केशव दुवाडीसत्ता जोगाउने जुक्ति
सत्ता टिक्छ भने सबै रोगीलाई डाक्टर बनाउन पनि पछि पर्दैनन्, कपुरी क नचिनेकालाई पिएचडी दिलाउन पनि पछि पर्दैनन्, देशी विदेशी दलालहरूलाई देशै खिलाउन पनि पछि पर्दैनन् ।

कसैलाई केको धन्दा नेतालाई कुर्चीकै धन्दा भन्ने उखान राजनीतिमा चलाउनु पर्छ अब ।
नेता रीसले मुर्मुरिए पनि हामीलाई बालै भएन किन कि जनता महँगीको मारले थिलथिलिएर जिउँदै मुर्दा बने पनि, घरबार चलाउने पिरले पिलन्धरे पिलपिलाउँदो भए पनि सत्ता सञ्चालकलाई बाल नहुने !
मतदाताको मतलाई मतलब नगर्ने, भोटमाग्दा भाषण भट्याउने अनि हामीले उनीहरूको कुरा किन पत्याउने ?
जनताको गास, बास, कपासको समस्यालाई बिस्मृतिको पर्दामा पोको पार्ने, गरीबका छोराछोरीलाई चुनाबी चौरको मौलोमा बाँधेर बलीको बोको बनाउने, आफ्ना आसेपासेले भ्रष्टाचार गरे पनि चोखो बनाउने सत्ता भन्दा शक्तिशाली अरु के हुन सक्छ ?
त्यसैले त सबै नेताहरूलाई सत्ता चाहिएको छ । चुनाब अघि रुझेको मुसा जस्तो हुने नेता जितेपछि ढाडे बिरालोले तातो भर्सेली खोजे जस्ते नेताले सत्ताको बागडोर खोज्ने गर्नुलाई कसरी अस्वाभाविक मान्ने ?
कमाउन भन्दा जोगाउन गाह्रो हुन्छ भन्थे जेठालालहरू साच्चै हो रहेछ भन्ने कुरा टुट, फुट, जुट, लुट, भाग मिल्दैन फेरि फुट, विरोधीलाई कुट्न र लुट्न सकुन्जेल लुट, आदेश, परमादेश, उत्प्रेषण, विश्लेषण, जे गरेर भए पनि सत्ता जोगाउनुपर्छ भन्ने कुरा नेतालाई मात्रै हैन भोटरलाई समेत कण्ठै भैसक्यो ।
हेरी ल्याउने हो भने कमाउनु त्यति सारो ठूलो कुरा हैन तर जोगाउन भने धेरै सकस हुन्छ । इज्जत, पद, प्रतिष्ठा र धन मात्र हैन “न चौर हार्यकक न च राज हार्यं” भनिएको विद्या त जोगाउन गाह्रो परिसक्यो !
त्यसैले हिजो आजका डिजिटल चतुरेहरू जोगाउने जुक्तिको खोजीमा दिनरात लागि परेका छन् । सत्ता जोगाउनेदेखि भत्ताको लागि भजन गाउनेसम्म जोगाउने जोगमेसो मिलाउन दौडधूपमा छन् ।
कमाउनलाई त यसो दुई चार औँला बङ्ग्याइदिए पुग्छ नि आजको गणतान्त्रिक गाउँमा । निन्द्रा छोटो भए पनि सपना लामो हुने, बुद्धिमानको भन्दा वीरडलको हाँको चल्ने, ताप्के चीसै भए पनि बीँड तातो हुनु पर्ने, जाँतोलाई भन्दा हातोलाई बढी खस खस गर्नु पर्ने आजको उत्तर आधुनिक युगमा कमाउनभन्दा बढी जोगाउन गाह्रो हुने कुरा बुझेर जोगाउने जुक्ति खोज्नु युक्तिसंगत ठहर्छ ।
संसारको सबै भन्दा ठूलो शक्ति जनता हो भनेर लोकतन्त्रका लगौँटियारहरूले लोलो पोतो गरे पनि यो बक्रोक्ति बोल्ने बाउँठे मान्ने वाला छैन ।
संसारको सबैभन्दा सुन्दर, रसिलो, भरिलो, गुनिलो, र शक्तिसम्पन्न कुरा भनेको सत्ता नै हो । सत्ता संझने बित्तिकै त्यागी भनिएका नेताको मुखबाट त सर्र पानी आउँछ । बाँदर रुखमा पुगेपछि आफूलाई शेर सम्झन्छ, बिरालो भर्सेलीमा पुगेपछि आफूलाई बाघ ठान्छ । ठीक त्यसैगरी नेता सत्तामा पुगेपछि आफूलाई महान ठान्छ ।
सत्ता पाउन त्यति सारो ठूलो कुरा हैन । यो त यसो चुनाबमा, तालमेल, आधा आधा समय मन्त्री, गठबन्धन, एकता, मनि मसल, यस्तै शैली अपनाएर पाउन सकिन्छ । तर टिकाउन र जोगाउन भने गारोसारै पर्दो रहेछ ।
सत्ता जोगाउनका लागि सत्यवादी भनेर कहलिएका धर्मराज युधिष्ठिरले त “नरो वा कुञ्जरो वा अश्वत्थामा हतोहत” भनेर झुटा कुरा ओकलेका थिए ! अरुको त के कुरा !
