साइबर अपराध सम्बन्धी सचेतना सामग्री

उमेरिदाको हबिगतमा केही ओखती !

दल नाइकेहरूले बुझ्नु पर्छ भित्रीमुराद बुझेका युवा त तपाइँहरूका अह्वानमा जुलुशमा आउन छाडे, पाकाहरूले उहिल्यै बुझेर साथदिन छाडिसकेका छन् ।

Nepal Telecom ad

डा. मुकेश चालिसे :

नेपालमा उमेरिएका ज्येष्ठ नागरिक मानिने औशत उमेर साठी वर्ष भए पनि सरकारी दया-भत्ताको पहेँला अक्षेता पाउन अझै नौ वर्ष कुर्नुपर्ने घिडघिडो बाँधिएको छ । किन होला ? चित्तबुझ्दो र मानविय प्रतिउत्तर घुम्ने मेचमा बस्नेले दिन सके आठौँ आश्चर्य नै हुनजानेछ । हरेक तजबिज तदर्थ र थामथुममा टिकेको, आफू तथा आफन्तको नाफामा अल्झेको प्रबृत्ति मुलाधारमा गुजिल्टिएको समाजमा काराबारीहरूको हैकम कति उचित होला र ? समाजका केहि गर्न नसक्ने, शारीरिक र मानसिक कमजोर साथै उमेरिएकाको बिजोक र जङ्गली बन्यजन्तुहरू हेर्न प्राय पर्यटक नेपाल आएको आशङ्का बढि लाग्छ । दुबैको स्थिति तथा अवस्था निरिह, हतास, अभावले सग्ला-बलियासँग जम्काभेट हुँदा तर्सिने, डराउनेभई उससँग उम्कन छेउलाग्ने स्वभाव बनेको पाइन्छ । अहिले हाम्रो समाजमा बढ्दै गएका पाका मान्छेको सङ्ख्याले, स्वर्गको मजा चाख्न विदेश हिँडेका घटाउँदा नेपालभित्र बाँकिरहेका कुल जनसङ्ख्यामा आधानाघ्ने स्थिति देखापर्दैछ । चुनावको हवाई गफमा केहि दिन अघिदेखि विभिन्न दलले आफ्नो हैसियत गुणमा होइन सङ्ख्यामा देखाउन लाखौँ सदस्य भएको आँकडा भने तर ‘शक्ति प्रदर्शन, जनजागरण’गर्दा हजारौँको भेलाले झुट्ठा सावित भएथ्यो । बुझेर चल्ने उमेरिएकाको अनास्था र सत्ताको मोजलुटन धाक लगाउनेका फोस्रो गफनै प्रमाणित भए ।
जिम्बेवारले बडो गुन लगाएझैँ गरेर बाँडिएका भत्ताको व्यवस्था पनि अवैज्ञानिक दृष्टिबाट प्रभावित नियमले गर्दा अशक्त त पहुँचबाटै टाढा छन । सक्ने लरखराउँदै केन्द्रमा पुग्ने पनि, हकले पाउने नभई सदावर्ते चन्दा लिएझैँ तँछाडमछाड गर्दै कनिका थाप्न कुस्तिको स्थिति भएको महसुस गरेका छन् । अनि सरकारले अनुत्पादक जनशक्ति भनि एक्ल्याएर नगन्ने अवस्थाकालाई सामाजिकरुपले कसरी उत्थानगर्न सकिएला ? उमेरिदा पहिले जानेका शिप, बुद्धि र अनुभव प्रयोग गर्न दिने राजनीतिक प्रणाली नभएका ठाउँमा एक पटक सेवानिबृत्त वा ज्येष्ठ नागरिकको छाप लागेपछि घरकाले त बिस्तारै दुइ छाक खान बोलाउनसमेत ढिलो गर्न थाल्छन् । त्यसक्रममा पाका मान्छेहरू आफ्ना समस्या पनि आफन्तलाई भन्न नसक्ने तथा एक्लोपनको उराठिलो जीवनका पीडा अरु सुनिदिने कोहि भेटिए बिरहका साथ रसिला आँखासहित भक्कानिएर भन्न सक्छन् । कठै भनिदिने, मायाले सुम्सुम्याइदिने, दयाले नजिकपरी उनीहरूका भोगाई धर्यतापूर्वक बुझिदिन पाएमा बाँध फुटेझैँ सबै पिरलो कोक्किँदै एकैपटकमा भनि सक्छन् । आफन्तको ओठेजवाफको रन्कोमा परेका, देशकै रजाइँमा मूल तहबिलको साँचोधारी परचक्रीका गोठालाहरूले उनीहरूलाई नहेर्ने क्रियाहालेका भएपछि नेपालकै एकतिहाई बढि एक्लोपनका शिकार पाका मान्छेका पङ्क्ति के गरुन् ? भयङ्कर एक्लोपनको अत्त्याशमा जीवन बिताउन घरभित्रै बसे पनि चइनरहित सहन बाध्य भएका देखिन्छन् ।

