भूलचुक लिनेदिने : देवी चापागाईंको ‘बुर्कुसी’ मा गाम्नागेकाे भूमिका
राजनीतिक विकृति विसङ्गतितिर भन्दा पनि सामाजिक विकृति विसङ्गति, मानवीय कमी कमजोरी, शिक्षण क्षेत्र, पत्रकारिता, सामाजिक अन्धविश्वास इत्यादि क्षेत्रको चिरफार गर्दै सभ्य समाजको सिर्जनाका लागि चापागाईंजीको प्रयास प्रशंसनीय छ ।
लक्ष्मण गाम्नागे :
देवी दाहाल (आफ्नै जहान) बाट एक बेलुका कवि देवी नेपालजीकोमा मलाई भेट्न देवी चापागाईं भन्ने एकजना मानिस आउनुभएको सुनें । मैले देवी ओझा, देवी कार्की, देवी ओली, देवी अधिकारी, देवी पन्थी, देवीप्रसाद वनवासी देवीपसाद किसान, देवी घिमिरेलगायत अरू केही पुरूष तथा महिला देवीहरूलाई त पहिलेदेखि चिनेको हो, तर देवी चापागाईं भन्ने नाम त सुनेजस्तो लाग्दैन । विचार गर्दै म देवी नेपालजीको निवासमा छिरेँ । नभन्दै देवी चापागाइँ मेरा लागि अपरिचित, म उनका लागि अपरिचित रहेछौँ । यतिसम्म अपरिचित कि म सोच्तै थिएँ, उनी पुरूष देवी होलान् वा महिला ? उनी पनि सोच्तै रहेछन् नेम्वाङ, इङ्नाम, घिनि त सुनेको हो, यो गाम्नागे भनेको चाहिँ राई, लिम्बू वा तामाङ कुन जातको रहेछ ! हाम्रो भेट भयो । मुठाजुँगे देवीप्रसाद चापागाईलाई देखेर म जिल्ल, घिरौंलानाके गाम्नागेलाई देखेर देवी जिल्ल ।
हामी दुवैका अनुमानहरू फेल खाएपछि हामीले हिस्रिक्क पर्दै हात मिलायौँ । उनी रहेछन् उता सिन्धुपाल्चोकको पल्लोछेउ दोर्जेलाक्पा हिमालको मुन्तिर थाङपालधाप निवासी, स्थानीय स्कूलका शिक्षक । त्यति मात्रै भए त मैले उनलाई, उनले मलाई किन पो भेट्नुपर्थ्यो र । खास कुरोचाहिँ उनी लेखक रहेछन्, त्यसमा पनि हास्यव्यङ्ग्यकार । त्यसो भएर पो उनको र मेरो भेट जुरेको रहेछ । त्यो थाहा पाएपछि मलाई उनीसित दोहोर्याएर हात मिलाउन मन लाग्यो । नयाँ कुनै हास्यव्यङ्ग्य लेखक भेट्टायो कि मन चौचौ भइहाल्ने रोग लागेको छ मलाई । यसको कारण यस्तो छ ।
हाम्रा वरिष्ठ समालोचक, समीक्षकहरू हास्यव्यङ्ग्यका समालोचना समीक्षा गर्दा भानुभक्त वा त्यतैतिरबाट सुरू गर्छन् र भैरव अर्यालसम्म झरेर त्यहीँ अड्किन्छन् । त्यहाँभन्दा तल हत्तपत्त झर्दै झर्दैनन् । उनीहरूलाई त्यहाँभन्दा तल झार्ने गतिला हास्यव्यङ्ग्यकारहरू हामीलाई चाहिएको छ । त्यसै भएर नयाँ हास्यव्यङ्ग्यकार जन्मिएको थाहा पाउनासाथ म उसका रचनाहरू पढ्ने गर्छु । देवीजीको किताब पनि मैले मज्जैले पढ्न पाउने भएँ किनभने उनको पुस्तक बुर्कुसीको भूमिका लेख्ने जिम्मा मलाई छाडेर उनले त्यो साँझ बुर्कुसी मारे ।
