साइबर अपराध सम्बन्धी सचेतना सामग्री

उमेरिँदा गर्नैपर्ने प्रमुख तीन कामहरू !

ओरालो लागेको शरीर र फुलिसकेको इच्छाहरूमा बैँसको तुजुक, अहम् र घमण्ड होइन उमेरअनुसार सकेको कुरा आफ्नै हितमा ध्यानराख्दा परनिर्भर नभई सुखपूर्वक बाँकी दिन बिताउन सकिन्छ ।

Nepal Telecom ad

डा. मुकेश चालिसे :

पाका मान्छेबारेमा सामाजिक र राजनीतिक हिसाबले हिजोआज पहुँच नपुगेका समुहजस्तो गरेर महिला, बालबालिका तथा ज्येष्ठ नागरिक भन्दै समाज कल्याणका क्षेत्रझैँ निकै चर्चाभएको सुनिन्छ । वास्तवमा देशभरिको साङ्गठानिक बिस्तार, संस्थागत संरचना तथा प्रसाशनिक पहुँचका पक्षमा हेर्ने हो भने तुलनात्मक हिसाबले महिला र बालबालिकाको हितमा बढिनै काम भएका छन् र उमेरिएका मानिसका लागि भत्ताको मिठीपापा बाहेक खासै काम भएका देखिँदैन । सङ्गठित सङ्घसंस्था, चलखेलका बगैँचा र सेवाप्रदायक समूह पाका मान्छे हितकारी भनि खोलिएका तथा चलाइएका राष्ट्रियरूपमा शाखासहितका भेटिन्न । उमेरिएकाले सजिलैसँग सहरका स्थानिय बाटोमा यात्रागर्दा सार्वजनिक सवारीसाधनले केही छुट गरे पनि अरु कसैले कुनै छुट दिएको थाहा छैन । किनमेल केन्द्र, अस्पताल र बगैँचा पाका मान्छे लक्षित कतै खोलिएको सानोतिनो भएपनि सरकारले एकिकृत योजनामा प्राथमिकता दिईएको देखिँदैन । सदावर्ते मासिक भत्ता पनि सक्षम उन्मुख देखिन्छ भने शारीरिक अक्षमलाई विभिन्न किसिमले सहयोगपुग्ने कुनै कार्यक्रम सतहमा जनताले अनुभव गर्न पाएका छैनन् । यस्तो अवस्थामा उमेरिएका पाका मान्छेले आफ्नो हितमा गर्नैपर्ने केही अग्रसरता लिएमा यस विषम परिस्थितिमा पनि अली सहज जीवन बाँच्न पाइएला भनि केही कुरा अघि सारौँ ।

१. खाना रोजौँः
खाना खानु हरेक जीवित प्राणीको प्रमुख जैविक काम मध्येमा सबैभन्दा महत्वपूणर् चरित्र हो । खाना खानु तथा अनुकुलको रस र पानी पिउनु शारीरिक प्रक्रियाको लागि सामान्यतया चाहिने कुरा हुन् । प्रकृतिमा रमेका सबै प्राणीले आफुअनुकुल बासस्थान रोज्छन् र त्यसैअनुसार खानपानको तरिका अङ्गिकार गरेकै पाइन्छ । मानिस प्रजाति आफ्नो विभिन्न नाफानोक्सान र फाइदाको हिसाबकिताबमा विभिन्न हावापानी भएका ठाउँमा छरिएर बसेकाले एकै प्रजातिभित्र मौसम र उब्जाउका कारण खानपानको विविधता पाइन्छ । हुन त, हिजोआज सञ्चार र यातायातको पउलले गर्दा संसारमा जाति, भाषा, संस्कृति, खानपान, रहनसहन, आदि कुरामा निकै मिसमास पनि भएको छ । उमेरदार र बलिया बाङ्गाले जेजस्तो गरेपनि अहिलेका पाका मान्छेले केही नकेही आफ्नो पालामा प्राकृतिक वातावरणमा हुर्किएकाले सम्बन्धित ठाउँअनुसारको खानपानमानै अडिनु स्वास्थ्यको लागि फाइदाजनक हुन्छ । पाचन प्रणाली र मस्तिष्क स्फूर्तिका बिचमा अन्योन्याश्रित सम्बन्ध हुनेहुनाले खानपानमा खेलाँची नगर्नु राम्रो हुन्छ ।

