साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पाको मान्छेका केही अर्घेल्याइँ !

जुग, जमाना बदलियो भन्ने नाममा उहाँहरूको बेवास्ताले धेरै समस्या पाको पुस्तामा देखिएको छ भने अहिलेको समाज ज्ञान र अनुभवको पुस्तान्तरणबाट विमुख भएको छ ।

Nepal Telecom ad

डा. मुकेश चालिसे :

हिजोआज पाका मान्छेका पक्षमा हरेक सञ्चारका विधाहरू र सामाजिक कार्यक्रममा केही नकेही कुरा उल्लेख गरिएकै हुन्छ । पाका मान्छेका हितमा नेपालमा परम्परागत समुदायको चरित्र, पारिवारिक मान्यता र मूल्यमा गरिएका व्यवहारहरू सामाजिक रुपान्तरणसँगै ओझेलमा परेर एक छिमल पाका मान्छेहरूमध्ये कोही त बिभत्स हिँसाको शिकार भए । आफन्तका असहयोगी भावनामा उल्कापात भएर कतिपय ठाउँमा घरायसी जघन्य अपमान र शारीरिक हिँसाका शिकारमात्र होइन, वृद्धभत्ता लिएर आउँदा बाटैमा ज्यान जोखिममा पर्नथालेका समाचार पनि सुनिए ।

समाजको बढ्दो निम्न-पूँजिवादीकरणले उमारेको व्यक्तिवाद सबै वर्ग तथा तहमा काउसो टाँसिएझैँ टाँसिएकाले सामाजिक परिवर्तनमा आएको बाहिरीया प्रभावका विविध अवयवसँगै पाका मान्छेबारेका नीतिनियम र प्रतिबद्धता कानुनीरुपमा पनि नेपालमा देखापर्‍यो । गाउँ टोलका भलादमी पाका मान्छेको अदबराख्ने र मुख नफर्काउने अनुशासनको ठाउँमा धेरै कुरा सकारात्मक पक्षमा बखान त हुनथाल्यो तर कसरी नयाँ परिस्थितिमा विविध किसिमले अघिसरेका नयाँ समस्याको हल गर्नु पर्छ भन्ने भएन । त्यसको साटो सबैको आँखामा भत्तानै मुखथुन्ने बाटो निस्क्यो र पाका मान्छेका परम्परागत र व्यक्तिगत स्वभावका नकारात्मक बानीव्यहोरा बारेमा परिवर्तन आउने कुनै गतिविधि भएन ।

गम्भीर चिन्ताजनक आनीबानीः
पाका मान्छे भएका घरमा परिवारले उमेरिदै जाँदा आफ्नै प्रिय हजुरबाआमा तथा बाआमा दिनपर दिन झन बढि बाउँठो बानी र स्वभाव देखाउन पाइरहेको हुनसक्छ । परिवारनै कतै जाउँ न भनि जाँदा, पाका मान्छेलाई किन घरमा एक्लै छोड्नु अभर पर्ला बरु आफैसँग सँगै लैजाउँ भनि वयस्कहरूले लगेमा कतिपय बाआमा बाटोभरी केही न केही भनेर गनगनाई रहन्छन् । केही नभए ‘मोटरले पेटनै हल्लाउने गरी दौडायो, झण्डै अर्कोसँग जुधाएको, हाँक्न नजान्ने ड्राइभर परेछ, के हाँकेको अनाडीले जस्तो ? हेरहेर ! अर्को मोटर नजिक आयो, ब्रेक लगालगा’ भनेर मोटर हाँक्नेको मनोविज्ञाननै बिगारी दिन्छन् । घरमा हेरचाह गर्ने हेरालु राखेको छ भने त्यो पनि बाआमाका कुराले हैरानमा परेका हुन्छन्, सन्तानलाई भन्न नसक्ने अलि अशक्त बाआमा हेरालुलाई चाहिँ भन्नासाथ गरेन भनी गुनासो गर्ने, छनक हान्ने, आँखा तर्ने, देख्नासाथ फन्किने गर्छन् । अमेरिकी हेरालु सङ्घका प्रकाशनमा उमेरिएका मानिसका अनौठा, अनियमित र दिक्कलाग्दा बानीव्यहोरा भोग्न बाध्य भएको र छिनछिनमा व्यक्तित्व परिवर्तन, दिगभ्रम र एक्कासी झर्केर रिसाउने बानी पाकाले देखाएका बारेमा चाखलाग्दा कथाहरू पढन पाइन्छन् ।

हार्वाड मेडिकल प्रकाशनका लेखक मार्लो सोलिट्टोले भनेका छन्, ‘खराब स्वभाव’ले भएकालाई सुधार्न सकिएला तर शारीरिक रोगहरूका कारणले भएकालाई उचित उपचारमा लगिहाल्नु अति आवश्यक हुन्छ । पाका मान्छेमा देखापर्ने असामान्य व्यवहारहरू कसैकसैको पहिलादेखिको स्वभावले हुनसक्छ भने कतिपयमा बिर्सने, बिस्मृतिमा जाने अथवा मूत्र प्रणाली लगायत संक्रमणको कारणले भएको हुनसक्छ । त्यस्ता पाका महिला, पुरुषको आनीबानी अध्ययनपछि लेखिएको लेखमा सामान्यतया देखिने केही अवगुण, कारण र समाधानका केही जुक्तिसहित मार्लोले औँल्याएका छन् ।

