डा. मुकेशकुमार चालिसेउमेरिँदा गर्नैपर्ने केही जुक्तिहरू !
ज्ञान बाँढेर फैलिन्छ, लुकाएमा हराउँदैजाने कुरा उमेर खाएका पाकाहरूलाई थाह छ, फगत युवा जोश बुझेर एक कदम पछाडी सरी युवायुवतीलाई लयालु, हँसिलो व्यवहार प्रयोग गरिने खाँचो छ ।
डा. मुकेश चालिसे :
अचेल पाका मान्छेका कुरा सबैतिर बिक्न लागेका छन्, सञ्चार माध्यमले त अरु खास विषय नपाएमा पाका मान्छेका बारेमा कुनै नकुनै धारणा, समाचार, लेख र श्रव्यदृश्यमा कार्यक्रम पनि चलाएकै हुन्छन् । एजिङ नेपालका थपना होइन क्रियाशिल अध्यक्ष, संयुक्त राष्ट्र सङ्घले जनस्तरबाट पत्त्याएका पाका मान्छेका वरिष्ठ अभियन्ता तथा नेपाली हास्यव्यङ्ग्यमा वर्तमानका सर्बचर्चित बरिष्ठ साहित्यकार चट्याङमास्टर, कृष्णमुरारी गौतमका सकारात्मक हस्तक्षेपले अहिले टिभी कार्यक्रम साथै एफएम रेडियोमा पाका मान्छेका कुरा हप्तामा एउटा भएपनि चलेका छन् । उहाँको त्यस्तै डेढ दशक अघिदेखिको हुटहुटीले सरकार नीतिनियम बनाउन र गैर्हसरकारी स्तरमा जिल्लाजिल्लामा साहित्यमार्फत चेतनाको पूनर्ताजगीकालागि बुढ्यौली साहित्य समाज गठन भएका छन् । हेटौँडाबाट सुरुभएको यस्तो अभियानले अहिले दर्जन जिल्लामा आफ्नो सक्रियता विभिन्न पुरस्कार तथा सम्मानमात्र होइन प्रकाशनहरू मार्फत पनि जनतामा बिग्रँदै गएको हाम्रो नेपाली बरव्यवहारमा रमाउन थालेको र नक्कली, खियालाग्न सुरुगरेको समाजलाई तहलगाउन उपयुक्त तेल हाल्ने प्रयासले नतिजा देखाइरहेको पनि छ ।
अब उमेरिँदा पाका मान्छेले परिवार र आफन्तलाई मात्र हिरिक्क हुनेगरी माया तथा लोलोपोतो घसेर समय बिताउने होइन बहुजन हिताय र आफ्नैलागि पनि सोचेर सकृय हुनुपर्ने तत्वबोध अनुभव गरेको पाइन्छ । यस प्रसङ्गमा सञ्चार माध्यम र सामाजिक सञ्जालका रमाइला सन्दर्भ केहि हाम्रालागि पनि एक छिन हँसाउन र गम्भिर भई बिचार्न मज्जा आउँछ होला है ! भारतीय सञ्चारमा आएको ‘उमेरिँदा असल जीवन बिताउने नियमहरू’ भन्दै अशोककुमार पाण्डे विविध अवस्थामा गरिने कार्य र सोचाईबारे एक पङ्क्तिका आलेखबाट पाका मान्छेलाई सतर्क गराउन कम्मर कसेका छन् । नेपालको परिस्थितिमा नवधनाढ्य तथाकथित आधुनिक कामकाजी परिवारले आफुहरू बेफुर्सदीभएको भन्दै परमआदरणीय बाआमालाई वृद्ध आवासमा थन्क्याउने, गाउँका निम्न पूँजिवादी सोचभएका लोकलाज हराएकाले बाआमालाई नौलो हुने शहरतिर ओखती र तिर्थाटन भनि फकाउँदै लगेर बेवारिस छाडिदिने घटना व्यापक बन्न थालेकाले यस्ता उपाय हामीलाई काम लाग्न सक्छन् ।
१. सगोलमा नबस्नोस र बसेमा क्रियाकलापमा हस्तक्षेप नगर्नोस्ः
