साइबर अपराध सम्बन्धी सचेतना सामग्री

उमेरिएकालाई मौसम परिवर्तनले पार्ने सकस !

विदेशीले हाम्रो स्वार्थमा गरिएका अनुसन्धानमा हामीले राम्रो भन्नुअघि धैर्यकासाथ हामी अनुकुल र नेपाल वास्ना आउँछ कि आउँदैन परख गरौँ ।

Nepal Telecom ad

डा. मुकेश चालिसे :

सबै जीवजन्तु र वनस्पतिमा मौसमले प्रभाव पारेकै हुन्छ भने यसैअनुसार फरक चरन, चलखेलका क्षेत्र, आहारामा विविधता साथै सङ्ख्यात्मक बृद्धिहुने जस्तै पालुवा लाग्ने, फूलफुल्ने, फललाग्ने र पात पलाउने भएको हुन्छ । मानिस प्रजातिमा मौसमले विभिन्न अनुकुलता र प्रतिकुलता निम्त्याएको पाइन्छ । विशेष गरेर बालबालिका र पाका मान्छेहरूमा कठोर मौसमको असर मात्रात्मक तथा गुणात्मक हिसावले नकारात्मकतानै बढि देखिन्छ । वर्षभरिमा बढिमा छ ऋतु वा गर्मी, वर्षात, जाडो सबैलाई मोटामोटी कष्टकर भए पनि शरद, हेमन्त र बसन्तको बेला अनुकुलननै मानिन्छन् । नेपाल जस्तो देशमा यस किसिमको अवस्था भूमध्य रेखाबाट २३ डिग्रीभन्दा टाढा उत्तरतिर हुनु र धरातलिय उचाइमा समुद्रको सतहबाट करिब ६० मिटर देखि सर्वाेच्च शिखर सगरमाथा सहितको हिमालयले उत्तरी नकारात्मक वायु छेकिने भएकोेले हो । विश्वव्यापी जलवायु परिवर्तनको चपेटामा सानो भएपनि समुद्रको नजिकसाथै आफ्नै धरातलिय विविधताले गर्दा नेपाल मौसमी विविधतासाथै प्रभावबाट मुक्तहुन सक्तैन । सबै खालका मौसमका असर एकै वर्षमा महिना दुई महिनामा आएका तापक्रम, आद्रता र सूर्यको किरण पाइने विविध फरक समयले प्रााणीजगत तथा यस पृथ्वीको नेपालमा धेरै अनौठो आवहवाको अवस्था सिर्जना गरिदिएको छ । त्यसैले रोगव्याधका समस्या मात्र होइन जटिलता पनि थपिदिएको पाइन्छ ।

आवहवाको प्रभावः
हार्वाड मेडिकल स्कूलका बेथ इस्रेलको सङ्क्षिप्त प्रकाशनका जुन २०२४को सुचनात्मक अनुसन्धानात्मक लेख अनुसार कुनैकुनै रोगहरू जलवायु परिवर्तनको ल्याएको अतिकठोर पृथक खालको मौसमले विशेष प्रकारले उमेरिएका मानिसहरूमा गहिरो असर हुनसक्ने निक्र्योल पाइएको छ । उमेर र रोगको सम्बन्धमा त्यस विषयका लेखहरूको समीक्षामा अनुसन्धानकर्ताहरूले त्यो उमेरसमुहमा धेरै हदमा मुटु-भित्र्याँस कमजोर भएका वा सामान्य रोगी पाका मान्छेनै परेको देखेका छन् । चक्रवात, आँधिबेरी, अति गर्मी, लु हवा, शितलहर, समुद्री आँधिबेरी र सुनामीका कारण मुटुरोग धेरै मात्रामा बढ्ने खतरा हुन्छ । त्यस्ता प्राकृतिक उत्पत्तिका घटनाका नकारात्मक प्रभावले अतिपाका मान्छेहरू, विभिन्न जातिय समुदाय, अल्पसङ्ख्यक समुह र कम आय भएका बर्गमा मानसिक र शारीरिक बिपरित लक्षणहरू प्रष्ट देखापरेको पाइन्छन् । त्यस्ता प्रभावमा मानसिक बिचलन र महत्वपूणर् भित्री अङ्गका रोगहरू, नभएकालाई हुने साथै भएकामा बढ्न सक्ने सम्भावनारहेको अनुसन्धानले निरोपण गरेको छ ।

