साइबर अपराध सम्बन्धी सचेतना सामग्री

को मूर्ख ?

मैले दुईटै आँखाको अपरेशन गरिसकेको छु । राम्ररी हेर्न सक्छु । कानले सुन्छु । बुढेसकालमा लाग्ने बिर्सने रोग अहिलेसम्म मलाई लागेको छैन ।

Nepal Telecom ad

नजरमान महर्जन :

पहिले मैले मेरो छोरालाई विदेश नपठाउँदा मेरा कतिपय साथीहरूले मलाई मूर्ख भन्थे । मेरो छोराको भविष्य बिगार्‍यो भन्थेँ । आज मसँग छोरा छ, बुहारी छ, नाति छ, मेरो श्रीमती हामी सबै सँगै छौँ । बिहान आ-आफ्नो समयमा खाना खाएर काममा जान्छन् । तर बेलुका हामी सधैँ सँगै बसेर खाना खान्छौँ । अफिसको कामले छोरा आउन ढिला हुने भयो भने खबर पठाउँछ । कहिँ अचानक पार्टी खान जानुपर्‍यो भने खाना नपकाउनु भनेर खबर गर्छ । कहिले छोरालाई मन परेको तरकारी छोराले ल्याउँछ । कहिले मलाई मन परेको तरकारी म ल्याउँछु । जसलाई मन परेको भए पनि सबैले मन पराउँछन ।

त्यतिबेला मलाई छोराको भविष्य बिगार्‍यो भनेर मूर्ख भन्ने साथीहरू अहिले मसँग मेरो परिवार साथमा देख्दा मलाई भाग्यमानी भन्छन । किनकी मेरा साथीहरूका छोराहरूको भविष्य सुधार्‍यो कि सुधारेन मलाई थाहा छैन । विदेश गएकाहरू घर फर्केन । आमा बुबालाई यहाँका सम्पत्ति बेचेर विदेशमा बस्न आऊ भन्छ रे । पहिले ६ महिनाको लागि भनेर छोरा बुहारी भेट्न विदेश गएकाहरू कैद खानामा बस्नु जस्तो भयो भनेर ३ महिनामा फर्केर आए । ३ महिनामै विदेशदेखि वाक्क दिक्क भएर फर्के । कुन बेला छोरा बुहारी घर आउँछन, कुन बेला बाहिर जान्छन् थाहा हुँदैन । उनीहरू सुतिसकेपछि आउँछ रे, उठ्नु भन्दा अगाडि गइसक्छ । खाना त हटकेश, ओभन र फ्रिजबाट झिकेर खानुपर्छ रे । यहाँजस्तो भात पाक्नासाथ कहिल्यै खान पाएन रे ।

छोराको भविष्यको लागि आनाको ४ लाखमा एक रोपनी जग्गा बेचेर विदेश पठाएको । अहिले त्यही जग्गाको मोल आनाको २५ लाख पुगिसकेछ । के उसको छोराले ४ करोड रुपैयाँ कमायो होला त ? यदि कमाएको भए पुर्खौली सम्पत्ति बेच्न किन भन्थे । यो सोच्नु पर्ने कुरा हो । मेरो बुबा बाजेले जगेर्ना गरेको घर जग्गा अहिलेसम्म सुरक्षित छ । त्यतिबेला मैले पनि मेरो छोरालाई खेत बेचेर पठाएको भए ! आज त्यो एक रोपनी जग्गाको ३ करोड पुगिसक्यो । त्यस्तो जग्गा त मसँग अहिले पनि ४ रोपनी छ । मेरो छोरा विदेश नगएर के भयो ? अहिले नै ऊ करोडपति भइसक्यो ।