जैविक खानपानः
जैविक खानपानले पाचन प्रणालीको अवस्था तन्दुरुस्त बनाउन निकै मद्दत गर्दछ भने मस्तिष्कको क्रियाकलाप अप्रत्यक्ष बढाउन सघाउँछ । अनुसन्धानले देखाएको छ, मस्तिष्कको पाचन प्रणालीसँग एकै धुरीमा अवस्थित साझेदारीको सम्बन्ध रहेको हुन्छ । स्नायु प्रणाली र पाचन नलीलाई जैविक-रसायन सङ्केतमार्फत दुवै प्रणाली बिचमा घनिभूत सम्बन्ध हुन्छ, त्यसलाई आन्तरिक स्नायु प्रणाली भनिन्छ, यसले केन्द्रीय स्नायु प्रणालीसँग सम्पर्कमा हुन्छ जस्को कर्ताधर्ता त मस्तिष्कनै हो । मगज र पाचननली बिचको प्राथमिक स्तरको सूचना शरीरमा सबैभन्दा लामो र फैलिएको अस्पष्ट स्नायु (भेगस)बाट सङ्कलन भएको हुन्छ । मस्तिष्कले सेरोटोनिन, गामा अमिनोब्युटारिक अम्लको साथै मनचित्त नियन्त्रण गर्ने गुणभएका जैविक स्नायु प्रसारणका पदार्थहरू पाचन प्रणालीबाट पनि निष्कासन हुनेभएर पाचन नलीलाई समग्रमा दोस्रो मगज पनि भन्ने गरिन्छ । नब्बे प्रतिशत सेरोटोनिन वास्तवमा पाचन प्रणाली अन्तरगत बनेका हुने धेरै वैज्ञानिकहरूले अनुमान गरेका छन् ।

पाचन प्रणालीलाई असर गर्ने जेजस्तो कुरा हुन्छ त्यसैले मगजलाई असर गर्छ, अनि मगजको प्रतिक्रिया अनुरूप पेटको समस्या पनि बिरोधाभास देखा पर्दछ । मगजले विपरित हुन थालेको चाल पाउनासाथ जुध्ने वा पर भाग्ने भन्ने सतर्कताको सूचना पेटमा पठाउँछ, त्यसपछि पाचन प्रणाली समग्रमा स्नायु दिक्दारीझैँ पेट गडबडी सुरु हुन थाल्छ । यसैको कारणले पेट पोलेर आउने गडबडी, खाना विषाक्तता भएजस्तो हगौँमुतौँको स्थिति (कोहन्स रोग) वा अति कब्जियत भएर चिन्ताग्रस्त हुने तथा बिरामी उन्मादमा जाने हुन्छ । मगज र पेटको सम्बन्ध अर्को किसिमले पनि एकाम्य हुन्छ, उदाहरणकोलागि तपाईंलाई खाना पेटमा थुप्रिन लागेपछि पेटले मगजलाई खान रोक्नोस् भन्ने सूचना पठाउन मद्दत गर्छ, किनकी खान सुरु गरेको बिस मिनेटमै पाचन प्रणालीमा रहेका अति सुक्ष्मकिटाणुले प्रोटिन पैदा गर्छन् र भोक मेटिएको आभास गराउँछन् । यसले पेट भरिन लागेको र खाना खान पेट तृप्तभएको सूचना दोहोरै आदानप्रदान हुन्छ । यस्तो पेट र मगजको सम्बन्धमा जैविक खाना कहाँनेर लपक्क मिल्छ त ? कुनैकुनै अनुसन्धानले प्रष्ट्याएको छ, जैविक खानाले मानसिक चिन्तन तथा मस्तिष्क क्षमता सकारात्मक बनाउन मद्दत गर्छ साथै चिन्ता र उन्माद घटाउन सघाउँछ । उमेरिँदाको स्नायुविज्ञान भन्ने फ्रन्टमा प्रकाशित लेखमा अल्ज्हाईमरले पिडित मानिसलाई चार थरीका जैविक किटाणु भएका दुग्धपदार्थ सेवन गर्न दिँदा, नियमित सामान्य दुध पिउने त्यस्ता बिरामी पाकाभन्दा राम्ररी विविधता छुट्ट्याउन सक्ने देखिएको छ ।

