सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

उमेरिएका पाकाले आफैँलाई दया गरौँ !

कसैले सिन्को बराबर मफतको सहयोग नगरे पनि आजका पाका मान्छेले हिजोको निर्जन र रुखासुखा ठाउँमा पसिना झारेर गुल्जार बस्ती तथा खेतिपातीका मैदान बनाएका हुन् ।

Nepal Telecom ad

डा. मुकेश चालिसे :

धेरैजसो मानिसहरू मानिसका बिभिन्न उमेरसमुहलाई मोटामोटी सकृय र निष्क्रिय समयका रुपमा वणर्न गरेर विविध घटनामा चित्त बुझाउन खोज्छन् । सबैभन्दा पेचिलो प्रश्न के हो भने, के कतै नियमित अर्थोपार्जनसहित सेवा गरिरहेका महिला वा पुरुष एक खास उमेरमा पुगेपछि सेवानिवृत्त हुनुको अर्थ कामकाज गर्न नसक्ने हो र ? उमेरिएका पाका मान्छे एकै काम र सिपमा दशकौँ घोटिएका छन भने त झन बढि परिष्कृत तथा अनुभवी भएर गुणयुक्त पो बनेका हुन्छन् । यस्तो जनशक्तिलाई त सरकार र समाजले झन बढि जिम्बेवारीकासाथ शारीरिक काम घटाउँदै मानसिक काममा लगाउनु पर्ने होइन र ?

तर संसारका धेरै मुलुकमा ढल्दो पूँजिबिचार धङ्कधङिदै भए पनि हरेक मानवका श्रमलाई मोलमोलाई गरेर उमेर र बलका आधारमा मूल्याङ्कन गरी उमेर पुगेपछि कम आँकेर निष्क्रिय बनाउन लागिपरेको छ । त्यसैको देखासिखी गरेर कम विकसित मुलुकमा पनि निजामती, जङ्की र शैक्षिक सेवामा पनि नियमित सेवाको खास उमेरहद तोकिदिने चलन छ । त्यस प्रवृत्तिकोे नक्कल नीजि र संस्थागत सेवाहरूमा पनि एक उमेरमा पुगेपछि सशुल्क वा निशुल्क अवकाश लिनैपर्ने नियम बाँधिएका छन् । घरबाहिरका सेवा व्यवसायमा लागेका नभए पनि बाहिरी सेवाको प्रभावले सामाजिक रुपमा घरकाजमा रमाएका उमेरिएका मानिसलाई सिको उस्तै गरेर पाको भएको भन्दै व्यवहार गर्ने मनोविज्ञान व्याप्त छ ।

पाको उमेर तोकिदिने प्रावधानले एकातिर व्यक्तिलाई त्यस उमेरसमुहमा मानिस अक्षम हुने सन्देश गएको छ भने उमेरिएकालाई अब शान्त, निष्क्रिय र पराबलम्बी बन्ने बेलाको आभाषले सक्ने कामकाजमा पछि हट्ने तथा समाजमा बोझ बन्नुनै सुखी उमेर भएको कमजोर मानसिकताले घर गरेको पाइन्छ । हरेक मानव समुदायमा यस्तो मनोविज्ञान सतहमा आउँदा त समाजको कुल जनसङ्ख्याको दशदेखि बीस प्रतिशत अनुभवी ज्ञानयुक्त मानिस सक्रिय नहुने स्थिति आउँछ । यस समस्याले मानव प्रजातिको सिप पुस्तान्तरणमा ठूलो बाधा पारेको नेपालमै पनि भोग्न थालिएको अवस्था छ ।

