साइबर अपराध सम्बन्धी सचेतना सामग्री

उमेरिएकाले चिन्तित भई रनभुल्लमा नपरौँ !

बिगतको अपुरो भएको कामको चिन्ता-पश्चाताप नियमित गरेमा उन्मादमा जाने र अतिहुँदा बिर्सने रोगले ङ्याक्नसक्ने घटनाहरू भएको तथ्य नेपालमा पनि प्रसस्त हुँदैगएको छ ।

Nepal Telecom ad

डा. मुकेश चालिसे :

मानिस जन्मेदेखि चेतना र विवेक राम्ररी पलाएपछि जीवनभरी चिन्ताले कहिले छोडला ? चिन्ताको कुरा सोच्ने दिमागले हो, नजाने मस्तिष्कमात्र होइन मुटुसमेतलाई तोबा-हैरानी गरेर चाँडै शरीरिक-मानसिक अवस्थानै थला पार्ला, जानेदेखि र उपाय लगाए एकबारको मानिसको जीवन सुखमय होला ! आफ्नो शरीर आफ्नै हातमा छ, अरु अविज्ञको हा हा र अनुभवको भर गरेर मात्र होला र ? बरु आफ्नो नौ नाडी गल्ने गरेर चिन्ता र तनावले ज्यान नै सुक्न थाल्यो भने मनोचिकित्सकको सम्पर्कमा रहनु पो बेश हुन्छ । त्यसैले त पाका मान्छेका रोगव्याधिका विज्ञहरूले निरन्तरको चिन्ता र अवशादको समस्यामा रहने आफ्नो बानी भएका ज्येष्ठ नागरिकलाई मुटुलाई नै घात हुने काम नगरौँ भनि सावधान गराएका देखिन्छन् ।

हार्वाड मेडिकल कलेजको प्रत्यक्ष प्रशारणमा पाका मान्छेहरूले आफ्नो चिन्ता र त्यसको असरबाट बच्नलाई आफ्नै आँटबाट उर्जा निकालेर ढालजस्तै सुरक्षा गर्न सकिने भनेका छन् । लगातारको रनभुल्लताले पाका उमेरिएका मान्छेमा गम्भीर असरभएर तपाइँको शरीरमा शारीरिक, भौतिक, भावनात्मक र मस्तिष्कमा नकारात्मक मनोवैज्ञानिक उलटपुलट हुन थाल्छन् । भनेको जस्तो नियमित प्रयास गरेमा तपाइँले क्षमता विकास गरेर चिन्ताबाट टाढा रहन, रिसबाट जोगिन र चिन्ताले हुने रोगहरूबाट बच्न चाहिने भित्री प्रतिरक्षात्मक प्रणाली दरो बनाउन सक्नुहुन्छ । मुख्यकुरा आफ¨ले मानेको बिचारमा इमानी बन्नुहोस् र त्यस अनुसारै व्यवहार गरी विचारलाई सत्यताको कसीमा जाँच्नुहोस् । ठिक लाग्छ भने त ठिकै भयो तर त्यस्तो विश्वासमा लाग्दा ‘यसो भयो, यसो भयो’ भन्दै आफ्नो कमी भएको आरिसमा ‘अरुको राम्रोभएको इर्ष्या  गरेर चिन्तित हुने र भुटभटिने’ नगर्नोस् । ‘मेरो स्वभावनै यस्तै हो, मैले सोचेकै ठिक छ’ भनि लत्तो छोडन थाल्नु भयो भने बेमाख हुन कत्ति बेर लग्दैन । मानसिक रोगको सुरुवात आफ्ना कृयाकलापमा विश्लेषण नगरी मपाइँ बन्ने स्वभावबाट सल्किने डर बढि हुन्छ भन्ने हेक्का राख्नोस् है !

