साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पाकाले बेलैमा सावधान होऔँ !

समस्त किनारीकृत गरिएकाहरू बृहत्तर हितमा आफ्नो धारणाले बेष्टित भई समुहको जाज्वल्यमान नक्षत्र चम्काउन अझै सक्छौँ, हामीलाई रोक्नसक्ने बिचार तथा शक्ति अहिले सम्म संसारमा जन्मिसकेको छैन ।

Nepal Telecom ad

डा. मुकेश चालिसे :

हरेक परिवारको मिहिन हिसाबले आङ्कलन गर्ने हो भने आआफ्नै वर्ग, स्वार्थ्य, आवश्यक्ता र त्यसैको सेरोफेरोमा तृष्णा हुन्छन् । यसैको आधारमा साना बालबालिकाको स्वभाव, आचरण, बोलीचाली तथा ध्याउन्नामा करधक्त गर्न खोज्छन् । अनि किशाेर– किशाेरीहरू त्यसैअनुसार आफ्नो भविष्यबारेमा कल्पिन्छन् र वयस्क हुँदासम्ममा सोचाइअनुकुल नै हण्डर–ठक्कर खाँदै एकातिर बहतर पाखालागेझैँ थन्किएका हुन्छन् । उनीहरूका अनुभवजन्य तितामिठा भोगाइले कोही उँभो लागेर पहिलाभन्दा सबै पक्षमा प्रगति गरेर स्तरोन्नतिमा जीवनयापन गरेका पाइन्छन् । कोही मानिसहरू भने वयस्क हुँदासम्ममा परिवारले पुस्तान्तरण गरेका सबै पक्षभन्दा पनि खस्केर देखिने गरिनै उँधो झरेर अस्तित्वहिन जीवन बाँच्ने प्रयाशमा रङ्गमँगिएका हुन्छन् ।

हाम्रो समाज अझै पनि विविध वर्गका प्रभावको खिचडीजस्तै छ, त्यसमाथि हिजोआज त थप अर्थलिप्साको व्यक्तिवादले ग्रस्त बनेको छ । यो सङ्क्रामक रोगले अहिले समाजका हरेक वर्गलाई थला पार्ने स्थितिमा पुर्‍याएको देखिन्छ । फलस्वरुप, हरेकका परिवारमा अदब, शिष्टता, सामुहिकता, नैतिकमूल्य र मान्यता नै फरक परेका छन् । परिवारहरू बिखण्डन हुने तथा मानिस, मानिसका बिचमा बोलीचाली र व्यवहार फरकमात्र होइन कठोर निर्दयी बन्दै गइरहेका, सहरका मानिसहरूमात्र होइन गाउँघरका पनि त्यस दिशामा ओरालो लागेका आङ्कलन भइरहेको पाइन्छ ।

भएकोः
हिजोआज नेपालमा ‘विकसित तथा आधुनिकताका पायस खानलाई सिक्ने’ नाममा बाहिरियाका गलत पक्ष टपक्क टिपेर आफ्नो समाजमा चलिरहेका सकारात्मक असरदिने काम कुरा ‘परम्परागत र पश्चगामी’को मार्कामा ओझेल परेका छन् । अराजकताको हदले म्याद गुजारेको छ, हक–अधिकारको सहनाईले सबैका कान अरु कुरा नसुन्ने भइसकेका छन् । अब त परिवारका हरेक सदस्यहरूले बिरालाका छाउराजस्तै ङारङार–ङुरङुर गर्न कसैको धक मानेको देखिँदैन अनि कुन घरपरिवार स्तुत्य वा देखासिखी गर्ने भन्ने पनि समस्या भएको छ । देशका सामरथ रगतको आहुतीले आएको भनिने पछिल्लो ‘बहुत ठूलो परिवर्तन’ले हरेकका बिचमा अविश्वास, अशिष्टता, द्रव्यपैशाचिक सम्बन्ध, व्यक्तिवाद साथै निष्ठुरता मात्र विकशित गर्न सक्षम भएको छ । मानविय सदाचार, सत्कार्य, कर्तव्य–परायणता र देशभक्तिको जगमा उठेको परिवर्तन, भित्रको चेतमा एकथोपा पनि पाइँदैन । यस्मा कस्को भूमिका साथै कालकुट स्वार्थ बेष्टित होला ? जुठोपुरो ख्वाएर हुर्काएका, लट्ठ्याउने चातुर्यता सिकाइएका आफ्ना विषैला मोहिनी पठाइएको सार्वजनिक गरिसकेको परिप्रेक्ष्यमा, के अब खुलस्त भनिरहनु पर्ला र ? कसले जनताको लागि के गरेका छन् भनेर ! कि र्‍याल काटेर ढुकेका स्ष्यालले मौकामा चौका मारेका हुन् ?

