उमेरिदाको हबिगतमा केही ओखती !
दल नाइकेहरूले बुझ्नु पर्छ भित्रीमुराद बुझेका युवा त तपाइँहरूका अह्वानमा जुलुशमा आउन छाडे, पाकाहरूले उहिल्यै बुझेर साथदिन छाडिसकेका छन् ।
डा. मुकेश चालिसे :
नेपालमा उमेरिएका ज्येष्ठ नागरिक मानिने औशत उमेर साठी वर्ष भए पनि सरकारी दया-भत्ताको पहेँला अक्षेता पाउन अझै नौ वर्ष कुर्नुपर्ने घिडघिडो बाँधिएको छ । किन होला ? चित्तबुझ्दो र मानविय प्रतिउत्तर घुम्ने मेचमा बस्नेले दिन सके आठौँ आश्चर्य नै हुनजानेछ । हरेक तजबिज तदर्थ र थामथुममा टिकेको, आफू तथा आफन्तको नाफामा अल्झेको प्रबृत्ति मुलाधारमा गुजिल्टिएको समाजमा काराबारीहरूको हैकम कति उचित होला र ? समाजका केहि गर्न नसक्ने, शारीरिक र मानसिक कमजोर साथै उमेरिएकाको बिजोक र जङ्गली बन्यजन्तुहरू हेर्न प्राय पर्यटक नेपाल आएको आशङ्का बढि लाग्छ । दुबैको स्थिति तथा अवस्था निरिह, हतास, अभावले सग्ला-बलियासँग जम्काभेट हुँदा तर्सिने, डराउनेभई उससँग उम्कन छेउलाग्ने स्वभाव बनेको पाइन्छ । अहिले हाम्रो समाजमा बढ्दै गएका पाका मान्छेको सङ्ख्याले, स्वर्गको मजा चाख्न विदेश हिँडेका घटाउँदा नेपालभित्र बाँकिरहेका कुल जनसङ्ख्यामा आधानाघ्ने स्थिति देखापर्दैछ । चुनावको हवाई गफमा केहि दिन अघिदेखि विभिन्न दलले आफ्नो हैसियत गुणमा होइन सङ्ख्यामा देखाउन लाखौँ सदस्य भएको आँकडा भने तर ‘शक्ति प्रदर्शन, जनजागरण’गर्दा हजारौँको भेलाले झुट्ठा सावित भएथ्यो । बुझेर चल्ने उमेरिएकाको अनास्था र सत्ताको मोजलुटन धाक लगाउनेका फोस्रो गफनै प्रमाणित भए ।
जिम्बेवारले बडो गुन लगाएझैँ गरेर बाँडिएका भत्ताको व्यवस्था पनि अवैज्ञानिक दृष्टिबाट प्रभावित नियमले गर्दा अशक्त त पहुँचबाटै टाढा छन । सक्ने लरखराउँदै केन्द्रमा पुग्ने पनि, हकले पाउने नभई सदावर्ते चन्दा लिएझैँ तँछाडमछाड गर्दै कनिका थाप्न कुस्तिको स्थिति भएको महसुस गरेका छन् । अनि सरकारले अनुत्पादक जनशक्ति भनि एक्ल्याएर नगन्ने अवस्थाकालाई सामाजिकरुपले कसरी उत्थानगर्न सकिएला ? उमेरिदा पहिले जानेका शिप, बुद्धि र अनुभव प्रयोग गर्न दिने राजनीतिक प्रणाली नभएका ठाउँमा एक पटक सेवानिबृत्त वा ज्येष्ठ नागरिकको छाप लागेपछि घरकाले त बिस्तारै दुइ छाक खान बोलाउनसमेत ढिलो गर्न थाल्छन् । त्यसक्रममा पाका मान्छेहरू आफ्ना समस्या पनि आफन्तलाई भन्न नसक्ने तथा एक्लोपनको उराठिलो जीवनका पीडा अरु सुनिदिने कोहि भेटिए बिरहका साथ रसिला आँखासहित भक्कानिएर भन्न सक्छन् । कठै भनिदिने, मायाले सुम्सुम्याइदिने, दयाले नजिकपरी उनीहरूका भोगाई धर्यतापूर्वक बुझिदिन पाएमा बाँध फुटेझैँ सबै पिरलो कोक्किँदै एकैपटकमा भनि सक्छन् । आफन्तको ओठेजवाफको रन्कोमा परेका, देशकै रजाइँमा मूल तहबिलको साँचोधारी परचक्रीका गोठालाहरूले उनीहरूलाई नहेर्ने क्रियाहालेका भएपछि नेपालकै एकतिहाई बढि एक्लोपनका शिकार पाका मान्छेका पङ्क्ति के गरुन् ? भयङ्कर एक्लोपनको अत्त्याशमा जीवन बिताउन घरभित्रै बसे पनि चइनरहित सहन बाध्य भएका देखिन्छन् ।
अहिले उमेरिदाः
