
पाकाले हिँड्न नसक्नु नै सबथोक !
सरल, खुसहाल तथा फुर्तिलो ज्यान बनाउन पाकापाकीहरू बेलैदेखि सचेत हुनु ‘नक्कल पार्नु र ठट्यौलो हुनु’ होइन, यो उमेरजन्य आवश्यक्ता हो ।

डा. मुकेश चालिसे :
मानिसहरू पाको भएपछि सामान्यतया पारिवारिक तथा सामुहिक हरेक कामकाजमा अलि पछिनै हट्नु बेश भनि निचमार्नुलाई बुद्धिमानी र विवेकी ठान्छन् । कतिपयमा त त्यस्तो प्रवृत्ति यतिसम्म टाँसिन्छ, भनेर सकिन्न, ‘बोल्यो कि पैसा तिर्नुपर्छ जस्तो’ समुहमा मरे बोल्दैनन् । वास्तवमा पाका, ज्ञान, अनुभवले उमेरिएका महिला–पुरुष बोल्न छोड्नु भनेको, परिवार र समाजलाई गतिला कुराको पुस्तान्तरण हुने ‘सहज मौका तथा निशुल्क दिशानिर्देशबाट’ विमुख गराउने कुटिल चालमात्र ठहरिने हुन्छ । यस्तो तारतम्य र प्रप्रञ्च सम्बन्धित निकाय तथा सामरथ परिवारका जिम्बेवारले बुझिदिएमा सामाजिक साथै पारिवारिक समस्याहरू बेलैमा हलहुँदै सम्पूर्ण देशनै लाभान्वित हुने सम्भावना बढेर जाने हुन्छ ।
महिला–पुरुष बिस्तारै उमेर बढ्दै पाकोउमेरतिर प्रविष्ट हुनथालेपछि शारीरिक तथा मानसिक रुपले नेपालमा प्राय सक्रिय हुन कम गर्दै निस्कृय हुन मन पराएकै पाइन्छन् । घरमा वयस्कहरू कामकाजमा व्यस्त हुने अवस्था पनि आएकै हुन्छ भने उमेरिएका महिला–पुरुषको जिम्बेवारीमा फगत हुर्कन बाँकीका धरालो बस्ने साथै हुर्केकाहरूको विद्यालय जाइआईको सुरक्षित सहयोगको व्यवस्थापनमा ध्यानदिँदा पर्याप्त काम गरेको मानिन्छ । अझ सक्ने पाका मान्छेले भात–भान्छा र किनमेलमा सरसहयोग साथै पैत्रिक सम्पत्तिको रेखदेख गरिदिएमा ‘लाख गरेको’ नै मानिन्छ । पुल्पुलिएका र न्युनपूँजिवादी व्यक्तिवादले गाँजेकाहरू चाहिँ उमेरिदा सकि नसकी पाकाले जति गरे पनि अपजस लगाउने, ‘बोझ भएका, खानाकाल, त्यस्तो कमजोर र अशक्त भएर के बाँच्नु ? पृथ्वीका भार, नजुरुक्क न हुरुक्क’ भनि हेँलाहोचो साथै अभद्र बोलीव्यवहार गरेका पनि पाइएका छन् ।
विद्यमान विभिन्न असमान आर्थिक धरातलमा, आआफ्नै किसिमले लड्दै–भिड्दै जीवन बिताउन बाध्य भएका नेपालका पाका मान्छेहरू देशभित्र सुलसुलेझैँ पसेको बिभिन्न रोगहरूबाट अमानविय पीडामा परेका छन् । सुख र मुक्तिको नाममा देशभित्र पैसा र उचित चिकित्साको लोभ देखाई बहुसङ्ख्यक न्युन आर्थिक अवस्था तथा अचेतन मनहरू हरणगरेर देशमा दावानल सल्काइएको पनि दशकौँ भयो । हाम्रो देशमा पुरातन संस्कारको समाप्तीको नारामा अविज्ञानको यो गन्धे हवाले तथाकथित नयाँ नेपालको वायुमण्डलमा तलदेखि माथिसम्म राज गर्न पाएको छ । सरकारी ढुकुटीसमेत शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक र पाका मैत्री निर्माणको सट्टामा चर्च, गुम्बा, मठ–मन्दिरमा करोडौँ प्रयोग भइरहेछ । ‘के प्रजातान्त्रिक सरकारले गर्ने जनसेवा यही नै होला त ?’ गरिवको हरेक क्षेत्रमा उठिबास तथा ‘स्वास फेर्ने बाहेकमा कर थोपरेर उठाएको रकम केवल काम नलाग्ने ढँटुवारे छट्टु अगुवा र तिनका झोलेलाई उपचार खर्चसहित पाल्न हो त ?’ कति पाका मान्छेहरू यहि देशमा उचित मानविय हेरचाहको अभावमा घरघरमा पिल्सिएर छटपटिइरहेका तिनीहरूका ‘चस्मासहितका आँखाले’ देख्दैनन् कि क्या हो ?