रिसाउने, पडकिने र आक्रामकः
प्राय उमेरिदा र रोगले गाँज्दा शक्तिको अभावमा कुनै पनि मानिसमा भइरहेको व्यक्तित्वमा परिवर्तन आएर नमज्जाले आनीबानी फेरिएको पाइन्छ । कतिपय बेला हिजोसम्म आफुले भनेका कुनै कुरा खेरनजाने बानीपरेका मान्छे शारीरिक कमजोरीपछि त्यस्तै कुरा गर्दा वरपरका र हेरालुले वास्ता नगर्दा, आफूले हैसियत गुमाएको पीडामा आक्रोसित हुनसक्छन् । स्वभावैले अलि उतर्सिने स्वभावका मानिस उस्तै कुरामा आफूलाई नपुछेको झोक फेर्न कमजोर हुँदा रिसाएर तथानाम बोल्न खोज्छन् । गनगने स्वभावका मानिस कमजोर भएभने त उनीहरूको बिलौनाको ललरी यति बढेको हुन्छ कि उसलाई भन्नासाथ पुरा नगरिएको कुरामा पछि परिस्थिति देखाउँदै मनाउन सकिन्न र गनगनको क्रममा उनीहरूका मागहरू बढेका पाइन्छन् । उहाँहरूका भनाईलाई कसैले पुरा गर्न पनि सम्भव हुँदैन भन्ने के.एम.काँठेको ठम्याई छ, अनि उमेरिएका पाका मान्छेको निशाना आफैँलाई बढी हेरबिचार गर्ने, माया गर्ने र नजिक पर्ने परिवार सदस्य वा हेरालुनै पर्दछन् । आफूलाई माया गर्नेलाई आक्रोशित भई गाली पड्कँदा ‘उसले सकेसम्म प्रतिरोध गर्ने वा मुख फर्काउने काम गर्दैन’ भनेर आफैँ कमजोर हुँदा पाकाले कमजोरलाईनै रोज्छन् ।

के गर्ने त ?
पाका मान्छे धेरै बाँउठिन र रिसाउन थाले भने परिवारका जिम्बेवार वा हेरालुले त्यस्तो स्वभाव आउनुमा मूल कारक तत्व के हो, पत्ता लगाउन कोशिस गर्नुपर्दछ । सबैले बुझ्नु पर्दछ, उमेरिदै जाँदा महिला र पुरुषले धेरै थरिका उँचनिँच व्यहोरेका हुन्छन् तथा अनुभवको बलियो पूर्वाग्रह पनि जम्मा गरेका हुन्छन् । यसैले उमेरिदा मानिसले शारीरिक र मानसिक सबै प्रकारका प्रक्रिया पार गरेर पाको भएको हुनाले उसमा केही मात्रामा आफ्नो ज्ञानको अहङ्कार पलाएको हुनसक्छ । त्यसमाथि नियमित असाध्य शरीर दुख्ने गरेको छ, मिल्ने साथी गुमाउनु परेको छ, बिर्सने रोग लाग्न थालेको छ र पाको उमेरमा लाग्ने अरु रोगहरूले च्याप्न थालेको छ भने उमेरिएका मानिसका रिस नाकको टुप्पामै बसेको हुन्छ । उसले अरुले गरेका हरेक कुरामा कमजोरी देख्ने भएर आफूलाई नसोधी वा नपुछी बोलेर अनादर गरेको भन्ठानेर सामान्य कुरामा पनि रिसाउने कराउने गरेको पाइन्छ ।

विस्मृत्तिका रोगहरू साथै अल्ज्हाईमर (मस्तिष्क अल्झाउने) रोगका बिरामीले पनि उपरोक्त चरित्रहरू देखाउन सक्ने भएकाले आफ्ना आदरणीय अभिभावकमा पहिले नभएका त्यस्ता लक्षण देखिए सम्बन्धित उपचारमा लाग्नु पर्दछ । उन्माद बिग्रदै गएर पागलपन जस्तो भएमा बिरामीको भनाई वा गराईमा नियन्त्रण नभएर जथाभावी बोधगम्य र अगम्य दुबै बोल्ने र काम गर्ने हुन सक्छ । हेरालुले त्यस्तो गर्ने पाका मान्छेका आरोप, गाली र गतिविधिलाई व्यक्तिगत असहमतिकोरुपमा नलिनु राम्रो हुन्छ तथा बुझ्नु पर्दछ कि बिरामीको निशाना अमुक व्यक्ति नभएर मस्तिष्कमा उठेका ज्वारभाटा जस्ता तरङ्ग हुन् ।

यस्ता रोग लागेका बिरामीका जिम्बेवार पारिवारिक सदस्य वा हेरालुले उहाँहरूका सकारात्मक कुरामा ध्यानदिनु र हौस्याउन खोज्नु पर्छ, बिरामीले देखाउने, भन्ने नकारात्मक गतिविधिलाई बेवास्ता गर्दै खतराबाट बचाउन खोज्नुपर्छ । बिरामीका राम्रो पक्षलाई बरु बारम्बार सुनाई उहाँको स्नायु प्रणालीमा असल कुराको सचेतना दिइरहँदा बिरामीलाई कुनै सडको असर परी स्थिति सामान्य गराउन मद्दत पुग्नसक्छ । यसबाहेक हेरालु परिवार सदस्य वा बाहिरियालाई बिरामीको निरन्तर एकोहोरो व्यवहारले झिँजो हुने परिस्थिति परिवर्तन गर्नलाई केही समय बिदा दिएर नयाँ हेरालु राखिनु पर्छ । यसले बिरामी नयाँसँग अभ्यस्त हुन समय लाग्ने साथै जिम्बेवार थप व्यक्ति जगेडामा आएर एउटाले बिदा लिँदा अर्को सहयोगी भई काम लाग्छ । यस्तो प्रक्रियाले रोगअनुसार निरन्तर हेरालु चाहिने अवस्थामा सहजता र खाँचोमा आपूर्ति सरल बनाएको परिपाटी बस्नेछ साथै चाडबाड, सामाजिक भेला तथा पारिवारिक खाँचोमा हेरालु अदलाबदलीमा झञ्झट पर्ने छैन भन्ने सोलिट्टोको भनाई छ ।

