डा. मुकेशकुमार चालिसेपाकाले स्वस्थ रहने दैनिक उपाय आफैँ गरौँ !
कैयौँ पाका मान्छे परम्परागत धारणामा किर्नो टाँसिएझैँ लागिरहनु हुन्न, ‘बग्ने खोला चोखो र जमेको पानी बिटुलो’ भन्ने आहानलाई मानेर सधैँ हँसमुख र अरुसँग मिसिने स्वभाव बनाउने हुनुपर्छ ।
डा. मुकेश चालिसे :
प्रायः मानिसहरू उमेरिँदा विभिन्न तरिकाले सहज बाटो खोज्छन् र परिवारले ओड नढाकेका महिला पुरुष पाका मान्छे अचेल आफ्नो क्षेत्रमा कुनै सामाजिक सदावर्ते संस्था छ कि भनि नियाल्छन् । हैँसियत भएकाहरू समेत सरकारी ढुकुटीमा रजाइँ गर्न पाउने स्थितिमा ‘लुटेको धन फुपुको श्राद्ध भनेझैँ’ माथि पुगेकाहरू आफ्नो थैलीको सुको खर्च नगरी चाहिएका सबै कुरामा सुविधा लिन मरिहत्ते गरेको देख्ने सर्वसाधारण मानिसमा ‘जीवनको अन्तिम लक्ष्यनै धन हो’ भन्ने परेको छ । यस्तो मानसिकता बनाई दिएमा शासन गर्न सजिलो हुन्छ भन्ने कारोवारीले बुझ्दछन, त्यसैले नातागोता, ईष्टमित्र, सहयोग, आदर, सत्कार, आउरो, अदव, सदभाव, सहिष्णु, र मानराख्ने जस्ता शब्दहरू प्रचलनमा अचेल हाम्रो समाजभित्र दुर्लभ हुँदैछन् । समाजमा बसेपछि सामाजिक हुनुपर्ने मानव प्रजातिमा बनैया प्राणीमा जति पनि विवेक नदेखिनुले गर्दानै यस समाजका सबैभन्दा पाका, अशक्त र अनुभवका भण्डार हाम्रा बाआमा हिजोआज वृद्धभत्ताको आशामा दैनिकी चलाउन सक्छु कि भन्दै टण्टलापुर घाम र चुँदो झरीमा श्रोत केन्द्रतिर झिसमिसेमै लाइन लाग्न पुग्छन् ।
देखे, भोगेका कुराः
चास्नीमा लहसिएका झिँगाझैँ एकपटक माथिपुगेका त स्वर्गीय सुख कायम गर्न बेलाबेला नौलानौला विकासे मन्त्र भूतभुताउँदै आवधिकरूपमा तपाईं सामु आएका हुन्छन भने त्यस्तो रजाइँ सुनिजानेका र देखीजानेका पछुवाहरू ‘आफ्नो पालो कहिले आउला ?’ भनि मालिकको खोजीमा हुन्छन् । मालिकको निश्चय भएपछि यी नयाँ झिल्केहरू ‘तपाईंहरूनै उस्तो, योग्य रोजेमा विकासको घोडाले वायुपङ्खी भई, घरघरमा सम्वृद्धिको कुलो पस्छ, मलाई छान्नोस्’ भन्दै भत्ताको पुन्कीसमेत बढाउने हल्ला पिटछन् । नानारङ्गी चटकेबाट आजित भई तपाईंले गरेको बेवास्ता देखेर समय छँदै केही नगरेका र सार्वजनिक हितमा सिन्को नभाँचेका छट्टुहरूले त्यो जनमनोदशा बुझेर अनेक किसिमका शङ्ख, घण्ट बजाउँदै नचाहिने पाठ पढाई पृथ्वी निमेषमै परक्क पल्टाउने हल्लाले हैरान पार्छन् । विचार र जीवनपद्धतीबारे बेखवर यस्ता नयाँ प्रजातिका किर्नाहरूको बाहुल्यताले हरेक देशका सबै उमेरसमूह र वर्ग प्रभावित भएका छन् भने पाका मान्छे त ओझेलमा परेका छन् । यिनको दुई दशकभन्दा लामो पाल्से कुराको मर्म बुझेका उमेरिएका मान्छे ‘अब आफ्नो स्थितिमा आमुल परिवर्तन आफुजस्तै सोच्ने मानिस अगुवा पाएमा हुने नत्र लोप्पा खाइरहनु पर्नेछ’ भन्ने निक्र्योलमा पुगेका देखिन्छन् । त्यसैले आफ्नै हैँसियतबाट उठ्न र शारीरिकरूपले स्वस्थ रहन केही उपायहरू बानीको तहमा अङ्गिकार गर्नुपर्ने अडानमा अडिएका पाइन्छन् । तपाईं हामी उमेरिएकालाई आफ्नो दैनिकीमा त्यस्ता कुरा उपयोगी हुनसक्छ, एक छिमल प्रयोग गरेर हेर्दा के फरक पर्ला र ?
