सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

उमेरिएकालाई ढाड-कम्मरको दुखाइ !

शरीरलाई ठड्याउन मद्दत गर्ने अङ्ग मेरुदण्डको भाग नै हो । गर्धन दाहिने-बायाँ तलमाथि मण्टो हल्लाउन सकिन्छ र कम्मरका भाग पनि मच्चि-मच्ची हल्लाउन, नाच्न सकिन्छ । यो लचकदार चरित्र हाडका टुक्राका बिचमा चकटी भएका कारणहरूले हो ।

Nepal Telecom ad

डा. मुकेश चालिसे :

बढि उठबसको काम गर्ने, मेरुदण्डमा बलपर्ने खेलकुदमा रमाउने, बसाइको तरिका अप्राकृतिक किसिमले कुप्रिएर बस्ने हिँड्ने तथा बयस्कमा बढी तौलका उचाल्ने-थचार्ने काम गर्ने मानिसको पछि उमेरिदै जाँदा नशाहाडको रोगबाहेक सामन्यतया ढाडको दुखाइले पीडा हुन सक्छ । हुन त, नेपालमा धेरैले ‘पाको उमेरमा ढाड दुख्नु कुन अनौठो हो र ? बुढ्यौली लक्षण निहुरिएर बस्ने र हिँड्नै त हो, हैन त ?’ भनेर मनचित्त बुझाउँछन् । वास्तवमा कम्मर र ढाडको पीडा संसारमा करोडौँ पाका र लाखौँ बयस्क मानिसहरूमा हुने ‘सर्वकालिक लेखानकै’ रोग तथा समस्या नै हो । हार्वाडको प्रकाशन गृहबाट हालै निस्केको हेल्थबिट अङ्कमा ढाडको तल्लो भागको दुखाइलाई केबल जीउ तन्काउने र मांसपेशीहरूलाई सामान्य उपयुक्त व्यायाम गरिनाले पनि निकोपार्न सकिने भनिएको छ । कडा-कडा पीडानाशक ओखती खाएर एकछिन दुखाई घटाउन सकिएला तर यस्ता ओखतीले भित्र्याँसमा अतिरिक्त हानी गर्ने र अन्तत मिर्गौला काम नगर्ने लगायत अरु असाध्य रोग निम्त्याउन सक्छ । त्यसोहुनाले कसरतमै जोड दिने आशयसहित सक्दो व्यायामलाई प्राथमिकता दिन पाका मान्छेलाई सतर्क हुन जोडसहित सल्लाह प्रस्तुत गरिएको छ ।

बेतारको अवस्थामा पनि अनलाइन वाइफाईबाट हार्वाडका विशेषज्ञहरूले क्रमैसँग एकपछि अर्को गरिने अभ्यासलाई चित्रसहित जानकारी पनि दिएका र बिरामी तथा उत्सुकहरूलाई कक्षा लिन पनि समर्थ भएका छन् । त्यस्तो समस्या भएका पाका महिला र पुरुषलाई त्यस्तै पीडामा पर्न खोजेका तथा परेका बिरामीलाई कसरत गराएरै आराम मिलेको वा पूर्ण निर्मूल भएका पनि छन् । भनेअनुसार गरेका ढाड-कम्मरका बिरामीका प्रयाशले पीडालाई जित्न र सफलताकासाथ सुरक्षित रहन त्यस पाठ्यक्रमले निकै सघाएको अनुभवी बिरामीहरूको रहेको पाइएको छ । गोडाको त्यस्तो अभ्यासले कम्मरका हाड जोडिने पाङ्ग्रे डिस्क र त्यसको सुचारु सञ्चालनको लागि बिचमा रहेका कुडकुडे हाडको चकटी खुस्किएको, बाहिर निस्किएर गाँड परेको भागमा चल्दा हुने झमझम पोल्ने अवस्थामा बाउँडिने, चहलपहल गर्दा दुख्ने भएकोसमेत निको हुने प्रमाणित भएको छ ।