दैनिक हिँड्नु किन ?
सबै खालका रोगव्याधबाट बञ्चित रही स्वस्थ हुन तथा पाको उमेरमा सिथिल हुँदैगएका आन्तरिक र बाहिरी जैविक प्रणालीलाई चुस्तदुरुस्त राख्न व्यायाम आवश्यक छ । कतिपय अवस्थामा घर भित्र–बाहिरका उस्तै व्यायाम एकनासले एक्लै सँधै गरिरहँदा आकर्षण घटेर झर्को लागेको भनेर कतिपय पाका मान्छे अनियमित हुन थाल्छन् । एकतमासको जीवन बिताइसकेका पाकालाई अब आनन्द लाग्ने तथा फेरबदलका कुराहरू हेर्नसुन्न अलि चाख हुन्छ । त्यसैले आफूलाई जाँगर लागेका दिनहरूमा लरलरी आरामकासाथ ठडिएर हिँड्नु नै सञ्चै रहन गरिने क्रियाकलापमा सर्वोत्कृष्ट व्यायाम भएको नकार्न सकिँँदैन । अमेरिकी मानव स्वास्थसेवा विभागले दिएको जानकारीअनुसार हरेक सक्षम बयस्क पाकाहरूले सँधै नसके पनि हप्ताको दुइघण्टा बढि छिटोछिटो स्वासप्रस्वास हुने हिँडाई वा व्यायाम गर्नैपर्छ । त्यति समय दिन नसके सवा घण्टा अतिछिटो हिँडाई वा व्यायाम गरे पनि पुग्छ ।
विविध व्यायाम नगर्नेले ठमठमी अढाई घण्टा लम्केर हिँड्नसके पनि हुन्छ र दैनिक गर्न अनुकुल नभए दिन बिराएर भए पनि सुरक्षित, खुला ठाउँमा हात हल्लाएर, ठाडोभई घुम्ने–डुल्ने बानी गरेमा आन्तरिक प्रणालीहरूसमेत स्वस्थ रहने सम्भावना बढ्छ । सामान्य ठानिने र धेरै जर्याकजुरुक गर्नु नपर्ने हिँडाई सबै उमेरका मानिसका लागि सहज व्यायाम हो भने उमेर ढल्केका उमेरिएका महिला–पुरुषका लागि अति आवश्यक व्यायाम हो । यस्ता हिँडाईले निरोगी रहन भित्री प्रणालीहरू लगायत सम्पूर्ण शरीरलाई धेरै तरिकाले मद्दत मिल्ने अनुसन्धानले पनि देखाएको छ । राम्ररी गरिएको हिँडाईले शरीरको अत्यधिक तौल घटाउने, उच्च रक्तचाप र कोलेस्टेरोल घटाउने, सँस्मरणलाई तिक्ष्ण राखिरहने साथै मुटुरोग, मधुमेह, अबुर्दरोग र धेरै अरु रोगको खतरालाई घटाउने गर्दछ । त्यसैले त हार्वार्ड विश्वविद्यालयको चिकित्सा विभागले विज्ञहरूको मद्दतले स्वास्थको लागि हिँडाई भन्ने किताब नै निकालेको छ । त्यस प्रतिवेदनरुपी किताबले कसरी हिँड्न सुरु गर्ने, कस्तो चालले हिँड्ने, हिँडाईको तरिकाले कसरी पुरा शरीरको व्यायाम हुन्छ भन्ने तथ्यलाई अघि सारेको छ भने उमेरिदा हुने भ्यात्त मासु जम्मा भई तौल बढ्ने नियन्त्रणको एक अलग अध्याय राखेर पनि हिँडाईलाई जोड गरिएको छ ।
हिँडाईको तरिकाः