हार्वाडको पुरुष स्वास्थ्य निगरानी समूह, डुक ओखतिको समाचार र वैल कर्नेल चिकित्सा क्याम्पसका कार्यकारी सम्पादकको अनुभव सङालेका म्याथ्यु सोलनले खास गरेर पाका मानिसले जेजसरी हुर्किएको भएपनि अब उमेरले गर्दा गर्नु पर्ने दश प्रकारका बानीबारेमा लेख्दै स्वस्थ रहने रणनीति भनि प्रचार गरेका छन् । उनका लेखाई सबै पाका महिला र पुरुषलाई वाञ्छनिय छ छैन भनि ब्रिघामका चिकित्सक र बोस्टनको महिला अस्पतालका विज्ञ डा. होवार्ड लिविनेले समीक्षा गरी लैङ्गिक हिसावले अनुकूलका बुँदासहितको लेख भनेका छन् । उहाँहरूको ठम्म्याइँमा हरेक पाका मान्छेले आफुलाई उमेरिएको अवस्थामा स्वस्थरहनकोलागि ती बुँदाहरूलाई कार्यान्वयन गर्नुपर्ने मार्गदर्शक व्यवहारकोरूपमा ग्रहणगरीनु पर्ने सुखी हुने उपाय हुन । ठिक मात्रामा अनुकुल खाना खाने, उमेर अनुसार आफनो शारीरिक तौल निगरानीगर्ने, अटुट दैनिक व्यायाम गर्ने, मानसिक स्वास्थ्य व्यवस्थित गर्ने र आवधिक स्वास्थ्य परिक्षण गर्ने असल बानीव्यहोरानै स्वस्थ्य जीवनको आधारशिला हो । त्यस्ता लक्ष्य प्राप्तिकालागि गरिने दैनिक सानो सुरुवातले मात्र पनि उल्लेखनीय प्रभाव परेको देखिन सक्छ, त्यसैले नबिराई आफ्नै सुस्वास्थ्यकालागि उल्लेख गरिएका बुँदा अवलम्वन गरौँ, कुनैबेला भवितव्यले छुटेमा पनि अनुकुल हुनासाथ लागु गरौँ ।
१. बिहान तन्याकतुनुक गरौँः
सुतेकै ओछ्यानमा हातखुट्टा उठाउने, तन्काउने, औँलाहरू चलाउने, टाउको-छाती-कम्मर हल्लाउने, सकेको बटार्ने कोशिश गरेमा रगत सञ्चालन दुरुस्त हुने, आरामी मिल्ने भई पुरा शरीरले दिनचर्या सुचारु गर्न तयारीहुने जानकारी पाउने हुन्छ । ओढ्ने पन्छाएर खुट्टा हलुकासँग खुम्च्याउँदै तन्काएर घुँडासमेत हावामा सकेको उठाउनु होस् । यो क्रिया दश पटकभन्दा बढी गर्नु राम्रो हुन्छ भने घुँडादेखि तलको भागमात्र उठाउने र सोझो खुट्टा पार्दा गोलीगाँठा मुनी पाइँताला उल्टोसुल्टो घुमाउने र गोडाका औँला खुम्च्याउने छाड्ने गर्नु पर्दछ । ओछ्यानमानै पलेटी कसेर बस्ने र मुण्टो ठाडो राखी बिस्तारै देब्रे र दाहिनेतिर चिउँडो लगेर कुम बराबर पुर्याउन कोशिश गर्नाले मुण्टो र पातोको राम्रो व्यायाम हुनजान्छ । त्यसपछि मुट्ठी कसेर दुबै पाखुरा उल्टोसुल्टो बटारी डमरु बजाएझैँ गरौँ, नाडीलाई तलमाथि र चक्रवात उल्टोसुल्टो घुमाऔँ, अनि हातका औँला मुट्ठी बनाउँदै खोल्दै, च्याम्मुठी गरेझैँ गरेमा हातका जोर्नी खुकुलो भई हलौँ हुन्छ । हरेक प्रक्रिया दशदेखि बिस पटक गर्ने बानी गरौँ, सुरुमा गाह्रो हुन्छ र पछि पछि शरीरले धान्न सक्छ, नसक्दा निराश हुने होइन बरू बिहान दिउँसो र बेलुका गरेर धेरै पटक हुँदा केही दिनमा सहजै सकिन्छ । ओछ्यानबाट उठ्न अप्ठ्यारो हुनेले परिवारले मद्दत नगरे सुतेको ठाउँबाट हात लम्काउँदा पुग्ने भित्तामा समात्ने फलामे डण्डी वा मुठीभरिको काठ भए पनि समातेर उठन जोड्नु होस्, खाटमा सुत्नेले पहिला बिस्तारै खुट्टा खाट तल झार्नुहोस् अनि जिउ उठाएर मात्र उठ्नुहोस्, सकिन्छ । हरेक काम पाको उमेरमा अभरबाट रोक्न र सजिलो पार्न आफ्नो स्वास्थ्यको भलाइको लागि गरेको हो भन्ने मनमा राखेर उत्साहित हुनुपर्छ ।