सास्तीपूर्ण चिन्ताः
साह्रै चलनचल्तीमा तनाव, चिन्ता र दिमागी बोझमा परेर चिन्तित भइरहने अवस्थालाई ‘चिन्ताग्रस्त वा उन्मादमा परेको’ भन्ने गरेको पाइन्छ । उन्मादग्रस्त हुने शारीरिक अवस्थामा पुर्‍याउन मानिसले विशेष गरेर उमेरिएका पाकाले आफ्नो नियन्त्रणमा नरहेको र गर्न नसकेको कामका आधारमा पिरगर्ने भएर हुन्छ । चिनजानका आफ¨सरहका अरुको विभिन्न हिसाबले अवस्थालाई बढि आङ्कलन गरी आफ्नो अवस्था न्युन रहेकोमा केबल गल्ती भएको ठानेर दुखमनाउ मनमनै गर्दा पनि रोग हुन्छ । जसरी, जे कुरामा पनि नियमित पश्चातापले ‘मन कुटुकुटु खानेगरी चित्त दुखाउने र सधैँ भरी पिल्लिरहने’ मान्छेमा असम्भव कुरामा चिन्ताग्रस्त भइरहँदा यस्ले रोग पलाउने कारण बनेको पनि हुन्छ । विभिन्न कारणले वा बानीनै त्यस्तै भएर सामान्य सतर्क रहे हुनेमा दैनिकीमा समेत नयाँ परिस्थिति आइलागेमा आतङ्कित हुने गर्छन् । डराउने र चिन्तितहरू हुँदाहुँदा घरमा साँझ बत्ति नबल्दा आत्तिने, पानी परेको बेला गड्याङगुडुङ्ग गर्दा चड्को आफैँलाई लाग्छ भन्ने डरले लुक्ने गर्छन् ।

त्यस्ता पाका मान्छेहरू चौबाटोमा अति सङ्ख्यामा साधनहरू भएर वा दुर्घटनाले कुर्नुपर्दा र आफ¨ लस्करको पुछारमा परी धेरैबेर चलहल नगरी यात्रामा घण्टौँ अडिनु परेकोमा मानसिकतानै बिगार्ने हुन्छन् । जबर्जस्ती, अनमेल सम्बन्ध, असुखद दाम्पत्य जीवन, सक्नेभन्दा बढि कामको जिम्बेवारी पाउनुले पनि शरीरलाई असरभई मानसिकता कमजोर हुन्छ । कतिपय त्यस्ता चिन्ता क्षणिक हुने पनि हुन्छन्, आउँछन् जान्छन् र बिर्सिइने हुन्छन् । तर त्यसै घटनालाई बारम्बार रिस उठ्दै चिन्तित गराउँछन् भने उहाँलाई नियमित पुरानिएको वा चिन्ताको जीणर् रोगको सङ्ग्या चिकित्सकले दिन्छन् । यस्ता स्तरको चिन्ता रोगले सास्ती दिने श्रेणीमा राखेर हेरिन्छ तथा यस्तो रोगले विभिन्न रोग लाग्नमा सम्बन्धित भएको मानिन्छ । यस्तो शारीरिक समस्याको असरले रोगीलाई पलपलको सोचाइमा गडबडी, अनिद्रा र खाना अरुचिको भएर नकारात्मक प्रभाव परिरहेको हुन्छ । सास्तीदिने जीर्ण स्तरको चिन्ताले थप अरु खतरा जस्तै शरीरमा न्युन खालको सुन्निने, दुख्ने र मुटुरोग बढाउने कारक बन्ने गराउँदछ ।

हो, चिन्ताले हृदयघात र अन्य मुटु सम्बन्धी रोगहरूको खतरा बढाउन सघाउँछ तर हुन त असर छिपछिपे नै हुन्छ । यसले मुटु सम्बन्धी रोगलाग्ने सम्भावना वा भएका मान्छेलाई भने रोगको खतराको स्तरमा पुर्‍याउन सक्छ । जस्तोः चिन्तित मान्छे घरीघरी चाहिँदो-नचाहिँदो विभिन्न कुरा सोचेर पिरलो गरिरहने हुनाले खानामा पथ परहेज गर्न छोड्छन् । यसरी शरीरमा उर्जा उत्पन्न गर्ने खानाको अभाव एकातिर हुन्छ भने कमजोर भएकाले उमेरिदा गर्नुपर्ने सामान्य व्यायाम पनि गर्न सक्तैनन् । चिन्ता नहोस् भनि परम्परागत भनाई पत्याएर चुरोट, बिँडी, खैनी र सूर्तिजन्य बस्तुको बानी साथै कतिपय मद्यपानतिर लहसिन्छन् । वास्तवमा यस्ता पदार्थहरूको सेवनले पाका मान्छेका मात्र होइन सबै उमेरसमुहलाई मुटु र फोक्सोको रोगहरू बढाउने खतरा अकाट्य गराउन अग्रसर भएको नै पाइन्छ । विशेष गरेर अति नियमित चिन्ता र मुटुरोगको अन्योन्यास्रित सम्बन्धलाई छिनाल्न चिन्ताबारेको विज्ञानसम्मत अध्ययन र अस्वस्थकर बानीलाई व्यवस्थित गर्नै पर्दछ । हार्वाड मेडिकल कलेजका साथै नेपालमा बुढ्यौली साहित्यका जन्मदाता हास्यव्यङ्ग्य सिल्पी कृष्णमुरारी गौतमको निम्नलिखित बुँदाहरू पालना गर्नुपर्ने भनाई बुझौँ है ।