अहिले उमेरिदाः
पाको उमेरमा सामाजिक व्यवहारमा तथा सरकारी सेवाबाट अनिवार्य अवकाशले कतिपय न्युन अवस्थाका उमेरिएका मानिस प्राय पीडाको थालनीमा ओह्रालो लाग्ने पाइएका छन् । अझै आफ्नो हैसियत र क्षमता कायम रहे पनि गलहत्त्याइका बिचराहरू बिसौँ-तिसौँ वर्ष एकथरिको दैनिकीमा चलेका पाका महिलापुरूष नयाँ परिवेशमा अनुकुलन हुन समय लाग्छ । निवृत्तिभरण पाउने र नपाउनेको निकै अन्तर हुन्छ भने इमानी बेइमानी, पदको अनुचित लाभलिने र नलिएमा पनि आर्थिक भिन्नता रहन्छ नै । शारीरिक कमजोरी र रोगव्याधले उमेरिएका पाका महिलापुरुषमा उमेरसमुहको कारण जुनसुकै आर्थिक अवस्थामा ङ्याक्ने त एकै किसिमले हो । अनि रहँदाबस्दा बुझक्की र मानविय मूल्यको हेक्काभएको परिवार बाहेक सबै खालका घरहरूमा दुखी, एक्लिएका दिन बिताउन बाध्य समुहमा नै उहाँहरू पर्नुहुन्छ । हो, आर्थिक अवस्था, छरछिमेकमा लाज, धक र निसन्तानको अवस्थाको कारणले भिन्न स्तरको पीडा देखिन सक्छ । समग्रमा पाका मान्छेहरू सामाजिक बनावट, आफ्नो चिन्तन र प्रबृत्ति अनुसार केही न केही दुखपीडा नै भोगिरहेका पाइन्छन् ।

आर्थिक अवस्था सबल हुने परिवारमा पाका मान्छेहरू आफ्नै र सन्तानकै आग्रहमा एक्लिएका छन् । उच्च शिक्षा तथा कमाइको लोभमा भएका घरजग्गा बेचेर साथै बचत रकमले पेलेर विदेश पठाउन उद्यत आजकालका बाआमा धेरै लागिपरेका पाइन्छन् । कलिलो किशाेरकिशाेरी उमेरका सन्तानहरू विदेशको फरक साँस्कृतिक मान्यता, चालचलन र ज्यालादारी आर्थिक प्रणालीलाई सहज तथा सजिलो ग्राह्य सम्झन्छन । त्यस्तै सिक्ने अल्लारे उमेरमा नै बानी परेपछि, त्यहाँको राम्रो, मातृभूमिका चालचलन प्रणाली नराम्रोमात्र होइन, ‘पुरानो चलन, अवसर नपाइने देश, कमाउन नसकिने मुलुक, कदर नहुने परिस्थिति’ भन्दै नाक खुम्च्याउँछन । त्यतिमात्र होइन आफ्नै गुहुमुत स्याहार्ने बाआमा असभ्य, पछि परेका र आफूलाई पुराना लागेको बान्ता गर्न समेत बेर लगाउन्नन् । उनिहरूको राम्रो पक्ष भनेको कमाएको छ भने बेलाबेला पैसा पठाउन सक्छन् र केहिदिन बाआमालाई नातेदारसँग कुरा गर्दा धाक लगाउन पोयो मिल्छ । बिस्तारै त्थसखालको क्रम चुँडिन्छ अनि ‘उतै घर किन्ने कुरा छ, केटाकेटी स्कूल पठाउन महँगो छ ! अङ्श पाउँने बेचेर पठाइदिनोस्’ भन्न बेर लगाउन्नन् । अति साह्रै निकट र सहृदयी सन्तान भएमा बेलाबेला केटाकेटी हुर्काउन तेलभिशा, शिसुकक्षा कै भए पनि ग्रेजुएट सेरेमोनीमा निम्त्याउन, केही वर्षमा बोलाइरहन सक्छन् ।

छोराछोरी त्यतै बस्ने मनभए बाआमा पहिलो-दोस्रो पटक त हाैसिएर जान्छन्, पछि गएर के गर्नु ? कुनै बहानामा बोलाए त्यो खास काम सकिएपछि छोराबुहारी काममा जान बाध्य हुन्छन्, यहाँजस्तो खासखुस गरेर हिँडन पाइन्न, जुन पार्टीको भए पनि काममा सहुलियत लिएर कर्मचारी सङ्घको मिटिङ छ भनि हाटा गर्न मिल्दैन । बाआमा बसेसम्म कि घरमा नबुझे पनि टिभी हेरेर बस्ने कि नजिकको बगैँचामा बसेर समय कटाउने, यी बाहेक काम हुन्न । एक महिना नाघेपछि कहिले आफ्नै रनबनमा फर्कौँ भनेर पो छोरा बुहारीलाई साँझ भेटनासाथ गुनासो गर्न थाल्छन् । अतिनै हुँदा अतिरिक्त पैसा तिरेर भए पनि छ महिना बस्ने भनेर गएका पाका मान्छेहरू दुइ महिनामा नै फर्किन्छन् । यता आएर धाकधक्कु लगाउलान् तर अर्को पटक जान मन गर्दैनन्, अनि दुखसुख एक्लिएर घर रुङ्गेर र काल पर्खिएर बसेका अभिव्यक्तिसाथ बाँचेका देखिन्छन् ।