हिजोआज रैथाने ज्ञान र उद्यम थला परेका तथा कैयन ठाउँमा सिपनै लोप भई कैरन गुमाएको अवस्थामा रहनु, पुस्तान्तरणमा आधुनिकताको नाममा पूँजिको तुलनाले बिघ्न हालेको तथ्य कसैबाट लुकेको छैन । परिस्थिति आफूले उरालेको सामाजिक कर्तव्यबिनाको हक-अधिकारको गलफन्दीबाट अत्यधिक चाहना बढाएकाले हालीमुहाली गर्न तम्सिनेहरू अन्तर्राष्ट्रिय रुपमै रैथाने ज्ञानको प्रचारमा लागेका छन् । कष्टसाध्य अवस्थामा पनि नघटेको जनसङ्ख्याको प्रकृतिप्रदत्त स्रोत उपयोग सिप र अनुकुलनता थाह पाउनु भित्री उद्येश्य हो भने विश्व एक परिवार भनिने नारासँगै आएको आफ्नो पहुँचमा बोल्न अघि सर्नेलाई थुमथुम्याउन पसारिएको राजनीतिक स्वार्थको पासो पनि हो । यिनै अनेक माखेसाङलोको एक टुप्पामा पाका मान्छे बृद्धभत्ताको पिप्लामेठमा अल्झाउने दाउ सबैतिर चलेको छ र पैसाउन्मुख लोभी मनोविज्ञानले उमेरिएका बुजु्रक र समाजका अगुवा एक वरिष्ठ उमेरसमुह सामाजिक रुपले बेग्लिएका छन् ।

निष्क्रिय भइने मनोविज्ञानको पारिवारिक, सामाजिक र अन्तरदेशीय दबावसँग सिँगौरी खेल्न उद्यत रहेका पाका मान्छेहरू मन खिस्रिक्क पारेर लगातार चिन्ता तथा आत्मग्लानीले मस्तिष्कसाथै स्नायुका समस्यामा पर्न सक्छन् । कतिपय उमेरिएका मान्छे आफ्नो वयस्क उमेरका जोश, जाँगर र शैली कायम राख्दै परिवारको अति मायाले शारीरिक श्रम गर्न पनि अघि सर्छन् । बढेको उमेर र छ दशकभन्दा बढिको हाड घोटाईबाट कमजोर भएको ज्यानले उही गतिमा काम गर्न नसकी बिग्रने तथा लरबरिने भई अपजस पाउन सकिन्छ ।

यस्तो भएमा मनचित्त झन बिग्रिएर निराशाले घर गर्न थाल्छ र बिस्तारै ‘बरु मर्न पाए पनि हुन्थ्यो’ भन्ने लाग्न थाल्छ, मनमा उठेको वितृष्णा पछिपछि मौखिक रुपमा आफ्ना र चिनजानका बिच ‘मलाई नबाँच्ने दुर्घटना किन हुँदैन ? आत्महत्या गर्न डरलाग्छ, बरु कुनै सवारी साधन प्रयोग गर्दा, ऐय्या भन्न नपाई जानपाए हुन्थ्यो’ भनि भएका दुर्घटनामा आफू नपरेकोमा चुकचुक गर्दै उही गतिमा काममा जोतिएको सुनिन्छ । आफूलाई माया नगर्ने परिस्थितिको मनसुवा यत्ति उदाहरणले पनि ‘ठिमाहा समाजमा कति दर्दनाक र विभत्स अवस्थामा उमेरिएका पाका मान्छेले अनुभूत गर्नुपर्ने परिस्थिति छ’ भन्ने बुझ्न सकिन्छ ! कम्तीमा अरुको हुँदो गर्न तम्सिनेले शारीरिक अवस्था र उमेरको ढल्किँदो गतिमा आफ्नो ज्यानको माया गरी दयालु भए पो अलि बाँचिन्छ नत्र अकालमा पर्ने यथार्थ सत्य आफैँले आत्मसात गर्न पनि पाका मान्छे चनाखो हुनुपर्छ ।

आफैँप्रति दयालुः
माया र दया त अरुलाई गरिने व्यवहार हो, आफैँलाई पनि कसैले गर्छ ? ‘अपुत्राको धन प्यारो, कुष्ठरोगीको जीउ प्यारो’ भन्ने उखान मानिसलाई सामाजिक हुन र आफ्नोमात्र हित नहेर्न बनाएको होला ? नत्र त छोराछोरी नहुनेले अशक्त हुँदा बाँच्नका लागि चाहिने सर्दाम जोड्न चलअचल धन त चाहिन्छ नै, हेरिदिने को होला र ? बृद्धाश्रममा भनेको सुखले थच्चिन पाइन्छ र ? हुन त, सन्तान हुँदैमा पाको उमेरमा हेरबिचार पुर्‍याउँछन् भन्ने सबैमा लागु त हुँदैन, उही पैत्रिक सम्पत्तिको लोभमा नमरुञ्जेल हेर्लान् भन्ने धमिलो आशामात्र हो । पहिले कुष्ठरोग, क्षयरोग जस्ता लामो अवधिको रोग र सरुवारोग लागेमा गाउँ बाईकट गर्ने चलनको प्रतिबिम्ब रोगी एक्लै पर्ने भएर उसैले आफ्नो ज्यानको हेरचाह गर्नुपर्ने बाध्यता पनि थियो ।

