त्यसैले त त्यतिखेर म्याट्रिक पासले गरेजति उद्यम र बुद्धि अहिलेका स्नातकले अबलम्बन गरी प्रगति गरेको देखिन्नन् । अझ त्यतिखेरका स्नातक वा स्नातकोत्तर भएका त अहिलेका मैँ हुँ भन्ने विज्ञभन्दा हैसियत बढि भएका पाइन्छन् । नेपालमा अहिले विद्यावारिधि गरेका भनि क श्रेणीको ढ्याके तक्मा बोक्नेहरू कतिधेरै उनकै स्नातक गुरुभन्दा कति ज्ञानमा निम्छरा र टिठलाग्दा भएका, होइन त ? उदेक लाग्छ ।
पहिले पाका मान्छेले पढ्नु भनेको राम्रो लेख्नपढ्न र जान्नेसुन्ने हुनुमात्र होइन सँगसँगै घरपरिवारका काममा पनि पोख्त हुनु योग्यता बुझिन्थ्यो । ‘दुईचार अक्षर फुटाउन जान्नेले घरको काम नजान्ने हुन्छ र ?’ भन्ने मानसिकताले अध्ययन गरिन्थ्यो । विद्यालय र नोकरीबाट फर्केपछि लुगा फेरेर पोल्टामा खाजा हालेर कि गाई फुकाएर कि स्याउला-घाँस लिन कुद्नु परिवारको नैतिकताभित्र पथ्र्यो । सहरबजारका छोकडाछोकडी त्यसैगरी कि घरकै व्यवसायिक काममा जुटथे कि पारिवारिक काममा लाग्थे । त्यसैले अध्ययन साँच्चैको ज्ञान आर्जनका लागि भएर एकचित्त लगाएर हुन्थ्यो, ढाँट्न पाइने कम्प्युटर र मोबाईलको घोसेमुण्टो व्यवहार देखाउन त्यतिखेर पर्दै पर्दैनथ्यो । कतिपय त अध्ययन भनेको घोकन्ते र सस्वरबाचन पो हो भनि टोलै थर्काएर पढ्थे । जे होस् अनेक बहानामा ‘आफैँले आफैँलाई ठग्ने वातावरण र प्रविधिको विकासले’ आफ्ना मान्यजनलाई झुक्याउने अवस्थै थिएन । त्यसैले जे जस्तो वृत्ति लिए पनि सबै पारदर्शी र पारिवारिक हितमा भएकाले जे हुन खोज्थे त्यसमा पारखी, गुणवान र अनुभवी बन्नु कालबेला अनुसार परिवारकै ईज्जतको कुरा थियो ।
पोको बोक्नेदेखि डोको बोक्नेसम्म :
कतिपय त आफ्नो उद्येस्य ‘बाबुबाजेको ईज्जत राख्न र वंशको नाम चलाउन’ भन्नेमा गर्व गर्दथे । त्यतिखेर ‘मलाई यस्तो मनपर्छ, मेरो यस्तो ईच्छा छ, म अवसरको खोजीमा छु’ भन्ने व्यक्तिवादी कुरा सार्वजनिक गर्न पनि सक्तैन थिए । यस्ता कुरा ‘लाजमर्दो र एकलकाँटेपनको’ विषय हुन्थ्यो । सामाजिक मर्यादा यतिधेरै थियो कि एकअर्कालाई माया र आदरले हुरुक्कै हुने जोडी पनि ग्यालग्याल्ती सन्तान होउञ्जेल आफूभन्दा मान्यजनका अगाडि बोल्न धक मान्थे । धेरै संस्कार सामुहिक शिष्टता, प्रगति र हितबाहेक अरुतिर केन्द्रीत हुँदैनथे । आजका पाका मान्छे धेरैले चाँडे घरजम गरेर अध्ययनतिर लागेका र घरमा केटाकेटी भएपछि महाविद्यालय गएका थिए भने कति व्यवसाय गर्दै दुखजिलो गरेर रातबिरात पढेर उपाधि लिएका थिए । त्यसैले अध्ययन गर्नु भनेको ‘गुणवान बन्न सिक्नु र ईज्जत राख्न अघि बढ्नु’ भन्ने साँध ननाघि आफूलाई स्थापित गर्न कोसिश हुन्थ्यो । यो सामुहिकताले आजका पाका मान्छेले विद्यालयका धेरै उपाधि नलिए पनि पछिल्लो कालखण्डमा ‘खै त अहिलेकाले जित्नेगरी कामधाम र अनुभवी भएका ?’ यो भनाईले शिक्षामा भोगिएको स्खलनतातर्फ लौरो लगाउन्न त ?
