हेमराज अधिकारीअग्निप्रसादको नमस्ते
अग्निको फुरफुर् सानो थिएन । मलाई त पहिलै शंका थियो यो मान्छेसँग । ठिक छ सर !

गाउँको भब्य सामाजिक पुराणमा अग्निप्रसादलाई आउनेजाने इष्टमित्र हेरफेर गर्ने जिम्मेवारी दिएको थियो । त्यसै पनि आजकलको पुराण, विवाह, पूजा बितेको कोरोनाको आक्रान्त समयले होला भब्य हुन् थालेका छन् । आउनेजाने श्रद्धालुहरूको भीड रहेको थियो । पक्ष विपक्ष सबै आउँदैजादै थिए । एकजना भूतपूर्व नेता समेत उक्त पुराणमा आए । अग्निप्रसादले सबैलाई याद गर्दै पुरानो नेतालाई समेत अभिवादन जनाए।
“नमस्कार सर। अन्त, ठिकै हुनुहुन्छ ? सर त दुब्लाउनु भएछ ?“
“नमस्कार अग्नि ! यस्तै हो । म ठिकै छु । पहिला ब्यस्त भएर समय पाइन अहिले चारैतिर जाँदैछु । अनि छोरा कहाँ छ ? अरु के छ ?”
“ठिकै छ सर । तपाईंको कृपाको कारण गाउँमै छ । घरको भात खाएर हामीलाई पनि याद गर्न भ्याउँदै छ ।”
कार्यक्रममा रोचकता थियो । पुराण त्यसै पनि भजन कीर्तन रमाइलो थियो । पुराण त कसले सुनेर उनेको होला ? एउटा सामाजिक सम्बन्ध कायम गर्नलाई श्रद्धालुहरू आतुर हुन्छन् ।
पुरानो नेतालाई चिया चमेना गर्दै बिदा गरे । नयाँ नेताहरूको समेत बाक्लो उपस्थिति रह्यो । सबैलाई स्वागत गर्दै अग्निप्रसादले समाजले दिएको अभिभारा बखुबी निभाए ।
पुराण सकिएको भोलिपल्ट बेलुकी अग्निप्रसादको छोराको सरुवा ट्रान्सफर अडर आयो । ऊनी गाउँको स्कुलदेखि ओखरबोटे सरुवा भए । छोराको यसरी अचानक सरुवा भएको देखेर अग्निप्रसाद अत्यन्तै चिन्तित भए । जे भए पनि घरको भात खाएर गाउँमै काम गर्दै थियो । अग्निलाई कसैगर्दा चित्त बुझेन् । पुराण आयोजक टोलीका अध्यक्ष हरिशरण सरलाई भेट्नु पर्यो भन्दै ऊनी हरिशरणको घरमा हानिए ।
हरिशरण सर सानो बोल्न नजान्ने । फोनमा ठूलो ठूलो आवाज गरेर बोल्दै थिए । अग्निप्रसादले बाहिरबाट सबै सुने ।
“तेईत् हो सर ! यो अग्निले त्यो पुरानो बुढोलाई नमस्ते गर्दा समेत पुरै घुँडा खुम्च्याएर गर्यो अरे । नयाँलाई भन्दा बढी समय पुरानोलाई दियो अरे । खाना प्रसाद समेत थपीथपी ख्वाएर पठायो भन्छन् । अग्निको फुरफुर् सानो थिएन । मलाई त पहिलै शंका थियो यो मान्छेसँग । ठिक छ सर ! अब डोको बोकेर पुर्याउन जावोस् न ओखरबोटे ।”
अग्निप्रसादलाई जमिन भासिएझैं लाग्यो । भित्तो समाउँदै घर फर्के !
सिक्किम ।
१७ मई २०२२ ।
Subscribe
Login
0 Comments
Oldest







