आर्थिक अवस्था न्युन भएर परदेशिएकाहरू भएको जेथो बिचौलीयालाई बुझाई मलेशिया, अरब, कोरिया वा युरोप जहाँ गए पनि गर्ने त आखिर श्रमिक काम हो । अनि यहाँभन्दा बढि घण्टा श्रम गरेर एक्लो ज्यानले सस्तोमस्तो खोजेर खवाई, लवाई र बसाइले परिवार साथै बाआमा सम्झेर बचाइबचाई राखेको रकम लिई फर्किने भए पहिलाको भन्दा स्तर बृद्धि होला ! विदेशैको रमझम र गलत सङ्गतको आचरणमा अल्झेर पैसाको सत्यानाश तथा रोग बोकी आउने पनि हुनसक्छन् । अचेल विदेशमा पनि नेपालीबाटै चलाइएका यौनधन्दा र लागु पदार्थका व्यापारीहरू प्रसस्त भएका सामाजिक सञ्जालमा छ्यापछ्याप्ती देखिएका छन् । हुँदाहुँदा नेपाली चेलीबाटै यौनजन्य, अश्लिल विज्ञापन र विदेशीसँगका सम्बन्धसहित विज्ञापन गर्न पनि धक मानेका भेटिँदैनन् । पैसा र व्यक्तिवादी स्वछन्दताको समाज कुहाउने लेपन लागेका जुनसुकै बर्गका मान्छे सामाजिक बोझ भएको यसैबाट बुझिन्छ ।

त्यसै किसिमका अल्झोमा बेखर्ची भई साथीभाइबाट सहयोग लिई जसोतसो जीर्ण शरीर बोकेर आफ्नो देश फर्केका पनि छन् । त्यसैले श्रमिक र न्युन आय भएका परिवारबाट विदेशिनेहरू विदेश नै बस्ने त बहुतकम सम्भावना हुन्छ तर चरित्र र अङ्गभङ्गभई वा काठका बाकसमा फर्किने तथा बिचौलियाको लालचमा गैरकानुनी आप्रवासनले कैदमा परेका हुन सक्छन् । प्राय खातापिता र रकम खर्च गर्नेका परिवारबाट माथिल्ला हैसियतकाको कुरा गुपचुपमा मिलाइन्छ तर श्रमिकका त रगतको मूल्यको बिरहका अनुनय मच्चाई रकम उठाई बृद्ध बाआमाले सन्तान बचाएका पनि पाइन्छन् । त्यस्ता परिवारका उमेरिएका अभिभावकको स्थिति के होला ? सहजै अनुमान गर्न सकिन्छ । त्यसैले विदेशिने सबैलाई एकै बर्गमा राखेर उनीहरूका उमेरिएका बाआमाको स्थिति मापन गर्न र अवस्था निर्क्याेल गर्न सकिन्न ।

रैथाने पाकाः
घर नछोडेका वा अस्थाई विदेशिन पनि नचाहने र नपाउने पाका मान्छेहरू सकेसम्म संयुक्त परिवारमा बसेका हुन्छन् । संयुक्त परिवार छिन्नभिन्न भएको भए मनपरेको सन्तान वा जे भएकोबाट जीउनी राखेको भए त्यसैको लोभमा कुनै सन्तानले पनि सँगै राखेका हुन सक्छन् । त्यस्ता बाआमा पूर्ण उमेरिदा शारीरिक र मानसिक कुनै वा दुबै कमजोरी भएमा कस्तो अवस्थामा बाँकी जीवन बिताइरहेका होलान् ? भोगाइ वा कल्पना गम्भीर रुपले गरौँ त ! घरभित्र स्वस्थ भए पनि बयस्कमाझैँ कमाइ-धमाई नहुँदा वा सामान्य घरायसी काम गर्न छिटोछरितो नभई नसक्दा उनीहरूको हैसियत, मानमिजासको तह र स्तर कस्तो रुपमा रहला ? त्यसैले घरभित्रै कलह, कलेश नपारीरहन के केगर्नाले सामन्जस्यपूर्ण र शान्तिले बाँकीजीवन बिताउन सकियला ? बेलैमा पाका मान्छे र परिवारले केकस्तो उपाय र सरसहयोग पुर्‍याउँदा सिमित आयश्रोतको परिस्थितिमा पनि उमेरिएकाको सुखशान्ति साथै परिवारको सामाजिक इज्जत सम्मानयोग्य नै रहिरहला भन्ने हेक्का राख्नैपर्छ ।

अनुभव, ज्ञान र तिनै सन्तानका लागि वयस्कमा गरिएको मिहेनतमा गर्वगर्ने बाआमा जुग-जमाना अनुसार भनेपनि विपरित लागेका व्यवहारमा सहनसक्ने जति सहलान् नसके के गर्ने ? किनकी हरेकले अरुलाई भन्ने बखान ‘स्वतन्त्रता र मनखुसी’ त उहाँहरूलाई पनि चाहिन्छ नि ! यो घरायसी सत्ताका बलिया-बाङ्गाको कमजोर, असहाय र बालबालिकामाथि साशन गर्ने हतियार हो कि ? मानविय मूल्यमा भन्ने हो भने सक्ने परिवारका जिम्बेवारले घरका सबैको हितमा उनीहरूको मनको चइनकासाथ हेरबिचार, सहयोग र अनुकुल व्यवस्थापन गर्नैपर्दछ । कसैले ‘किन जन्माएछु, हुर्काएछु यस्ता भष्माशुर हुने परिवारमा ? जन्मदै थाह भएको भए सिस्नोको झालमा गुल्ट्याइदिन्थेँ !’ भन्ने नहोस् ।

