साइबर अपराध सम्बन्धी सचेतना सामग्री

उमेरिदा भोग्ने निधनका पीडाहरू !

हामी जन्मेपछि बुझ्ने उमेर सम्मका धेरै कष्टसाध्ये हुर्काइका बेलाका बाआमाका मिहेनत र हेरबिचारका समय थाहा पाउन्नौँ, तर आफूले सन्तान हुर्काउन गरेका परिश्रमबाट अनुभूति त गर्न सक्छौँ नि ।

Nepal Telecom ad

डा. मुकेश चालिसे

हरेक प्राणी उमेरिदै जाँदा र पाको वयतिर उकालो लाग्दा प्राय सबै प्राणीहरू वयस्कजस्ता शारीरिक र आँटभरोसाको हिसाबले उस्तै रहँदैनन् । त्यसैले त चाहे प्रेम-विवाह गरेको होस् वा सनातनी विवाह गरेको होस् ‘पहिला जस्तो त छैन’ भनि जोइपोईमा ङारङुर जस्को पनि सुनिन्छ । जीवजन्तुमा पनि उमेरिदा धेरैजसो उमेरमा जस्तो फुरफुर तथा चनमते स्वभाव हराउँदै हरेक कुरामा बिशेष पहिचान गरी चलखेल, उम्नाचो तथा छिटोछरितोपन नभई समुह जता लाग्छन् त्यतै पछिपछि दुरी बनाई लेप्सिने गर्छन् । जोडी वा प्राय एकल भए चलखेलका घेरो सानो र सुरक्षित ठाउँको सिमित भूभागमा विचरण गर्छन् । मानिस सामाजिक प्राणी भएकाले उमेरिदा हेरबिचार गर्नैपर्ने सन्तानहरू लाखापाखा लागे पनि जोडी भएका जोडी नै रहन खोज्छन्, एकल हुने स्थितिमा तुलनात्मक हिसाबले सक्षम र नरम बिचारको खोप्रातिर पछि लाग्छन् । उमेरिएका हरेक महिला-पुरुषलाई सामान्यतया उमेरको कारणले आफ्नै बाबुआमाको निधनले अतिशय पीडा दिन्छ । यस्ता कुरा बिज्ञान र सनातनी हिसाबले पनि ठ्याक्कै मानिसको मृत्त्यु थाह पाउन सकिन्न । ओच्छ्यान नै परेकालाई भने तङ्ग्रिने छाँटकाँट हेरेर केही अनुमान गर्न सकिएला !

हरेकका मृत्त्यु अकस्मात नै हुन्छ र जतिसुकै उमेर खाएको भए पनि आफूले हेक्का गम्भिरतापूर्वक नलिएकाले असामयिक नै हुन्छ । अन्यत्रजस्तै तर समान्यभन्दा बढि अनपेक्षित नोक्सानी नेपालमा चाहिँ गैर-लोकहितकारी व्यवस्थापनको कारणले बिगत कोरोना महामारी, भूइँचालो र बाढीपहिरोले हरेक उमेरसमूहलाई प्रभावित पारेर भएथ्यो । उमेरिएका पाकाहरू जसोतसो बाँचेका भएपनि आफ्नै अगाडि आफूभन्दा कम उमेरका आफन्त गुमाउँदाको पीडाले अशक्त अभिभावकलाई कति चित्त फाटेको र कुँढिएको होला ? पाका जोइपोई बाँकि रहेर घर सम्हालेका सन्तान र घरनै रमाइलो बनाउने दरसन्तान गुमाउँदाको पीडा सहन गर्न कति गाह्राे भएको होला ? यस्तै-यस्तै प्रकारका भवितव्यमा पाका मान्छेलाई कसरी बुझाउने ? यस्ता अकल्पनिय घटना हुन सक्छन् र जीउँदा मान्छेले जीवन चलाउनै पर्छ, सम्हालिएर अघि बढ्नै पर्छ । उच्च स्तरमा भावनात्मक हिसाबले बढि सोच्ने मानिस नै हो र जस्तोसुकै अप्ठ्यारोमा तुलनात्मक सहजरुपले मन बुझाउने तरिका जान्ने पनि मान्छे प्रजाति नै भएको बिर्सनु हुन्न । नौला तथा अनुभवहिन घटनाका समस्यामा मान्छेले विस्तारै फेरी जीवनरथ अघि बढाउन जान्दछन् ।