त्यसपछि निको नभए थप उपचार गर्नुपरेमा पनि चिकित्सकलाई बाटो खुल्नसक्ने भनिएको छ । त्यस्तो अवस्थामा बिरामी तथा चिकित्सकले उपचारमा मालिस, थेरापी, सियोघोच्ने अकुपङ्कचर वा अकुप्रेसर गर्नसक्छन्, त्यसोगर्दा पनि नभए शल्यक्रिया मार्फत जोर्नी मिलाएर खिया नलाग्ने धातुका तारले उनेर प्राकृतिक अवस्थामा कम्मरका जोर्नी बनाइदिएर रोगबाट मुक्तिदिन सक्छन् ।

तन्काउने बलियो पार्नेः
सबैभन्दा राम्रो उपाय भनेको कम्मर दुख्ने/ढाडदुख्ने पीडालाई हटाउन उचित तरिकाले ढाडका मांसपेशीलाई कसरत गरेर पूणर्रुपले बलियोसाथै क्रियाशील बनाउने अभ्यास नै हो । शरीरमा बलिया र लचकदार मांसपेशी हतपती आफूसहित जोडिएका हाडजोर्नीलाई नोक्सानी नपुर्‍याई सुरक्षा प्रदान गर्ने प्रमुख मद्दतगार भाग हुन् । त्यसैले ढाडको मांसपेशी बलियो भइरहनु ढाड नदुख्ने पारिरहने पहिलो शर्त हुनआउँछ । त्यस्तै भित्री मासपेशी तन्किने र बलियो भइरहने खालको हुनु पनि आवश्यक हुन्छ । यसो हुँदा मात्रै मेरुदण्डलाई कष्टबिहिन अवस्थामा गतिविधि गर्न, बाङ्गिन र सोझिन सहज हुन्छ । त्यसैले मांसपेशी तन्किने र बलियो बनाउने नियमित अभ्यासको क्रममा ढाड, पेट, पुच्छभाग र गोडाका मांसपेशीको अभ्यास भएमा समग्र शरीरको तल्लो भागमा हुने दुखपीडाहरू समन हुन सक्छन् । सामान्य देखिने र घरकोठामा नै गर्न सकिने गोडाका अभ्यासले मांसपेशी बलियो बनाउन सजिलै सकिन्छ भने शारीरिक कमजोरीले दैनिक गर्न नसकेमा दिन बिराएर गरेर कसरत सुरु गरी हाल्नु बाञ्छनिय छ ।

१. घुँडादेखि छातीः
हेल्थबिटले प्रशारित गरेको कसरी तनक्क उत्तानो परेर पालैपालो खुट्टा कति उठाउने भनी दिएको चित्रले गर्नुपर्ने अभ्यासको बारेमा धेरै जानकारी पाउन सकिन्छ । पहिला सादा धरातलमा तनक्क जीउलाई तन्काएर उत्तानो सुत्नुहोस् । त्यसपछि घुँडामा दुबै हातले समातेर एउटा गोडा खुम्च्याएर छातीमा जोड्न कोशिस गर्नुहोस् अनि अर्को टेकिएको गोडा खुम्च्याएर घुँडा माथि उठेको आकारमा राख्नुहोस् । दुबै हातले तानेको गोडाको पाइताला अर्को टेकेको गोडाको घुँडाको बराबर उचाइमा राखिरहनु होस् । यसरी एउटा गोडाको अभ्यास कम्तीमा दश सेकेण्ड उचालेपछि अर्को गोडाको पनि त्यस्तै अभ्यास गर्नुहोस् । यस्तो जोडी अभ्यास सुरुका दिनमा कम्तीमा एक गोडालाई दश पटक गर्नुहोस् र सकेमा बढाउँदै गर्दा झन चाँडै राम्रो हुँदै जान्छ । यो अभ्यास गर्दा शरीरमा कहिँ दुखेमा जति सकिन्छ त्यति गर्दै बिस्तारै आउँदा दिनमा गराइको पटक बढाउँदै जाँदा पनि हुन्छ ।