अहिले अवसर र भविष्य बनाउने नाममा परदेशिएका सन्तान भोग्ने बाबुआमाले आफ्नो पहुँचको अनुकुल ठाउँमा सम्पत्ति नराखे चाहिँदा कता रोई हिँड्नु, खाँचोमा कसरी पुर्ताल गर्नु ? आफ्नो स्वास्थ र फापअफाप नहेरी सन्तानले बेलाबखत फुर्सदमा गरेका फोनले रोगव्याध सञ्चो-विसञ्चो सोधेर निको हुने होइन होला ? सुखदुख भोग्न र खनखाँचोमा टार्न आफैँले लागिमेली गर्ने परिस्थितिमा पाका मान्छे हरेक कुरामा स्वावलम्बी हुनैपर्छ, सकेको भौतिक र शारीरिक सहयोगको जोहो गर्नैपर्छ । त्यसअर्थमा आफैँलाई माया गर्दै नयाँ परिस्थितिमा त्यो उखान नकारात्मक होइन सकारात्मक सन्देशको रुपमा लिनैपर्छ र आत्मबल बढाउनै पर्छ ।

आफ्ना बारेमा कहिल्यै नसोच्ने बाआमाको अवस्था उमेरिदा मानसिक र शारीरिक रुपले कमजोर हुँदैजाँदा आफ्ना चाहनाहरू दिन पर दिन ओझेलमा पार्दा पनि सुख नपाई जब सहनुको मापदण्ड छिचोल्न थाल्छ । त्यतिखेर एकातिर गुँडुल्किएर चिसा आँसु बगाउन मात्र पाइन्छ । रहँदाबस्दा चिन्ताग्रस्त, उन्माद र बिर्सने रोगलेमात्र होइन अल्झाउने र मार्ने अल्ज्हाईमर लागेर कतिका जीवन जीउँदै नरक भोगको स्थिति बनेको हुन्छ । आफ्ना बारेमा चनाखो रहने पाका मान्छेले आफैँलाई माया गर्न र शारीरिक अवस्था खुट्ट्याई दया गर्न जानेकाले धेरै भौतिक तथा मानसिक फाइदा बटुलेका हुन्छन् । आफूतिर फर्केर सोच्ने मानिसलेनै आफ्नो शारीरिक अवस्थाको राम्रो जानकारी पाउँछन् र रोगव्याध लागेमा भएको तथ्य भन्न सकेर चिकित्सकीय उपचार पनि फलिफाप हुन सजिलो पर्छ । पहिले र अहिलेको अवस्था प्रष्ट भन्ने पाका मान्छेको उपचार गर्न सजिलो हुन्छ तथा मनोवैज्ञानिक कारणको असरले मस्तिष्कको क्षमतामा बिचलन भएर आएका विविध रोग घटाउन साथै हटाउन सहायक हुन्छ ।

मानिसका कतिपय आनीबानी जन्मजात वंशाणु सँगसँगै जोडिएर आएका हुन्छन् भने कतिपय बानी सिकेर सोही अनुसार स्वभाव बनाउन सकिन्छ, आफ्नो हितमा सोच्ने बानी प्राकृतिक रुपले कतिपयमा हुन्छ र कतिपयले फाइदा हेरेर पछि सिक्न पनि सक्छन् । सिक्न सकिने भएर यस्तो आफैँलाई बुझि स्वरक्षा र हितको बानी धेरैले ज्ञानका आधारमा लागु गरी आफ्नो भलाईमा अघि बढ्न सक्छन् । अचेल ज्ञान र प्रविधिको विकासले मानिसलाई भौतिक सुबिधा त थपिएको छ तर मानविय प्राकृतिक प्रवृत्तिमा द्रुतगतिमा ह्रास भएको पनि छ । एकै घरमा दश ओटा ताररहित सञ्चार सामग्री हातहातमा छ तर एकआपसमा घनिभूत सरसल्लाह र सदभावमा निकै कमी आएको देखिन्छ, सामुहिक हितका सेवा सुसुर्षामा परिवार सदस्यहरू देखिँदैनन् बरु हरेकले व्यक्तिगत आनन्दमा रमाउने प्रचलन थोपरिएको छ ।

