आर.सी. रिजालभैरव : मान्छेदेखि प्रतिमासम्म
उनले झर्कदै खल्तीमा हात हालेर पाँच सय एक निकालेर -ल तपाइँ यो लिने कि नलिने ? मलाई शिलालेखमा नामसाम चाहिएको छैन ।

नेपाली हास्यव्यङ्ग्य क्षेत्रको नाम लिनुपर्दा आजसम्म भैरव अर्यालको नाम नै अग्रपङ्क्तिमा आउँछ । भैरव अर्यालको चिनारी मूलतः हास्यव्यङ्ग्य भए तापनि जागिरे चिनारीमा पत्रकार, अर्थात् गोरखापत्रको कर्मचारी पनि हुन् । हास्य र व्यङ्ग्यलाई एकै ठाउँमा मिश्रण गरी संयुक्त रूपमा प्रस्तुत गर्न सक्ने भैरव अर्यालको खुबीलाई मान्नैपर्छ ।
भैरवको हास्यव्यङ्ग्यको अर्को पक्ष कालजयी लेखन पनि हो । उतिबेला लेखेको लेखमा अहिलेको समाजको विकृति, विसङ्गतिलाई नै हानेको झैँ लाग्छ । उनको लेखाइमा हल्का हास्य र सघन व्यङ्ग्य देखिन्छ । भैरवको हास्यव्यङ्ग्यले प्रत्यक्ष वा परोक्ष समाजसँग सरोकार राखेको पाइन्छ । अर्यालले कविता, कथा, समीक्षातर्फ पनि कलम चलाएको पाउँछाैँ । ती विधाहरू पनि हास्य प्रधान देखिन्छन् । विशेष गरेर हास्यव्यङ्ग्यकै सहारा लिएर लेखिएको रचना नै नेपाली जनजिब्रोमा झुण्डिएको पाउँछाैँ । भैरवको लेखाइमा कला पक्ष सबल छ भने विचार स्पष्ट छ ।
साहित्य सङ्गम र सिस्नुपानी मकवानपुरको संयुक्त प्रयासबाट हेटौँडा नगरपालिका वडा नं. ५ स्थित पुष्पलाल स्मृति पुस्तकालयको परिसरमा नेपालका हास्यव्यङ्ग्यकार भैरव अर्यालको प्रतिमा राख्ने कार्यको शिलान्यास भैरवकै मित्र साहित्यिक पत्रकार श्री रोचक घिमिरे र हेटौँडा नगरपालिकाका कार्यकारी अधिकृत मदन भुजेलले संयुक्त रूपमा २०६४ चैत २ गते शनिबार गर्नुभयो ।
शिलान्यासको दिन हेटौँडाका साहित्यकार र साहित्यानुरागीहरूबाट प्रतिमा निर्माणका लागि चन्दा सङ्कलन समेत भयो । चन्दा सङ्कलनकै सिलसिलामा रोचक घिमिरेज्यूले ठट्यौली पारामा भन्नु भए तापनि मलाई मार्मिक लाग्यो । उहाँले कार्यक्रममा बोल्दा- “यहाँ उपस्थित धेरै जनाले यस्तो शुभ कार्यमा चन्दा दिनुभयो म त झन् भैरवको साथी मैले केही नगर्दा भैरव रिसाउलान् त्यसैले मेरो तर्फबाट” भन्दै १,५५१ रुपैयाँँ मेरै हातमा राखिदिनुभयो ।
अहिले सम्झना आएको बेलामा लेखिहालौँ हेटौँडामा भैरव अर्यालको प्रतिमा राख्न हौसला एवम् सहयोग गर्नेमा वरिष्ठ साहित्यकार रमेश विकल र रोचक घिमिरे एवम् भैरव गुठी र सिस्नुपानी नेपाललाई बिर्सन सकिन्न । भैरव गुठीले २०६३ सालमा रु ११,१११/-सिस्नुपानी मकवानपुरलाई प्रदान गरेतापनि सो संस्थाको खाता नभएको कारणले गर्दा साहित्य सङ्गम मकवानपुरको खातामा नै जम्मा गरियो । सोही साल साहित्य सङ्गमले भैरवको प्रतिमा निर्माणका लागि भनी रु २२,२२२/- छुट्याई रु ३३,३३३/-मा खाता खोलियो ।