उपरोक्त परिस्थितिमा समाजमा सबैभन्दा हेपिएका, किनारा पारिएका त आखिर बलबुता घटेका साथै परिवर्तित अवस्थामा शतिसालझैँ स्वाभिमानमा अडेका पाका उमेरिएका महिला–पुरुषहरू नै पर्दछन् । केहि आश यो गन्धेहवाको असरमा नपरेका न्युनबर्गीय समाजमा रहे पनि त्यसमाथिका प्राय सबै वर्गहरूमा छताछुल्ल भएकोछ । उमेरिने क्रममा रहेका हरेक महिला–पुरुषले आआफ्नो वर्गको हिजो र आजको परिस्थिति, बानीव्यहोरा र चाल–चलनलाई पूवाग्रहरहित मूल्याङ्कन गर्नैपर्छ । त्यसै निर्क्योलको कसिमा अहिले परिवारको स्वभाव, तिर्सना, सक्रृयता र सामाजिक व्यवहारलाई आङ्कलन गरेर बेलैमा आफ्नो गन्तव्यको निर्णय गर्नेपर्छ । यो व्यक्तिवाद होइन बरु समसामयिक जानकारी राखेर अनुभव र ज्ञानको संरक्षण हो, मानव समाजलाई जनमूखि दिशामा लैजाने यहीमात्र उचित प्रयाश हो । नत्र त केही नयाँ प्रविधिको टपरटुइयाँ गफमा लतारिएर सिङ्गो विकशित हुनसक्ने समतामूलक, खुसहाल, बन्धनमुक्त सिर्जनात्मक समाज निर्माणको अभीष्टमा विराम लाग्ने सम्भावना रहिहाल्छ नि !

पाकाहरूः
अचेल उमेरिएकामा गणना हुने पाका मानिसहरू वास्तवमा विभिन्न पेशा, व्यवशाय र सेवाबाट निबृत्त भएका लगभग साठी वर्ष उमेरतिर जस्तो पर्दछ । त्यस हिसाबले नेपालमा गरिएको जनगणना २०७८ अनुसार करिव २९,७७,३१८ छ र प्रतिशतमा कुल जनसङ्ख्याको १०.२१ देखिन्छ । देशमा काम नपाएर र स्वइच्छाले लखेटिएका सबल श्रम गर्ने युवा–वयस्क उमेरसमुह बाहिरिएका धेरै छन् । पछिल्लो वालिग निर्वाचनको मतदानमा यतै अल्झिएका केहि बाहेक भर्खर उमेर पुगेका र पाका मानिसहरूकै बढि उपस्थिति देखिएकाले कतिपय विश्लेषकले उमेरिएकाको मतदानका आधारमा प्रतिशत निकाल्दा ४० प्रतिशतको हाराहारीमा रहेको आङ्कलन गरेका थिए । देशभित्र पाका मानिसहरू नै बहुसङ्ख्यक भएकाले सरकार, सामाज तथा हरेक परिवारले उमेरिएकाहरूको पक्षमा आफ्ना बरव्यवहार अघि बढाउनुपर्ने सुझाएका थिए । अर्को चुनाव आउन लागिसक्यो तर पाकापाकीको पक्षमा उठाउनुपर्ने कामकार्वाही घटदो छ, बरु आफैँ केन्द्रित बालबालिका, युवा, वयस्क महिलाका सङ्गठित तथा छरपष्ट आवाज उठाई, के कति मूल–ढुकुटीबाट कुम्ल्याउन सकिन्छ त्यता ध्यान गएको छ । अँ, संविधान प्रदत्त भन्दै जनजाति, पिछडिएका र अल्पसङ्ख्यकको कोटा उपयोगले उक्त समुहका टाठाबाठाहरूले चयनको निद्रामा सुत्ने व्यवहार चाहिँ पाएका छन् । उपरोक्त परिस्थितिमा पनि तिनै समुहभित्र पाका उमेरिएकाहरू दुइछाक पेटभरी खान पनि नपाउने अवस्थामा नै थलिन बाध्य भएकै छन् ।