पाका मान्छेले आफूलाई आदर गर्ने, आफूसँग डराउने आफ्नै परिवार सदस्य र ईष्टमित्रबाट कम खतरा हुनेहुनाले बढि रिस गर्ने, गाली गर्ने र लम्कीझम्की समेत गर्न भ्याउँछन् । वास्तवमा उमेरिदा शारीरिक शक्तिको कमीले पाका मान्छेको हुती ‘दौडेका भेटे लखेट्ने र सुतेका भेटे पछार्ने’ भन्नेमात्र बाँकिरहेको पाइन्छ, त्यसैले त माया गर्ने र कमजोरलाई थर्काउन खोज्छन् । आफन्तलाई विभिन्न निहुँमा दपेट्न खोज्ने पाकामा विविध रोगले आक्रान्त भई रिसाउने, आक्रामक हुने र एक्कासी पड्किने स्वभाव पलाएको छ भने दैनिक हेरचाहका लागि आवधिक वा पूणर्कालिन बाहिरीया हेरालु राख्नु बाञ्छित फल पाउने तरिका हो ।

जाइआई गर्न सम्भव भएमा पाका मान्छेका लागि खोलिएका दिवा हेरालु सँस्थामा सम्बन्ध गाँसेर भएका समस्या खुलस्त पारी दिनभरीलाई भए पनि राख्नु राम्रो फेरबदल हुनेछ । यसले पाका मान्छेमा नयाँ ठाउँमा घुलमिल हुने अवशर मिल्नेछ र मस्तिष्कमा थप आनन्दको प्रशारण भई एकोहोरो परिस्थितिको परिवर्तनले समस्या हल गर्न मद्दत पुग्ने छ ।

रिसाउने, कराउने बानी नयाँ ठाउँमा, नयाँ मानिसका बिच प्रकट गर्न उमेरिदा धक हुनेछ र घरमा नभएका नयाँ कुराले नयाँ मानिसका अगाडि बुझ्नलाई समय लाग्नेछ, नबुझी बोल्नै डराउने हुन्छ । हेरालु वा घरकाले गर्ने माया, दया र लोलोपोतो नयाँले भेट्नासाथ नगर्ने हुनाले पाका मान्छेले फरक बोलीचाली भएको अनुभव चाल पाउनेछन् । त्यस व्यवहारले उहाँहरू आफन्तको महत्व र सम्बन्ध बारेमा प्रष्टभई अनमेल स्वभाव गर्न नहुने सिक्नेछन् । धेरै पाकाको जमघट एकै ठाउँमा पाउँदा र उहाँहरूका फरक आनीबानीको परिस्थितिमा हेरालुले साथै उमेरिएकामा आउने समस्याको विविधताको ज्ञान सबैबाट सबैले सिक्ने अवशर हुनेछ । आफ्ना आदरणीय अभिभावकका अमिल्दा स्वभाव भनेका उमेरजन्य सबैको देखेपछि परिवार र हेरालुले पनि ‘अत्तो थाप्ने बाआमा परे, आफूले मात्र भोग्न परेको, कसैका छैनन् यस्ता’ भनि पिरोलिनेको मन पनि बुझ्नेछ ।

आक्रामक बानीः
उमेरिदा कतिपयमा साह्रै बाउँठो बानी देखा पर्दछ, त्यसैले ‘मान्छे बुढो भए निहुँ खोज्छ, पशु बुढो भए भिर खोज्छ’ भन्ने उखान चलेको होला ! माथि उल्लेख भएका रिसाउने, कराउने र उस्तैपर्दा आक्रामक हुने व्यवहार उत्कर्षमा पुग्दा कसैले साम्य पार्न नखोजे उहाँहरू शारीरिक हातपात गर्ने, झटारो हान्ने र पिटपाटको शैलीमा रिस पोख्न उद्यत हुन सक्नुहुन्छ । त्यस्ता बानीव्यहोरा बिकसित भएका पाकाले मानसिक, भावनात्मक र शारीरिक हिँसाका घटनामा झगडा गरेर हात छोड्ने भोगाई हेरालु तथा परिवारजनले पाउने सामान्य हुन्छ ।

अझ मानसिकरुपले विक्षिप्त हुनखोजेको अवस्थामा पुगेका वा मस्तिष्क असामान्य स्तरका र पहिला पनि रिसाहा, डाढे साथै ईष्यालु स्वभाव रहेकामा प्रशस्त पाउन सकिन्छ । त्यस्तै परिवारजनलाई हेप्ने, नगन्ने स्वभाव भएकाले सबैभन्दा माया गर्नेबाट आफू सुरक्षित भएको महसुस गर्ने पाकाले हिँसाको तारोमा तिनैलाई पार्छन् भने बाहिरीया हेरालुलाई त ‘ज्यालाको ज्यामी, पैसा लिएर बसेको’ भनि झन घृणा र देखी सहँदैनन् । वास्तवमा उनीहरू जानीजानी वा सचेत ढङ्गले त्यसो गरिरहेका हुँदैनन् बरु मानसिक उतारचढावको स्नायु रोगी भएर मस्तिष्कमा उठ्ने भावनात्मक चक्रले त्यस्तो स्वभाव बनाउने गरिरहेको हुन्छ भनेर मार्लो सोलिट्टो निक्र्योल गर्छन् ।