हिँड्दा शरीरका भागलाई उचित तरिकाले राखिनु आवश्यक हुन्छ, त्यसका लागि सुरुमै शरीर तनक्क तन्किएर ढाड ठाडो पार्नु जरुरी हुन्छ । यसोगर्दा मेरुदण्ड प्राकृतिक अवस्थामा आएर भित्ररहेको मस्तिष्कदेखि आएको स्नायु धागो पनि सोझिन पाउँछ । अब कुम र काँध अलि पछाडिपट्टि झोल्लिएर लचिलो स्थितिमा रहन्छ, अनि बिस्तारै पाइला अघि बढाउँदै दुबै पाखुरा हल्लाउने तयारीमा रहनुपर्छ । हिँडाईको गति बढेसङ्गै सतर्क पाईला टेकिने प्रयाश गर्दै दुबै हातको अघिपछि हल्लाई बढाउँदै गर्नुपर्छ । यस प्रकृयामा पहिला ठडिदा, ठाडो हुन खोज्दा कम्मर र ढाड दुख्न खोज्छ, त्यसबेला अन्तिम करङ्गमा हातको बुढी औँला राखेर अरु औँला कम्मरको कण्ड्यौली हाडको टुप्पो (इलियम) सम्म पुर्याई आड लगाउनोस् । यस अवस्थामा हातका पञ्जा तन्केमा ठिक तन्काई भएको हुन्छ भने हातको बलले मेरुदण्ड दुख्न पाउन्न ।
हिँड्दा आफ्नै पाइला वा जुत्ता हेर्नखोज्दा पनि पाको उमेरिएको ज्यानको टाउको, गर्दन, काँध र मुनि ढाडको पातोमा जोड परेर दुख्ने गरेर तनाव हुन्छ तथा हुत्तिने सम्भावना रहन्छ । आँखाले आफूभन्दा दश–बिस फिट अगाडितिर दृष्टिराख्नु ठिक हुन्छ, यसोगर्दा अगाडिको बाटो र ठिक ठाउँमा आफूले चाल्ने पाइलाको हेक्का राख्न सहजै सकिन्छ । अर्कोतिर ढाड तथा गर्दनको ठड्याई नबिग्रने भएर त्यस भागमा दुख्नसक्ने सम्भावना पनि रहन्न भने टाउकाको झटकाले भाउन्न हुने र पछारिने दुर्घटना हुन पाउन्न । मानविय स्वास्थसँग सम्बन्धित विज्ञहरूको सबैभन्दा नयाँ अनुसन्धानले बिरामी भएको बाहेक अल्छी मानेर लामो समय एकैठाउँ बसिरहने जुनसुकै उमेरसमुहकालाई स्वास्थमा हानीमात्र गर्छ भन्ने नै देखाएको छ । अझ पाका मानिसहरूलाई उमेरिदा त चुप लागेर डल्लिरहने होइन, ससानो काममा व्यस्त भई शारीरिक–मानसिक काममा लागिरहने नगरेमा धुमपानले गर्ने असरभन्दा बढी नै खराबी ल्याउने उक्त प्रतिवेदनले जनाएको छ ।
पाका महिला–पुरुषहरू एकातिर लम्पट ओच्छ्याएर घरको कोठामा लडिरहने वा दिनभरी आरामदायी बालिष्टमा थच्चिरहने र हिँड्न त परको कुरा घरमा सिन्कोसमेत नभाँच्ने केबल ‘के खान दिन्छन्‘ भनी आशेजीवन बिताएमा काल चाँडै आउनलाई सघाउने मात्र हुन्छन् । हरेक घण्टा पल्टेपछि वा बसेपछि कम्तीमा पाँच मिनेट भएपनि उठेर बाहिर ननिस्कनेले कोठामा सकेको हिँड्ने, चक्कर लगाउने गरेमा पाको उमेरमा प्रशस्त व्यायाम पुग्छ । करिब एक वर्ष भएदेखि चनमते हुँदै हिँड्न थालेको मानिसको ज्यानले बाँचेसम्म हिँड्ने अनुकुलता शारीरिक– मानसिकरुपले पाएको हुन्छ । सन्तानको अति मायाको भाष्य नै ‘उमेरिदा बसीबसी खानुभएको’ वा पाका आफैँ ‘अब चलखेल