१) सकारात्मक होऔँः
नेपालमा चौतर्फी मानिएको र साह्रै लोकप्रिय उखान छ, ‘जत्ति धेरै हाँस्यो, उत्ति धेरै वर्ष बाँच्यो, जत्ति धेरै पिरोलियो, उत्ति चाँडै मर्‍यो ।’ साँच्चिनै यो उखान चिन्ताले पुर्‍याउने शारीरिक-मानसिक हानी-नोक्सानी बारेमा अनुभवीहरूले मनोविज्ञानलाई बुझेरै सुरु गरी चलिआएको होला ! नियमित पेट मिचीमिची हाँस्नाले शरीरका विभिन्न अङ्गलाई व्यायाम हुने मात्र होइन, चिन्ता बढाउन र चिन्तित गराउन सघाउने शरीरभित्र उत्पन्न हुने आन्तरिक जैविक पदार्थ पनि घटाउन मद्दत गर्दछ । त्यस्तै हाँसोले शुद्ध रगत शरीरको ठाउँ-ठाउँ छेउ-टुप्पोसम्म पुर्‍याउने रक्तनलीलाई सुन्निन वा खुम्च्याउन दिँदैन । हाँसोले रगतमा हुने ‘अशल मानिएको’ हाई डेन्सीटी लिपोप्रोटिन कोलेस्टेरोललाई बढाउने काम गर्छ र अरु खालका कोलेस्टेरोललाई घटाई हृदयघात तथा मुटुका समस्याहरू हुनबाट रोक्नसक्छ । त्यसैले हाँस्नु, हँसिलो हुनु र हँसाउनु हामी सबैको राम्रो स्वास्थको लागि अपरिहार्य भएरै हाँस्यलेखनीका आदिपुरुष श्री वासुदेव लुइँटेलले हरेक आफ्ना प्रकाशनको अग्रपृष्ठमै यो नारा राख्नु हुन्थ्यो । हो, हाँस्दा हाँस्दै स्वास फेर्नै बिर्सने, हिक्का आउने, बाडुली लाग्ने, थुक सर्किने नहोस् र स्वास्थलाई हानी हुने काम नहोस् है । ‘हाँस्दा-हाँस्दै बिरामी हुनलाई धेरै नहाँस्न’ भन्ने नेपालमा अनुभवसिद्ध ज्ञान पनि छ भन्ने हेक्का राखौँ है !

धेरै हाँस्दा शारीरिक उर्जा पनि धेरै खर्च हुने गर्छ र पाको शरीरले धेरै उर्जा खर्च हुने कामभन्दा चाहिँदो उर्जा सङ्कलनमा ध्यान दिनुपर्छ, अपव्ययी हुनुहुँदैन नि । त्यस्तै कारणबस अठोटेको काम भएन वा इच्छा अनुसार आफन्त र परिवार मानेनन् भने पनि रिसाउने, ठुस्किने वा अन्य नकारात्मक कुरा बोल्ने, रिसाउने वा झर्किने होइन बरु प्रयास गरेकोमा धन्यवाद दिने हो । खानेकुरा मन नपर्ने पाकेछ भनेपनि ‘अहा ! आज कस्तो खाने मन लागेको थियो, मनकै कुरा बुझेर पकाएछौ’ भनि भान्सेलाई प्रशंसा गर्नुपर्छ । मन नपरे पनि घरका सदस्यले गरेका कामकार्वाहीलाई पनि ‘सबैका हितमा बोलचाल र काममा लागेका छौ, जानी बुझि गरेको होला भन्ने बिश्वास छ’ भनि नरम घुर्कि लगाउन पोख्त हुनुहोस् । धेरै व्यक्तिगत समस्या आफैँ सल्टाई अह्राउनै परे ‘बाटो पर्छ कि ? मलाई अमुक ठाउँबाट यस्तो ल्याइदिन मिल्ला’ भनि अनुरोध शैलीमा बोल्ने गर्नुहोस् । आक्रोश र रिसले अचानक शरीरमा छोएछन र दुख्ने गरेर घुच्च्याएछन् भनेपनि मन मिचेर ‘ओहो कस्तो नरम पाउ वा कुहिनो’ भनि प्रशंसा गर्नु ठिक हुन्छ । पाको मान्छेले चिन्ताले रोग ननिम्त्याउन पहिले कहिले नभएको नरम नौनी हुन सिक्नैपर्छ भने उमेरको अहम, रिस, आक्रोश र बलमिच्याइँ सिरान हाल्न तयार रहनै पर्छ । आफ्नो अह्रोट खटनपटनमा हुर्किएर ठूला भएकालाई पनि ‘हजुर भन्न र मन नपर्ने कुरमा पनि सम्बन्ध कायम गर्न टाउको हल्लाउन’ सिक्नै पर्छ ।