अहिले भौतिक बस्तुको पउल र विकासभनिने संरचना निर्माणले खालि जमिन पाउन गाहारो भएको परिस्थितिमा संसारभरीको तापक्रम बढेको भन्ने चर्चा सङ्गसङ्गै त्यसको असरले स्थानिय मौसममा पनि अत्यधिक परिवर्तन भएको छ । त्यसको कारण अप्राकृतिक ठाउँमा लु चल्ने, असमयको बाढी, अतिबृष्टि, अतिसुखा र बेमौसमा पनि आँधिहुरीले मौसमको अनियमितता गरिदिएको छ । त्यसो हुँदा त नेपालमा पनि कतै अतिबृष्टि, सुक्खा, बाढीपहिरो अनि नहुने ठाउँमा अतिचिसो वा अतिगर्मीले जीवनको अस्थित्वनै सङ्कटमा परेको केही वर्षदेखि भोगिरहेकै छौँ । सन २०१७ को भदौमा पहिला हुने भदौरे फाटफुट झरीको सट्टा अबिरल वर्षाको कारणले नेपालका ३६ जिल्लामा जनधन क्षतिले प्रभावित पारेको थियो । व्यापक बाढी र पहिरोले १५९ जना मान्छेको ज्यान लियो तथा १७ लाख मानिसलाई असर गरेको थियो भने करिब तिन लाख पचासहजार मानिस बिस्थापित भएका थिए । साउनसम्म २०८१ मा अबिरल अतिवर्षाले देशभरीमा २०० भन्दाबढि मानिसको ज्यानलिएको सरकारी आँकडा छ ।

बाढीले राजधानी सहर काठमाडौँमा तिनजना नागरिकले ज्यान गुमाए भने कोशी प्रदेसमा २७, मधेश प्रदेशमा आठ जनाले प्राकृतिक कारणले ज्यान गुमाएको तथ्याङ्क छ । त्यस्तै अतिबृष्टिले पहिरो तथा बाढीको प्राकृतिक प्रकोपले ज्यान गुमाउनेमा बागमती प्रदेशमा ३४, गण्डकी प्रदेशमा ५६, सुदूर पश्चिम प्रदेशमा १५, कणर्ाली प्रदेशमा १३ र लुम्बिनी प्रदेशमा ३७ जना भएको सरकारी आँकडा छ । बाढी, पहिरो र अचानकको भूक्षयबाट कम्तिमा २४१ जना घाइते भएका भन्ने छ भने अहिले सम्म ४९ जना बेपत्त ाभएका आँकडामा देखिएको छ । त्यस्तै, ३८४ घर बिग्रेका छन् र अहिलेसम्म प्रकोपले प्रत्यक्ष मारमा ५ हजार परिवार परेका भन्ने भनाई छ । गैरसरकारी क्षेत्रबाट आङ्कलन गरेमा यस्तो आँकडा बढन सक्ने धेरैको भनाई छ, राहतको समस्या आउने भएर सरकारले न्युनतम खतिमात्र प्रकाशित गरेकोमा बहुमतको भनाई मनासिव देखिन्छ । बेथ इस्रेल केन्द्रले राखेका जानकारीमा हार्वाड मेडिकल स्कूलका अनुसन्धाताहरूले विश्वस्तरमै प्राकृतिक प्रकोपबाट सिर्जित विभिन्न घटनाहरूका बारे पूणर्तामा शङ्का रहे पनि त्यहि आधारमा यस्तो बिपत्ती मुटु रोगीका लागि असहनिय भएको निस्कर्षमा भन्दछन् ।

हृदय रोग सम्बन्धी अमेरिकी पत्रिकामा जलवायु परिवर्तन र मुटुरोगको अन्तरसम्बन्ध बारेमा प्रकाशित लेखमा अनुसन्धाताहरूको एक समुहले केही अनौठा तथ्य पत्ता लगाएका छन् । उनिहरूका अनुसार मौसमका मुख्य अवयवमा अतिबढि वा घटी तापक्रम, आँधिहुरी र मुटुरोगीहरू बिच अन्तरसम्बन्ध रहेको तथा पहिलेदेखि भित्र्याँसका रोगीलाई मरणासन्न पार्न सक्ने सम्भावना रहने ठम्म्याउन सकिने हुन्छ । तिमध्ये पाका र अति उमेरिएका मानिस निश्चितरुपले जोखिममा परेकामध्ये अग्रपङ्क्तिमा रहेका भेटिन्छन् । धेरै विषयबिज्ञ चिकित्सकहरूले आजसम्म भएका अनुसन्धानमा आधारित भएर यो अध्ययन रिपोर्टलाई सबैभन्दा गहिराईमा पुगेर शूक्ष्म अध्ययन गरी परिमार्जित गरेका छन् । ठूलो मात्रामा वैज्ञानिक तत् विषयकै ४९२ भन्दा बढि प्रत्यक्ष अवलोकनबाट प्राप्त आँकडाहरूको भरमा तयार पारिएकाले विश्वसनीय भएको ठहर्‍याएका छन् ।