गरिँदैन, बेलामा दुख गरियो अब पाल्ने सन्तानको कर्तव्य’ भनी निचमार्ने मनसाय भएमा प्रकृति बिरोधी नै भइन्छ । यस्तो भाष्य र मनोविज्ञान उमेरिएकालाई चाँडै घाट लैजाने निम्छरो चिन्तनको उपज हो, अहिले सुखका दिन आए पनि पाकाले ‘धनीले सुनको पिञ्जडामा राखेको चराले पनि निल गगनमा उड्न खोजेझैँ’ घरमा सक्ने काम छिनेर खुला ठाउँमा हिँड्न फुत्किनै पर्छ ।
पहिला बेस्सरी दुख गरेर कमाएको ‘बचतले अब शोख गर्ने उमेरमा हो, हलचल को गरोस् ? कमाउने पालो सिद्धियो, सन्तानले नहेरे पनि बाँचिन्छ’ भन्ने गलत सोचाई उमेरिदा गरियो भने धेरैनै गल्ति गरिएको नै ठहरिन्छ । त्यस्ता पाकालाई अरठ्याउन ‘आफ्नो बल्ल बस्ने ठिक्क ठाउँ पाइयो’ भनेर झम्टिने मुटुरोग, मधुमेह, उच्च रक्तचाप, मनोरोग, सँस्मरणका समस्या र अरु अनौठा रोगहरू मुख मिट्ठ्याएर ढुकिरहेका भेटिन्छन् । उमेरिदाका ती सबै शत्रुहरूलाई लखेट्न उमेरले धौधौ पर्छ, अनि अस्पताल चहार्दाको हैरान, तर चिकित्सकले ओखती दिए पनि अचुक त कुनै हुन्न । फेरि जान्नेले ओखती खान भनेकोले, हजारौँ रुपियाँ खर्चिँदा पनि रोग निमिट्यान्न हुन्न, थप सल्लाह चाहिँ ‘उपचारलाई फलिफाप गर्न दैनिक सकेको कस्सिएर हिँड्नु नै हो है, निशुल्क पाइने’ त भनिहाल्छन् । अब स्वास्थको स्थिरताको हिसाबले त्यही निशुल्क प्राप्त हुने आफ्नो आँटभरोसामा हिँड्ने प्रयाश नै प्रमुख हुन्छ । यतिखेर शतर्क भई बच्नुपर्ने चाहिँ शरीरमा अन्यत्र चोटलागे पनि अपर्झट लडेर, ठोक्किँदा टाउको बचाउनु हो ।
हिँड्दा शरीर र पाइलाको चाल सँगसँगै हात–पाखुरा भित्तेघडीको लङ्गुर हल्लेझैँ हल्लाउने गर्नुपर्छ । हो, छोटा हात–पाखुरा छिटो हल्लेका देखिछन् भने लम्स्याइला चाहिँ अलिढिला हल्लेझैँ लाग्नेछन् । हातको हल्लाई गोडाका चालसँगै हल्लेमा आफूलाई हल्का लाग्छ र मिलेन भने एक किसिमको बोझ हुन्छ । हातको हल्लाई पेट अगाडि वा ठ्याक्कै ढाड पछाडि होइन बरु कुहिनालाई ८०–९० डिग्रीको कोण बनाई खुम्च्याएर अघिपछि नै गरेर हल्लाउनु पर्छ । यसप्रकारको हल्लाइले एकातिर रक्तसञ्चार थुप्रिएर हत्केलातिर चाप बढेर क्षणिक फुलाई हुँदैन भने हातका पञ्जा मुट्ठी बटार्दै खुल्ला गर्ने अभ्यास गर्न सजिलो पर्छ ।