२) ध्यान केन्द्रित गरौँः
आन्तरिक छटपटी भइरहने वा चिन्ताका काला बादलमा रुमलिएर रनभुल्लमा परेर त्रसित भइरहने मान्छेले कुनै कुरा सम्झेर वा शुन्य आकासको कल्पनामा सोचाइलाई एकाग्र गराउने अभ्यास ध्यान नै हो । चिन्तितपार्ने विषयबस्तुभन्दा आनन्द दिने काल्पनिक स्वर्गमा रमाउने पनि ध्यानको एक भाग हुनसक्छ । आँखा चिम्लेर स्वान्त्यसुखायको लागि हुनै बस्तुको नाटीकुटी बारेमा एकाग्र हुने बिचार पनि ध्यान नै हो । कैयौँ पाका मान्छे राती अनिद्रा हुँदा आफ्ना बिगतको अनुभव र सफलतालाई ध्यानमग्न भई सम्झने क्रममा मस्त निद्रामा परेका घटना गर्वसाथ सुनाउँछन् । केहीगरे पनि नहुँदा र मन तुलबुल भइरहँदा सुतीसुती वा पलेटी मारेर आँखा चिम्लेर लामोलामो स्वास-प्रस्वासमा ध्यान केन्द्रित गर्दा पनि मस्तिष्क हलुका अनुभूत हुने गर्छ ।

त्यस्तो वातावरण बनाएमा निद्रालाग्न सघाउने मात्र होइन, उच्चरक्तचाप घटनगई मुटुरोगको खतरासमेत कम भएका प्रसस्त अनुभवी पाइन्छन् । त्यसैले गरिनुपर्ने कामबारे ध्यान केद्रित गरेर क्रमबद्ध सूचि बनाई एक-एक समस्यालाई सल्ट्याउने सोच्नुनै ध्यानको प्रयास हो । त्यस्तो गर्ने आनिबानीले कामका फेहरिस्तमा दिमाग नछिरोलिएर क्रम अनुसार गर्नाले चिन्ता नबढी चैनकासाथ बाँच्ने ध्यानले आफुलाई नै फाइदा पुर्‍याउने कुरामा उमेरिएकाले सोचौँ, चिन्ता ढिम्कनै सक्तैन् । अनि त शरीरका साथै मानसिक अवस्था फूलको थुङ्गाझैँ हलुङ्गोभई हरेक क्षण ‘नाचौँ-नाचौँ, उडौँ-उडौँ भएर मस्किने’ बाहेक चिन्तित हुने लठारो नै पर्दैन नि ! अनि सँधै हँसमुख हुनेलाई चिन्ताग्रस्त हुने रोगले मडैया मार्न कहाँ बाटो पाउला र ? असम्भव नै हुन्छ नि !

३) व्यायाम गरौँः
शारीरिक, मानसिक स्वास्थ तन्दुरुस्त रहिरहन नियमित तथा दैनिक व्यायाम आवश्यक हुन्छ । व्यायाम भनेको गर्हौँ फलामका डल्ला सकि नसकि उचाल्ने अथवा कमजोर शरीरले म्याराथुन दौडमा भाग लिने भनेको होइन । यो त तपाइँको शरीरले तन्किने, खुम्चिने मौका पाओस, गतिमा रहिरहोस् अनि स्वास-प्रस्वासले फोक्सोको क्षमताअनुसार हवा पाओस भनेर गरिने शारीरिक अभ्यास हो । यस्तो भनेको हिँडेर, सक्ने खेल घरभित्र वा बाहिर खेलेर हुन्छ कि वा बगैँचामा गोडमेलको काम गरेर हुन्छ भौतिकरुपमा सकृय रहने चलखेल हो । मान्छे एकै थात-थलोमा एकै आसनमा बसिरहँदा वा सुतिरहँदा शरीरले आफ्ना तन्तु र जोर्नीहरूको सकृयता बढाउने काम कम हुन्छ । यसले शरीरका विभिन्न भागमा सङ्कुचन बढाउँछ तथा लचिलोपनको अभावमा माँसपेशी र जोर्नीहरू अरट्ठो भई बिस्तारै कमजोर भई अचल हुन थाल्छन् ।