२. कम्मर सुताउनेः
पाका महिला र पुरुषहरू उमेरिदै जाँदा शरीर पनि कसैको मोटाइले र कसैको कडा कामसँगको कुस्ती खेलाइले मानिसको शरीर बाङ्गोटिङ्गो भएको हुनसक्छ । त्यसैले उत्तानो सुत्दा र पल्टँदा धेरैको कम्मर भुइँमा सपक्क नमिली अररो भएर कठपाउजस्तै माथिपट्टि गएर हात छिर्ने गुम्बज बनेको पाइन्छ । ढाड र फिलाको भागले छोए पनि कम्बरले भुइँमा नछुनेजस्तो भई मेरुदण्ड बाङ्गिएको हुन्छ । यसलाई प्राकृतिक बनाउन खोज्दा पाका महिला र पुरुषहरूलाई शरीरमा एक किसिमले मेरुदण्डमा आराम भई कम्मर दुख्ने पीडामा राहत पाएर सञ्चो लाग्छ । सोझै उत्तानो पल्टँदा बाङ्गिएको कम्मर भागमा दुख नै हुन्छ, त्यसैले दुबै खुट्टा जाँघतिर सारेर कम्मरलाई भुइँमा लेपस्याउन खोज्दा कम्मरको व्यायाम पर्याप्त पुग्छ । यसरी कम्मरलाई जमिनको सतहसँग मिलानगरी कम्तीमा दश सेकेण्ड राख्न कोशिस गर्नुपर्छ अनि फेरि बिस्तारै खुट्टा लम्पसार पारेर आराम गर्नेगरेमा कम्मरको कसरत पुग्दो हुन्छ । यस खालको व्यायाम एक पटकमा कम्तीमा दश पटक गर्नु राम्रो हुन्छ भने सकेसम्म बढाउँदै लगेमा निकै फाइदा भई रोग वा कम्मर दुख्ने समस्या चाँडै निको हुन्छ ।

३. घुँडा बटार्नुः
पहिला आराम हुने गरेर उत्तानो पल्टनु पर्छ, पल्टेकै क्रममा घुँडा बटार्न जाङ्घ उहि स्थानमा राखी दुबैगोडा दुबैतिर लैजाने र सकेको ठाउँसम्म पुगेर रोकिराख्नु पर्छ । यसो गर्दा फिला अलि-अलिमात्र हल्लिन्छ भने घुँडामुनि त मज्जाले हल्लिन पाउँछ । यस्तो अभ्यास सकेको गर्ने र त्यही अवस्थामा रही आराम गर्न उत्तानो लमतन्न परेर गर्न सकिन्छ । अनि चित्रमा देखाएझैँ एउटा खुट्टा उचालेर घुँडामा दुबै हातले समाती अर्को खुट्टा सोझो सुताइराख्ने गर्नुपर्छ । सुताएको गोडा नहल्लाई घुँडा उचालेको गोडालाई कहिले दायाँ र कहिले बायाँ बल लगाई लैजान खोज्नुपर्छ । यसले पिँडुला, घुँडा, फिला र जाँघसम्मका मांसपेशी र नसाहरू एकै पटक तन्काइले तन्याक-तुनुक भएर पुरा गोडा नै दुखाइबाट मुक्त हुन सुरु हुन्छ । यसै क्रममा माथि उठाइएको गोडाका गोलिगाँठा, कुर्कुच्चा र पाइताला एकै पटक घडिको सुई जसरी घुमाउँने गर्नुपर्छ । यसले पाइताला चलायमान भएर हिँडडुल गर्दा पिँडुला मुनिका जोर्नी भागका मांसपेशी साथै गोलिगाँठाका हाडका टुक्राहरू तथा पाइताला माथिरहेका औँलामा पुग्ने मांसपेशी र हाडहरूले उपयुक्त व्यायाम पाएर दुख्ने पोल्ने रोकिन थाल्छ । यस्तो हरेक अभ्यासलाई कम्तिमा दश सेकेण्ड कायम गरेपछि हरेक पटक थकाइमार्ने गर्नुपर्छ तथा हरेक अभ्यास एउटा गोडाको कम्तिमा दश पटक गर्ने र बढाउन सके बढाउनु दुखाइलाई चाँडै खलास पार्ने उपाय हो ।