भित्र्याँस पत्रिकामा छापिएको एक लघुअनुसन्धानमा भनिएको छ, दैनिक दुई पटक दही र जैविक खानपान चार हप्तासम्म गर्ने महिलाले नगर्ने भन्दा जस्तोसुकै डरलाग्दा चित्र तथा घटना भनेपनि शान्तपूर्वक बसेको पाइएको छ । एमआरआईको रिपोर्टले पनि दही खाने समुहमा आन्तरिक शरीरको सम्बेदनशिलता उत्पन्न गराउने प्रक्रियामा मगजमा आउने न्युनताजस्तै संवेदना पेटले पनि निस्काशन गर्न सक्तछ । जैविक खानाको ठ्याक्कै काम पाचन प्रणाली तथा मगजको सन्तुलन बिच के होला भन्न त अहिल्यै सकिन्न तर पनि जैविक खानाले मस्तिष्क र पाचन नलीको अवस्था स्वस्थराख्न भने सहयोगनै पुर्‍याइरहेकै देखिन्छ ।

जैविक खाना के हो त ?
यो खानाबारेमा धेरैलाई कुतुहलनै जागेको छ भने नराम्रो चाहिँ यसबारेमा नचाहिँदा अप्रमाणित कथा धेरै भनिएका छन् । यस्तो खानाले पचाउने काममा समस्या आएको रिपोर्टहरू प्रकाशित भएका छन् भने सबै प्रकारका दही जैविक खाना बराबरनै हो भन्ने पनि भनाइरहेको पाइन्छ । जैविक वस्तु भएका खाना महँगो र अप्राप्य छ भनेर सोच्न सक्नुहुन्छ । विज्ञानले दशकौँदेखि सरल भाषामा सम्झाउन नसक्दा जति वकालत गरेतापनि अझै यो कुरा अचम्भकै वस्तु ठानिएको छ । पाइएका सूचना सबै जम्मा गरी फाइदा गर्ने किटाणुभएका खानेकुरा बारेमा अध्ययनगरी परिक्षण गरेमा हानि गर्ने सुक्ष्मजीवाणु हुने खाद्य हटाउँदा असल काम गर्ने किटाणुले स्वास्थ बिगार विरुद्ध लडेर हामीलाई स्वस्थ रहन सघाउने बुझ्नु जरुरी छ । धेरैले धेरै तरिकाले जैविक खानाको वणर्न गरे तर हार्वाड मेडिकल स्कूलले निकालेको निर्देशिका अनुसार बब दिलेनको पुरानो गीतले भनेको ‘अलमललाई मिलाउँ, सच्च्याउँ’ भनेजस्तै निचोड निकाल्न सकिन्छ ।

