सञ्जय साह मित्रपार्टी दिने काइदा
रेस्तुराँ साहु मलाई देखेर बेहोस । तुरुन्त एम्बुलेन्स बुलाए र अस्पताल पुर्याए । रेस्तुराँ साहुलाई अस्पतालले सोध्यो- तपाईँको रेस्तुराँमा खाएका हुन् ? - होइन, मेरो होटलअगाडि लडेका थिए, मैले अस्पतालसम्म पुर्याएको मात्र हुँ ।

पेटेन्ट साथीहरूलाई त कुनै बहानामा पार्टी चाहिन्छ । त्यसै बलजफ्ती मलाई एक दिन मेरा पाँच सात जना साथीले पार्टी दे भने । मैले सोधें- केको पार्टी दिऊँ ।
– हाम्लाई त रेस्तुराँमा टन्न पिउन पाए भो ।
– हैन, केको उपलक्षेमा पार्टी दिऊँ भन्या ?
– त्यो त तेरो मर्जी । कुनै उपलक्ष्येमा दिए नि देऊ वा केही पनि उपलक्ष्ये नभएको उपलक्ष्येमा देऊ तर पार्टी देऊ । हाम्लाई चाइया पार्टी हो । जाँबाट जस्स्सरी हुन्छ, पार्टी दे ।
कल्लाई के धुन, खन्चुवा साथीहरूलाई पार्टीको धुन । बेला न कुबेला पार्टीको झमेला आइपरेपछि मैले नमानी सुखै छैन । कतै कस्सैलाई कस्नु छ यिनै काम लाग्छन् । कतै धम्क्याउनु छ, कतै गम्क्याउनु छ, सबैमा फिट साथीहरूले पार्टी मागेपछि नदिऊँ पनि कसरी ?
खल्तीमा खडेरी पर्दा दिमागले नै काम गर्छ । पार्टी दिने उपाय खोज्दै जाँदा बुद्धिको बिर्को खुल्यो । तातै खाऊँ जली मरुँ भन्ने जस्तो मैले पनि भनिदिएँ- उसो भए हिँड् । खानै परेछि बासी किन राख्ने ?
– काँ हिँड् ।
– त्यैँ छिमेकी रेस्तुराँमा ।
सप्पै जना हुरुरु पसे जन्ती झैँ रेस्तुराँमा । मुख रसाइरहेका र जिब्रो लप्लपाइरहेका थिए । मेरो पनि अवस्था उही थियो । भनें- जल्लाई जे जे अर्डर गर्नुछ, गर । मर्ने गरी हसुर ।
खानुसम्म खाए, घिच्नुसम्म घिचे र छाद्ने गरी पिए । कसैलाई बिलको कुनै चिन्ता थिएन । असह्य हुँदै गएपछि मेरो जय जयकार गर्दै आलोपालो कुलेलम ठोक्दै गए । निस्कँदा साउलाई मतिर इसारा गर्दिन्थे ।
मैले पनि पिउनुसम्म पिएँ । अनि देखेँ- सप्पै नौ दुई एघार भइसकेका छन् । त्यसपछि एक्कासि लडिदिएँ । हातखुट्टा तन्काएँ, मुखबाट अलिकति फिँज निकालें ।
रेस्तुराँ साहु मलाई देखेर बेहोस । तुरुन्त एम्बुलेन्स बुलाए र अस्पताल पुर्याए ।
रेस्तुराँ साहुलाई अस्पतालले सोध्यो- तपाईँको रेस्तुराँमा खाएका हुन् ?
– होइन, मेरो होटलअगाडि लडेका थिए, मैले अस्पतालसम्म पुर्याएको मात्र हुँ ।
उसले लफडाबाट जोगिन झुठो बोल्यो । मैले मनमनै विचार गरें- अब त सबै पैसा पच भयो ।
०००
राैतहट
Subscribe
Login
0 Comments
Oldest







