२. तिर्खा लाग्ने नहोस्ः
कैयौँ मानिस पानी पिउन भनेपछि साह्रै अप्ठ्यारो मान्छन्, अझ पाको उमेरमा पिसाब लागेर शौँच गर्न गइरहने कामलाई दुःख भन्छन् । वास्तवमा उचित मात्रामा पानी पिइएन भने शारीरिक प्रक्रियामा असर गर्छ र पाचनप्रणाली सुचारु राम्रो हुँदैन तथा मस्तिष्कको काम प्रगतिपूर्ण हुँदैन । पानीको अभावमा शरीरका प्रणालीलाई कायम राख्न धेरै शारीरिक ऊर्जा चाहिन्छ र पाका मानिसलाई उमेरिँदा उसैत कमजोर शरीरमा थप बोझ हुन्छ । सामान्यतया उठ्नासाथ बिहान मनतातो पानी चिया गिलासको दुईतिन गिलास पिउँदा दिसापिसाबमा सहजता हुन्छ र पाचन प्रणालीको काम सहज बन्छ । हरेक खाना र खाजा पछि पनि पानी कम्तीमा एक गिलास पिउनु ठिक हुन्छ भने दिनभरिमा सरदर दुईदेखि तिन लिटर पानी स्वस्थ्य रहन चाहिन्छ । तर पानीको मात्रा कति दैनिक पिउने भन्ने सल्लाह मिर्गौलाको स्थिति र मुत्र रोग बारेमा चिकित्सकको भनाइ अनुसार गर्नु राम्रो हुन्छ । मौसम अनुसार पनि पानीको मात्रा घटबढ हुन सक्छ, जाडो वा पसिना नआउँदा कम र गर्मी वा बढी पसिना आउँदा बढी पिउनु पर्ने हुनसक्छ । पसिना धेरै आउँदा शरीरबाट नुनको पनि मात्रा बाहिर जाने हुनाले रगतमा नुनको कमी हुनसक्छ र पाको मानिसको बोली लरबराउने, रक्तचाप घटबढ हुने, टाउको दुख्ने, जीउ गल्ने भएमा चिकित्सकलाई जँचाएर भनेजस्तो खानपान र ओखति गर्नुपर्छ ।
३. दैनिक सफाई गरौँः
हामी नेपालीलाई दैनिक अनुहार र हातमुख धुनको लागि भनिरहनु नपर्ला, पाको हुँदा कतिपय मानिस बिहानै उठेर नित्यकर्म गर्नसमेत अल्छी मानेर पछि पर्छन । कतिपय मौसमअनुसार पनि ढिलो चाँडो उठ्ने हुन्छन् भने कतिपय उमेरिँदा पनि पहिलेदेखि लागेको बानी भनेर चाँडै उठ्छन् तथा नुहाईधुवाई र व्यायाम तिर लाग्छन् । कतिपय बिहान उठेर दैनिकी सकेर घुम्न निस्कन्छन् र खुला ठाउँमा गएर खाली खुट्टाले घाँसेचउरको आनन्द लिन्छन् भने कतिपय मठमन्दिरतिर गई मानसिक शान्ति खोज्छन् । कोही आफ्नो दैनिकी पछि सफासुघ्घर भएर घरमै पुजा, जप र ध्यानमा घण्टौँ बिताउँछन र हलुका जलपानगरी अठोटेको काममा लाग्छन र दिउँसो मुख्य खाना खान्छन् ।
जेजस्तो दैनिकी भए पनि पाका मान्छेले मुख, गिँजा, दाँत र जिब्रोको सफाईमा बढी ध्यान दिनैपर्छ । सफाईले उमेरिँदा हुनसक्ने मुखमा फोका उठने, गिँजा सुन्निने, पाक्ने, बाँकिरहेका दाँत हल्लने, दुख्ने, खाँदा कडा चिजबिजले घोचेर जिब्रोमा रगत जम्ने, जिब्रोमा काई बस्ने र तिनै कारणले सङ्क्रमण हुने परिणाम भोग्न पर्दैन । मुखको सफाई राम्रो नहुँदा पाचनप्रणालीमा गडबडी हुन सक्छ भने मुखको सफाईको अभावमा कुनैपनि खाद्यपदार्थमा रुचि नहुने, खानेकुरा खाँदा स्वाद थाह नपाइने, थुक पर्याप्त नआई निल्न गाह्रो हुने आदि समस्या हुन्छ । दाँत र गिँजा सफागर्न बुरुस वा दतिवनले सम्भव छैन भने मञ्जन दलेको हातको माझीऔँलाले भित्र सम्म लगेर बुद्धिबङ्गाराको भागसम्मको गिजामा पुर्याई उल्टोसुल्टो बनाई मोल्नुपर्छ । त्यसपछि त्यहि औँलाले