अहिले सबैको चासो र चिन्ताको विषय शरीरको आन्तरिक प्रतिरक्षा प्रणालीको मजबुती तथा नोक्सानी गर्ने सुक्ष्मजीवाणु विरूद्ध लडने क्षमतामा केन्द्रीत छ । खराब वा असल जीवाणुहरू हामी देखेर, सुँघेर चालपाउन सक्दैनौँ, जैविक किटाणुलाई सहयोगी ठानेर साथ लिऔँ । सयौँ खान हुने सुक्ष्मजीवाणुलाईनै जैविक खानेकुरा भनिएको हो, यस्ले आन्तरिक प्रतिरक्षा प्रणाली बलियो बनाउँछ र ल्याक्टोबेसिलस (दुग्धपदार्थमा हुने, पात डाँठलाई गुन्द्रुक, सिन्की बनाउने) तथा बिफिडोसुक्ष्मजीवाणु (पाचन प्रणाली र गुलियो पदार्थमा हुने) असल जीवाणु दुई प्रकारका प्रमूख छन् । यस्ता असल जीवाणुले मांसपेशी बाउँडिने, झाडापखाला हुने पेटमा पसिसकेको विषालु कुरालाई तटस्थ बनाउने साथै दाँत खिइने र दुधका परिकार पचाउन मद्दत गर्छ । मानिसका पाचन प्रणालीमा रैथाने र बाहिरबाट गएकासमेत करोडौँ सुक्ष्मजीवाणुले बास गरेका हुन्छन् । हामीले जैविक खाना बढाउनाले खराब जीवाणुलाई परास्त गर्न तथा तिनको सङ्ख्यामा कटौतीभई असल बढेर सन्तुलन गराउन सकिन्छ ।

अमेरिकामा करोडौँ मानिसहरूलाई सङ्क्रमण गर्ने विषमज्वर (टाइफाइड) निकाल्ने साल्मोनेला जीवाणुको कारण दुखपाएका छन् तथा वार्षिक छब्बिस हजार बढि अस्पतालनै भर्ना हुन्छन भने चारसयभन्दा बढी मृत्युवरण गर्दछन् । खाद्य विषाक्तता -फुड प्वाईजनिङ) गराउने इकोली जीवाणुले प्रतिवर्ष दुई लाख भन्दा बढी अमेरिकी ग्रसित हुन्छन् र सयभन्दा बढि मर्छन । त्यतिमात्र होइन, टाउकोदेखि गोडाको औँला सम्म टन्कने, दुख्ने र सुन्निने गराउने साथै केही प्रकारका अबुर्दरोग र मुटुरोग उब्जाउने, चिन्ता गराउने, बिरामी तङ्ग्रिन ढिला गराउने पनि लुकुवा किटाणु छन् । ति सबैलाई तहलगाउने अहिले जडी खानामा जैविक खानानै पर्दछ भने यस खानाले मस्तिष्कर्‍हास तथा घटदो शारीरिक तौलसमेत नियन्त्रणगर्ने भनि हालै अनुसन्धानबाट प्रमाणित भएको छ । जैविक खानाका फाइदाहरू भन्ने किताबमा अमिलो दही र नपत्त्याइएका किम्ची र बन्दागोभीका परिकारको बणर्न पनि छ भने धेरै प्रतिशतमा भिटामिनसाथै खनिज पदार्थ पाइने फलफुल तथा सागपातले जैविक खानाको मात्रा बढाउने जानकारी दिइएको छ । त्यस सङ्कलनको (२०२२) निर्देशिकालाई हार्वाड प्रकाशनले ब्रिघामका सरुवारोग अस्पतालका डा. हावार्ड सेस्सोसँग सम्पर्क गरेर तयार पारिएकाले पाका मान्छेको स्वास्थस्थितिलाई ध्यानदिएर सबैको लागि जानकारी प्रेषित गरिएकोमा विश्वस्त हुन सकिन्छ । पाकेको काँक्रोबाट बनाएको थोरै दिनको खल्पी अचार, भटमासको मिसो, आदि असल किटाणु नमर्दै खाने हो भने खमिर बनाउने प्रक्रिया उपयोग गरिएका खाद्यमा जैविक मात्रा भएर सेवनले फाइदा पुग्छ । रेसाजन्य खानेकुरा, खाद्य दाना पुरै भएका जौ र गहुँका परिकार, कुरिलो, गाजर, प्याज, लसुन, सुठ्ठानी, मकै, दाल, केराउ आदि पनि यस्ता जैविक वस्तु बढी हुने खाद्य हुन् । चिनीजन्य वस्तु र प्रशोधित चिल्लो कम खानाले असल किटाणुलाई पाचन नलीमा कायमराख्न मद्दत पुग्छ ।

