कृष्ण प्रधानडगी
लुतो न कनाइ केही छैन तर कसैको ‘डगी’ चाहिँ नहुनुहोस् । किनभने एकपल्ट साङ्लोमा बाँधिएपछि यसबाट फुत्किनु गाहारो पर्छ ।

हामी सासाना छँदा हामी बसेका सिलिगुड़ीमा धेरजसो घरहरू काठका हुन्थे भने प्रायःजसो घरहरू बाँसको चोया वा पत्तीले बनिएका हुन्थे अनि प्रत्येक घरमा एक-एक वटा गाई अनिवार्य रूपले पालिएको हुन्थ्यो । भुस्याहा कुकुरहरू बाहेक कसैले घरमा कुकुर पालेको देखिँदैन थियो भन्दा पनि हुन्छ । तर जब सिलिगुड़ीमा फ्ल्याट कल्चर शुरू भयो त्यसपछि भने प्रायः धेरजसोले नै घरमा कुकुर पाल्न थालेको देखिन थालिन्छ भने गाई पाल्न छोडि़सकिएको छ । यो महानगरीमा कुकुरको महत्त्व दिन दुगुणा रात चौगुणा बढ़्न थालेपछि कुकुर बेच्नेहरू जताततै देखिन थालेका छन् । कुकुर बेचेरै जीविका चलाउनेहरू च्याउसरि देखिन थालेका छन् । कुकुरको व्यापार फस्टाउँदो व्यापारको रूपमा क्रमशः विकसित भइसकेको छ अचेल यो फ्ल्याट नगरीमा ।
हाम्रो पाठ्यपुस्तकमा त्यसताका कुकुरले मासुको पसलबाट मासु चोरेर भागेको ‘लोभी कुकुर’को कथा पढ़थ्यौं । धोबीको घरमा पालिएका चतुर कुकुर र लठुवा गधाको कथा पढ़्थ्यौं । मालिक राति भाते निद्रामा सुतिरहेको समय घरबाहिर सामान्य खात्राक्-खुत्रुक भयो कि आफ्नो गधा मित्रलाई ’मेरो बद्ली भुकिदिनू, म एकछिन निदाउँछु’ भनी आफू रातभरि गुड़ुलिएर सुतेको र गधा रातभरि कराउँदा धोबी मालिकको निंद्रा बिच्केर गधाले मालिकको ईङ्गलिश धुलाइ खानु परेको तर कुकुर चाहिँ चोखै जोगिएको कथा पढ़्यौं हामीले ।
अचेल अङ्ग्रेजी पढ़्ने देशानले भेटेका हाम्रा लालाबालाले ‘माई पेट डग’ विषयमा झ् ६/७ वाक्यमा एउटा रचना नै तयार पार्नुपर्छ । त्यसैकारण पनि अचेलका अभिभावकले घरमा कुकुर पाल्न थालेको देखिन्छ । हाम्रा पालाका कुकुरहरू सबै चोर र फटाहा लाग्थ्यो हामीलाई । तर अचेलका लालाबालाहरू कुकुरलाई च्वाँक्क-च्वाँक्क म्वाइँ खाएर कुकुरलाई माया गर्न थालेका छन् । त्यतिबेला हामी कुकुरलाई ’ठगी’ भन्थ्यौं अचेल हाम्रा लालाबालाहरू ‘डगी’ भन्छन् ।
पहिले कुकुर पालिए पनि घरको रखवारीको निम्ति मात्र पालिन्थ्यो । राति ढोका लाएर सबै सुतेपछि ती पालिएका कुकुरहरू घरबाहिर बसेर घरको रखवारी गर्थे । चोरहरू ढिम्किन ता के डिकुरी मूसोले समेत अलिकति पनि खास्राक-खुस्रुक गर्न पाइँदैन थियो । तर अचेल ता कुकुरलाई रखवारीको निम्ति घरभित्र होइन आफ्नै बाहुपाशमा राखेर निदाउने म्याडमहरू पनि धेरै देखिन थालिएको छ । कुनै कुनै म्याडम ता डगी बिना निँदाउनै सक्तैनन् । ‘ड्याडी’ (पति ?) महोदयलाई सोफामा सुत्ने हुकूम दिएर आफू चाहिँ उनको प्रिय ’डगी’ सितै सुत्ने ‘मम्मी’हरू पनि कति छन् कति ! ‘डगी’ पाएपछि ता यी ‘मम्मीज्’ले ड्याडीज् महोदयलाई हाकाहाकी डग्न थालेका देखिँदोछ । बिहान उठ्ने बित्तिक्कै ‘डगी’लाई ‘पपी’ नगरी ओछ्यान नछोड़्ने म्याम्स् पनि होलान् कतै कतै । ‘ड्याडी’ (पति ?)को ‘पपी’ चाहिँदैन हिजोआज तर ‘डगी’को ‘पपी’ नभई दिनभरि नै खल्लो के के नपुगेको जस्तो भइरहन्छ अचेलका ‘मम्मी’लाई ।