पोको बोक्नेदेखि डोको बोक्नेसम्म, हप्तौँ हिँड्नेदेखि वायुयान चढ्नेसम्म, आँटो च्याँख्ला र ढिँडोमा पेट भर्नेदेखि होटेलमा चौरासी व्यञ्जन खानेसम्म, गाउँ नछाड्ने बेलादेखि काम परेमा देशदेशावर डुल्नेसम्मका पुस्ता हुन अहिलेका पाका मान्छे । पहिला हिँड्दा चौतारा र पाटीको बास हुँदै आफैँ पकाई खाई गर्ने धर्मशालामा आराम गर्ने समयबाट अहिले पैसाले दैनिक काम सबै कोठामै सम्पन्न हुने सुविधायुक्त होटेलमा ढल्किने पुस्ता हुन् अहिलेका पाका मान्छे । छामछुम गर्दै रात बिताउने, उज्यालोको लागि दियालो, टुकी, लालटिनदेखि चकाचौध बिजुलीको पउलमा विभिन्न घरायसी मेसिन चलाउन अनुभवी पुस्ता हुन् अहिलेका पाका मान्छे । खरीपाटी, सिसाकलम, मसी चोपेर निगालाका कलम, मसी भर्ने कलम, अनि टङ्कण लेखन, लिथो पेल्न जानेका, जुत्ता फुकालेर भित्र पस्ने कोठामा कम्प्युटर चलाएका अहिले काखे कम्प्युटरमा बानी परेका हुन् आजका पाका मान्छे । वर्षमा एक पटक वा कसैको विवाहमा मासुको भोजन पाउने बेलादेखि अहिले पसलबाट एकै पटक धेरै मासु ल्याई डिपफ्रिजमा दैनिक उपभोग गर्न राख्ने हुन् पाका मान्छे ।
बजार गएर बा आउँदा चाकुको टुक्रा, सित्तल पिप्लामेठ, पुष्टकारी हुँदै चकलेट र केकसमेतका स्वाद थाहा पाएका छन् पाका मान्छेले । हाते चिट्ठीदेखि आकाशवाणी हुँदै घरघरमा टेलिफोन मात्र होइन हातहातमा मोवाइल हल्लाउने पुस्ता हुन् अहिलेका पाका मान्छे । केही सयमा एक तोला सुनदेखि अहिले नातिनातिना पुस्तालाई चाहिँदा लाख रुपियाँ तोेला सुनका गहना किन्न नहिचकिचाउने पुस्ता हुन अहिलेका पाका मान्छे । समाजको बृहत परिवर्तन, सेवा व्यवशायको विविधता र आर्थिक ढाँचाको अपत्यारिलो स्फिती, मुद्राको हदसम्मको अवमूल्यन र उँचनिचलाई भोगेका छन् अहिलेका पाका मान्छेले ।
केटाकेटी हुँदा आफूलाई परेको दुखको तोडले दानदक्षिण पाएकोदेखि कमाउँदा सकेको साँचेर जोगाई आफूभन्दा मुनिकाले दुख नपाउन् भनि चलअचल सम्पती जोर्ने हुन् पाका मान्छे । हरेक पटकको खान्गीमा एक चिम्टी भए पनि जोगाउने चलन त्यसै चलाएका होइनन् होला ? यतिखेरको पउल रुपियाँपैसा र व्यक्तिगत खर्चमा अहिलेका तन्नेरी देशविदेश पढ्न जाने रकम पाका मान्छेले थुकतेल गरी जोगाएको सम्पति होईन र ? अहिलेका पाका मान्छेले केटाकेटीमा पाएको भौतिक सुविधा जस्तो भए अहिलेका केटाकेटीले के गर्लान् ? अहिलेकालाई सामान्य लाग्ने कुरा पाका मान्छेले कहिले भोग्न पाए होलान् ?
