माधव पोखरेल गोज्याङ्ग्रेअथः नेता देवायै नमः
थरी थरीका यी कोटहरूले नेतालाई चिनेको छ तर नेताले कोटलाई नचिन्दा भने उसले आफ्नो सोच अनुसारको मौसमी रङ् बदल्न कुनै आइतबार नै कुर्नु पर्दैन ।

हामीले अव मन्दिर गएर सत्य, त्रेता, द्वापरका नाम चलेका नेताहरूको पूजा गर्नु बेकार भएको छ । किनभने मूर्तिका रुपमा रहेका ती देवताले न हामीलाई खान दिन्छन न लाउन न बस्न नै दिन्छन् । खान लाउन र बस्न नदिने भएपछि हामीले किन ती देवताहरूलाई पूजा गर्नु पर्यो त । हामीले पूजा गरे पछि त हामीले मागेको आशिर्वाद दिनु पर्ने हो नि त; तर हामीले पूजाका लागि गरेको खर्च त्यसै बेकार भैरहेको छ । रातभरी रुङ्ग्यो बुढी ज्यँुदै भनेझै धन खर्च गरेर पूजा गर्यो हात लागि शून्य भए पछि ती प्राचिन कालिन देवता भनाउँदा तत्कालिन अवस्थाका नेताहरूलाई यता न उताका बनाउन पूजै गर्न छाड्नु उचित हुने सपना देखेको छु मैले त ।
साँच्चै भन्ने हो भने आधुनिक देवताका रुपमा त आजका तोरी लाहुरे भए पनि दलका नेता नै पो चर्चामा आएका छन् त । प्राचिनकालिन देवताभन्दा आजका नेताले मान्छे पनि चिनेका छन् । कमाएका पनि छन् मौका परे चौका हानेर छक्का छोडाउन पछि नपर्ने यी नेताहरूले आफूलाई जनताका देवताकै रुपमा घोषणा गरेका छन् भन्दा कुनै नौलो कुरा हुँदैन । यिनीहरूले गर्न हुने नहुने सबै गरेर प्राचिन कालिन देवतालाई समेत मात खुवाएका छन् । देवताहरूले गर्न नसकेका र गर्न नभ्याएका कामहरू गरेकै कारणले पनि आजका नेताहरूलाई उनीहरू आफैले देवताको रुपमा लिइएको हो भन्न सकिन्छ ।
तर कतिपय मान्छेहरू भने नेता भन्ने वित्तिकै झसङ्ग भएर तर्सने गरेको तितो सत्य हामी बिचमा अत्यन्तै नमिठो भएर खड्किने गरेको छ । जे होस् नेताका रुपमा रहेका हिजो ती देवताहरू आज भएको भए हामी तोरी लाहुरेहरूलाई नेताका रुपबाट देवताका रुपमा मान्नु पर्ने अवस्था आउने थिएन । अहिले पनि केही यसता मान्छेहरू छन् जो आजका नेताहरूलाई देवताभन्दा पनि बढी मान्ने गरेको पाइन्छ । नेताहरूले कसैलाई जागिर दिएका छन् त कसैलाई श्रीमती दिएका छन, कसैलाई लुटेर खा भनेका छन् त कसैलाई पिए बनाएका छन् । पिएले दिए खाने पनि छन् र नदिए पिएको बिहे देखाइदिने पनि छन् । नेताले चाहे लिएर होस् वा दिएर तोडेर मोडेर जसरी भए पनि आफ्नो मान्छेलाई बाहेक अरुलाई मान्छे नै नगन्ने भएकोले धेरैलाई गास बास र कपासको व्यवस्था गरिदिएका छन् ।
आधुनिक देवताका रुपमा रहेका नेताहरू साँच्चै भन्ने हो भने उहिलेका देवताका तुलनामा केही पनि होइनन् । अहिले र उहिलेको नेताका रुप रङ्ग त त्यसै पनि फरक छ भाषा पनि पहिलेको र अहिलेको धेरै फरक भएकोले नेताको नियतमा पनि फरक हुनु स्वभाविकै हो । किनभने नेताको दूरदृष्टि र देवताको कुदृष्टि उस्तै उस्तै भएकोले उल्टै काम गर्ने भए पनि आखिरीमा नेता अहिलेका मान्छे हुन् । वास्तविक कुरा गर्ने हो भने नेपालका नेताहरूको नियत भनेको कौरव र पाण्डवहरूको जस्तो छ । तर उनीहरूको जस्तो चातुर्यता आजका नेताहरूमा भएको भए हामीले आजको ढाँटछलमा चेप्टिएर बस्नु पर्ने थिएन ।