सरकारी तजविजमा पाका दरिन बाध्य ६०–७४ वर्ष उमेरका २३,३६,५९२ अर्थात ८.५ प्रतिशत केहिलाई छाडेर अरु सक्रिय काममा लाग्न सक्छन् । सरकारले ज्ञान र सिपको पुस्तान्तरण गरी देश विकासमा सहयोगी बनाउन एकतन्त्रमा हेरेन भन्ने अहिलेका टपरटुइयाँले आफूले कहिल्यै सोचको भए थाहा दिनु नि ! काम नै नगर्नेले कम्तिमा जनतालाई सपना त देखाउनु चुनावमा मत बटुल्न ? हुन त, ‘अर्काको आशिर्वादमा रैतीका टाउकामा गिरखेल्न आएकाहरूको लागि’ जनता शव्द सुन्दा कति झर्को र घिन लाग्दो हो ! हगी ? अझ बुढाबुढीका कुरा ! चुनावका नाटक मञ्चन गर्न प्रभूहरूले रकम ओइर्‍याएकै छन्, गाउँगाउँमा भोट जसरी पनि कुम्ल्याउन सबै दलका ठेकेदारहरू छँदैछन् । पैसा, धम्की, दलिय अहङ्कारमा लिप्तका बिगत मूलधारमा आउनका लागि गरिएका केही लाेलोपोतोहरू अझै बेच्न सकेकै छन् । अनि बालिग मतदान ख्यालको रमाइलो हुन्छ ? भनिसाद्धे छैन, समाजवाद उन्मुख उत्कृष्ठ प्रजातान्त्रिक मतदान ! यस्तो रमाइलो नौटङ्कीमा ‘हरेक गुटका चोट्टाले म राजा भएमा बुढाबुढी प्रजालाई भत्ता बढाउँछु’ भन्ने हुङ्कार लगाई उमेरिएकाहरूको मुख टाल्न खोजि हाल्छन् । अब ‘मिशन चौरासी कसो सफल नहोला ? मेरै पक्षमा छ नि’ भनि सोम शर्माको छोरा पाउने सपनामा सबै मक्ख छन् ।

परिवार थाम्न सक्नेले पनि घटाएर प्रजनन दर १.९४ मा पुर्‍याएकाले नेपालको जनसङ्ख्या बृद्धिदर घटेर ०.९२% छ । बरु जन्मेर विभिन्न कालखण्डका हण्डरठक्कर खाएका पाका मान्छेहरूको बृद्धिदर भने ३.४% ले बढ्दै छ । यसले प्रष्ट पारेको छ विदेशिएका सकृय श्रमशक्ति ‘पाको भई उक्त देशले काम लाग्दैनस् भनि जिमिन्दारले कमैया निकालेझैँ’ नगरेसम्म उतै लहसिई रमाउलान् तर उमेरिदा फर्केका छन् । बढ्दो स्वास्थ चेतनाले आयु लम्बिएको छ र सेवानिबृत्तको गलपासो उस्तै र अझ उमेर घटाउने भजन सुनिन्छन् भने ‘नेपाल अब पाकाहरूको देशमा परिणत हुँदैछ’ भन्ने सन्देश नै पाइन्छ, होइन त ? अझ सन २०२४मा विदेशी नागरिक भएर नेपाल छोडने सकृय जनशक्ति ६६ हजारको आँकडा सन २०२५ मा निकालिएको तथ्यले त सबै नेपालीलाई झस्काएकै छ ।

देशको मुहार चम्काउने जनशक्ति बाहिरिँदा च च नगरी ‘जान्नेसुन्ने र सकृयहरू गए अब झन मोज’ भनेझैँ गर्नेका चेत साँच्चै कहिले आउला ? आफैँ घाट जान लामबद्ध भएका साइँदुवाहरू संविधानको केरमेट गर्ने ठाउँमा टाँसिएकाले आफ्नै उमेरसमुहको फाइदा लागि किन काम नगरेका होलान् ? यो पो उदेक लाग्छ भन्या ! यस्तो अन्यौलमा अब उमेरिएकाहरू नै नताते के अर्काको हातमा नाथ्रीका डोरी दिएर नारिएका गोरुले गर्न सक्लान् र ? आफ्नै दरसन्तान उन्मुक्त आकाशझैँ निर्धक्क बाँच्न पाउने समाज बनाउन पाकाहरू नै पटुकी कस्नुपर्ने ठिक्क बेला छ है, बरु के कसोगरी जनहितैषी बन्ने र मूलबाटो पहिल्याउने हो, सल्लाह–साउती गर्ने बेला नगुजारौँ है !