वयस्क हुँदा सामाजिक दायित्वसहितको विद्याआर्जन, समयसापेक्ष विविध अनुभव, एकतन्त्रदेखि राजतन्त्र, संसदीयदेखि गणतान्त्रिक भनिने विभिन्न ढङ्गका जनतामाथि राज चलाउने राजनीतिक व्यवस्थाका प्रत्यक्ष साक्षि हुन् अहिलेका पाका मान्छे । उहाँहरू सबैखाले सामाजिक परिबर्तनका भूक्तभोगीमात्र होइन कतिपय त प्रत्यक्ष सहभागी र जोदाहा कार्यकर्ता भएको सगर्व सम्झन सक्नुहुन्छ । देशमा मानिएका कैयौँ शहीदहरू, वीरविराङ्गनाहरू, कविकलाकारहरू र देशको नाम राख्न अद्वितीय काम गरेका सबैजसो उहाँहरूका दौँतरी भएको अहिले पनि सगौरव पाका मान्छे भन्नसक्नु हुन्छ ।
अन्त्यमा,
नेपालको राष्ट्रिय जनगणना २०६८मा नेपालमा कुल २,६४,९४,५०४ मानिस भएको जानकारी थियो । उक्त जनगणनामा ६० वर्ष नाघेका पाका मान्छे वा ज्येष्ठ नागरिकको सङ्ख्या २१,५४,४१० आङ्कलन भएको थियो, यो त्यसबेलाको कुल जनसङ्ख्याको ८.१३ प्रतिशत हुन आउँछ । दश वर्षपछि २०७८मा गरिएको जनगणनामा २,९१,६४,५७८ आङ्कलन भयो र पहिलेकोमा २६ लाख ७० हजार बढेको देखियो । यसमा पाका मान्छे २९,७७,३१८ थिए र कुल सङ्ख्यामा १०.२१ प्रतिशत हुन आउँछ भने पछिल्लो दशकको भन्दा २.०८ प्रतिशतले बृद्धि भएको देखिन्छ । पाका मान्छेको सङ्ख्यात्मक बृद्धि धेरै उमेरसम्म बाँच्न सकिने अवस्था सिर्जना भएको नै सङ्केत हो । युवा र वयस्कको पलायन द्रुतगतिमा भएर एक करोडको हाराहारीमा देश बाहिर भएकाले मताधिकारको आधारमा हेर्ने हो भने १६ वर्ष माथिका मध्ये पाका मान्छेको प्रतिशत एकतिहाई बढि हुनजान्छ । बिगतको बयस्क आँकडाले (७०.०९ प्रतिशत) आउँदो दशकमा पाका मान्छे झन बढ्ने छन र कुनै पनि वालिग चुनावमा आधा हुन जानेछन् अर्थार्त देशको प्रभावशाली उमेरसमुहमा पर्ने निश्चित छ ।
अहिले नेपालमा भएका पाका मान्छेको ज्ञान, बुद्धि र अनुभव अहिलेको जनसङ्ख्याको सबैभन्दा भरपर्दो र उत्तम खालको जनशक्ति भन्न सकिन्छ । पाका मान्छे कसैलाई बिगार गर्न भन्दा जानेको सिकाउन उद्यत रहन्छन् भने सामाजिक भलाईमा चिन्तनशील हुन्छन् । के आजका हाम्रा अग्रज पाका मानछे नेपाली समाजका ज्ञान र अनुभवले सबैभन्दा सबैभन्दा चहकिला आदरणीय र सहयोगी माया गर्नुपर्ने उमेरसमुह होइन र ? घरपरिवार र समाजलाई सहि दिशामा अघि बढाउन पाका मान्छेका अनुभव, लामो जीवनको सूत्र तथा उपाय सिक्न अति आवश्यक छ । उहाँहरूका कुरा, अर्तिउपदेश र सल्लाह ‘गनगन र म्यादगुज्रेको’ किमार्थ होइन, त्यो त कुहिरो लागेको दिनमा सूर्य उदायझैँ हो भने अँधेरी रातमा देखिएको डाँडामाथिको उज्यालो जुन हो । रातमा अल्मलिएर बाटाे खोज्न गाेरेटाे लागेकालाई गाह्राे हुँदा जुनको टहकमा सात डाँडा नाघ्ने आँट आउँछ होइन र ?
०००
जेठ १३, २०८०
ल.पु. चालिसेडाँडा
Subscribe
Login
0 Comments
Oldest



