हार्वाड मेडिकल स्कूलले प्रकाशित गरेको सकारात्मक सोच भन्ने अनुसन्धानात्मक शोधले देखाएको छ, तपाइँको सुख र चइन एउटा काम फत्ते गरुञ्जेलको अवधिमा तपाइँलाई सामाजिक सञ्जालका निष्फिक्रीसँग दैनिक हैरान गर्ने सूचनाले ध्यान भङ्ग गरेर बाधा पुर्‍याइरहेको हुन्छ । मनोचिकित्सकहरूको भनाईमा काम गर्दा एकत्व गर्नुहोस्, अघि आइपरेका समस्यामा पूणर्ध्यान दिनुहोस्, त्यसोगर्दा तपाइँको काम फत्ते भई आनन्दीमा रमाइन्छ भने मानसिक र शारीरिक स्वास्थमा फाइदा पुग्ने अवस्था आउँछ, नत्र मानसिक खराबीले शारीरिक समस्याहरू बल्झाउँदै लैजान्छ । ‘उच्चतम आनन्द र मनको चइनकासाथ शान्ति’ हलगोरु हुन् तथा सफल कामको सम्पादनमानै देखा पर्दछन्, यस्तो अवस्था विशेषगरी पाको उमेरमा पाउन, आफ्नो क्षमता र कामप्रतिको एकाम्यताले मात्र सम्भव हुनसक्छ । त्यसोभएमा उन्माद, बिर्सने रोग र अल्ज्हाईमरजस्ता असाध्य रोगहरू उमेरिदा ढिम्कन पाउँदैनन् नत्र धेरै पाका मान्छेमा न्युन सक्षमतामा उत्कृष्ठ चाहनाको असन्तुलनले यस्ता रोगहरूले गाँजेकोनै पाइन्छ ।

मन बिगार्ने, विचलित गराउने र तनावले आक्रान्त बनाउने स्थितिलाई हटाउन पाका मान्छे आफैँ उत्तरदायित्वसहित मानसिक तयारीमा गरिनुपर्ने धेरै कामहरूमध्ये सबैभन्दा महत्वपूणर्मा केन्द्रित गर्नुपर्छ । असामान्य अवस्था नआओस् भनी उमेर सुहाउँदो उपाय गरी सतर्क रहने गरेमा मस्तिष्कमा भार पर्न नगई शान्त र आनन्दीमा समय बित्छ । सामाजिक सञ्जालका विविध अवयवका हावादारी उडन्ते समाचार र घटनामा धेरै नफँस्ने, प्रमाणित र आधिकारिक भनाईलाई मात्र पच्छ्याउने गर्दा मनको विग्रह घट्न र हट्न सक्छ । सञ्चारको प्रदूषणले धेरै मानिस आक्रान्त भएको आजको समाजमा पाका मान्छेले आफ्नो अनुभव र ज्ञानको आधारमा मात्र बढि विश्वस्त रहनु स्वास्थको दृष्टिकोणले फाईदाजनक हुन्छ । बरु आफूजस्तै बिचार, दर्शन र स्वभाव भएका साथीहरू बनाउने तथा भएकामध्येमा आफूलाई पर्दा साथदिने उस्तै हैसियतका बिच सम्बन्ध गाढा राख्ने गर्नु लाभदायी देखिन्छ । ईष्टमित्र तथा साथीभाइहरूसँग मिलेर उमेरअनुसार गर्न सकिने र धान्न सकिने कामकार्वाही गर्न योजना बनाउने साथै पुरा गर्ने गरेमा हौसला बढेर सुख-आनन्द थपिँदै जान्छ, घट्न पाउँदैन ।

यस उमेरमा आएर बलबुता भएको बेलाझैँ ‘रन्कीने, डाढो गर्ने र यसो भएन उसो भएन’ भनेर गनगन गरेको साथीभाइलाई त मन पर्दैन, घरपरिवारका सदस्यले दैनिक भोग्नपरे पाका मान्छेलाई बित्यास पर्न बेर लाग्दैन । यस्तो बानीले कुचेष्टानै गर्ने त वाक्क हुन्छन् भने नकारात्मक स्वभावले आफ्नै हैसियत ओरालो लाग्ने मात्र होइन स्वास्थ्यनै बिग्रन थाल्दछ । अठोटेको चाहना र काम पुरा नभए वा बिफलनै भए पनि छाती पिटेर कौलासने बानी नगर्नोस्, यो स्वास्थ्य बिग्रने लक्षण हो, तपाइँको रन्काई र मुख छोडाई यस उमेरमा प्रत्युदपादक हुन्छ ।