२०६२ सालमा जोरपाटीमा राख्नको लागि भैरव अर्यालको सालिक निर्माण गरेतापनि भिजिलान्तेहरूले सो ठाउँमा भैरवको सालिक राख्न नदिने सो ठाउाँमा पाटी निर्माण गर्ने भनी अर्यालका लागि छुट्याइएको जग्गामा सालिक राख्न दिएनन् भने कान्तिपुरमा छापिएको समाचारले मेरो मनमा चस्का दियो । अनि मैले रमेश विकल दाजुको घरमा पुगी- “त्यसो भए त्यो प्रतिमा हामीलाई दिनोस्, हामी हेटौँडामा राख्छौँ” भनेँ । उहाँले “अब यो राजनीतिक विषयजस्तो भयो, फेरि सधैँ राजाले पनि त शासन गर्न पाउँदैनन् । यो सालिक पछि हामी त्यही स्थानमा राख्छौँ । हेटौँडामा तपाईले राख्ने भए भैरव गुठीले सक्दो सहयोग गर्छ” भन्नुभयो । आखिर जोरपाटीमा प्रतिमा ठडियो अनावरणको दिन त्यहाँ पुग्ने मौका मैले पनि पाएको थिएँ ।
हामीले हेटौँडाबाट प्रकाशित गर्ने अक्षर साहित्यिक चौमासिक पत्रिकाको १४ औँ अङ्कलाई भैरव विशेष अङ्कको रूपमा प्रकाशन गर्यौँ । यहाँ मैले भैरव अर्यालको लेखरचनाको समीक्षा गर्न लागेको हैन । छोटकरीमा भैरवको चिनारी गराउने प्रयत्न मात्र गरेको छु ।
भैरवको जन्म वि.सं. १९९३ असोज ५ गते ललितपुरको कुपन्डोलमा र निधन २०३३ असोज १९ गते जोरपाटी बाग्मतीमा हामफाली भएको हो । उनी जम्मा ४० वर्ष १४ दिन मात्र यो पृथ्वीमा बास बसेछन् । उनको माताको नाम खेमकुमारी, पिताको नाम होमनाथ अर्याल हो । भैरवका ६ सन्तान छन् ।
भैरव अर्यालको प्रमुख विधा हास्यव्यङ्ग्य भए तापनि उनले अन्य विधामा पनि आफ्नो कलम चलाएका छन् । उनले केके यो (गीतकाव्य-२०१६), उपवन (कवितासङ्ग्रह-२०१८), राष्ट्रिय आह्वान, (काव्य-२०१८), विरही राम (काव्य २०२०) नेपाली काव्य प्रकृति (समालोचना २०३०) प्रवेशिका निबन्ध सङ्ग्रह (२०२७) साथै रचना, गोरखापत्र, मधुपर्क, साझा कथा, (कथासङ्ग्रह २०२५) साझा निबन्ध, छ्याकन, हालखबर, रत्नश्री आदिको सम्पादन कार्यसमेत गरेको पाइन्छ ।
भैरव अर्यालको हास्यव्यङ्ग्य सङ्ग्रहहरू काउकुती (२०१९), जयभुँडी (०२२), गलबन्दी (०२६), इतिश्री (०२८), दसऔतार (०३३), र टेढो ऐना (२०६३) विष्णु प्रभातद्वारा सम्पादित हुन् ।
२००९ सालमा नयाँ जीवन भन्ने कविताबाट लेखनयात्रा सुरु गरेका भैरव २०२२ सालमा नेराप्रप्रले आयोजना गरेको पहिलो कविता महोत्सवमा प्रथम भएका थिए ।
उतिवेलाका केही कुरा
हेटौँडामा भैरवको प्रतिमा स्थापना गर्ने संयोजकको जिम्मा साथीहरूले मलाई दिए । प्रतिमा निर्माण पहिलो समस्या त रकम नै हो । त्यो कसरी जुटाउने ३३,३३३/- मात्र खातामा छ । मेरो पहिलो काम प्रतिमा निर्माण गर्नुपर्ने भयो । मैले राजधानीका केही मित्रहरूलाई भेटेँ अनि जोरपाटीमा स्थापना गरिएको भैरवको प्रतिमाको मूल्य भैरव गुठीका सचिव वसन्त रिजाललाई सोधैँ – “साठीसत्तरी हजार भन्दैथे बल्लतल्ल पैँतीस हजारमा टुङ्ग्याइयो ।” यो सुनेर म झस्केँ । कुरैकुरामा एकदिन साहित्यकार अनिल पौडेलजीसँग कुरा भयो । उहाँले “नवीन सुवेदी नाम गरेको मोरङका एक जना भाइ छन्, उनले एकदम सस्तोमा प्रतिमा बनाउँछन्” भन्नुभयो । केही