
पाकाको स्वभावनै दानी !
आफू खाई नखाई सन्तानको हितमा असलमात्र पार्ने पाकापाकी र उनीहरूको उन्नतिमा आफैँले गरेझैँ गर्व गर्ने यो उमेरसमुहको ल्याकत कुनै अरु उमेरसमुहमा देखिन्छ र ?

डा. मुकेश चालिसे
पाकापाकी मान्छेलाई कतिपय ठिटाठिटी उमेरकाले ‘सँधै पुरानै कुरा गर्ने, गनगने, नबुझिने कुरा गर्ने, पुराना’ भन्न सक्छन् भने नवधनाढ्य र आधुनिक भनाउने वयस्कहरू भेट हुँदा ‘अब, बुढापुराना उहिले बाजेका पालाको, म्याद खुस्केका कुरा गर्ने, कुरा नसिद्धिने मान्छे’ भनि पन्छिन सक्छन् । पाका मान्छेलाई पाको उमेर लाग्ने सुरुसुरुमा गरे पनि उमेरिदै जाँदा आफ्ना बर्कतको फूर्ति थाहा भइसक्छ र चाहिँदो कुरामात्र गर्ने स्वशिक्षा पाइसकेका हुन्छन् । उहाँहरू सम्भवत कोट्याएपछि बोल्ने र अरुका विशेषगरी आफूमुनिका उमेरसमुहको अघि धकमानेझैँ कम बोल्ने गरेको पाइन्छन् । हुन त, घरव्यवहार र मान कम पाइने जमघटमा बोल्न नपाएका कतिपय पाका मान्छे आफ्नो अनुभव र ज्ञानमा अझै गर्व गर्ने स्वभाव भएमा पाएको ठाउँमा बाँध फुटेझैँ धारावाहिक बोल्न पछि पर्दैनन् ।
पाकापाकी मान्छे उमेर, अनुभव र ऐतिहासिक घटनाक्रम देखिजान्ने भएर ज्ञानको कुम्लो बोकेको जसरी कुरा गर्छन् । अनुभव भन्न सक्ने र चाहेमा सिकाउन सक्ने प्राणी मानिस प्रजाति मात्र हो, त्यसैले पनि मानिसमा अरु प्राणीको भन्दा विवेक र बुद्धि बढी भएको होला । यसैकारण पृथ्वीका सबै जीवित प्राणीमा मानिस प्रजाति नजिकका बनमान्छे भन्दा पनि विकसित भएका हुन् । अरु प्राणी केहीले अशक्त अवस्थामा आफन्तलाई अलिअलि हेरबिचार गरेको देखिन्छ र आफ्नो व्यक्तिगत स्वार्थ केहीमात्र त्याग गरेको पाइन्छ । मानिसमा त्यसभन्दा सायौँ गुणा बढि अरुका लागि त्यागमात्र होइन समष्ठिका लागि प्राण आहुती गरेका घटनासमेत पाइन्छन् । घरव्यवहारको प्रशङ्ग चल्दा बाआमा र पाका मान्छेले कम उमेरका आफन्तका लागि व्यक्तिगत फाइदा र सुविधाको त कुरै छोडौँ सम्पूणर् क्रियाकलापनै सानाको हितमानै सुम्पेका हुन्छन् ।
गुनः
गुनका कुरा बिचार गर्दा पाका मान्छेका कतिकति ?, धेरै कुरामा देखिन्छ । उमेर ढल्केर कमजोर बन्दै गएको अवस्था, छ दशक लामो अनुभवले पहिला हुर्दुङ्गे, रिसाहा र हावादारी गफ गर्नेभए पनि काम नलागेको निचोड र ज्ञानगुनका कुरानै अजम्बरी भएको ठम्याईमा विश्वास बढेको हुन्छ । त्यसैले पाका मान्छे परीक्षणका कामकुरा र बिचारभन्दा अनुभवसिद्ध प्रक्रियामानै भर गर्छन् । यस्ता उमेरसमुहबाट कसैले हानीनोक्सानी र अभद्र कामकुराको सम्भावना