४. पुल बन्नुः
लमतन्न उत्तानो पल्टने अनि, साँघु वा काठे फडकेजस्तो आकारमा जीउ र कम्मर बनाउन प्रयास गर्नेलाई पुल बन्न खोजेको भनिन्छ । त्यसो गर्न पहिला आरामसाथ शरीर उत्तानो र सोझो बनाउनु पर्छ । त्यसपछि एउटा होचो तकिया वा चकटी टाउको मुनि राख्नु पर्छ । त्यसपछि बिस्तारै हातका पञ्जा भुइँतिर पारेर दुबै हात कम्मर बराबरमा राखेर पल्टने र दुबै गोडा पाइताला नउठाई घिसार्दै सक्ने ठाउँसम्म जाङ्घतिर ल्याउनु पर्छ । अनि एकछिन त्यहि अवस्थामा आराम गरेर पहिले जति सकिन्छ वा कम्मर चारपाँच इन्च उचाल्न कोशिस गर्नुपर्छ । त्यतिमा नै कम्मर नखसाली केहिबेर कायमै राख्नु पर्छ । यो प्रयास बढाउँदै जाँदा घुँडा र छातीको भाग उठेको र पेटकम्मरको भाग साँघुको सोझो फलेक जस्तै पार्न सकिन्छ । यस्तो अभ्यास पहिले कम्तिमा दश पटक गर्ने र पछिपछि जतिबढि सक्यो त्यति बढिगर्दै नथाकेसम्म गर्नुपर्छ । कम्मर र पेटको भाग सकेको उचालिँदा सोझो फलेक आकारमा घुँडा छाती बराबर उचालिने हुनसक्छ । त्यसैले, यसप्रकारको व्यायामलाई पुल आसन भनिएको हो । यो व्यायाममा अरु आसन जस्तै हरेक अवस्था र गतिविधि बिस्तारै तथा थकाई मारी-मारी गर्नुपर्छ साथै गरेर पुर्‍याइएको अवस्थामा कम्तीमा दश सेकेण्ड राख्ने प्रयास गर्नुपर्छ । एउटा व्यायामको लागि जसो गरेर सुरु गरी पुगेको हो, त्यसै अवस्थामा अङ्गहरू भइरहनु पर्छ र केहि क्षणमा नसके पुन सुरुकै अवस्थामा फर्कनु पर्छ । बल गरेर गर्ने होइन बरु गर्ने तरिकालाई दोहोर्‍याएर प्रयास गरिरहनु पर्छ ।

दुखेपछिः
ढाड-कम्मर दुख्न थालेपछि केहि दिन घरेलु उपचार तथा भनिएका व्यायाम गरेपनि निको नहुने र अझ बढ्ने भएमा तुरुन्तै विज्ञ चिकित्सकसँग परामर्श लिनु रोग खुट्ट्याउने सजिलो उपाय हो । ढाड-कम्मर पीडा हुने कारणमा कुनै-कुनै व्यायामले झन बढी पीडा बल्झिनसक्ने पनि हुनसक्छ । उदाहरणमाः शरीरको तल्लो भागमा स्नायुरोग सियाटिका भएकालाई कुनै व्यायाम र सामान्य गतिविधिले रहेको अवस्थामै पीडा पनि बढ्ने तथा अवस्था झन खराव हुनसक्छ । नसकिने, जीउले नथाम्ने र दुख्न बढाउने व्यायाम गर्नाले राम्रो हुन्छ भन्ने नाममा बल गर्नु हुन्न । बरु, हुन्छ नै भन्नेछ भने शरीरलाई अप्ठ्यारो नपर्ने गरेर बिस्तारै व्यायाम धेरै दिनसम्म नियमित गर्नतिर लाग्नुपर्दछ । यसले पीडा कमगर्दै नियमित अभ्यासको फलस्वरुप मांसपेशीहरू पनि बलियो हुँदै जान्छन् । त्यस क्रममा अति दुखाइ कम हुँदै घट्दै गएको हुनाले कम्मरको समस्या निको हुने लक्षणस्वरुप नियमित व्यायाम गरिरहनु नै पर्छ, नभए गर्नुहुन्न । यस्तो कसरत सहज बनाउन बिहान चाँडै उठेर घर-आँगनमा सकेको ठाडो भएर बिस्तारै हिँडडुल गर्दा सहयोग पुग्दछ ।