दिनपछि कथाकार घनश्याम शर्माले भाइलाई साँझपख मकहाँ ल्याउनुभयो । कलिलै उमेरको केटो देख्दा के गर्ला जस्तो लाग्थ्यो । तर पछि मैले पठाएको फोटोअनुसारको सालिक बनाएर ल्याए । मैले कति दिउँ त भाइ भन्दा उनले -सरले जति दिन मन लाग्छ दिनुभए हुन्छ । मैले अहिले दामभन्दा पनि नाम कमाउनु छ’ भने । मैले एकैचोटीमा २० हजार दिन्छु भनेँ । उनले -‘हुन्छ’ भने । अब सालिक राख्ने कहाँ ? पैसा उठाउने कसरी ? यही पिरलोमा परेँ म ।
चन्दा उठाउने धन्दामा टेलिफोन वार्ता गरेँ । काठमाडौँका रोचक घिमिरे, लक्ष्मण गाम्नागे र वसन्त रिजालले चन्दा सङ्कलनमा ठूलो सहयोग पुर्याउनुभयो । हेटौँडामा त म आफैँ कसैकसैको घरमा ५/६ पटकसम्म पुगेँ । यसो गर्दागर्दा करिब १ लाख रकम उठ्यो । अब हेटौँडामा निर्माणस्थलको समस्या आयो । मेरो घर भएको स्थान भनाँै वा साहित्य सङ्गम र सिस्नुपानीको संयुक्त भवन रहेको पथको नाम नै भैरवरोड भएकोले भुटनदेवी उच्च माविको त्यही पथमा रहेको २/३ विगाह खाली जग्गामध्येबाट भैरवको सालिक अट्ने स्थान माग गर्न पुगेँ । मैले दोस्रो पटक अनुरोध गर्दा ‘प्रतिमा राख्न जग्गा दिन्नँ, जग्गाको मिसयुज हुन्छ’ भनेँ । यो ‘ मिसयुज’ शब्दले मलाई अहिलेसम्म पनि पोलिरहेको छ । त्यसपछि त्यही रोडमा रहेको भैरव मन्दिरको गुठीको जग्गामा ठाउँ माग्दा हुँदैन यहाँ हाम्रो हजुरबाको सालिक राख्छाँै’ भने । तर अहिलेसम्म राखेका छैनन् र राख्दा पनि राख्दैनन् । अपेक्षा गरेका स्थानहरू प्राप्त नभएपछि पुष्पलाल स्मृतिमा राख्ने सोच आयो । त्यसको लागि नगरपालिकासँग स्वीकृत लिनुपर्ने भयो । त्यति वेला नगरपालिका सर्वदलीय पार्टीद्वारा सञ्चालन भएकोले नेताहरूलाई अनुरोध गर्न बोर्ड बैठकमा एक मिनेट समय पाऊँ भनी मैले मेरो कुरी यसरी राखेँ – “भैरव अर्याल भनेका प्रगतिशील साहित्यकार अथवा पत्रकार हुन् । उनको हास्यव्यङ्ग्यको हाराहारीमा अहिलेसम्म कोही पुग्न सकेका छैनन् । त्यसैले उनको सालिक राख्नको लागि स्वीकृति दिनुहुन्छ भन्ने आशा गरेको छु” भनेर निस्केँ । पछि स्वीकृत पत्र प्राप्त भयो र काम सुरु गर्न थालेँ ।
मैले एकल घरदैलो कार्यक्रम सुरु गरेँ । सायद केही चन्दा माग्ने धन्दालाई गन्दा (दुरुपयोग) गरिदिएको कारणले होला म ठाउँठाउँमा फन्दामा परेँ । कयौँ घरबाट खाली हात फर्कन परे पनि म झर्किनँ । बरु आफैँले आफैँलाई लोप्पा खुवाएँ । अब सम्भाव्य व्यक्तिहरूसँग भएको संवादहरू :
व्यक्ति नं. १- ‘प्रस्ट भन्नोस् न किन लजाउनुहुन्छ । हाम्रो जातै माग्ने – यो एक समाजसेवीको भनाइ हो । उहाँले इङ्गित गर्न खोज्नुभएको चाहिँ हाम्रो देशै माग्ने भएपछि तपाईं हामी पनि … …. ।
व्यक्ति नं. २ – ‘हेर्नोस् न मेरो हालत देखिहाल्नु भो, घरको चौथो तला थप्दै छु । त्यो पनि बैङ्कबाट ऋण लिएर । तपाईं नै भन्नोस् न ऋण लिएर कसैले चन्दा दिन्छ ?
