साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुढापाकाहरूको मानसिकता र हाम्रो दायित्व

हामीले वृद्धहरूलाई “समाप्ति” ठानेर एक्ल्याउनुको सट्टा सक्रिय—मानवीय—सम्माननीय जीवनशैली दिने हो भने, तिनीहरू हाम्रो समाजका सम्पत्ति हुन्, बोझ होइनन्।

Nepal Telecom ad

जीवनाथ अधिकारी :

वृद्धावस्था केवल शारीरिक रूपमा पुरानो हुनु मात्र होइन, मनोवैज्ञानिक दृष्टिबाट पनि गहिरो अर्थ बोकेको जीवन–चरण हो। हाम्रो समाजमा प्राय: यो समय कमजोर, असहाय वा दिक्कलाग्दो भएको ठानिन्छ। तर मनोविज्ञानीय अनुसन्धानले देखाउँछ– वृद्ध स्थिति स्वयम्मा मानसिक पतन होइन; बरु अपेक्षाअनुसार समायोजन र अनुभूतिपूर्ण परिवर्तनको समय हो, जहाँ आत्म–परिपक्वता र अनुभूतिको परिमाण झन् सुदृढ हुन्छ।

बाल्यकाल र युवावस्थामा प्रायः ऊर्जा र उत्साह अधिक हुन्छ भने सम्मान, आत्मन्याय, र भावनात्मक स्थायित्व वृद्धावस्थामा आउने प्रमुख गुण हुन्। अन्तर्राष्ट्रिय अध्ययनले देखाएको छ कि ९०–१०० वर्ष पुगेका व्यक्तिहरूमा आत्मविश्वास, मानसिक स्वास्थ्य र निर्णय क्षमता उच्च पाइन्छ, यद्यपि शारीरिक स्वास्थ्य बिग्रिएको हुन्छ । यो “बुढेसकालको विडम्बना” हो— शारीरिक कमजोरीका भएर पनि मानसिक स्थिति सबल रहन्छ।

येल विश्वविद्यालयका डा. बेक्का लेभीले “निगेटिभ एज बिवियस” (वृद्धावस्था–सम्बन्धी गलत धारणा) (Stereotype Embodiment Theory (SET अनुसार) लाई चुनौती दिँदै प्रमाणित गरेकी छन् : सकारात्मक सोच, आत्म–धारणा र आदर्श वृद्ध नमुना व्यक्तिहरूको उपस्थितिले सबैमा स्मरणशक्ति, सन्तुलन र आयु वृद्धि हुन्छ। सकारात्मक धारणा अपनाएमा आयु सातआठ वर्षसम्म बढ्न सक्छ । यसले वृद्धावस्थालाई “अपरिहार्य मनो–पतन” होइन, सन्तुलित मनोविकासको अवस्थाका रूपमा हेर्न प्रेरित गर्छ।

नेपालमा भने वृद्धजनसङ्ख्या मनोसामाजिक दृष्टिबाट धेरै चुनौतीपूर्ण अवस्थाहरू भोग्दै छन्। एक अध्ययनअनुसार नेपालका वृद्धमध्ये कम्तीमा २५% देखि ६०% सम्ममा डिप्रेसनका लक्षण देखिन्छन्; संस्थागत वृद्धाश्रममा यो दर १७% देखि ८९% सम्म पाइएको छ । संस्थागत वृद्धाश्रममा बस्ने वृद्धमा मानसिक स्वास्थ्यसमस्या विशेष रूपमा देखा पर्ने अध्ययनले पत्ता लगाएको छ— त्यहाँ करिब ७५% वृद्धहरू डिप्रेसनको सिकार हुने गरेको पाइन्छ ।(Prevalence of Mental Disorders among Older People in Nepal: A Systematic Review (PubMed PMID: 30636762)