मेरो साथीहरू बिरामी हुँदा अस्पताल लैजाने कोही छैन । टोल छिमेक आफन्तको सहारा लिनुपर्छ । मानसिक तनावले झन् झन् सुक्दै गइरहेका छन् । मैले अलिकति मात्र ठूलो स्वरले खोक्दा छोरा उठेर आउँछ । अस्पताल जाउँ कि भनेर सोध्छ । बुहारीले तातो पानी तताएर ल्याईदिन्छ । म ननिदाएसम्म उनीहरू सुत्न जाँदैन । म चिनी रोगको रोगी डाक्टरको सल्लाह अनुसार खाना खानु अघि मैले औषधी खानुपर्छ । खाना पस्कनु अघि बुहारीले औषधी खानुस् भन्न आउँछिन । मैले औषधी नखाएसम्म भात पस्किँदैन यसरी मेरो औषधी खान कहिल्यै टुट्दैन ।

यस्तो गर्मीको समयमा पनि बुहारी र श्रीमतीले दिउँसो रोटी पकाएर ख्वाउँछन । सधैँ रोटी खान मन लाग्दैन होला भनेर कहिले दूध पाउरोटी, कहिले चिउरा तरकारी ख्वाउँछ । अहिले म काममा निरन्तर खट्न सक्नुमा मेरो परिवारको मायाले गर्दा हो । हिँडिरहनु पर्ने मेरो काम हो । एकदिन म १६ हजार पाइला चलेर थाकेर घरमा आराम गरिरहेको बेला मेरो छोराले कोठामा आएर सोधेछ, “बालाई सञ्चो छैन कि के हो ?”
“होइन, मलाई केही भएको छैन । आज धेरै हिँडेर थाकेर आराम गरिरहेको ।” मैले भनेँ ।

छोराले मेरो मोबाईल लिएर पेशर भन्ने एप्स खोलेर हेरेछ । जुन उसले नै मेरो मोबाईलमा डाउनलोड गरेर राखिदिएको थियो । पेशरमा १६ हजार पाइला देखेपछि, “बा, हिँड्न सक्छु भनेर यति धेरै हिँड्नु हुँदैन । अब उमेरको पनि ख्याल गर्नुस् ।” छोराले भन्यो ।
“नगएर के गर्ने, समाचार सङ्कलन गर्न बोलाएको ठाउँमा जानै पर्‍यो ।” मैले भनेँ ।
“मोटरसाईकल चलाउने गर्नुस् ।”
“अब म मोटरसाईकल चलाउन सक्दिनँ । मोटरसाईकल थाम्न गाह्रो छ ।” मैले भनेँ ।
“उसो भए एउटा स्कुटी लिनुपर्‍यो । हलुका पनि छ, साइकल चलाउनु भन्दा पनि सजिलो छ ।” छोराले भन्यो ।
म चुप लागेँ । एक हप्तापछि मलाई टिभिएस स्कुटी किनेर ल्याइदियो । हो रहेछ । गियर चेन्ज गर्नु नपर्ने, अहिले म अतिआवश्यक परेमा त्यही स्कुटी चढ्ने गरेको छु ।

मेरो नाति अस्ति म्यानेजमेन्ट सङ्कायबाट १२ कक्षा पास भयो । उसलाई पनि अब विदेश पढ्न पठाउने कि भनेर सोध्यो । ऊ मेरो नाति हो । उसलाई जे गर्नुपर्छ उसको बाबुले निणर्य गर्छ भनेँ । तर मेरो नाति पनि विदेश जाने पक्षमा छैन । यहिँ कलेजमा पढ्ने । सरकारी जागिर खान नपाए आफ्नै व्यापार गर्ने भनेका छन । मातृभूमिलाई माया गर्न मैले सिकाएको संस्कारको पालना गर्दैछ । म खुशी छु ।

अहिले म स्वस्थ छु । मलाई चिनी रोग बाहेक अरु केही रोग छैन । प्रेशर छैन, ग्यास्ट्रिक छैन, कोल्डस्टोर भन्छ कि के भन्छ त्यो पनि छैन । मैले दुईटै आँखाको अपरेशन गरिसकेको छु । राम्ररी हेर्न सक्छु । कानले सुन्छु । बुढेसकालमा लाग्ने बिर्सने रोग अहिलेसम्म मलाई लागेको छैन ।
अब भन्नुस म मूर्ख छु कि सन्तानलाई विदेश पठाउने साथी मूर्ख ?

०००
कीर्तिपुर ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x