मुटुरोग बढ्नेः
संसारकै उमेरिएका पाका मान्छेहरूका मृत्यु कारण बनेका रोगहरूमा बहुसङ्ख्यकमा भित्र्याँसका रोगहरूनै पर्दछन् । उमेरिएरका दीर्घजीवीहरू पनि हरेक तिनजनामा एकजना त्यसैभागमा कुनै नकुनै रोगलागेर (फोक्सो, मुटु, कलेजो, प्यानक्रियाज, फियो, मिर्गौला रोग आदि) अन्त्य भएका देखिन्छन् । ती अङ्गका बारेमा रोकथाम, उपचार र नियन्त्रणका थुप्रै अनुसन्धान भएर अहिले ओखतीको कारण अलिकम खतरा भएपनि भित्र्याँसनै अझै मृत्युकारक रोग मानिन्छ । त्यसो भएको परिस्थितिमा वर्तमानमा खनिज पदार्थहरूको (प्रेट्रोल, डिजेल, मट्टितेल, कोइला) अत्यधिक उपयोगबाट सिर्जित प्रदूषण र थपिएको जलवायु परिवर्तनको असरले मुटुरोग निवारणमा आएको प्रगतिलाई घटाउने कामतिर फर्किएको छ । यसरी एकताका नियन्त्रण र उपचारले मुटुरोग बिरुद्ध गुणात्मक फड्को मारेर पाकाहरूको स्वास्थ सुरक्षित भएकोमा प्रदूषकहरूका कारणले पनि हानी दोहोरो भएको देखिन्छ ।

अन्तरिक्ष र यस भूतलको मौसमको सूचना उच्च प्रविधिबाट अध्ययन गरिरहेको नासाले गरेको निरन्तरको आँकडा सङ्कलनले गत शताव्दीको तुलनामा हाल पृथ्वीको सामान्य तापक्रम दुई डिग्री फारेनहाइटले बढेको देखाएकोे छ । योे सूचना यसकारणले महत्व राख्छ कि यस्तो परिस्थिति रहिरहेमा पृथ्वीमा हुने विविध मौसममा समयावधि दिर्घकालिन परिवर्तन भई मौसमनै सर्न थाल्छ र ठाउँ-ठाउँका वातावरणीय प्रणालीहरूमा डरलाग्दा व्यवधानपर्ने तथा सामुद्रिक सतह माथि उक्लन थाल्नेछन् । यसैको कारण त हो नि बिगत दशकमा हरेक वर्षहरू अहिलेसम्मकै सबैभन्दा गरम वर्षको रुपमा गनिइसकेको स्थिति बनेका छन् । यसै बिच यस्तो पहिलेकोभन्दा बढि तापक्रम भइरहेको परिस्थितिमा भित्र्याँसका कुनकुन अङ्गमा कसरी असर गरिरहेको छ त भनि सूक्ष्म रुपले स्थानगत अध्ययन त भएको छैन तर यस्तो हविगतमा पाकाहरूलाई जटिलता थपिएको भने अनुभूत भएको छ । थप व्याख्याको लागि अनुसन्धान गरिनुपर्ने भनाई बेर्थ इस्रेल केन्द्र र हार्वाड मेडिकल स्कूलका ओखती बिज्ञानका सहप्राध्यापक डा. ध्रुब काजीको रहेको छ ।

भित्र्याँसको समस्या भएका वा सम्भावना भएका मानिसलाई हानी गर्ने अति बिपरीत मौसमी प्रभावको कारणले तिब्रगतिमा खतरनाक दिनहरू आउँछन्, त्यस्तामध्ये धेरै पाकाहरू पर्छन् । ओजोन तहको असर, बन डढेलोको धुवाँ, डढेर उडेका मसिना कणहरूले जीउ दुख्ने, सुन्निने र श्वासप्रश्वासका समस्या भएका उमेरदारलाई त असर गर्छ भने उमेरिएका मान्छेलाई सिकिस्तै पार्नसक्छ । बारम्बार प्राकृतिक प्रकोप भइरहने क्षेत्रका मानिसहरूलाई बिपत्ति खेपिरहनु पर्छ भने सबै उमेरसमुहमा पारिवारिक जिम्बेवारी अनुभूत गर्ने पाका मान्छेहरूलाई परिवारको बचावट, सुरक्षा र भरणपोषणको चिन्ताले मानसिक समस्याहरू थपिएर मनोविज्ञाननै स्तर बिग्रेर जान्छ । बाढी, पहिरो, आँधिबेरीको बेला घट्ने विभिन्न घटनापछि विभिन्न बस्तुको आपूर्ति नभई व्यवधानले सबैभन्दा शारीरिक दुख पाउनेमा उमेरिएका र रोगी पाकानै हुन्छन् । नेपालीहरूले १९९० र २०७२ सालको भूकम्पको बेला र त्यसपछि हिँडडुल भएका बाहेक कम भएका र रोग लागेका पाका मान्छेले पाएका दुक्ख कहाँ बिर्सेका छन् र ?