हो, केहि समय सगोलमा बसे पनि उनीहरू कमाइधमाई गर्ने र आफ्नो गुँड व्यवस्थित चलाउने भएपछि खाएजियो गर्न हक्स्याउँदै पाउने पैत्रिक सम्पत्ति हिसाबले नचुक्ने गरेर दिनुहोस् । यसले उनीहरू सामरथ भएको, आफ्नो मिहेनतमा योजना बनाउने स्वावलम्बी मानसिकता बनाउँदै क्रियाशिल हुनेछन् । तपाईंहरू पनि आफु सकृय हुने तथा दैनिक चियोचर्चोबाट हुने अनावश्यक श्रम र हस्तक्षेपकारी नभई स्वावलम्बनको दिशामा मसक्क लाग्नु हुनेछ । यसप्रकारको परिस्थितिले पाको उमेरमा मनको चइन त हुन्छनै साथै जन्मेदेखि हुर्काइएका आफ्ना छोराहरू पनि दुरीको कारणले धेरैजसो छोरीको सकारात्मक बयानझैँ अझै अदव र मायादया बाँकी रहेका हुनेछन्, दुवैथरी शारीरिक तथा मानसिक अशक्त हुँदा अर्कै कुरा ! संसारमा मान्छे र बगालमै रमाउने स्तनधारी बाहेक सबै प्राणी, चराचुरुङ्गी तथा बन्यजन्तुले हुर्केपछि आफ्ना बच्चालाई आफ्नो जीविकाको आफैँ बन्दोवस्तगर्न लगाउँछन् र सन्तानलाई जीवनभरी ह्याकुलोले पेलेर भएपनि मद्दत गरिरहँदैनन् । खै, ति नासिएर वा हैरानीमा परेका देखिँदैनन् त, बरू अझ विभिन्न परिस्थितिमा अनुकुलन भएर नयाँनयाँ अवस्थामा विकसित पो भएका छन् । विचार गरौँ, है, सधैँ थै थै गरेका बालबच्चा समाजमा कमजोर सावित हुन्छन् र गतिरोध खप्न अक्षम हुनसक्छन् ।
२. नातिनातिनाको पढाइलेखाइमा बाधा नदिनोस्ः
छोराछोरीका सन्तानको पढाइलेखाइमा उनीहरूका बाबुआमानै सामरथ र जिम्मेवार भएकाले तपाईंहरू किन झञ्झट बढाउनु हुन्छ ? नातिनातिनाको इच्छा र आकाङ्क्षा तपाईंको तेस्रो पुस्ता भएकाले निश्चयनै फरक होला अनि उनीहरूका बाबुआमा जिम्मेवार छँदैछन् तथा उनीहरूको घरबार हुनेबेलासम्म तपाईंहरू जीवितै रहनु होला र ? केको तृष्णा र लिप्सा हो ? फेरी तपाईंहरूको पालामा प्रमुख एक विषय रोजेर पढे हुन्थ्यो, खेलकुद र सङ्गित तर्फ काम नपाउने भन्थे, तेजिलो पढन जान्ने, ठिक्कै सक्ने र कमजोर भनेर उच्च शिक्षामा त्यस्तै विषय छान्थे, अहिले अवसरका अनेक रूपमा अनेक हाँगाबिँगा छन्, तपाईंहरू पत्तै पाउनु हुन्न । तेस्रो पुस्तासम्म हस्तक्षेपकारीको आङ्कलनमा पर्न के मज्जा ? नगरौँ त्यस्तो ! धेरै उमेरिँदा आफूमुनिका सन्तानबाट त टाढिनु फाइदाजनक छ भने तपाईंहरू तेस्रो पुस्तासम्म आफ्नो सुँड घुसार्नु थप अपजस र लाञ्छनाको शिकार हुने बाटो रोज्नु प्रत्युत्पादक हुन्छ है, बेलैमा सोच्नु होस् ।
३. बुहारी र जुवाइँलाई माया गर्नुहोस् नसके सहनुहोस्ः