यसो गर्दा लामो हिँडाई सम्पन्न गर्न र हातको अरु व्यायामको आवश्यक्ता यस उमेरमा पर्दैन, हिँडाईसँगै कुस्त पुग्छ । हिँड्दा चाहिँ हरेक पाइला अघि बढाउँदा कुर्कुच्चाले टेक्न पुग्ने र अर्को पाइला बढाउँदा त्यो अघि बढेको पाइला लपक्क जमिनसँग लेप्सिने पारी पछाडिको अर्को पाइला अघि बढेसँगै टेकिएको पाइलाका औँलाहरूमा बल गर्दै कुर्कुच्चा भूइँबाट उठाएर अघि बढ्ने पाइला टेक्न पुग्ने गर्नुपर्छ । पछाडि र अगाडि पाइला उठाई भूइँमा राख्दा पछाडि र अगाडिका मानिसलाई आफ्ना जुत्ताका तलुवा देखुन् भने जस्तो गरेर पाइला चालेको हुनुपर्छ, है । यस चालले गोडामा थकाई कम हुने र धेरै समय हिँडाई गर्नसकिने भएर पुरै शरीर तथा आन्तरिक प्रणालीमा समेत व्यायाम पुग्ने हुन्छ । उमेरिएका पाका–पाकीले यत्ति गरेर एक–दुइ घण्टा हिँडेमा नानाथरीका व्यायाम थपिरहनु नपर्ने हुनजान्छ र स्वस्थरहन बल पुग्दछ भन्ने भनाई विज्ञ चिकित्सकहरूको छ ।
कसरत थप गर्न नपरोस् भनि गरिने हिँडाइमा धेरै पाका मानिसहरू छिटो हिँड्दा पसिना आई स्वस्थ हुन मद्दत पुग्छ भनेर बढि लम्केर हिँड्न खोज्छन् । वास्तवमा त्यसोगर्दा शरीरको सन्तुलन र पाइला टेकाइमा असुबिधा भई उमेरिएका मानिस धरमरिएर लड्ने तथा पछारिने सम्भावना हुन्छ । हिँड्दा पहिलो कुरा त अघि बढ्ने गोडा समकोणमा ठाडो वा सोझो हुनुपर्छ र पछाडिको गोडाले शरीरको पुरा तौल सन्तुलनसहित बोकेको हुन्छ । त्यसैले लामो पाइला एक गोडाका भरमा शरीर भएझैँ हुन्छ, उमेरिदा यो अलि गाहारो र खतरायुक्त हुन्छ । त्यसैले लामा–लामा फड्को मार्नुभन्दा ससानो दुरीमा नै पाइला चाल्ने अर्थात थोरै दुरीका छिटो–छिटो पाइला चाल्ने गतिमा हिँड्नु लाभदायक हुन्छ । शरीरको उचित आकार तथा प्राकृतिक ढाँचालाई कायम गर्दै हिँड्दा कम थाकिने उपाय भनेको साना बन्यजन्तु वा कुकुर खरायोले पौडी खेलेझै छिटो तर छोटो पाइला चाल्नु नै हो । यसले शरीर ठाडैरहँदा कम्मर मुनि गोडामात्र बढि चलेकाले सन्तुलनसहित धेरै दुरीमा पुग्न सकिन्छ । हेर्दा, सुन्दा अपत्त्यारिलो, ‘के सोची–सोची हिँड्नु ?’ भन्ने लागे पनि यस्तो गतिको हिँडाइले शरीरको पुरा व्यायाम साथै सुरक्षित घुमफिर हुनेगर्दछ । फेरि केही दिन सोचेर हिँड्ने बानीपार्दा बोझ लागे पनि बानी भएपछि त स्वचालित यन्त्रजस्तै आफैँ शरीरको आकार ठाडो बन्ने, गोडाको चाल र पाखुरा हल्लाईको गती स्वाभाविक हिसाबले हुने साथै फड्को सानो हुन थालिहाल्दछन् ।
हिँडाइ र आन्तरिक प्रणालीः