घटाउने कसरी ?
पाकाले आक्रामक स्वभाव देखाउन थाले भने त्यहिबेला रोक्नखोज्ने होइन बरु थाकुञ्जेल गर्न दिनुहोस् र दुर्घटना चाहिँ रोक्नुहोस् । आफ्नो मस्तिष्कको उद्वेग सकेको पोख्न दिनुहोस् र जब सामान्य व्यवहार गर्न थाल्छन् तब उहाँले भर्खर गरेका, भनेका आक्रामक शैलीले आफूलाई पिर र नराम्रो लागेको जानकारी उस्तै अनुहार पारेर भन्नुहोस् । सँगसँगै तपाइँले उहाँको लागि के कस्तो सहयोग माया गरेर गरिरहनुभएको छ, त्यस्ता कुरा पनि दोहोर्‍याउनु होस्, अर्को हेरालुले बेवास्ता गर्दा भएका नराम्रा घटना भनेर आफूले उहाँको हितमा गरेका कुरा प्रभाव पार्ने किसिमले भन्नुपर्छ । मनोवैज्ञानिक चिकित्सकका भनाईमा त्यसोगर्दा मौखिक र उत्तेजनामा गरिएका आक्रामक घटनालाई पाकाले चाँडै स्विकार गर्लान् त्यसपछि ‘अब गर्दिन’ भन्ने स्थितिमा पुर्‍याउन सके, पछि मस्तिष्कले पाठ सिकेको रुपमा नदोहोरिन सक्छ ।

त्यस्तो अवस्था भएका पाकालाई सामान्य रहँदा हेरालु र परिवारका जिम्बेवारले उनीहरू नभए ‘अशक्त अवस्थामा गुहु मुतमानै आहाल बस्ने बनिन्छ, सरसहयोगी नभए खानपिन र लुगा लाउनसमेत समस्या हुन्छ’ भनेर सम्झाएमा फलदायी होला । त्यस्ता उमेरिएका अवस्थाकालाई हेरीछाड्नु र छोडिहिँड्नु जिम्बेवारको निकृष्ट सोचाई हो, मानिस भएर पाको मान्छेलाई अभरमा छोड्नु, बेवास्ता गर्नु आफ्नै भविष्यलाई दुत्कार्नु हो, ‘छेउको सियो माझमा आउँछ’ भन्ने उखानको मर्म नबुझ्नु हो । रहँदा बस्दा अहिले किशोर वा वयस्क उमेरका महिला-पुरुष ‘भोलि पाको भएर उमेरिदै यस्तै रोगी हुने दिन पनि त आउँदै छ नि’, भन्ने प्राकृतिक तथ्य कुरा सोच्नै पर्दछ ।

सामान्य अवस्थामा आउँदा उहाँहरूका ज्ञानयुक्त अनुभव र कालबेला बारे सोधपुछ गर्नु सबै किसिमका हेरालुको कर्तव्य हो । ‘आफ्नू पनि अनुभव र ज्ञानका कुरा सुन्ने मान्छे छन्, म पनि कामको मान्छे अझै रहेछु’ भन्ने लागेर पाकामा सकारात्मक सोच पलाउन मद्दत मिल्नेछ भने उनीहरूका मस्तिष्क त्यसअनुसार कम आक्रामक हुनसक्नेछ । उहाँले तपाइँसँग मनले खाएर आफ्ना बेलाका विभिन्न प्रकारका महत्वपूणर् ज्ञान र अनुभव सुन्न पाउनु हुनेछ भने यस प्रक्रियाले अनुभवको पुस्तान्तरण गर्न बहुत सजिलो पर्नेछ र बिरामीको व्यवहारमा फरक आउन सक्छ । यदि शारीरिक र भौतिक आक्रमणका घटना नियमित हुन थालेका छन् भने सम्बन्धित रोगव्याध र व्यवहारबारे जानकार पेशाकर्मीको मद्दत पनि लिनुपर्ने हुनसक्छ । त्यसो गर्न जान्ने पेशाकर्मीले गरेका र सिकाएका तरिका केही दिनपछि घरका मानिस वा हेरालुले सिकेमा बिरामीलाई सुरक्षितपूर्वक तह लगाउन सकिन्छ । अतिनै उजण्ड र थामि नसक्नुभए पाका मान्छे हेरचाह गर्ने गैरसरकारी परोपकारी सँस्था वा त्यस्तो काम सल्टाउने प्रहरी बृत्तमा खबर गर्नु बिरामी, हेरालु, परिवार तथा ईष्टमित्रको कर्तव्य भित्रनै पर्दछ ।

सफाई नगर्नेः
उमेरिएका मानिसहरूमा सामान्यतया दैनिक गरिने सरसफाईमा विभिन्न कामको चापले वा रोगव्याधको कारणले कम ध्यान दिएर धुस्रेफुस्रे रहने, नुहाईधुवाई नगर्ने र फोहोर कटकटिएका लुगा लगाइरहने बानी हुने धेरै पाइन्छन् । कतिपय ‘के पट्ठा-पट्ठी जस्तो हुनु ? आ, बाआमाको पालादेखि लगाको के छोड्नु ?’ भनी धुजाधुजा भई धुनसमेत नमिल्ने लुगाले शरीर छोप्ने रहर गरिरहन्छन् । कतिका लुगा ‘शरीरमा लगाएदेखि फाट्दैन, खुइलिँदैन, ठिक्क छ !’ भन्दै बेचल्तीका पोसाक पनि लगाउने चलन हुन्छ । सफा लुगा भए र आफूलाई सन्तोष भए ठिकै छ, नत्र सकिन्छ भने त सफा लुगाफाटा र नयाँ लगाउने मानसिकता नराम्रै त भन्न मिल्दैन, हो, अनावश्यक उडन्ते सोख र आर्थिक अवस्था नहुँदा ऋण गरेर फुर्मायस पो गर्नुहुन्न । व्यक्तिगत सफाई नियमित हुनैपर्छ भने ओढ्ने ओच्छ्याउने र नुहाईधुहाई मौसम अनुसार कम्तिमा हप्ताको एक पटक गर्नुनै पर्छ नत्र त शरीरमा मयलका कत्ला पर्न थाल्छन् । फोहोरी त्यसमाथि रोगी मान्छेको हेरचाह गर्न आफन्त जोकोहीलाई सकस पर्छ भने हेरालु पनि त्यस्तालाई स्याहार्न पैसा पाइन्छ भनेरमात्र नपाइने हुनसक्छ । उन्माद र मस्तिष्क रोगले पनि व्यक्तिगत हेरचाहमा ध्यान नपुगेको हुनसक्छ र कतिपय मनमौजी खालका आफ्नो स्वतन्त्रता भन्दै तल्लोस्तरका हिप्पीजस्ता शौखिन पनि भेटिन्छन् ।

