साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बङ्कर कविसम्मेलन

अब हामी पनि तपाईंकै शैलीमा एउटा कविसम्मेलन गर्छौं र सकेसम्म कविकारहरूलाई पुरस्कार छछौँ । बरु त्यसका लागि निर्लायकमा बसिदिनु पर्छ तपाईंले ।

Nepal Telecom ad

हेर्दाहेर्दै गैरी गाउँनिर गहतेको गुइँठेले र डबली डाँडा गाउँका डडुवाले समेत कविगोष्ठीबाट पुरस्कार पाएको देखेपछि मलाई खपिसक्नु भएन । साथै उसले एउटो नयाँ पुस्तकसमेत साथैमा विमोचन्याएपछि ता मेरो ब्रह्मरन्ध्र नै कामेर आयो । अनि त्यसैत्यसै मेरो पारो तातेर आयो । मुलेहरू केही लेख्न जान्नुतान्नु छैन यसै कविसम्मेलनमा पहिलो दोस्रो भएर पुरस्कारै लफन्ड्याउने ! अनि पुस्तक पनि विमोचन गर्ने ! कसले कसरी र कुन मौकामा यी बड्कौँंलेहरूलाई पुरस्कार बाँडेछ हँ ? मलाई ता यो कुरा पत्ता लगाउने पोे पर्‍यो खड्गो ।

खोज्न थालेपछि के पत्ता लाग्दैनथ्यो । बङ्कर पुस्तकालयले आयोजना गरेको कविसम्मेलनमा यिनले पाएका रहेछन् पुरस्कार । गाउँमा खोजी गर्दै जाँदा गाँठी कुरा फेला पारेँ । गाँठो पनि फुकालिहालियो नि । ७२ सालको भूकम्पबाट जनतामा बडो त्रास भइरहेको बेलामा बाँकटे टोलमा रहेको बङ्कर पुस्तकालयले आयोजना गरेको कविसम्मेलनको अपार सफलता पाएको कुरा सबैले स्वीकार गरेको बुझियो । यो पुस्तकालय अस्तिको द्वन्द्व कालमा गाउँबाट फकाएर फुल्याएर ल्याएका, देशलाई टुक्राटाक्रीहरू पारेर हातमा हालिदिउँला भनेर रनभुल्ल पार्दै सबै जनतालाई बेग्लाबेग्लै देश दिउँला भनेका, लोभ्याएका वा अपहरण र धम्कीका भरमा ल्याइएका किशोर किशोरीहरूलाई कसरी बम पड््काउने, कसरी एसएलआरहरू चलाउने, कसरी पुलिस थाना डढाउने, कसरी सरकारी कार्यालयहरू फोड्ने र कसरी बैँकहरू लुट्ने भन्ने कुराको तालिम दिनका लागि खोलिएको एक भूमिगत भर्नागृह थियो । अहिले यसलाई बङ्कर पुस्तकालयमा रुपान्तरण गरिएको छ । अहिले बैँक लुटको कार्य कम भएकोले खर्चबर्चमा अलिक कमी भएकोले खर्च जुटाउने नयाँ बाटो फेर्न थालिएको रहेछ । यो कार्यक्रम गरेर निकै नाफा भएको कुरा पनि सुन्न पाइएकोले ता झन् मेरो पनि सुर चढिसकेको थियो ।