पाको उमेरमा सामाजिक व्यवहारमा तथा सरकारी सेवाबाट अनिवार्य अवकाशले कतिपय न्युन अवस्थाका उमेरिएका मानिस प्राय पीडाको थालनीमा ओह्रालो लाग्ने पाइएका छन् । अझै आफ्नो हैसियत र क्षमता कायम रहे पनि गलहत्त्याइका बिचराहरू बिसौँ-तिसौँ वर्ष एकथरिको दैनिकीमा चलेका पाका महिलापुरूष नयाँ परिवेशमा अनुकुलन हुन समय लाग्छ । निवृत्तिभरण पाउने र नपाउनेको निकै अन्तर हुन्छ भने इमानी बेइमानी, पदको अनुचित लाभलिने र नलिएमा पनि आर्थिक भिन्नता रहन्छ नै । शारीरिक कमजोरी र रोगव्याधले उमेरिएका पाका महिलापुरुषमा उमेरसमुहको कारण जुनसुकै आर्थिक अवस्थामा ङ्याक्ने त एकै किसिमले हो । अनि रहँदाबस्दा बुझक्की र मानविय मूल्यको हेक्काभएको परिवार बाहेक सबै खालका घरहरूमा दुखी, एक्लिएका दिन बिताउन बाध्य समुहमा नै उहाँहरू पर्नुहुन्छ । हो, आर्थिक अवस्था, छरछिमेकमा लाज, धक र निसन्तानको अवस्थाको कारणले भिन्न स्तरको पीडा देखिन सक्छ । समग्रमा पाका मान्छेहरू सामाजिक बनावट, आफ्नो चिन्तन र प्रबृत्ति अनुसार केही न केही दुखपीडा नै भोगिरहेका पाइन्छन् ।
आर्थिक अवस्था सबल हुने परिवारमा पाका मान्छेहरू आफ्नै र सन्तानकै आग्रहमा एक्लिएका छन् । उच्च शिक्षा तथा कमाइको लोभमा भएका घरजग्गा बेचेर साथै बचत रकमले पेलेर विदेश पठाउन उद्यत आजकालका बाआमा धेरै लागिपरेका पाइन्छन् । कलिलो किशाेरकिशाेरी उमेरका सन्तानहरू विदेशको फरक साँस्कृतिक मान्यता, चालचलन र ज्यालादारी आर्थिक प्रणालीलाई सहज तथा सजिलो ग्राह्य सम्झन्छन । त्यस्तै सिक्ने अल्लारे उमेरमा नै बानी परेपछि, त्यहाँको राम्रो, मातृभूमिका चालचलन प्रणाली नराम्रोमात्र होइन, ‘पुरानो चलन, अवसर नपाइने देश, कमाउन नसकिने मुलुक, कदर नहुने परिस्थिति’ भन्दै नाक खुम्च्याउँछन । त्यतिमात्र होइन आफ्नै गुहुमुत स्याहार्ने बाआमा असभ्य, पछि परेका र आफूलाई पुराना लागेको बान्ता गर्न समेत बेर लगाउन्नन् । उनिहरूको राम्रो पक्ष भनेको कमाएको छ भने बेलाबेला पैसा पठाउन सक्छन् र केहिदिन बाआमालाई नातेदारसँग कुरा गर्दा धाक लगाउन पोयो मिल्छ । बिस्तारै त्थसखालको क्रम चुँडिन्छ अनि ‘उतै घर किन्ने कुरा छ, केटाकेटी स्कूल पठाउन महँगो छ ! अङ्श पाउँने बेचेर पठाइदिनोस्’ भन्न बेर लगाउन्नन् । अति साह्रै निकट र सहृदयी सन्तान भएमा बेलाबेला केटाकेटी हुर्काउन तेलभिशा, शिसुकक्षा कै भए पनि ग्रेजुएट सेरेमोनीमा निम्त्याउन, केही वर्षमा बोलाइरहन सक्छन् ।
छोराछोरी त्यतै बस्ने मनभए बाआमा पहिलो-दोस्रो पटक त हाैसिएर जान्छन्, पछि गएर के गर्नु ? कुनै बहानामा बोलाए त्यो खास काम सकिएपछि छोराबुहारी काममा जान बाध्य हुन्छन्, यहाँजस्तो खासखुस गरेर हिँडन पाइन्न, जुन पार्टीको भए पनि काममा सहुलियत लिएर कर्मचारी सङ्घको मिटिङ छ भनि हाटा गर्न मिल्दैन । बाआमा बसेसम्म कि घरमा नबुझे पनि टिभी हेरेर बस्ने कि नजिकको बगैँचामा बसेर समय कटाउने, यी बाहेक काम हुन्न । एक महिना नाघेपछि कहिले आफ्नै रनबनमा फर्कौँ भनेर पो छोरा बुहारीलाई साँझ भेटनासाथ गुनासो गर्न थाल्छन् । अतिनै हुँदा अतिरिक्त पैसा तिरेर भए पनि छ महिना बस्ने भनेर गएका पाका मान्छेहरू दुइ महिनामा नै फर्किन्छन् । यता आएर धाकधक्कु लगाउलान् तर अर्को पटक जान मन गर्दैनन्, अनि दुखसुख एक्लिएर घर रुङ्गेर र काल पर्खिएर बसेका अभिव्यक्तिसाथ बाँचेका देखिन्छन् ।