नदेख्नुनै उहाँहरूप्रति आस्था र मानराख्नु हुन जान्छ । अपवादमा कहिँकतै पाका मान्छेका नकारात्मक कुरा सुन्नु देख्नु भनेको धेरैजसो परिवेशको असर र अति पीडाको फल भन्न सकिन्छ । आर्थिक कारोवार र चलखेल गरिरहेकाको कुरा अलि फरक भए पनि सामान्यतया पाका मान्छे धेरै कुरा समाज र परिवारको हितमा निशुल्क, निश्वार्थ र निशर्त गरिरहेका र भनिरहेका देखिन्छन् ।
निशुल्कः
घरका वयस्क उमेरसमुह बाआमा हुने छाँटकाँट देखेपछिनै पाकापाकीले नवजात शिशुका लागि के मात्रै गर्दैनन् ? उमेरदारको मासिक रजश्वला रोकिएसँगै पाकापाकीको जिम्मेवारी थपिएको सुराक पाइन्छ, हरेक रात गुनगुन बढिरहेको हुन्छ । के कता छ वा के कुरा ल्याउनु पर्छ ? बडो गम्भीर छलफल चलिरहेको पाइन्छ । दैनिक गाह्रोसाह्रोमा जीवन चलाइरहेकाले पनि नवजातको लागि भनेर गर्भ रहेको ठेगान लागेदेखि जन्मने महिना र दिन व्यग्रतापूर्वक पर्खिने गर्छन् र चाहिने चिजविजको जोहो गर्न थाल्छन् । ‘छोरो पाउनु कहिले कहिले कन्धनी बाट्ने अहिले ! छोरी पाउने कहिले कहिले झुम्की बनाउने अहिले’ भन्ने उखान चलेको त्यसै व्यग्रताको फल होला नि ! कतिले सुत्केरी उकास्न र नवजातलाई मनग्गे दुध पुर्याउन, गाउँघरतिर खसी नसके कुखुरो अथवा सक्नेले ठिक्क अड्कलेर त्यतिखेर लैनो हुने गाई वा भैँसीनै भित्र्याएको पाइन्छ । कतिजनाले अन्धविश्वासमै परेर भए पनि सप्लाएका परिवारका बच्चाका थाङ्नाभोटा धोई पखाली जम्मा गरेका भेटिन्छन् ।
अचेल त पैसा छ्यासछ्यास्ती भएकोले केटकेटीका लागि बाजारु लुगा बेलैमा बटुल्ने र चिकित्सकको सम्पर्कमा महिनैपिच्छे दाम खर्चगरी गर्भअवस्था केकसो छ र कस्तो व्यवस्था गर्नेमै हजारौ खर्च गरिसकेका हुन्छन् । जन्मनु अगाडिदेखिनै परिवारका पाकाको त कामनै मरमसला सुकाईपकाई गर्ने, चाहिने खानपानको व्यवस्था गर्ने, सुत्केरी र नवजातको बस्ने कोठा परीक्षणगर्ने काममा लाग्छन् भने स्याहार्ने अनुभवी महिलाको टुङ्गो गरिसकेका हुन्छन् । बाआमा होइने दम्पतिदेखि घरका पाका मान्छेले के यी सबै काम गर्न पैसा लिन्छन् र ? नजन्मदैको त्यो परिश्रम र स्नेहको मूल्य कति होला ? शिसु जन्मे पछिको फूरफूर बाआमा भन्दा बढि घरका पाकापाकी मान्छेको भएको हेक्का गर्नु भएको छ ? कहिल्यै नहाँस्ने पनि हजुरबा हजुरआमा भएकोमा मस्केको र अब आफू पाको भएको कुराकानी सुन्नुभएको होला नि ? पाकाले पाकी नजिक परेर जिस्कँदा ‘हजुरबा भएकाको हेर बैँस उम्लेको ! अब त लाज हुन्छ है’ भनि खित्का छोडेको नवागन्तुकको स्वागत होइन र ?