उमेरिदै गर्दा कतिपय मानिस परिवारको आर्थिक अवस्था कायम राख्ने नाममा सफाई सुघ्घर गर्दा साबुन र पानी खर्च हुन्छ भनेर पनि सफाईमा ध्यान नदिएका पाका कहिँकहीँ भेटिन्छन् । कोही सफाईलाई झिल्के बन्ने उपाय भनि जेजस्तो छ निरन्तर त्यही गरिरहने, दाँतमा खुई पार्ने, कपाल भए कहिल्यै नकोरी जुङरुङ्ग पारी हिँड्ने, लुगा जीउमै भ्वाङ्गप्वाल परुञ्जेल लगाउने र बाँकी लुगामा फोहोर कटकटिएर काला राँटा देखिनेजस्ता भएका हुन्छन् । आफ्नो व्यक्तित्व र हैसियतमा ध्यान किञ्चित नदिने अति पाका मानिस हाम्रो समाजमा अझै कताकति भेटिन्छन् भने वर्षभरी चिसो मौसम हुने ठाउँमा प्रतिकुलताले अलिबढी देखिन्छन् ।

त्यस्ता ठाउँ र स्वभाव भएका पाकालाई नुहाउन र लुगा फेर्न जति ङ्याक्यो उति नमान्ने र उतर्सिएर त्यसो भन्नेलाई हुर्मत लिन पछि पर्दैनन् । यस्ता फोहोरी रहने समस्या आफैँले अनुभूत गर्नलाई आँखा अझै तेजिला र नाक अझै तिक्ष्ण घ्राणशक्ति भएकै चाहिन्छ, त्यसोभए मात्र पाकाहरू आफैँ फोहोरी, गन्हाउने भएको चाल पाउँछन् । नभए त ‘उमेरदारले बुढाबुढी भएकाले हेपेर खिसिटिउरी गरेका, सँधै त्यस्तो गर्न यो उमेरमा कहाँ पुग्नु, त्यसमाथि चिसो लागेर थलिए के गर्नु ?’ भन्ने ठानेर उल्टो रिसराग गर्ने, होच्च्याएको भन्ठान्ने र आफ्नै भलाईको लागि भनेको भनेर नपत्याउने हुनसक्छन् ।

आफ्नै आँखाले देखेको र नाकले थाह पाएको बाहेक अरु उमेरकै कारणले विश्वास नगर्ने भएकाले पाका मान्छेका ज्ञानेन्द्रीय दुरुस्त राख्न जिम्बेवारले मद्दत गर्नुपर्छ, सार्वजनिकरुपले उहाँले बेईज्जत भएको अनुभूति गर्ने वातावरण कवै बनाउनु हुन्न । सँस्मरणको.ह्रास वा बिर्सने रोग लागेकाले त पछिल्लो पटक लुगा फेरेको र नुहाएकै नसम्झेर पनि त्यसो गर्न नमान्ने हुन्छन्, त्यस्तालाई पात्रोमा चिन्हो लगाएर देखाउने गरे सम्झन बल पुग्छ । धेरैजसो केटाकेटीदेखि पानी र सफाईको महत्व नबुझेका परिवारमा हुर्केका पछि उमेरिदा पनि छिटो ननुहाउने र नयाँ कपडाको खसखस् सहन नसक्ने स्वभावका हुनसक्छन ।

त्यस्तो मनोविज्ञान भएका मान्छे पछि पाको भएपछि पानीसँग डराउने र लुगा फेर्न चाहनै नगरेका भेटिन्छन् । कति चाहिँ नुहाउँदा चिप्लेर लडिने र कतिजना चिनेका नुहाउँदा चिप्लेर पछारिदा मस्तिष्कघात भएको, पक्षघात भएको कुराले आफू नुहाउन जानै डराउँछन् भने अरुको मद्दत लिन पनि सङ्कोच मान्छन् । कतिका घरमा आफैँ गर्नुपर्छ भन्ने हुकुमी व्यवहारले पाका मान्छे सहयोगी र मनकारी नपाउँदा त्यसै डल्लिएर बस्न रुचाउने पनि हुन्छन् ।

सफाई किन ?
पाकाहरू नुहाईधुवाई तथा चिटिक्क परेर किन बस्न र हिँडडुल गर्न चाहँदैनन् भन्ने कुरा परिवार साथै हेरालु दुबैले कारण थाह पाउनु जरुरी हुन्छ । जीवनमा पहिले कसैको मद्दत नलिएका र नपाएका मान्छे शारीरिकरुपले कमजोर भएमा अरुको सहयोग खोज्ने हुँदैनन्, त्यस अवस्थामा हेरालु राखेर वा घरकै कोही अघि सरेर ‘म सहयोग गरिहाल्छु नि, रोगव्याधबाट बच्न त् सफाई आवश्यक हुन्छ’ भनि फकाउनुपर्छ भने मौसम हेरेर मनतातो पानीको व्यवस्था गरिनुपर्छ ।

