साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खपालु मान्छे

संसार थर्काउने, हिटलरले मानेका, जिलिगाण्टे गोर्खेहरूको यो कृष्ण प्रधानले खोइरो खने भन्लान् तमाम् जिलिगाण्टे गोर्खेहरूले । कागले कागकै नाम नै ता काढ्छ होइन र हजूर !! आखिर म पनि त्यै ड्याङ्कै मूला हुँ ।

Nepal Telecom ad

खरसाङको भाषा विषयक अन्तरक्रिया कार्यक्रममा एकजना विद्यार्थीसित भेट भयो झण्डै झण्डै दस वर्षको अन्तरालमा । कार्यक्रम सिद्धिएपछि भोजन कक्षमा युवती जम्लेहात गर्दै “नमस्कार सर….” मतिर मुस्कुराउँदै आइन् । मैले उनलाई राम्ररी ठिम्याउन नसके पनि ठिम्याएँजस्तै गरी उनको नमस्कार सहर्ष स्वीकार पुनः नमस्ते भनिदिएँ मुखले मात्र । किनभने दाहिने हात भात र दालमा चोबलिसकेको थिएँ ।

फेरि प्रश्न दोहोऱ्याइन्, “सायद… सरले मलाई चिन्न सक्नुभएन…म फलानु विद्यार्थी । हजूरले मलाई पढ़ाउनुभएको ।”
उनले म फलानुभन्दा मात्र मैले मेरी पूर्व विद्यार्थी भनी राम्ररी ठिम्याउँन सकेँ । खरसाङको कुनै एउटा हायर सेकेण्डरी स्कूलमा नेपाली साहित्यका शिक्षिका भन्ने पनि उनले बताइन् । उनी फेरि बोलिन्- “सरले मलाई क्लासमा बोक्सी भन्नुहुन्थ्यो नि !”

छक्क पर्न नपाई नै उनी फेरि बोलिन्- “हाम्रा सर ता… जस्ताको तस्तै हुनुहुँदोरहेछ । मलाई हेर्नू न सर बूढ़ी भइसकेकी छु । हाम्रा सर ता कस्तो एभरग्रीन ।”

उनको कुरा टुङ्गिन नपाउँदै म प्याच्चै बोलिहालेँ, एभरग्रीन होइन हौ म…लाटी…खपालु मान्छे म ।
मेरो कुरा सुनेर उऩी हाँसेर भुतुक्कै भइन् । आएर जम्लेहात गर्दै मञ्चमा बस्न नपाउने मञ्चलोभी/अतिथि आसनभोगी तथा लोकार्पणभोगीलाई सादर समर्पित ।
०००
सबै मान्छे खपालु हुँदैनन् । मान्छे खपालु हुनु नहुनु उनको हाइटमाथि निर्भर गर्छ । होँचो, पुड़को मान्छे खपालु हुन्छन् । साठी वर्षका उमेरमा पनि खपालु मान्छेलाई गधा पच्चिसे देखिन्छ । फूलदानीमा सजाइएको प्लाष्टिकको फूलजस्तो । कहिल्यै ऩओइलिने, कहिल्यै फेर्नु नपर्ने अनि कहिल्यै पानी नहाल्नुपर्ने न ता बेला-बखत उकेरा नै लाइरहनुपर्ने । यसैकारण ता अल्गे मोराहरू खपालु मान्छेसित ईष्र्या गर्छन्; डाह गर्छन्; आह्रिस गर्छन् । मान्छे जस्तै जिलिगाण्टे होस् उनको छिप्पेको अनुहार कलिलै देखिन्छ । प्रणय उद्यानमा प्रेमिकासित मस्त भएर प्रेमालाप गरिरहेको समयमा पुलिस पेट्रोलिङ पार्टी आएको देख्दा जिलिगाण्टे प्रेमि उता फर्केर ’मेस्कोल’ खेलेकोजस्तो अभिनय गरिदिए आयाले ढेँढ़े बालकलाई खेलाएको ठानी पुलिस पेट्रोलिङ पार्टी एबाउट टर्न ।