बङ्कर पुस्तकालयले कसरी गरेछ कविगोष्ठी, अनि के रहेछ यसको सफलताको रहस्य भन्ने जस्ता कुरा जान्नका लागि म यसै पुस्तकालयका अहिलेका अध्यक्षकोमा पनि गएँ । तर कविसम्मेलनदेखि पुरस्कार वितरणका सारा आइडिया आफ्नो सचिवसँग रहेको र आफू ता बङ्कर बनाउन जाने पनि औँठाछापे मात्र भएको कुरा सुनाए उनले । साथै यो कुरा बुझ्नका लागि सचिबसँगै गएर बुझ्नू भने । हाम्रो लागि पनि केही लाभ होला कि त भन्ने हुट्हुटी जागेको हुँुदा सचिबसँगै भेट्न भोलिपल्ट एकाबिहानै म सचिवकोमा पुगेँ । उनै थिए पुस्तक विमोचनका धर्ताकर्ता । हिजो पुस्तक विमोचन गर्ने यी अहिले भर्खर दिसा मोचनको उपक्रममा रहेछन् । हनुमाने पहिरनमा रहेछन् र भर्खर खैनी माडेर मुखमा कोचर्दै रहेछन् । बाँको खाँदा झैँ कोक्याएको मुख लगाएर मलाई उनले घरको बरन्डामा बस्न अराए । यो खैनीको बुजो मुखमा नघुसारी मलाई बाहिरै लाग्दैन, अब मैले खैनी खाएँ, म बाहिर बसेर आउँछु तपाईं यतै बाहिरतिर बस्तै गर है भनेर घरभित्र पसे । उहिले पो बाहिर बस्न घरबाहिर जानु पथ्र्यो, आज भोलि ता बाहिर बस्न घरभित्र जानुपर्छ । हुनता धन्ध (सबैले द्वन्द्व नलेख्ने हुँदा र यसको ठाउमा धन्ध चलाएको हुँदा म पनि अब धन्ध नै लेख्न थालेको है) कालमा ता जङ्गलै उनीहरूको बाहिर बस्ने र भित्र पस्ने थलो थियो । सारा जङ्गल नै बडो मलिलो भएको थियो अग्र्यानिक मलले । उनीहरूले बनलाई मलिलो पारेको हुनाले वनपैदावार पनि सप्रिएका थिए । अग्र्यानिक मल छरेका थिए । मल्ला मल्लाहरूले बङ्करभित्रै एसएलआरहरू जन्माएका थिए । यो घरभित्रको चर्पीमा जाने कामलाई पनि बाहिर जाने भन्ने बानी सायद त्यसै बेलादेखि लागेको थियो होला उनलाई । लागेको बानी कहाँ छुट्थ्यो । यो कुरा धेरैले बुझेकै होला भन्छु । सबकोहीले बाहिर बस्नु भनेको नबुझेको पनि हुन सक्छ । तर म भने यस्ता कुराको जानकार थिएँ बाहिर बस्नु भनेको के होला भनेर घोरिनै परेन । अरूअरू कुरा सोच्तै उनले भनेअनुसार उनलाई पर्खेर बाहिरै बसेँ उनी बाहिर बस्न गए घरभित्रतिर । घरभित्र नै बाहिर बसेर लगभग आधा घन्टाको घरभित्रको बाहिरबसाइ पछि उनी पुरानै परिधानमा मेरा छेउमा गनाउँदै आए ।

मैले नजानिदो गरी नाक थुनेँ । मेरा नजिकै बस्ता उनी अलिक बाहिर नै गनाएका थिए । म अर्कातिर फर्कें । उनलाई बाहिर बस्ने समय आधा घन्टाको रहेछ भन्ने मलाई बोध भयो । अनि सोधे- “के कति काम थियो कोनि ? मेरोमा किन आका थियौ तपाईं ?!”

मैले पनि आउनाको कारण स्पष्ट गर्दै भनेँ- “तपाईंहरूले यो पछिल्लो भूकम्पको त्रासबाट निकै जनतालाई कविताहरूको माध्यमबाट राम्रो सकारात्मक सन्देश प्रवाह गरेको थाहा पाइयो । साथै राम्रो गरी आर्जन पनि भएको गाइँगुइँ पनि छ । यसैले यसबारे केही बुझौँ कि भनेर अएको थिएँ । मेरो पनि एक क्लब छ । त्यसबाट पनि केही उपयोगी काम गर्न सकिन्छ कि भनेर सल्लाह लिन मन लागेको हुँदा यहाँसँग भेटौँ भनेर आएको हुँ । यधपि मसँग धन्धकालको अनुभव उति छैन । यहाँबाट अनुभवबाट खारिएको कुरा पनि केही सुनूँ भनेर पो आएको ।”

मेरो कुरा सुनेर उनको अनुहार नै फरक र फिका भयो । “तपाईं कुनै सुलसुले पत्रकार ता होइनौ ? मसँग पत्रकार ता गरिरहेका छौन ?” उनले मलाई दपेट्न थाले ।