त्यस अवस्थामा सोचमा सकारात्मकता ल्याउन चाहिने इण्डोर्फिन भन्ने रसायन मस्तिष्कले उत्पादनसमेत नगरेर शरीरमा बितरणगर्न पछि पर्छ । व्यायाम र शारीरिक चलफिरले ध्यान अन्तै फर्काएर चिन्ता हटाउने मात्र होइन, रक्तचाप घटाइदिएर मुटुरोगको खतरा बिरुद्ध लडन मद्दत गर्दछ । त्यसोहुँदा तपाइँका मुटुका माँसपेशी बलिया हुन्छन् साथै शरीरको मोटापा रोग र बढि तौल भएमा घटाउन आफै सहयोग पाइन्छ । काम कमगर्ने उमेरिएकालाई शारीरिकमात्र होइन मानसिक स्वास्थको रक्षाकालागि सक्ने व्यायाम झन आवश्यक भएको देखिन्छ । त्यसैले गुडुल्किएर बसेकोमा ‘बादशाही, राजर्षी शोखमा छु’ भनी रमाउने होइन, दैनिकीमा कति चलखेल गरेर बिताइयो त्यसलाई हेक्का राखौँ है । ‘हलुका दुक्ख’ उमेरिदाको अनिवार्य किमती सौगातको रुपमा लिन नबिर्सौँ, हजुर !

४) सम्बन्धबिच्छेद गरौँः
उमेरिदै जाँदा आफन्त, नातागोता र इष्टमित्र बिचमा सम्बन्ध नविकरण गरौँ, भेटघाट बढाऔँ तर सँधै पछिलागेर शारीरिक- मानसिक हैरानी तथा रोग बल्झाउने चिन्तासँग शत्रुलाईझैँ नातानै तोडौँ, सम्बन्धबिच्छेद गरौँ, है । अरु उमेरमा त उत्पादन नगर्ने अझोडी यो व्यथाले पाको उमेरमा त निकै हानी गरेर शरीर त सुकाउँछ भने मानसिक खलबली ल्याउन सक्छ, बेलैमा होसियार हुनैपर्छ । चिन्तामा नपर्ने कोही हुन्न, यो मानिसको जीवनमा लिसो टाँस्सिएझैँ पछि लागेकै हुन्छ । उमेरिदा आफ्नो पहुँच र नियन्त्रण बाहिर रहेका कुरामा किन छिनछिनमा रनभुल्ल परी अमूल्य एकबारको जीवनको अवमूल्यन गर्नु, नगरौँ ।

अब पाको मान्छेले चिन्तित रहने, शारीरिक र मानसिकरुपले सत्यानाश गर्ने यो अनुत्पादक रोगबाट मुक्त हुन नाता भुस्याउनै पर्छ । आफुलाई मन नपर्ने खालका कार्यक्रम र पूर्वाग्रहपिडित सामग्री पठाउने इमेल र टिभीका लाइन खारेज गरौँ । मनपर्ने आशाबादी कार्यक्रम, तथ्यसत्य समाचार दिने समाचार पत्रिकाहरू र किताबहरू सुन्ने, हेर्ने र पढने गरौँ । साधन छ भन्दैमा जथाभावी होइन आफुलाई रमाइलो, आनन्द दिने र उत्साह बढाउने बिधाका श्रवण पठनका सामाग्रीमा ध्यान दिऔँ, चिन्ताले टापठोक्न बाध्य हुन्छ । दैनिक दश-पन्ध्र मिनेट भएपनि त्यस्तो विषयमा समय बिताएमा पक्कै त्यही उर्जाको सन्दर्भले चौबिस घण्टा धान्न तपाइँलाई अवश्य पुग्न सक्नेछ । साधु-सन्तले ध्यान गर्ने, ऋषि-मुनिले तपस्या गर्ने भनेको आफ्नो लक्ष्यमा एकत्व गर्नलाई अरु सांसारिक चिन्ता छोडेर मार्ग पहिल्याउने भन्नेनै हो नि, होइन र ! तपाइँ-हामी स्वास्थ रक्षाका लागि त्यसो गरौँ ।