अभावमा पनि स्नेहालु, सहिष्णु तथा शिष्ट परिवारमा भएको चिरेर, घोटेर वा नापेर सबैलाई समान तथा गच्छेअनुसार भाग लगाई सन्तुष्ठ पारिन्छ । तर दुर्मुखा र निम्नपूँजिवादी व्यक्तिवादको गन्धेहावामा रङ्गमङ्गिएका परिवारमा उमेर, शारीरिक अवस्थाअनुकुल व्यवस्था गर्ने चलन ‘आकाशको फल’ नै हुने गरेको पाइन्छ । त्यस्तो परिवारमा उमेरिएका मान्छेहरू ‘छिछि र दुरदुर’ भएर एकातिर बेग्लिएका नै पाइन्छन् । यस्तो अवस्था हुन नदिन पाकाले आफैँ गर्नसक्ने बरव्यवहारमा सुधार ल्याएर पहिलेभन्दा आँटी, जाँगरिलो, उत्सुक र सामाजिक बन्न कोशिस गर्नुपर्छ । उमेरिदा उम्रेर आउने सबै खालका व्यवधानको मूल जरो भनेकै एक्लोपनले गाँज्ने आनिबानीले हो, यस्का बिरुद्ध पाकाहरू आफैँ दृढभई लाग्नुपर्छ, अरुले गरेर कम समाधान हुन्छ ।

एक्लोपन बिरुद्धमाः
पाका मान्छेहरूले उमेरिन थालेपछि पहिलेका मिल्ने साथीहरू सम्झीसम्झी सोधखोज गरिँदा अझै हितैषी हुन्छन् भने सम्बन्ध नवीकरण तथा पुनर्ताजगी गर्न गम्भीर हुनैपर्छ । आफ्नो जस्तै जोडा उमेरका साथीहरूको परिस्थिति र समस्या एकै खालको हुन सक्छन्, नभए पुरानो आत्मीयताले तान्न सक्छ साथै सुमधुर सम्बन्ध ताजा रहिरहन पाउँछ । पहिला एकाकी बस्ने र सम्बन्ध गाँस्न धकमान्ने भए पनि उमेर पाको हुँदैजाँदा हरेक पाका महिलापुरुष बढि सामाजिक तथा सहिष्णु हुनैपर्छ ।

अहिले सामाजिक सञ्जाल र ताररहित सम्पर्क गर्ने कालबेलामा पाका मान्छेहरू पनि आवश्यक सम्बन्धको लागि विविध उपकारण सञ्चालनका साधन सिक्दै लागुगर्नु बाञ्छनिय हुनआउँछ । हरेक कुराको प्रयोग सकारात्मकताको खोजीमा भएको अवस्थामा पाका मान्छेले चाहिँदा र मनपर्ने कथा, घटना, समाचार स्रोत, चित्र, हास्यव्यङ्ग्य तथा भनाइहरू सामाजिक सञ्जालहरूमा भेट्न सकिन्छ । त्यस्तामा रस बसेकाको विद्युतिय उपकरणमा त्यस्तै खालका सामग्री बढि आउँछन्, मन नपर्ने सम्पर्क खारेज गर्दै गएमा पछि आउन कम हुन्छन्, टण्टै साफ ! हार्वार्ड मेडिकल स्कूलका विज्ञहरूले यसबारेमा व्यस्त नभएका पाका मान्छेहरूले एकान्तपन हटाउने व्यवहारिक उपायहरू तथा सामाजिक सिपलाई प्रष्ट्याएका छन् । शारीरिक र मानसिक कमजोरी र अपाङ्गहरूका लागि रमाइलो सम्बन्ध गाँस्न तथा आत्मनिर्भर बन्ने प्रयास गर्दै एकान्तपन हटाउन त यो प्रतिवेदन झनै कामलाग्दो मानिएको छ ।

के तपाइँ जति उमेरिदै जानुभयो त्यति सामाजिक सम्बन्धबाट परपर हुँदै जानुभएको जस्तो लागेको छ ? बाहिरकाले त पुछेनन् पुछेनन् आफन्त र परिवार सदस्यहरूले पनि त्यति हेरबिचार नगरेर एक्लो परेको अनुभव गर्दै हुनुहुन्छ ? त्यसैले त ‘बलेको आगो सबैले ताप्छन, निभेको आगो कसले ताप्छ र ?’ भन्ने लोकोक्ति नेपालमा सम्भव भएर साह्रै प्रचलित भएको होला ! ठूलो ब्रिन्दालो भएको परिवारमा बसेका पाकाहरू घरमै एक्लो, सुनिदिने, अह्राउन सकिने कोही नदेख्नु, चाडबाड र निम्तानाम्तीका भोज, भत्तेर तथा सामाजिक जमघटमा पनि कोही मुखबोलाउ नठानेर एकातिर धुमधुम्ती पर्ने बाध्यता एक्लोपनको अवस्था हो ।