हार्वार्ड प्रकाशनका स्वास्थ लेखिका जेनिफर फिसर र सम्पादकिय सल्लाहकार स्टेफेनीए क्वैलार दुबैको सर-सल्लाहमा आफ्ना अति प्रियजनको मृत्त्युमा संयमकासाथ पिर बिरुद्ध सङ्घर्ष गर्दैगर्दा कस्तो अवस्था आउँछ भन्ने लेख २०२३ को दिसम्बरमा अघि सारिएको छ । कसरी अति पीडा अनुभुत हुन्छ ? त्यस्ता पीडाबाट मुक्त हुन के के गर्नुपर्छ ? अनि कसरी समवेदना व्यक्तगर्दा पीडितलाई सहानुभूति तथा पिरबाट अघि बढ्न हौसला मिल्छ भन्ने कुरामा सिपालु हुनुपर्छ जस्ता तर्कमा आफू जानिफकार हुने सुझाएको छ । आत्मियको निधनमा पिरले हृदय र मनको आएको असामान्य विक्षिप्त अवस्था निको पार्न केहि तरिकाहरू यस्ता छन् भनि अघि सारिएका पाइन्छन् ।

आफूलाई परेको अपूरणीय क्षति तथा शोकमा गम्भीरतापूर्वक भोग्नुपरेको मानसिक घातले केही नयाँ कुरा र दिशानिर्देश हुन सक्छ । त्यस अवधिमा भोग्नु परेका समस्या र आयामहरू प्राप्त विभिन्न अनुभवले तपाइँलाई शोकका विविध चरणसँग प्रत्यक्ष साक्षात्कार गराउँछ । हरेक पटकको त्यस्ता पिरले कसरी, कस्तो अवस्थामा कसको निधनमा कति शोक लाग्नेगर्छ भन्ने कुराको जानकारी गराउँछ । पृथक-पृथक आपसी सम्बन्धमा अनुभूत हुने विविधता बारेमा आफैँ ज्ञान हुनथाल्छ र त्यस बिरुद्धमा आफैँले कस्तो प्रतिरोध गरिन्छ भन्ने भावनात्मक स्तर प्रकट भएको पनि बुझिन्छ । फरक पीडाको हदबाट उठेर पुन दैनिकीमा आशा, उमङ्गका र आत्मविश्वासका साथ जीवन सङ्घर्षमा फर्किनेरहेछ भन्ने पनि सुसुचित हुने अवशर पाइन्छ । शोक व्यक्त गर्न आएका र शोकाकुल भएकालाई स्तर अनुसार कसरी सान्त्वना लिनेदिने हुन्छ भन्ने सिक्लाई पनि हुन्छ । अति शोकमा जीवन-मरणको पीडा अनुभूत गरेका शोकाकुल र मृत्युउन्मुख रोगव्याध लाग्दा आफन्तलाई समयमा नगरिएको मद्दत वा कस्तो हुँदा बेलैमा सहयोग नगरेकोमा हुने पश्चातापमा निर्लिप्त हुनबाट रोक्न चेत पलाउन मद्दत पुग्नेगर्छ ।

मानिसका हरेक उमेरसमुहका व्यक्तिलाई आफन्त विशेषगरी अभिभावक स्तरका र एकै परिवारका जिम्बेवारको तथा स्नेहयुक्त परिवार सदस्यको मृत्युले तपाइँको जीवनको घुम्तीमा परिवर्तन ल्याउन सक्छ । निधन हुनेका प्रति गरिएका भरोसा र उसबाट हुने सर-सहयोगका आकाङ्क्षामा तुषारापात मात्र होइन मृत्युले पूर्णविराम नै लगाइदिन्छ । त्यसैले बितेका मान्छेसँग घनिष्ठ सम्बन्धको स्तरअनुसार आफ्नो व्यक्तित्व निर्माणको आधार भत्केको अनुभूतिमा परिपुरकको अभावमा आफैँ एक्लैले कसरी बढ्ने भन्ने बैचारिक अन्तरद्वन्द्वले आफ्नो हैसियतमा जीवनको परिभाषा फेरिन पनि सक्छ । बिबाहित हुनलाई महिला (श्रीमति) बिनाको पुरुष (लोग्ने) र पुरुष (लोग्ने) बिनाको महिला (श्रीमति)को अभावमा दम्पति कसरी हुन सक्छन् र ? सानै उमेर छँदै बाबुआमा गुमाएका छोराछोरी वा अनाथहरू, के अभिभावक नभई हुन्छन् र ? जीवनको प्रारम्भिक कालदेखिको वा समान बिचारको व्यवहारिक काममा माझिएको साथीजस्तो सच्चा घनिष्ठ साथीको अभाव पूर्ताल गर्न सहजै सकिन्छ र ? जन्मने कुरा निश्चित नहुन सक्छ तर हरेक जीवको मृत्यु हुनु अकाट्य सत्य घटना हो । यो बाँच्ने आपन्तका लागि अति पीडादायी नै हुन्छ ।