हिँड्नु भनेको केबल लखर–लखर दुरी कटाउने र समय गुजरान गर्ने मात्र होइन, विभिन्न शारीरिक–मानसिक प्रणालीहरू चुस्त–दुरुस्त राख्न पनि आवश्यक हुन्छ । हरेक पटकको हिँडाइले स्वासप्रस्वास तथा मुटुको चालमा घटबढले आन्तरिक सञ्चार र सफा–फोहोर बस्तु ओसारप्रसार हुने भएर शारीरिक–मानसिक प्रणालीहरू साञ्च्चै जीवन्त भएका हुन्छन् । यसलेगर्दा खास गरेर स्वासप्रस्वास र मुटुका समस्या कम हुने वा हुन नदिने हुनसक्छ, फलत पाचनप्रणाली र स्नायुका समस्या नहुने पनि हुनसक्छ वा बिग्रन खोजेको पनि सच्चिन सक्छ । शरीरले सक्ने चाल र गतिमा शरीरका अङ्गहरूका उचित व्यायाम हिँडाईजस्तो सजिलो कामबाट नै हुन्छ भने अरु व्यायामको चिन्ता किन गर्नु ? हिँड्न त सोझो उभिनसक्ने अवस्थासम्म पाकाले लौरो टेकेर, साथी लिएर भए पनि राम्रो मौशम पारेर सकिहाल्छन्, होइन र ? फगत आत्मनिर्भरताकासाथ बाँचुञ्जेल सकुशल बाँच्ने उत्साहजनक विश्वास र आँट चाहियो ! विज्ञानका मानवहितमा भएका शोध जानकारीका क्लिष्ट भाग पो नबुझिएला सरल व्याख्या त बुझ्ने क्षमताभएका आजका उमेरिएका महिला–पुरुषहरू विज्ञानका ज्ञानलाई सरल भाषामा बुझाएपछि लुरुलुरु लागु गरेकै देखिन्छन् ।
दैनिक वा नियमित हिँडाइले अरु उमेरसमुहलाई त शारीरिक–मानसिक धेरै नै फाइदा पुगेको देखिन्छ । उमेरिएका मानिसलाई शारीरिक हिसाबले हाडजोर्नी चलायमान र बलियो बनाउन पनि मद्दत गर्दछ । पाका महिला र पुरुषलाई उमेर ढल्केपछि कम शारीरिक श्रम गर्ने भएर हाड खिइने तथा जोर्नी जमोट हुने सम्भावना बढि रहन्छ । हिँडाइको कारणले भित्री सञ्चार सहज भएर शरीरका सबैभागमा पौष्टिक तत्व र मिश्रणहरू पुगेकाले माँसपेशी बाउँडिने हुँदैन भने जोर्नीहरूमा चिप्ल्याउने पदार्थ पर्याप्त पुगेकाले दुइ हाड नघोटिएर सहजै काम गर्न सक्छन् । जसरी कुनै यन्त्रमा धेरै ससानादेखि ठूला फलामका भागले राम्ररी काम गरोस् र खिइएर वा खिया लागेर अमुक कामहरू सुचारु हुन गार्हो नपरोस् भनि चिप्लो तेल हालिन्छ त्यस्तै चालमा अवरोध नआओस् भनी मानिसका हरेक जोर्नीमा जैविक तरल पदार्थहरू प्राकृतिक रुपले निस्किरहन्छन् । जोर्नीहरू चलायमान नहुँदा त्यहाँ पछिल्ला खेप निस्किएकै तरलहरूले ठाउँ ओगटी रहेकाले थप निस्कदैनन् । ती पदार्थसहित जोर्नीहरू धेरै समय अचल रहेमा त्यो भाग र तरल पनि जमोट हुनजान्छ र यसैलाई हामी सरल भाषामा कुँजिएको भन्छौँ ।
धेरै वर्ष एकै थलोमा क्रियाकलाप नगरी रहँदा जीवहरूको जैविक प्रणालीहरू पनि निस्कृय बन्न जान्छन् । त्यसैले त धेरै वर्ष कारागारको बन्दी जीवन बिताउन बाध्य मानिस फेरि सामान्य अवस्थामा आउन थप धेरै वर्ष लाग्ने गरेको पाइन्छ । पिञ्जडामा थुनिएका चरा–चुरुङ्गी तथा बन्यजन्तुले आफ्नो चलायमान पँखेटाहरू र दौडको गतिलाई बन्धन