बरु धर्यशाली भएर काम पुरा नभएको कारण खोज्नोस्, तपाइँको लामो अनुभव तथा व्यवहारिक ज्ञानले साथ दिन्छ अनि आफैँभित्र रहेको उपायको विकल्पमा अर्को पटक अठोट पुरा हुनेमा ढुक्क भई जीवनको आनन्द र सुखमा पौडन थाल्नोस् । यस्तो आनीबानी भएकाले ‘अप्ठ्यारोमा नआत्तिने र सफलतामा नमात्तिने’ भनि कहलाउने अवसर पाउँछन् । हो ! यसैलाई भन्छन् उमेरिएका पाका मान्छेका सदगुण, त्यस्तै पाकाले त ‘हिँड्न अप्ठ्यारो पार्ने पर्बत पन्छाउने हुती राख्छन्, आफूमात्र होइन अरुलाईसमेत सुख दिन्छन्’, नेपाल लगायत हार्वाडका विज्ञहरूको निक्र्योलनै यही छ ।

हार्वाडका मनोचिकित्सक क्रिस्टोफर गार्मरले आफ्नो अनुसन्धानात्मक ‘स्वआत्मबल र बुद्धिको बाटोमा सतर्क’ भन्ने कृतिमा आफ्नो जीवनमा आत्मदृष्टिकोण जगाउन, भौतिक, मानसिक, भावनात्मक, सम्बन्धात्मक र केही नलागे अपार प्रतिउत्तर बिहिन धारणा रहेको धार्मिक योगध्यानको बाटोमा लाग्न सल्लाह दिएका छन् । उनीबाहेक पश्चिमा विज्ञचिकित्सक तथा अन्तर्राष्ट्रिय पुरस्कार विजेता पाका मान्छेका व्यवहारिक विज्ञ के.एम.काँठे भन्छन्, ‘जसरी भए पनि जीवन सरल, सरस र आनन्दमयी बनाउन हरेकका आआफ्नै धारणा अनुकुल परिस्थिति आफैँले बनाएमा उमेरिदा झन सफल हुने मात्रा बढ्न जान्छ ।’ त्यस्ता कैयौँ प्रयाशहरू मध्ये महत्वपूणर् र गर्नैपर्ने केहीलाई बुँदागतरुपमा यसरी पनि अघि सार्न सकिन्छः

१. शरीरलाई आरामः पाको उमेरमा शरीरले बढि भएर साथै आन्तरिक प्रक्रियाले काम नलाग्ने भई बाहिर फ्याँक्ने दिसापिसाब त आफ्नो स्नायु नियन्त्रणमा हुँदैनन् भने स्वस्थ र पौष्टिक खानेकुरा पनि फाप्ने जति मात्रामा सेवन गर्नु राम्रो हुन्छ । कतिपय पाका मान्छेलाई पानीको मात्रा येथेष्ठ नहुँदा पिसाब संक्रमणको समस्याले सताउँछ भने कतिलाई कव्जियत भएर तीनचार दिन बिहान नित्य निष्काशन नहुने वा खानाको पेलाईले अपच भई झाडापखाला भएर जीवनजल पिउनुपर्ने बनाउँछ ।

बेलाको भनेर आँपजस्तो मिठो फल दैनिक अलि बढि खाँदा अपच हुने, पेटमा हावा भरिने, दैनिक धेरै पटक दिसालाग्ने अनुभव उमेरिएका मानिसको पाइन्छ । शरीरलाई सकस नहुने, पचाउन सहज हुने, खाएर सन्तुष्ठ रहने र उर्जा बढ्ने खानेकुरामा पाका मान्छेले जोड गर्नुपर्छ । बिहानको खाना सकेको, दिउँसोको खाजा हलुका र बेलुकीको खाना निदाउन पुग्नेमात्र खानेबानी उमेरिदाको मूलमन्त्रनै हो, पाइयो भनेर साँझका भोजभत्तेरमा लुव्ध हुन पाकालाई सुहाउँदैन भने पचाउन गाह्रो हुने गह्रौँ खानेकुरा बेलुकी खाने त सोच्दै नसोच्नोस् ।