बजारमा बेचिने कुकुरको दाम सुन्यो भने जिब्रो फुत्तै बाहिर निस्केर दुई दाँतमाझ स्वतः चेप्टिन्छ । एउटा कुकुर (छाउरा-छाउरी)को दाम कम्तिभन्दा कम्ति पनि दुइ हजारदेखि तीस-पैंतीस हजारसम्मको हुन्छ । जति नै महङ्गो भए पनि किन्नेहरूले किनिरहेका छन् । दोकानमा हुञ्जेल ’कुकुर’ अनि त्यो ‘कुकुर’ कसैको घरमा पुग्यो कि ‘डगी’ । दोकानमा खोरमा कुच्रिएर बसेको कुकुर बिक्री भएर कसैको घरमा पुगेपछि त्यो ‘डगी’ हुन्छ अनि ‘डगी’ भएकै भोलिपल्टदेखि त्यसको रगरगी बढ़्न थाल्छ । त्यसपछि त्यो पात्तिएर अनि मात्तिएर नाना दाउपेंच गरी भोट जित्ने नेताजस्तै त्यसको चुरीफुरी बढि़हाल्छ ।
हाम्रो यतातिर कुकुर पाल्ने एउटा फेशन नै भएको छ भने, अमेरिकातिर घघरमा कुकुर पाल्ने एउटा परम्परा भएको छ । कहिल्यै भेट नहुने चिनाजाना कसैसित भेट भयो भने ‘तपाईंको स्वास्थ्य कस्तो छ ?’ वा ‘घरपरिवार कस्ता छन् ?’ नभनेर ‘तर्पाइँको डगी (कुकुरको नाम काढ़ेर) कस्तो छ भनी पहिल्यै घरमा पालिएको कुकुरबारे जानकारी लिइने दस्तूर छ अमेरिकामा । उनीहरू कुकुर पाल्छन् आफ्नो शोख पूरा गर्न । तपाईँ हामी कुकुर पाल्छौं छिमेकीको देखासिकीले । छिमेकीले दामी कुकुर ल्याएको छ भने म पनि के कम र ? त्यसको भन्दा पनि दोबर-तेबर राम्रो कुकुर किन नल्याउनु भन्ने डाहले कोपरेपछि डाह मेट्नलाई पनि कुकुर पाल्छौं हामी । किनभने हामी आह्रिस रोगले ग्रसित छौं । तर घरमा कुकुर ल्याएपछि त्यसको उचित देखेरेख कतिको पो गर्छौं र ?
घरमा काम गर्ने केटीको मान, सम्मान अनि इज्जत त्यति हुँदैन तर घरमा पालिएको ‘डगी’को इज्जत, मान, सम्मान काम गर्ने केटीभन्दा चौगुणा धेर हुन्छ । काम गर्ने केटीको हातबाट अचानक एउटा गिलास फुट्यो भने घरपतिनी आमैले रड़ाँको मच्याउँछिन् । तर ‘डगी’ले गतिलै काम बिगार्यो भने पनि त्यसलाई उनै ‘मम्मीज्’ले च्याप्पै बोकेर छातीमै टँसाइँ ‘डगीले बदमाश गऱ्यो…पाय्या…पाय्या…’ भनेर डिप फ्रिजमा राख्दा-राख्दा कक्रक्क परिसकेको भेण्डीजस्तो हातले ’डगी’लाई प्याट्टै-प्याट्टै कुट्दै च्वाँक्क-च्वाँक्क म्वाइँ खान्छिन् । यसकारण काम गर्ने केटीले अञ्जानमै काम बिगार्दा घरमा ‘कमिलालाई मूतको पहिरो’ भनेजस्तो हुन्छ तर ‘डगी’ले काम बिगार्दा त्यसलाई ‘सात खून माफ । कुरा सकिगो । यसमा