आर्थिक अवस्था न्युन भएर परदेशिएकाहरू भएको जेथो बिचौलीयालाई बुझाई मलेशिया, अरब, कोरिया वा युरोप जहाँ गए पनि गर्ने त आखिर श्रमिक काम हो । अनि यहाँभन्दा बढि घण्टा श्रम गरेर एक्लो ज्यानले सस्तोमस्तो खोजेर खवाई, लवाई र बसाइले परिवार साथै बाआमा सम्झेर बचाइबचाई राखेको रकम लिई फर्किने भए पहिलाको भन्दा स्तर बृद्धि होला ! विदेशैको रमझम र गलत सङ्गतको आचरणमा अल्झेर पैसाको सत्यानाश तथा रोग बोकी आउने पनि हुनसक्छन् । अचेल विदेशमा पनि नेपालीबाटै चलाइएका यौनधन्दा र लागु पदार्थका व्यापारीहरू प्रसस्त भएका सामाजिक सञ्जालमा छ्यापछ्याप्ती देखिएका छन् । हुँदाहुँदा नेपाली चेलीबाटै यौनजन्य, अश्लिल विज्ञापन र विदेशीसँगका सम्बन्धसहित विज्ञापन गर्न पनि धक मानेका भेटिँदैनन् । पैसा र व्यक्तिवादी स्वछन्दताको समाज कुहाउने लेपन लागेका जुनसुकै बर्गका मान्छे सामाजिक बोझ भएको यसैबाट बुझिन्छ ।
त्यसै किसिमका अल्झोमा बेखर्ची भई साथीभाइबाट सहयोग लिई जसोतसो जीर्ण शरीर बोकेर आफ्नो देश फर्केका पनि छन् । त्यसैले श्रमिक र न्युन आय भएका परिवारबाट विदेशिनेहरू विदेश नै बस्ने त बहुतकम सम्भावना हुन्छ तर चरित्र र अङ्गभङ्गभई वा काठका बाकसमा फर्किने तथा बिचौलियाको लालचमा गैरकानुनी आप्रवासनले कैदमा परेका हुन सक्छन् । प्राय खातापिता र रकम खर्च गर्नेका परिवारबाट माथिल्ला हैसियतकाको कुरा गुपचुपमा मिलाइन्छ तर श्रमिकका त रगतको मूल्यको बिरहका अनुनय मच्चाई रकम उठाई बृद्ध बाआमाले सन्तान बचाएका पनि पाइन्छन् । त्यस्ता परिवारका उमेरिएका अभिभावकको स्थिति के होला ? सहजै अनुमान गर्न सकिन्छ । त्यसैले विदेशिने सबैलाई एकै बर्गमा राखेर उनीहरूका उमेरिएका बाआमाको स्थिति मापन गर्न र अवस्था निर्क्याेल गर्न सकिन्न ।
रैथाने पाकाः
घर नछोडेका वा अस्थाई विदेशिन पनि नचाहने र नपाउने पाका मान्छेहरू सकेसम्म संयुक्त परिवारमा बसेका हुन्छन् । संयुक्त परिवार छिन्नभिन्न भएको भए मनपरेको सन्तान वा जे भएकोबाट जीउनी राखेको भए त्यसैको लोभमा कुनै सन्तानले पनि सँगै राखेका हुन सक्छन् । त्यस्ता बाआमा पूर्ण उमेरिदा शारीरिक र मानसिक कुनै वा दुबै कमजोरी भएमा कस्तो अवस्थामा बाँकी जीवन बिताइरहेका होलान् ? भोगाइ वा कल्पना गम्भीर रुपले गरौँ त ! घरभित्र स्वस्थ भए पनि बयस्कमाझैँ कमाइ-धमाई नहुँदा वा सामान्य घरायसी काम गर्न छिटोछरितो नभई नसक्दा उनीहरूको हैसियत, मानमिजासको तह र स्तर कस्तो रुपमा रहला ? त्यसैले घरभित्रै कलह, कलेश नपारीरहन के केगर्नाले सामन्जस्यपूर्ण र शान्तिले बाँकीजीवन बिताउन सकियला ? बेलैमा पाका मान्छे र परिवारले केकस्तो उपाय र सरसहयोग पुर्याउँदा सिमित आयश्रोतको परिस्थितिमा पनि उमेरिएकाको सुखशान्ति साथै परिवारको सामाजिक इज्जत सम्मानयोग्य नै रहिरहला भन्ने हेक्का राख्नैपर्छ ।