कम्मरको दुखाइ त्यतैको मांसपेशी लट्ठिएर, बाउँडिएर, तन्किएर वा खुम्चिएर भएको रहेछ भने माथि भनिएका जस्ता कसरतले निको पार्न सक्छ । ताइचि, योगाभ्यास, निश्चल एकचित्त हुने तरिकाले केहि समय एकाग्र भई अभ्यास गर्नाले अघिदेखि भएका मानसिक तनाव र ऐँठन सिर्जित दुखाइबाट उल्लेखनिय रुपले छुटकारा पाइने अनुसन्धानले प्रमाणित गरेको छ । फेरि कसरत ठिक तरिकाले नगरी बल लगाएर मांसपेशी तन्काउने साथै हाडजोर्नीमा दखल पर्ने गरेर बेस्सरी झटकाल्ने वा द्रुतगतिमा उल्टोपुल्टो गर्ने अभ्यासले चाहिँ घाउचोट भई नोक्सानी गराउन सक्छ । ध्यानपूर्वक सुस्तसुस्त गरिएको अभ्यास कामलाग्दो हुन्छ भने निको गराउन छिटो तथा तन्तु, अङ्ग र जोर्नीमा बेमाख हुने किसिमले गर्दा नोक्सानी पो हुनसक्छ । हेक्का रहोस्, भिटामिन सि खाँदा निको हुन्छ भन्दै ज्वरो, खोकी र घाँटी दुख्दा ‘ओखती छैन भिटामिन सि त काठेज्यामिरमा हुन्छ भनि खाने उपबुज्रुक’ जस्तो भइएला है ! अनि कसरत र विविध व्यायामकै बेइज्जत पनि हुने, आफ्नो दुखाइ बढ्ने काम नगरौँ ! बरु दुखाइ कम गराउने लेप लगाएर तातो चिसोले सेक्ने गरेमा हैरानी घटाउन मद्दत गर्ला कि ? त्यतातिर प्रयास गरौँ न !

दुखाइबाट बचावटः
वास्तवमा ढाड-कम्मर दुखाइ धेरै भएमा ओखती गरौँला भनेर पर्खिनु हुँदैन । सुरुवातमा नै दुखाइको रोकथाम तथा बचावटका उपाय गर्न थालिहाल्नु पर्छ । अति भएपछि ओखती गर्न र निकोहुन निकै समस्या हुन्छ भने बेलैमा रोकथाम गर्न सजिलो हुन्छ । हिजोआज विभिन्न अनुसन्धान भएर ढाढ-कम्मर दुख्न थाल्दै बचावटका विभिन्न तरिकामा आफूलाई फाप्ने खालका कसरतसाथै भनेको जसरी काम गर्ने तरिका लागुगरेमा यस्ता दुखाइका समस्याबाट पार पाउन सकिन्छ । सामान्यतया आफ्ना दैनिक काम गर्ने विधि र क्रियाकलाप स्वास्थमैत्री भएमा भित्रिने रोगबाहेक भौतिक-शारीरिक क्षति हुने अवस्था निकै पाको उमेरसम्म पनि नहुने हुन्छ । उचित स्वास्थ सँरक्षण भनेको ‘आफ्नो जीउ साँच्ने लुच्चो हुनु’ कतै होइन, न यस्तो सचेतनता ‘दुध लुकुवा बस्तुभाउ हुनु’ नै हो, यस्तो सोचाइ र व्यवहार नितान्त व्यक्तिवादी डरछेरुवा प्रबृत्ति वा ‘मै खाउँ मै लाउँ सुख-शयल वा मोज म गरुँ’ पनि होइन । उमेर छँदै वा उमेरिदा स्वस्वास्थमा सचेत हुनु त आफैँ, परिवार र इष्टमित्रलाई दुख नदिने सरल उपयुक्त सदबिचार हो ।