“म वास्तवमा पत्रकार ता हैन तर आफ्नै सोखले कहिलेकाहीं यो खैरो पाटी, कालो पाटी भन्ने जस्ता वेव पत्रिकाको लागि सम्वादहरू पठाउँछु त्यति हो” भनेँ ।

“लु तेसो भा तपाईं मेरोबाट गइहाल तुरुन्तै, अहिल्यै गइहाल ।” उनले मतिर हेरेर मलाई कडो खालको आदेश दिए । अनि केही सोचेझैँ गरेर र एकछिन बिसाएर भने- “धन्ध कालमा केके गरेका थियौ, कति मान्छे कसरी मारेका थियौ भनेर सोध्न ता होला नि !” उनले यसरी ततर्केर मलाई टक्टक्याएपछि मैले उनलाई सारै बिन्तीभाउ गरेँ । यो सबै केही होइन नडराउनुहोस् । म धन्धकालका कुरा नगरुँला नि त भनेपछि अन्तमा मुख खोल्न राजी भए ।

“मैले तिमीलाई भन्नु ता नहुने हो तर लौ भन । तपाईं के सोध्छौ लौ सोध । भन्नु हुने जति मात्र म भनौला । माथिबाट फेरि बढी बोल्यो भनेर मेरो दानापानी नै हरन हुन सक्छ । सुनाउनु हुने कुरा मात्र म तिमीलाई सुनाउँछु ।”

“हस, हस, जति भनिदिन मिल्छ त्यति मात्र भने भैहाल्यो नि ।”

“लौ सोध त के सोध्छौ ?” उनले बाटो खोलिदिएपछि मैले पनि सोधेँ- “यो तपाईंंहरूले कविताको सम्मेलन गरेको थियो नि त्यसबाट भूकम्पले तर्सिएकाहरूलाई निकै राहत भएको कुरा सुन्नमा आयो । के हो यसको राज ? कसरी पुरस्कार बाँड्नुभो ? कताबाट बजेट पाउनु भो ? कविहरू बाँकटे टोलका मात्र थिए कि सबैलाई औसर दिनुभयो ? निणर्ायक कोको राख्नु भो ? पुरस्कार के कति थियो र क्राइटेरिया के के थियो । यो सबै भन्न मिल्ने भए भनिदिनू न । हामी पनि यो काम गर्न लागेका छौँ । धन्धकालका धङ्धङीहरू नामक कविसम्मेलन गर्न लागेका छौँ” मैले एकैचोटि सारा कुराहरू सोधेँ ।

“आ केके न सोध्ने हो भन्ने सोचेर म ता त्यसै भुतुक्क पो भएको रैछु । बित्यास पो पर्ला कि भनेर डराइरहेको । फेरि माथिका हाम्रा ठुला कम्रेटबाट पाटीको गोप्पे कुरा किन चुहाएको भनेर कार्बाहीमा परिएला भनेर पो । यस्तो मुले कुरा ता मजाले सुनाइदिइहाल्छु नि ।” यति भनेर उनले लामो सास फेरे । अनि भन्न थाले- “हो, हामीले कविहरूको राहतका लागि कविगोष्ठी गर्ने भनेर मन्त्रालयबाट एक लाख, एनजीओहरूबाट त्यति नै र यता केही साहू महाजनबाट खानपानको कुराहरू र बजेट जुटाएर कविकारहरूको सम्मेलन गरेका थियौँ । कविकारहरूको राम्रो उपस्थिति पनि थियो ।”

“ए अनि प्रतियोगितात्मक कविगोष्ठी नै गराउनु भएको नै होइन त ? कसरी गराउनु भएको थियो ? यसको बारेमा पनि केही भनिदिनुहोस् न ।” मैले फेरि सोधेँ ।

“प्रतियोगितात्मक नै हो नि अनि । तर अलिकति सतर्क हुनुपर्छ । यसो टोलका केही भुराभुरीलाई लिएर आउनु पर्छ । ठुलाबडाहरूलाई लिएर आउन अराउनु पर्छ अनि उनीहरूलाई चाहिँ अलि असल खालको खाजा खुवाइदिनुपर्छ मस्तसँग । खाजा भनेको बुझेऊ ता होला नि !”

“त्यही दुरुङ्ग पानी होइन ?”

