विश्व शाक्यएउटा बैंक खोलौं कि भनेर
ब्याङ्कमा कसैकसैले कालोधन लगानी गरेर सेतो बनाम्छन् भन्ने सुनेको भएर हाम्ले पनि परार घर डढ्दा आगाले खाएका केही काला पैसा लिएर आछम्, व्याङ्गमा लगानी गर्न त्यै पनि भइहाल्ने भयो ।

पोखराको नयाँ सडकलाई न्यूरोड पनि भनिन्छ । आजभोलि त न्युरोड, न्युरोड होइन ‘बैंक रोड’ भइसकेको छ । घरैपिच्छे खुलेका बैंकहरूले न्युरोडलाई माथ गरेर बैंक रोडमय तुल्याइदिएको छ ।
एकाबिहानै घरको पिंढीमा बसेर खवरपत्रिका हेर्दै थिएँ । झोलाकुटुरो बोकेर भरखरै गाउँतिरबाट आएकाजस्ता दुई-चार दाजुभाइहरू म बसेको घर नियाल्दै म भएको ठाउँअघिल्तिर उभिन आए । म पत्रिका हेर्न व्यस्त थिएँ । उनीहरूमध्ये एकले मेरो पत्रिकातर्फको ध्यान भङ्ग गर्दै सोधे- ‘दाइ, यो घर तपाईंको हो ?’
मैले छोटो उत्तरमा भनें- ‘हो ।’
‘ए राम्रो भयो ।’ कुराको थालनी गर्नेले खुसी हुँदै भने- ‘हामीले परैबाट हेर्दै आइरहेका थियौं तपाईंको घरमा बैंक नदेखेपछि यसो कुरा गरौं भनेर रोकिया ।’ मलाई जिज्ञासा लाग्यो । मैले सोधें- ‘कस्तो कुरा ?’
आफ्ना काँधका पोकापुन्तुरा बिसाउँदै उनीहरू मेरा अघिल्तिर आएर बसे । मसँगै बस्न आउनेले आफ्नो झोला विसाउँदै भने- ‘हेर्नुस् दाइ, गाउँमा साह्रै कष्ट भयो । जति दुःख गरे नि परिवार पाल्न धौ-धौ भयो । पैसाको मुख कहिल्यै देख्न पाइएन । यता बजाराँ त आजभोलि जताततै बैंक खोल्न पाइया छ रे । बैंक खोलेसि पैसाको मुख देख्न नि पाइने उता गामतिर पखरों (पोखरामा) हाम्रो बैंक छ भनेर ठूलामा गनिन पनि पाइने । त्यही भएर हामी चार भाइ मिलेर पखराँ एउटा बैंक खोल्ने हो कि भनेर हिजो नाइट बसबाट आ’को । फेरि बाटामा आम्दाआम्दै पखरों बैंक खोल्न त सजिलो छ, तर बैंक राख्ने घर पाउन साह्रै गाह्रो छ भन्ने सुनेम्, त्यही भएर पहिला घरै हेरम् भनेर एकाबिहानै घर हेर्न हिँड्या ।’
’हाम्लाई साथेहरूले भन्याथे’ मेरा बायाँतिर वस्नेले जानकारी थप्दै भने ‘पखराँ ब्याङ्क खोल्ने हो भने न्युरोडाँ खोल्नुपर्छ अन्यत्र खोलेर हुँदैन भनेर । हुन त हो रच, न्युरोडाँ त घरैपिच्छे वैकै बैंक रचन् । ऊ पल्ला घराँ त एउटै घराँ दो-दोटासम्म बैंक रचन् ।’ उनीहरूका कुरा सुनिसकेर मैले जिज्ञासु बनेर सोधें- ‘हजुरहरूले बैंक खोल्ने त भन्नुभयो ठिकै छ । बैंक खोल्न सबैले पाउँछन्, खोलिरहेकै पनि छन् । बैंक खोल्न नि पैसो त चाहियो नि त्यो पैसो तपाईंहरू कहाँबाट ल्याउनुहुन्छ ?
पैसाको मेसो त भइहाल्छ नि । मेरा नजिकै दायाँतिर बसेकाले ढुक्कसँग भने- ‘बैंक खोल्न कति पैसा लाग्छ र हो ? हाम्लाई त गाममा भनेका थिए पाँच सात जना मिलेर बैंक खोल्नुपर्छ, बैंक खोलेसि पैसा जाबो त त्यसैत्यसै बर्सन्छन् । बैंंकमा पैसा जम्मा गर्न आउनेहरूको धुइरो लाग्छ, अनि त के पैसों ततेरी नसक्नुहुन्छ ।’
‘त्यै भनेर त पैसाका मुख नदेखेका हाम्ले पैसाको मुख पनि देख्न पाइने, पखराँ हाम्रा नि व्याङ्क छ भनेर भन्न नि पाइने भनेर आका । पैसा त धेरथोर अलिअलि व्यवस्था त गरिया छ नि । ब्याङ्कमा कसैकसैले कालोधन लगानी गरेर सेतो बनाम्छन् भन्ने सुनेको भएर हाम्ले पनि परार घर डढ्दा आगाले खाएका केही काला पैसा लिएर आछम्, व्याङ्गमा लगानी गर्न त्यै पनि भइहाल्ने भयो । हैन र ?’ मेरा अघिल्तिरकाले ढुक्कसँग भने । ‘तपाईंहरू बैंक खोल्छु भनेर हिँडिरहनुभएको छ । अरूले कसरी खोलेका रहेछन् सोधखोज गर्नोस्, थाहा भइहाल्छ नि ।’ मैले आश्वस्त पार्दै भनें ।
‘हुन्छ हामी सोध्छम् तर हजुरले हाम्रो ब्याङ्कलाई घर चैं दिनुपर्छ ।’ मेरा अघिल्तिरकाले निक्कै आशावादी भएर भने । मैले पनि उनीहरूलाई किन निराश पार्ने भनेर ‘हुन्छ, तपाईंहरू राम्ररी बुझेर आउनुहोस् आवश्यक परेछ भने विचार गरौंला’ भनेँ । उनीहरू आश्वस्त हुँदै आफ्ना पोकाकुन्टुरा बोकेर गए । म उनीहरू गएतिर एकतमासले हेर्न थालेँ । उनीहरू आँखाबाट ओझेल भएपछि मेरा घर वरपरका बैंकहरूलाई एकएक गरी नियाल्न थालेँ ।
‘आदर्श समाज’ २०६४
Subscribe
Login
0 Comments
Oldest







