पुराना साथीहरूलाई सम्झेर भेट्न नखोज्नु र कुरा, व्यवहार मिल्नगएका नयाँ साथीहरूलाई सम्पर्कमा राख्न नसक्नु एक्लोरहने स्वभाव विकसित भएको मानसिकता हो । यदि यस्तो स्वभाव छ भने, तपाइँ लाखौँ ती बृद्धाहरू मध्ये पर्नुहुन्छ जसले निशब्द आफ्नो एक्लिएको कष्ट र पीडालाई निन्याउरो अनुहार बनाएर एकान्तबास गरिरहेछन् । अमेरिकी विशेष शल्यक्रिया विज्ञ डा. विवेक मुर्थीका अनुसार यो समस्या मानव समुदायमा महामारीको स्तरमा फैलिएको छ । उनको भनाइमा ‘सामाजिक सम्पर्क भनेको मानिसको जीवितरहन गाँस, बास र कपास जस्तै आवश्यक्ता भित्रपर्ने प्रमुख आधारभूत बस्तुमा पर्दछ ।’

‘यो एक्लोपनको महामारीले’ हिजोआज विभिन्न तृष्णा, आफ्नो हैसियतभन्दा बढि चाहाने चिन्ता, मानवियभन्दा मौद्रिक मूल्यमा विश्वास गर्ने स्वभाव र सामुहिकभन्दा व्यक्तिवादी प्रबृत्तिका कारण सबै उमेरसमुहमा दूरगामी कुप्रभाव पार्दै फैलिरहेको पाइन्छ । फलस्वरुप अब पाका मान्छेका समुह अरु उमेरसमुहभन्दा समयको अन्तराल, सिकाइको भिन्नता र पुरानो मानिएको अनुभवको भरमा नयाँ पुस्तासँग फरक परेर एक्लिन बाध्य भएका छन् । त्यसमाथि पारिवारिक बिखण्डन, सदस्यहरू बिच बैमनश्यता र कुसँस्कारयुक्त इर्श्या तथा रुढिग्रस्त सामाजिक प्रणालीमा थपिएको गैरप्रजातान्त्रिक राजनीतिक अस्थिरता भएमा पाका मान्छे उमेरिएका बखत एक्लोपनको अँध्यारो गुफामा भ्रमण गरिरहेझैँ हुनजान्छन् ।

यसै बिरहलाग्दो एक्लोपन लगातार महशुस भइरहेमा जटिल खालका स्वास्थ समस्याहरू- उच्च रक्तचापदेखि मुटुका रोग, हृदयघात, रोगको सङ्क्रमण, शरीरको प्रतिरक्षा प्रणाली कमजोर हुँदै जाने र असामयिक मृत्यु हुने सम्भावना बढ्छ । त्यतिमात्र होइन लामो समय एक्लोपनको शिकार भएका उमेरिएका पाकाहरू त बिस्तारै मानसिक रोगबाट ग्रसित भई आफूमात्र होइन परिवारकै समस्या बन्न सक्छन् । तर आजकाल विज्ञानको प्रमाणित टेकोपुढोले वैज्ञानिकका धारणा आशाको दियो टिलपिल गर्दै बलेर प्रकाश पार्ने शुभसमाचारहरू आएका छन् । ती प्रक्रियाको सिलसिलामा एक्लोपनसँग लड्न सकिन्छ भने उमेरिएका मानिसहरू सम्पर्कित जीवन्त जीवन निर्माण गर्न सफल हुन समर्थवान हुनेछन् ।

पाकाहरू घरमै एक्लिन थालेपछि मनलाई शान्तीस्वस्थी गर्ने हिम्मतकासाथ बाहिरका समभागी, समअनुभवी र उस्तै उमेर जोडाका साथी खोज्ने काेशिस गर्नैपर्छ । त्यसका लागि धेरै ठूलो मिहेनत गर्नुपर्ने छैन्, अनुकुल समयमा भेटघाट हुँदा खुलामनले चिन्हेकोजस्तो हँसिलो मुखाकृति बनाए पुग्छ । तपाइँको हाउभाउ र उमेर आङ्कलन गर्दै सन्मुखपर्ने जो कोही पनि ‘हजुरलाई कहाँ देखेको जस्तो लाग्यो ?’ भन्न उत्सुक रहन्छन् । जीवनमा हजारौँ मानिस देखेका मान्छेले नचिन्हे पनि मस्तिष्कमा जम्मा भएका हजारौँ मानव आकृतिमा उही समुदाय वा क्षेत्रका मानिसलाई देख्या-देख्याझैँ लाग्नु स्वभाविक नै हो । त्यस्तै, जमघट कार्यक्रम, बजार घुम्दा वा नयाँ ठाउँमा घुम्दा उस्तै घटना भोग्दा र बाटो कटनी कुरामा समभावका मानिसहरूसँग साथी बनाउन सकिन्छ । त्यस्ता मान्छेसँग अप्ठ्यारो नभएसम्म सम्बन्ध तरोताजा राख्ने प्रयास गर्नु पर्छ ।