अङ्कुसे पारी दाँत र गिजामा तलमाथी, दायाँबायाँ सबै भागमा पुग्नेगरी साथै मुखमा अनुभूत चिप्लोपना निख्रनेगरी मोलीरहनु पर्छ । सकेसम्म एकमुष्ट नगरी हरेक दाँतलाई अलगअलग त्यो प्रक्रिया गर्नाले भएका दाँत र त्यस भेगको गिजा सफाहुने सम्भावना बढि हुन्छ भने भित्रबाहिर गर्नाले बाँकी रहेका हरेक दुई दाँतको बीचमा रहेको फोहोर थिचिरहने सम्भावना हुन्छ । त्यस्तो फोहोर रहेमा मुख गन्हाउने, श्वास गन्हाउने र फुर्सद हुनेबित्तिकै सिन्काले दाँत कोट्ट्याईरहने, हेर्दा अरुलाई घिनलाग्ने फोहोरी बानी बस्न सक्छ । शरीरनै जीणर् भएको अवस्थामा अरुको सरसहयोग बढी चाहिने हुन्छ, त्यसैले मिठो बोलेरमात्र हुँदैन, मुखको स्वास्थ्य परहेज अति आवश्यक हुन्छ र मुखकै दुर्गन्धले मानिस नजिक आउन नमिल्ने पार्नै हुन्न ।
४. छालाको सुरक्षा गरौँः
उमेरिँदा प्राय मानिसहरू के नक्कल पार्नु भनेर नमिलाएका, बान्की नपरेका झुसे दाह्रीजुँघा राख्ने, हातगोडाका नङ बेढङ्गका भए पनि बेलैमा नकाट्ने, कपाल बेछाँटका पारिरहने, फुटेका हत्केला, कुर्कुच्चा र पाईतालामा मैलो बसी कालो राँटो देखाएर हिँडने गर्छन् । हातगोडाका देखिने भाग र अनुहारका छाला कलेटी परेका, खरानी उम्रेका, सुख्खा भई काँचुलीजस्तो पाप्रा उप्केका, सफाई र चिल्लोको अभावमा दाम्रिएका देखिन्छन् । सूर्यको उज्यालोमा आउने पराबैजनी किरणले छालामा गरेको नोक्सानी र उमेरिँदा शरीरभित्र चिल्लोको कमीले पाका मान्छेका छाला चाउरिएर बिग्रिएको हुन्छ । हरेक पटकको नुहाईधुवाई पछि र बाहिरफेर हिँड्दा भएमा किरणको असर रोक्ने क्रिम नभएमा सामान्य अँडेरी वा तोरीको तेल पानीसँग फिटेर दल्नाले छाला फुटने तथा फुस्रो हुनबाट जोगाउन सकिन्छ । अनुहारमा पनि आद्रता कायम राख्न हरेक बिहान मुख धोएपछि र पुरुषले दार्हीजुँघा काटेपछि उपयुक्त क्रिम वा चिल्लो दल्नाले छालाको बचावट गर्न सकिन्छ । तालु खुईलेका वा कपाल कमभएको भाग र कपडा लगाउँदा घाममा पर्ने शरीरका भागमा पनि बाहिरी सुखा बतास र सूर्यको नकारात्मक प्रभावबाट छाला बचाउन चिल्लो गराउने कुनै पदार्थ दल्नु पाको उमेरमा छालाको शुरक्षागर्ने सरल उपाय हो । बेलैमा त्यसो नगर्दा छाला सम्बन्धि रोगमात्र होईन फुटेका भागबाट किटाणुहरू शरीरभित्र पस्ने खतरा पनि रहन्छ । उमेरिँदा छालाको राम्रो हेरचाह सुन्दा सामान्य लागे पनि महत्वपूणर् स्वस्थ्यरहने उपायमा पर्ने तथ्य बिर्सनु हुन्न है ।
५. मसला, बियाँ, फल खाऔँः
खाजा र जलपानमा हिजोआज हुनेले बिहानबेलुका खाना खाएझैँ र उस्तै परिकारका थोरै खाने गर्छन् भने नसक्ने भोकभोकै पनि रहन सक्छन् । वास्तवमा सक्नेले ओखर, देशी बदाम, बदम, काजु, किसमिस, छोकडा, अञ्जीर साथै तिल, फर्सी, सूर्यमूखी फुलको बियाँ, आदी सुरक्षित फल र बियाँका नरम गुदीहरू सबै मिलाएर खानु स्वास्थ्य रक्षाको लागि फाइदाजनक हुन्छ । नेपालमा फल्ने मौसममा ओखर बदम, फर्सी प्रशस्त पाईन्छ र घरमा लगाएर उत्पादन जम्मा गरेर नहुने बेलाको लागि जगेर्ना गर्न सकिन्छ भने सक्नेले त बजारमा किन्न उपलब्ध हुन्छ । धेरै प्रशोधन नगरी कुनै बाह्य रसायन नमिलाइएका त्यस्ता खाद्य खानाले शरीरलाई चाहिने कम घनत्वका चिल्लो पदार्थमात्र होईन आवश्यक प्रोटिन पनि उपलब्ध भई उमेरिँदा विविध रोग लाग्नबाट बच्न सकिन्छ । त्यस्ता वस्तु खानाले थोरै मात्राले पनि उच्च कोटीको धेरै उर्जा शरीरमा जम्मा हुन मद्दत गर्दछ र पाका मान्छे उमेरिँदा रोग प्रतिरोधी क्षमता विकसित भई स्वस्थ रहन सक्छन् ।