थपः
जोडी मासिएर प्रष्ट एकल भएका महिला ३.००६२% बढि छन् पाका पुरुषभन्दा अर्थात ८९,५०४ महिलाहरू एक्लो जीवन बिताइरहेका छन् । केही परिवारलाई छोडेर धेरै त परिवारको हेलाँहोचोमा कमारी जसरी घरकाजमा जोतिएकै बढि पाइन्छन् भने केहि गाह्रो–साह्राे, ‘क्यारेमको गोटीलाई हान्ने घ्वाइँले चारतिर लखेटेझैँ दाजुभाइ वा दिदीबहिनीका घरतिर घँच्याडिएका’ पाइन्छन् । मनको बह पोख्न नपाएर ‘रगतका लाम्टा चुसाउने आमा रछ्यानको बास’ हुने सम्भावना पनि कतिका हुन्छन् । एकल पुरुषहरू त समाज अनुकुल कमाइ–धमाईदेखि बाहिरिया दौडधुपमा पारिवारिक काम कम गरेकाले पाको हुँदा घरमा बेकामे हुन्छन् तथा परिवारलाई आवश्यक्तामा ठडिए पनि सन्तानले ‘आशेको बारको छेस्काजत्ति पनि’ आदर गरेको पाइन्न । हिजोसम्मको परिवारको मूलखाँबो बा, ‘अहिले करेसामा हुर्याएकाे  चुल्होमा काम नलाग्ने बाङ्गेकाठ’ बनिरहेका पाइन्छन् ।

शारीरिक तथा मानसिक रुपले गलित हुँदै गएका ७५ देखि ८४ वर्ष उमेर समुहका १.८% महिला–पुरुष अर्थात ५,१४,७५९ को हालत ‘न जुरुक्क न हुरुक्क’ बनाउनमा त्यस्तै प्रबृत्तिका सन्तानहरू नै बढि जिम्बेवार भएका छन् । थप ८५ वर्ष माथिका १,२५,९६७ जना अति उमेरिएका पाकापाकीहरू त सुसँस्कृत परिवारबाहेक कि बृद्धबृद्धा अनाथाश्रम कि सार्वजनिक हण्डी अखाडा वरपर असहायको सूचिका हकदार बनेका हुन्छन् । तिनै बेसहाराले किनमेल वा सेवा लिँदा चाहीँ करको करकर सँधै दिनुपर्ने तर करको रकमले कुर्चीमा बसेकाले थप प्रोत्साहनको पारितोषिक पाउने तर असहायले करमुक्त हुन नपाउने ? अहा ! कति जनमैत्री संविधान र शासक भएछन् नि, नयाँ नेपालमा ? समाजवाद उन्मुख यस्तै होला है । सेवा गर्न सक्नेलाई घोक्र्याउन सकिने नियम कायम गर्दै ६८ वर्ष दानका अक्षेता थाप्न पर्खाउने उनीहरूकै नियम भएर अहिले नेपालमा पाकाहरू दश प्रतिशत माथि रहे पनि ५.२३% मात्र भिक्षा थाप्छन् । हरे ! दान नै दिन पनि कति पक्षपात ? किन विवेकको भाँडो सर्वसाधारणतिर नघोप्टिएको होला ?

प्रक्षेपण झल्कोः
हाम्रो समाजमा घरबाहिरका कामकाजलाई ‘काम’, घरधन्दा र पारिवारिक कामलाई अझै ‘कोचेधन्दा’ भन्ने नै उक्ति कायम छ । यसैको आन्तरिक मनोवैज्ञानिक प्रभावले यसअघिका अवधिमा महिलाका घरायसी कामलाई काम ठानिन्न थियो र पुरुषको बाहिरफेरको काम जतिसुकै न्युनस्तरको भए पनि ‘काममा गएको’ भनिन्थ्यो । अहिले कामको भाष्य फरक हुँदै गएको छ । एक महिलाहरूको पनि शिक्षा लिने र तद्अनुकुल बाहिरको काममा सहभागिता जनाउने प्रबृत्ति बढ्दै गएको छ, अर्को महिला–पुरुषमा समानताको मनोवैज्ञानिक धारणाको ल्केशमात्र बाँकिरहेको पाइन्छ । हिजोआज त्यसैले महिलाहरू पनि सकेसम्म बाहिर विभिन्न सेवामा लागि बरु कामदार महिलाको जिम्मामा भातभाञ्छा सुम्पिन थालेका छन् । अब सेवानिबृत्त हुनेमा, महिला–पुरुष दुवैलाई जनाउने अर्थबोध हुन थालेको छ । कसैलाई सेवा निबृत्त भएर वा कसैलाई कुनै असाद्ध्य रोगलागेर अशक्त हुन थालेपछिको बोली, व्यवहार तथा आदर उहि प्रकारको निरन्तरता छ वा फरक पर्दै गएको छ, त्यसबाट परिवारको भित्री आशय बुझ्‌नु पाका भएकाको पहिलो सचेतनता हो । फरक र निरन्तरताको हेक्का उमेरिनेले नगरे हुनेभन्दा बढि मानसिक दुख र पीडा हुनसक्छ ।