“हो हो बुझ्दा रछौ । हो, त्यो खुवाएपछि उठ् भने उठ् बस् भने बस् । जे भन्यो त्यही हुन सक्छ ।”

यति कुरा भनेपछि उनले कविता प्रतियोगिताका लागि तयार पारेको विवरण अरूलाई नभन्ने सर्तमा मलाई सुटुक्क सुनाए । उनका आफन्त, सभापतिका आफन्त, अरू चिनाजानीका केही उलाहा केटाहरूलाई लिएर कविसम्मेलन चलाएछन् । उनकी श्रीमती सभापतिकी साली र उपसभापतिका ससुरालाई निर्णायकमा राखिएको रहेछ । ‘जटाधारीहरूको बङ्कर जात्रा’ भन्ने किताबको उनैले विमोचन पनि गरेछन् ।

“बडो बुद्धि पुर्‍याएर काम गर्नु भएछ” मैले भनेँ ।

“यति पनि नगरे के भुत्रो गर्नु त । अस्ति पो यसो बैङ्कसैङ्क फोर्न पठाइन्थ्यो । अब ता त्यो पनि सजिलो छैन । हरिताल गर्दा टायर सायर बाल्न पठाइन्थ्यो त्यो पनि अहिले बन्द छ । केही काम ता दिनै पर्‍यो यी चोरी खान पल्केकालाई खन्तीहरुलाई । अब के गर्नु ? पुस्तकालय खोलेर त्यहाँ पढेर बसून् भनेको ता अक्षर चिनेका हुन् त मरिजानु । अनि हाम्रो केटाहरूलाई केही न केही गरेर पेट ता भरिदिनै पर्छ । नत्र हाम्रो सारा पोल खोलेर हामी माथि नै आइलाग्न बेर लाउँदैनन् बजियाहरू ।”

“अनि अस्ति भर्ना गर्दा ता निकै पढे लेखेकाहरूलाई साथ लिएको भन्ने सुनिन्थ्यो ?!”

“हो हुनता… तर सबै प्रमाणपत्रहरू नक्कली रहेछन् । गारन्टीके साथ मिलेगा भनेर बेचिएका मार्कसिट ल्याएका रहेछन् अनि के गर्नु ? अक्षर चिनेका थोरै छन् । धन्ध कालमा ता कसरी कताबाट मान्छेको छाउरो पाइन्छ त्यो सबैलाई बटुरबाटुर पारेर लिएका थियौँ क्यारे । अब पो पोल खुल्दैछ त ।”

मैले भने- “धेरै राम्रो कुराको जानकारी दिनुभो । अब हामी पनि तपाईंकै शैलीमा एउटा कविसम्मेलन गर्छौं र सकेसम्म कविकारहरूलाई पुरस्कार छछौँ । बरु त्यसका लागि निर्लायकमा बसिदिनु पर्छ तपाईंले ।” मैले आग्रह गरेँ अनि यति राम्रो कुरा बुझाइदिनुभएकोमा धन्यवाद भन्दै बिदा हुन चाहेँ ।

“हुन्छ, हुन्छ । मजाले निर्लय गरिदिउँला । बरु त्यो निर्लय गर्ने कामका लागि लाग्ने केही पेस्की आजै छाडिराखेर जाऊ है ।” म जानै लाग्दा उनले भने ।

“आफ्नो खल्ती रित्तै भएको कुरा मैले जनाएपछि उनले अन्तिममा भने- “खैनीसम्म ता खुवाएर जाऊ ।”

“हो बरु म यहाँलाई यसबाट सेवा गर्न भने सक्छु” भन्दै गोजीको कटुवा खैनी झिकेर दिएँ र जय होस् बङ्कर कविसम्मेलन भन्दै उनको घरबाट ठूलो शिक्षा लिएर बिदा भएँ ।

भद्रपुर, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
हास्यव्यङ्ग्यको परिचय (१)

हास्यव्यङ्ग्यको परिचय (१)

डा. भरतकुमार भट्टराई
बाजी

बाजी

नन्दलाल आचार्य
यमयात्रा

यमयात्रा

नरेन्द्रराज पौडेल
को शक्तिशाली ?

को शक्तिशाली ?

प्रमोद अमात्य
भ्यूटावर

भ्यूटावर

दिव्य गिरी
0
Would love your thoughts, please comment.x
()
x