त्यही सत्ता जोगाउन महाभारतका अर्का कुटील पात्र सकुनीले कपटी कौडा खेलाएर पाण्डवहरूलाई बनवास पठाएका थिए !
स्वर्गको सत्ता टिकाउनका लागि चन्द्रेको पुत्रो इन्द्रेले कति अप्सरा नामधारी सुन्दरी पालेका थिए कति सोमरसका घडा फालेका थिए । तपश्वी ऋृषिमुनिहरूलाई अप्सराको आलिङ्गनमा आल्हादित पारेर सोमरसको सिसीमुनि सुताएर स्वर्गको कुर्ची डगमगाउनबाट रोकेका थिए ।
सत्ताको शुरुवात सँगै जोगाउने र पल्टाउनेहरूको जुहारी चलिरहेको पाउन सकिन्छ । सत्ताको लुछाचुँडी र खिचातानी नै नेपालको अविस्मरणीय इतिहास हो भन्दा कसैले नाक खुम्च्याउँछ भने त्यसले इतिहास बुझेकै छैन । यही सत्ताको सिनो तानातान गर्ने क्रममा कति द्रौपतीको सारी तानियो, कति नागरिकलाई गोली हानियो, कति सीताहरू बनवास पठाइए । कति माथवरहरू मारिए, कति राजाका वंश नास पारिए, कति यौवनाहरूको सिउँदो पुछियो कतिको कुमारित्व लुटियो । अझै के के हुनि हो कसलाई के थाहा ? मानव विहीन समाज नभएसम्म सत्ता संघर्षमा पूणर्विराम लाग्दैन रे !! नत्र मान्छे नामधारी जन्तुको हृदयमा सत्तालिप्साको लिस्नु भाँचिदैन अनि कसरी टुङ्गिनु ?
बाह्रमासे जुवाडीको लागि सत्ता पल्टिँदा अठ्ठा जोकर मात्र हुन्छ तर राजनीतिक बाह्रमासेका लागि सत्ता पल्टाउनु सबै भन्दा ठूलो कुरा हो । त्यसैले त सत्ता सञ्चालकहरू सितिमिति सत्ता डगमगाउन दिदैनन् । जनतालाई कत्लेआम गर्नु परे पनि परोस्, देशको ढुकुटी काँडा टक्टक्याए जसरी टक्टक्याएर रित्त्याउन परे पनि परोस् तर सत्ता नझरोस् भन्ने उनीहरूको सपना जपना हुन्छ ।
जनताको शासन भन्दा नेताको शत्तासन ठूलो हुने भएकोले जसरी भए पनि सत्ता टिकाउन पर्छ भन्ने अर्जुनदृष्टिका साथ उनीहरू “एनि हाउ सत्ता टिकाउ” को मार्गमा लागेका हुन्छन् ।
सत्ता टिक्छ भने सबै रोगीलाई डाक्टर बनाउन पनि पछि पर्दैनन्, कपुरी क नचिनेकालाई पिएचडी दिलाउन पनि पछि पर्दैनन्, देशी विदेशी दलालहरूलाई देशै खिलाउन पनि पछि पर्दैनन् ।
कोदोको बोट नचिन्ने कृषि मन्त्री होस् या भक्षक दलको नेता रक्षक मन्त्री होस् कसलाई बाल !!
अन्त्यमा एउटा कुरा क्या ! संविधान संशोधन गरेर सबै सांसद स्वतः मन्त्री हुने व्यवस्था गरौँ २७५ वटा मन्त्रालय बनाउने अनि सबै सत्तापक्ष बन्ने ! हुन्न र ? यही त हो सत्ता जोगाउने अचूक उपाय !!
धादिङ
Subscribe
Login
0 Comments
Oldest






