२. जागरुक होऔँः
आफैँ जागरुक हुनुको फाइदा आफैँलाई हो, उमेरिँदा मानसिक र शारीरिक सबै किसिमले मानिस वयस्क वा बैँसमाजस्तो हान्ने मार्ने बर्कत नहुने हुन्छ । उमेरिँदा युवाजन्य धक कम भएर होला साथै लामो अनुभव र व्यक्तिगत फलित ज्ञानका आधारमा मानिस स्पष्ट, मनमा कुरा नराखी बोल्ने स्वभावका धेरै हुन्छन् । उमेर ढल्कँदा आफ्नो पुरानो पदप्रतिष्ठा होइन अहिले समाज र परिवारमा कायमभएको हैसियत विचारेर मात्र बोल्नु पर्दछ । अरुले पनि पाका मान्छेको पुरानो कुराको आदर गर्दै अहिले गर्नसक्ने कामको आशागर्दै ‘पचासौँ भोटो फटाएकोले’ सक्ने अतिरञ्जित आङ्कलन गर्नुहुन्न । ‘बोलिचाली राम्रै छ, आँट अझै कायम छ र बेलाबेला अह्रनखटन गर्न खोज्छन्’ भन्ने नाममा उहाँहरूको हुतीले नसक्ने काम पनि गरेनन् भनि अर्घेलो बनाउनु कवै हुन्न । उमेर पुगेपछि आफुले नसकेपनि अरु आफन्तलाई आँट भरोसाको लागि पाका मान्छेले प्रोत्साहित गर्न चुप नबसेर बाचाल भएका हुन भन्ने बुझ्नु पर्छ र काम अह्राउने दुष्टता गरिनु हुन्न । पाका बिज्ञ के.एम.काँठे भन्छन्, उहाँहरूको भित्री कुरा थाहा पाउन त बढी हिमचिम र देखिने दयाले सहयोग गरेर उधिन्न सकिन्छ, हाँस्दैमा वा रुँदैमा स्वभावको गहिराईमा पुग्न जो कोहिले सक्तैन ।

पाका मान्छे आफैँ तरोताजा बनिरहँदा मात्र जीवन सुखमय हुन्छ, अर्काको बढी निर्भरता हुने स्वभाव बनाउनु हुन्न, यो उमेरमा भावनात्मक बौद्धिकता भनेकै आफुलाई सधैँ समयानुकूल जिउने बनाउनु हो । उमेरिँदा झिक्ने भनेको शारीरिक उत्तेजना होइन भावनात्मक बौद्धिकता हो, यसले अरुसँगको सम्पर्कलाई बलियो तथा प्रगाढ बनाउन मद्दत भई नपत्त्याइँदो र अचम्मको सम्बन्ध विकसित गर्न मद्दत पुर्‍याउँछ । हार्वाड मेडिकल स्कूलले निकालेको निर्देशिकामा पाका मान्छेले छोडनुपर्ने व्यहोरा र बढाउनुपर्ने बानीबारेमा उमेरअनुसारको भावनात्मक बौद्धिकताको उदाहरणसहित व्याख्या गरिएको छ । कुनै कुराको व्यवहारिक अर्जुनदृष्टि कता साँध्ने भन्ने बाकपटुताले निर्णय गर्ने हो, लामो समय छ्यानबिछ्यान छुट्ट्याउँदै निणर्य गरिनु उमेरिँदा ढिलो हुनजान्छ । यदि मननै आफुले बोलेको र गरेको आग्रहमा चिन्तित हुने वातावरण बन्नजान्छ भने निम्न अभ्यासले बाँकी जीवन सुखमय बनाउनु पर्छ । यस्तो अभ्यासले शारीरिक संवेदनशीलता बढाउँदै भावनात्मक हिसाबले अझ बढी बुद्धियुक्त बनाउन सघाउँछ र शरीरका सबै अङ्ग क्रियाशिल भई तपाईंले अनुभूत गर्ने सकारात्मक कुरा बढाउन साथै नकारात्मक पक्षहरू आफैँ समनगर्न सम्भव हुन्छ ।