घरमा आएका बुहारीहरू र जुवाइँहरूलाई माया गर्नुहोस् उनीहरूलाई तपाईंहरू आफ्नै आमाबाजस्तै फिर्ती मायागर्न सक्छन् । कुनैकुनै बुहारी र जुवाइँ ‘साँढे सात र अढैयाले ग्रसित’ भएझैँ दुर्मुखा, मुखाले, एकलकाँटे र अरिष्ट स्वभावका मुख बोल्दो नगर्ने हुनसक्छन्, तपाईंहरू उमेरिएर शारीरिकसाथै मानसिकरूपमा कमजोर हुँदा कहाँ पौँठेजोरी गर्न सक्नुहुन्छ र ? सोझै रहेछन् भने पनि उस्तै पर्दा उनीहरू ‘दिएको खाने लाउने, अर्काको चियोचर्चो यस्तो उमेरमा कति गरेको, कति मुख चिलाएको ? थपक्क भए नभएझैँ बस्नु नि !’ भन्ने ओठेजवाफ लगाए तपाईंहरूलाई मर्नु भएन र ? अहिले त भागी बिबाहगर्ने कति होलान अनि उनीहरूको प्रेमील सम्बन्धमा तपाईंहरू किन तगारो बन्न खोज्नु हुन्छ ? तपाईंहरूको टिका टिप्पणीले ‘तारै खसाल्ने मुनामदन कथाजस्तै प्रेमको उपमा दिइरहेका जोडी’को बिचमा अगुल्टो भई नदेखिनु राम्रो हुन्छ । कतिपय परिवारका आफन्त बोलीकुफतका कारण देखादेख, बोलचाल र आउजाउ बन्दभएका भेटिन्छन्, अनावश्यक दरिद्र वचनले अडबाङ्गो स्थिति नबनाई दिनोस । तपाईंहरूजस्तो पाका मान्छेले जहाँपायो त्यहीँ प्याच्च छुच्चोमुख गरेको सुहाउन्न पनि, विचार गरौँ ! फेरी ‘वचन वाण धनुषको बाणभन्दा धारिलो र पछिसम्म दुख्ने हुन्छ’ भन्ने उखानको मर्म पनि हेक्काराख्नु पर्छ, है ।
४. आफुलाई बुढेसकालको सावित नगर्नुहोस्ः
प्राय धेरै अनुभव र परिवारमा सबैभन्दा पाका भएकाले आफूहरू वरिष्ठ सदस्य भएको, अरु दाहोरो आङका र जुँगामुठे भई विवाह भइसकेका भएपनि केटाकेटीनै ठानेर अर्तिउपदेश गरि नरहनु होस् । कैयौँ विधिविधान र ठम्याई जमाना अनुसार फेरिएका छन्, आफ्नो पालाको अनुभव र सधैँ रेखदेख गर्नुपर्ने अबुझक्की नबन्नुहोस् । अतिमायालाई वयस्क भएका तपाईंहरूका छोराछोरी मायाको पनि अर्कोअर्थ लगाउने भइसके, अब उनीहरूलाई तपाईंहरूका हरेक सतर्कता आफु कमजोर नभएकाले वास्ता गरिरहनु नपर्ने स्तरमा बुझेका हुन्छन् । यस उमेरमा त्यसैले तपाईंहरू सकेसम्म कमबोल्ने वा उनीहरूकै आग्रहमा सल्लाहसुझाव मागेमा मात्र जानेको भन्ने गरेमा हितकारी सावित होइन्छ भन्ने बुझ्नोस् ।
परिवारका सदस्य तथा आफन्तहरूको बैँसालु तुजुकले ‘तपाईंहरूका माया र अर्तिउपदेश बुढ्यौलीले छोएको गनगन’ हुनेछन्, तथा ‘नियमित भनेको नमानेको अपमानले आत्मग्लानी’ भएर दुखीभई तपाईंहरू अरु नसके आफैँलाई उमेरिएकोमा पश्चाताप गर्न थाल्नु हुनेछ । पाका मान्छे खारिएको उमेरमा आफैँलाई अप्ठ्यारो पर्ने मनोबिज्ञान ननिम्त्याऔँ बरू ‘आफूलाई जे गरिएको थियो पहिले सोचचिारले गरीएको थियो, अब आफ्नो पालो सकिएर ज्ञान हस्तान्तरणगर्ने मात्र हो, कसैलाई बाध्य बनाउने उमेर छैन’ भनि