हेनतेन बाह्र-बत्तीसको कुरा बखान्नो कुरै आउँदैन । यसैकारण ता यो ‘डगी’ र ‘नेता’ माझ म कुनै भिन्नता र फरक पाउँदिनँ । घरमा पालिएको ‘डगी’ले जस्तै काम बिगारे पनि सात खून माफ भएझैँ नेताले जस्तै काम बिगारे पनि उनलाई सात ता के चौध खून माफ । घरमा कुनै अपरिचित मान्छे आए ‘डगी’ले सातो खाने गरी भुकेर घरप्रतिको वफादारी देखाउँछ तर त्यसले टोक्नु चाहिँ टोक्दैन । भनिएकै पनि ता छ ’भुक्ने कुकुरले टोक्दैन ।’ नेताहरू पनि भुक्न (बोल्ने/आश्वासन दिने?) मा ता ’डगी’भन्दा एक रत्ति कम्ति हुँदैन । तर उनले भुके जत्ति कति काम गऱ्यो वा गरेन सो ता उनै नेताप्रिय, नेताभक्त एवम् भुक्तभोगी जनता-जनार्दनहरूले जाने-बुझेकै कुरा हो । यसकारण, भुक्ने (बोल्ने/आश्वासन दिने?) नेताले पनि खै कहाँ कुन चाहिँ गोवर्धन पर्वत उचाल्न सकेको छ र यतिञ्जेल ।
आफ्नो ‘डगी’लाई साङ्लोमा बाँधेर ‘मर्निङ वक्’ मा जाने मस्त ढोक्सी तरूणी आइमाईहरूले आफूलाई गौरवान्वित ठान्छन् भने आफ्नी तरूणी ढोक्सी मालिकनीको पछि-पछि वा सँगसँगै साङ्लोमा बाँधिएर हिँड़्दा आफूलाई झन् दोबर-तेबर गौरवान्वित अनुभव गर्छन् ‘डगी’हरू । बाटामा गुड़ुलिएर सुतिरहेका भुस्याहाहरूले ती ‘डगी’हरूको वास्तै नगरे पनि ‘डगी’हरू भने आफूलाई कता हो कता भाग्यमानी ठान्दा हुन् । तर ‘मर्निङ् वक्’मा यी ‘डगी’हरूलाई तिनका ढोक्सी मालिकनीले साङ्लोमा बाँधेर हिँडि़रहेकी बेला हाम्रा सोझा-सिधा नेतालाई कुनै चलाक-चतुर ढिट ढोक्सी नेत्रीले घिच्रामा साङ्लोले बाँधेर जबरजस्ती घिसारेर ‘डगी’ बनाएकी झल्झल्ती देख्छु म अनि ती बबुरो नेतालाई सम्झिन्छु…को’नि किन माया लागेर आउँछ; टीठ लाग्छ । सोंच्छु कति दिनसम्म यसरी साङ्लोमा बाँधिएर हाम्रा यी नेता महोदय ‘डगी’जस्तै घस्रिरहने ? कुरा ता ठूल्ठूला गरेर संसारै पर्लक्कै पार्ने यी नेताले नाथे एउटा साङ्लो धरी चुँड़ाउन किन नसकेका भन्ने प्रश्नले मलाई रातदिन कोपरिरहन्छ । एउटा ज्यूँदो रोयल बेङ्गल टाइगर क्वाप्ल्वाक्कै निल्न सक्ने, हुङ्कार गर्ने नेताले साङ्लो चुँड़ाएर त्यै साङ्लोले ती ढोक्सीलाई नै उल्टो बाँधी किन घसार्न सक्दैन भन्ने कुराले मलाई रातदिन गिजोलिरहन्छ । तर वाध्यता र विवशता भन्ने कुरो पनि छ नि फेरि । त्यसैमा सन्तोक मानेर चूपो लागि बस्नु बाहेक अरू केही उपाय देख्दिनँ म ।
यसकारण म ता भन्छु बरू ‘ठगी’ हुनुहोस् कि ‘मङ्की’ हुनुहोस् वा ‘डङ्की’ नै सही । लुतो कनाइ केही छैन तर कसैको ‘डगी’ चाहिँ नहुनुहोस् । किनभने एकपल्ट साङ्लोमा बाँधिएपछि यसबाट फुत्किनु गाहारो पर्छ ।
सिलिगुढी, भारत
Subscribe
Login
0 Comments
Oldest







