१) आराम हुने किसिमले बस्नुहोस् र आँखा चिम्लनु होस्,
२) आफुले गल्तीगर्न खोजेका वा भएका सामान्य समस्यालाई मनमा ल्याउनुहोस् तर हुण्डरिचल्ने कुरा नसम्झनु होस्,
३) सम्झेका घटना वा अहिले दुखाई भएका अङ्गहरूलाई मात्र केन्द्रीत गर्नोस्,
४) दुखेको ठाउँमा आफ्नो एउटा हातको हत्केला निकै हेरविचार गर्ने आमाले सुम्सुम्याएझैँ राख्नुहोस् र
५) यस प्रक्रियालाई दोहोर्‍याउनु होस् तर मनमा डर, रिस, आनन्द र अरु खालका भावना सम्झँदै गर्नु भए आरामीको फल चाँडै पाउनु हुनेछ ।

यस्ता संवेदनशीलताका गतिविधिले तपाईंमा आउनसक्ने समस्या तथा नकारात्मक कुरालाई अग्रिम सङ्केतको रूपमा केही नकेही झझल्को दिनेछन् र बेलैमा समाधानका उपाय गर्न सक्नुहुन्छ । गाउँघरतिर अझै पनि पाकी महिलाहरू छाती चर्केमा दुध चुसाएका सन्तान कोही नकोही बिरामी भएको वा आपदमा रहेको अनुमान गरेर खवर गर्न हतारिन्छन् । आफैँ संयमित हुने उपरोक्त क्रियाकलापले तपाईंमा झट्टै हाजिरी जवाफमाझैँ नबोली मस्तिष्कले मन्थन गरेर बोल्ने बानी लाग्नेछ र उमेरिँदा पाका मान्छे ‘सबैका प्यारा’ हुन सक्ने छन् । अर्को गजबको तरिका चाहिँ दैनिक आफुले अरुसँग गरे, भनेका कुरा र मनमा उठेका भावना दैनिकीको रूपमा लेख्ने, लगत राख्ने र चिन्तन मनन गर्ने हुन्छ । यस्ताकुरा अति विश्वासिलो साथीलाई, मनले खाएका इष्टमित्रलाई र उपचारगर्ने स्वास्थकर्मीलाई भन्न सकिन्छ ।

३. सक्रिय रहौँः
उमेरिएका सेवानिवृत्त वा बुढेसकाल लागेका पाका मान्छे ‘दिएको खाने-लाउने, छुट्ट्याइदिएको ठाउँमा पसारिने हो’ नभनौँ बरू जति सकिन्छ सक्रियरहने कोशिस गरौँ । हो, धेरै दौडधुप नगरे पनि घरायसी काममा अडको नथापी सुधिगाई जसरी काममा साथ दिऔँ र आफु जिउँदो रहेको प्रमाणित गरिरहौँ । घरायसी कामबाहेक लेखपढमा इच्छा भए त्यस्ता काममा समय बिताउन सकिन्छ वा कुनै सिप भए थोरबहुत त्यसमा अझैलाग्न सकिन्छ । सभा-समारोहमा भागलिन मनलाग्नेले त्यस्ता आयोजनमा सरिक हुने जाँगर देखाउन सकिन्छ । केही अन्य काम वा गतिविधिमा रस नभएकाले आफ्नो स्वास्थ अनुकुल दैनिक लखरलखर हिँडने गरेमा कम्तीमा सक्रिय भएकाले उमेरिँदा शरीरमा आइलाग्ने बुढ्यौली रोगहरूलाई प्रवेश निषेध वा घटाउन मद्दत पुग्दछ भन्ने ठम्म्याई हार्वाड मेडिकल स्कूल तथा पाका मान्छेका विज्ञ के. एम. काँठेको रहेको छ ।