रोगव्याध वा मस्तिष्कको समस्याले चिन्तारोग, बिर्सने बानी, आदि भए चिकित्सकको सल्लाहमा ओखति गर्ने वा उपायबारे सल्लाह लिनुपर्छ । विभिन्न थेरापी र चिन्ताबिरोधी ओखतिको सेवनले पाकामा समस्या न्युन भई सामान्य जीवन जीउने हुनसक्छन् । सामान्य व्यवहार देखाएको बेला ‘सुघ्घरसफाईका फाइदा हुनेहुनाले म सहयोग गर्छु नि’ भनि आदर गर्नेले भनेमा भनेको बेला तयार हुनजान्छन् ।

पानीसँगको डर पूर्वाग्रहले हो भने सुरक्षित पानी र सफाई सुघ्घरका विभिन्न फाइदा बारेका लेखरचना पढेर सुनाउने, ससाना बृत्तचित्र देखाउने र त्यसो गर्नेका स्वस्थताबारे जानकारी गराएमा सकारात्मक प्रभावनै पर्ला । कमजोरीका कारण नुहाईधुवाई गर्दा लड्ने, चोटपटक लाग्ने वा पछारिएर विभिन्न घात हुने डर हो भने एक्लै आँट गर्नेलाई बसेर नुहाउन प्लास्टिकका पिर्का, मेच साथै अप्ठ्यारो पर्दा समाउने ठाउँ जडान गरिदिएर आश्वस्त पार्न सकिन्छ । एक्लै नुहाउन, लुगा फेर्न र लुगाका विभिन्न जोर्नी जोडन आँटबल नभएर असन्तुलन हुने पाका मान्छेलाई भरपर्दो मान्छे वा हेरालुले सहयोगगर्नु पर्छ ।

त्यसोभए उहाँहरू खुसीभएर दैनिक सफाई र आवधिक लुगाफाटा फेर्न झञ्झट मान्नुहुन्न भने सिमित ओढने ओच्छ्याउनका खोल र उहाँका लुगा फेरेपछि तदारुकताका साथ धोइदिने गर्नाले पनि बहुतै ख्याल गर्छन् भनि चाँडै तयार हुन्छन् । नत्र ‘फेरेर के गर्नु कसैले समयमा धोइदिने होइन, मन भएर के गर्नु, नुहाउन कसैले एक भाँडो पानी हालीदिने होइन’ आदि तर्कना पाकाले गर्ने स्थिति छ भने त् सफाई गर्न कर गर्नु पनि हुँदैन । पाका मान्छेलाई सँधै सफासुघ्घर राख्न परिवारका सदस्य वा हेरालुले थप नरम र धर्यवान भएर उहाँसँग व्यवहार गर्दा मानेर भनेकोजस्तो गर्न तयार हुने सम्भावना बढि हुन्छ । सम्पूणर् स्नानमा मन नगरे बाहिर देखिने शारीरिक भागहरू नियमित सफा राखिदिँदा पनि सँक्रमण र छुईछाईबाट हुने रोगव्याधबाट बचाउन सजिलो पर्छ । विपरित स्थिति भोग्न बाध्य त्यस्ता उमेरिएका मान्छेलाई नाक चेप्र्याएर भनेको त झन खिसी गरेको अनुभूत भई मुखै नदेखाई धुमधुम्ती बस्न सक्छन् ।

त्राश, झुनी र काल्पनिक भ्रमः
पाको मान्छेमा उमेरजन्य आँट शारीरिक कमजोरीले अनौठो किसिमले अनुभूत भएर हरेक घटनामा भ्रमपूणर् त्राश र काल्पनिक डरले घर बनाएको हुन्छ । त्यसैले हरेक कुरामा उमेरिएका मान्छे चाहिनेभन्दा बढि सुरक्षा खोज्ने प्रवृत्तिका हुन पुग्छन् र नयाँ, नौलो मानिससँग डराउने, कुनै काममा केबल घाटा र खतरा देख्ने हुन्छन् । बेलैमा झ्यालढोका थुन्न खोज्ने, सामान्य घाउमा पनि ठूलो समस्या भन्ने, बेलाबेला शत्रु लाग्न सक्छ भनि सिरानीमा खुकुरी राख्न खोज्ने, घरमा मानिस आउँदा चोर्न सक्छन् भनेर तालासाँचो लुकाउने आदि उमेरिएकाले गर्न सक्छन् ।

उहाँहरूका मस्तिष्कमा अनौठा कल्पनाका तरङ्गहरू सल्बलाइरहेका हुन्छन् र कुनै बेला प्रखररुपमा आउँदा पहिलेका कुरा सम्झने तथा अहिलेका कुरा भन्न नसक्ने चक्रमा रुमल्लिएका हुन्छन् । मगजमा आएका त्यस्ता काल्पनिक बिचारले गर्दा वर्षौ अघि बित्नुभएका अभिभावकलाई सम्झेर जाडो महिनामा ‘बाआमालाई आगो ताप्ने व्यवस्था गर्नुपर्ने’ र गर्मीमा बाहिर शितलमा हिँड्न सक्नुहुन्न, कसरी बस्नुहुन्छ गुम्स्याइलो कोठामा ?’ भनि परिवारलाई सोध्न सक्नुहुन्छ ।