५) चिन्तारहित होऔँ :
सामान्य हिसाबले मनमा खेलिरहेका अनावश्यक चिन्ता वा दिमागमा र्‍याउँर्‍याउँ सगबगाइरहेका चिन्ताले सताउँदा विकल्प नपाउँदा सकेसम्म ध्यानान्तर गराउन अन्य काम गर्नोस् । सामान्य लाग्ने चिसै पानीले नुहाइधुवाई गर्नु साटो मनतातो पानीले गर्नुहोस्, आफ्ना पालाका आन्तरिक प्रेमालापका गीत अहिले सुन्नुहोस् र मन परेका किताब फेरि पढ्ने कोशिस गर्नुहोस् । यसो गर्दा चिन्तित गराइरहेको फजुलको मनोविकारतिर भन्दा अहिले भएको कुरामा मन गएर चिन्ता गरेको कुरामा अल्पकालको लागि भए पनि दुख दिन छोड्छ । हार्वाड मेडिकलको चिन्तित रहने बानीको व्यवस्थापन कसरी गरिन्छ भन्ने विषयमा प्रशारित पाठ्यक्रममा व्याख्या र निराकरणका उपायहरूबारे बिस्तृत रुपमा उठान गरिएका कुरा यस्तै छन् ।

नयाँ कुरामा आकर्षित भएर जान्न, बुझ्न र सिक्न खोज्नुहोस्, हरेक पल उत्सुकतामा लाग्नुहोस्, यसले तपाइँमा चिन्ताबाट विकर्षण गराउन मद्दत पुग्दछ । नियमित हैरान गराउने झुनिलागेझैँ टाँसिएको कुराबाट टाढिन यस्ता सोचाइमा मध्यान्तर भएर पछि त्यस्ता विकारबाट पर हुन पनि सहयोग हुनसक्छ । जसरी अनुकुल हुन्छ, त्यसैगरी बिज्ञले दिएको सल्लाह वा आफैँलाई मानसिक बोझ भएको कुरालाई पञ्छाउन आफ्नै आनन्दको बस्तुतिर ध्यान लगाउँदा चिन्तामा परेर हुने रोइलो हटाउन मनग्ये सकिन्छ । त्यसैले त आत्मविश्वास बढाउन ‘तँ आँट म पुर्‍याउँछु भन्ने शक्ति हुन्छ है’ भनि हौसल्याउने भनाई नेपालमा धेरै कालदेखि चलिआएको हो नि, होइन र ? हामी नयाँ कुरा नसके पुराना कुरा र निर्क्यालका अशल पक्षको जगेर्ना गर्न किन कञ्जुस्याइँ गर्ने हँ ? इतिहासका दुई पक्षमा हामी त सकारात्मक र लोकभलाइको पक्षमा लाग्न कसले छेक्छ र ?

६) दुख र शोकः
उपरोक्त बाहेक दुख वा शोक एउटा अनौठो भावनात्मक अभिव्यक्ति हो जस्मा परेपछि जुनसुकै उदाहरण दिए पनि मान्छे निजात्मक अर्थमा सोच्न थालेपछि प्रारम्भमा दुखसागरमा डुब्नबाट कसैले बचाउन सक्दैनन्, हो, बिस्तारै त्यो कम हुनसक्छ । त्यस्तोमा परेका सबै उमेरका मान्छेमा नबिर्सने चोट अनुभूत भएको हुन्छ भने उमेरिएका पाका मान्छेको सहारा गुमेको घात सहनु बडो कष्टकर हुन्छ । यस अवस्थामा अझ कोखीको घाहा र पीडा, सन्तान बितेको पीडा सहन त निकै गाहारो भएर मानिसहरू नसोचेका अचम्भका आनिबानी देखाउन सक्छन् । कहिल्यै अम्बल नगर्नेले अम्बल सुरु गर्नु, मादक पदार्थ सेवन गर्न थाल्नु र गरिरहेको कामप्रति वितृष्णा हुँदै बेकामी भई नचाहिँदा सङ्गतमा लाग्न थाल्नु आदि जीवन सिद्ध्याउने बाटो हुन सक्छन् । हेरबिचार गर्नेहरू र अभिभावकत्व लिनेले बडो विवेकी भएर हेलमेल बढाई, उसलाई निरन्तर सुनिदिएर आकर्षित गराएर मात्र दुखितलाई सम्हाल्न सकिन्छ । यस सन्दर्भमा विजय मल्लको ‘कोहि किन बर्वाद होस ?’ नाटक काम लाग्न सक्छ ।