परम्परागत मान्यतामा रहेका, सँस्कारित परिवारमा सानातिना फेरबदल तथा उतारचढावले ‘टुप्पाबाट पलाएको, फेद हराएको’ स्थिति रहेको त्यति पाइँदैन । उनीहरू सँस्कारगत नै बिपरित अवस्थामा पनि धर्यवान रही हाँक स्विकार गर्छन् र आन्तरिक समस्यासँग सामुहिकरुपले जुध्‌छन् तथा आफूआफूमा फरक स्वभाव देखाउँदैनन् । समाजको तल्लो वर्गका सतही परिवारमा पनि रहिआएको आन्तरिक अवस्थामा आएको फेरबदलमा आफूआफूमै समन्वयकारी स्वभावले काम गरिरहेको पाइन्छ । दुबै स्तरका परिवारमा सामान्यतया लोकलाजको सामाजिक पक्ष बलशाली भएकाले व्यक्तिका हैसियतमा आएको परिवर्तनले एक अर्काको व्यवहारमा खासै विविधता कम भएको हुन्छ । मध्यम तथा उच्च वर्गमा भने अस्थिर मनोबृत्ति तथा आफ्नो स्तरकोभन्दा तलमाथिको चियोचर्चो र ईर्ष्या घरायसी कुराको मापदण्ड दैनिकी बढि हुने हुनाले व्यक्तिव्यक्तिका हैसियत व्यक्तिको सामरथ अनुसार नै फेरिन सक्छ । यस्तो मनशाय रहेकाहरूले निश्चय नै विशेषगरी बालबालिका तथा उमेरिएका वा अशक्तहरूसँग गरिने व्यवहार उस्को क्षमता अनुसार फेरिने सम्भावना बढि हुन्छ ।

व्यक्तिका क्षमता र उमेरअनुसार व्यवहार गरिने परिवारमा पाको वा अशक्त भएपछिका दिनदेखि शतर्क भएमा घरपरिवारमा नै टिकिराख्न पाकापाकीहरूले पृथक रणनीति अपनाउनु ‘बेइमानी र षडयन्त्र होइन बरु समयानुकुल कार्यकुशल हुनु’ हो । कामबाट घरमा नै थन्किने स्थिति आएमा वा दीर्घ, असाद्ध्य रोग लागेर ओछ्यान पर्ने परिस्थितिमा त्यहि दिनदेखि घरमा सबैको बोली, ध्वनिको आवृत्ति र लय फरक पर्दै गएको भेटनु हुनेछ । हिजो कामकाजमा रहेका बखतको मान र अदबको बोलीमा कञ्जुस्याँइ बढ्न सक्छ । हजुरबाट तपाइँ र सम्बोधनबिहिन बोली सुरु हुन सक्छ, अलि जोडगरी आग्रह गर्नुभएमा ‘यत्ति त आफैँ पनि सकिन्छ, है ! के बसीबसी अर्‍हाउने बानी लागेको ?’ सुन्ने स्थिति आउन बेर लाग्दैन ।

तपाइँका आवश्यक्तालाई समयानुकुल सादर अदबसाथ उपस्थिति हुने बोली, घरका अरु कामले बिस्तारै ओझेलमा पार्दा पनि कसैलाई ग्लानी हुने छैन् । व्यवहारमा यसरी प्राथमिकतामा तपाइँहरू नपर्न सक्नुहुन्छ भन्ने बेलैमा मसक्क सोच्न थाल्नोस् साथै आफ्नो स्वभावमा परिवर्तन गरेर सहने बानी बसाल्न कोशिस गर्नुहोस् । तपाइँका ज्ञान, अनुभव साथै अहम र तुजुक पहिले जस्तै रहेमा पानीको फोका हुनसक्ने आङ्कलन गरी ‘समयमै अनुभव गरेकोमा’ गर्व गर्नोस्, नयाँ दिशानिर्देश गर्ने मगज भएकोमा खुशी हुनुहोस् ।