शोकलाई तुरुतै बिर्सन सक्नुपर्छ भन्नु वा यसरी चाँडै सहन गर्न सकिन्छ भन्नु नै एक किसिमले ठिक हुन्न । हरेक मानिसको मृत्युपछि शोकगर्ने मानिसहरू आफ्नो सम्बन्ध र आनीबानीको समिपताको आधारमा शोकलाई अभिव्यक्त गरेको पाइन्छ । भिन्न -भिन्न स्तरका भावनात्मक सम्बन्धमा शोकसहनको तरिका र अवधि पनि फरकफरक हुनसक्ने भएर एउटै मापदण्डको ओखती (सम्झाउने वा बुझाउने शव्दहरू) पाउन सकिन्न । त्यसैले बित्ने व्यक्ति र उनीसँग सम्बन्धित सहानुभूति व्यक्त गर्न जाने तथा शोक सहनमा बसेकाहरूको स्तरअनुसार अप्ठ्यारोबाट पार पाउन त्यहि स्तरका समवेदनाका शव्दहरू अर्पण गरिनुपर्छ । प्राय शोकको बेलामा शोक सहन गर्ने बाध्यतामा परेका मानिसहरूले पाँच प्रकारका तहबाट भुक्तभोगी अभिव्यक्ति जाहेर गरेका हुन सक्छन् ।

१) अस्विकारः
वास्तविक भइसकेको घटना वा आफन्तको मृत्युको घटनालाई होइन भन्नु, नपत्त्याउनु, आफूलाई त्यति माया र अभिभावकत्व प्रदान गर्ने मरेको नमान्नु, आफुले अति मनपरेको वा माया गरेको आफन्त चटक्क बिछोड हुनु सह्य हुँदैन । आफ्नाको मृत्यु घटना सहजै कसैले समन गर्न गाह्राे हुन्छ र हरेकले केही समय भए पनि अस्विकार गरिरहेकै देखिन्छ, सुनिन्छ । घटनालाई इन्कार गर्नु र नबुझ्नु फरक मनोविज्ञान र भावनात्मक संवेग स्थिति हुन् । यस्तो अवस्थाले अझ बढि पीडा र आघातले शोक सहनमा बाँचेका निकटहरूलाई पर्नबाट बचाउन मद्दत गर्छ । प्रियजन बितेका केहि दिन झलझली सम्झनु, आफू वरिपरी लुटपुटिएको र घरमै बाहिरभित्र रहेझैँ लाग्नु, मिल्दोजुल्दो आवाजलाई आफूलाई बित्नेले बोलाएको आभाष हुनु आदि लागिरहन सक्छ । त्यस्तै निधन भएको ठ्याम्मै नपत्त्याउनु, त्यस्तो विषयमा कुरै गर्न नचाहनु र बेलाबेला अमुकको निधन नभएको साथै गलत कुरा भनिएको मान्नु पनि अस्विकार गरिएका लक्षण हुन् । बाआमाको मृत्यु आघातमा परेका एक बयस्कले साह्रै पीडित हुँदा तन्द्रामा बोलेझैँ जाडोगर्मी मौसममा बाआमा बसेका दाजुसँग भेटमा न्यानो र सितलको व्यवस्था के छ भनेर सोधिरहेको अवस्था यसैको उदाहरण बन्नसक्छ । ती भाइले अति माया गर्ने बाआमा पनि मर्न सक्छन्, असम्भव भन्दैरहे, कहिल्यै पत्त्याएनन् ।

२) आक्रोशः
सबै मानिस शोक सहनको घडीमा जानकारी पाएको खतीको विवरणलाई पत्त्याउने अवस्थामा पुगेपछि अब भवितव्यको लागि कोही न कोहीलाई जिम्बेवार ठहर्‍याई उसप्रति आक्रोशित हुन थाल्छन् । प्राय त्यस्तो दुखद घटना हुनुमा आफैँलाई, परिवारको अमुक सदस्यलाई, चिकित्सकलाई, भाग्यलाई र निधन हुनेकै दोष देखाई अति रिसाउन पनि सक्छन् । रिसको झोकमा सराप्ने, तथानाम भन्ने र आक्रामक शव्दहरू प्रयोग पनि गर्नसक्छन् । शोक सहनको बेला भनिएका कुरा कतिले चोट परेर भनेको भनि कम वास्ता गरे पनि कतिले मनको तुस पोखेको ठानेर इखलिन पनि सक्छन् । यस्तो भएमा सबैभन्दा राम्रो आफ्ना भावनात्मक संवेगलाई के के गर्दा शान्त होला भनि खोजि गरिनु पर्छ र सहयोगी पात्रहरूको छनौट पनि गरिनुपर्छ । त्यसो भएमा निधन भएका व्यक्तिको पुर्तालमा जिम्बा लिने असल पात्रको मद्दत लिन सहज हुन्छ । आफू नितान्त अनाथ र एक्लो भएको महसुस नहुँदा शोकमा परेकाहरू फेरि क्रियाशील भई शोकबाट बउरिएर आउन अलि सहज हुन जान्छ । समान भोगाईका अनुभवीबाट सल्लाह, सहयोग र ढाडस लिन अठोटेका मानिसहरू जम्मा हुनु शोकमा परेकाहरूलाई गुनिलाे मार्गदर्शक टोली बन्नसक्छ ।