एकजना त्यस्तै तन्द्रामा रहने पाका मान्छेलाई बाको श्राद्ध भनेर फुलौरा खान दिँदा दाजुभाइलाई ‘जिउँदो मान्छेको श्राद्ध हुन्छ ?’ भनि हपारेको हृदयविदारक घटना धेरै ठाउँ सुनिन्छ । झण्डै सोम शर्माको बाउले सातुको घ्याम्पो फोरेको काल्पनिक कथाको सजीव पात्रझैँ मानसिकता असामान्य भएका पाका मान्छे हुनसक्छन् । यस्ता मान्छे आफ्नो जिद्दीमा अडिने र लागेको कुरा ध्रुबसत्यझैँ प्रस्तुत गर्ने भएर हेरालुलाई त आपतनै पर्छ र हेरालु फेरिरहने घटना त्यस्ता परिवारमा सामान्य हुन्छ ।

उपाय के ?
बेलाबेला झुनी लागिरहने र काल्पनिक दुनियाँमा रमाएर वास्तविक घटनाझैँ सम्झेर व्यवहार गर्न थालेका पाका मान्छेमा रोग मानसिक र शारीरिक समस्यामा केन्द्रीत भएर खतरापूणर् तरिकाले आउन लागेको परिवारजनले अनुभूत गर्नैपर्छ । उहाँहरूका कुरा र गतिविधि शूक्ष्म तरिकाले नियाल्नुपर्छ, कतिखेर दुस्साहशपूणर् काम गर्न सक्छन भने कतिखेर डराएर घरका कुनाकाप्चामा लुक्न सक्छन् । त्यस्ता लक्षणहरू देखाउन थालेका आफ्ना प्रियजनका गतिविधि लिपिबद्धगरेर राख्नुपर्छ र चिकित्सकको भेटमा फेहरिस्त सुनाउँदा उपयुक्त ओखतिको व्यवस्थागर्न बाटो खुल्छ । यस्ता समस्या हुँदा कुनै सँक्रमणले कसैलाई भएको हगौँहगौँ मुतौँमुतौँको स्थितिका मान्छेलाई भएझैँ हो र मस्तिष्क उडानको चक्रको एक भाग भएको बुझनु पर्छ ।

यस्तो समस्या मस्तिष्कघात पछि हुनसक्छ भने स्नायुका समस्या भएर शारीरिक कमजोरीकासाथ बिर्सने रोग र उन्मादका बिरामीलाई धेरैजसो देखिन्छ । त्यस्तो भएमा परिवारजन र हेरालुले सकेसम्म गाली गर्ने, कुरा नमान्ने वा प्रतिरोध गर्ने गर्नुहुन्न, बरु उहाँकै कुरामा हो हो भन्दै मतापले ढाडस दिने र हुने कुरामा गरिदिने गर्दा मानसिक सकारात्मकता आउँछ । उहाँहरूलाई लागेका, देखेका र सुनेका कुरानै वास्तविक हो भन्ने लागेका पाका मान्छेलाई उहाँको समस्याको बणर्न गर्नुभन्दा आज्ञाकारीभई काम गर्दा समस्या घटाउन मद्दत गर्छ ।

हरेक उहाँहरूका कुरामा सहजै स्विकार्नेमात्र होइन बोलीचाली र व्यवहारमा पनि नरम र उहाँलाई मनपर्नेनै गरिनु पर्छ, अर्थात उहाँका सबै कुरा ठिक भन्ने नाटक गर्न हेरालु सिपालु हुनुपर्छ । त्यसैले हेरालु र परिवार सँधै सकारात्मक भइदिँदा समस्याग्रस्त पाकाको ओखति अघि बढाउन मद्दत मिल्छ भने उहाँमा आउने मानसिक उद्वेगलाई नियन्त्रण गर्न सजिलो हुने मनोचिकित्सकहरूको सल्लाह छ ।

अनियन्त्रित बानीः
हरेक कुरामा हडबडाउने र सुरक्षात्मक उपाय भनि घरीघरी उही काम गर्ने, शरीरमा कन्याउने नाममा चिथर्ने, छालाका उचिरा तान्ने, नङ टोकेर रगत निकाल्ने, मिलाएर काटनुपर्नेमा नङ उक्काउने, कपाल र शरीरका रौँ थुत्ने, चिमोटेर निलडाम बनाउने जस्ता अनौठा आनीबानी विकसित भएका पाका मान्छे भेटिन्छन् । उहाँहरूले गर्नैपर्ने काम जसरी आफैँलाई पीडा दिँदा आनन्द मानी रमाइरहेको पनि देखिन्छ भने त्यसो गर्नु ठिक भन्ने पनि मानसिकता रहेको देखिन्छ ।

कतिजना आफैँ जान्ने भएर दुखे, टन्केको शरीरको भाग पत्ती वा धारिलो बस्तुले चिर्ने र काट्नसमेत तम्सेको देखिन्छ भने कति आफूलाई मन नपरेकालाई दुखदिँदा मक्ख पर्ने स्वभाव देखाउने हुन्छन् । बेप्रशङ्गमा एक्कासी हाँस्नु र मनमनै केके सोचेर रोएर बिलौना गाउनु, कहिलेको कुरा सम्झेर कसैलाई सत्तोसराप गरेर दिन बिताउनु अर्थात औँशीपूर्णे  लाग्ने भनेझै स्वभाव निरन्तर हुनेगर्छ । यस्ता लक्षणहरू कसैमा आवधिक हुनथाल्छ भने कसैमा पारिवारिक गुणकोरुपमा आएको असामान्य स्नायु प्रणालीको गडबडीले हुनेगर्छ । यस्ता रोगले उमेरिदा पाका मान्छेलाई शारीरिक स्वास्थ र मानसिक अवस्था झन बिगार्दै लैजान्छ र परिवार साथै हेरालुसमेतले दुखपाउने सम्भावना बढछ ।