अनुभव, ज्ञान र तिनै सन्तानका लागि वयस्कमा गरिएको मिहेनतमा गर्वगर्ने बाआमा जुग-जमाना अनुसार भनेपनि विपरित लागेका व्यवहारमा सहनसक्ने जति सहलान् नसके के गर्ने ? किनकी हरेकले अरुलाई भन्ने बखान ‘स्वतन्त्रता र मनखुसी’ त उहाँहरूलाई पनि चाहिन्छ नि ! यो घरायसी सत्ताका बलिया-बाङ्गाको कमजोर, असहाय र बालबालिकामाथि साशन गर्ने हतियार हो कि ? मानविय मूल्यमा भन्ने हो भने सक्ने परिवारका जिम्बेवारले घरका सबैको हितमा उनीहरूको मनको चइनकासाथ हेरबिचार, सहयोग र अनुकुल व्यवस्थापन गर्नैपर्दछ । कसैले ‘किन जन्माएछु, हुर्काएछु यस्ता भष्माशुर हुने परिवारमा ? जन्मदै थाह भएको भए सिस्नोको झालमा गुल्ट्याइदिन्थेँ !’ भन्ने नहोस् ।
अभावमा पनि स्नेहालु, सहिष्णु तथा शिष्ट परिवारमा भएको चिरेर, घोटेर वा नापेर सबैलाई समान तथा गच्छेअनुसार भाग लगाई सन्तुष्ठ पारिन्छ । तर दुर्मुखा र निम्नपूँजिवादी व्यक्तिवादको गन्धेहावामा रङ्गमङ्गिएका परिवारमा उमेर, शारीरिक अवस्थाअनुकुल व्यवस्था गर्ने चलन ‘आकाशको फल’ नै हुने गरेको पाइन्छ । त्यस्तो परिवारमा उमेरिएका मान्छेहरू ‘छिछि र दुरदुर’ भएर एकातिर बेग्लिएका नै पाइन्छन् । यस्तो अवस्था हुन नदिन पाकाले आफैँ गर्नसक्ने बरव्यवहारमा सुधार ल्याएर पहिलेभन्दा आँटी, जाँगरिलो, उत्सुक र सामाजिक बन्न कोशिस गर्नुपर्छ । उमेरिदा उम्रेर आउने सबै खालका व्यवधानको मूल जरो भनेकै एक्लोपनले गाँज्ने आनिबानीले हो, यस्का बिरुद्ध पाकाहरू आफैँ दृढभई लाग्नुपर्छ, अरुले गरेर कम समाधान हुन्छ ।
एक्लोपन बिरुद्धमाः
पाका मान्छेहरूले उमेरिन थालेपछि पहिलेका मिल्ने साथीहरू सम्झीसम्झी सोधखोज गरिँदा अझै हितैषी हुन्छन् भने सम्बन्ध नवीकरण तथा पुनर्ताजगी गर्न गम्भीर हुनैपर्छ । आफ्नो जस्तै जोडा उमेरका साथीहरूको परिस्थिति र समस्या एकै खालको हुन सक्छन्, नभए पुरानो आत्मीयताले तान्न सक्छ साथै सुमधुर सम्बन्ध ताजा रहिरहन पाउँछ । पहिला एकाकी बस्ने र सम्बन्ध गाँस्न धकमान्ने भए पनि उमेर पाको हुँदैजाँदा हरेक पाका महिलापुरुष बढि सामाजिक तथा सहिष्णु हुनैपर्छ ।
अहिले सामाजिक सञ्जाल र ताररहित सम्पर्क गर्ने कालबेलामा पाका मान्छेहरू पनि आवश्यक सम्बन्धको लागि विविध उपकारण सञ्चालनका साधन सिक्दै लागुगर्नु बाञ्छनिय हुनआउँछ । हरेक कुराको प्रयोग सकारात्मकताको खोजीमा भएको अवस्थामा पाका मान्छेले चाहिँदा र मनपर्ने कथा, घटना, समाचार स्रोत, चित्र, हास्यव्यङ्ग्य तथा भनाइहरू सामाजिक सञ्जालहरूमा भेट्न सकिन्छ । त्यस्तामा रस बसेकाको विद्युतिय उपकरणमा त्यस्तै खालका सामग्री बढि आउँछन्, मन नपर्ने सम्पर्क खारेज गर्दै गएमा पछि आउन कम हुन्छन्, टण्टै साफ ! हार्वार्ड मेडिकल स्कूलका विज्ञहरूले यसबारेमा व्यस्त नभएका पाका मान्छेहरूले एकान्तपन हटाउने व्यवहारिक उपायहरू तथा सामाजिक सिपलाई प्रष्ट्याएका छन् । शारीरिक र मानसिक कमजोरी र अपाङ्गहरूका लागि रमाइलो सम्बन्ध गाँस्न तथा आत्मनिर्भर बन्ने प्रयास गर्दै एकान्तपन हटाउन त यो प्रतिवेदन झनै कामलाग्दो मानिएको छ ।
के तपाइँ जति उमेरिदै जानुभयो त्यति सामाजिक सम्बन्धबाट परपर हुँदै जानुभएको जस्तो लागेको छ ? बाहिरकाले त पुछेनन् पुछेनन् आफन्त र परिवार सदस्यहरूले पनि त्यति हेरबिचार नगरेर एक्लो परेको अनुभव गर्दै हुनुहुन्छ ? त्यसैले त ‘बलेको आगो सबैले ताप्छन, निभेको आगो कसले ताप्छ र ?’ भन्ने लोकोक्ति नेपालमा सम्भव भएर साह्रै प्रचलित भएको होला ! ठूलो ब्रिन्दालो भएको परिवारमा बसेका पाकाहरू घरमै एक्लो, सुनिदिने, अह्राउन सकिने कोही नदेख्नु, चाडबाड र निम्तानाम्तीका भोज, भत्तेर तथा सामाजिक जमघटमा पनि कोही मुखबोलाउ नठानेर एकातिर धुमधुम्ती पर्ने बाध्यता एक्लोपनको अवस्था हो ।