बिहान र अपरान्हको खाजामा बिभिन्न मिश्रित फलफुल खानाले एकातिर आवश्यक भिटामिनहरू शरीरमा प्रविष्ट हुन्छन् भने रोग सङ्क्रमणबाट बच्न पनि सकिन्छ । नेपालका बारीमा हुने स्याउ, नासपाती, आरु, आलुबखडा, आलुचा, सुन्तला, कागती, हलुवावेद, अञ्जीर, आँप, ठूलो बयर, सरिफा र पाकृतिकरूपमा पनि पाइने तेँदु, जामुन, फणिर, कुसुम, बयर, काफल, खनायो, अमला, बेल आदि फल मौसममा खाए पनि बेमौसमको लागि स्वाद बढाउने र शुरक्षितपार्ने विभिन्न वस्तु मिसाई सुकाएर भण्डारणगर्न सकिन्छ । त्यस्ता वस्तुले नियमित चाहिने उर्जा र बचेका आवश्यक तत्वहरूको आपूर्ति शरीरमा सरल हिसावले गर्न सकिन्छ । पाका मान्छे त्यस्ता कुरामा चाखराखी खाने प्रयास गर्दा खानाको साथै स्वास्थ्यमा समेत ख्यालरहेको विश्वसनीय गतिविधि ठहर्ने छ ।
६. उँघ्ने गरौँः
उमेरिँदा पाका मान्छेलाई धेरै निद्रा लाग्दैन भनेको त एकै छिमलमा मनग्य निदाउने गर्दैनन् भनेको हो, राति मनग्य निदाउने मान्छेलाई पनि बिहान सबेरैदेखि राती अबेरसम्म चलखेल गर्ने स्वभावनै हुन्छ । त्यसैले उमेरको कारण शारीरिक श्रमलाई ठिक मात्रामा व्यवस्थित गर्न दिउँसो खाजा खानुअघि एकछिन हल्का निदाउने प्रयास गर्नु स्वास्थ्य रक्षाकालागि आवश्यक हुन्छ । यस्तो दिउँसो निदाउने बानीलाई हामी उँघ्नु पनि भन्छौँ र पाका मान्छेमा शारीरिक उर्जालाई पुर्णता जगी गर्न र करिब आठ घण्टा बढीको चलखेलमा थाकेको शरीरलाई फूर्तिलो बनाउन सघाउँछ । सेवा-व्यवसाय गर्दैरहेका पाको उमेर पुगेका कर्मचारीहरू प्राय सरकारी कार्यालयमा अपरान्हतिर उँघिरहेका देखिनु यही शारीरिक आवश्यक्ताको उपज हो भने, कतिपय बाठा पाका मान्छे आफुलाई सरोकार नभएका कुराकानी स्थलमा उँघिरहेको देखिनु वेवास्ता भएको नतिजा पनि हो ।
उँघ्नु थाकेको शरीरलाई ताजा बनाउने र मस्तिष्क स्फूर्ति बढाउन मद्दत गर्ने भएर स्वास्थ्यको लागि फाइदाजनक प्रक्रिया हो । सन २०२१मा प्रकाशित सामान्य मनोचिकित्सा अनलाइनअनुसार दिउँसो अपरान्हको समयमा एकछिन उँघेर आरामगर्ने पाका मान्छेमा ज्ञानात्मक क्षमता जाँचमा नगर्नेमाभन्दा बढी देखिएको नतिजा भएको जनाएको छ । त्यस्तै हरेक दिन आधाघण्टा र सरदर हप्तामा चारदिन जतिमा अल्पकालीन उँघ्ने मान्छेमा स्वास्थ्यसम्बन्धि धेरै फाइदाभएको पाइएको छ । कामको अवधिमा अपरान्हको अगाडी र केही काम पछि फेरी साह्रै अल्पकालिन उँघाई गर्ने मान्छेमा कामको जागरुकता र स्फूर्ति बढि पाएको पनि जनाईको छ । त्यसैले कामको मध्येभागमा उँघ्ने मान्छे काम ठग्ने अल्छी होइन बरू उही गतिमा काम अवधिभरि लागिरहने क्रियाकलापको उपज भनि बुझ्नु सबैलाई हितकारी भएको ठम्म्याई भएकाले अचेल विकसित मुलुकमा दिउँसो उँघ्नु कामको तालिकामानै समावेश निश्चित अवधिको विश्राम लिने तरिका बनेको छ ।