तपाइँहरूले ‘आफूले बढ्ने, सिक्ने उमेरमा दुख पाएर मनोवाञ्छित पढाइलेखाई नपाएको र बाह्यकाममा तल परेको’ चित्त दुखाइले सकेसम्म सन्तानलाई दुखको दु अनुभुत नगरुन् भनि एकधरो लगाएर भए पनि सुखमा हुर्काउनु पछि कुबाटो लगाउने लाममा पुर्‍याउनु हो । धेरैका अनुभवहरू सङ्गालिएको उखानले भन्छ, ‘थै थै गरी नानी भनी हुर्काएको छोरो र सँधै जुत्ता लगाएको गोडो’ले अभरको बेला काम लाग्दैन । अर्को भावमा ‘देखासिखी चराले बचेरा काखीच्यापेझैँ’ गरेमा झरी, बादल, घाम, हुरी नभोगी को चाम्रो हुनसक्छ र ? सबै अनुकुल प्रतिकुल परिस्थितिको जानकार भएमात्र बालबालिका भविष्यमा शक्षम बन्न सक्छन् नत्र त ‘अहा, धान, गहुँ, मकै र तोरीको रुख यस्तो पो हुन्छ !’ गाउँघर घुम्दा भन्ने असचेत बन्ने हुन्छन् ।

नसुमरिएका गोरु जस्तै ‘भूइँमा न भाँडा’ भएका त्यस्ता सन्तानहरू समाजमा भएका वर्गिय अवस्था, असमानता र शोषणले कठ्याङ्ग्रिएका सर्वसाधारणलाई मान्छे गन्न छोडछन् । कुन राजाले जनताले ‘दुधभात पनि खान नपाएकोमा आश्चर्य मानेझैँ’ बन्नेछन् । त्यस्ता सन्तान दरसन्तानले नेपालको मुहार कसरी उज्यालो बनाउलान् ? यस्ता सन्तानहरू बिस्तारै व्यक्तिबादी स्वाँठ बन्दै गएर दुष्टमतिका बन्छन् र कमाउन थालेपछि वा ठूलो हैसियतमा पुगेपछि त मपाइँको घमण्डले झुत्रे बाबुआमा र त्यस्तै नातेदारलाई किन गन्नु ? परिवार भित्रै पनि वर्ग विभाजन हुन थाल्छ, अनि सक्नेले नसक्नेलाई हेप्ने चलन चल्छ । कमाइ–धमाइले पुगेर नयाँ–नयाँ घर बनाउने छन्, बाबुआमा उन्नति गरेको भन्दै जोरीपारीलाई सुनाउलान, तर एकरात काटन उनीहरूका लागि कोठा बन्नेछैन बरु ढोकापाले र उम्दा जातका कुकुरलाई ठाउँ छुट्ट्याइएको हुनेछ, खोर बन्नेछ ।

छोराछोरी साथ नभएकाले भेटने तिर्सनाले डाह भएर उमेरिएका बाबुआमा सकेको मनपर्ने खानेकुरा लिएर उनीहरूका निवासमा जानुपर्ने हुन्छ । मायाले ल्याएका पोके खानेकुरा नातिनातिनालाई बर्जित हुनेछन् र हद नाघेको व्यवहारमा चाहिँ, नदेखाई ढलमा बिसर्जन हुनेछन् । बालक कालमा गुहु–मुत स्याहारेर हुर्काउने आफ्नैै जन्मदाता र कर्मदातालाई कसैले सोधेमा फोस्रो अडम्बर बचाउन ‘दे आर आओर हाउस मेड्स’ भन्न पनि बेर नलगाउलान् । एक छाक र एक रातमै बाबुआमा डाँडा पारीका जून हुनेछन् अनि ‘छोरीले भन्थी माइती, माइतीले भन्थे किन आइती’ भएझैँ उर्लिँदो बाढी थामिएर सल्यातसुलुत्त भएर पानी आफ्नै सतहमा पुगेझैँ अभिभावकका सन्तानप्रतिको भेट्ने बिछट्टैको उत्साह र धामा आँधि पछिको चकमन्नताझैँ सेलाउँछ । दुर क्षितिजको स्निघ्न आभालाई मोहित भई हेरेझैँ बरु आफ्नै परिवेश रमाइलो मानी आफ्ना सन्तानलाई भेटन सहर गएका वा तेल भिसामा परदेश गएका मानिला अभिभावक अब नफर्किने मनशायकासाथ रुझेको सारौँटेझैँ आफ्नै रसोबासोमा फर्किने छन् ।

