वासुदेव गुरागाईंढाडे
रूबिनाले लाडे पल्टिएर हाँस्तै जबाफ लाइन् - ‘ढाडे अहिले त निदाईकन घुर्न थालिसक्यो नि । ढुक्कले गफिए हुन्छ, म अर्कै कोठामा छु ।’

झन्डै पौनेघण्टाजति टेलिफोन वार्ता भयो रूपक र रूबिनाबिच । कुरो टुङ्गिनुको सट्टा अझै उत्कर्षतिर बढिरहेको थियो ।
रूपकको साथमा छन् कविकान्त । ह्यान्डस् फ्रि गरेर भइरहेको कुराकानीको भरपुर आनन्द लिइरहेछन् । बोल्न नमिलेका बिचबिचमा मुसुमुसु हाँसिरहेका छन् । छिप्पिदो साँझमा मन्त्रमुग्ध भएर भइरहेको यो कुराकानी निकै शृङ्गारिक छ । रोचक छ । विभिन्न प्रसङ्ग निकालेर कुरा कोट्ट्याउन औधि सिपालु छन् रूपक । र, त्यत्तिकै लाडे पल्टिएर कुरा गर्न खप्पिस छिन् रूबिना पनि ।
कुनै औपचारिक शब्दबिनै एकाएक फोन काटियो । न ल राखेँ छ, न के ! रूपकसँग हातको इशारामै फोन काटिएको सुनिश्चित गरे कविकान्तले ।
‘कस्तो अचम्म ! टेलिफोनको प्राविधिक गडबडी हो कि ?’ कविकान्तले मुख फोरे ।
‘त्यसो हैन । तिनको लोग्ने आयो होला अनि फोन काटिन् । यिनी जहिले पनि यस्तैै गर्छिन्, अहिले मात्र हैन । यिनको आन्द्राभुँडी सप्पै थाहा छ मलाई । लोग्ने नआइपुगेको भए यिनी अझै दुई घण्टा गफ गर्थिन् यत्तिकै लाडिएर ।’ रूपकको अनुभव बोल्यो ।
इज्जतिलो कार्यालयमा प्रतिष्ठित जागिर छ रूबिनाको, र रूपक पत्रकार । दुनो सोझ्याउनेदेखि ख्याति कमाउनेसम्मको सबै काममा उत्तिकै खप्पिस । रूबिनासँग मात्र नभएर यस्ता थुपै्र पात्रसँग उनको यस्तै लीला चल्छ । त्यत्रा पात्रसँग उनी कसरी लपक्क टाँसिन सक्छन्, त्योचाहिँ सबैका लागि खोजको विषय ।
टिङ्टिङ्, टिङ्टिङ् । कविकान्तलाई चुप लाग्ने सङ्केत गर्दै फोन उठाए रूपकले र फटाफट जिज्ञासा राखे – ‘अघि किन फ्याट्टै फोन काटेकी ?’
‘थाहै नदिई ढाडे आयो नि त त्यतिखेर, त्यही भएर ।’ रूबिनाको प्रस्ट जबाफ थियो ।
‘अनि, अहिले ?’ रूपकले जिज्ञासा थपे ।
रूबिनाले लाडे पल्टिएर हाँस्तै जबाफ लाइन् – ‘ढाडे अहिले त निदाईकन घुर्न थालिसक्यो नि । ढुक्कले गफिए हुन्छ, म अर्कै कोठामा छु ।’
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest








