हरेक खानपानपछि पाचन क्रियालाई काम गर्न उर्जा पहिल्याउन पलेटी कसेर बस्ने र दिउँसो कतै जानु नभए केही पाइला कोठामा हलुका हिँड्नु होस् । अनि शरीरलाई आराम पुग्ने गरेर पल्टनु होस्, आँखा लाग्लाजस्तो लागेमा निद्रामा पर्नुभन्दा तन्द्रामा रमाउन सुखी र खुसी भएका भावना पहिल्याउन कोशिस गर्नुहोस् । पल्टनु अघि र उठिसके पछि आफ्नो गर्धन, हात र पाइतालातिर हलुका मालिस गर्नुहोस् । आफूलाई आनन्द लाग्ने, सञ्चो अनुभूत हुने काम थाली हाल्नोस्, आफूलाई जे गर्दा खुसी प्राप्त हुन्छ त्यो गर्न नछोड्नोस्, तनाव र चिन्ता बढाउने कुरा खाना अघिपछि सम्झँदै नसम्झनु होस् । तपाइँको शरीरले आनन्द मान्ने क्रियाकलापहरूलेनै तपाइँको मानसिकताबाट नकारात्मक कुरा हटाउँछ साथै आत्मविश्वास र आन्तरिक बल बढाउन मद्दत गर्छ ।

२. आफैँसँग कुराः आफूलाई सकृय र विश्वस्त राख्न कोठासाथी वा परिवार सदस्यसँग कुराकानी गर्नुहोस्, सकेको काममा सहयोगी बन्दा कुराकानी गर्ने, जानेको सिकाउने र सघाउन आएकाले मनपेट धमिलो हुनबाट जोगिन्छ । घरमा कुराकानी गर्ने वातावरण नभए वा विविध आन्तरिक मनमुटाव हटाउन सकिएको छैन, कोठासाथीसँग कुरा नमिल्ने छ, एकल अवस्था छ भने सबैभन्दा राम्रो आफैँलाई पत्र लेख्ने कोशिस गर्नुहोस् । आफूले भोगेका दुखको वणर्न गर्नुहोस्, जीवनमा आइपरेका विछोडका घटनाको सँस्मरण लेख्नुहोस्, जागिर छोड्न बाध्य भएको घटना हुँदाको मनोदशा वणर्न गर्नुहोस् वा आफ्नो उपस्थिति नकारिएको दिन सम्झेर केही लेख्नुहोस् । यस्तो वणर्नमा सकेसम्म अरुलाई दोष नदिनुहोस् बरु आफूले के गरेको र गर्न सकेको भए दुखद कुरा हुँदैनथ्यो भनि आफैँलाई सम्झाउन कोशिस गर्नुहोस् । अहिलेसम्म आफूले गरेका बिराम, नगरेको भए हुन्थ्यो भन्ने क्रियाकलाप, अरुले गरेका असल कामको वणर्न र भेटेका गुनिला मान्छेका गुणहरू सम्झेर लेख्नुहोस् । आफूले पत्र लेखेर पढिदिने मान्छे देख्नुहुन्न भने आफैँलाई लेख्दा र पछि पढ्दा सँस्मरणले मन हलुका भएको अनुभूति मात्र होइन पाका मान्छेका विविध अनुभव सङ्कलनले इतिहास रच्दछ र आउँदो पुस्तालाई ज्ञानको पुस्तान्तरण हुनसक्छ ।