३) सम्झौताः
आफन्तको तलमाथिले भोग्नेलाई पिर, डाहा, निराशा र मन नै हुँडलिएको विक्षिप्त अवस्थामा रहेको हुनसक्छ । ‘यसो भएको भए हुन्थ्यो, उसो भएको भए हुन्थ्यो, म अगाडि नै भएको भए हुन्थ्यो कि !, त्यसो नगरेको भए हुन्नथ्यो कि !’ भन्ने लागेर शोक सहनमा बसेका मानिसहरू बिस्तारै विकल्पका चिन्तामा स्वान्त सुखायको लागि सोच्न थाल्दछन् । आफ्नो मन बुझाउन र ढाडस लिएर आन्तरिक शक्ति बलियो पार्दै जान्छन् र विभिन्न तर्कनामा अल्झेर खतीलाई बिर्सदै मोलमोलाईको सम्झौता गर्न थाल्छन् । यस्ता मनबुझाउने उपाय देश, काल, परिस्थिति र समुदाय अनुसार फरकफरक हुनसक्छन्, एकै किसिमका तर्क हुँदैनन् । ‘मैले सामान्य ख्वाक्क गर्दै जान्नेकहाँ वा अस्पताल लगेकोभए निकोहुन्थ्यो कि ?, म केहि लक्षण देखिदै हेरबिचार र कुर्न बसेको भए मरीहाल्न पर्दैनथ्यो कि ? हे भगवान ! एकफेर फर्कीआए मात्र, कहिल्यै साथ छोडने थिइन !’ भन्दै बिलाप गर्ने अवस्थामा पुग्छन् ।

४) उन्मादः
निरास, जहिल्यै पिल्पिलाउँदो, मलिन अनुहारको दुखी देखिनु आफन्तको मृत्युमा भएको खतीले हुने उन्मादको कारणले हो । जोइपोइमा अति पाको हुँदा एक्लै बिछोडिनु परेको पीडा त बहुत कमले मात्र सहन गर्न सक्छन् । जहिल्यै झ्याउरो भएर रसिला आँखा पारिरहनु, उराठलाग्दो लुगाफाटोको प्रयोग, रुगरुगाउँदो ज्यान र हरेक कुराकानीमा निराशामात्र झल्किने एकल भएकाको चरित्र नै बनेको हुन्छ । बितेका मान्छेको जस्तै मिल्दोजुल्दो काम गराइ कसैमा पाएमा टोलाएर हेरिरहनु, आनिबानी उस्तै अरुमा देखिए सम्झीसम्झी आँसु झार्नु र कसैले सामान्य कडाबचन बोलेमा पनि जोडीको सम्झनामा हुँक्कहुँक्क गर्दै चित्त दुखाई रुन थाल्छन् । कतिपय महिलाले बिछोड खप्न गाह्राे  भएर कपालनै नकोर्नु, पीडाले हातका नङ् टोकेर ठुटा र रगतपक्ष्य पार्नु, आफैँलाई चिथोर्नु आदि गरेको देखिन्छ । सँधै गलित, थकित, पहिले रमाइलो मानेका गतिविधिलाई अब नमान्नु, निद्रा, सुताईमा परिवर्तन हुनु, यस्ता असामान्य व्यवहार उन्मादकै कारण अभिव्यक्त भइरहेका हुन्छन् ।