मौसम अनुसार आफ्ना उमेरसमुहका भेटिने ठाउँ खोजेर साथी बनाउन सकिन्छ, जस्तोः स्वास्थ र व्यायामका लागि बिहान वा साँझ घुम्ने चउर, बगैँचा, एकान्त, कम सवारी यातायात चल्ने फराकिलो बाटो आदि ठाउँमा घुम्न सकिन्छ । हलुका व्यायाम र भेटघाटकै लागि ढुङ्गा छापेका भर्‍याङ तथा परिशरमा बोटविरुवा साथै घुम्न मिल्ने रनबनभएका देवालय तथा स्तुपहरू पनि पाका मान्छेका दैनिक गन्तव्य हुनसक्छन् । जाडो मौसमका दिनमा घामताप्ने फलैँचा भएका चउर वा बगैँचा, ठूल्ठूला पुराना दरबारका अग्रभाग तथा सत्तलहरू उमेरिदा समय कटाउने सजिला ठाउँ बन्छन् । यसप्रकारका स्थानमा नियमित अवलोकन गर्ने क्रममा कुरा मिल्ने, समान धारणा र मन मिल्ने साथी पाउन सकिन्छ । भेटिएका त्यस्ता साथीहरूसँग भेटिँदा मात्र होइन अरु बेलामा पनि वार्ता गर्न सम्पर्क लिनु-दिनु गरेर मित्रताको निरन्तरता कायम गर्न सकिन्छ । एक्लै घरमा नै डल्लिएर निन्याउरो भएर कहिले छोराबुहारी वा नातिनातिना आउलान् र मान्छे बोलेको सुनिएला भनेर दिन कटाउनु पर्ने अत्यासको अवस्था त्याग्न सकिन्छ । सम्पर्कलाई ध्यानदिउँ, अरु केही नभए, ‘यो उमेरमा पनि बेफुर्सदी, कति साथिभाइ र हाईहाईमा दिन बितेको ?’ भन्ने परिवार सदस्यहरूलाई पारिरहनु पनि आवश्यक छ है !

बलियो होऔँः
उमेरिदा धेरैनै वर्ष बाँच्ने क्रममा आफूभन्दा बढि उमेरका मात्र होइन कम उमेरकाको पनि विभिन्न कारणले असामयिक निधन हुनसक्छ । आफ्नै काखमा हुर्काउन कति मिहेनत गरेको, हाँहाँ हुँहुँ गर्दागर्दै अकाल मृत्यु बरण गरेका केटाकेटी, सम्बन्ध भएदेखि चाटाचाट गरेका दम्पती अहिले काटाकाट भई छुट्टिएका वा निधन भएका हुन सक्छन् । दुखपिरका समयमा भरोसा दिँदै ‘हामी छौँ नि नडराउ’भन्ने बाबुआमा पनि माया र भरोसा दिने अभिभावकत्व त्यागेर आआफ्नै तरिकाले गुमाएका हुन्छौँ । यस्तो परिस्थिति सबैलाई ढिलो चाँडो परेको हुन्छ । नेपालमा जनउत्तरदायीे सोचाईको उल्टो प्रशासन र यस्को निर्देशनमा अक्षम व्यवस्थापनको अल्पबुद्धिले गर्दा प्राकृतिक प्रकोपले धेरैको परिवार छिन्नभिन्न भएका छन् ।

यस्तोमा अरु उमेरसमुह किम्कर्तव्यबिमूढ भए पनि पाका उमेरिएका मान्छे त मन बाँधेर ‘हुरीसँग जुध्ने र बाढीमा बाँकटे पौडेर पार लगाउने’ बन्नैपर्छ । त्यसैले जति उमेर बढ्यो उति धर्यवान तथा हजारौँ पिर दबाएर आफू र अरुलाई हँसमुख पारिरहने कलामा उमेरिएका मान्छे पोख्त हुन सुरु गर्नैपर्छ । त्यसो भएमा आन्तरिक बलले जित्ने बानी बस्छ र पाका मान्छे पिरोलिएर हुनसक्ने शारीरिक तथा मानसिक व्यथाबाट मुक्तहुन सकिन्छ । ‘एक्लै परियो, सङ्गीसाथी भएनन्, बोल्यो कि पोल्यो परिस्थितिमा छु’ भन्ने ठानेर एक्लोपन रुचाउने स्वभाव हटाउँ । बरु ‘रातरहे अग्राख पलाउँछ, बगेको पानी चोखै हुन्छ, जत्ति हाँस्यो उत्ति वर्ष बाँच्यो, जत्ति रोयो-मन कुँढ्यायो उत्ति चाँडै मर्‍यो’ भन्ने उखानको महत्व समयमै बुझ्न र खुसिभएर बाँकी जीवन जिउन जरुरी छ ।

उमेरिदाको बसाईः
नेपालमा २०७८को आँकडालाई भर गर्दा ८० वर्ष भन्दा माथिको उमेर समूहमा कुल जनसङ्ख्याको ०.९९ प्रतिशत (२,८७,५२३) छ, यसको अर्थ पहिलेको दशकको तुलनामा उमेरिने र धेरै वर्ष बाँच्ने महिलापुरुषको जनसङ्ख्या निरन्तर बढ्दैरहेको छ । दीर्घायुसम्म बाँच्ने अभिभावक, शारीरिक-मानसिक समस्या थपिन सक्ने र पारिवारिक सामुहिक चिन्तनको ह्रास संयुक्त घरपरिवार बिखण्डन हुन्छन् । कामकाजी सन्तानहरू आआफ्नै आनन्दमा रमाउन खोज्दा अति उमेरिएका पाकाहरू आश्रित हुनपुग्छन् । त्यस्तो परिस्थितिमा उमेरिएकाहरू छिन्नभिन्न भएर बाँच्नकै लागि विभिन्न वैकल्पिक उपायहरू देखापरेका छन् । आधुनिक समाजको मागअनुसार भनेर अचेल दिवा स्याहार केन्द्र, बुढ्यौली समाज, बुढ्यौली हेरबिचार केन्द्र र बृद्धाश्रमहरू खुलेका छन् । सक्नेले ‘आफूसँग राखेर पित्रीऋण र जिम्बेवारी बहनगर्नु’ भन्दा पैसातिरेर सामाजिक ठस्सा देखाउँछन् । नसक्नेले त रुखासुखा खाएर भएपनि आफूसँगै राख्छन् भने अरिष्ट सन्तानले सदावर्ते हण्डी कता छ भन्दै लैजाने वा सहरबजार र ठूला मन्दिरछेउ छोड्ने कुकर्म नै गरेको पाइन्छ ।