२०७२ को भूकम्पमा करिब ९,००० मानिसले ज्यान गुमाए भने २२,००० बढिले चोटपटक र अपाङ्गता भोग्न बाध्य भए । पचास वर्ष माथिका शिक्षण अस्पताल पुगेका १४४ जनालाई उपचार गर्ने नेपाल र बेल्जियमका चिकित्सकहरूको समुहले निकालेको रिपार्टमा ६३ जना पुरुष र ८१ जना महिला थिए । सबैजसो पाका उमेरका भूकम्प पीडितमा विभिन्न प्रकारका घाउ र चोटपटक थिए भने कतिपय भविष्यमा कुनै नकुनै अङ्गको कमीले अपाङ्गता व्यहोर्न बाध्य हुने जनाइएको छ । मानसिकरुपले विक्षिप्त हुन बाध्य भएकोमा पुरुषको तुलना बयस्क महिलाहरू त्यसमाथि अति पाको उमेरकानै भेटिएका थिए । त्यस्तै, राष्ट्रिय प्राकृतिक प्रकोप न्युनिकरण भन्ने गैह्रसरकारी सँस्थाले विभिन्न अरु अन्तर्राष्ट्रिय गैह्रसरकारी सँस्थाहरूको अनुदानमा भूकम्पपछि गरेको अध्ययनमा पाका मान्छे लक्षित अनुसन्धान गरेको थियो । उक्त सँस्थाको रिपोर्ट अनुसार कार्यक्रम नुवाकोट, गोर्खा, मकवानपुर, काठमाडौँ, भक्तपुर, काभ्रे र सिन्धुपाल्चोकमा केन्द्रित रहेको थियो ।

सात जिल्लाका केहि भूकम्प पीडित स्थानमा लिइएको नमुना परीक्षण आँकडामा १५१५ जनाले भाग लिएर भूकम्प पश्चात भोग्न बाध्य भएका आँकडा समावेश गरेर नतिजा अघि सारिएको छ । त्यो सङ्ख्यामा १,१४२ जना उमेरिएका र २०६ जना अपाङ्गता व्यहोर्न बाध्य भएका पाका मान्छेहरू थिए भने अपाङ्गता भएका वयस्कहरू १८७ जनासँग समस्या बुझिएको थियो । सहभागीहरूमध्ये ९५% ले सम्पत्ती सबै नाश भएको, ५०% ले गाईबस्तु मरेका र ३% ले एक वा बढि परिवार सदस्य गुमाएको भनेका थिए । बहुसङ्ख्यक पाका मान्छेमा शारीरिक ३२%, दृष्टि २९%, कानको १३% अपाङ्गता व्यहोर्नु परेको पाइयो । यस्ता पीडामा परेका अपाङ्गहरूले भूकम्प पछि कि मानसिक रोगमा परेका र चिन्ताको शिकार भएका वा अवसादमा रहेका वा एक वा बढि खालका मानसिक रुपले अस्वस्थ भएको जानकारी पाइयो । उक्त परियोजनामा सहभागी ५,९५१ परिवारका २६,७४६ कुल जनसङ्ख्या थियो भने पाका पुरुष १२,५५२ थिए र पाकी महिला १४,१९४ थिए । दुबै रिपोर्टका अनुसार घरबाट बाहिर कम जाने बृद्ध र असक्त महिला-पुरुष लगायत घरकाजमै बस्ने महिलाहरू भूकम्पबाट बढि पीडित भएको देखिएको थियो ।