क) सामान उठाउनेः
कुनै सामान, भोला पोको वा पानी भरिएका भाँडा उठाउँदा र बोक्दा गोडामा बल पर्ने गरेर उठाउनु पर्छ, बिर्सेर पनि ढाडमा बल पर्ने गरेर कुप्रो भएर नउठाउने, नबोक्ने गर्नु राम्रो हुन्छ । यसरी गर्न आफ्नो घुँडा अगाडिपट्टि बङ्ग्याएर तथा ढाडचाहिँ सोझो वा ठाडै रही सामान उठाउने बानी गर्नु कम्मरमा दुखाइ नहुने तरिका हो । कुनै पनि बल पर्ने तौल उठाउन खोज्दा पहिला त्यस सामानको नजिक गई शरीरसँगै बस्तु भएपछि पेटका मांसपेशीलाई दह्रो बनाएर खुट्टाको बलले सामान उठाउँदा कम्मरमा असर गर्दैन । यसो हुँदा उचाल्ने, बोक्ने र अरु काम गर्दा पुरा ढाड नै सुरक्षित हुन्छ र दुखाइ निम्त्याउँदैन ।

ख) शारीरिक मुद्राः
मानिसहरू लाज मानेर, धक मानेर वा बानी नै मुण्टो निहुर्‍याएर हिँड्ने र कोहीकोही त सानै उमेरदेखि नै कुप्रिएर हिँड्ने, बस्ने र दौडने गर्दछन् । त्यसबाहेक ढाड-कम्मरका समस्याले पनि टाउको झुकाएर र कुप्रिएर बस्ने, हिँड्ने र पल्टँदा पनि जिऊ बाङ्गो बनाएरै सुत्दछन् । यो एकदमै ढाड बिगार्ने नराम्रो बानी हो भने बानी नै भए पनि अब सकेसम्म ढाडलाई सोझो बनाउने शारीरिक मुद्रा बनाउन थाल्नु ठिक हुन्छ । मेच, कुर्सी, चोटाकोठा र सवारी साधनमा बस्दा सँधै मेरुदण्ड ठाडो पारेर बस्ने तथा हिँड्ने बानी गर्नुपर्छ । अडेसलाग्ने पछाडि ठाउँ भए ठाडो ढाड पार्ने गरेर पेलिएर बस्दा दुख्ने मेरुदण्डलाई आरामी मिल्छ । पाका मान्छेमा त यसैकारण अडेसो लगाउने प्राय बस्दा कुनै बस्तु पछाडि राख्न माग्ने चलन नै छ । पढ्नु भएन र तपाइँले भैरव अज्र्यालको मान्छे खिइने हास्यव्यङ्ग्यमा ‘उमेरिएकी हजुरआमा नवजात शिशु हेर्न आउँदा पछाडि अडेसा लाग्न मस्याङको गेडो’ मागेकी थिइन् नि !

उत्तानो सुत्दा कम्मरले थिचिएर झोलुङ्गो पर्ने खालको नरम ओछ्यान हुनुहुन्न बरु ढाडलाई सोझ्याउने कडा र नबिझाउने राख्नु कम्मर दुखाइ नगराउने उपाय हो । त्यस्तै हिँड्दा र बस्दा कुम नलच्काई सधैं मुण्टो ठाडो बनाउनु पर्छ भने त्यसरी ठड्याउँदा बानी नहुञ्जेल मांसपेशी लाटोजस्तो भई गाह्रो हुन सक्छ । त्यसैले लामो बसाई र हिँडाईको अवधिमा बेलाबेला शरीरलाई थरक मार्न बल नपर्ने आरामी स्थितिमा बनाउनु पर्छ । बसेर गरिने काममा व्यस्त रहँदा नियमितरुपमा बेलाबेला उठेर कोठामै पनि एक चक्कर लगाएर पुन काममा बस्नु पर्छ ।