चित्त बुझाउने बेला हो । विचार गर्नोस्, सकेमा अलग्गै बस्ने र स्वालम्वन अँगाल्ने उमेरमा सधैँ ‘भोटेकुकुर’ जस्तो संयुक्त परिवारमा नौलो देख्यो वा अनुभव गर्योकि टोलै थर्काउने गरेर कराउनुको साथै उफ्रिन थाल्ने होइन । त्यस्तो स्वभावले रहँदाबस्दा आफ्नो मान र इज्जत घटेको हुनेछ, अनि बिस्तारै ‘तपाईंहरूका कुरा सुन्न नपरेनी हुन्थ्यो’ भन्दै आफन्त टाढिने छन् अथवा ‘जिउँदो बोझ भएकाले कहिले घाट लैजान पाइएला’ भन्न बेर लाउने छैनन् । यस्तो परिस्थिति नबनाउन तपाईंहरू खुम्चिनै पर्छ र आफ्नो मनोबिज्ञान सकारात्मक राख्नैपर्छ, नत्र ‘चिताले लास सिद्ध्याउनुभन्दा आत्मग्लानीको चिन्ताले शरीर सिद्ध्याउन कम समय लाग्छ’ भन्ने बुझेर अनावश्यक पिरलो नगर्नोस, बरु दौँतरीसँग हाँसखेल बढाउनोस् ।
५. आफ्नो बेलाको झझल्कोमा नटाँसिनोस्ः
सधैँ पुरानो समय, आनिबानी र बरव्यवहारको झझल्को गरेर यस्तो हुनुपर्छ भनी अहिलेका वयस्कलाई झ्याँको झार्न कोसिश नगर्नोस्, उनीहरू केटाकेटी हुँदा भएका घटनाहरू नसम्झिन सक्छन् । तपाईंहरू अहिलेको हुर्काई र उनीहरूको स्वभाव बुझेरमात्र कुरा गर्ने सिप पहिल्याएर साँचिलो हुन सिक्नोस्, यसले तपाईंहरूलाई फाइदै हुनेछ बेफाइदा कवै हुन्न । तपाईंहरूको त्यो उत्साहित गर्ने बेलाको कुरा र व्यवहार अहिले काम लाग्दैन, पण्डित हुनु हिजोको मानक थियो अनि चिकित्सक र इन्जिनियर भयो, आजकाल त्यो पनि आकर्षण नभएर प्रविधिका अरु क्षेत्र रोजाइमा परेका हुन सक्छन् । आफ्नो बेलाको छ दशक अघिको ज्ञान र विशेषतामा अहिले टाँसिने बेला होइन किनभने अब तपाईंहरूको हैसियत शारीरिक र मानसिक अवस्थाले कसैलाई बाध्य बनाउन नसक्ने ठाउँमा छ तथा हावा बिपरित दिशामा चलेको पनि बुझ्न पछि नपर्नोस् ।
आफ्नो पारिवारीक र सामाजिक स्तर हेरेर मात्र निणर्य गरेर चाहिँदो मात्र सहयोग गर्न खोज्दा आफ्नो इज्जत जोगाउन सक्नुहुन्छ भन्ने गम्भिरतापूर्वक बुझ्नुहोस् । यसो भएमा तपाईंहरू अझै पनि मानिला र आदरणीय व्यक्ति भइरहन सक्नुहुन्छ र पाको उमेरमा मानसिक कष्ट नभोग्ने बन्न सक्नुहुन्छ । फेरी बितेको समय बारेका गुणगानले समय फर्कने होइन, उल्टो त्यस्तो नभोगेका अहिलेका मान्छेहरूलाई ‘म्याद खुस्केका कुरागर्ने गनगने उमेरिएका मान्छे’ भनेर कुरा काटने र पन्छिने गराउँछ, यस्तो अवस्था ल्याउनै हुन्न, पक्कै सोच्नु हुनेछ । विभिन्न तरिका र कारणले आफ्ना अग्रजलाई ‘यसो गरेको, उसो गरेको, अहिलेका त भुइँमा नभाँडा, कस्ता छाडा, लाज नभएका’ भन्ने प्रयाशनै नगर्नोस् अहिलेको सामाजिक अवस्थाले शिर्षासन गरेर