आफ्नाको बिछोडमा शोकमा पर्नु, पिरलोले चित्त दुखिरहनु र कसैमा त नसोचेको घटना घटेकाले आकस्मिक आघात पर्नु स्वभाविक हुन्छ । सहन गाह्रो हुनेलाई त्यस्तो झटकाले लामो समयसम्म पिरोल्न सक्छ भने कसैलाई आफ्नो बलियो र भरपर्दो आधार गुमेकाले शारीरिक-मानसिक समस्या उत्पन्न गराइदिन सक्छ । त्यस्तो अनुभूत हुने कयौँ मान्छे कोही जोगी बन्ने, कोही बयस्क उमेर छँदै उसैको सम्झनाले बिधुर वा विधुवानै बस्ने, कोही कपाल नकोर्ने, कोही औँलाका नङ टोकेर ठूटै बनाउने, र मानसिक सन्तुलन गुमाउने, कोही मृत्यु भएको समय सम्झेर दिनरातको त्यही बेलामा डाँको छोडेर रुने आदि गरेको देखिन्छ । आर्थिक उपार्जनको अन्य विकल्प नभएकाहरू अचानक सेवा गरिरहेको ठाउँमा खारेजी परेपछि चिन्ताले शोकमा परेझैँ सँधै पिलपिलाउँदो असहायझैँ व्यवहार गर्ने हुन्छन् ।

दुखी भएर शोकमा रहने अप्ठ्यारो अवस्थाबाट छुटकारा पाउन वा मुक्त गराउन त्यस्तालाई हेरबिचार गर्नेले शोकका विभिन्न चरण बारे जानकारी लिनु आवश्यक हुन्छ । शोकले प्रभावित हुने ती चरणहरू बारेमा सबैभन्दा पहिले डा. एलिजाबेथ कुब्लर रोजले आफ्नो ‘मृत्यु र मरणासन्न’ भन्ने पुस्तकमा बणर्न गरेकी थिइन । त्यस किताबमा उल्लेखित आफ्ना एकाघरका सदस्य, अति प्रेमिल जोडी, गुन लगाएका इष्टमित्र र अति मनपराएको एकज्यानको मान्छेको निधनले भोग्नेलाई बिक्षिप्त बनाउन सक्छ । अति आघात अनुभूति गर्नेले जटिल बिचार, व्यवहार, र भावनात्मक उत्तेजनाका अनौठा स्वभाव देखाउन सक्छन् । कति जनामा त्यस्तो आघात पछि बिचित्रसँग ज्ञानको बिचार आउने र भविष्यद्रष्टाझैँ तार्किक कुरा राख्ने भएर ‘हावा खुस्केछ, बहुलाएको, चोट खप्न नसकेको, उन्माद भएको’ भनि दुव्र्यवहारपूणर् ओखती गर्न आफ्ना भनाउँदाले पनि बेर लगाउन्नन् ।

मृत्यु र शोक प्रकट गर्ने त्यस्ता लक्षणहरू मात्र हुँदैनन् बरु उक्त मान्छेको पहिलेको स्वभाव र बिरलाकोटी हुने त्यस्तो दुखदायी अवस्थामा अनुभवहिन शोक अभिव्यक्ति फरक किसिमले हुनसक्छ । कोही त्यस्ता घटना देख्ना वा सुन्नासाथ निशव्द हुने र धेरै बेरमा अचानक बिस्फोट भएझैँ रुने वा नबुझिने शब्दहरू धाराबाहिक बडबडाउने हुन सक्छन् । त्यस्तालाई सान्त्वना दिई आघात परेको बेला सहन क्षमता बढाउन र उत्साह दिन उस्को अवस्था तथा कस्तो सोचाइको मानिस हो, त्यस्ता कुरालाई हेक्काराखी सम्झाउने गर्नु राम्रो हुन्छ । परम्परागत भनाइलाई प्रयोग गरी भनाई तेस्र्याउनु थप समस्या निम्त्याउने कारण बन्नसक्छ र शोकमा परेकालाई अमुकका कुरा प्रतिशोधपूर्ण लाग्न सक्छ ।

