डा. विदुर चालिसेबेचैनी
निम्तालु मान्छेहरू जङ्गिन थाले । जङ्गिदाजङ्गिदै उनीहरू त्यसै बर्बराउन थाले । त्यसपछि अर्को बेचैन कथा सुरू भयो ।

चैत्र महिनामा फुल्न लागेका गुराँसका फूलहरू डाँडाभरि थिए । सल्लेपीर झर्न थालिसकेको थियो । हावाको लहैलहैमा केही तुवाँलोहरू च्यातिएका थिए । मनमा लागेको आगो र आक्रोश एकै पटक उछिट्टिएको थियो । घमण्डले सोध्यो ।
-“बेचैनी भनेको के हो ?”
-“चैन नहुनेलाई भन्छन् !”
-“चैन भन्नाले ?”
-“मनको सुख !”
जब बैराग चलेको बेलामा मानिस चैन खोज्न भौंतारिन्थ्यो तब उसको हातमा आलश्य र मनमा रिक्तता हुन्थ्यो । वातावरणमा खासै ध्यान हुँदैन थियो ।
-“गठबन्धन नभए स्वतन्त्रता धरापमा !”
पाकेको मन, विन्दास हेराइ र खिस्रिक्क मुहार बीच बेचैनीको एउटा अर्को मन्त्र थियो ।
-“तालमेल !”
समय रन्केको थियो । साथका चिन्ताहरू पल्केका थिए । एक दिन ओैडाहा चलेको बेलामा मान्छेहरूलाई बोलाएर शेरसिंहले भने ।
-“तालमेलको दम छैन !”
निम्तालु मान्छेहरू जङ्गिन थाले । जङ्गिदाजङ्गिदै उनीहरू त्यसै बर्बराउन थाले । त्यसपछि अर्को बेचैन कथा सुरू भयो ।
-“मूर्दाघरको कथा !”
जब मान्छेहरू बेचैन हुन्थे । उनीहरूको दिमागमा मूर्दाघरका लासहरू एक अर्कामा कुरा गरिरहेका हुन्थे ।
-“चैनको दिन बेचैन भो !
निकै कष्टतापूर्व झुण्डिएर प्राण त्याग गरेको छेउको अर्को लासले भन्यो ।
-“बुझ्यौ ? यही हो सत्ता पलट !”
सबै लासहरू दुखको दिन बिर्सेर एकछिन भए पनि हाँसिरहे । उनीहरूको हँसाइमा कुनै भोकको आकाङ्क्षा थिएन । केवल निःस्वार्थ भावले नारा लगाइरहे ।
-“बेचैनीको तातो आलु, खाओैँ कि ओकलौँ !”
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