पुराना साथीहरूलाई सम्झेर भेट्न नखोज्नु र कुरा, व्यवहार मिल्नगएका नयाँ साथीहरूलाई सम्पर्कमा राख्न नसक्नु एक्लोरहने स्वभाव विकसित भएको मानसिकता हो । यदि यस्तो स्वभाव छ भने, तपाइँ लाखौँ ती बृद्धाहरू मध्ये पर्नुहुन्छ जसले निशब्द आफ्नो एक्लिएको कष्ट र पीडालाई निन्याउरो अनुहार बनाएर एकान्तबास गरिरहेछन् । अमेरिकी विशेष शल्यक्रिया विज्ञ डा. विवेक मुर्थीका अनुसार यो समस्या मानव समुदायमा महामारीको स्तरमा फैलिएको छ । उनको भनाइमा ‘सामाजिक सम्पर्क भनेको मानिसको जीवितरहन गाँस, बास र कपास जस्तै आवश्यक्ता भित्रपर्ने प्रमुख आधारभूत बस्तुमा पर्दछ ।’
‘यो एक्लोपनको महामारीले’ हिजोआज विभिन्न तृष्णा, आफ्नो हैसियतभन्दा बढि चाहाने चिन्ता, मानवियभन्दा मौद्रिक मूल्यमा विश्वास गर्ने स्वभाव र सामुहिकभन्दा व्यक्तिवादी प्रबृत्तिका कारण सबै उमेरसमुहमा दूरगामी कुप्रभाव पार्दै फैलिरहेको पाइन्छ । फलस्वरुप अब पाका मान्छेका समुह अरु उमेरसमुहभन्दा समयको अन्तराल, सिकाइको भिन्नता र पुरानो मानिएको अनुभवको भरमा नयाँ पुस्तासँग फरक परेर एक्लिन बाध्य भएका छन् । त्यसमाथि पारिवारिक बिखण्डन, सदस्यहरू बिच बैमनश्यता र कुसँस्कारयुक्त इर्श्या तथा रुढिग्रस्त सामाजिक प्रणालीमा थपिएको गैरप्रजातान्त्रिक राजनीतिक अस्थिरता भएमा पाका मान्छे उमेरिएका बखत एक्लोपनको अँध्यारो गुफामा भ्रमण गरिरहेझैँ हुनजान्छन् ।
यसै बिरहलाग्दो एक्लोपन लगातार महशुस भइरहेमा जटिल खालका स्वास्थ समस्याहरू- उच्च रक्तचापदेखि मुटुका रोग, हृदयघात, रोगको सङ्क्रमण, शरीरको प्रतिरक्षा प्रणाली कमजोर हुँदै जाने र असामयिक मृत्यु हुने सम्भावना बढ्छ । त्यतिमात्र होइन लामो समय एक्लोपनको शिकार भएका उमेरिएका पाकाहरू त बिस्तारै मानसिक रोगबाट ग्रसित भई आफूमात्र होइन परिवारकै समस्या बन्न सक्छन् । तर आजकाल विज्ञानको प्रमाणित टेकोपुढोले वैज्ञानिकका धारणा आशाको दियो टिलपिल गर्दै बलेर प्रकाश पार्ने शुभसमाचारहरू आएका छन् । ती प्रक्रियाको सिलसिलामा एक्लोपनसँग लड्न सकिन्छ भने उमेरिएका मानिसहरू सम्पर्कित जीवन्त जीवन निर्माण गर्न सफल हुन समर्थवान हुनेछन् ।
पाकाहरू घरमै एक्लिन थालेपछि मनलाई शान्तीस्वस्थी गर्ने हिम्मतकासाथ बाहिरका समभागी, समअनुभवी र उस्तै उमेर जोडाका साथी खोज्ने काेशिस गर्नैपर्छ । त्यसका लागि धेरै ठूलो मिहेनत गर्नुपर्ने छैन्, अनुकुल समयमा भेटघाट हुँदा खुलामनले चिन्हेकोजस्तो हँसिलो मुखाकृति बनाए पुग्छ । तपाइँको हाउभाउ र उमेर आङ्कलन गर्दै सन्मुखपर्ने जो कोही पनि ‘हजुरलाई कहाँ देखेको जस्तो लाग्यो ?’ भन्न उत्सुक रहन्छन् । जीवनमा हजारौँ मानिस देखेका मान्छेले नचिन्हे पनि मस्तिष्कमा जम्मा भएका हजारौँ मानव आकृतिमा उही समुदाय वा क्षेत्रका मानिसलाई देख्या-देख्याझैँ लाग्नु स्वभाविक नै हो । त्यस्तै, जमघट कार्यक्रम, बजार घुम्दा वा नयाँ ठाउँमा घुम्दा उस्तै घटना भोग्दा र बाटो कटनी कुरामा समभावका मानिसहरूसँग साथी बनाउन सकिन्छ । त्यस्ता मान्छेसँग अप्ठ्यारो नभएसम्म सम्बन्ध तरोताजा राख्ने प्रयास गर्नु पर्छ ।