पाकापाकीको घरमा बालबच्चा थपिँदा कसैलाईभन्दा पाकापाकीलाईनै आफ्नो वंश फष्टाएको उत्साहले आफू खाइनखाई शिसु हुर्काउने धामा हेर्नलायक हुन्छ । उज्यालो नहुँदै सुत्केरीको खाना र साँझ नपर्दै बेलुकाको तनुखा भइसक्छ । घमाइलोमा तेलारी गर्न नपाए साँचेर राखेका गोल र खोयाले बच्चा र सुत्केरीले राप पाएकै हुन्छन् । हरेक दिन निद्रा कस्तो रह्यो ? रुचि अरुचि कस्तो छ ? दिसासौँच ठिक छ कि छैन, सबै पाकापाकीले हिसाब बुझेझैँ बुझेर व्यवस्था गर्छन् । सुत्केरी कुनाभित्रै रहँदा पाकाले पाकीसँग नवजात कस्तो जीउडाल, बनावट र अनुहारको भनि बेलुका खासखुस गरेको कस्ले नसुन्या छ र ? कुल, वंश र परम्परानुसार नवजातको नाम राख्न हतारो न्वारानको दिन नपुग्दै पाका नै अघि सर्छन् ।
शिसु अलिअलि हाँहाँ हुँहुँ गर्न थालेपछि र नजिक जाँदा चिनेको आशय देखाउन थालेपछि पाकापाकीको ‘मलाई चिनेको के ? आफ्नालाई चिनेको नि !’ को हानथाप कम रमाइलो हुन्छ र ? अब चल्छ, आफ्नोजस्तो भएको शिसुको यो भाग, हेराई, औँलाको बान्की, हातगोडा, निधार, केही नभए आँखीभौँ र कानको आकार बारेको प्रतिस्पर्धा । नवजात र प्रसूतिको हेरचाहमा कम्तीमा छ महिना दिनरात गम्भीर चिन्तनकासाथ आवश्यक कार्यान्वयन गर्ने पाकापाकीको शारीरिक र मानसिक श्रमको मूल्य कति होला ? के कहिल्यै पाका मान्छेले उड्केका छन् र, यति गरेको उति गरेको भनेर ? बरु आफ्नो कर्तव्य सम्झेर जति सन्तान भए पनि निशुल्क पुर्याएकै छन् चाहिने आवश्यक कुराहरू, होइन र ? पाका मान्छेले गरेका स्नेहका सागर उराल्ने गतिविधि कहिल्यै फिर्ता नमाग्ने गरेको बारेमा के अरु उमेरसमुहले एक छिन भए नि सोच्न भ्याएका छन् कि ? पाकापाकीहरू आफ्नो कर्तव्यमा अविचल छन् ।
निस्वार्थः
घरका पाकाले परिवारका लागि मात्र होइन समुदायका लागि समेत जहिल्यै निस्वार्थ ढङ्गले आफ्ना विचार र सरसल्लाह दिएको पाइन्छ । आफ्ना अनुभवका आधारमा सधैं सचेत भई प्रमाणिक र हुनसक्ने कुरामात्र भन्ने पाका मान्छेका हरेक कामकार्वाही आफूलाई फाइदा पुग्नेभन्दा निस्वार्थरुपमा भनि गरिएको पाइन्छ । केही पाउन होइन अरुलाई फाइदा पुगोस् भन्नेमात्र ध्याउन्ना हुन्छ । पाका मान्छे अरुलाई बाधा नपुगोस् भनि सँगै बस्दा कुक्रुक्क पर्ने, हिँडडुल गर्दा अरुलाई नछोइयोस् भनि तर्केर हिँड्ने र बोल्दा कर्कस नहुने धेरैजसो पाइन्छ । परिवारमा आफूमुनिकाको शिक्षादीक्षा र स्वास्थ्य बारेमा सतर्क रहने र व्यक्ति अनुकुलको व्यवस्था गर्न लागिपर्छन् । के कहिल्यै ‘मैले यसो गरेकाले तिमीले मलाई यसो गर्नुपर्छ’ भन्छन् र ?