खोर्सानी जातिमा सबैभन्दा पुड़्को जातिको खोर्सानी हो जिरे खोर्सानी । पुड़्को आकारको भए पनि यो जिरे खोर्सानीको पिरो खपिनसक्नु हुन्छ । पुड़्केहरू व्यक्तित्व र स्वाभाव पनि जिरे खोसार्नीभन्दा कम्ति हुँदैन । हिटलर जिलिगाण्टे थिए- नाकको टुप्पोमै रीस । एक-एकक्षणमा रीसले रगत भुलुक्-भुलुक् उम्लिन्थ्यो- रीस साम्य गराउन आफ्नो शरीरमा उनी जुका टाँस्थे। तर पनि उनको रीस कहिल्यै मरेन । यहूदीहरूलाई उठीवास मात्र लाएनन् पानीखेदो समेत गरेका थिए । भ्याकुरो खेदाइ गरेका थिए ।

पुड़्का लालबहादुर शास्त्री ढीट थिए । मान्छे होँचो । रीसका पोका । चीनसितको युद्धमा ’शान्ति…शान्ति’ भनेरै टारे पण्डित जवाहरलाल नेहरू (भारतका तत्कालीन प्रधानमन्त्री)ले । पाकिस्तानले भारतको सिमानामा सामान्य गोली वर्षाउँदा ढीट पुड़्के लालबहादुर शास्त्री (भारतका पूर्व प्रधानमन्त्री)-ले ‘ईँट का जवाब पत्थर से देंगे’ भनेर पाकिस्तानको सिमाना डाङ्डुङ् पार्न लाएका थिए । पाकिस्तानी सेनालाई मात्र होइन सिङ्गो पाकिस्तानलाई थुरथुर र छुलछुल पार्ने यिनै पुड़्का शास्त्री थिए । तर के गर्ने रीसका पोका, ढीट लालबहादुर शास्त्री तासकन्द सम्झौतामा सुतेका सुतेकै भए । शास्त्रीजी केही दिनसम्म बाँचेका हुँदा हुन् ता भारतमा आतङ्कवादीहरूको ढलिमली उहिल्यै सखाप हुने मात्रै हैन निमिट्यान्नै भइसक्ने थियो ।

गाण्टे चर्चिल हठी मात्र होइन हड़बड़े पनि थिए । बेला नपुगी सात महिनामै जन्मिने चर्चिल तानाशाहीका संहारक मात्र होइनन् विश्व शान्तिका उदघोषक पनि थिए । लड़ाइँ गर्नमा खप्पीस । चर्चिल गाण्टे भए पनि महायोद्घा । गोलीमाभन्दा बोलीमा अदम्य शक्ति थियो उनको । बोलीमा जादू थियो । उनकै बोलीमा मक्ख परेर जर्मन सेनाहरूले आत्मसमर्पण गरेका र यूरोपमा युद्ध समाप्त भएको इतिहास पनि छतछती छ ।

जबरस्वाँठ पुड़्के नेपोलियन बोनापार्ट जब्बर मात्र थिएनन्, अच्चाकाली उपद्र्याहा पनि थिए । सोह्र वर्षको ठिटौले उमेरमै फ्रान्सेली सेनामा सेकेण्ड लेफ्टिनेण्ट पद हत्याउने जब्बरस्वाँठ पुड़्के नेपोलियन बोनापार्टले युद्घ गरेरै विश्वलाई आछुआछु पारेका थिए ।

विश्वप्रसिद्ध अर्का ग्वाँचे चार्ली च्यापलिनको कुरा यहाँ उठान गरिएन भने विश्वभरिका पुड़्केहरूल मसित ठुस्किनेछन् । चार्ली ग्वाँचे थिए तर उनको हसाउँने कला, हँसाएर मान्छेला़ई भुतुक्-भुतुक् पार्ने प्रतिभा हिमालभन्दा अग्लो थियो ।
हाम्रा बाजे-बराज्यू जिलीगाण्टे थिए । झर्रा गोर्खा उचाइँ । उहिले जिलिगाण्टे बाजे-बराज्यूहरू र जिलिगाण्टी बज्यूहरू पिँड़ालुका पातमनि घण्टौंसम्म प्रेमलाप गर्थे रे । तरुणी अवस्थामा जिलीगाण्टी बज्यूहरू घऱ अबेर गरी पस्दा बज्यूका गाण्टे बुवा सेकेने भाले चढ़ी बज्यूको खोजमा निस्कन्थे अरे । बुवा आएका देखे कि बाजे-बज्यू गाण्टे फर्सी मुनि लुक्थे रे ।