७. चलखेल गरौँः
पाका मान्छेले शरीर कमजोर भएर वा कति कामगर्नु, अब सुतीसुती खान्छु भनि परिवारको शरणमा रहने इच्छाले एकै ठाउँ बसिरहने, हलचल नगर्ने र सधैँ निष्क्रियरहने वा पल्टिरहने बानी पनि गर्नुहुन्न । कामनै नभएपनि बेलाबेला आशन परिवर्तन गरिरहने, यो उमेरमा काम गर्न सक्दा पनि एकोहोरो नगरी बिचमा फुर्सद निकाली बसेर गरेको भए उठ्ने र उठेर गरेको भए बस्ने बानीगर्नु स्वास्थ्यको लागि राम्रो हुन्छ । केही गर्न नसके पनि एक कोठाबाट अर्को कोठामा हिँडे पनि हुन्छ, सकिन्छ सबै शरीरको भाग हल्लने गरी नाचेकोजस्तो जीउ चलाएमा पनि स्वास्थ्यमा अनुकुल असर परेको हुन्छ । बिहान मुख धुँदा, दाँत माझ्दा र कुल्लागर्दा समेत एक मिनेट बढिभएमा खाद्यनली मार्फत पेटका मांसपेशीहरू सक्रिय हुन थाल्छन् भने त्यसरी हल्लने गरेमा पाचन प्रणाली समग्रलाई समेत सकृय गराउँने अवस्था आउँछ ।
त्यस्तै घरका चोटाकोठा गर्दा पनि एक ठाउँ अडिएर जिउ तन्काउने, मुण्टो ठाडो पार्ने, हातले कतै समातेर उठबस गर्न खोज्ने गरेमा मांसपेशीहरू सक्रिय हुन्छन् । घरकै फराकिलो ठाउँमा गएर कतै आडलिएर उठबस गर्ने, सकेमा दण्ड बैठक गर्ने, खुट्टाको चाल अघिपछि गर्ने, भर्याङमा बारको डण्डी समातेर सुल्टोउल्टो हिँडने गरेमा कम्मर मुनिका मांसपेशीहरू बलियो बनाउन सकिन्छ । कतिपय सुतिरहने बिरामीलाई पनि शारीरिक व्यायामको रूपमा यस्ता गतिविधि परिचारिकाको सहयोगमा गरिएको देखिने कारण स्वास्थ्यमा अनुकुल प्रभाव पार्नकै लागि हो । दिनभरिमा कुनै बेला पाका मान्छेले उत्तानो र घोप्टो लमतन्न सुत्ने तथा जिउ भूइँमै राखी हात, गोडा र मुण्टो सकेको उठाउने गरेमा सम्बन्धित भागका जोर्नीको राम्रो व्यायाम हुन्छ । त्यस्तै नरम गद्दा (डनलप)मा हिँड्ने अभ्यास गर्दा, असन्तुलीत हिँडाईमा प्रगति हुने र गोडाको जोर्नी समस्यामा राहत मिल्छ ।
८. स्वासप्रस्वाशका तरिकाः
योग साधनामा भनिएको प्राणायामजस्तै नाकबाट स्वासप्रश्वास गर्दा एक पटकमा एकातिरको नाक बन्द गरेर अर्को प्वालले मात्र कम्तीमा दश पटक श्वास लिई रहने र फेरी खुलालाई बन्द गरेर पहिले बन्द गरिएकोबाट श्वास लिने अभ्यास गर्नु पर्दछ । त्यस प्रक्रियाले गर्दा एक प्वालमात्र चालु रहेकाले श्वासप्रश्वास लामो, गहिरो भई नाकदेखि फोक्सोसम्मका मांसपेशीको राम्रो अभ्यास हुन्छ, फलस्वरूप बिस्तारै घनिभूत श्वास फेराईले चिन्ता र उन्माद घटाउन मद्दत गर्दछ । यस्तो प्रक्रियालाई नाकको दुवैपट्टी दुई औँला राखी एउटा प्वाल खुलाबाट श्वास लिई त्यसलाई अर्को बन्द गरिएको प्वालबाट उहीगतिमा फाल्ने अभ्यास पनि गर्न सकिन्छ । यो प्रक्रियालाई बन्द र खुला प्वाललाई पालैपालो साटफेर गर्दै सञ्चालन गरेमा पनि स्वास्थ्यको दृष्टिकोणबाट फाइदा पुग्नेनै अनुभवले देखाएको छ । यस प्रक्रियालाई आफ्नो अनुकुलता अनुसार विविध अभ्यासको तालिकाभित्र समय मिलानगरी चलाउन सकिन्छ । त्यस्तै, शरीरलाई उत्तानो पारेर आरामसाथ पल्टने र श्वासप्रश्वास कहिले लामो तानेर उत्तिकै गतिमा छाडने साथै छाडनु अघि आफुले सकेसम्म भित्रै रोक्ने । केहीबेर कम्तीमा दश पटक लामोको प्रक्रिया गरेपछि, श्वास फेर्ने र छोडने प्रक्रिया छिटोछिटो गर्ने साथै भित्रै रोक्ने पनि भरिनासाथ छोडन थालिहाल्ने ।