३. स्वप्रोत्साहनः आफ्ना दुखबिरामको विधिवत लिपिबद्धता पछि सोच्नोस्, यदि तपाइँका आफन्त वा अतिमिल्ने साथीलाई त्यस्तै भएको बेला उनको मुखेञ्जी तपाइँ के भनेर सान्त्वना दिनुहुन्थ्यो ? उनको पछाडि धक नमानी भन्नै पर्दा के भनाई हो तपाइँको ? हो, तपाइँलाई पनि तपाइँका अति दुखको बेला अरुले त्यतिमात्र भन्लान्, अनि सोच्नोस् तपाइँको दुख के तपाइँले हिरिक्क भएर सोचेजस्तै घनिभूत स्तरको हो त ? अब, तपाइँले बुझ्नु होला, तपाइँका दुख खास होइनन् सबैले भोग्ने खालकै हुन्, अनि केको गनगन वा किन सम्झीसम्झी पिलपिल त ? त्यतिखेर निकै सरसल्लाह र नबिग्रने किसिमले काम गर्नुभएको छ भने आफूलाई ‘हरेक कुरामा सिक्दै रहेको र अझै परिमार्जन गर्ने बेला छ’ भन्दै प्रोत्साहित गर्नुहोस्, हरेक गल्ती असल काम गर्न सिकाउने गुरु पनि त हो नि ! उस्तै गल्ती पो गर्नुहुन्न, नयाँ काम गर्नै डराउने हो र ? यो उमेरमा पिरगर्ने र बिलौना गरेर बस्ने नगरौँ, चिन्ता र उन्मादबाट बचौँ, त्यसोभए अल्ज्हाईमर पनि अलि पर होला ! पश्चातापको भूँमरीमा गोता खाने होइन हरेक कामकाज बिचार गरेरै त्यतिखेर गरेकोमा दशकौँ पछि किन चुकचुक बरु गर्व गर्न सिक्नोस्, यसैमा हित छ ।

४. मनको चइनः हरेक आफ्ना कुरामा आफ्नै मौलिकता भएको स्विकार गर्नुहोस्, संसारभरिका मानिस एकै छाँटकाँट र बान्कीका छैनन्, जुम्ल्याहा पनि एकै गुणका नहुन सक्छन् । एकै प्रजातिका एकै वंशजमा पनि विविधता हुन्छ भन्ने कुरा प्रसिद्ध विकासवादी वैज्ञानिक र सिद्धान्तकारहरू पनि मान्छन् । सबै अग्लाको वंशजमा होचा मानिस जन्मन सक्छन्, सबै पूर्खा गोरा भएको लहरोमा गहुँगोरा वा काला पनि जन्मन सक्छन्, सबै होचा हुने परिवारमा अति अग्ला सन्तान पनि हुन सक्छन् । अचेल बुद्धि विकासमा त बृहत प्रकारका प्रभावलाई हेरिन्छ भने शारीरिक विकासमा त बाहिरीया प्रभाव हुन्छनै, यसैमा रुमल्लिनु के जरुरी हुन्छ र ?

विद्वानका सन्तान दरसन्तान मूर्ख वा निरक्षरी तथा अनपढका सन्तान विश्वप्रसिद्ध प्राज्ञ बन्न सक्छन्, वंशानुगत चरित्रबाहेक थुप्रै कुराले जीवहरूको उत्पत्ति हुने र गुण, दोषका विविधता पाइन्छ । त्यसैले आफ्नो र सकेसम्म बहुजन हितायमा लाग्ने मूलमन्त्रका साथ अघि बढेको मानिसले आफूभित्र सगबगाएका भावनालाई पूर्वाग्रह नराखीकन मनग्ये बिचार मन्थन गरेर क्रियाशिलता रहनैपर्छ । यस प्रक्रियाले अठोटेको काम गर्न र भन्न पाएकोमा मनको चइन त हुन्छनै, भित्रभित्रै चाहनाको बादल मडारिएको तर पुरा गर्न नसकेको उकुसमुकुस पट्टै हुनेछैन र व्यक्तिगत शान्ति भरिपूणर् हुनेछ । अरुले शारीरिक र मानसिक हिसाबले अक्षम भनि खिसिटिउरी गरिएका मानिसहरू आफ्नो अनुहार ऐनामा हेर्दा आफूलाई कुरुप भनि मुच्र्छा परेको कहिँ सुन्नु भएको छ ?