केटाकेटी अल्मलिएलान् भनि विद्यालय छुट्नु अघिनै लिनजाने बाआमा र पाकापाकीले ‘यति कुरेँ तेरा लागि’ भनेर समय जोडेर बस्छन् र ? त्यसको ज्याला माग्छन् र ? बरु बालबालिका देख्नासाथ खुशी भएर सकि नसकि स्कूले झोला बोक्न खोज्छन्, खाजा र पानीको भाँडो हेर्छन्, खाए नखाएको हेरी ‘बाटोमा केही खाने कि घरनै गएर थप खाजा खाने’ भनेर सोध्छन् । बाटोमा अनुकुल हेरी दिनभरी केके पढियो र जानियो ? भनि कुराको पोयो फुकाई हाल्छन् । सकेको र जानेको बाटोमा पनि सिकाउँदै बाटो कटनी गर्छन् र कतिपयले त गृहकार्यको सोधपुछपछि घर पुगेर सफासुघ्घर भई गर्ने कार्यको खाका कोर्नमा मद्दत गर्छन् । वयस्कहरूलाई घरव्यवहारको झिँझोलामा र किंकर्तव्यविमूढ पर्दा पाका मान्छे डाँडामा झुल्केका जूनझैँ प्रष्ट बाटो पहिल्याउन सधैं आफ्ना अनुभव र ज्ञानको पाइनमा उचित समाधान देखाउन अग्रसर हुन्छन् । जटिल समस्या परेमा परिवार जोगाउन आफ्ना गुप्तिधन निकालेर भए पनि सल्ट्याउँछन् र ‘परेको बेला हिरा फोर्नु नपरेको बेला नुनढिकी नदेखाउनु’ उखान चरितार्थ गर्छन् । साँच्ची, पाका मान्छेका यस्ता व्यवहारमा तपाइँहामी कुनै स्वार्थीपना भेट्टाउन सकौँला र ?
निशर्तः
पाकापाकी मान्छेका हरेक कामकुरा कसरी अरुको हित हुन्छ र सबैलाई फाइदा पुर्याउन सकिन्छ भन्नेतिरनै केन्द्रित हुन्छ । आफूलाई कुनै फाइदा पाउनुपर्ने शर्तबिहिन पाका सल्लाहले कसलाई बेफाइदा हो र ? पाका मान्छे सधैं अनुभवशिद्ध ज्ञानलाई परिस्थितिको मूल्याङ्कनसहित बोल्नैपरे भन्छन्, त्यसलाई खेलाँची सम्झनु भनेको बुझ्नेकै अनभिज्ञता ठान्नु पर्छ । हरेक काम ठीकसँग गर्नुपर्छ र इच्छित फल प्राप्त गर्नुपर्छ भन्ने पाकाको सल्लाह कुरामात्र हो र ? वास्तविकता हो नि । हरेक मानिसको जीवन मानव इतिहासमा निमेषभरको हो, अर्को जन्मको प्रत्याभूति प्रमाणितरुपमा कसैले नगरेको अवस्थामा हामी मानिसले हरेक पल सदुपयोग गर्नुपर्छ समुह र अरुको लागि । तब न मानव नत्र त आफ्नै लागि त् एक कोषिय प्राणी, कीरा, गड्यौला, सरिसृप, वन्यजन्तु जस्ताले पनि गर्छन् । के हामी अन्य जन्तुभन्दा विवेक र चेतनाले अति विकसित होइनौ र ?
किशोरकिशोरीको तथाकथित ‘अवशर र भविष्य’ भन्दै आफ्नो बाँकी समयको बेवास्ता गर्दै पुख्र्यौली सम्पती सकेर भए पनि परदेश पठाउने आँट गर्न सक्ने पाकापाकीलाई के भन्नुहुन्छ ? हदै पाए त्यस बलिदानको बदला केही वर्षमा ग्रेजुएसनको नाममा एकदुई महिना विदेश घुम्ने मौका पाउलान् ! अनि त फेरि घुमीफिरी रुम्जाटार भनेझैँ आफ्नै कोचेधन्दामा रमाउन आफ्नै रसोबासोमा फर्कन्छन् । केही दिन विदेशिएको गफ गर्छन् तर एकाङ्गी जीवन जीउन अभिसप्त पाकापाकीहरू निशर्त गरिएको सन्तान प्रतिको स्नेह कहिल्यै उल्लेख गर्न पनि आवश्यक ठान्दैनन् । उहाँहरूका ऐय्या नभनि गरिएका योगदानको कदर कथम कुनै सन्तानले बचनले प्रशंसा गरे पनि अन्तिम अवस्थामा ‘एक घुटको पानी ख्वाउन त के लासको सतगत गर्न’ समेत टिकट नमिलेको बहानामा आफन्त गुहारेको कथा धेरैको हिजोआज सामान्य भएको छ । साँच्ची पाकापाकीको निशर्त स्नेहको उपहार त्यस्तो अवस्था सिर्जना गर्ने सन्तानमा कतिको भावनात्मक मोह होला है ?