हिँडाइका फाइदाः
अमेरिकी रोगव्याध नियन्त्रण तथा रोकथाम केन्द्रका पूर्व निर्देशक डा. थोमस फ्राईडेन अनुसार हिँडाई ‘मानिसको सबैभन्दा नजिकको अचम्भको ओखती हो’ । यसलाई दीर्घरोगी बिरामीले पनि आँट गरेमा नियमित जचाउने चिकित्सकले ‘कस्तो अचम्भले तपाइँलाई सकारात्मक प्रभाव देखिएको छ’ भनि हौसला दिनेछन् । नियमित हिँडाइले शरीरको तौल कम हुने, कोलेस्टेरोल र उच्च रक्तचाप घट्ने, मुटुरोग, मधुमेह, अबुर्दरोगका खतरा घटाउने र संस्मरण शक्ति बढाउने काम गर्छ । हिँडाइका मोटामोटीका फाइदालाई हार्वाड मेडिकल स्कूलका बिशेष लेखअनुसार निम्नलिखित तरिकाले प्रष्ट्याउन सकिन्छ ।

१) मोटोपना विरूद्धः
हार्वाडका अनुन्धाताहरूले बाह्र हजार मानिसहरूमा पाको उमेरमा दुःखदिने ३२ वटा मोटोपन बढाउने वंशाणुहरूको अध्ययन गरेर हरेक वंशाणुले तौल बढाउन के कति सहभागिता राख्छन् भन्ने खोज गरेका छन् । दैनिक एक घण्टा लम्केर हिँड्ने मानिसमा ती सबै वंशाणुको प्रभाव नहिँड्नेको तुलनामा आधा घटेको निर्क्याैल पाएका छन् ।

२) गुलियो काढ्नेः
एक्सटर विश्वविद्यालयको केही अध्ययनले १५ मिनेट मात्र पनि दैनिक हिँड्नाले तपाईंले खाएका गुलिया पदार्थ वा चामलको नकारात्मक प्रभावलाई घटाउने पाइएको छ । पछिल्लो अध्ययनले त विविध गुलिया वस्तु र चिनीजन्य पदार्थ शरीरभित्र प्रवेश गराउने खाद्यको नकारात्मक चिन्तापूणर् प्रभावलाई काढन हिँडाइनै सफल व्यायाम हो ।

३) स्तन अवुर्दरोग रोकथामः
विविध कारणले विकसित हुने स्तनको अबुर्दरोगले धेरै सङ्ख्यामा पाका महिलाहरू आक्रान्त भएका हुन्छन् । कुनै पनि प्रकारका शारीरिक गतिविधिले स्तन अबुर्द रोगको खतरालाई भुत्त्याउन तथा ढिला गराउन सक्छ भन्ने वैज्ञानिक अनुसन्धानबाट थाह पाइ सकिएको छ । अमेरिकी अबुर्द रोग समाजको अध्ययनले हप्ताकाे सात घण्टा वा बढी हिँड्ने पाका महिलामा अबुर्दरोगको सम्भावना नहिँडने वा कम हिँडने महिलाभन्दा १४ प्रतिशतले कम हुने गर्छ । रोग लागिसकेका पाका महिला पनि हिँडाइको कारणले सुरक्षा घेरामा पुग्ने र बढी तौल वा सम्पुरक ओखती र जैविक रसायन थप्नुपर्ने अवस्थामा सुधार आउने देखिएको छ ।

४) जोर्नीको दुखाइ कमः
धेरै वैज्ञानिक अध्ययनले हप्ताको पाँच छ माइल हिँडने मानिसलाई बाथजन्य रोगका कारणले हुने दुखाइमा कमी हुन्छ भने प्राथमिक स्तरको बाथ त निको हुनसक्छ । हिँडाइले विशेष गरेर हाड खिइने प्रमुख अङ्ग गोडा तथा कम्मरको जोर्नीहरू चलायमान बनाइदिने र तिनलाई सहयोगगर्ने माँसपेशीहरू बलियो बनाइ जोर्नीको दुखाइ घटाउने र हटाउने काम गर्छ ।