अप्ठ्यारो भएको छ । घरको हुर्काई पहिलेदेखि नियन्त्रित र आफ्नै तालमा रमाएको भए ठिक छ नत्र त वर्तमानमा ‘पारिवारीक चिन्तनलाई प्रगतिको बाधक’ भन्ने सँस्कारले जित्न खोजिरहेछ । सामाजिक अलगावको अल्पसङ्ख्यकनै भएपनि यस्ता बिचार मानक बनेको अवस्थामा तपाईंहरू ‘उर्लँदो भेलमा प्रतिकारगरेर पारी पुगौँला’ भनि रहँदाखाँदाको इज्जत गुमाउने दुस्साहश नगरेकै फाइदा हुन्छ । अब, सुखपूर्वक बाँकी दिनहरू बिताउन तपाईंहरू पाको उमेरमा पहिलेको भन्दा चङ्ख र सिपालु हुनै पर्छ, बुझिराख्नोस्, है ।
६. आफ्नो रोगव्याध र कमाई बारे कुरा नगर्नोस्ः
आफ्नो रोगव्याध बारेमा सधैँ दोहोर्याएर भनि नरहनु होस्, एक पटक थाहा पाएपछि उनीहरूलाई केहि गर्न मनभए पुग्छ । सधैँ भन्दा र आफुलाई मात्र रोगलागेझैँ भनिरहँदा सुन्नेलाई झर्कोलाग्छ तथा त्यो दुःखलाई भनिरहँदा वास्तविक गम्भिरता गनगनमा गनिन थालेको हुन्छ । यस्तो परिस्थिति बनाउँदा तपाईंहरूको स्तर घटेर पाउन सकिने उपचारमा सहयोग होइन बरू बेवास्ता बढन सक्छ । एक पटक असाद्ध्य भयो भनेमात्र जानकारी दिनोस र सकेसम्म मनोवैज्ञानिकरूपले मन शान्त पारेर आरामगर्ने तथा निको पार्न प्रयत्नशील हुनुहोस् । सकेमा आफैँ जानेबुझेको अस्पतालमा वा चिकित्सकसँग आफुलाई दया गर्नेलाई साथ लिई परामर्शकोलागि जानुहोस् ।
यस्तो उमेरमा तपाईंको आर्जन वचत छैन भने अप्ठ्यारो पर्छ, त्यसैले कमाई गर्ने उमेरमा केही आन्तरिक वचत गरेको हुनुपर्छ, नगरेकालाई असजिलो हुन्छ । त्यसकोलागि कहीँ सेवागरेको थियो भने मासिक सञ्चयकोशजस्तै कम्तिमा दश प्रतिशत मासिक तलबबाट वचत गर्ने गरेको भए सेवानिवृत्त भएपछि राम्रो रकम हातपारी बिदा लिन पाइन्छ । अति माया गरेर सबै चलअचल सम्पत्ति सन्तानको नाउँमा गर्नेलाई अशक्त हुँदैजाँदा निकै गाहारो हुन्छ, भारतमा धेरै पाका मान्छे यस्तै परिस्थितिको शिकार भएको पाण्डेजीको भनाई छ र नेपालमा वृद्धाश्रमको शरणमा रहेकाहरूको अनुभव पनि त्यस्तै रहेको भनेका छन् । यस्तो सम्भावना सबैतिर रहेकाले बिकसित पूँजिबादी देशमा सरकारले रकम उपलब्ध गराउने र समाजवादी देशहरूमा परिवारले हेर्नसक्ने अवस्था नरहेकालाई सरकारले सबै प्रकारको सुविधा दिएर आफ्नै संरक्षणमा आवास बनाई राखिएको हुन्छ । आफुजस्तै अवस्थाका उमेरसमुहसँग बस्न पाएर पाका मान्छे निकै हाँसिखुसीकासाथ सकेको शारीरिक काम र अभ्यासमा जाँगरिला भएको पाइन्छन् । यस्तो परिस्थिति तपाईंहरू घर परिवारमा बनाउन सकेको प्रयत्नगरेमा वृद्धाश्रमको परित्यक्त जीवन बिताउन नपर्ने अवस्था आउन सक्छ, सोचौँ, प्रयास गरौँ !