सहरीकरण र युवा प्रवासले पनि वृद्धहरूलाई सामाजिक रूपमा एक्लोपनको सिकार बनाउँछ। नयाँ सहरी परिदृश्यमा वृद्धहरू एक्लै बस्ने र सञ्चार माध्यमबाट टाढा हुने प्रवृत्ति देखिन्छ, जसले चिन्ता र डिप्रेसनलाई अझ तीव्र बनाउँछ । लन्डनबाट प्रकाशित हुने BMC Geriatrics जर्नलमा प्रकाशित नेपाली अध्ययनमा यही कुरालाई प्रमाणित गरिएको छ — “लोनलीनेस” (एक्लोपन) र डिप्रेसनबिच सकारात्मक सम्बन्ध देखियो र सामाजिक समर्थनले यसलाई कम गर्नमा मद्दत गर्छ ।

नेपाली समाजमा वृद्धहरूको हेरचाह गर्न पारम्परिक “फिलियल पिटी” (Filial Piety) अर्थात् बच्चाद्वारा आफ्ना अभिभावकहरूप्रति देखाइने गहिरो सम्मान, कर्तव्य र स्नेह अनि जिम्मेवारीबोधको धारणा रहेको थियो; तथापि आजको सहरी र प्रवास–गमन परिवेशले यसलाई कमजोर तुल्याएको छ । जहाँ संयुक्त परिवारप्रणाली कमजोर भएको छ, त्यहाँ वृद्धहरूले आर्थिक निर्भरता, भावनात्मक एक्लोपन र घनिष्ठताको भावनाको अभाव अनुभव गर्छन्।एक अध्ययनअनुसार वृद्धहरूका लागि सामुदायिक, पारिवारिक र सरकारी प्रणालीको एकीकृत सञ्जाल आवश्यक छ, जसले मानसिक स्वास्थ्यसेवामा सहज पहुँच दिलाउन सक्छ ।

मनोविश्लेषणका दृष्टिबाट हेर्दा, वृद्धहरूको मानस तीन प्रमुख पक्षमा निर्भर हुन्छ : पहिलो : आत्म–धारणा र मानसिक प्रतिरोध (Self‑perception & resilience) :
बढ्दो उमेरसँगै हुने जीवन परिवर्तन– जस्तै शरीरिक क्षमता, स्मृति, प्रियजनको वियोगजस्ता कुराले मनोवैज्ञानिक दबाव पुर्‍याउँछ। तर यदि वृद्धावस्थालाई “समाप्ति” होइन, “नयाँ अध्याय” का रूपमा आत्मसात गर्ने क्षमता भएमा, जस्तै पूर्व–अनुभवको पुनर्मूल्याङ्ककन, आत्म–समीक्षा र आत्म–सन्तुष्टि, तत्परता, आत्मविश्वास र मानसिक आत्मबल सुरक्षित रहन्छ, जुन “एगो–इन्टेग्रिटी” सिद्धान्त अनुरूप छ ।(Ego integrity (एगो–इन्टेग्रिटी) : व्यक्तिले आफ्नो पुरानो जीवनलाई गुणात्मक र अर्थपूर्ण रूपले हेर्ने, आत्म–स्वीकृति र आत्म–सन्तोषका साथ जीवन पुरा भएको महसुस गर्ने र मृत्यु नजिकिँदा पनि चेतनाभन्दा माथि उभिएर शान्ति र आत्म–बोध अनुभव गर्ने अवस्था) ।

दोस्रो : सामाजिक संलग्नता (Social engagement) :
सामाजिक कार्य, पारिवारिक सहभागिता, र समुदाय वृद्धहरूका लागि जीवनशैलीको आधार हो। “कन्टिनुइटी थ्योरी” (Continuety Theory) अनुसार वृद्धहरू आफ्ना पूर्व मान्यता र व्यवहारलाई निरन्तरता दिन खोज्छन्— यसले उनीहरूलाई जीवनशैलीसँग जोडिएको महसुस गराउँछ र सामाजिक एक्ल्याइबाट बचाउँछ । Reminiscence Therapy (पूर्वजिवनी स्मरण चिकित्सा (वृद्ध व्यक्तिहरूले पुराना सम्झनाहरू— जस्तै फोटो, सङ्गीत वा व्यक्तिगत वस्तुहरूमार्फत फेरि स्मरण गरी एकअर्कासम्म ती कुरा पुर्‍याउने विधि हो, जसले उनीहरूको संज्ञानात्मक क्षमता सुधार्दै भावनात्मक सन्तुष्टि र आत्म–मूल्यको अनुभूति बढाउँछ) ले जीवन चरित्र र स्मृतिहरूमा फर्केर आउँदा आत्म–सन्तुलन र मानसिक शान्ति दिलाउँछ ।