प्राय सबै उमेरिएका पाकाले केहि नभए मायालु सुम्सुम्याइको आशमा बाँचुन्जेल आफ्नै सन्तान-दरसन्तानसँगै ‘अन्तिममा एक घुटको पानी ख्वाउँछ’ भन्ने लागेर बस्न चाहान्छन् । पारिवारीक चिन्तन, व्यक्तिगत धारणा, निरन्तरको रोगव्याध, अशक्तता र परिवार सदस्यहरूको बिचारमा ‘पाकालाई हेरबिचार गर्न कामको व्यस्तताले’ बाधाभई राख्नुपर्ने निहुँको बाध्यता सतहमा देखिन्छ । पैसा कमाउनु प्रमुख काम तर आफैँलाई जन्माई, हुकाई कमाउन सक्ने बनाउने बाआमा पाल्नु अनावश्यक बोझ भएको अभिव्यक्ति दिन लजाउँदैनन् । आधुनिक सोचअनुसार एकल परिवारमा रमाउनु र आफन्तको सेवा-सुशुर्षागर्नु अनुत्पादक मूल्यहिन काममा दर्जिनु, त्यस्ता अविच्छिन्न कर्तव्यलाई निम्छरोपन ठान्नु अमानविय लक्षण हुन् । टाउकै ठोकेर अनुनय गरे पनि त्यस्ता सन्तानले घाट पर्खिरहेका अभिभावकलाई समेत एक झर ओतने छानो र एकमुठी खाने मानोबाट गलहत्त्याउन बेर लगाउन्नन् ।

शारीरिक मानसिकरुपले अलिअलि अक्षम हुँदा पनि उमेरिएका मानिसलाई परिवार सदस्यले सकेको सघाउन सँगसँगै मायागर्दै घरायसी काममा लगाउन कोसिश गर्नुपर्छ । यसले पाका मान्छेमा अझै सक्षमताको आभाष हुने, काम गर्न सकेकोमा प्रफुल्ल हुने र कामबाटै व्यायाम भएर तन्दरुस्ती रहन सघाउने हुन्छ । यस प्रक्रियाले उमेरिदा एक्लोपनको मानसिक चिन्ता, आफन्त गुमेको पिडा र अशक्त भएको ग्लानी हराउँदै जान्छ । परिवारमा टिक्नै गाहारो भएमा आफूजस्तै उमेरसमुह, समुदाय तथा आर्थिक अवस्थामा हुर्केकाहरू बसेका स्याहार केन्द्र रोजेर राख्न सकिन्छ । हरेक अन्तिम निर्णयमा परिवारले अभिभावकलाई खुलस्त पार्नै पर्छ । सकृय रहेका पाका मान्छेहरू बाहिरफेर काम नगर्ने भए त आधुनिक सामुहिक घर (एपार्टमेण्ट), सहआवास (हाउजिङ) र निर्धारित बस्ती विकासहरूमा धेरै उस्तैउस्तै परिवार बस्ने भएर उमेरिएकाको जमघट तथा भेटघाट बढाउने राम्रो थलो बन्न सक्छ ।

यस्ता आवास भएको ठाउँमा रहेकामध्ये धेरैका परिवारमा कम्तीमा एकदुइ जना त उमेरिएका पाका हुन्छन् । हाम्रा भर्खर सुरु भएका व्यवशायमा मात्रै होइन पश्चिमा देशहरू र अमेरिकातिर पनि त्यस्तै आँकडा रहेको हार्वार्ड मेडिकल स्कूलको प्रतिवेदनमा पाइन्छन् । त्यहाँ बस्नेहरू बिचमा सम्पर्क बढाएर, सबैलाई अनुकुल पर्ने समयमा भेला, भेटघाट र समसामयिक विषयमा जमघट बढाउने साझा सभाकोठामा जम्मा हुन सकिन्छ । त्यस्ता आवास क्षेत्रमा बासिन्दाका लागि बगैँचा, घुमफिर गर्ने क्षेत्र र घरभित्रका खेलकुद तथा व्यायाम कोठा हुने भएर त्यहाँ पनि उमेरिएका मान्छे भेलाहुने अवशर मिल्छ । धेरै व्यक्तिगतकाम आफैँ गर्नुपरे पनि सामान्य सरसहयोग तथा आपसी हितमा कार्यगर्ने पाका मान्छेलाई बसाइको निकटताले अनुकुल पर्दछ । कतिपय अक्षम अवस्थामा रहेका पाका मान्छेका लागि बाहिरी हेरालु वा स्वास्थ्य सहायक वा आवास क्षेत्रकै चिकित्सकको सेवा लिने अवशर त्यहाँ मज्जाले व्यवस्था गर्न सकिन्छ ।