बुर्कुसीको पाण्डुलिपि ल्याएर टेबुलमा राखें । के लेखे होला र विचरा देवीले ? मलाई शङ्का लाग्यो । शड्का लाग्नुमा धेरै कारणहरू थिए । देवीजी मोफसलमा बस्छन् । त्यसमा पनि पहाडको अनकन्टार गाउँमा । हिमालका फेदमा । न त्यहाँ मन्त्री बस्छन्, न नेता । न त्यहाँ सिंहदरबार छ, न अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र । धुवाँ यतै छ, धुलो यतै छ हामीसँग । फोहोरका डङ्गुरहरू यहीँ छन्, भ्रष्टाचारी बङ्गुरहरू यहीँ छन् । ढलमती, मलमती, दुर्गन्ध, डम्पिङ्साइट सबै हामीले आफ्नै पेवा बनाएका छौं । चक्का यतै छन्, जाम यहीँ छ । मशालजुलुस यहीँ निस्कन्छन्, टायर यतै बल्छन् । अराष्ट्रिय रातो झण्डा र राष्ट्रिय कालो झण्डा यतै फर्फराउँछन् । सिंहदरबार, ढुङ्गामुढा, संसदीय अभ्यास, नागरिक सर्वोच्चता, राष्ट्रपति निवास, सैनिक हेडक्वार्टर, ठमेल, रेडलाइट एरिया, डान्स रेष्ट्रोराँ, म्यानपावर कम्पनी, कर, अदालत, भन्सार, एयरपोर्ट, यातायात व्यवस्था कार्यालय, ट्राफिक पुलिस, सचिव, सुब्बा इत्यादि सबैसबै त यहाँ हामीसँग काठमाण्डुमा छन् अनि यो देवी चापागाईं त्यो पहाडको कुनामा बसेर के हेरेर व्यङ्ग्य लेख्तो हो ! मलाई भित्रभित्रै हाँसो पनि उठ्यो ।
हाँस्तै हाँस्तै बुर्कुसी व्यङ्ग्य पढें । ए मेरी आम्मै ! राम्रै पो छ त । म त हाँसेको हाँस्यै पो हुन्छु कि क्या ! बुर्कुसी दोहोर्याएर पढें । व्यङ्ग्यभन्दा पनि उनको हास्यशैली मलाई निकै मन पर्यो । त्यसपछि अरू पनि एकदुईवटा पढें । एकपछि अर्को झन् झन् पो राम्रा छन् अनि विचार गरेँ, भूमिका त जमेरै लेख्नुपर्ने भो । एक शनिबार घाममा बसेर उनका व्यङ्ग्यहरू वारपार छिचोलें र आफूले देखेका कुरा नलुकाई जस्ताको तस्तै लेखेँ ।
देवीजी व्यङ्ग्यका शीर्षक जुराउन साह्रै सिपालु रहेछन् । छोटाछोटा ट्वाक्क परेका शीर्षक । धेरैजसो एकै शब्दका । बुर्कुसी, अत्तो, एकैछिन्, चुप, लाज, खेदाइ, खुचिङ, घुएँत्रो, लात इत्यादि ।
पहिला शीर्षक चयन गरेपछि शीर्षकअनुसारको व्यङ्ग्य लेख्ने गरेको हो कि चापगाइँजीले भन्ने मैले अनुमान गरेँ । ’यस विषयमा व्यङ्ग्य बजाउन सक्छु’ भन्ने लागेपछि उनी लेख्न थाल्दारहेछन् जस्तो लाग्यो किनभने उनले शीर्षक राखेर त्यही शीर्षकका वरिपरि फन्का मार्दै हामीलाई रन्का छुटाउने प्रयास गरेका छन् । शीर्षक राख्ने, त्यसको परिभाषा दिने, प्रकारहरू उल्लेख गर्ने, व्याख्या गर्ने, उदाहरणहरू दिएर शीर्षक छनौटलाई पुष्टि गर्ने, उदाहरणमा कथाहरू हाल्ने, यस्ता विशेषता उनका प्रायः सबै निबन्धमा फेला पर्छन् । अर्थात् निबन्धहरू अनुशासित छन् । उनको आफ्नै शैलीअनुसार प्रत्येक निबन्ध एकैप्रकारको लयमा बगेका छन् ।