प्रियजनको मृत्युले शोकमा परेका आफन्तमा उन्मादका लक्षणहरूमा शारीरिक तौलमा उल्लेखनीय घटबढ हुनु, नयाँ कुरामा छटपटिनु, एक्कासी उतर्सिनु, आफूलाई काम नलाग्ने ठान्नु पनि हुन् । कर्म फुटेको, अभागी, दुखेसोपूर्ण जीवन, जता गए पनि हुनसक्ने हरेक बेठिकमा आफैँ दोषी भएर बिग्रेको ठान्नु जस्ता लक्षणहरू थपिदै जान्छन् । यस्ताको कुनै काम फत्त्ये गरुन्जेल गर्ने र लागिरहने एकाग्रता हुँदैन साथै पर्खिने धर्यता गुमाएको पनि देखिन्छन् । शोक सहन नसक्दा हुनसक्ने मानसिक समस्यामा लामोछोटो मात्राको उन्माद नै प्रमुख रुपमा देखिन्छ । अति नजिकका प्रियजनको आकस्मिक निधनले अति पीडादायी मानसिक कष्ट हुने स्वभाविक हो । यसैको फलस्वरुप शोकग्रस्त मानिसहरू केहि समय त गरिरहेका दैनिकी पनि सुचारू गर्न सक्तैनन् । बित्ने मान्छेको शोक मनाउन आफ्नैले गर्ने परम्परागत काजक्रियाका प्रथा र कथाहरूलाई आधार मानेर आफन्त निकै गम्भीर भएर शोक गरेमा दीर्घकालको चिन्ताकै रोगलाग्न सक्छ । अनि छ्यानबिछ्यान छुट्ट्याउन नसक्ने भएर मानसिक अन्य रोगको समेत चपेटामा पर्न सकिन्छ र वर्षदिन पनि नाघेर छोडेन भने त मनोचिकित्सकलाइ नै जचाएर ओखती गर्नुपर्ने हुनसक्छ ।

५) स्विकारोक्ति
शोक सम्बन्धि कुव्लर रोजका पाँच तहका मनोविज्ञानको अन्तको पाँचौँ स्तरको बिचारमा स्विकारोक्ति पर्दछ । यस्तो अवस्था दिन बित्दै जाँदा निधन भएको मान्छेको पीडा अन्य कामले दैनिकीमा सम्झे पनि कामले बिर्सने पार्छ र निरन्तर दिमागमा नआई कहिलेकाहीँ आएर मृत्यु साश्वत सत्यको रुपमा स्विकार गर्न थाल्दछन् । मृत्युलाई स्विकारेपछि काममा मन लाग्छ, आँट बढछ र बितेका मान्छेका राम्रा कुरा संस्मरण हुन थाल्छन् र उसले दिएका अर्तीउपदेश सम्झिन्छ अनि त्यस्तै अनुसार सकृयहुन थालिन्छ । हामीले बितेर जानेलाई ‘ठिकै छ’ भन्नुभन्दा पनि ‘मृत्यु हरेक प्राणीको अन्तिम सत्य हो’ भन्ने चाहीँ स्विकार गरेको हो । यस्तो सोच्दैगर्दा बाँचेकाले निधनभएकाको हिजोसम्म लिइएको जिम्बेवारी आफूले बहन गर्नुपर्ने हेक्का पनि राख्नुपर्ला ? मृत्यु भएकाको जस्तै शतप्रतिशत उस्तै काम गर्न नयाँ परिस्थितिमा नसकिएला तर फरक हिसाबले भए पनि मूल आशय नबिगारी त सकिएला नि ! बित्नेको सट्टामा हुबहु उस्तै हामी नहौँला तर हाम्रा समान धारणाले नयाँ सम्बन्ध, अर्थपूर्ण कामधाम र परिपुरक अवस्था सिर्जना गरेर आवस्यक्तानुसार विकसित हुन त सकिन्छ नि ! हामी फेरि जीवनजगतका मर्म बुझ्दै शोकलाई शक्तिमा बदलेर थप सहकर्मीहरूसाथ सम्बन्ध बलियो बनाउँदै पिरलाई इखको रुपमा लिएर बिर्सदैँ सशक्त जीवनयापन गर्न अघि बढ्ने साहस गर्नैपर्छ ।