मुक्त गर्दा पनि धेरै समयसम्म कायम गर्न नसकेको कुँजिएर नै हो । प्राकृतिक अवस्थामा फर्कन लामो बन्दी जीवनपछि तिनीहरूलाई निकै गार्हो नै हुन्छ, त्यसलेगर्दा एकताका सदर चिडियाखाना, जावलाखेलमा धेरै वर्षदेखि सानो खोरमा थुनिएको एक बघिनीलाई धेरैजसो आक्रामक कला बिर्सिएकाले फलामको जञ्जीरले बाँधेर घुमाउने गरिएको थियो । घुम्न आएका मानिसहरूसँग उसले डोर्याएको कुकुरले जस्तै व्यवहार गर्थी । हामी मानिसको स्वभाव, शरीरको क्षमता र क्रियाकलापमा मौजुदा परिस्थितिको धेरै प्रभाव रहन्छ साथै शरीरका विभिन्न प्रणालीहरू क्रियाकलापमा आधारित भएर क्रियाशील भएका हुन्छन् । आवश्यक्ता र निरन्तरको प्रयोगले हरेक अङ्गहरूको क्षमताको विकासमा जैविक बँशानुगत गुणलाई तिखार्ने काम अमुक प्राणीको क्रियाकलापले थपघट हुनेगर्छ ।
खास गरेर विभिन्न प्रायोजित व्यायामका तरिकाहरू उमेरिदै जाँदा पाका महिला–पुरुषहरूका लागि गर्नेभन्दा हेरेर आनन्द मान्ने मात्र पाइन्छन् । शारीरिक निष्कृयता र मानसिक शिथिलता हुनसक्ने उमेरिएका पाकापाकीलाई सजिलो उपायबाट स्वस्थरहने क्रियाकलापमा लगाउनु पर्छ । त्यस्ता उपायमा हिँडाई सबैभन्दा सरल, सहज र गर्नसकिने व्यायाम हो । हिँडाइले शरीरका सबै जोर्नीका भागलाई चलायमान, खुकुलो बनाइदिन्छ र अन्य प्रणालीमा रहेका अतिरिक्तवायु तथा विकारयुक्त पदार्थ निष्काशन गर्न सघाउँछ ।
आफ्नो मनखुसीको हिँडाईमा गति, चाल तथा दुरी आफ्नै नियन्त्रणमा रहेकाले अरु व्यायाममा जस्तो कुनै पनि खतरा सार्है न्युन रहेको हुन्छ । गर्दैजाँदा छिटोछिटो हिँड्न सकेमा त झन जोर्नीमात्र होइन उमेरिदा बिकसित हुने हाड खिइने रोग कम वा निकोहुने पनि सम्भव छ । विशेषगरी रजोनिबृत महिलामा सुरु हुने जोर्नीका हाडखिइने रोग नियमित हिँडाइले हुन नपाएको धेरै अनुभवी भन्दछन् । हाडखिइने रोगसँगै कमजोरी बढेर हाड पिटिक्क भाँच्चिने कमजोरी पनि हुनथाल्छ, भने हरेक चारमा एक पुरुष र पचास वर्ष नाघेका हरेक चार महिलामा आधाको हाडखिइने मात्र होइन भाँच्चिएको आँकडा पाइन्छ । अमेरिकामा गरिएको एक अध्ययनले हिँड्ने गतिलाई आधा घण्टा लाग्ने बाटोको ठाउँमा आधा समय अर्थात १५/१६ मिनेटमा नै पुरा गर्न थालियो भने उक्त मानिसको कम्मर तथा तल्लो भागको जोर्नीको पीडा निकै कम भई तिस प्रतिशतसम्म कार्यक्षमता बढेको पाइएको छ ।
