साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बाँचियो र न देख्न पाइयो !

त्यो बेला भुतुक्क भइएको भए क्या पछुतो हुने रहेछ त अहिले । धन्न बाँचिएछ र पो देख्न पाइयो त यति राम्रो प्रजातन्त्र, यति राम्रो लोकतन्त्र, यति राम्रो गणतन्त्र, आहा !

Nepal Telecom ad

बाँचिरहे रमाइलो हेर्न पाइन्छ भनेर बूढापाकाले भनेको ठिकै रहेछ । जिन्दगीमा कालगतिले भन्दा पनि अकालगतिले निकैपटक मर्नमर्न खोजेर बाँचेको म कथित जिउँदो शहीद । छत्तीस सालको विद्यार्थी आन्दोलनमा पुलिसको गोदाइबाट मरणासन्न भएर पनि मुस्किलले बाँचेको । साथीभाइहरू भन्दै थिए, ‘मरिहालेको भए पनि राम्रै हुने थियो । देशका लागि बलिदान हुने थिइस् । मुलुकले तेरो उच्च सम्मान गर्ने थियो । प्रथम नाबालक शहीदका रूपमा अमर हुने थिइस् । तेरो फोटो बोकेर हामी वीर बालशहीद अमर रहून् भन्दै बजार परिक्रमा गर्ने थियौं । तेरो बलिदानले हाम्रो आन्दोलनलाई अझै ऊर्जा दिने थियो । के थाहा, तँ थप एकजनाको शहादतले त्यही बेला नेपालमा प्रजातन्त्र पो आउँथ्यो कि ! भूपी शेरचनले कल्पना गरेको मर्न बाँकी दुईचार सपूतमध्ये एउटा सपूत तैँ पो थिइस् कि । बाँचिस्, यो पनि ठिकै भो ।’

देशका लागि म जस्ता मूर्ख टाइपका लडाकुको पटकपटक खाँचो पर्नेरहेछ, बाँचियो । त्यो बेला नमरेको सम्झिदा अहिले पो आनन्द आउँछ । धन्न बाँचिएछ त्यो बेला जस्तो लाग्छ । छयालीस सालको आन्दोलनसम्म आउँदा पनि मलाई बाँच्नैपर्छ भन्ने होश पलाएको थिएन शायद । विद्यार्थी, किसान, मजदूर र शिक्षक आन्दोलनमा कुद्दै हत्केलामा ज्यान राखेर पुलिसका लात्ती र मण्डलेहरूका लाठी पचाउँदै जसोतसो छ्यालीसको आन्दोलनमा टाउको फुटाइमाग्न आइपुगियो । छयालीसको आन्दोलनमा पनि कम्ती भिडन्त गरिएको हो र ! रत्नपार्कमा फलामे बार भत्काउन पुगिएन कि दरबारमार्गमा राजाको शालिक हल्लाउन । मैतीदेबीमा टायर सल्काउन गइएन कि भोटाहिटीमा पुत्ला बाल्न ! प्रहरीबुथ डढाउनेदेखि सडकमा मोटर लडाउनसम्म, पुलिसलाई इँट्टा हान्नेदेखि मण्डलेहरूलाई ठेलागाडामा बान्नेसम्मका कार्यमा अग्रसर भइयो । कानका छेउछाउमा बन्दुक पड्किँदा पनि डराइएन, गोलीका छर्राले खुट्टाभरि प्वाल पार्दा पनि आत्तिएर कराइएन । आजभोलि सम्झिदा पो यो मुटु नै हल्लिन्छ । धन्न बाँचिएछ बाबै त्यो बेला ! भुतुक्कै भइया भए त यो जुनी खेरै जाने रहेछ ।

अलिकति गुनासो केमा मात्रै रह्यो भने छयालीसको आन्दोलनमा घाइते भएर अस्पताल बसेपछि आफूचाहिँ अलि बेबारिसेजस्तो भइयो । सबै नेताहरू ‘आन्दोलनका उपलब्धि’ रक्षा गर्ने काममा लाग्नुभएकाले मेरो रक्षा गर्ने काममा कसैले ध्यान दिन नपाउँदा मेरो एउटा खुट्टो काटिएछ अस्पतालमा । खुट्टै काटिए पनि, परिवारको बोझ भएर बाँच्नु परे पनि मरी नहालेकोमा भने म आफूलाई धन्य नै ठानिरहेछु ।

नयाँ नेपाल बनाउन मान्छेहरू सडकमा निस्किएपछि त्रिसठ्ठीको आन्दोलनमा पनि चूप लागेर बस्न मन लागेन म मूर्खलाई । आन्दोलन गर्दा गर्दा शिथिल भएको मन र अपाङ्ग भएको ज्यानका साथ वैशाखी टेकरै भए पनि जुलुसमा हिँडियो । काटिएको खुट्टामा पुलिसको थप लाठी पर्दा पुरानो घाउ बल्झिएर मरिन्छ कि जस्तो भयो, तर फेरि मंरिएन । धन्न बाँचियो ।