७. ह्याकुलाले पेलेर सबैकाम गर्न नखोज्नोस्ः
तपाईंहरूको उमेरले छ दशक नाघेको र बेलामा गरिएका अत्यधिक धामाले शरीर छिनेको हुनसक्छ साथै मान्छेकै जीवन हो थोरै दिनको पनि हुनसक्छ । यस्तो कुरालाई मनन गर्दै सुविस्ताले सक्ने काम मात्रै गर्न अघि सर्नोस्, तपाईंहरूले नसघाए पनि काम हुन्छ भने तपाईंहरू अनावश्यक जोतिन जानु ठिक हुँदैन । विचार गर्नोस्, तपाईंहरू धेरै उमेरसम्म बाँच्ने प्रत्याभूति त नामुद चिकित्सकले पनि दिन सक्तैनन् भने केही दिनको पाहुनाको व्यवहार गर्दा घाटा पर्दैन है । स्वास्थ योजना बनाउनु होस् र चाहिने खर्चबर्चको व्यवस्था बेलैमा जोहोगर्न नबिर्सनोस्, चाहे छुट्टिभिन्नु गर्दा होस् वा चलसम्पत्ति बाँड्दा, यस्तो व्यवस्थाको तर्जुमा सबैको भागमा गर्नैपर्छ । जति उमेर बढ्दै जान्छ स्वास्थका समस्या बढदै गएको धेरै पाका मान्छेमा देखिएकोले औषधोपचारको खर्च सामान्य घरखर्चभन्दा अलग्गै राखिनु राम्रो हुन्छ । यसले सन्तानहरू बिचमा अशक्त अभिभावकहरूलाई कसले हेर्ने भन्ने विवादभएर लास परेपछि ‘कात्रो किन्नसमेत अघि नसरेको’ नेपालमा घटना सामान्य बन्न थालेको छ । पाको उमेरमा सिटामोल किन्न पनि अर्काको मुख ताक्नुपर्ने स्थितिले कम विक्षिप्तता ल्याउँछ र ?
शारीरिक कमजोरी र पारिवारिक स्तर बलिष्ट नभएको अवस्थामा आफ्नो क्रियाकलापमा सिमित हुनुपर्नेमा परिवारलाई सबै सुखदिने नाममा घरायसी काममा आफैँ जोतिनखोज्नु मुख्र्याइँ ठहरिने छ । बर्तमान अवस्थामा तपाईंहरूका कुरा अझै सुनिन्छन् भने सल्लाहकारको भूमिकामा रहनु फाइदाजनक हुनेछ । कुनै पनि दलमा सल्लाहकार नियमित, क्रियाशिल र कार्यान्वयनको हैसियत नभएका थन्क्याइएका वरिष्ठ मानिसजस्तै तपाईंहरू विभिन्न सल्लाह त दिन सक्नुहुन्छ नि । सक्रियता त दलमा कार्यकर्ताहरूको भएजस्तै घरमा कमाइधमाईगर्ने वयस्कहरूको हालिमुहाली चलेकोमा तपाईंहरू आफ्ना कुरा लागु भएमा खुसी हुन सक्नुहुन्छ भने लागु नभएमा ठुस्किन पाउनु हुन्न । यस्तो हैसियतमा रहेकाले चलाखी चाहिँ हर्ताकर्ताको आशय बुझेर अक्षम्य स्तरमा नभए तपाईंहरू उनीहरूका आशय अनुकूल सतर्क हुने उपायमात्र पेशगर्दा मान कायम राख्नु हुनेछ । आफ्नो अधिक श्रम खर्च नभई तपाईंहरू पनि आनन्दमा रम्नु हुनेछ भने उनीहरूबाट पनि नोक्सानी नहुने ‘रुगरुगे जाउलोले पेट नबिगार्ने खाना भनिए’ जस्तै लाभकारी व्यक्तित्वको स्तरमा मान पाइरहने सम्भावना रहन्छ । बढ्दो उमेर र कमजोर स्थितिमा तपाईंहरूको सक्रियता शरीर बिगार्ने होइन बरू स्वस्थरहन चाहिने शारीरिक र मानसिक अभ्यासमात्र हो भन्ने नबिर्सनोस् है ।