तेस्रो : स्वास्थ्य र मानसिक–शारीरिक सम्बद्धता (Health & psychosocial link) :
शारीरिक स्वास्थ्य र मानसिक अवस्थाका बिचमा प्रत्यक्ष सम्बन्ध हुन्छ— नियमित व्यायाम, पौष्टिक भोजन, राम्रो निद्रा र स्वस्थ जीवनशैली वृद्धका लागि अत्यावश्यक छन्। अमेरिकी “सुपरएजर्स” (SuperAgers भन्नाले यस्ता वृद्ध व्यक्तिहरूलाई जनाउँछ, जुन अमेरिकी अनुसन्धानहरूले पहिचान गरेका छन्, जो ८० वर्ष वा सोभन्दा माथिको उमेरमा पनि ३० वर्ष कान्छा मानिसहरूजस्तै स्मरणशक्ति, संज्ञानात्मक क्षमता र जीवन सक्रियता कायम राख्छन्) अध्ययनअनुसार निरन्तर सिकाइ, व्यायाम र सामाजिक अभ्यासले मस्तिष्कको ग्रे म्याटर (मस्तिष्क र मेरुदण्डमा पाइने तन्त्रिकाको एक प्रमुख भाग, जुन मुख्य रूपमा न्यूरोनका सेल बडीहरू, तिनीहरूका शाखाहरू (dendrites), सिन्याप्स, ग्लियल सेलहरू र रक्तनलीहरू मिलेर बनिन्छ। यो भाग संज्ञानात्मक प्रक्रिया, स्मृति, भावना, निर्णय क्षमता, भाषा र इन्द्रिय–सम्बन्धी संवेदनाहरू नियन्त्रण गर्ने केन्द्र हो ।) कमजोर हुनबाट रोक्ने काम गर्छ, जसले cognitive functioning (मस्तिष्कले जानकारीलाई बुझ्ने, सम्झने, सिक्ने, समाधान गर्ने, निर्णय गर्ने, ध्यान दिने र भाषा प्रयोग गर्नेजस्ता संज्ञानात्मक प्रक्रियाहरूको प्रदर्शन क्षमता) लाई लामो समयसम्म कायम राखेको छ ।नेपालमा पनि हाइकिङ, योग र सामूहिक गतिविधिको अभावले वृद्धहरूलाई दीर्घकालीन स्वास्थ्य समस्यामा पुर्‍याएको देखिन्छ।

समाधानका लागि के गर्ने ?
१. सामाजिक पुनरागमन :
समुदायमा आधारित वृद्धा–समूह, वृद्धालय, क्लब र इन्टरजेनेरेसनल (विभिन्न पुस्ताबिचको सम्बन्ध, आदान–प्रदान वा सहभागिता) जस्ता कार्यक्रमहरू सुरु गर्न आवश्यक छ।

२. पारिवारिक भूमिका सुदृढ र सक्रिय पार्ने :
वृद्ध हेरचाहमा पारिवारिक सेवाको स्तरोन्नति गराई सेवाभाव र दायित्वबोधमा रूपान्तरण र आर्थिक–सामाजिक समर्थनका लागि पति/पत्नी, बालबच्चा, नातागोता र छोराछोरीलाई सचेत र जिम्मेवार बनाउनु आवश्यक भएकाले सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्छ।