मौसम अनुसार आफ्ना उमेरसमुहका भेटिने ठाउँ खोजेर साथी बनाउन सकिन्छ, जस्तोः स्वास्थ र व्यायामका लागि बिहान वा साँझ घुम्ने चउर, बगैँचा, एकान्त, कम सवारी यातायात चल्ने फराकिलो बाटो आदि ठाउँमा घुम्न सकिन्छ । हलुका व्यायाम र भेटघाटकै लागि ढुङ्गा छापेका भर्याङ तथा परिशरमा बोटविरुवा साथै घुम्न मिल्ने रनबनभएका देवालय तथा स्तुपहरू पनि पाका मान्छेका दैनिक गन्तव्य हुनसक्छन् । जाडो मौसमका दिनमा घामताप्ने फलैँचा भएका चउर वा बगैँचा, ठूल्ठूला पुराना दरबारका अग्रभाग तथा सत्तलहरू उमेरिदा समय कटाउने सजिला ठाउँ बन्छन् । यसप्रकारका स्थानमा नियमित अवलोकन गर्ने क्रममा कुरा मिल्ने, समान धारणा र मन मिल्ने साथी पाउन सकिन्छ । भेटिएका त्यस्ता साथीहरूसँग भेटिँदा मात्र होइन अरु बेलामा पनि वार्ता गर्न सम्पर्क लिनु-दिनु गरेर मित्रताको निरन्तरता कायम गर्न सकिन्छ । एक्लै घरमा नै डल्लिएर निन्याउरो भएर कहिले छोराबुहारी वा नातिनातिना आउलान् र मान्छे बोलेको सुनिएला भनेर दिन कटाउनु पर्ने अत्यासको अवस्था त्याग्न सकिन्छ । सम्पर्कलाई ध्यानदिउँ, अरु केही नभए, ‘यो उमेरमा पनि बेफुर्सदी, कति साथिभाइ र हाईहाईमा दिन बितेको ?’ भन्ने परिवार सदस्यहरूलाई पारिरहनु पनि आवश्यक छ है !
बलियो होऔँः
उमेरिदा धेरैनै वर्ष बाँच्ने क्रममा आफूभन्दा बढि उमेरका मात्र होइन कम उमेरकाको पनि विभिन्न कारणले असामयिक निधन हुनसक्छ । आफ्नै काखमा हुर्काउन कति मिहेनत गरेको, हाँहाँ हुँहुँ गर्दागर्दै अकाल मृत्यु बरण गरेका केटाकेटी, सम्बन्ध भएदेखि चाटाचाट गरेका दम्पती अहिले काटाकाट भई छुट्टिएका वा निधन भएका हुन सक्छन् । दुखपिरका समयमा भरोसा दिँदै ‘हामी छौँ नि नडराउ’भन्ने बाबुआमा पनि माया र भरोसा दिने अभिभावकत्व त्यागेर आआफ्नै तरिकाले गुमाएका हुन्छौँ । यस्तो परिस्थिति सबैलाई ढिलो चाँडो परेको हुन्छ । नेपालमा जनउत्तरदायीे सोचाईको उल्टो प्रशासन र यस्को निर्देशनमा अक्षम व्यवस्थापनको अल्पबुद्धिले गर्दा प्राकृतिक प्रकोपले धेरैको परिवार छिन्नभिन्न भएका छन् ।
यस्तोमा अरु उमेरसमुह किम्कर्तव्यबिमूढ भए पनि पाका उमेरिएका मान्छे त मन बाँधेर ‘हुरीसँग जुध्ने र बाढीमा बाँकटे पौडेर पार लगाउने’ बन्नैपर्छ । त्यसैले जति उमेर बढ्यो उति धर्यवान तथा हजारौँ पिर दबाएर आफू र अरुलाई हँसमुख पारिरहने कलामा उमेरिएका मान्छे पोख्त हुन सुरु गर्नैपर्छ । त्यसो भएमा आन्तरिक बलले जित्ने बानी बस्छ र पाका मान्छे पिरोलिएर हुनसक्ने शारीरिक तथा मानसिक व्यथाबाट मुक्तहुन सकिन्छ । ‘एक्लै परियो, सङ्गीसाथी भएनन्, बोल्यो कि पोल्यो परिस्थितिमा छु’ भन्ने ठानेर एक्लोपन रुचाउने स्वभाव हटाउँ । बरु ‘रातरहे अग्राख पलाउँछ, बगेको पानी चोखै हुन्छ, जत्ति हाँस्यो उत्ति वर्ष बाँच्यो, जत्ति रोयो-मन कुँढ्यायो उत्ति चाँडै मर्यो’ भन्ने उखानको महत्व समयमै बुझ्न र खुसिभएर बाँकी जीवन जिउन जरुरी छ ।
उमेरिदाको बसाईः