देवीका निबन्धहरूमा ग्रामीण जनजीवन सर्लक्कै उत्रिएको छ । विकृतिजति जम्मै हामीले बोकेर बसेका छौं, गाउँमा व्यङ्ग्य के जन्मिन्छ र भन्ने मेरो भ्रमलाई चिर्दै देवीले राजनीति, सहर, नेता, सिंहदरबार आदि कतै नपसी यति मीठोसँग हास्यव्यङ्ग्य लेखेका छन्, त्यो तारिफयोग्य मात्रै होइन इष्र्यायोग्य पनि छ । गाउँमा पनि विकृतिहरू छन् । धनी गरिबबीच खाडलहरू छन् । अन्धविश्वासहरू छन् । ठग लेखनदासहरू छन्, धामीझाँक्रीहरू छन्, ढाँटढुँटे पुरेतहरू छन्, कामचोर मास्टरहरू छन्, काँक्रा चोरहरू छन्, चेलीबेटी व्यापारीहरू छन्, झिल्केहरू छन्, सुकुलगुण्डाहरू छन्, तोरीलाहुरेहरू छन्, जतनतिघ्रेहरू छन्, दुष्ट सासूहरू छन्, मुखाले बुहारीहरू छन्, । गाउँमा पनि हुँदारहेछन् यौनकाण्डहरू । प्रेम हुँदारहेछन्, विछोड हुँदारहेछन, पारपाचुके हुँदारहेछन्, पशुकरणीहरू हुँदारहेछन, हाडनाताकरणीहरू हुँदारहेछन्, नवजात शिशुहरू झाडीमा भेटिंदा रहेछन् । त्यहाँ पनि हुँदा रहेछन् धेरै थरीका विकृति विसङ्गतिहरू । तिनीहरूलाई उजागर गर्नु, तिनीहरूको दोहोलो काड्नु लेखकहरूको कामै हो, त्यसमा पनि हास्यव्यङ्ग्यकर्मीको त क्षेत्र नै त्यही हो । उसको त कर्तव्य नै हो त्यस्ता विकृतिहरूलाई उदिङ्ग्याउनु र, त्यो कर्तव्य पूरा गरेका छन् व्यङ्ग्यकार देवी चापागाइँले । गाउँलाई केन्द्रविन्दु बनाएर त्यहाँका समस्या र विकृतिहरूलाई यत्तिको रोचक शैलीमा जो प्रस्तुत गरिएको छ, यो हास्यव्यङ्ग्य निबन्ध क्षेत्रमा नौलो प्रस्तुति हुनेछ भन्ने मलाई लागेको छ । यो नयाँ र महत्वपूणर् कामका लागि देवीजीलाई साधुवाद भन्नैपर्छ ।
व्यङ्ग्यलाई रोचक बनाएर पढूँपढूँ लाग्ने बनाउन लेखकले अनेक गाउँले पात्रहरू उभ्याएका छन् । अनौठा र रमाइला नाम र उपनामहरूको प्रयोग गरेर देवीजीले उधुमै गरेका छन् । स्वाभाविक र अस्वाभाविक, वास्तविक र अवास्तविक यी पात्रहरूले व्यङ्ग्य निबन्धलाई कथाजस्ता बनाएका छन् र पढ्न रूचिकर बनाएका छन् । सिरानघरे काले, माझघरे भाले, गजबबहादुर घर्ती, खत्री माहिलो, गोविन्दे ढकाल, भट्टराइनी माहिली, दत्तनाथ मरासिनी, रमिते पण्डित, चिप्ले कान्छी, कानढिके खत्री, किर्ने माहिलो, लम्वरीकान्त लम्साल, कन्कर्ने, मानवीरे दमाइँ, दानवीरे घर्ती, चुकुलकान्त वस्याल, कुटिलकान्त जमरकटेल, टुल्कीमैया रम्तेल, हरेराम बराल, सिउरे बोम्जन, भुरूङहरि कुईकेल, लोखर्के खड्का, आदेशभक्त सिरौंलाटोके, दोकदोक लामा, घलाने