पहिलो अनि दोस्रो विश्व युद्धमा जर्मन फाँड़्ने, इटाली छप्काउने, जापान हल्लाउने, फकल्याण्ड छिल्लीबिल्ली पार्ने हाम्रा जिलिगाण्टे बाजे-बराज्यूलाई यिनको गोर्खे हाइटले गतिलो सहयोग पुऱ्याएको इतिहास हामीसित छँदैछ । यसैले ता जिलिगाण्टे हिटलर हाम्रा जिलिगाण्टे बाजे-बराज्यूलाई यिनको गोर्खे हाइटले गतिलो सहयोग पुऱ्याएको कुरा कतै लुकेको छैन । यसैले ता जिलिगाण्टे हिटलर हाम्रा जिलिगाण्टे बाजे-बराज्यूलाई भक्कुमारी रुचाउँथे । हिटलरले भनेकै पनि छन्- “मेरो पल्टनमा गोर्खाहरू हुँदा हुन् ता संसार बिजय गर्ने थिएँ ।”

एकनासे उचाइँ, छिटो-छरितो, मान्छे छिप्पेकै भए पनि कलकलाउँदो देखिने जब्बर, ढीट पुड़के गोर्खा पल्टनलाई ईग्ल्याण्डका महारानी एलिजाबेथले उऩको देशमा राखेकी थिइऩ् । त्यहाँ बालाहरू गोर्खा सिपाही भनेपछि हुरुक्कै र भुतुक्कै मात्र होइन घुटुक-घुट्कु थूक निल्छन् अहिलेसम्म पनि । मान्छे जिलिगाण्टे होस् कि ग्वाँचे, ग्वाँचे होस् कि गाण्टे, जब्बरस्वाँठ बामपुड़्के होस् कि डल्ले। ईङ्गल्याण्डका बालाहरू गोर्खे हाइट र उनीहरूको फूर्तिपना देखेर दङ्ग पर्छन् आज पनि ।

गोर्खा हाइटको उचित कदर र सम्मान गर्दै भारतीय सेनामा भर्नाको निम्ति अन्य भारतीय युवाहरूका तुलनामा गोर्खे युवाहरूका हाइटमा छूट दिएको कुरा मैले भनिरहनु नपर्ला । भन्नु उसो होइन, यी जिलिगाण्टे गोर्खे पल्टनेहरू भारतमा नहुँदा हुन् ता आतङ्कवादीहरूले भरतभूमिलाई उहिल्यै छताछुल्ल पारिसक्थे। धन्य वीर गोर्खे पलटनेहरूले नै भारतको सिमाना शत्रुहरूको मुखबाट जोगाइराखेका छन् । मलाई राम्ररी थाहा छ, सन् १९७१ मा पश्चिम पाकिस्तानको पञ्जाबाट पूर्व पाकिस्तान (वर्तमान बङ्ला देश)लाई मुक्त गराउन तत्कालीन प्रधान मन्त्री श्रीमती इन्दिरा गान्धीले यिनै जिलिगाण्टे पल्टनेहरूलाई नै युद्धमा पठाएकी थिइन् ।

विश्व थर्काउने जिलिगाण्टे तर झर्झराउँदा गोर्खा पल्टनेलाई कसले सक्ने ? एकै रातमा पश्चिम पाकिस्तान (अहिले पूणर्ाङ्ग पाकिस्तान)का अल्गे-अल्गे डँड़ाक-डँड़ाक सेनाहरूले यी जिलिगाण्टे गोर्खा पल्टनेहरू सामु घूँड़ा टेकेको कुरा इतिहासले बिर्सेको छैन । यी जिलिगाण्टे गोर्खा पल्टनेहरूको भुरीभुरी प्रशसा गर्दै पाकिस्तानका तत्कालीन ब्रिगेडियर (उनको नाउँ बिर्सेँ) ले यस्तो मतव्य गरेका थिए- “हामी पाकिस्तनी सेनाहरू भारतका कुनै पनि रेजिमेण्टेसित लड़ाइँ गर्न तयार छौं तर यी गोर्खा पल्टनेहरूसित लड़ाइँ गर्न ठ्याम्मै सक्तैनौं । किनभने, एक ता यिनीहरूको हाइट सानु पिक्युलर हुन्छ । एकदमै छिटो-छरितो । एक ठाउँबाट ड्याङ्ङै फायर गर्छ अनि एक मिलिकमै अर्को ठाउँमा उफ्रेर गई झाड़ी वा पोथ्राभित्र लपक्कै लुक्छ । जुन ठाउँबाट फायर गरिएको छ त्यतैतिर काउण्टर फायर गर्दा अर्को पोथ्रा वा झाड़ीबाट गोली आएर डङ्ङै पार्छ । सानो हाइट, जस्तै ठाउँमा लुके पनि कसैले देख्न सक्तैन मोराहरूलाई । हामी मान्छे अग्लो। कतै लुक्दा पनि यी जिलिगाण्टेहरूले हाम्रो टाउको चल्मलाएको देखेपछि दङ्ङै ता पारिहाल्छ । निसाना पनि…. पटक्कै मिस जाँदैन अऩ्त !”