फाइदालाई आङ्कलन गर्दा हिँडाइले मुटुको चालमा उर्जा चाहिने तथा अमुक भागको गतिका लागि पर्याप्त पोषणको ओसारपसार आवश्यक भएकाले रक्तसञ्चार प्रणाली सकृय हुनुपर्छ । यस परिस्थितिमा रगतको सञ्चालन द्रुत हुन्छ साथै प्राणवायु अधिक खपत हुने हुनाले स्वासप्रस्वास पनि छिटो हुनथाल्छ । ठाउँठाउँ छिटो ताजा रगत पुर्याउने तथा छिटो अक्सिजनको आपूर्तिले शरीरका स्वासप्रस्वास र रक्तसञ्चार प्रणालीका सबै अङ्गहरूका क्रियाकलाप बढेर सकृय भएका हुन्छन् । यसले दुबै प्रणालीहरू स्वस्थ रहीरहन मद्दत पुग्दछ भने तिनका आवश्यक्ता र विकारका बस्तु निस्काशन सहजै भएकाले सम्बन्धित प्रणालीमा समेत थप सकारात्मक प्रभाव परिरहेको हुन्छ । सामान्य अवस्थामा पनि हिँडाइले पसिना निश्कासन हुने, माँसपेशीको क्रियाकलापले गर्दा उर्जा उत्पादन हुनाले पानीको थप आवश्यक्ता हुने भएर प्यास लाग्ने, अनि अतिरिक्त पानी निस्काशनका लागि मिर्गौला र मुत्र प्रणालीसमेत सकृय हुनथाल्छ । पानीकै कारणले पेटमा पाचनका लागि निस्कने हलुका अम्लिय रस पातलो भई खालीपेटमा हुनसक्ने अमलपित्त तथा घाउ बन्ने रोगसमेतको सम्भावना हट्छ ।
अन्त्यमा,
उमेरिदै जाँदाको पाको उमेरमा निस्कृयता रोग बेसाउने सबैभन्दा खतरनाक कारक तत्व हो । शारीरिक श्रमलाई हेँला गर्ने सोच पुरानो भइसक्यो । पाका–पाकीहरू जीवनको उत्तरार्धमा हुने भ्यात्त परेका उर्जाबिहिन काम नलाग्ने मासुबोसो शरीरमा थुप्रिने कारणले रोग थपिन्छ, यस्तो शारीरिक अवस्था ‘सुख र बैभवको लक्षण’ कवै हुनसक्तैन । पोषणयुक्त थोरै खानामा निर्भर रहने विज्ञानसम्मत धारणा पाका–पाकीहरूमा आफैँसमेत परिवारमा हुनैपर्छ । ‘दमाहजस्तो पेट र चलहल गर्न नसक्ने ज्यान चाँडै घाट जाने बाटो हो’, दैनिक वा नियमित मन्ददेखि पसिना आउने हिँडाई पचास वर्ष नाघेपछि गरिनैपर्ने दैनिकी बनाउन पछि पर्नु हुन्न । हिँडाइले शरीरमा निस्कृय हुँदा बिग्रने, जमोट हुने र खुकुलो नभएका जोर्नीलाई सहज तथा प्राकृतिक स्तरमा लैजान्छ । आफ्नो ज्यान जति खुकुलो र आवश्यक्ता अनुकुल लचिलो हुन्छ त्यति नै उमेरिदा सहज जीवन बन्न सक्छ, अरट्ठो शरीर पाका–पाकीहरूका लागि बोझ बन्नसक्छ । सरल, खुसहाल तथा फुर्तिलो ज्यान बनाउन पाकापाकीहरू बेलैदेखि सचेत हुनु ‘नक्कल पार्नु र ठट्यौलो हुनु’ होइन, यो उमेरजन्य आवश्यक्ता हो । आजका उमेरिएका मानिसहरू यो विज्ञानसम्मत धारणाको अनुयायी बनेरै नियमित हिँडाइमा सम्लग्न भएका हुन् भन्ने अरुले पनि बुझ्नै पर्छ र बाँकीलाई प्रोत्साहित गर्नैपर्छ ।
०००
माघ २६, २०८१
चालिसे डाँडा, ललितपुर
Subscribe
Login
0 Comments
Oldest