सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

गाँडमाथि पिलो

खोई फिफ्‌टी थाउ निकाल्नुस् त खुरुक्क ! लास्ट मन्थको फी तिरेकै छैन । एँच । मलाई पनि त्यो डली नेपालीले साइट दिइराख्या छ, म पनि तेसलाई ल्याइदिउँ कि क्या !'

Nepal Telecom ad

लक्ष्मण गाम्नागे :

एकपछि अर्को गर्दै कहिले छोरीले र कहिले छोराले मलाई हप्काउन र धम्की दिन थाले। उम्रिदैका तीनपाते भनेजस्तो नाकबाट सिँगान बगाउँदै छोरीले चर्को स्वरमा मलाई झपार्दै भनी- ‘बाउ भएर यही हो तपाईंको चाला । यसरी झोक्राएर बसेर हुन्छ ? यी हेर्नुस्, मेरा दौरा फाटेर दसओटा प्वाल परिसक्यो, सुरालको सिलाई खुस्केर लाज नछोप्ने भइसक्यो । यस्तो लुगा लगाएर तपाईंकी छोरी हिंड्दा तपाईंलाई लाज लाग्दैन ? खोई मलाई स्कुल भर्ना गरिदिएको ? खोई मेरो वर्थडेमा केक काटेको ? खोई मलाई मासु खुवाएको ? खोई मलाई मेला हेराउन लगेको ? खोई ‘जू’ हेराएको ? खोई यो ? खोई त्यो ? खाेई ऊ ? खोई ?? खोई ???’

भर्खर तीन वर्ष पुगेकी छोरीका कुरा सुनेर म अक्क न बक्क परेँ । मैले फकाउने उद्देश्यले बल्लतल्ल छोरीलाई नजिकै ल्याएँ र सुम्सुम्याएँ । मैले जे भने पनि उसले सुनिनँ । उल्टै मेरो हात झड्‌कालेर कट्टी कट्टी गर्दै फ्यान्निएर हिंडी । च्यार्रच्यार्र गर्दै छोरो आइपुग्यो मेरा अगाडि । थाङ्नासाङ्ना  पर हुत्याएर औँलो ठड्याउँदै ऊ त कराउन पो थाल्यो’ हेर बाउ, त्यो खल्तीमा २-४ सौ रुप्याँ दाम बोकेर लिन्ठिङ लिन्ठिङ हल्लिएर हिंड्ने होइन । त्यो जाबो प्राइभरी स्कुलको मास्टरको जागिर खाएर यत्रो ४-४ जनाको परिवार कसरी पाल्छौ ?’

उसको अमर्यादित पारा देखेर मेरो रिसको पारो नब्बे डिग्रीमाथि चढ्यो । बज्जेलाई थप्पड लाइदिउँ कि जस्तो पनि लाग्यो, तर त्यो भर्खर जन्मेको चाउरे बच्चालाई हिर्काउने ठाउँ नै थिएन । मैले आवेगको वेगलाई रोकेर छोराको चिप्लो टाउको सुम्सुम्याउँदै भनें, ‘आफ्‌नो बाबुलाई ‘तिमी’ भन्नुहुन्न । जन्मिदाजन्मिदै तिमी यस्तो असभ्य भयौ भने पछि कस्तो होउला ?’

चुप लाग्नुस् तपाई ! यस्तो आची गनाउने अस्पतालमा ल्याएर राख्नुभा’छ । सुपर्णखाजस्ता नर्स छन्, कसाहीजस्ता डाक्टर छन्, न सफा पानी छ, न सफा ट्वाइलेट, वाथरुम छन् । छिःछिःछिःछिः । केटो ठूलोठूलो स्वरले कराउन लाग्यो । मैले नबोल्न इशारा गर्दागर्दै पनि ऊ इराकमा बम पड्केजस्तो पड्क्यापड्क्यै गर्न थाल्यो ।

‘खल्तीमा सुको दाम छैन, आफू एकजनाले भुँडीमरि भात खान सक्या छैन तेस्तालाई विहे गर्नुपर्ने छोरा छोरी पनि जन्माउनुपर्ने । एउटी छोरी हुँदाहुँदै फेरि छोरै नभई नहुने ? लेख्ने-पढ्ने वेलामा भैँसीका डँडाल्नामा बस्तैमा र गोरुका जिउबाट किर्ना झार्दैमा बित्यो । हजुर आमाको तिलहरी चोरेर कहिले दार्जिलिङ र कहिले काठमाडौं भाग्दैमा बित्यो । घरबाट चामल र तोरी चोरेर पैनीका डिलमा लुकाएर स्कूल जाँदा बजार लगेर बेचेर सधै क्याराम खेल्दाखेल्दै पढ्ने समयजति त्यत्तिकै नास गर्नुभो । अझ लुकीलुकी बिँडी खाएको र पढेको वहानामा कोर्सको कितावभित्र दीर्घबाहु र वसन्तका जासुसी उपन्यास लुकाएर पढ्दापढ्‌दै एसएलसीमा आलु खाएको कुरा पनि मैले भन्नैपर्छ कि ?!” फुच्चे केटो एकनाससँग कराएको करायै गर्न थाल्यो ।