डा. काजी अनुसार आँधिबेरी, नजिकै ज्वालामूखि बिष्फोटन, ठूलो मात्राको पहिरो, बाढी, समुद्री भूमरी र सुनामीको पीडा जस्ता किसिमका प्राकृतिक प्रकोपले भित्र्याँसका रोगीहरूलाई झनै सताएको देखियो । हो, सबै उमेरसमुहमा उत्तिकै दरको असर र त्यसले प्रभावपार्ने जनसङ्ख्याको आँकडासाथै उमेरसमुह हेरेर तथ्य निरोपण गर्नुपर्ने अनुसन्धानमा भर्खर हामी छिपछिपे ज्ञानमात्र राख्ने भएकाले थप खोजबिन गर्न जरुरी देखिन्छ । यसमा पनि ‘भौगोलिक अवस्था, सामाजिक आस्था, उमेरजन्य रोगका प्रकार र त्यस भागको जलबायु प्रणालीको बिशेष विविधता हेरेर अलग-अलग उपायका प्रक्रिया अबलम्बन गर्नुपर्ने’ एजिङ नेपाल भन्ने गैह्रसरकारी सँस्थाका सँस्थापक अध्यक्ष कृष्णमुरारी गौतमले (चट्याङमास्टर) सँयुक्त राष्ट्रसङ्घको महासभामा नेपालको तर्फबाट प्रतिनिधित्व गर्दै बोल्नु भएको थियो । अहिले नेपालमा उमेरिएकाको पक्षमा लागेका सङ्घ-सँस्था तथा सरकारले आफ्नै शारीरिक र मानसिक स्वास्थको कारणले दुक्ख पाइरहेका पाका मान्छेहरूको हितमा प्राकृतिक प्रकोपको समयमा कसरी साँच्चो काम गर्ने भनि उपायहरू खोजिरहेका छन् ।

तातो लुदेखि ठूलो आँधिसम्मः
उष्ण प्रदेशिय भौगोलिक अवस्था र त्यस्तै तापक्रम पुग्ने क्षेत्रको चरित्र भएको जलवायुको प्रभावमा रहेका देशहरूमा विभिन्न मौसममा तातो वा चिसो हावासहित बिध्वंसकारी आँधिबेरीसाथै चक्रबात आएर भौतिक संरचना बिगार्नेमात्र होइन जीवजन्तु समेत विपदमा परेका हुन्छन् । डा. काजी र उनका समुहका साथीहरूले सन १९७०-२०२३ सम्ममा विज्ञहरूद्वारा गहिरिएर समीक्षा गरिएका मानिसमा भित्र्याँसका रोगहरू बारेमा स्तरिए पत्रिकामा छापिएका वैज्ञानिक लेखहरू अध्ययन गरे । त्यस क्रममा उनीहरूको समुहले अति खतरनाक अवस्थामा भएका भित्र्याँसका बिरामी बारे लेखहरूमा विशेष गरेर हृदयघात, मुटुको पीडा र मुटुको चालमा अनियमितता, मुटुरोगबाट मृत्यु र उपचार बारेमा प्रकाश पारिएका लेखका आँकडालाई जलवायु परिवर्तनसँग दाँजेर सम्बन्धित भए नभएको हेर्नमा तल्लिन बनाए ।

प्रत्यक्ष अवलोकन विधिमार्फत संसारभरिका ४९२ बैज्ञानिक लेखहरूमध्ये समुहले बनाएको मापदण्डमा १८२ मा अति उच्च तापक्रमको प्रभावित भेटे भने २१० वटा लेखहरूमा भूधरातलिए ओजन तहको प्रभावभएको लेखहरू भेटे । त्यसमध्ये ४५ वटा लेखहरूमा बनडढेलोको धुवाँ-धुलोको असर पाए र ६३ वटा लेखहरूमा अतिखालको मौसम जस्तै, चक्रवात, धुले आँधि-हुरी र खडेरीले सुक्खापनबाट असर गरेको देखियो । अनुसन्धाताहरूले अति जोखिमपूणर् तापक्रममा मानिसहरू प्रत्यक्ष सम्पर्कमा आएमा भित्र्याँसका रोगलाग्ने खतरा बढेको र मृत्यु समेत हुने घटना व्यापक रहेको पाए । यस्तो स्थिति खुल्ला अवस्थामा रहेकाले सोस्ने तापक्रमको मात्रा र असर गर्ने अवधि अनुसार फरक हुनसक्ने दाँज्न पाए । त्यस्तै भूधरातलिए ओजोनको गुणात्मक बृद्धि अति तापमान भएकोसँग जोडिएको र एकआपसमा बृद्धिको अनुपात उल्टापुल्टा भए पनि असरपर्ने रहेछ भन्ने निक्र्योलमा देखिएको थियोे ।