पुर्तालः
प्रियजनको मृत्युशोकमा अधर्यहुँदा, सम्हालिन नसक्दा मानिसलाई भौतिक, शारीरिक र मानसिक बिपत्तीहरू आइलाग्न सक्छन् । बित्ने मान्छे आफन्तको जस्तात्यस्तै पूर्ताल हुनत असम्भव छ, हरेक मानिसमा विविधता भएकाले सम्भव हुँदैन तर राहत पुग्ने गरेर उपस्थिति बनाउन सकिन्छ । क) दैनिकीका हरेक कामका नियमितताको समय-तालिका बनाउने र त्यहिअनुसार समयबद्ध स्वस्थ खानपिन गर्ने र व्यायामको समय छुट्ट्याउने । नियमित एकै समयमा ओछ्यानमा जाने र उमेरअनुसार उचित समयसम्म निदाउन प्रयास गर्ने । यसो भएमा तपाइँको काम प्रतिको पर्याप्त लगन र एकाग्रताले दैनिकी सन्तोषपूर्ण तरिकाले अघि बढ्छ साथै शोक पनि समन हुँदै नियन्त्रणमा जान्छ । ख) बाँचुञ्जेल जस्तै निधन हुनेको जन्मदिन कम्तीमा वार्षिक रुपमा उहाँका असल पक्षको उल्लेख र प्रशंम्सा गरेर मनाउनु उपलब्धिमुलक हुन्छ । यस्तोमा उहाँको कृतिहरू, चित्रहरू, सुकामका लिखत सङ्कलन र उहाँकै जम्मा भएका चिजविज तथा प्रदर्शनलायक बस्तुको सार्वजनिकीकरणले अरु पुस्ताक प्रभाविलो हुनेछ । ग) गरिएको यस्ता कामले तपाइँ आफूलाई आनन्दित पार्ने मात्र होइन अरुको अवलोकनको हौसलाले गर्व लाग्न थाल्छ र स्मृतिदिन मनाउने उचित तरिका पनि सार्वजनिक हुनेछ । अरुले पनि यस्तै गरेमा एउटा असल सम्स्कृतिको निर्माण समाजमा पनि हुँदै जानेछ ।

शोक पीडाका अनुसन्धाता, होप हेल्थकी समाजिक-कार्य अभियन्ता तथा परामर्शदात्री डियाने लाम्बर्टले शोकको पीडाविरुद्ध छ थरीबाट काम गरेमा बाआमाको निधनमा पनि आन्तरिक शक्तिकासाथ अघि बढ्न सकिने बताएकी छिन् ।

अ) नयाँ पस्थितिमा अभ्यस्त हुन सरिक होऔँः केही महिना त बाआमाको निधनले सन्तान र नजिकका आफन्तलाई बज्रपात नै हुन्छ । पाका मान्छेका पनि अतिपाका बाआमा हुनसक्ने परिस्थिति अहिलेको सामाजमा स्वास्थ जनचेतना र ओखतीको पर्याप्त उपलब्धताले सम्भव भएको छ । आफ्ना अतिप्रिय र आदरणीय पात्रको अभावमा परिवारका लागि छानो उडाएको घरमा बसेझैँ भए रहेको मनोभावना उर्लिरहेको हुन्छ । दिमागको एकभागले उहाँहरूको निधन भएको देखेर र सुनेर मान्छ भने अभावलाई सहजै स्विकार्न भावनात्मक हिसावले सकिरहेको हुँदैन । मृत्यु हरेक प्राणीको एकमात्र सत्य हो, आयु लम्ब्याउन सकिन्छ तर काललाई नकार्न सकिन्न, ढिलोचाँडो हुन्छ, हुन्छ । बाँच्नेले उहाँहरूको असल आनिबानी र सुकार्य पच्छ्याउँदै नयाँ परिस्थितिमा अभ्यस्त हुँदैगएमा ‘बितेका आदरणीयहरू आफू सँगसँगै कामको रेखदेख गर्दै हुनुहुन्छ’ भन्ने आभाष नै हुनेछ ।

आ) पिरको भारी बिसाऔँः बाटोमा नचिनेको मानिसको मलामी देखे निधन भएकाको खोजखवरको उत्सुकता हुन्छ, निधन भएको मान्छे नामलेमात्रै चिन्हेमा पनि चुकचुक गरिन्छ । त्यसमाथि आफ्ना अभिभावक र अतिप्रिय बाआमाको मृत्यु सन्तान वा परिवारलाई सह्य होला ? शोक र डाहा नहुने सामान्य घटना लाग्ला र ? हो, उहाँहरू प्रति गरिने सबैभन्दा ठूलो श्रद्धा भनेको बाआमाको नाममा आउने औँसीमा मात्र सम्झने होइन । बरु हरेक दिन आफ्ना सुकर्म अघि बढाउन उहाँहरूका असल पक्षलाई सम्झने र नजिकैबाट आफूलाई नियाली रहनु भएको छ भन्ने चिन्तनले होसियारीकासाथ काम गर्ने हो । यसरी उहाँहरूको निधनमा कोकोहोलो मच्च्याउने र पिलपिल गरेर भुटभुटिने होइन उहाँहरूको अपुरो सदिच्छा पुरा गर्नतिर लाग्नु परम कर्तव्य हो ।