व्यक्ति नं. ३- ‘अहिले उद्योग राम्रो फाइदामा छैन, म चन्दा दिन सक्दिनँ ।’ यी दाताले आफ्नो एकदिनको दारुपानीको खाता बन्द गरेको भए सजिलै सक्थे ।
व्यक्ति नं. ४- ‘आफूले पूर्वका जिउँदा बाढीपिडित (०६५ भाद्र २ गते कोसीको बाँध भत्किएपछि हजारौँ सुकुम्बासी भएका) लाई सहयोग गर्न सकेको छैन, तपाईं प्रतिमा निर्माणको कुरा गर्नुहुन्छ । त्यो पनि मरेका मान्छेको लागि चन्दा । को हो र त्यो भैरव ?’
व्यक्ति नं. ५- ‘ओहो ! रिजालजी तपाइँ आफैँ आउनुभएछ, अहिले मसँग पैसा छैन । म दुईचार दिनमा पुस्तकालयमा आएर दिन्छु, तपाईंले फोन पनि गर्नु पर्दैन ।’ आखिर ती दाताले शिलालेखमा खाता खोलेनन् ।
व्यक्ति नं. ६- ‘तपाईं माग्ने हो कि हैन ?’ मैले हो भन्नै पर्यो ।’ अनि चन्दा तपाईले तोक्ने कि मैले ?’ त्यो त तपाईंले नै हो । मैले शिलालेखमा नाम लेखाउन न्यूनतम एक हजार एक सय एघार मात्र भनेको हुँ । उनले झर्कदै खल्तीमा हात हालेर पाँच सय एक निकालेर -ल तपाइँ यो लिने कि नलिने ? मलाई शिलालेखमा नामसाम चाहिएको छैन । मान्छेले आफ्नो क्षमताले भ्याउने काम मात्र गर्नुपर्छ । म एक्लैले आमाबाबुको नाममा दुईतीन लाखको मन्दिर बनाइदिएको छु ।’ उसले भैरव मेरो आफन्त सम्झेछन्, मलाई ठीकै लाग्यो ।
व्यक्तिः नं.७- ‘साह्रै राम्रो काम, पुस्तकालय परिसरमा साहित्यकारको प्रतिमा स्रष्टाको कदर र सम्मान यसरी नै गर्नुपर्छ । ल मेरो तर्फबाट २ हजार २ सय २२ लिनोस्’ भन्दै पुस्तकालय नै आइपुगे ।
त्यति मात्र होइन उतिबेला किटेर चन्दा दिन्छु भन्नेहरू मलाई टाढैबाट देखे भने पैदल हिँडेकाहरू भए गल्लीतिर छिर्ने, छिर्न नभ्याउनेहरू वायुले मुन्टो बटारेझैँ मतिर हेर्दै नहेरी हिँड्थे, मोटरसाइकल चढेकाहरू फनक्कै मोडेर अर्को बाटो लाग्थे ।
साँच्चै भन्नुपर्दा यो समाजमा विभिन्न सोच भएका मान्छेहरू हुन्छन् । तपाईं जो राम्रो धन्दामा लाग्नुभएको छ भने मैले भन्नै पर्दैन- बुद्धि कुप्रो भएको मान्छेका नाममा हाडमासुको थुप्रो यहाँ प्रशस्तै भेटिन्छन् । तैपनि जजसले जे भने पनि जे गरे पनि आखिरीमा भैरवको प्रतिमा पुस्तकालय परिसरमा निर्माण गरिछाड्याैँ । प्रतिमा स्थापना गरेर मात्र हुँदैन । यसको लागि हरेक वर्ष कार्यक्रम सञ्चालन गर्न, पुरस्कार वितरण गर्न रकम आवश्यक पर्ने त्यतिवेला खर्च भई बाँकी रहेको रकम अनि साहित्य सङ्गम सिस्नुपानी मकवानपुर भैरव अर्यालकै नातागोताले प्रदान गरेको रु.८०,०००/-समेत समावेश गरी रु.२,५०,०००/- को अक्षय कोष स्थापना गरियो । हेटौँडाले हरेक वर्ष रु.२१,१११/- नगदसहित भैरव स्मृति सम्मान प्रदान गर्दै आएका छौँ । हेटौँडा हुने कार्यक्रममा भैरवका दुई पुत्र (दीपक र प्रकाश) ले हरेक वर्ष कार्यक्रम खर्च बेहोर्दै आउनुभएको छ । उहाँहरूलाई मुरीमुरी धन्यवाद भन्दै लेखेको बिट मार्छु ।
मो. ९८४५०२५६१०
(आलेख, पूर्णाङ्क ३७/३८ बाट)
Subscribe
Login
0 Comments
Oldest






