आजका देवता नेता भनाउदाहरू भोलि हाम्रा खनाती जनातीका पालामा गएर साक्षात देवताका नचिनिएलान् भन्न सकिन्न । किनभने शिव, कृष्ण, विष्णु, राम लगायतका देवताहरू पनि आजका प्रचण्ड, झलनाथ, रामचन्द्र, उपेन्द्र, गच्छदार जस्ता थिए भन्दा कुनै फरक पर्देन । हिजो विशेश्वर प्रसाद कोइरालालाई मान्नेहरूले आज नेपाली कांग्रेसले देवता मानेको छ भने हिजो पुष्पलाल, मनमोहनलाई मान्नेहरूले आज उनीहरूलाई नै कम्युनिष्टका देवताका रुपमा मानिरहेका छन । भोलि प्रचण्ड, बाबुरामलाई पनि देवता मान्न सक्छन् । तर एउटा कुराचाहिँ के सत्य हो भने भैसी हाम्रो समाजमा भूतको प्रतिक अर्थात तर्साउने प्राणिका रुपमा रहेकोले त्यस्तो तर्साउने जन्तु पूजा गर्नेलाई देवता मान्दैनो भनेर आवाज उठ्यो भने प्रचण्डको शरीरमा अर्को प्रचण्ड गर्मीले बास नपाउला भन्न सकिन्न ।
जे होस् आखिरीमा आजका कलियुगे देवताका रुपमा रहेका हाम्रा नेताहरूले नियत भने सोह्रै आना बिगारेका हुन् भन्दा कुनै फरक नपर्ने भएको छ । किनभने चार बर्षदेखि संविधान बनाउन नसक्नु, शान्ति प्रकृयालाई टुङ्गोमा पुर्याउन सहज रुपले लागि नपर्नु र राज्य पुन संरचना, शासकिय स्वरुप आदि विषयमा खिचलो हुनु जस्ता कारणलाई ध्यान दिने हो भने आजका नेताहरूले देवताको रुपमा पुजिन सक्ने अवस्था देखिदैन ।
कोट लाउनुस् वा नलाउनुस् आखिरी तपाईँ हामीमा खोट लागेको छ भने त्यसले चोट पारेरेै छाड्छ । तर नोट हुनेले जस्तोसुकै चोट र खोट लागे पनि कोट लाउन छाड्दैन । खोट लाग्ने कोट कति प्रकारको हुन्छ भन्ने कुराको भेउ पाउनेहरूले खोट लाग्ने कोटको संगतै गर्दैनन् । किनभने उनीहरूले कोटको प्रवृतिका वारेमा धेरै बुझेका पनि हुन सक्छन् । धेरै बुझ्नेहरूले कोटको परिभाषालाई बेरेर राख्न कुनै आइतबार पर्खदैेनन् तर नबुझ्नेहरूले भने कोटलाई मनपरी रुपले प्रयोग गर्दा कोटको अस्तित्व नै समाप्त पार्न पनि पछि पर्दैनन् । जे होस् कोट धेरै मान्छेलाई सुहाउछ र नलाए पनि उसले अप्रत्यक्ष रुपले प्रयोग गरिरहेको हुन्छ भन्ने कुराको जानकारी धेरैलाई हेक्का नहुन पनि सक्छ ।
भनिन्छ हाम्रो समाजका लागि तीन प्रकारका कोट अभिसापका रुपमा रहेको छ । ती तीन कोटको फन्दामा पर्ने जो कोहीले पनि केही न केही गुमाउन बाध्य हुनु पर्दछ भन्ने कुराको जानकारी सबैले पाएकै कुरा हो । ती तीन कोट मध्ये कालो कोटले हामी अन्यायमा परेका समयमा न्याय दिने भनिए पनि आर्थिक रुपले टाउकाको रौले समेत नभ्याउने गरी खर्च गराइ दिन्छन् । भनौ नेपालको न्याय प्रणालीमा कालो कोटको बर्चश्वले गर्दा निमुखाहरूको न्यायमा पहुँच हुँदैन । उनीहरू अर्थात कालो कोटका धनीहरू तर्कको खेती गरेर चखिलो कानुनलाई नुन विनाको तरकारी जस्तो खल्लो बनाइ दिन्छन् । जसका कारण खाए पनि नखाएझै हुन्छ र शरीरले स्फूर्ति पाउन सक्दैन ।