स्याड्बी, खोलबहादुर कँडेल, सीताराम पुडासैनी, गिमी दोर्जी, चुके खत्री, दुके ढकाल, दुम्सीदत्त दुलाल, माख्लाघरे काका, थानसिडे, रञ्जिते, खोदनाथ, धापको बाहुन, सिरानघरे मजे, बागबडानन्द अर्जेल, कटकराज भँडारी, बडहरबोटे, घ्यारघरे, टुँडालघरे इत्यादि अनेक पात्रहरूको चरित्रचित्रण बड़ी रोचक पाराले गरिएको छ । यी नामहरूले निबन्धलाई रोचक बनाएको मात्र नभई ग्रामीण परिवेशको जीवनशैलीलाई समेत छर्लङ्ग पारेको छ ।
ठाउँका नाम पनि त्यस्तै रोचक छन् । किर्नेटार, पिँडालुबारी, थानसिङ पाटो, खरेलथोक, राजुगैरा, भोकटे डाँडा, ढाँडखोला, घोडताप्रेटार, चिउरीखर्क, पुवाँले जस्ता ठाउँहरू चापागाईंजीकै वरिपरिका ठाउँ हुन् वा काल्पनिक हुन् त्यो त कुनै दिन त्यहाँ जाने अवसर परेछ भने थाहा होला तर ती ठाउँहरू उल्लेख गरेर लेखकले आफ्ना निबन्धलाई सत्य घटनामा आधारित जस्ता बनाएका छन् । रमाइलो थप्न यस्ता नामले साह्रै राम्रो काम गरेका छन् ।
हास्यव्यङ्ग्यलाई रोचक बनाउने अर्को विशेषता उखानहरूको प्रयोग पनि हो । त्यसमा पनि बुर्कुसीमा जस्तो प्रसङ्गमा ठ्याक्कठ्याक्क मिलेका उखानहरू पढ्न पाउनु र अझ नसुनेका नौला नौला उखानहरूको स्वाद लिन पाउनु मेरा लागि थप आनन्दको विषय भयो । ‘पाहुनालाई आइदे हुने, बच्चालाई रोइदे हुने ।’ ‘ठाउँ न ठहर, झ्याप्लीको रहर’, ‘अरूका भागमा दही र केरा तिम्रा भागमा कमिलाका घेरा ।’ ‘काम कुरो पारिपट्टि, झिटिगुण्टा वारिपट्टि ।’ ‘लोभ गर्यो लण्ठा मिल्छ ।’ ‘बेला न कुबेला, खोले फत्क्याजस्तो ।’ इत्यादि उखानहरूको प्रयोगले व्यङ्ग्यहरू झनै तिखा भएका छन् ।
अनुप्रास नहुँदैमा हास्यव्यङ्ग्य हुँदैन भन्ने त होइन, तर सन्तुलित यसको प्रयोगले हास्यव्यङ्ग्यमा ‘सुन्दरीका कानमा सुनको झुम्का’को काम गर्छ । देवीप्रसाद चापागाईंले अनुप्रासको भरमार प्रयोग गरेका छन् अत्यन्तै सन्तुलित ढङ्गले । मस्कने-ठस्कने झस्कने । पचाउने- अचाउने । थापा-मापा- झापा । घनटाउके-सानटाउके । तुर्न लागेको कविता- फुर्न लागेको गीत । अविस्कार स्वीकार- वहिस्कार । आदिदेखि अनादि- वरिष्ठदेखि कनिष्ठ- मैं होस्देखि तैहोस् । बौलाहा सुरूवाल- दौरा सुरुवाल । भुत्रे वस्त्र- लुत्रे कान । खाटमा सुतेको विरामी घाटमा सुतेको मलामी । जोइटिङ्ग्रे पोइटिङ्ग्रे । वासनदार धूप- अस्वभाविक रुप । उघ्रिएको आकाश- सुधिएको भूमि । पँगेनी- अँगेनी । यी त केही नमुना मात्र हुन् । अनुप्रासको राश हेर्न त निबन्धहरू नै पढ्नुपर्छ ।