मानिसका समुह अरुका हितमा समेत सङ्घसंस्था खोलेर भए पनि क्रियाशील हुनुको कारण के होला ? मानव समुहले हरेक आआफ्ना घेराफेराका सदस्यहरूको रेखदेख र भलाईमा कामकुरा गरिरहेका हुन्छन् । हिजोआज त मानिस आफ्नो प्रजाति बाहेक अरु प्रजातिको हितमासमेत काम गर्छन् । जीवित विश्व पृथ्वी र अन्य ग्रहहरूबारेमा समेत अनुकुलताको कुरा गर्छन् । पाकापाकीहरू सिमित तिनै अति उच्च मानसिकता भएका उमेरसमुहमा पर्छन् जस्ले निशर्त सबैको कल्याणमा चिन्तनमनन् गरेर धेरै नसक्नेले पनि परिवारको हितमा नै कामकुरो गरिरहेका पाइन्छन् । सक्नेले त समुह, समुदाय र पुरै मानव सँसारका लागि आफ्ना स्तुत्य कार्य तथा भनाई राखिरहेकै हुन्छन् । हरेक प्रशंसित र मानिला पाका मान्छे समाजले आफूलाई केही गरोस् भनेर काम गरेका हुन् र ? उनीहरूको मस्तिष्कले छ दशकको हण्डरठक्करले सहि कुरा निशर्त भन्ने र गर्नेबाहेक केही जान्दैन । हेर्नोस् त, ठाउँठाउँमा सार्वजनिक हित र भलाईमा खोलिएका, स्थापना गरिएका र सञ्चालनमा रहेका धेरै संस्था पाकापाकी मान्छेको निस्वार्थ र निशर्तरुपले गरिएको योगदानको फल हुन् । उहाँहरूले त्यस्ता कार्य गर्न कुनै शुल्क लिनु भएन न केही नगदीजीन्सी पाउने आशा राख्नु भयो । परोपकार सँस्था यसको ज्वलन्त उदाहरण बन्न सक्छ भने विद्या बेच्ने होइन भनि जानेको शिक्षाद्वारा जनतालाई शिक्षित गर्न आफ्नै पिँढीमै राखेर अघि सर्ने गुरु र गुरुआमा स्तुत्य भनिनु पर्छ ।
अन्त्यमा,
मानिसका घरपरिवारमा पाकापाकीको अहम भूमिका भएकालेनै ‘पाकापाकी भएको घर उज्यालो’ भन्ने चलन छ । पाकापाकी ‘घरकुरुवा’ मात्र होइन पूरै परिवारलाई विभिन्न किसिमले सघाएर आफूले गरेकोभन्दा प्रगति गराउन निशुल्क, निस्वार्थ र निशर्त मद्दत गर्ने उमेरसमुहमा पर्छ । यो उमेर समुहले नातिनातिना भएका वयस्कलाई पनि भरथेग र सहयोग गरेको थुप्रै उदाहरण मानव इतिहासमा पाइन्छ । आफू खाई नखाई सन्तानको हितमा असलमात्र पार्ने पाकापाकी र उनीहरूको उन्नतिमा आफैँले गरेझैँ गर्व गर्ने यो उमेरसमुहको ल्याकत कुनै अरु उमेरसमुहमा देखिन्छ र ? छरछिमेक, वरपर र बाटोघाटोमा समेत अमिल्दो र अप्ठ्यारो देखेसुने अरुको हितमा सतर्क गराउने पाकापाकी कति सामुहिक बिचार राख्छन् ? अहोरात्र आफन्तको प्रगति र भलाईमा आफू नुनिला आँसु घुट्क्याएर भए पनि लागिरहने पाकापाकीको समुह अरु उमेरसमुहसँग दाँजिन कबै सक्तैन, सक्छ त ? आफू मिटाई सार्वजनिक भलाईमा अरुलाई दिनसक्ने पाकापाकी मात्र हुन् है, ख्याल गरौँ । त्यसैले पाकापाकी जस्ता दानवीर को होलान् ? हामी सबैले श्रद्धा, आदर र सहयोग गरौँ !
०००
चालिसेडाँडा, ललितपुर
भदौ १८, २०८०