मेरा वरिपरिका मान्छे नवौँ आश्चर्यको यो घटना जिल्ल परेर हेर्न थाले । म लाजशरमले पानी पानी भइसकें । मैले निकै साहस गरेर भुईंमा झरेको थाङ्नो टिपेर शिशुलाई गुट्‌मुट्याएँ र लगेर उसकी आमाको छेउमा सुताइदिएर आएँ ।

एक्कैछिनमा फेरि छोराछोरी दुवैजना पाखुरा सुर्किदै आइपुगे । कसले कति कडा र कति चर्को गरी गाली गर्न सक्छ भन्दै उनीहरू त तँछाडमछाड गर्न लागे । ‘के हो ड्याड, मेरो बिहेसिहे गरिदिनुपर्दैन आफूमात्रै मोज गर्ने सव क्लासमेटहरूले म्यारिज गरिसक्यो । मैमात्र बुड्गै बस्ने ? हेर्नुस् ड्याड, भन्या छु या त अमेरिका, जापानतिर पढ्न पठाउनुस् या त अल‌ङ्कारको जिम्मा लगाउनुस् । ऊ मेरो लास्टको बोइफ्रेन्ड हो, उसले त विहे नै गर्छु भन्या छ । आफूले नसकेपछि ह्यान्डस्अप त गर्नुपर्यो नि ड्याड ।’ छोरीको कुरामा सही थाप्दै छोरो उर्लियो- ‘ओ ड्याड, यसरी चुपचाप झोक्राएर बस्ने हो ? त्यो चाउरी परेको गालाको छालासाला तन्काइदिउँ ? खोई फिफ्‌टी थाउ निकाल्नुस् त खुरुक्क ! लास्ट मन्थको फी तिरेकै छैन । एँच । मलाई पनि त्यो डली नेपालीले साइट दिइराख्या छ, म पनि तेसलाई ल्याइदिउँ कि क्या !’

छोरो चुप लागेकै थिएन, छोरी कराइहाली ‘ओ ड्याड, कानसान छैन कि क्या हो ? किन नबोलेको ?’

छोराले अगाडि वढेर मेरो कान समात्तै भन्यो, ‘यी छ नि कान त, तर कानमा पूरा कानेआची भरिएको छ, सुन्दै सुन्दैन हो ।’

‘तान्दे न कान तान्दे !! छोरीले अर्डर गरी । छोराले मेरो कान बटारेर तान्न थाल्यो । ‘ऐया। नगर न माइडियर । नगर न ” मैले उसको हात हटाउँदै भने ।

‘ओ दाइ कसलाई माइडियर भनेको ? दिउँ चप्पल फुकालेर ?’ मेरो अगाडि एउटी दुच्छर स्वभावकी नर्स उभिएकी रहिछन् । म सपनाबाट यथार्थमा आइपुगेँ र नर्ससंग क्षमा मागेँ ।

‘बधाई छ, एक्कैचोटी जुम्ल्याहा बच्चा भएका छन् । उता वेडमा राखेको छ, गएर हेर्नुस्’ भन्दै नर्स वाहिर निस्किई ।

‘ज… ज… जुम्ल्याहा ??’ मलाई पेन्टागनमा प्लेन पड्केको अनुभूति भयो । आत्तिएर जुरुक्क उठेँ। खुट्टो निदाएर टेक्नै नहुने भएको रैछ । म अस्पतालवाहिर राखिएको थोत्रो काठको वेन्चमा थुचुक्कै भएर बसें ।

०००
लाठीचार्ज (२०६१)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
छाउरा उत्पादन उद्योग

छाउरा उत्पादन उद्योग

लक्ष्मण गाम्नागे
असफल दाम्पत्ते जीवन

असफल दाम्पत्ते जीवन

लक्ष्मण गाम्नागे
लक्ष्मण गम्म नाके

लक्ष्मण गम्म नाके

लक्ष्मण गाम्नागे
मै उस्तो बूढी !

मै उस्तो बूढी !

लक्ष्मण गाम्नागे
भैरव पुरस्कार मन्तव्य

भैरव पुरस्कार मन्तव्य

लक्ष्मण गाम्नागे
असफल दाम्पत्ते जीवन

असफल दाम्पत्ते जीवन

लक्ष्मण गाम्नागे
मै उस्तो बूढी !

मै उस्तो बूढी !

लक्ष्मण गाम्नागे
उल्काउल्काका शुल्कहरू

उल्काउल्काका शुल्कहरू

लक्ष्मण गाम्नागे
भूमिकाको भुमरी

भूमिकाको भुमरी

लक्ष्मण गाम्नागे
देशको इस्…थितिले गर्दा

देशको इस्…थितिले गर्दा

लक्ष्मण गाम्नागे
0
Would love your thoughts, please comment.x
()
x