९. सोखिन बनौँः
मान्छेमा जान्नेबुझ्ने भएदेखिनै केही नकेही कुरामा आकर्षित भई शौख पलाएको हुन्छ, वयस्क छँदा पारिवारिक जिम्मेवारीले आफ्ना इच्छाहरू मारेर उनीहरूका आवश्यक्ता पुरा गर्न धेरैजसो लाग्छन् । सेवानिवृत्त र पाको उमेर नियमित खटाई र अरुको अधिनमा नरहिने साथै सन्तानहरू खायजियोगर्न सक्षम भइसकेको स्थितिमा आफ्ना रहरहरू व्युँताउने, परिमार्जन गर्ने र पूरा गर्ने अनुकूल उमेरसमूह हो । प्राकृतिक ओखति भन्ने अनलाईनमा २०२३ सेप्टेम्बरमा प्रकाशित एक अध्ययन निचोडअनुसार हरेक मानिसमा भएका शौखले उस्को समग्र स्वास्थ र मनोबिज्ञान तरोताजा राख्न निकै मद्दत गरिरहेको हुन्छ । शौखका कारण मानिसमा सिर्जनात्मकता देखापर्न सक्छ, संवेदनशीलता कायम रहन्छ, आत्मिक प्रष्फुटन हुन्छ, आनन्द लाग्छ र मस्तिष्कलाई उत्प्रेरणा दिइरहने कारक बनेको पाइन्छ ।
नयाँखालको शौखले नयाँनयाँ सिपका क्षमता विकसित हुनसक्छ, जस्तो फूलका शौखिनले बगैँचा निर्माण र सुहाउँदा प्रजाति छनौटको सिप विचार थप्न सक्छ भने काठ वा कागज वा माटोका नमुना, पुतली र सजाउने सामान बनाउने शौखले खेरजाने घरायसी वस्तुको उपयोगगर्ने कला सिकाउँछ । खानेकुराको शौखिनले विभिन्न परिकार फरक स्वादमा पकाउँदा वा फरक बस्तु मिसाउँदा के कस्तो स्वाद हुने र अमुक खाद्यबाट हुने फाईदाबारे ज्ञान पाउन सक्छ । बजारमा पाइने रोटीमा दल्ने गोलभेँडाको लेदोको सट्टा घरमै गोलभेँडा ल्याएर पकाई कुनैमा नुन र कुनै मात्रामा चिनी मिसाउँदा पाइने फरक स्वाद र फाईदा पाउने अवसर पाइन्छ । परिकार बनाउन धेरै नआएपनि शौख छ भने बजारमा पाकशास्त्रबारे मनग्य पुस्तक पाइन्छन, किनेर ल्याई पढेर बनाई रमाईलो गर्न सकिन्छ । किन्न नसक्दा छरछिमेकका हितैषीसँग कुराकानी गरेर सिक्न सकिन्छ भने इष्टमित्र आउँदा उनीहरूका सिपका बखानबाट समय रहेमा उनीहरूकै अगाडि तयारीगर्ने प्रयासले सिक्न सकिन्छ ।
१०. सामाजिक बनौँः
सामाजिक अन्तरक्रियाले मानिसमा एक्लोपन घटाउँँनुका साथै उन्माद र मस्तिष्क क्षमता ह्रास विरुद्ध पाका मान्छेलाई जोगाउन सक्छ । हरेक दिन घरायसी फुर्सद नै भएका र नियमित काम नगरिरहेका उमेरिएका पाका मान्छेले कुनै न कुनै सामाजिक व्यस्ततामा समय बिताउनु शारीरिक स्वास्थ तथा मानसिक स्वास्थका लागि आवश्यक हुन्छ । धेरै हिँडडुल गर्न नसक्दा आफन्त र चिनजानका मानिसहरूसँग पालैपालो फोन गरेर, ईमेल पठाएर, सामाजिक सञ्जालमा कुराकानी गरेर, छिमेकीहरूसँग गफ गरेर समय बिताउनाले पाका मान्छेमा सकारात्मक प्रभाव रहेको पाइन्छ । बेलाबेलामा भेट भएर दैनिकी, मौसम, बजार भाउ, परिवारको सवल पक्षबारेमा कुराकानी गर्नाले चिनजानका बिच हार्दिक र सहयोगी भावनाको विकास भई सामाजिक प्रणाली भद्रस्तरमा कायम रहन्छ ।