इ) बाँचेका पाका बाआमाको ध्यानः आफ्ना बाआमा त विभिन्न करणले आफूले नचाहेको बेलामा र नपत्त्याएको रोगव्याधले असामयीक निधन भएको होला ! राम्ररी नियाल्नोस् त तपाइँबाहेक संसारमा कति बाआमाका कुपुत्र कुपुत्री होलान् ! वा कतिपय बाआमाका सन्तानै नहोलान् ! वा भए पनि आफ्ने व्यक्तिगत हित र सुबिधामा रमाएर परदेशमा हल्लिरहेका होलान् ! उहाँहरूको अन्त्य कालमा पिर गरि रोइदिने र अन्तिम संस्कार समुदायको आस्थाअनुरुप गर्ने को होलान् ? तिनलाई बाँचुञ्जेल सुखदुखमा साथ दिने को होलान् ? तपाइँले आफ्ने शोकको बेलामा यस्ता कुरा सम्झिएर मन बुझाई त्यस्ता परिस्थितिका बाआमालाई हेर्नु र क्षमताले भ्याएसम्म हेरबिचार गरेर सामाजिक प्राणी भएको दायित्व पुरा गर्नु पर्दैन भन्या ? अवस्य गर्नुहुन्छ । यस्ता भावनात्मक कर्तव्यको मार्गमा हिँड्दा आफ्ना बाआमा प्रति ठूलो सम्मान र न्याय गर्नु भएकोले सदाचारको मुकुट पाउनु हुनेछ साथै आफूलाई पिरलो र बिछोडको डाहबाट मुक्त हुन सजिलो पर्नेछ ।

ई) बितेका बाआमाको इज्जत राखौँः धेरै विकसित भनिएका देश र समुदायमा पनि कुनै पनि पुस्ताको सुकर्मलाई उस्का पहिलेका पुस्ताहरूको सुकर्मसङ्गको नाता जोडदा बलशाली प्रस्तुति नै मानिन्छ । बाँचिरहेका भए सन्तानको उपलब्धिमा नाक ठाडो पार्ने र सम्मानको मालाको अधिकार पाउने बाआमा नभए पनि सम्मानले उहाँहरूलाई नै सम्झना गराइरहेकै हुन्छ । हाम्रो देशमा त झन ‘बाआमा र हजुबाआमा कस्ता नि ? सन्तानहरू नहुन त त्यस्ता’ भनि हरेक अहिलेका पुस्ताको उन्नतिलाई सहजै जोड्ने चलन नै छ । यस्तो संस्कार प्राय सबै मानव समुदायमा भएकाले बर्तमानका पुस्ताले गरेका हरेक उपलब्धिमा बाआमा जीवित तुल्याइरहेको छैन र ? निश्चित नै छ, त्यसैले त ‘नाक राख्ने गरेर काम गर्नुपर्छ नाक जाने गरेर होइन’ भन्छन् । अहिलेका असल पुस्ताले आफ्नो नाकराख्न गरेका हरेक कामकार्वाहीले पुर्खाको स्थितिलाई जीवित नै तुल्याएका छन् अरिष्टका कुरा हामी किन गर्नु उनीहरूले त आफू त व्यभिचारको नरकमा डुबे, डुबे, सात पुस्ता पुर्खाको अनुहारमा समेत कालो दले है ।

ए) तपाइँका असल काम अरुलाईः तपाइँलाई लाग्ला तपाइँका बाआमा नभएपछि कसले उहाँहरूको सम्झना गर्लान् र ? खै मेरा अगाडि त कसैले बोली फुटाउँदैन ? वास्तवमा बारम्बार उहाँहरूबारे भन्दा र सम्झदा तपाइँलाई नै खाटा बसेको घाउ उप्काएको जस्तो भई शोकमा पार्नुहोला भनि अरुले नभनेका हुन् । तपाइँले मौका दिनोस् त अरुहरूले तपाइँ जन्मनु अघिदेखिका तपाइँका बाआमाको गुणगान गर्न थाल्नुहुनेछ र तपाइँले नयाँ कुराहरू पनि थाह पाउनु हुनेछ । पेट्रिस कास्र्टको अदृश्य डोरी भन्ने कथामा एउटी विधुवा आमाले गुणदोषका आधारमा बितेका बा, हजुरबाआमा र काका काकीहरूसँग  अदृश्य डोरीले उनका सन्तानहरू जोडिएका छन् भनि पैत्रिक सम्बन्ध प्रष्ट्याएको दन्त्यकथाको आधार लिएको बुझ्न योग्य छ ।