गड्यौला र खुम्रे कीराका पनि साथी-सङ्गाती हुन्छन् धेरैलाई मन नपर्ने झूसे बारुलोको पनि बैँसमा जोडी हुन्छ, गन्हाउने पतेराको पनि आफ्नै गुन छ, झ्याउँकिरी आफ्नै प्रिय साथीका ेलागि शक्ति खर्च गरेर अनवरत आवाज निकाली रहन्छ ! तपाइँका फुलेका कपाल र झरेका दाँतको के कुरा ? रौँ र दाँत नहुने प्राणीको पनि आफ्नै प्रकारको सम्मोहन र प्रेमलिला छ ! तपाइँ किन आफ्ना कमजोरी भनिएका गुणतिर टोलाउनु हुन्छ, बरु अरुले छरिदिएको छारोले ऐनामा धुलो परेको होला ? त्यो सफा गर्नोस्, घरीघरी आफ्नै अनुहार पखाली रहने होइन, बिहान मुख धोइसक्नु भयो त ! राम्रो नराम्रो सबै स्विकार गरी आनन्दले बाँच्ने कुरा प्रसिद्ध के.एम.काँठे लगायत अनुभवी पाका मान्छेका अभियन्ता यसै भन्छन्, देशदेशावरमा यसै विषयमा चर्चा छ । हामी नेपाली सबै कुरामा पश्चिमा र जान्नेसुन्नेका देखासिखी गर्न वस्ताज छौँ, हुतीले नभ्याए त नक्कल गर्छौ भने आफ्नै श्रद्धेय अग्रणी पुस्ताका सन्तान हामी अर्काको लागि महासमरमा त पछि परेनौँ, अहिले आफ्नै लागि पछि पर्ने कुरै भएन !

अन्त्यमा,
अहिलेको नवपूँजिवादको स्वार्थी समयमा असहाय हुनपुग्ने हरेक बाबुआमा तथा उमेरिएकाले आफ्नो हुँदो बेलैमा सोच्ने, आकस्मिक आवश्यक्ताको लागि जगेडा स्रोत राख्ने साथै आफैँलाई माया गर्न सिकौँ । आफन्तको अतिमायाको अतृप्त कुहिरोमा नपरौँ, त्यसले हाम्रै पाको उमेर विभत्स दिशामा लान पनि सक्छ, जुगजमाना अनुसार भनेर जोरीपारीको अगाडि मपाइँत्व देखाउनेका सन्तान श्रवणकुमार र ध्रुबभन्दा अर्कै रुपका आएको सबैले देखेका छन् । कतिपय ठाउँमा उमेरिएका मान्छेलाई अनकण्टार पहाडबाट खसाली दिने दासयुगका चिनियाँ जनताहरू जस्तोमात्र होइन नेपालका सहरबजारमा बेबारिसे लास र दिशाविहीन छोडिएका पाका उमेरका महिलापुरुष हिजोआज भेटिन थालेकाले बिचार पुुर्‍याउँ ।

स्वाबलम्बनको बाटोमा आफ्नो आँत बलियो पारेर भित्री बल झिकौँ, झिनामसिना समस्या हल गर्न अघि बढौँ, कसैले सिन्को बराबर मफतको सहयोग नगरे पनि आजका पाका मान्छेले हिजोको निर्जन र रुखासुखा ठाउँमा पसिना झारेर गुल्जार बस्ती तथा खेतिपातीका मैदान बनाएका हुन् । सिर्जनाका बलिष्ट आकाङ्क्षा तथा अनुभवका अपार धनराशी भएका पाका मान्छेले आफ्नै हितमा बुद्धि मसक्क लगाउँ, हामी बाँचुञ्जेल अझ सुखले बाँच्नेछौँ !

०००
साउन १, २०८१
चालिसे डाँडा, ललितपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
पाकाले बेलैमा सावधान होऔँ !

पाकाले बेलैमा सावधान होऔँ...

डा. मुकेशकुमार चालिसे
पाकाले हिँड्न नसक्नु नै सबथोक !

पाकाले हिँड्न नसक्नु नै...

डा. मुकेशकुमार चालिसे
पाकाप्रति परिवार, समाज र राज्यको दायित्व !

पाकाप्रति परिवार, समाज र...

डा. मुकेशकुमार चालिसे
पाका मान्छेमा पिनासका समस्या !

पाका मान्छेमा पिनासका समस्या...

डा. मुकेशकुमार चालिसे
उमेरिदा नातागतको पिर र सतर्कता !

उमेरिदा नातागतको पिर र...

डा. मुकेशकुमार चालिसे
पाकाले बेलैमा सावधान होऔँ !

पाकाले बेलैमा सावधान होऔँ...

डा. मुकेशकुमार चालिसे
पाकाले हिँड्न नसक्नु नै सबथोक !

पाकाले हिँड्न नसक्नु नै...

डा. मुकेशकुमार चालिसे
पाकाप्रति परिवार, समाज र राज्यको दायित्व !

पाकाप्रति परिवार, समाज र...

डा. मुकेशकुमार चालिसे
0
Would love your thoughts, please comment.x
()
x