ठेट भाषाको प्रयोग चापागाईंको अर्को महत्वपूणर् विशेषता रहेको छ । निबन्धहरू पढ्दा यत्ति मजा आउँछ कि त्यो गाउँको भाषाको रमाइलो लिन लेखकसँगै उनको गाउँ घुम्न गइहालेँ र २-४ महिना उतै बसूँ । टण्टै साफ । कुरोकन्थो । काठो । बाबुको पित्ताम नास्ती । पोइलाई मन्त्री जस्तै ठान्छु । घरकी बुढीले पस्किदिएको पोखरेली चामलको भात, भीमटारको मासको दाल, पोल्या करेलाको अचार । यस्ता वाक्यांश र प्रसङ्गले निबन्धहरूलाई सरल, सहज र मनोरञ्जक बनाएका छन् । अझ केही नमुना हेरौँ ।
० हिँडाको माम्रीमा दूध हालेर खान नदिए घरमा आगो फुक्छ ।
० नाम्लाङे राडीमा थचक्क बसी माथिबाट तमाखु ट्वारट्वार तलबाट अपानवायु ढ्वारढ्वार- हाम्रा हजुरबाको विशेषता थियो ।
० रमिते पण्डितले पल्ला गाउँकी पुकुलीलाई भुरो फाल्न सिउँडीको दूध खान दिएको ।
० कोदो टिप्न जाँदा बारीमै जन्मेकाले सबैले मलाई पाखे कान्छा भन्छन् ।
० हजुरबाका आशिर्वचनले गर्दा एक दर्जन सन्तानलाई विस्कुन लगाउन सफल अर्धागिनी मैले पाएँ ।
० फक्याउनेको आँखामा आएको अन्नो र गरिबको कण्ठमा आएको गलगाँडको लक्षण र उपचार बेग्लाबेग्लै हुन्छ ।
साँच्चै मजा आउँछ हो, यो किताप पढ्न ।
निबन्धहरू सुरू गर्दा रमाइलो परिभाषा दिएर सुरू गर्ने देवीको अर्को विशेषता नै देखिन्छ । जस्तैः-
लाज- गोप्य अङ्गलाई छाडा नलगाई भाडा नकमाउन ।
खुचिङ- दुवै पाखुराहरू कोणात्मक बनाई झ्याप्प जीउतिर हानी ‘उँ’ को आवाज निकाल्नु खुचिङ हो । खुचिङ घुर्कीभन्दा जेठो र निहुँभन्दा कान्छो छ ।
गलगाँड– मानिसको कण्ठमा मासुको पोको वा पुन्तुरो देखिनुलाई गाँड भनिन्छ । यो चिउँडोमुनि पसारो गर्छ ।
निबन्धहरूभित्र ठाउँठाउँमा अनेक कथाका प्रसङ्गहरू जोडिएका छन् । खासगरी लेखकले रोजेको विषयलाई प्रष्ट पार्न रोचक कथाहरू, प्रसङ्गहरू हालेर निबन्धलाई साँच्चै रमाइलो बनाइएको छ । हास्यरस उत्पन्न गराउन ती उपकथा वा घटनाहरूका प्रसङ्गले निकै सघाउ पुयाएको छ ।
हास्यव्यङ्ग्य रचनाका लागि चाहिने अनेक तत्वहरूको उपयुक्त समिश्रण गरी चापागाईजीले साँच्चै राम्रो कृति निकालेका छन् । राजनीतिक विकृति विसङ्गतितिर भन्दा पनि सामाजिक विकृति विसङ्गति, मानवीय कमी कमजोरी, शिक्षण क्षेत्र, पत्रकारिता, सामाजिक अन्धविश्वास इत्यादि क्षेत्रको चिरफार गर्दै सभ्य समाजको सिर्जनाका लागि चापागाईंजीको प्रयास प्रशंसनीय छ ।
चापागाईंजीको यो पहिलो प्रयास हो । त्यसैले यसमा खोट लगाउनुपर्ने कारण म देख्तिन तर पनि प्रशंसा मात्र गरेर म उनलाई आफूभन्दा जान्ने किन बनाऊँ ? यसो केही त भनौँ ।