धन्न बाँचिएछ ती आन्दोलनहरूमा र पो हेर्न पाइयो त त्यस्तो उदेकलाग्दो प्रजातन्त्र र यस्तो दामी लोकतन्त्र । त्यो गजबको प्रजातन्त्रमा पिलो निस्किएर खाटा बसेको घाउलाई आन्दोलनमा गोली लागेको भनेर प्रमाणित गरेर जागिर खाने पार्टी कार्यकर्ता पनि देखियो । बाबुलाई गिँडेर झ्यालखानामा बसेर प्रजातन्त्रका लागि वर्षौं जेल बसेको प्रमाणपत्र बनाएर लाखौं क्षतिपूर्ति खाएर पचाउने नेताहरू पनि भेटियो । ज्यान मर्ने एउटा पार्टीको शहीद, उसैको ज्यान लिने अर्को पार्टीको लड़ाकू । त्यो लडाकू मन्त्री भएर त्यही शहीदका परिवारलाई सम्मान गरेको पनि यिनै आँखाले देख्न पाइयो ।

त्यस बेला नमरेकाले यस बेला देख्न पाइयो हाम्रा महान् नेताहरूका उदेकलाग्दा चर्तिकलाहरू । लोग्ने जातका सांसदहरूका सुत्केरी काण्डहरू देख्न पाइयो । नेताहरू खरिदबिक्री भएको देख्न पाइयो । राष्ट्रको ढुकुटीमा नेताहरूको दाईं हेर्न पाइयो । सिङ्गासिङ्गै जहाजहरू पचाउने पेट भएका नेता महारथीहरू देखियो । जति ठूला भ्रष्टाचारी उति ठूलो मानसम्मान भएको देख्न पाइयो । मोटर नभई एक पाइलै हिँड्न नसक्ने सर्वहारावादी नेताहरूको दर्शन गर्न पाइयो । ‘जनयुद्ध’ मा मरेका हजारौं लडाकूहरूले देख्नै पाएनन् आफ्ना महान् नेताहरूका चिल्लाचिल्ला गाला, नरमनरम छाला; टिलिक्क परेका गाडी, घरको भर्‍याङमा ओछ्याएका गलैँचा र राडी । धन्य बाँचिएछ त्यो बेला र पो देख्न पाइयो जनताको सर्वोच्चता, मुलुकको राष्ट्रियता, अग्रगमन र यो नयाँ नेपाल ।

भारत र अमेरिकाको मात्र सल्लाह र दबाबमा नेपालमा सरकार बन्न छाडेको दिन पनि देख्न पाइयो । अब चीनले पनि खुल्लै भिड्नुपर्ने भो नेपालमा सरकार बनाउन । कुनै दिन यो देश देश नै नरहेको पनि देख्न पाइएला कि भन्ने लाग्छ । यस्तो अवसर बाँचिरहे न देख्न पाइन्छ ! त्यसैले आजसम्म बाँचिरहन सकिएकोमा आफैँले आफैँलाई बधाई दिन मन लाग्छ- बधाई छ बाबु !

मेरा त्यो बेलाका साथीहरू कोही जग्गा दलाली गरेर करोडपति भए, कोही ठेक्कापट्टामा लागेर अर्बपति भए । कसैले केटी बेचेर घर बनाए, कसैले लुटपाट गरेर गाडी कुदाए । हेर्दाहेर्दै कोही बैङ्कका मालिक भए, कोही स्कूल र कलेजका साहू भए । मन्त्री भए, जिएम भए । कस्तो आनन्द लाग्छ, आफ्ना साथीहरूको प्रगति देख्दा । धन्य बाँचिएछ त्यो बेला र न हेर्न पाएँ यस्तो रमिता ।

अहिले यसो सम्झन्छु, मण्डलेहरूले धुस्नु पारेर बोरामा हालेर झाडीमा फालेको त्यो बेला भुतुक्क भइएको भए क्या पछुतो हुने रहेछ त अहिले । धन्न बाँचिएछ र पो देख्न पाइयो त यति राम्रो प्रजातन्त्र, यति राम्रो लोकतन्त्र, यति राम्रो गणतन्त्र, आहा !

०००
‘छोपछाप’ (२०७४)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
जनै, जुत्ता, लँगौटी, कोट

जनै, जुत्ता, लँगौटी, कोट

लक्ष्मण गाम्नागे
बाबा र नेता उस्तैउस्तै

बाबा र नेता उस्तैउस्तै

लक्ष्मण गाम्नागे
अगस्ती आराधना

अगस्ती आराधना

लक्ष्मण गाम्नागे
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
बाबा र नेता उस्तैउस्तै

बाबा र नेता उस्तैउस्तै

लक्ष्मण गाम्नागे
हसुर्ने दिवस

हसुर्ने दिवस

लक्ष्मण गाम्नागे
रिटायर पछिको दैनिकी

रिटायर पछिको दैनिकी

लक्ष्मण गाम्नागे
0
Would love your thoughts, please comment.x
()
x