८. मरेपछि टण्टै साफ नभन्नोस्ः
कतिपय मानिसहरू अझ उमेरिएकाहरू मरेपछि आफूलाई के मतलब भनि रहिआएको बानीव्यहोरा छाडिन्न भनि जिद्दि गर्छन् र बालीमा नमिलेको घुन जस्तै अडबाङ्गे भएरै बाँच्न चाहान्छन् । यस्तो धारणा नितान्त व्यक्तिगत भएपनि कहिलेसम्म बाँचिएला र अन्त्य अवस्थासम्ममा कति अशक्त भएर कतिजनाको भरपर्नु पर्ला, कसैले जान्दैन । त्यसकारण जति उमेरियो उति झन नरम र मिलनसार अनि ‘आँखामा हालेनी कसैलाई नबिझाउने पाका मान्छेहरू’ बन्दैजानु उहाँहरूकै हितमा हुन्छ । बाँचुञ्जेल नगरे पनि मरेपछि त गुन सम्झिएर बखान भएमा कम्तिमा बाँचेकालाई उदाहरण र सन्तानप्रति समाजमा सकारात्मक प्रभाव कायम रहला ! प्रत्यक्ष कतिपयले जोरका फोर गर्न नसके पनि कमाउने भनेको मानिसले गुनबैगुननै हो र यस्ता कुरा तिन पुस्तासम्म चर्चामा रही पछि त मौखिक कथा बन्ने न हो ।
यस परिप्रेक्ष्यमा तपाईं पाकाहरूले आफ्ना सन्तान र इष्टमित्रकालागि समस्या हुने कामकार्वाही नगर्नु बेश, ‘एउटाले बिराउँछ शाखा पिराउँछ’ भन्ने उखानको गुह्य मर्म बुझ्नै पर्छ । समुदायलेनै सम्झिन लायक काम, स्वभाव र व्यवहार गर्नु उमेरिँदा झन आवश्यक हुन्छ भने अति उत्तेजित हुने, सामाजिक सञ्जालका अप्रमाणित कुरामा भरगर्ने, पक्ष प्रतिपक्षको नितान्त स्वार्थी कुरामा बहकिने गर्नुहुन्न । अझ तरल राजनीतिक व्यवस्था भएका ठाउँमा शान्त भएर बहुजन हितायको बिचारमा अडन छाडेर हुर्रिएर सञ्चारमा आएका कुरामा ठिक बेठिक नबुझी कुद्ने भनेको ‘कौवाले कान लग्यो भन्दा कान नसमातेर कौवा उडेको तिर दौडने’ लम्फु मान्छे जस्तो हुनु हो । किनकी तपाईंको बुताभित्र समाधान सहितको दृढ विचार छैन भने त्यसरी अनावश्यक कुरामा विश्वास गर्नु र उतर्सिनुले तपाईंहरूकै अल्पज्ञान तथा मानसिकरूपले कमजोर सावित गराउने छ ।
९. रमाउन सिक्नोस्ः
व्ययस्क हुँदा गमक्क परेर हिँड्ने, आफू अरुभन्दा अलग, विलक्षण ठान्ने, बोल्न पनि पैसानै तिर्नपर्ने जस्तो र फूर्तिफाइँ गर्नेभए तापनि उमरिँदा पाकाहरूले सकेसम्म सफा सुघ्घरसाथै नरम, सुमधुर बोलिवचन तथा हँसिलो रहनुपर्छ । भेटघाट हुने जो कोही र जुनसुकै उमेरसमुहका पनि फेरिफेरी भेटन पाइयोस् भन्ने इच्छागरुन तथा केही नकेही अनुभव सिक्ने लालसा राखुन् । बानी पार्नको लागि उराठिलो र रुखा मान्छेले बरु सञ्चारका हँस्यौली कार्यक्रम हेर्ने, सुन्ने साथै चिन्ता तथा निराशा घटाउने उपाय झिके हुन्छ । समान धारणा, आर्थिक स्थितिभएका र पुराना दौँतरीसँग सम्बन्ध विकसित गरी एकआपसमा भोगाई बिना धक साटफेरगर्न तथा खुलस्त कुरागरेर मन हलुङपार्न उपयुक्त सम्बन्ध हुनेछ । पाको उमेर सुरुभएको वा अतिपाको उमेर भएकोमा बिभिन्न कारण र निहुँ देखाएर ‘जहिल्यै पिलन्धरे र सुँक्कसुँक्कगर्ने झ्याउरो’ बन्ने होइन बरु हँसमुख र बाचाल हुने हो ।