निबन्धहरूमा कतिपय विषयवस्तु दोहोरिएका छन् । निबन्धहरूमा उनले छानेका प्रायः सबै विषयको परिभाषा पछि उनले प्रकार उल्लेख गरेका छन् । बुर्कुसीका प्रकार, अत्तोको प्रकार, लातको प्रकार, थप्पडको प्रकार । ती प्रकारहरू चाहिँ कतिपय अस्वाभाविक लाग्ने गर्छन् । कतिपय निबन्धहरू अलि बढी एउटै विषयमा रूमल्लिएका, मडारिएका जस्तो पनि लाग्छ । निकास निस्कन नसकेको जस्तो । केही प्रसङ्ग र शब्दहरू अलि अश्लिलजस्ता लाग्ने वा अलि स्तर नपुगेको जस्तो लागेको विषयमा मैले देवीजीसँग सल्लाह गरेको थिएँ । उनले ती प्रसङ्ग वा शब्द आफ्नो ठाउँका लागि सामान्य भएको बताए पनि अब यो पुस्तक देवीजीको मात्रै नभएर संसारभरिका नेपालीभाषीको हुने भएकाले त्यस्ता कुराहरू उनले सच्याउनेछन् भन्ने मलाई आशा छ । खट्केका कुरा यत्ति नै ।
म प्रत्येक रचनाको समीक्षा गर्न सक्तिन किनभने समीक्षा, समालोचना मेरो ज्ञानको विषय होइन । एउटा पाठकको हैसियतले देखेका कुरा लेखेँ र अन्तमा अझै थप्न चाहन्छु, सबै निबन्धमा केही न केही नयाँ र रमाइला विषयहरू छन् । तीमध्ये पनि लाज, घुँएत्रो, धूर्तहरूको गोलमेच सम्मेलन, चियो र पिँडालीको सम्झना गराउने एकै छिन आदि निकै राम्रा व्यङ्ग्य यस सङ्ग्रहमा छन् । ‘भाट लेखन र लेखक’ उच्च वौद्धिकस्तरको उत्कृष्ट निबन्ध यहाँ छ । त्यस्तै उच्चकोटीको निबन्ध टाउकेहरूको देवाली छ । भैरव अर्यालको ब्रम्हाजीको प्रयोगशालाबाट सम्झाउने ‘टाउकेहरूको देवाली’ निबन्धभित्र प्रयोग गरिएको कथामा लेखकले साह्रै सहज ढङ्गले सृष्टिकर्ता ब्रह्माजीलाई आफ्ना गाउँले बनाएका छन् । ‘कुन रुपको जीउको संरचना निर्माण गर्ने भन्ने सोचमा डुल्दाडुल्दै ब्रम्हाजी एक दिन बाटाघरे कुमालेकाँ पुगेछन् ।’
यस्ता अनौठा र रमाइला प्रसङ्ग ल्याएर लेखकले निबन्धहरूलाई रोचक बनाएका छन् । हास्यव्यङ्ग्य रचनामा प्रवल सम्भावना बोकेर उदाएका देवीजीको यो पहिलो कृतिमा मलाई आफ्ना कुरा राख्ने मौका दिनुभएकामा धन्यवाद । महाकविले ‘लक्ष्मीप्रसाद’, आदिकविले ‘भानुभक्त’, हास्यव्यङ्ग्यकार अर्यालले ‘भैरव’, कवि शिरोमणिले ‘लेखनाथ’ जस्ता हाम्रो समाजबाट लोपोन्मुख नामहरूलाई अमर बनाएजस्तै हाम्रो समाजबाट ३०-३५ वर्षपछि लोप हुने पक्का भएको ‘देवी’ नामलाई तपाईं देवीप्रसाद चापागाईंले अमर बनाउनुहोस् भन्ने शुभकामना दिँदै नेपाली हास्यव्यङ्ग्य साहित्यजगतमा तपाइँलाई हार्दिक स्वागत गर्दछु । भूलचुक लिनेदिने ।
०००
देवीप्रसाद चापागाईंको ‘बुर्कुसी’ हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह (२०६६ चैत) मा गाम्नागेको भूमिका
Subscribe
Login
0 Comments
Oldest