के गर्दा ठिक ?
आफ्ना आदरणीय बाआमा र हजुबाआमाका अतिरञ्जनापूणर् असामान्य व्यवहार मानसिक र शारीरिक कमजोरीका लक्षण हुन र रोग लागेको पूर्वजानकारी हो, यो पुरातनपन्थीको उमेरले आएको बानी होइन । त्यस्ता स्वभाव बिकसित हुनमा अतिचिन्ता, उन्माद, मस्तिष्क शुक्सता साथै स्नायुप्रणालीमा अप्राकृतिक बिकार आएर रोग लागेकोले हुनसक्छ । उहाँहरूको दैनिक जैविक र सामाजिक क्रियाकलाप अबरुद्धमात्र होइन परिवारनै भद्रगोलमा पर्ने सम्भावनाको स्तरमा बाधा पुग्न थालेमा मनोचिकित्सकको सल्लाहमा ओखति र पथपरहेजको बाटो समात्नु पर्छ । तुरुन्तै ओखति सुरुगर्ने, विभिन्न थेरापी साथै एक्लैदुक्लै धेरैबेर छोड्दा शारीरिक खती र दुर्घटना हुनसक्ने भएकाले उस्तैउस्तैको भिडभाड हुने सत्सङ्गमा सकेसम्म सामेल गर्नुपर्छ ।

दैनिकरुपमा अनौठा बानी गर्नथालेका पाकाको अभिलेख राखी के कुराले वा परिस्थितिमा त्यस्तो व्यवहार सुरु हुन्छ हेरबिचार गर्नेले ठम्म्याउनु पर्छ । कुनै कुरा, घटना वा प्रशङ्गले त्यस्तो आनीबानी गर्न निहुँ बन्छ भने त्यस्तो परिवेशबाट उमेरिएका मान्छे टाढै राख्ने व्यवस्था गर्नै पर्छ । पाका मान्छेलाई रिस उठ्ने र उपद्रो गर्ने कामकुरा उहाँहरूलाई भन्ने सुनाउने बिर्सेर पनि गर्नुहुन्न, होला, कुनै उहाँहरूको भनाई नचाहिने र गलत हुनसक्छ तर बिरामीको स्विकार क्षमता हेरेरमात्र त्यसबारेमा ठिकबेठिक भन्नु अहिलेको स्वास्थ्य हेरेर हेरबिचार गर्नेले गर्नुपर्छ । राम्रो गर्ने नाममा बिरामी झन् बढी अशक्त र अकालमै दुर्घटनामा पुग्ने अवस्था नगरौँ, यसले त् आफन्तलाईनै पछि थकथकी लाग्ने हुनसक्छ, ‘पोहोर मरिन सासू, अहिले आयो आँसु’ नहोस् । छाला र नङका समस्या उव्जाउने पाकाको बेलैमा तेल मालिस गरिदिने र मिलाएर नदुखाई काटीदिने व्यवस्था गरेमा उमेरिएर त्यस्तो स्वभाव भएका पनि नगर्ने हुँदैजान्छन् ।

अन्त्यमा,
पाका उमेरिएका मान्छे महिला हुन वा पुरुष आत्मनिर्भरसमेत परिवार र समाजको माया होइन आवश्यक पर्दा सघाउने दयाका आशामुखी हुन्छन् । जुग, जमाना बदलियो भन्ने नाममा उहाँहरूको बेवास्ताले धेरै समस्या पाको पुस्तामा देखिएको छ भने अहिलेको समाज ज्ञान र अनुभवको पुस्तान्तरणबाट विमुख भएको छ । उमेरिदा देखिने अनौठा समस्या र आनीबानी कतिपय बेमेलको परिस्थितिलाई तादात्म्य मिलाउन नसक्दा उब्जिएका हुन्छन साथै स्नायुरोगका कारणले पनि हुन्छन् । परिवार र समाजका जिम्बेवारले उमेरिएकालाई गर्ने व्यवहारले समस्यामात्र होइन रोगनै हटाउन, घटाउन र आफ्ना अभिभावकलाई सहुलियत बनाइदिन सक्छन् । यस पक्षमा व्यवहारिक तालिम, प्रचार-प्रसार र जनजनमा बोध गराई नेपाली समाजमा सिर्जनाको नयाँ घाम झुल्काउन अब अबेर गर्नहुन्न भन्ने सचेत पाकाहरूको रहेको देखिन्छ ।

०००
असार १४, २०८१
चालिसे डाँडा, ललितपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
पाका मान्छेमा अलमल !

पाका मान्छेमा अलमल !

डा. मुकेशकुमार चालिसे
हामी हेपिने मान्छे हो र ?

हामी हेपिने मान्छे हो...

डा. मुकेशकुमार चालिसे
बृध्दभत्ता– पहेँला अक्षता कि पिण्ड हो ?

बृध्दभत्ता– पहेँला अक्षता कि...

डा. मुकेशकुमार चालिसे
कसरी पाटी बन्दैछन् घरहरू… ?

कसरी पाटी बन्दैछन् घरहरू…...

डा. मुकेशकुमार चालिसे
हामीलाई एकै नापो काम लाग्दैन है !

हामीलाई एकै नापो काम...

डा. मुकेशकुमार चालिसे
हामीलाई बेवास्ता गरे विकास हुन्छ र ?

हामीलाई बेवास्ता गरे विकास...

डा. मुकेशकुमार चालिसे
0
Would love your thoughts, please comment.x
()
x