उष्ण प्रदेशीय आँधिहुरी, तुफान, चक्रवातले भित्र्याँसका कुनै नकुनै अङ्गमा रोग बल्झाउने खतरा हुन्छ र एकपटक भएको त्यस्तो प्राकृतिक मौसम सम्बन्धि परिवर्तनको असर महिनौँ रहन सक्छ । मौसम सामान्य भइसक्दा पनि कमजोर शारीरिक स्वास्थ्य रहेका पाका मान्छेहरू त्यस्तो प्रतिकुल मौसमको रहलपहल प्रभावबाट ग्रसित हुनसक्छन् । अमेरिकाको न्युयोर्क सहरमा सन २०१२मा आएको स्याण्डी भनिने बेगवान आँधिले बिस करोड डलरभन्दा बढिनै पर्ने नोक्सानी गरेर सबै प्रकारका आर्थिक गतिविधि चौपट बनाइदियो । यस आँधिको प्रभावले भित्र्याँसको रोग बाह्रौँ महिनासम्म पनि पाका मान्छेहरूमा बाह्र गुना बढाएको पाइयो । त्यसैले रोग बल्झिने खतरा हरेकको स्वास्थ्य अवस्था अनुरुप र एक पटकको प्रभावले पछिसम्म खतरा हुने कुरालाई समयमै बुझ्नु पर्छ, प्राकृतिक बिपत्ति आयो सिद्धियो होइन, प्रत्यक्ष गयो तर अप्रत्यक्ष टरेको हुँदैन है, सावधान रहौँ !

यस्तै भित्र्याँसका रोगहरू थपिने, बढने र असाध्य रुपमा लाग्नसक्ने सम्भावना खासगरेर बनडढेलो सिर्जित धुवाँधुलो, बाढी, सुक्खा-खडेरी र हिउँ-हिले-धुले पहिरोरुपी बृहतभूक्षय पनि प्रतिकुल मौसमसँग जोडिन्छन् । अनुन्धान समुहले बनडढेलोको प्रदूषणले भएको ठाउँ वरपर मात्रै होइन सैयौँ माइल टाढाका मान्छेसम्म नकारात्मक प्रभाव पारेर मुटुको नियमित रक्तसञ्चार र चालमा असरपारी एक्कासी बन्द वा अनियमित गरिदिएर हृदयघात गराउन सक्ने भेट्टाएका छन् । यस्तो बिपत्ति सबै उमेरसमुह र सामान्य शारीरिक अवस्था कमजोरहरूमा हुनसक्छ भने उमेरिएका पाकाहरूलाई नहुने कुरै भएन । अरु बिपत्तिले यस खालको अप्ठ्यारो नपारे पनि मानसिक तनाव, बिचलन र मनोवैज्ञानिक असर भने प्रसस्त बनाएको पाइन्छ ।

हावाहुरीको मौसमः
पृथ्वीको उत्तरी ध्रुवदेखि दक्षिणी ध्रुवसम्म र पूर्वी एसियादेखि पश्चिम अमेरिकासम्म ठाउँ अनुसार हावाहुरी, आँधि-तुफानको मौसम फरक-फरक समय र महिनामा हुनसक्छ । त्यसमाथि नेपाल त सानो क्षेत्रफलको भए पनि उष्ण प्रदेशीय तराईदेखि सर्वोच्च हिमालय श्रृङ्खलासम्म भित्री मधेस र चिसोतातो क्षेत्र आमुख महाभारत पहाडले गर्दा पूर्व-पश्चिम लाम्चिएको एउटै जलवायुमा विविध मौसम अनुभव गरिएको देश हो । त्यसले गर्दा एकै महिनामा नेपालभित्रका बिभिन्न ठाउँमा मौसमी प्रभाव फरक विशेषतामा छ र चिकित्सकहरूले उही रोगमा चनाखो भई स्थानविशेष अनुसार उपचार गर्नुपर्ने सुझाव पाका मान्छेका यस लेखकले अघिका लेखहरूद्वारा अनुरोध गरेको थियो (हेर्नुहोस् पाका मान्छेबारेका लेखकका चार वटा किताबहरू -सं) ।

बेथ इस्रेल केन्द्र, हार्वाड मेडिकल स्कूलका बिज्ञचिकित्सक समुहको ठम्म्याइमा ओखतीमात्र गर्ने र सल्लाह दिने चिकित्सकले जचाउन आउने मानिस कुन समुदायको तथा कुन क्षेत्रको जानकारी लिएरमात्र अघि बढ्नुपर्छ । कुनै पनि रोगको उपचारमा त्यसपछि ध्यान केन्द्रित गरेर सम्भावित रोगको प्रष्ट निदान हुनसक्छ । अझ भित्र्याँसका रोगी वा सम्भावित उमेरसमुह पाका मान्छेमा उचित ओखती पहिल्याउनु अघि त उहाँ जन्मेको, हुर्केको र अहिले बसोबास गरेको ठाउँको जानकारी लिएरमात्र उक्त ठाउँ अनुसारको प्रतिकुल मौसमका सम्भावना केलाएर मात्र ओखती गर्नैपर्दछ । यसै तथ्यलाई अनुन्धानमा संलग्न विज्ञहरूले हरेक चिकित्सकले मौसम परिवर्तन र भित्र्याँसका जोखिमका आधारमा कार्य गर्न रुपरेखा निमाणर्गरी लागु गर्नैपर्ने भनेका छन् ।