देश–परदेशका काममा आफ्नो पहिचानको नाम–नामेसी, धनसम्पत्ति तथा सदीक्षा ह्वाङ्गै पारेको भए पनि आफ्नै वंङ्शबृक्षसँग धेरै कुरा गोप्य गर्न थाल्नेछन् । होइन, बाबुआमासँग  लुकाउने कुरा आफैँलाई गलत लागेकोबाहेक के होला र ? हुर्के बढेका सन्तान बिस्तारै व्यक्तिगत गोपनियताको नाममा घरमा नै खासखुस गर्नेछन् र साथीभाइको सहमतीमा तपाइँहरूसँग छलफल वा सल्लाह भन्दा अन्तिम निर्णय सुनाउन आउनेछन् । अब बिचार्नोस्, तपाइँ सोझै तेतव्य (तेस्रो तहको व्यक्तित्व) हुनु भएन त ? अनि अझै पनि हरेक कामकुरामा आफ्ना महत्ताहिन व्यक्तित्वको हस्तक्षेप (सम्झाई, बुझाई र सल्लाहको बोझ) सामरथलाई किन बालबालिका ठानेर थोपर्नु हुन्छ ? अहिलेको गन्धेहवाको चपेटामा धसिएका सन्तानलाई उनिहरूकै हिलोमा हेल्लिन छोडनु होस्, तपाइँहरू आफू जोगिनुहोस्, उनीहरूलाई जोगाउन खोजेर शत्रुता नमोल्नुहोस् । सन्तान दरसन्तान बिभिण्डिए पनि निरव रातमा सूर्यप्रकाश नसही आफ्नो आस्थाको प्रज्ज्वल दियो बालिरहन तपाइँहरूलाई कसैले रोक्न सक्तैन । यसैमा तपाइँको मानव जन्म सफल भएको मानिने छ, किन व्यक्तिगत मायामा अल्झिनु हुन्छ ? बहुसङ्ख्यकको हितमा स्नेह गर्न बाटो देखाउनु होस् न !

नराम्रा क्षणको सुरुवात बेवास्ता, घुर्की, र मानसिक पिडामात्र होइन् मौखिक लम्कीझम्कीमा रुपान्तरित भई भौतिक कारवाही हुने सम्भावनासम्म हुनसक्छ । गरिएका अमानविय व्यवहारबाट सावधान हुनुहोस् तथा आफ्ना तर्फबाट लोकलाज र दोषि ठहरिने बात नलागोस् तर आइलाग्ने अपव्याख्याबाट जोगिन आफैँ तयार रहनुहोस् । यतिखेर डाँडाका जूनको मोह भन्दा भोलि आउन सक्ने सूर्यको प्रतिक्षामा बेलैमा आफूहुँदो सोच्ने गरेका धेरैछन्, तपाइँका शिलालेखजस्ता अकाट्य मन्तव्य सुन्न कोही चाहान्नन् । हरेक सही कामकुराले आफ्ना पालामा कति दुख भोगेका छन्‌– ग्यालिलिओ, वासिङ्गटन, मार्क्स, म्याडम क्युरी, हो चि मिन्ह बलभद्र, योगमाया, गङ्गालाल, देवकोटा, रिमाल लगायतलाई सम्झनु होस् त ! कैयौँ जीवित रहँदै बहुला गराइए भने कैयौँका जीउँदो शरीरका अङ्गहरू नष्ट गरिए । आफ्नो अडानमा बाँचेका तिनलाई अझै हामी श्रद्धा गर्छौ, मान्छौँ र पच्छ्याउन खोज्छौँ ।

भोटो सुरुवाल लगाउने नेपाली समाजमा जसरी फाटेको भए पनि जाँघे लगाउने देश खाएको लाहुरेको महत्व हुन्थ्यो त्यस्तै शरीरमा उम्रेका रौँ समेत पाक्न थालेका उमेरिएका पाकापाकीको प्राज्ञिक नभए पनि अनुभव र समयानुकुल परिवर्तनले दीक्षित ज्ञान सर्वोत्कृष्ट रहेको हुन्छ । आधुनिकताको छेउ न टुप्पो अप्रमाणित सञ्चारले प्रभावित युवायुवतीका ठस्सा ‘चिवेको टाउकामा मयुरको एकडण्ठी प्वाँख’ झैँ कतिखेर खस्ने हो पत्तो छैन् । अहिलेका पाकापाकीहरूको काम नम्रतापूर्वक आफ्नो प्रमाणिक ज्ञान र अनुभवका आधारमा पारिवारिक–सामाजिक तथा देशभक्तिको जगमा बहुजनहितायको लक्ष्यमा अविचल लागिरहनु हो । एक बोट फर्सिका लहरामा कति फुल्छन्, कति चिचिला लाग्छन् र कति हुर्केर कैँडा हुँदै पाकेका गुलिया बन्छन् ? सबैले देखेकै छौँ । आफ्ना सन्तान दुर्मुखा, असामाजिक, व्यक्तिवादी दुष्टमतिका तावेदार भई काम लागेनन्‌ भनि पिरोलिने होइन् । बरु आउँदो पुस्तामा भए पनि अज्ञानताले पछि पारिएका र किनारीकृत गरिएका पाकापाकीहरू मात्र होइन, विविध सामाजिक समुदायको हितमा मानव समाज बहुङ्ख्यकको हितमा निर्माण गर्ने अभिभाराले पो अहिलेका पाका लाग्नु पर्छ ।