अन्त्यमा,
नेपालको परिप्रेक्ष्यमा केही अध्ययन, अनुसन्धान तथा अल्पकालिन शोधकार्य त्रिभूवन विश्वविद्यालय र एजिङ नेपाल जस्ता सँस्थानले पनि गर्नेगराउने भएर केहि तथ्यपूर्ण जानकारीले अद्यावधिक हुन पाइएको छ । हालै एमफिल पिएचडीकी छात्रा अञ्जली लिम्बु लावतीको पाका मान्छेका सामाजिक सुरक्षा भत्ताको उद्येश्य र औचित्य बारेको शोधले दिइएको आँशिक पहेँला अक्षेता जत्तिको भत्ता र सहयोगी अरु कामबारेमा पनि एक नगरपालिकाको नमुना अनुसन्धानले हाम्रो अहिलेको समाजको निकै प्रष्ट वास्तविकताको उद्घाटन गरेको छ । कामकाजी मान्छेको उमेरिने क्रममा सेवानिवृत्त गरिने उमेर र सामाजिक भत्ता पाउने उमेरमा तादात्म्यता नहुनु र करिव एक दशकनै खालिहुनु बिडम्बना भएको परिणाम शोधमा आएको छ । त्यस्तै लामो समय एक खालको पेशामा भएका निवृत्त भएर कहीँकतै अर्थोपार्जनमा जोरिन नसक्नु र सरकारले सामाजिक शुरक्षा भत्ताबाट बिमुख पार्नु जीविकाको लागि अमानविय हुन्छ ।

शोधको क्रममा देखियो कि करिब ४२% बढि पाका मान्छेहरू अन्य आयस्रोत नहुँदा भत्ताबाट दैनिक गुजारा चलाउन असमर्थ भई परिवार धान्न निकै कष्ट र सामाजिक हैसियत गुमाउँदै चिन्ता तथा पीडामा रहेका छन् । परिवारको त्यस्तो अवस्थामा सबैभन्दा बढि प्रभावित पाका मान्छहरू नै शारीरिक कमजोर भई रोग बल्झाउने साथै लगातारको पीडाले असहाय अनुभूत गर्दै मानसिक एक्लोपन तथा तनावमा रहेर रोगव्याध समेत निम्त्याइरहेका भेटिएका छन् । सरकारले साँच्चैका जनहितकारी विधिनियम बनाउने हो भने कम्तीमा दैनिक खाद्यआपूर्ति हुनसक्ने सामाजिक भत्ताका साथमा यातायात र निशुल्क स्वास्थ्य सेवाको प्रारम्भिक व्यवस्था गर्नै पर्दछ ।

त्यसो भएमा पाका मान्छेहरूका हितमा सरकारी निकाय गम्भीर छ भन्ने अनुभूति समाजमा प्रशारण हुन्छ । अन्यथा यस्ता अपर्याप्त भत्तामात्र त मन्दिरमा परेवा र देवतालाई हुर्याएका अक्षेताजस्तो र चुनावमा भाेट कमाउन बाँडिएका एक छाक भातको भोज सरह हुने सोचाई नागरिकहरूमा पाइन्छन् । दल नाइकेहरूले बुझ्नु पर्छ भित्रीमुराद बुझेका युवा त तपाइँहरूका अह्वानमा जुलुशमा आउन छाडे, पाकाहरूले उहिल्यै बुझेर साथदिन छाडिसकेका छन् । तपाइँहरू आफ्नै उमेरद्रोही नबनी उमेरिएकाहरूको हितमा नियमकानुन बनाउनु होस् अनि पो तपाइँहरूका लागि गरिएको मुलुकीखानाको उपयोगलाई सहलान् अन्यथा अन्त्यकालमा पाका मान्छेका लौरे जुलुसमा घेरिएर कहाँ लुक्न सफल हुनुहोला ?

०००
चालिसे डाँडा, ललितपुर
मङ्सिर १३, २०८१

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाको मान्छेका तथ्य कुरा बुझौँ

पाको मान्छेका तथ्य कुरा...

डा. मुकेशकुमार चालिसे
पाका मान्छेमा अलमल !

पाका मान्छेमा अलमल !

डा. मुकेशकुमार चालिसे
हामी हेपिने मान्छे हो र ?

हामी हेपिने मान्छे हो...

डा. मुकेशकुमार चालिसे
बृध्दभत्ता– पहेँला अक्षता कि पिण्ड हो ?

बृध्दभत्ता– पहेँला अक्षता कि...

डा. मुकेशकुमार चालिसे
कसरी पाटी बन्दैछन् घरहरू… ?

कसरी पाटी बन्दैछन् घरहरू…...

डा. मुकेशकुमार चालिसे
हामीलाई एकै नापो काम लाग्दैन है !

हामीलाई एकै नापो काम...

डा. मुकेशकुमार चालिसे
वृद्ध हुन् कि वा युवा…

वृद्ध हुन् कि वा...

कविराज घिमिरे
पाको मान्छेका तथ्य कुरा बुझौँ

पाको मान्छेका तथ्य कुरा...

डा. मुकेशकुमार चालिसे
पाका मान्छेमा अलमल !

पाका मान्छेमा अलमल !

डा. मुकेशकुमार चालिसे
हामी हेपिने मान्छे हो र ?

हामी हेपिने मान्छे हो...

डा. मुकेशकुमार चालिसे
0
Would love your thoughts, please comment.x
()
x