उदाहरणको लागि, अमुक जचाउन आउने मान्छे यदि आँधि-तुफान, चक्रवात र बाढीग्रस्त क्षेत्रबाट आएका हुन् भने उहाँलाई चिकित्सकले थाह पाइएका हुनसक्ने हृदयरोग बारे, आकस्मिकतामा कामलाग्ने ओखतीसाथै सहयोगी सामग्रीहरूको व्यवस्थापन बेलैमा गर्न र नियमित सेवन नछुटाउन सल्लाह दिनुपर्छ । त्यस्तो क्षेत्रमा भएका स्वस्थ्य केन्द्रका चिकित्सकहरूले जलवायु परिवर्तनमा तादात्म हुनेगरेर ओखती र शुरक्षित भौतिक साधनको व्यवस्था गर्नैपर्छ, नत्र त परेको बेलामा बिरामीको ज्यान बचाउन सकस हुनेछ । प्रसाशनिक नोकरशाही प्रसाशनमा काम फत्ते गर्न झञ्झटिलो पद्धती चिकित्सा प्रणालीमा बनाउनु हुन्न, ‘सल्लाह मिलाउँदा मिलाउँदै सात गाउँ डुबेको’ जस्तो र ‘उहिले नेपालको कैलालीमा बैसाखमा आगलागी हुँदा स्थानिय सेनाको आगो निभाउने सामग्रीहरूको प्रयोजनमा ल्याउन गरेको निवेदनलाई माघमा केन्द्रबाट सदर भएको’ जस्तो हुनसक्छ । त्यस्तो भएमा आपद-बिपदको बेलामा त चिकित्सक र स्वास्थ्य केन्द्र भएपनि हजारौँको मृत्यु अकालमै हुन जान्छ ।

गर्नै पर्नेः
ठाउँ-ठाउँमा स्थापना भएका स्वास्थ्य संस्थाका चिकित्सकहरूले पाका मान्छेका भित्र्याँसका समस्याहरूलाई स्थान विशेषका आधारमा विश्लेषण गरेर मात्र अघिबढ्नु पर्दछ । हरेक बिरामीलाई बणर्गत, स्थानिय अल्पसङ्ख्यक, रैथाने, बसाइ-सराईका र कम आय भएका वर्गहरूका आधारमा छुट्ट्याएर आफ्नो ज्ञानको कौशल प्रयोग गर्नु फलदायी हुनेछ । हरेक बिरामीलाई आङ्कलन गरिँदा त्यहाँको मौसमको घटनाहरूमात्र होइन बरु उनको आधारभूत स्वास्थ्य स्तर, स्वास्थ्य प्रणालीमा पहुँच, जटिल र अति पिडादायी मौसम विरुद्धमा उहाँको स्रोत-साधनको पर्याप्तता आदि बस्तुले भित्र्याँसको अवस्थालाई दृष्टिगोचर हुनुपर्दछ । नत्र ठिक निदान नभई ‘सबैको ओखती बेसार पानी’ भनेजस्तै हुन्छ भने ‘विदेश पढेर आएका सहरी कृषिविज्ञले बाली निरिक्षणको बेला जौलाई गहुँ भनेर किसानलाई सिकाए’ जस्तै हुँदैन र ? त्यसैले हरेक बिरामीलाई अझ भित्र्याँसका (मुटु, फोक्सो, कलेजो, मिर्गौला, फियो, प्यानक्रियाज, आदि) अङ्गहरूको निदान र उपचारमा चिकित्सकहरू पनि उपरोक्त सन्दर्भसहित आफ्नो सिपको प्रयोग गर्नु अब ढिला भई सक्यो ।

त्यो समीक्षात्मक अनुसन्धानबाट जलवायु परिवर्तनका समस्यालाई केवल धनी राष्ट्र केन्द्रित अनुसन्धानले विश्वव्यापीकरण गरिने सोच राख्नेनै गलत भएको देखाएको छ । तेस्रो विश्वका निर्धन र गरिब मुलुकका समस्याहरूमा अनुसन्धान केन्द्रित भएकै छैन तथा यस्ता समस्या बारेमा ५०० को हाराहारीमा अनुसन्धान भएकोमा न्युन आय भएको देश बुर्किना फासो र अफ्रिकामा पाँच देशहरूमात्र समावेश गरिएको छ । यसले त अनुसन्धान र स्वास्थ्य समस्याहरूको सन्दर्भ धनी देशहरूले आफ्नो स्वार्थमा मात्र प्रयोग गर्न खोजेका सावित भएन र ? के विज्ञान र अन्य ज्ञानलाई एकलौटी गर्नु मानव अधिकार भित्र पर्छ र ? अनि कसरी धनिले भनेको सबैले मान्नै पर्छ भन्ने छ र ? हाम्रो अस्तित्वनै जलवायु परिवर्तनले पर्ने असरमा उच्चस्तरमा छ भनि तर्साइएको त छ, जबकी मौसम परिवर्तनले बृहद असर परेको प्रमाणित गर्न अनुसन्धाननै नगरी कसरी भनेका हुन् ? उनीहरूले भनेकोमा हामीले साबधानी त लिनैपर्छ तर आजै सिद्धियो, भोलिनै सिद्धियो भनेर कोकोहालो मचाउनु चाँहि बेला भएन कि ?