सामाजिक सम्बन्ध काम, पेशा र उमेरसमुह अनुसार पनि विकसित गर्न सकिन्छ भने आफ्ना समकालीनहरू बिच कहिले पढ्दाका विभिन्न तहका साथीभाई बिच भेटघाट, कहिले उही पेशा गर्नेका बिच भेटघाट गर्नाले पूर्नताजगी हुन मद्दत मिल्छ । कहिले उमेरसमुह अनुसार टोलमा, वडामा वा क्षेत्र तहका भेटघाटमा समय दिनाले अनुभवको आदानप्रदान राम्रो र लाभकारी हुन्छ भने कहिले सिपअनुसार वा रोगअनुसार वा चाखअनुसारका मानिससँग भेटने अवसरका लागि प्रयत्नशील हुनुपर्छ । यसरी समय पनि बित्ने र उस्तै चाखमा एकअर्काबाट लाभान्वित हुने अवसरको सिर्जना हुन जान्छ । फुर्सदमा हुँदा किनमेल गर्न जाँदा पसलेसँग चिजविजबारे, गुणस्तरबारे, आपूर्ति, नाफानोक्सानबारे कुराकानी गरी सूचना थाह पाउन सकिन्छ भने हित्तचित्त मिलेको जसरी कुराकानी गरेकाले पैसाको कमी हुँदा समस्या पर्दा उधारो पाइने सम्भावना हुन्छ साथै नक्कली चिजबाट बच्न सकिन्छ । हिँडदा र सार्वजनिक यातायात प्रयोग गर्दा नचिनेकासँग पनि उस्को हाउभाउ हेरेर कुराकानी गर्दा सूचना मार्फतमा पाइने नेपाली मनोवृत्तिबाट फाइदा लिन चुक्नु हुन्न । यसोगर्दा बाटो कटनी र सम्बन्धको विकासले बेफाइदा हुने सम्भावना कम रहन्छ, सम्भावित खतराबाट बच्न पनि सकिन्छ । हँसमूख र वाचाल पाका मान्छे हुनैपर्छ, उमेरले खँगार्दै गर्दा शारीरिक मात्र होइन मानसिक हैरानीले कमजोर अवस्थामा अरुको भौतिक र नैतिक सहयोग भएमा चाँडै रोगाउने सम्भावना कम हुन जान्छ ।
अन्त्यमा,
पाका मान्छे चलनचल्तीका उमेरिँदाका रोगका शिकार हुन सक्छन् । यो भन्दा पनि जटिल कुरा एक्लोपनले उनीहरूलाई खुट्ट्याउन गाह्रो पर्ने मानसिक रोगका कारण अन्त्य अवस्था हेरिनसक्नु हुन सक्छ । कैयौँ पाका मान्छे परम्परागत धारणामा किर्नो टाँसिएझैँ लागिरहनु हुन्न, ‘बग्ने खोला चोखो र जमेको पानी बिटुलो’ भन्ने आहानलाई मानेर सधैँ हँसमुख र अरुसँग मिसिने स्वभाव बनाउने हुनुपर्छ । बोलैय्या पाका मान्छेलाई ‘मनमा पाप नभएको, लागेको कुरा पेटमा नराखी फ्याङ्ग भन्ने’ भनी सबैले ताडिफनै गर्छन् । गजक्क परेर धुम्म बस्ने र बोल्न पनि गलहत्याउनु पर्नेलाई ‘मुख बोल्दो छैन, किन बोलाउनु ? काम न काजको थुप्रो, गोटा गन्ती गर्ने भए हुन्छ’ भनि सामान्यतया निम्तालुमा त पार्दैनन् भने सार्वजनिक चासोको विषयमा त पुछ्दै पुछ्दैनन् । त्यसैले त्यस्ता मान्छे चाँडै विभिन्न रोगका शिकार भएर दिन परदिन एक्लो र परित्यक्त बन्न थाल्छन् । नेपालका पाका मान्छे त्यस्ता नभई जाँगरी, सहयोगी र मृदुभाषी छन्, उनीहरू परिवारमा मात्र होइन समाजमै आदरणीय भएकाले त ‘कुरा सुन्नु बुढाबुढीको, कवै बिगार्ने भन्दैनन्, आपतविपतका सहारा हुन उमेरिएका मान्छे, देश खाई शेष भएको, नपत्याउने खोलाले बगाउँछ’ भन्दै सबै उमेरसमूहकाले भर गरेर उनीहरूलाई विश्वास गर्छन । यही कारणले पाका मान्छेले आफ्नो स्वास्थ्यको ख्याल आफैँ राखेमा थप सहयोग अरुबाट पाउने सम्भावना प्रशस्त रहन्छ, होइन र ?
०००
चालिसे डाँडा, ललितपुर
जेठ २५, २०८१
Subscribe
Login
0 Comments
Oldest



