५) आन्तरिक प्रतिरोधको बृद्धिः
हिँडाइकै कारणले चिसो लाग्ने र रुघालाग्ने मौसममा पनि आफुलाई बचाउन सकिन्छ । एक हजारभन्दा बढी महिला र पुरुषमा गरिएको अनुसन्धानले हफ्ताको पाँच दिन कम्तीमा बिस मिनेटभन्दा बढी प्रतिदिन हिँडनेलाई एकदिन बेस्सरी व्यायाम गर्ने वा नगर्नेभन्दा ४३ प्रतिशत कम बिरामी दिन भएको पाइएको छ । नियमित हिँडाइ गर्ने मानिसमा रोगनै लागेपनि अल्प अवधिको हुने र लक्षणहरू पनि सामान्य नरम खालको देखिने निर्क्याैल भएको छ ।

हार्वाड मेडिकल स्कूलको विशेष आलेख स्वास्थको लागि हिँडाइका लेखक माथ्यु सोलन अर्न्तराष्ट्रिय स्तरका स्वास्थ समस्याका लेखक हुन र यस लेखलाई डा. हावार्ड लिवाईनले समीक्षासहित प्रकाशित गरेकाले पाका उमेरिएका मान्छेका लागि सिक्नलायक सामग्री भन्न सकिन्छ । ख्यातिप्राप्त पाका मान्छे विज्ञ के.एम.काँठे जोडदिँदै भन्छन् केही नगरे पनि उपरोक्त तिन काम पाकाले नियमित कार्यकोरूपमा गरेमा उमेरिँदाको अवस्थामा सुखपूर्वक बाँच्न सकिन्छ ।

अन्त्यमा
पाका मान्छे जति उमेरिँदै जान्छन् त्यति स्वआकर्षण र चिन्तनमा रहनु पर्छ, नचाहिँदो तृष्णा र परिवारको अतिमायामा हिरिक्क हुने होइन । ओरालो लागेको शरीर र फुलिसकेको इच्छाहरूमा बैँसको तुजुक, अहम् र घमण्ड होइन उमेरअनुसार सकेको कुरा आफ्नै हितमा ध्यानराख्दा परनिर्भर नभई सुखपूर्वक बाँकी दिन बिताउन सकिन्छ । चिन्ता, गनगन, एकै ठाउँ गुँडिल्किने बानी, हिँडडुलमा अल्छीमान्ने स्वभाव तथा हरेक कुरामा अरुले गर्लान् भन्ने आशे बानी भएमा ओच्छ्यानमै टाँसिएर अन्त्य हुन सक्छ । जति बाँचिन्छ सन्तोष र अनन्दले बाँचिन्छ, त्यसका लागि उचित खानपान रोजाइ, सक्रियता र भित्री बल उजागर गरौँ, नेपाली पाका मान्छे हाड घोटेर कति काम फत्ते गर्नेले यतिजाबो तिनखम्बे सुत्र त चुड्कीका भरमा सक्ने विश्वास लाग्छ ।

०००
चालिसे डाँडा, ललितपुर
साउन १०, २०८१

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
पाका मान्छेमा अलमल !

पाका मान्छेमा अलमल !

डा. मुकेशकुमार चालिसे
हामी हेपिने मान्छे हो र ?

हामी हेपिने मान्छे हो...

डा. मुकेशकुमार चालिसे
बृध्दभत्ता– पहेँला अक्षता कि पिण्ड हो ?

बृध्दभत्ता– पहेँला अक्षता कि...

डा. मुकेशकुमार चालिसे
कसरी पाटी बन्दैछन् घरहरू… ?

कसरी पाटी बन्दैछन् घरहरू…...

डा. मुकेशकुमार चालिसे
हामीलाई एकै नापो काम लाग्दैन है !

हामीलाई एकै नापो काम...

डा. मुकेशकुमार चालिसे
हामीलाई बेवास्ता गरे विकास हुन्छ र ?

हामीलाई बेवास्ता गरे विकास...

डा. मुकेशकुमार चालिसे
0
Would love your thoughts, please comment.x
()
x