गोर्खेहरूको जिलिगाण्टे हाइटप्रति हामीले गर्व गर्नैपर्छ । भारतको सिमाना सुरक्षित यी जिलिगाण्टे गोर्खेहरू आफ्नो कर्त्तव्यमा डटिरहन कहिल्यै कञ्जूस्याइँ गर्दैनन् । यो कुरो भारत सरकारको सुरक्षा विभागलाई मात्रै होइन सम्पूणर् विश्वासीलाई नै थाहा छ । यी जिलिगाण्टे गोर्खा पल्टनेलाई सिमाना रुङ्न लाउऩे तर उने जिलिगाण्टे गोर्खे सन्तानहरूका तमाम् सन्तानहरूली सरकारले किन सानीआमाको व्यवहार गर्छ सो हामीले अद्यापि बुझ्न सकेका छैनौं ।
स्वास्नी अग्ली, लोग्ने जिलिगाण्टे । कस्तो देखिन्छ लु तपाई आफै भन्नोस् । तोङ्बा र फिप्सिङजस्तो देखिन्न र ? तोङ्बा र फिप्सिङको कम्बिनेसन मिल्छ भने अग्ली स्वास्नी र जिलिगाण्टे लोग्नेको मिल्दैन वा मिल्नै सक्दैन भन्नु सम्पूणर् जिलिगाण्टे लोग्नेहरूप्रति ठूलो अन्याय हुनेछ । लोग्ने स्वास्नीः लोग्ने स्वास्नी । दुइ मुटु एक धुकधुकी । आँप खानुसित मतलब छ, गुदीसित के को मतलब ? कुरा यति हो, कथङ्कल लोग्ने स्वास्नीमाझ भाकभाक र भुकभुक, पाकपाक र पुकपुक परेको बेला जिलिगाण्टे लोग्नेको छिप्पेको हातले पानी पेट कि आगो पेटमा भने चाहिँ पित्त, मुटु-कलेजोले आफ्नो ठाउँ छोड़्छ । जस्तो उमेर छिप्पिए पनि यी जिलिगाण्टेहरूलाई कलिलै देखिने हुनाले ‘खपालु मान्छे’ भन्नु नै युक्तिसङ्गत होला । तर यी जिलिगाण्टेहरुले तरुणीहरूलाई जिस्काउनु चैँ बड़ो रिस्कको काम हुन्छ । तरुणीको मुख ता ठहरियो । महाछुच्ची । बऱ्याम मान्छेहरूका माझमा “ए भाइलाई पनि साह्रै परेछ”’ भनिदिइन् भने सर्वनाश । यसकारण यहाँ जिलिगाण्टेहरूले बड़ो सतर्क भएर तरुणीलाई जिस्काउनुपर्ने हुन्छ । किनभने यो रानी एलजाबेथको देश होइन, पोथी बास्ने देश ।

संसार थर्काउने, हिटलरले मानेका, जिलिगाण्टे गोर्खेहरूको यो कृष्ण प्रधानले खोइरो खने भन्लान् तमाम् जिलिगाण्टे गोर्खेहरूले । कागले कागकै नाम नै ता काढ्छ होइन र हजूर !!
आखिर म पनि त्यै ड्याङ्कै मूला हुँ ।

०००
सिलिगुडी, (भारत)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
दाइजात्रा !

दाइजात्रा !

गायत्री परिरोशनी
प्रतिबिम्ब

प्रतिबिम्ब

लक्ष्मी रिजाल
अनुहार

अनुहार

नगिता लेप्चा राई
0
Would love your thoughts, please comment.x
()
x