उमेर खाएको गनगन वा ठसठस् लोकलाई सुनाउन छोड्नुहोस् र बजारमा किन्न पनि नपाइने त्यति राम्रो टल्किने रङ्ग प्रकृतिले दिएको छ, चाँदीजस्ता रौँ फुलेकोमा मक्ख पर्नुहोस् । चाउरिएका छाला त पाका मान्छेको उमेर जनाउने सुन्दर पहिचान हो, त्यो नागबेली जस्तो फुस्रा छाला पार्न बेलामा पक्कै लुँदा मासु शरीरमा भएका होलान भन्ने स्वत प्रचार हो । त्यसैले पाको हुनु गर्वको कुरा हो, कहाँ तपाईंहरू ‘अब ओरालो लागियो’ भनि निच मारेर खुइई काढेर बस्ने हो र ? तपाईंहरूका उमेर नपुग्दै कति खरानी भइसके, माटोमा मिलीसके गिन्ती गर्नोस् त, गनेर भ्याउन गाह्राे हुन्छ, अनि मक्ख नपरेर के गर्ने त ? अहिलेको तपाईंहरूको अवस्था भनेको आर्जित ज्ञान, अनुभव तथा भोगाइलाई आउँदो पुस्तालाई हस्तान्तरणगर्न उद्यत विगत र भविष्य जोडने फडके जस्तो हो । तपाईंहरूका हँसिलो अनुहारको नरम कुरा अहिले उमेर चढ्दै रहेकाहरूले अवस्य सुन्नेछन् साथै समाजको बिग्रँदो नैतिक स्तर र व्यक्तिवादको गलत प्रभाव हुर्रहुर्राउँदो खहरेजस्तो अस्थाई बेगलाई हटाई एकाम्य समतल भूमिमा भित्री घनिभूत भई सलल बग्ने नदीजस्तैमा समाज रूपान्तरण हुनेछ ।
अन्त्यमा,
पाका उमेरिएका मान्छेहरू सबैको प्रिय हुँदा विभिन्न कारणले उहाँहरूलाईनै फाइदा हुन्छ भने युवा वयस्कहरूमा अनुभव र ज्ञानको पुस्तान्तरणगर्न अनुकुल वातावरण तयार हुन्छ । पाका मान्छे ‘अनुभव छ दशकको छ, कति दुखगरेर आर्जन गरिएको’ भनि गम्केर नबसौँ भने उमेरदारहरू काम फत्ते नहुञ्जेल दोहोर्याइरहने पाकाको ठम्म्याइलाई ‘के सुन्नु बुढ्यौली गनगन ? सधैँ एउटै रटान’ भनि पन्छिन नखोजौँ । दुवै थरिले दुवै थरिलाई सहज हुने र समाजअनुकूल आर्जन गरेका सम्पूर्ण ज्ञानलाई आउँदो पुस्तालाई हस्तान्तरणगर्न लागि परौँ । ज्ञान बाँढेर फैलिन्छ, लुकाएमा हराउँदैजाने कुरा उमेर खाएका पाकाहरूलाई थाह छ, फगत युवा जोश बुझेर एक कदम पछाडी सरी युवायुवतीलाई लयालु, हँसिलो व्यवहार प्रयोग गरिने खाँचो छ । हाम्रै अंश, उस्तै जैविक प्रक्रियाले बनेका हाम्रा छोराछोरीलाई मायालु तरिकाले सम्झाउन अहिले पाका जानिहल्छन् भन्ने विश्वास छ है !
०००
चालिसे डाँडा, ललितपुर
साउन १७, २०८१




































स्वादिलेा र ग्यानवर्धक लाग्येा । जस हेास् ।