नेपालमा २०७८को आँकडालाई भर गर्दा ८० वर्ष भन्दा माथिको उमेर समूहमा कुल जनसङ्ख्याको ०.९९ प्रतिशत (२,८७,५२३) छ, यसको अर्थ पहिलेको दशकको तुलनामा उमेरिने र धेरै वर्ष बाँच्ने महिलापुरुषको जनसङ्ख्या निरन्तर बढ्दैरहेको छ । दीर्घायुसम्म बाँच्ने अभिभावक, शारीरिक-मानसिक समस्या थपिन सक्ने र पारिवारिक सामुहिक चिन्तनको ह्रास संयुक्त घरपरिवार बिखण्डन हुन्छन् । कामकाजी सन्तानहरू आआफ्नै आनन्दमा रमाउन खोज्दा अति उमेरिएका पाकाहरू आश्रित हुनपुग्छन् । त्यस्तो परिस्थितिमा उमेरिएकाहरू छिन्नभिन्न भएर बाँच्नकै लागि विभिन्न वैकल्पिक उपायहरू देखापरेका छन् । आधुनिक समाजको मागअनुसार भनेर अचेल दिवा स्याहार केन्द्र, बुढ्यौली समाज, बुढ्यौली हेरबिचार केन्द्र र बृद्धाश्रमहरू खुलेका छन् । सक्नेले ‘आफूसँग राखेर पित्रीऋण र जिम्बेवारी बहनगर्नु’ भन्दा पैसातिरेर सामाजिक ठस्सा देखाउँछन् । नसक्नेले त रुखासुखा खाएर भएपनि आफूसँगै राख्छन् भने अरिष्ट सन्तानले सदावर्ते हण्डी कता छ भन्दै लैजाने वा सहरबजार र ठूला मन्दिरछेउ छोड्ने कुकर्म नै गरेको पाइन्छ ।
प्राय सबै उमेरिएका पाकाले केहि नभए मायालु सुम्सुम्याइको आशमा बाँचुन्जेल आफ्नै सन्तान-दरसन्तानसँगै ‘अन्तिममा एक घुटको पानी ख्वाउँछ’ भन्ने लागेर बस्न चाहान्छन् । पारिवारीक चिन्तन, व्यक्तिगत धारणा, निरन्तरको रोगव्याध, अशक्तता र परिवार सदस्यहरूको बिचारमा ‘पाकालाई हेरबिचार गर्न कामको व्यस्तताले’ बाधाभई राख्नुपर्ने निहुँको बाध्यता सतहमा देखिन्छ । पैसा कमाउनु प्रमुख काम तर आफैँलाई जन्माई, हुकाई कमाउन सक्ने बनाउने बाआमा पाल्नु अनावश्यक बोझ भएको अभिव्यक्ति दिन लजाउँदैनन् । आधुनिक सोचअनुसार एकल परिवारमा रमाउनु र आफन्तको सेवा-सुशुर्षागर्नु अनुत्पादक मूल्यहिन काममा दर्जिनु, त्यस्ता अविच्छिन्न कर्तव्यलाई निम्छरोपन ठान्नु अमानविय लक्षण हुन् । टाउकै ठोकेर अनुनय गरे पनि त्यस्ता सन्तानले घाट पर्खिरहेका अभिभावकलाई समेत एक झर ओतने छानो र एकमुठी खाने मानोबाट गलहत्त्याउन बेर लगाउन्नन् ।
शारीरिक मानसिकरुपले अलिअलि अक्षम हुँदा पनि उमेरिएका मानिसलाई परिवार सदस्यले सकेको सघाउन सँगसँगै मायागर्दै घरायसी काममा लगाउन कोसिश गर्नुपर्छ । यसले पाका मान्छेमा अझै सक्षमताको आभाष हुने, काम गर्न सकेकोमा प्रफुल्ल हुने र कामबाटै व्यायाम भएर तन्दरुस्ती रहन सघाउने हुन्छ । यस प्रक्रियाले उमेरिदा एक्लोपनको मानसिक चिन्ता, आफन्त गुमेको पिडा र अशक्त भएको ग्लानी हराउँदै जान्छ । परिवारमा टिक्नै गाहारो भएमा आफूजस्तै उमेरसमुह, समुदाय तथा आर्थिक अवस्थामा हुर्केकाहरू बसेका स्याहार केन्द्र रोजेर राख्न सकिन्छ । हरेक अन्तिम निर्णयमा परिवारले अभिभावकलाई खुलस्त पार्नै पर्छ । सकृय रहेका पाका मान्छेहरू बाहिरफेर काम नगर्ने भए त आधुनिक सामुहिक घर (एपार्टमेण्ट), सहआवास (हाउजिङ) र निर्धारित बस्ती विकासहरूमा धेरै उस्तैउस्तै परिवार बस्ने भएर उमेरिएकाको जमघट तथा भेटघाट बढाउने राम्रो थलो बन्न सक्छ ।
