होलसेल
‘हुन पनि कस्तो बुद्धु म ! उनीहरू होलसेल (Holsale) भन्दारहेछन् म होलसेल (whole sale) बुझ्दोरहेछु ।’
आउनुस्, आउनुस् होलसेल ।
होलसेल, आउनुस् आउनुस् ।
नयाँ मर्दाना देखिनेबित्तिकै यसरी नै भट्ट्याइरहेछन् दुई युवती । मुख्य सहरबिचको ठूलो सडक । पैदलपेटीको दायाँबायाँ बसेर खितितित्त हाँँसेर कराइरहनुको रहस्य के होला ? भन्ने उत्सुकता जन्मन्छ प्रद्युम्नमा । उनीहरूका अघि भौतिक रूपमा देखिने कुनै मालवस्तु भए यसभित्र कुनै रहस्यको खोजी गर्नु पर्दैनथ्यो । तर, बिनामालवस्तु यसरी कराउनुको कारण के त ? अलमल्लमा पर्छन् उनी ।
पचास हाराहारीका प्रद्युम्नको चौथाई कपाल फुलेका छन् । जुँगाले पनि कपाललाई साथ दिएको छ । अलमल्लमा परेर कराउनेमध्येको एकातिर हेर्छन् । मुसुक्क मुस्काउँछिन् उनी । कराउनेमध्येको अर्कातिर हेर्छन् । उनी पनि उसै गरी मुसुक्क मुस्काउँछिन् । चौथो व्यक्ति त्यहाँ छैन । सरल सीधा स्वभावका प्रद्युम्न मज्जैले अलमलिन्छन् । काँधमा झुन्ड्याएको रित्तो झोला मिलाउँदै उनी दायाँबायाँ पालैपालो चियाउँछन् । तिनीहरू उनको हेराइमा अलिअलि लोभिएझैं गरी अझै मस्किन्छन् ।
केही अघि बढेपछि पछाडिबाट आउँदै गरेका एक युवाले प्रद्युम्नसँग अनुमति लिँदै सोधे – “के तिनीहरूले तपाईंका सामु पनि होलसेल भनेर कराए कि क्या हो ?”
केही अकमकिएर उनी भने – खितितित्स हाँसेर पटकपटक पालैपालो होलसेल भन्दै थिए । मैले कुरो बुझिन । नजाने गाउँको बाटो नसोध्नु भनेझैं मअघि बढेँ । सामान केही नभएका ठाउँमा केको होलसेल ! तिनीहरू कुनै ठगी पेसामा संलग्न व्यक्ति हुनुपर्छ भन्ने सोचेर म फटाफट अघि बढेँ । तिनीहरूसँग केही बोलिन ।
ती युवाले प्रद्युम्नलाई तिनीहरूको इतिवृत्त बताइदिए । त्यसरी कराउनुको रहस्य खोलिदिए । प्रद्युम्न मुसुमुसु हाँस्दै आफ्नाे बाटो अघि बढे । त्यति कुरा पनि बुझ्न नसकेकोमा बाटोभरि उनी पटकपटक एक्लै हाँसिरहे र आपूmलाई मूर्ख साबित गर्दै भने – ‘हुन पनि कस्तो बुद्धु म ! उनीहरू होलसेल (Holsale) भन्दारहेछन् म होलसेल (whole sale) बुझ्दोरहेछु ।’
काठमाडौं