अन्त्यमा,
उमेरिएका बाआमाले आफू एक कालखण्डमा सेवानिबृत्त हुँदा वा शारीरिक–मानसिक रोगको शिकार भई दुर्बलियोको कारणले ओच्छ्यान पर्दा परिवारले गर्ने उही वा फरक व्यवहारले आफ्नो जीवनका बाँकी समय कसरी बित्लान् भनि आङ्कलन गरिसक्नु पर्छ । बिहानीले दिनभरीको मौसमको पटाक्षेप गर्न उमेर खाएका पाकापाकीले सकेझैँ, हामी पनि पिँढी साँढेझैँको अवस्थामा कसो होला पछिपरन्तुमा भनि परिवारको व्यहोरा र चिन्तनले ठम्म्याउन सक्छौँ । सबैजना आआफ्ना धारणा र मिहेनतमा स्थायी वा अस्थायी बन्छन्, हेर्नोस् न, दश हज्जार वर्ष शासन गर्ने हुङ्कार गर्ने महापीडक हिट्लर दश वर्षमा नै आफैँ आत्महत्या गर्न बाध्य भयो, सँगैजसो समकक्षी पीडकहरू धुलिसात भए । हाम्रा यताका बोकाको टाउको देखाएर कुकुरको मासु बेचेर ‘म खाउँ म लाउँ सुखशयल वा मोज म गरुँ’ भनि दार्‍हा तिखार्नेहरू केहि दिनका पाहुना हुन् । हामी पाकापाकी मात्र होइन समस्त किनारीकृत गरिएकाहरू बृहत्तर हितमा आफ्नो धारणाले बेष्टित भई समुहको जाज्वल्यमान नक्षत्र चम्काउन अझै सक्छौँ, हामीलाई रोक्नसक्ने बिचार तथा शक्ति अहिले सम्म संसारमा जन्मिसकेको छैन । त्यसैले भिन्न व्यवहारको जगमा कारण खोजी समूल जरो नै उखेल्न उपाय रचौँ, आ ! जावा सन्तानका हेलाँहोचोमा को अल्झि राख्छ ? हामी त सावधान सहीत बाटो समात्ने हो, बरु बेलैमा लक्षणहरूको फेदैसम्म खोजपडताल गरौँ, हामी जस्ता अनुभवीले काममा लागिहाल्नु मनासिब हुन्छ है !

०००
फागुन २, २०८१
चालिसे डाँडा, ललितपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाको मान्छेका तथ्य कुरा बुझौँ

पाको मान्छेका तथ्य कुरा...

डा. मुकेशकुमार चालिसे
पाका मान्छेमा अलमल !

पाका मान्छेमा अलमल !

डा. मुकेशकुमार चालिसे
हामी हेपिने मान्छे हो र ?

हामी हेपिने मान्छे हो...

डा. मुकेशकुमार चालिसे
बृध्दभत्ता– पहेँला अक्षता कि पिण्ड हो ?

बृध्दभत्ता– पहेँला अक्षता कि...

डा. मुकेशकुमार चालिसे
कसरी पाटी बन्दैछन् घरहरू… ?

कसरी पाटी बन्दैछन् घरहरू…...

डा. मुकेशकुमार चालिसे
हामीलाई एकै नापो काम लाग्दैन है !

हामीलाई एकै नापो काम...

डा. मुकेशकुमार चालिसे
वृद्ध हुन् कि वा युवा…

वृद्ध हुन् कि वा...

कविराज घिमिरे
पाको मान्छेका तथ्य कुरा बुझौँ

पाको मान्छेका तथ्य कुरा...

डा. मुकेशकुमार चालिसे
पाका मान्छेमा अलमल !

पाका मान्छेमा अलमल !

डा. मुकेशकुमार चालिसे
हामी हेपिने मान्छे हो र ?

हामी हेपिने मान्छे हो...

डा. मुकेशकुमार चालिसे
0
Would love your thoughts, please comment.x
()
x