ऐ) आफ्नो ख्याल राखौँः धेरैजसोले केही काल फलानोले भनेको, सिकाएको र सँगै गरेकाे भने पनि सक्षम हुँदा आफैँ गर्ने बानी बसाल्नु पर्छ परनिर्भर रहिरहनु ठिक होइन । आफ्ना लागि आफैँ मिहेनत गर्ने र सकेसम्म बहुसङ्ख्यकको भलाईमा आफूलाई समर्पित गर्नुपर्छ । बाँचुञ्जेल पनि बाआमा र पाका अभिभावकसँग सुमधुर, शिष्ट र आदरणीय व्यवहार गर्नैपर्छ, नभएको भए उहाँहरूको निधनपछि समाजले इज्जत गर्ने गरेर उहाँहरूको सम्झनामा स्तुत्य काम सन्तानले गर्नैपर्छ । विज्ञानले नमानेका कैयौँ चालचलन बाआमाको मृत्युपछि उहाँहरूको हितमा दानदातव्य गर्ने परम्परा धेरै समाजमा अझै छँदैछ । तल्लो तलाको चिज माथ्लो तलामा एउटा बाहक नभई जाँदैन, अझै पनि मानिसहरू कतै स्वर्ग-नर्क छ र यताबाट दान गरिएका बस्तुहरू बाआमाले पाउँछन् भनि दान गर्छन् । वास्तवमा बाँचुञ्जेल नगरिएको सेवा अब हण्डरठक्करले बुद्धि आएपछि आदरणीय बाआमाप्रति गरिएको पश्चातापको कारणले हो जस्तो लाग्छ, यस्ता अन्धविश्वासी परम्परा ! तपाइँ आफ्नो काँधमा जिम्बेवारी आएपछि आफूलाई जसो गर्दा सन्तोष र आनन्द लाग्छ, गर्नोस् तर प्रमाणिक कुरामा रमाउन चाहिँ सिक्नोस् है !

अन्त्यमा,
हरेक जीवित प्राणी बाआमाका प्रसादस्वरुप, सफल प्रजनन्को सम्योगले जन्मन सक्छ तर जन्मेपछि मर्नु निश्चित हुन्छ । आफूभन्दा सानाको निधन विकसित भएर उन्नति, प्रगतिको लिप्साले जति लालायित भएर प्रिय बनेका हुन्छन् त्यति नै आफूले सन्तानको लागि गरेका मिहेनतझैँ आफ्ना बाआमा र माथिकाले गरेका छन् भन्ने नबिर्सौ, बुझौँ । हो, हामी जन्मेपछि बुझ्ने उमेरसम्मका धेरै कष्टसाध्ये हुर्काइका बेलाका बाआमाका मिहेनत र हेरबिचारका समय थाहा पाउन्नौँ, तर आफूले सन्तान हुर्काउन गरेका परिश्रमबाट अनुभूति त गर्न सक्छौँ नि । बाँचुञ्जेल वास्ता नगर्ने र निधनमा ललरी गाएर अलाप बिलाप गर्ने, बाँचुञ्जेल टेढो आँखाले नहेर्ने, एकगाँस मिठो मसिनो नखुवाउने, एकधरो लुगाफाटा नहाल्दिनेले लोकलाज बचाउन भनि मरेपछि स्वाङ पारेर लाखौँ खर्च गरी भोजभत्तेर र दानदक्षिणा गर्नु बतासे फुलेले चल्ला नकोरलिएको जस्तै अवैज्ञानिक काम नगरौँ । बरु सकेमा उहाँहरूको सुकर्म र सुकीर्तिको निरन्तर प्रचार हुने र समाजले लाभ लिने उपाय गरौँ । अहिले मान्छे यस्तो त बुझ्छन् है ।

०००

मङ्सिर २८, २०८१
चालिसे डाँडा, ललितपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
पाका मान्छेमा अलमल !

पाका मान्छेमा अलमल !

डा. मुकेशकुमार चालिसे
हामी हेपिने मान्छे हो र ?

हामी हेपिने मान्छे हो...

डा. मुकेशकुमार चालिसे
बृध्दभत्ता– पहेँला अक्षता कि पिण्ड हो ?

बृध्दभत्ता– पहेँला अक्षता कि...

डा. मुकेशकुमार चालिसे
कसरी पाटी बन्दैछन् घरहरू… ?

कसरी पाटी बन्दैछन् घरहरू…...

डा. मुकेशकुमार चालिसे
हामीलाई एकै नापो काम लाग्दैन है !

हामीलाई एकै नापो काम...

डा. मुकेशकुमार चालिसे
हामीलाई बेवास्ता गरे विकास हुन्छ र ?

हामीलाई बेवास्ता गरे विकास...

डा. मुकेशकुमार चालिसे
0
Would love your thoughts, please comment.x
()
x