ग) शरीरको तौलः
हरेक मान्छेको उमेर अनुसार निश्चित तौल हुनुपर्छ । तौललाई प्रभाव पार्ने बाह्यकुरामा दैनिक गतिविधि र खानपान अवस्थाले निकै हस्तक्षेप गरेको हुन्छ । स्वास्थ्य राम्रो पार्ने नाममा नवधनाढ्यका परिवारमा कोचिकोची, गरिष्ट बस्तुबाट स्वादिष्ट पकवान खाने चलनले त्यहाँका सदस्यहरू पाउरोटी उक्सेझैँ मोटा देखिन्छन् । त्यस्ता मानिसहरू शारीरिक श्रमको अभावमा भित्रिएका तौल बढाउने बस्तुहरू संश्लेषण नभएर थुप्रिन थाल्छन् र विभिन्न रोगहरू उत्सर्जन भएका हुन्छन् । यस्तो पस्थितिमा झन पाका मान्छेहरू तौल बढेर मोटोपनको शिकार हुन्छन् । शरीरको सबै बोझ कम्मरमुनिको गोडामा परिरहेकोले त्यसको असर मेरुदण्ड र गोडाहरूलाई भई अङ्गका आकार नै अनमेल देखिन थाल्छन् । त्यसपछि त अथुल्ल्याएका मांसपेशीहरू बिनाकामका हुन्छन् र शरीरको जर्‍याक-जुरुक कार्य गर्न असमर्थ भई आफ्नो शरीर आफैँका लागि बेढङ्गको बोझ हुन्छ । यस्तो अवस्थामा ठाउँ अनुसार गर्नुपर्ने काम नगरेर विभिन्न हाडजोर्नीमा समस्या बढ्नुकासाथै ढाड-कम्मर अररो भएर दुखाइ निम्त्याउँछ । उमेरिदा त्यसैले स्वस्थ शारीरिक तौल कायम गर्नु अरु उमेरसमुहका साथै पाका मान्छेकालागि अति आवश्यक छ ।

१. सकृयताः धेरै रोगहरूमा काम लाग्ने रामबाँण भनेको सकेसम्म सधैं शारीरिक सकृयता कायम राखिरहनु हो । यसले मानसिक सकृयता र रोगहरूसँग लड्ने प्रतिरोधी क्षमतामा पनि बिकास गरिरहेको हुन्छ । विभिन्न गतिविधिले उमेरिदा लाटो हुने, अररो हुने र उचित तन्काइ-खुम्च्याइको अभावमा ढाडका मांसपेशी बेकामे बनाउँदै कुप्रिने सम्भावना घटाउँनु साथै त्यो मांसपेशी बलियो बनाउँछ । हफ्तामा कम्तिमा एकदुई पटक अलि मिहेनतीलो हिँडाइ र भित्र्याँसलाई प्रभाावित गर्ने करिब दुइअढाई घण्टाको कसरत गर्ने पनि कोशिस गर्नुहोस् । माथिका व्यायाम लगायत यसो गर्नाले तपाइँको ढाड-कम्मर बलियो र लचकदार बनाई बलियो हुन्छ ।

२. पोषक पदार्थः क्याल्सियम र भिटामिन डि हाम्रा हाडजोर्नी बलियो र मजबुत बनाउन अति आवश्यक पदार्थ हुन् । खानेकुरामा त्यस्ता पदार्थ बढि भएका सागपात र अन्न खान नछोड्नु होस्, यसले हाडजोर्नी खिइने काम रोकथाम गर्छ । यसो नगरेमा ढाड-कम्मरका हाड खिइने र दुइ हाड बिचका लचिला चकटी पातलो भएर हाड जुध्ने वा नसाहरू बिग्रिने भएर ढाड पुरै दुख्ने हुन्छ । समस्या आउन थालेपछि विज्ञको सिफारिसमा दैनिक वा साप्ताहिक नबिराई ओखती खानु लाभदायक हुन्छ ।