अर्को सेतो कोटका लागि बिरामी दुहुना गाई जस्तै हो । किनभने शरीरमा केही रोग नभए पनि सेतोकोट धारीले जाँच गरे पछि फलानो रोग लागेको भनेपछि उसले भनेका दिन तारेख धाएझै धाइरहनु पर्ने हुन्छ । कतिपयको त धाउने क्षमता नभए पनि ऋणै गरेर भए पनि धाउनु पर्ने हुन्छ । शरीरमा रोग केही हुँदैन तर सेतो कोटधारीले नुनतेलको जोहो गर्न निरोगीलाई महारोगी बनाएर हैरान पारेको हुन्छ ।
अर्को महिलाले लाउने पेटिकोटले त अझ भन्ने हो भने असल भनिएको मान्छेलाई पेटिकोटको भान्सेमा नै दर्याउँन पछि पर्दैन । पेटिकोट हुन त महिलाले लाउँछन्, तर खै किन हो त्यसले पुरुषलाई फेला पार्यो भने नाङ्गो झार बनाएर छाड्छ भन्ने उखान पनि चलेको छ । यो उखान हो वा बखान हो त्यो मलाई थाहा छैन तर कौडी नझुण्ड्याएको कानले भने यस्ता कुराहरू यदाकदा सुनिरहन्छ । अर्थात पेटिकोटले पुरुषको धोती न टोपी पार्छ भन्ने वास्तविकता भित्र रुमल्लिनेहरूले नै यो उखानलाई चरितार्थ बनाएको हुन सक्छ ।
इलाम गएर सिलाम खाँदा गुण्टा लिलाम भएको थाहा नपाउनेहरू मात्र होइन डोटी गएर रोटी खाँदाखाँदै धोती न टोपी भएर घर फर्कनु परेको तितो कथा पनि हामीले पटक पटक नै किम्बदन्तिका रुपमा सुनेका छौँ । यदि यी सबै कुरा सत्य हो भने त्यस्ता ठाउँमा गएर जागिर खानेहरूले कसरी जीवन निर्वाह गरेका होलान् भन्ने कुरा सबैको मनमा उव्जन सक्छ । जे होस् कोट थरी थरीका हुन्छन् र ती कोटहरूले भने अनुसार गर्नु पर्दछ भन्ने केही छैन । तर कतिपयले भने रहरले होइन कि बाध्यताले गर्दा कालो, सेतो र रातो कोटलाई प्रयोग गर्नु पर्ने हुन्छ ।
हामीले लाउने कोट कालो सेतो र रातो चाहिँ नहोस् त्यसैले पनि होला निजामती कर्मचारीहरूलाई स्वतन्त्रता र शान्तिको प्रतिकका रुपमा रहेको निलो कोटको व्यवस्था गरिएको पनि हुन सक्छ । तर अर्को कुरा के भने कालो, सेतो र रातो कोट लाउने कर्मचारी पनि पर्न सक्छन् उनीहरूले यदि त्यो हर्कत गरिहाले भने पनि सो कोटले लाइसेन्सको काम गर्ने भएकोले क्षमादान नपाउलान् भन्न सकिन्न ।
भनौ थरी थरीका यी कोटहरूले नेतालाई चिनेको छ तर नेताले कोटलाई नचिन्दा भने उसले आफ्नो सोच अनुसारको मौसमी रङ् बदल्न कुनै आइतबार नै कुर्नु पर्दैन । नेताको नियत नै कोटमा गएर अल्झिन पनि सक्छ । नेता कोट, नोट, र भोटका लागि चोट, खोट सबै सहेर निचोएिको कागती जस्तो पनि हुन्छन् । संक्षेपमा भन्नुपर्दा नेता खोटै खोट र चोटै चोटका बोट हुन् भने कालो सेतो र रातो कोट लाउने पनि सोही ड्याङ्का मुला हुन् भन्दा कुनै अत्युक्ति नभए पनि उनीहरूलाई यो उक्तिले कोट भित्रैबाट चोट चाहिँ भने लाग्न सक्छ ।
गाईघाट, उदयपुर
Subscribe
Login
0 Comments
Oldest






































