साइबर अपराध सम्बन्धी सचेतना सामग्री

एउटा वृद्ध व्यक्तिको चिन्तन के हुन्छ होला ?

वृद्ध, अशक्त र कमजोर व्यक्तिलाई सकेको मद्दत गरौँ । आफ्नो परिवारको वृद्धहरुलाई सेवा र सम्मान गरौँ । दिर्घायु भए हामी सबै वृद्ध र अशक्त हुने कुरा नबिर्साैँ !

Nepal Telecom ad

जब म एक जीर्ण बूढो मान्छे हुने छु, के तिमी मसँग केही समय बस्ने फुर्सद निकाल्न सक्छौ ?

राम्रो सँग कानले नसुन्न सक्छु एउटै कुरो दोहोर्‍याएर सुनाउन सक्छौ ?

बुढेसकालमा तागत पनि कमजोर हुन्छ, अचानक मेरो हातबाट तिमीले किनेको सिसाको गिलास खसेर फुट्न सक्छ मलाई गाली नगरी माफ गर्न सक्छौ ?

म स्पष्टसँग देख्न सक्दिनँ, भ्रम र गल्ती हुन सक्छन्, मलाई चिच्याएर गाली नगरी बस्न सकौँला र ? किनकी यो दुनियाँमा बुढा पुराना मानिसहरू सधैँ उपेक्षित हुने गर्छन्, किन हो कुन्नी ?

मेरो एउटै बिन्ती र आग्रह छ,
मैले कान सुनिन भने बहिरो नभन्नु, आँखा देखिन भने अन्धो नभन्नु, म प्रकृतिको नियम अनुसार बुढो भएको हुँ, मेरो रहरले हैन है ।

मेरा दाँत पुरै झरेर जाने छन् जसका कारण बोली अस्पष्ट सुनिने छ, के म बोलेको बुझ्ने कोसिस गर्न सकौँला र ? तिमी बच्चामा मुख चलाउँदा बित्तिकै मैले तिम्रो भाषा बुझिहाल्थेँ । कमजोरीका कारण हिँड्न पनि कठिन हुनेछ, के बाल्यकालमा तिम्लाइ डोर्‍याएको पैँचो तिर्न सक्छौ र ?

एकदिन अन्तिम घडी पनि पक्का आउने छ, म सुतेको ओछ्यानमै फोहोर गर्न बाध्य हुनेछु,

कृपया दुर्गन्ध आयो भन्दै टाढा नहुनु,
म मरे पछि दिइने सम्मान जिवित रहँदै दिनु,
मरे पछि जो इष्ट मित्र जम्मा भएर बस्छौ बरू म नमर्दै जम्मा भएर बस्नु,
म मरे पछि गरिने प्रशंसा जिउँदो रहँदै गर्नु किनकी म मरे पछि कसले के भन्छौ मैले सुन्दिनँ, के गर्छौ मैले देख्दिनँ ।

डाँडा माथिको घाम भनेर सम्झनु र मेरो हात तिम्रो मुट्ठीमा समेटेर राख्नु । जब तिम्ले प्रेमले मेरो हात समाउनेछौ तब सम्म मेरा स्रष्टा पनि मलाई लिन टुप्लुक्क आइ पुगेका हुनेछन् । म तिम्लाई राम्रो सँग बस्नु भन्दै म यहाँबाट बिदा हुनेछु !

आखिर मान्छे मरि हाल्यो भने के हुन्छ त ?

शङ्ख बजाउँदै गाउँ समाजमा जानकारी दिने होलान्, टाढा रहेका छोराछोरीहरूलाई खबर गर्न कसैले हातमा मोबाइल लिएर बस्ने होलान्, कसैले फेसबुक र ह्वाट्सएपमा फोटो टाँसेर “श्रद्धाञ्जली” व्यक्त गर्ने होलान् !

टाढा रहेका छोरा छोरी बेफुर्सदका कारण आउन सकिएन भन्ने खबर सुनाउने होलान्, घरमा भएका श्रीमती लगायत सन्तान सुँक्क-सुँक्क गर्दै सागरसम्म छर्ने बुर्की, टीला, घिउ बाती ठीक्क पारेर दिने होलान् !

कसैले फोन गरेर सागरमा चाहिने दाउरा र चिया चमेनाको व्यवस्था गरिरहेका हुनेछन् !

लाश जलिरहेको हुनेछ, कोही घर फर्केर काममा लाग्ने छन भने कोही जलिरहेको लास हेरेर मृतकका राम्रा र नराम्रा काम गन्न थाल्ने छन् !

घरमा रुवाबास सिद्धिएर अब के खाने के नखाने मेनु हेरेर खानाको बन्दोबस्ततिर लाग्ने छन, भोलिपल्ट बाटै मृत्युशोकको पीडा कम महसुस गर्न थालिने छ, अनि उस व्यक्तिको ठाउँमा उसको फोटो राखिने छ !

अन्तिम तिथिमा सबैलाई बोलाएर रोटी खीर मिठाई पकवान खुवाइने छ । अर्को वार्षिकी श्राद्धमा सबै भेट हुने भन्दै सबै बिदा हुनेछन् । चौधौँ दिनबाट मर्ने मान्छेको याद आउन पनि छोड्ने छ, छोराछोरी आफ्नै पेशामा व्यस्त हुनेछन्, नातिनातिनाहरू पार्टी पिकनिक र घुमफिरमा रमाउने छन् भने श्रीमती टी.भी सिरीयल हेरेर दिन काट्ने छन्, अब वार्षिक श्राद्धमा बाहेक अन्य दिन सम्झना केही हुने छैन । मृतकको साक्षी फगत फोटो मात्र हुनेछ !

जिन्दगीको सच्चाइँ यही हो ।
सम्झेर ल्याउदा हाम्रा आँखाको आँसु पनि आफ्नो हैन, आफूले फेर्ने श्वास पनि हाम्रो बसमा छैन ।
ज्यादा लालच, तृष्णा र दौडधुप के का लागि !

त्यसैले,
वृद्ध, अशक्त र कमजोर व्यक्तिलाई सकेको मद्दत गरौँ । आफ्नो परिवारको वृद्धहरुलाई सेवा र सम्मान गरौँ । दिर्घायु भए हामी सबै वृद्ध र अशक्त हुने कुरा नबिर्साैँ !

०००
नीलकण्ठ शर्मा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x