जीवन ‘पीडित’ दाहालतातोपानी
बुहारीको साटोमा त्यो सबथोक गर्ने डल्लर पठाइ दिनु । कमसेकम हामी बुढाबुढीलाई राती तातोपानी तताएर त दिन्छ ।

काठमाण्डौबाट घर गएको मौका पारेर प्रायजसो म गाउँका सबैजसो घरमा एकसरो पुग्ने गर्छु । एउटा कारण सबै छिमेकीसँग भेट्ने उद्देश्यले र अर्को कारण “काठमाण्डौ गए पछि ठूलो भै गो नि, अब हामीलाई किन गन्थ्यो र !” -भन्ने अबगालबाट बँच्नका लागि ।
यसपटक पनि म डुल्दै भोगेन्द्रबहादुर बस्नेतका घरमा पुगें । बुढा पिढीमा बसेर बिहानको पारिलो घाम ताप्तै रहेछ्न् ।
मैले उनका अघि पुगेर नमस्कार जेठाबामात्र के भनेको थिएँ; उनले पुलुक्क म तिर हेरे र भने-“ए ! बाहुन नानी पो ! ल राम्रै भो, मेरो एउटा जरुरी काम गर्नु थ्यो, कल्लाइ भनुँ कल्लाइ भै रहेका बेलामा तिमी आएछौ ।”
“के थियो र ! त्यस्तो जेठा बा ?” -मैले जानकारी लिने हेतुले सोधें ।
“हैन, अचेल मुबाइलबाटै चिट्ठी पठाउँन मिल्छ रे त्यसैले हाम्रो नरेलाइ चिट्ठी लेखेर पठाइ दिन्थेउ कि भनेर नि नानी”-बुढाले याचना मिश्रित स्वरमा आफ्नो आशय बताए ।
अनि बुढा पत्रको मजुबन भट्याउन थाले र म टाइप गर्दै गएँ-
नानी छोरा नरेन्द्र बस्नेत के
शुभासिर्बाद ।
आराम रही आरामीको कामना गर्दछु ।
नानी छोरा तिम्री आमा बर्षौं देखि थला परेर ओछ्यान लागेकी छ भन्ने कुरा त तिमीलाई थाहै छ । तीनधुरे पोख्रेलको छोरो आएको थियो अम्रिकानबाट र बडो फुर्तिसाथ-“हाम्रो अम्रिकानमा त हरियो डल्लर चैं हुनुपर्छ; डल्लरले जे पनि गर्छ”-भन्थ्यो । यहाँ तिम्री ओछ्यान लागेकी आमाले रातभरि पानी खोज्छे र पानी पानी भन्दै रात कटाउँछे । चिसो पानी कसरी दिनु ? तातो पानी दिनलाई, गएको असारदेखि दुईजुवा घाम न भै म बुढोका पनि नौ नारी चल्न छोडेकाले म पनि दिन नसक्ने भएकोछु । के गर्नु बुढाबुढी भएपछि ज्यानले तातो पानी नै खोज्ने रहेछ र तिमीले पठाइ दिएका पैसाले पानी तताइ दिँदैन । त्यसैले अब चैं नबिर्सिकन छोरा बुहारीको साटोमा त्यो सबथोक गर्ने डल्लर पठाइ दिनु । कमसेकम हामी बुढाबुढीलाई राती तातोपानी तताएर त दिन्छ ।
अरु भेटमा । उही तिम्रो मायाँ गर्ने बुबा,
भोगेन्द्र बहादुर बस्नेत
बोया-माङसिङ्टार, भोजपुर
गौरादह-७, झापा ।
Subscribe
Login
0 Comments
Oldest







