अन्त्यमा,
विश्वमा विकसित बिभिन्न विज्ञान-प्रविधिका तथ्यलाई हाम्रो जस्तो अत्यधिक जनसङ्ख्या न्युनआय भएका मुलुकले आफ्नै रैथाने स्रोतसाधनसँग मिलानगरी सकेको त्यसबाट उपयोग गर्नु ठिक हो । तर हरेक कुरा विदेशीको राम्रो भन्दै सर्वस्विकार्य गर्नु विदेशी खुसी पार्ने कमजोर मानसिकताको उपज हो । विदेशीले हाम्रो स्वार्थमा गरिएका अनुसन्धानमा हामीले राम्रो भन्नुअघि धैर्यकासाथ हामी अनुकुल र नेपाल वास्ना आउँछ कि आउँदैन परख गरौँ । हो, कतिपय कुरामा अन्यत्र धेरै काम भइसकेकाले हाम्रोे ज्ञान बढाउने अवसर उपयोग गर्नैपर्छ तर हामी आत्मनिर्भर हुने सोचले है ।

नेपालका पाका मान्छेहरू पछिल्लो शताब्दि र कालखण्डदेखि बाढी, पहिरो, डुवान, चक्रवात, आँधीहुरी, अतिबृष्टि, खडेरी, लु, शितलहर, अति हिमपात, भुइँचालो, बनडढेलो, आदि प्राकृतिक प्रकोपबाट क्रमश बढ्दै अति प्रताडित हुँदै गएको समस्या बारेमा अवगत छन् । त्यसको ज्यादती प्रभावले निकै पाका मान्छेहरू शारीरिक र मानसिक विचलन परेका धेरै आँकडा छन् । नेपालमा भित्र्याँसको समस्याले पाका मान्छेहरूको मृत्युसङ्ख्याले हामीलाई ओखती विज्ञानलाई समय सापेक्ष परिस्थिति अनुकुल नेपालको लागिनै अध्ययन गरिनुपर्ने बाध्यताको दरो सङ्केत गरिसकेको छ । आफ्ना अनुभव र ज्ञानलाई विज्ञानको परीक्षणमा उन्नत बनाउँ र जलवायु परिवर्तनले ल्याएका प्रतिकुल अवस्थालाई बहुजनहितायमा विशेषगरी बालबालिका र उमेरिएकाहरूलाई केन्द्रित गरेर समाधान खोजौँ, सकिन्छ है !

०००
चालिसेडाँडा, ललितपुर
भदौ १४, २०८१

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाका मान्छेमा अलमल !

पाका मान्छेमा अलमल !

डा. मुकेशकुमार चालिसे
पाको मान्छेका तथ्य कुरा बुझौँ

पाको मान्छेका तथ्य कुरा...

डा. मुकेशकुमार चालिसे
पाका मान्छेमा अलमल !

पाका मान्छेमा अलमल !

डा. मुकेशकुमार चालिसे
हामी हेपिने मान्छे हो र ?

हामी हेपिने मान्छे हो...

डा. मुकेशकुमार चालिसे
बृध्दभत्ता– पहेँला अक्षता कि पिण्ड हो ?

बृध्दभत्ता– पहेँला अक्षता कि...

डा. मुकेशकुमार चालिसे
कसरी पाटी बन्दैछन् घरहरू… ?

कसरी पाटी बन्दैछन् घरहरू…...

डा. मुकेशकुमार चालिसे
पाका मान्छेमा अलमल !

पाका मान्छेमा अलमल !

डा. मुकेशकुमार चालिसे
वृद्ध हुन् कि वा युवा…

वृद्ध हुन् कि वा...

कविराज घिमिरे
पाको मान्छेका तथ्य कुरा बुझौँ

पाको मान्छेका तथ्य कुरा...

डा. मुकेशकुमार चालिसे
पाका मान्छेमा अलमल !

पाका मान्छेमा अलमल !

डा. मुकेशकुमार चालिसे
0
Would love your thoughts, please comment.x
()
x