३. धुमपानः धुमपानमा भित्रिने धुवाँ र बिभिन्न रासायनिक पदार्थहरूले ‘राम्रो केहि नगर्ने तर नराम्रोगर्ने असङ्ख्य’ भनेर अनेकौँ अनुसन्धानका परिणामहरूले देखाएको छ । त्यसैले तुलनात्मक परिक्षणमा धुमपानका पारखीभन्दा धुमपानको लत नबसेकामा ढाड-कम्मरका समस्या कमभएको पाइएको छ । अझ विभिन्न कारणले सानैदेखि धुमपान गरेका महिला पुरुषमा हाडका समस्या बढि हुने खतरा उमेरिदा बढि भएको देखिन्छ ।

अन्त्यमा,
शरीरलाई ठड्याउन मद्दत गर्ने अङ्ग मेरुदण्डको भाग नै हो । गर्धन दाहिने-बायाँ तलमाथि मण्टो हल्लाउन सकिन्छ र कम्मरका भाग पनि मच्चि-मच्ची हल्लाउन, नाच्न सकिन्छ । यो लचकदार चरित्र हाडका टुक्राका बिचमा चकटी भएका कारणहरूले हो । कम्मरमा भएका पाँचओटा हाडका टुक्रा एकआपसमा चकटीको ग्वाँखले जोडिएका हुन्छन् । दुखाइ नहुन चकटीले महत्वपूणर् योगदान दिएको हुन्छ तर त्यो भाग खिइएमा मेरुदण्डका हाडहरूमात्र होइन स्नायु, हाड जोड्ने तन्तु र कम्मरका मांसपेशीहरू सबैमा चोटपटक लाग्नसक्छ । त्यतिमात्र होइन स्नायुप्रणाली गुजुल्टिने, टुक्रा हाडहरू मेरुदण्डको आकारमा बस्नेभन्दा एकातिर चिप्लिएर गाँड आएझैँ हुने साथै माँसपेशीका मुस्ला अररो भइ एकातिर कैँडा परेर रहने हुन्छ । यसले ढाड र कम्मरका असह्य दुखाइ तथा नोक्सानी गराइ पाका बुढाबुढी बार्‍ह हातका पटुका बाँध्दा पनि ठडिएर हिँड्न नसकेको त्यसैले हो । दुख सहँदै लौरो टेकेर वा कम्मर टन्काउने कम्मरपेटी वा पटुका कसेर नबसौँ, रोग नपालौँ ! बेलैमा आफ्ना समस्या विज्ञलाई पहिचान गराएर निराकरण गरौँ, निरोगी पाको जीवन बनाउन हामी बाठा छौँ, हैन त ?

०००
असोज १८, २०८१
चालिसे डाँडा, ललितपुर

Fitkauli Publication Books comming soon
Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
युगल बसेल
युगल बसेल
3 months ago

यश आलेखमा व्यायाम गरेको अवस्थाका चित्र हुनु अनिवार्य थियो

Nepal Telecom ad
पाका मान्छेमा पिनासका समस्या !

पाका मान्छेमा पिनासका समस्या...

डा. मुकेशकुमार चालिसे
उमेरिदा नातागतको पिर र सतर्कता !

उमेरिदा नातागतको पिर र...

डा. मुकेशकुमार चालिसे
पाकाको गोडा, जुत्ता र व्यायाम !

पाकाको गोडा, जुत्ता र...

डा. मुकेशकुमार चालिसे
उमेरिदा भोग्ने निधनका पीडाहरू !

उमेरिदा भोग्ने निधनका पीडाहरू...

डा. मुकेशकुमार चालिसे
पाका मान्छेमा पिनासका समस्या !

पाका मान्छेमा पिनासका समस्या...

डा. मुकेशकुमार चालिसे
उमेरिदा नातागतको पिर र सतर्कता !

उमेरिदा नातागतको पिर र...

डा. मुकेशकुमार चालिसे
पाकाको गोडा, जुत्ता र व्यायाम !

पाकाको गोडा, जुत्ता र...

डा. मुकेशकुमार चालिसे
उमेरिदा भोग्ने निधनका पीडाहरू !

उमेरिदा भोग्ने निधनका पीडाहरू...

डा. मुकेशकुमार चालिसे
1
0
Would love your thoughts, please comment.x
()
x