३. सरकारी कदम र स्वास्थ्य संरचना :
प्राथमिक स्वास्थ्यकेन्द्रहरूमा मनो–स्वास्थ्य एकाइ खोल्नु, पूरै देशभर स्वास्थ्यकेन्द्रमा वृद्धवृद्धाका बारे सुसूचित नेटवर्क विकास गर्ने; सामुदायिक–स्वास्थ्यकर्मीलाई समावेश गरी योजना बनाउने कार्यमा सरकारको भूमिका अपरिहार्य देखिन्छ ।

४. निगेटिभ एज स्टिरियोटाइप (Negative age stereotype भन्नाले वृद्ध मानिसहरूलाई कमजोर, निर्बल, सम्झने शक्तिमा कमजोरी, परनिर्भर र कम योग्य भनेर नकारात्मक गुणहरू धारण गरिने मानसिक पूर्वाग्रह) हटाउने :
मिडिया, विज्ञापन र भाषामा वृद्ध, अग्रजहरूलाई आकर्षक कार्यक्रम सञ्चालन गर्ने, साक्षर र सक्रिय देखाउने कार्यहरू गराउनुपर्छ ।डा बेक्का लेवीले देखाएअनुसार सकारात्मक धारणाले आयु र जीवनको गुणात्मकतामा वृद्धि गर्छ ।

५. नवीन विधि प्रयोग–व्यवस्था :
Reminiscence therapy, सङ्गीत थेरापी, समूह थेरापी, डिजिटल लिटरेसी कार्यक्रम, मानसिक स्वास्थ्य समाधान कार्यक्रम लागु गर्न आवश्यक व्यवस्था गर्नुपर्दछ ।

निष्कर्ष :
वृद्धहरूको मानसिकता तब सशक्त र पूर्ण हुन्छ, जब आत्म–साक्षात्कार, सामाजिक समावेशिता, स्वास्थ्य–समन्वय र सकारात्मक परिवेश एकीकृत हुन्छ। बुढेसकाल एउटा अन्त होइन, यो आत्म–रूपान्तरण, जीवनसन्दर्भ पुनः समीक्षा र अनुभवको तार्किक मुल्याङ्कन हो। यदि हामीले वृद्धहरूलाई “समाप्ति” ठानेर एक्ल्याउनुको सट्टा सक्रिय—मानवीय—सम्माननीय जीवनशैली दिने हो भने, तिनीहरू हाम्रो समाजका सम्पत्ति हुन्, बोझ होइनन्।

अन्ततः, “वद्धाको मानसिकता” लाई हामीले नकारात्मक, निर्बल वा अन्तिम धागोभन्दा बढी “जीवन–ज्ञान, आत्म–स्थिरता, अनुभव–आधारित आत्म–महत्त्व” मान्नुपर्दछ। यसले वृद्धावस्थालाई एउटा तथ्य मात्र होइन, जीवनको समृद्ध र मानसिक ऊर्जावान् जीवनरसले परिपूर्ण नयाँ अध्यायका रूपमा उभ्याउँछ।

०००
२०८२ असार ३१
सिर्जनाकुञ्ज, बालकोट, भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाका सारद हुन्

पाका सारद हुन्

जीवनाथ अधिकारी
मालामाल कमाल

मालामाल कमाल

जीवनाथ अधिकारी
थुक्क मान्छे ! तँ मर्छस्

थुक्क मान्छे ! तँ...

जीवनाथ अधिकारी
सन्तोष /असन्तोष

सन्तोष /असन्तोष

जीवनाथ अधिकारी
वृद्ध हुन् कि वा युवा…

वृद्ध हुन् कि वा...

कविराज घिमिरे
पाको मान्छेका तथ्य कुरा बुझौँ

पाको मान्छेका तथ्य कुरा...

डा. मुकेशकुमार चालिसे
पाका मान्छेमा अलमल !

पाका मान्छेमा अलमल !

डा. मुकेशकुमार चालिसे
हामी हेपिने मान्छे हो र ?

हामी हेपिने मान्छे हो...

डा. मुकेशकुमार चालिसे
0
Would love your thoughts, please comment.x
()
x