अन्त्यमा,
बिभिन्न व्यक्तिहरूका चिन्ता, उन्माद र शोकका कारण जीवन दुर्दशापूर्ण भएर बर्बाद भइरहेको छ । त्यसमा पीडित हुनेमा धेरै हदमा आफन्तको असामयिक निधन, आर्थिक न्युनता, सामाजिक विभेद, मानविय व्यवहारको कमी तथा बर्गिय शोषणले धेरै चिन्तामा परेर रनभूल्लमा परेका छन् । लगातार प्रोत्साहन र मैत्रीपूणर् व्यवहारमा कमि, घरायसी झगडाको नियमितताले चिन्ता बढेर मानसिक स्वास्थ ताजा रहँदैन । बढदो चिन्ताले मस्तिष्कमा आघातपर्ने र मनोरोगहरू उत्पन्न हुँदै जान्छन्, यस्तो भएमा शारीरिक अस्वस्थता बढदै जान्छ । त्यस्तो अवस्थामा रनभूल्ल परेर निणर्य क्षमता घटेकाले हरेर कुरामा बहिस्कृत गर्ने, घर परिवारका सदस्यहरूले जुनसुकै सकारात्मक कुरा गरे पनि रिसाउने, हरेक कुरामा गनगन गरिरहने स्वभाव बिकशित गरेका हुन्छन् ।

त्यस्तै आफन्तलाई गुमाउँदा र आफैँलाई भोग्न बाध्यकारी अप्ठ्यारोमा परेर ‘यसो गर्‍या भए हुन्थ्यो त्यस्तो गर्‍याभए हुन्थ्यो’ भनि अब फत्ते नहुने कल्पनाले चिन्तित भई रहन्छन् । बिगतको अपुरो भएको कामको चिन्ता-पश्चाताप नियमित गरेमा उन्मादमा जाने र अतिहुँदा बिर्सने रोगले ङ्याक्नसक्ने घटनाहरू भएको तथ्य नेपालमा पनि प्रसस्त हुँदैगएको छ । बेलैमा सामाजिक बरव्यवहार सच्च्याउँदै अहिले मौलाउँदो अर्थउन्मुख व्यक्तिवाद र चरम निजीस्वार्थका अमानविय संस्कारमाथि बेलैमा सङ्गठित प्रहार गर्नै पर्छ । ‘कलियुगे सङ्घे बल !’ यस अर्थमा प्रयोग गर्नु उचितै होला, होइन र ? उमेरिएका पाका मान्छेको ज्ञान, सिप र अनुभवलाई आदरणिय मान्ने चलन स्थापित गराउन सकिए यो समस्याको हल धेरै मात्रामा सहजै हुने ठहर पाकाहरूकै तर्फबाट आएको छ । लौ, हामी पनि यो मानविय काममा लाग्न ढिला नगरौँ है !

०००
भदौ २८, २०८१
चालिसे डाँडा, ललितपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाको मान्छेका तथ्य कुरा बुझौँ

पाको मान्छेका तथ्य कुरा...

डा. मुकेशकुमार चालिसे
पाका मान्छेमा अलमल !

पाका मान्छेमा अलमल !

डा. मुकेशकुमार चालिसे
हामी हेपिने मान्छे हो र ?

हामी हेपिने मान्छे हो...

डा. मुकेशकुमार चालिसे
बृध्दभत्ता– पहेँला अक्षता कि पिण्ड हो ?

बृध्दभत्ता– पहेँला अक्षता कि...

डा. मुकेशकुमार चालिसे
कसरी पाटी बन्दैछन् घरहरू… ?

कसरी पाटी बन्दैछन् घरहरू…...

डा. मुकेशकुमार चालिसे
हामीलाई एकै नापो काम लाग्दैन है !

हामीलाई एकै नापो काम...

डा. मुकेशकुमार चालिसे
वृद्ध हुन् कि वा युवा…

वृद्ध हुन् कि वा...

कविराज घिमिरे
पाको मान्छेका तथ्य कुरा बुझौँ

पाको मान्छेका तथ्य कुरा...

डा. मुकेशकुमार चालिसे
पाका मान्छेमा अलमल !

पाका मान्छेमा अलमल !

डा. मुकेशकुमार चालिसे
हामी हेपिने मान्छे हो र ?

हामी हेपिने मान्छे हो...

डा. मुकेशकुमार चालिसे
0
Would love your thoughts, please comment.x
()
x