यस्ता आवास भएको ठाउँमा रहेकामध्ये धेरैका परिवारमा कम्तीमा एकदुइ जना त उमेरिएका पाका हुन्छन् । हाम्रा भर्खर सुरु भएका व्यवशायमा मात्रै होइन पश्चिमा देशहरू र अमेरिकातिर पनि त्यस्तै आँकडा रहेको हार्वार्ड मेडिकल स्कूलको प्रतिवेदनमा पाइन्छन् । त्यहाँ बस्नेहरू बिचमा सम्पर्क बढाएर, सबैलाई अनुकुल पर्ने समयमा भेला, भेटघाट र समसामयिक विषयमा जमघट बढाउने साझा सभाकोठामा जम्मा हुन सकिन्छ । त्यस्ता आवास क्षेत्रमा बासिन्दाका लागि बगैँचा, घुमफिर गर्ने क्षेत्र र घरभित्रका खेलकुद तथा व्यायाम कोठा हुने भएर त्यहाँ पनि उमेरिएका मान्छे भेलाहुने अवशर मिल्छ । धेरै व्यक्तिगतकाम आफैँ गर्नुपरे पनि सामान्य सरसहयोग तथा आपसी हितमा कार्यगर्ने पाका मान्छेलाई बसाइको निकटताले अनुकुल पर्दछ । कतिपय अक्षम अवस्थामा रहेका पाका मान्छेका लागि बाहिरी हेरालु वा स्वास्थ्य सहायक वा आवास क्षेत्रकै चिकित्सकको सेवा लिने अवशर त्यहाँ मज्जाले व्यवस्था गर्न सकिन्छ ।
अन्त्यमा,
नेपालको परिप्रेक्ष्यमा केही अध्ययन, अनुसन्धान तथा अल्पकालिन शोधकार्य त्रिभूवन विश्वविद्यालय र एजिङ नेपाल जस्ता सँस्थानले पनि गर्नेगराउने भएर केहि तथ्यपूर्ण जानकारीले अद्यावधिक हुन पाइएको छ । हालै एमफिल पिएचडीकी छात्रा अञ्जली लिम्बु लावतीको पाका मान्छेका सामाजिक सुरक्षा भत्ताको उद्येश्य र औचित्य बारेको शोधले दिइएको आँशिक पहेँला अक्षेता जत्तिको भत्ता र सहयोगी अरु कामबारेमा पनि एक नगरपालिकाको नमुना अनुसन्धानले हाम्रो अहिलेको समाजको निकै प्रष्ट वास्तविकताको उद्घाटन गरेको छ । कामकाजी मान्छेको उमेरिने क्रममा सेवानिवृत्त गरिने उमेर र सामाजिक भत्ता पाउने उमेरमा तादात्म्यता नहुनु र करिव एक दशकनै खालिहुनु बिडम्बना भएको परिणाम शोधमा आएको छ । त्यस्तै लामो समय एक खालको पेशामा भएका निवृत्त भएर कहीँकतै अर्थोपार्जनमा जोरिन नसक्नु र सरकारले सामाजिक शुरक्षा भत्ताबाट बिमुख पार्नु जीविकाको लागि अमानविय हुन्छ ।
शोधको क्रममा देखियो कि करिब ४२% बढि पाका मान्छेहरू अन्य आयस्रोत नहुँदा भत्ताबाट दैनिक गुजारा चलाउन असमर्थ भई परिवार धान्न निकै कष्ट र सामाजिक हैसियत गुमाउँदै चिन्ता तथा पीडामा रहेका छन् । परिवारको त्यस्तो अवस्थामा सबैभन्दा बढि प्रभावित पाका मान्छहरू नै शारीरिक कमजोर भई रोग बल्झाउने साथै लगातारको पीडाले असहाय अनुभूत गर्दै मानसिक एक्लोपन तथा तनावमा रहेर रोगव्याध समेत निम्त्याइरहेका भेटिएका छन् । सरकारले साँच्चैका जनहितकारी विधिनियम बनाउने हो भने कम्तीमा दैनिक खाद्यआपूर्ति हुनसक्ने सामाजिक भत्ताका साथमा यातायात र निशुल्क स्वास्थ्य सेवाको प्रारम्भिक व्यवस्था गर्नै पर्दछ ।
त्यसो भएमा पाका मान्छेहरूका हितमा सरकारी निकाय गम्भीर छ भन्ने अनुभूति समाजमा प्रशारण हुन्छ । अन्यथा यस्ता अपर्याप्त भत्तामात्र त मन्दिरमा परेवा र देवतालाई हुर्याएका अक्षेताजस्तो र चुनावमा भाेट कमाउन बाँडिएका एक छाक भातको भोज सरह हुने सोचाई नागरिकहरूमा पाइन्छन् । दल नाइकेहरूले बुझ्नु पर्छ भित्रीमुराद बुझेका युवा त तपाइँहरूका अह्वानमा जुलुशमा आउन छाडे, पाकाहरूले उहिल्यै बुझेर साथदिन छाडिसकेका छन् । तपाइँहरू आफ्नै उमेरद्रोही नबनी उमेरिएकाहरूको हितमा नियमकानुन बनाउनु होस् अनि पो तपाइँहरूका लागि गरिएको मुलुकीखानाको उपयोगलाई सहलान् अन्यथा अन्त्यकालमा पाका मान्छेका लौरे जुलुसमा घेरिएर कहाँ लुक्न सफल हुनुहोला ?
०००
चालिसे डाँडा, ललितपुर
मङ्सिर १३, २०८१
Subscribe
Login
0 Comments
Oldest