डा.कुसुमाकर शर्मा गाैतमको प्रख्यात ?
भगवानले कुटिल नेताको अनुहारमा हेर्दै भने, ‘तिमी निकृष्ट स्वार्थी छौ । असाध्यै ढाँट्छौ । छल गर्छौ । भ्रष्टाचारी छौ । अरूको भलाई भन्ने कुरो तिम्रो मस्तिष्क मै छैन ।

नेता र भगवानको एकदिन जम्काभेट भए छ । भगवानले नेतालाई चिनीहाले । तर नेताले पहिलो पटक भेटेको हुनाले भगवानलाई चिनेन ।
नेताको बुद्धि जहिले पनि स्वार्थले भरिएको हुन्छ । सोही अनुसार आफ्नै क्षेत्रको भए भोट पाइन्छ, टाढाको भए ठग्न पाइन्छ भन्ने सोचेर सोध्यो, ‘यहाँको घर कता पर्यो नि?’
भगवानले पनि नेतालाई झुक्याउन घुमाएर जवाफ दिए, ‘यहाँ भन्दा धेरै टाढा मान्छेले नभेट्टाउने ठाउँमा ।’
बाठो नेताले जाल हान्यो, ‘मैले पनि नभेट्ने ठाउँमा त भगवान् मात्रै बस्छन् ।’
जवाफ सुनेर भगवान् छक्क पर्दै बोले, ‘म भगवान नै हुँ ।’
‘अहो साक्षात् भगवान्को दर्शन पाइयो आज । सादर प्रणाम’ नेताले भगवान्को चाप्लुसी गर्न थाल्यो, ‘निराकार तपाईँ मूर्तिको आकार लिएर मूर्तिमा बस्न सक्नुहुन्छ । दुःख परेका मान्छे रुँदै कराउँदै तपाईँ सामु आउँछन् । एक शब्द पनि बोल्नुहुन्न । मीठा मीठा प्रसाद ल्याएर अगाडि राखी दिन्छन् । हात पनि लगाउनु हुन्न । यति हुँदा पनि तपाईँ कै भरोसा गर्छन् । तपाईँ कै पूजा गर्छन् । कति प्रख्यात है तपाईँ त !’
‘हो ! मैले मान्छेका काम सिधै नसुधारिदिए पनि उनका काम बिगारिदिन्न । त्यसैले उनीहरूको मप्रति विश्वास छ ।’ सहमति जनाउँदै भगवान्ले प्रतिप्रश्न गरे । ‘तर म तिमी जति कहाँ प्रख्यात छु र नेताजी !’ भगवानले कुटिल नेताको अनुहारमा हेर्दै भने, ‘तिमी निकृष्ट स्वार्थी छौ । असाध्यै ढाँट्छौ । छल गर्छौ । भ्रष्टाचारी छौ । अरूको भलाई भन्ने कुरो तिम्रो मस्तिष्क मै छैन । अरुलाई धोका दिन्छौ । अविश्वासी छौ । यी सबै कुरा हरेक मान्छेलाई थाहा छ । तै पनि उनीहरू तिम्रै पछाडि लाग्छन् । हेर त ! तिमी झन कति प्रख्यात छौ ।’
रुकुमकोट, रुकुम पूर्व
हाल क्यानाडा
Subscribe
Login
0 Comments
Oldest







































