भोलानाथ सुबेदीसर !!
वर्षभरि गुरुको सत्तोसराप गरेर बिताउने चेलाचेलीहरूले गुरुपूर्णिमामा गुरुको सम्मानको विगुल बजाएको देख्दा हाँसो लाग्छ । भेट्दा सर नभेट्दा सराप अहिले हामीमा चलेको संस्कार यही हो ।

एक दुई दशक अगाडि सर शब्द गहन, ओजपूणर् र आदर सूचक रुपमा परिचित थियो । अहिले यो शब्द सबैमा रामनाम झुन्डिए झैँ मुखाग्र छ । सर शब्द उच्च स्तरको भए पनि यसको प्रयोग सर्वसुलभ र सर्वप्रिय बनिदिँदा यसको ओजमा स्खलन पैदा भएको छ । यो निम्नस्तरको बोलक्कड, भरौटे, द्वारे, अगौटे, पछौटे आदि सबैको जिभ्रोमा रसाउने हुनाले यो अस्तित्वहीन बन्न पुगेको छ । विद्यालयका विद्यार्थी, कार्यालयका कर्मचारी, ठेक्का पट्टाका लाउके र सामाजिक सञ्जालका नाइकेमा पनि यसको प्रभुत्व जमेको छ । विद्यालयकै कुरा गर्ने हो भने त विद्यार्थीको मुखमा सर, फेरि सरका मुखमा सर । सर शब्दको डोरी तन्काउने हो भने दिनमै पृथ्वीको सात फन्को लागेर किलकिले समाउन बेर लाग्दैन । सर शब्दको उच्च आदर र अनादर पत्तो लगाउन भाषाविदलाई टुपी घुमाइ घुमाइ घोत्लिनु परेको छ ।
सर शब्द सामान्य लागे पनि यसको प्रभाव भने रवाफिलो र तागतिलो देखिन्छ । यसको मन्त्र जनै मन्तर्न बिर्सेजस्तो सहज छैन । यसको मन्तर बिर्सेमा यसले दुःख दिन शिवाय केही सिकाउँदैन । बोल्नमा कमजोरपना आए सर शब्दले सदरमुकामदेखि टोपी फुकालेर कुदाउँछ गोठघरसम्म । नेपाल उसै त गरिब देश त्यसमाथि पनि एकाइसौँ शताब्दीका भुत्ते खुकुरीले सर शब्दको उपमा पाउनु तालुमा आलु फले झैँ मान्छन् ।
आजको परिवेशमा सर शब्दको जरो पाताल पुगेकाले अति नै मौलाएको छ । ठाउँ खोज्दा खोज्दै बौलाएको पनि छ । सर शब्द चानचुने लागे पनि सर आउनु भो भनेपछि विद्यार्थीहरू घोत्लिन थाल्छन् । कर्मचारीहरू कलम घिसार्न थाल्छन् । सैनिकहरू जिउ तन्काएर खुट्टा बजार्न थाल्छन् । अपराधीहरू पालनकर्ताको आराधना गर्न थाल्छन् ।
सर शब्द विद्यालयमा पढाउने शिक्षकको मात्र पेवा नभएर सबै तह र तप्कामा विराजमान सज्जन दुर्जन सबैले पुष्पाञ्जली गरि सम्झने मन्त्र भएको छ । यो शब्दले मान्छेलाई मान्यवर बनाएर चिनाएको छ । त्यसैगरी नै यसको व्यवहारमा सदुपयोग भएदेखि हामी मान्छेका दुःखका दिन निवारण हुन्थे होला । सृष्टिले सुन्दरता फेथ्र्यो होला, नदीमा स्वच्छता बग्थ्यो होला । संसारले कोल्टे फेथ्र्यो होला । न्यूटनले गुरुत्वाकर्षणको नियम पत्ता लगाएपछि पाएको यो उपाधि अहिले जँडियाको गीत बनेको छ । कतै क्रियापदको काम भ्याउँछ कतै आदरताको वाणी ओकल्छ । सरलाई भालेमा तारेर खोया बिर्केको जल छर्के पछि बन्द भएका कार्यालय रातभरि चल्छन् । नहुने काम हुनेमा पुग्छन् भनेर मान्छेहरू कुर्लेका भेटिन्छन् ।
सर शब्द झोलीको देउता हो । यसलाई आफ्नै खोकिलामा राखेर बोझ हलुका पार्न सकिएन भने यसले उकालो ओरालो दौडाएर खुट्टामा सारो ठेला उठाएको पीडा भोग्ने तपाईं पनि पक्कै हुनुपर्छ जस्तो म मन्द बुद्धि भएको मनुवालाई लाग्दछ । कार्यालयको ढोकाभित्र छिर्न अगाडि हात जोड्न बिर्सेर कर्मचारी अगाडि बिन्ती बिसाउन पुगे तीन पुस्ता अघिको आक्रोश ओकल्न भ्याउँछन् कर्मचारीहरू । मेरो अनुभवले भन्छ सर शब्द बियरको झोलबाट मान्छेको रगतमा अन्तरघुलित भएपछि वंशाणुगत गुण बनेर फैलिएको छ । राति बाटोमा कराउँदै हिँडेको पियक्कडलाई सर नभने तपाईंलाई उसले ढुङ्गा बजार्छ ।
काम गर्नेलाई आदरसाथ भनिएको यो शब्द ज्यानको आयतन अनुसार जप्नु पर्छ । निहुरिएर, घुमेर, दौडिएर, वरबाट, परबाट जताबाट भए पनि हात नजोडे किलकिले समाएर दारा उछिट्याउन बेर लगाउँदैनन् । एक दिन बाटोमा खुट्टा बटारी बटारी हिँड्दै गरेका मेरो गाउँका एक नामुद जड्याहाले मलाई गजवले झपारे । सायद उनको आँखाले मलाई कमिलो देख्यो होला । उनको मादक वचनले आफू सर भएकोमा मलाई हीनताबोध लाग्न थाल्यो । सर होस् कि आकाश होस् तँलाई किन नमस्कार गर्ने ? भन त सर । म सुनिरहेँ । ऊ कराउँदै उकालो चढ्यो ।
प्रत्येक व्यक्ति अहिले सर हो । सर्वव्यापी, सर्वशक्तिमान यो शब्द मलिन र सिथिल देखिन्छ । अहिले पाइलैपिच्छे सरको स्वस्ती र हवन नगरे काम ओछ्यान पर्छ । मानमा अपमान छ्यापिन्छ । अहिले डोजर साहुलाई सर भनिएन भने बाटो खनिदैन । डोजर साहुले अपरेटरलाई सर भनेन भने डोजर चल्दैन । सूचिकार, कुचिकार, डाक्टर, कन्डक्टर, पाखण्डी, शिखण्डी सबैलाई बक्नु पर्ने शब्द हो सर । अहंताबाट निहुर्याउँछ यो शब्दले । भेट्दा होस् कि छुट्दा होस् । जन्मदा होस् कि मर्दा होस् । लुट्दा होस् कि कुट्दा होस् । पाटीमा होस् कि साक्षीमा होस् । नित्य कर्ममा अनित्य कर्म भित्र्याउन भूमिका खेल्ने सर शब्दले देशको आधा बजेट सारेर कुन दुलोमा पुर्याउँछ कुनै सरहरूलाई पत्तो हुँदैन ।
मान्छे ईश्वरसँग टाढा रहे पनि सरसँग खडा रहनु पर्छ । बिहानको झिसमिसे उज्यालो होस् वा बेलुकाको ओछ्यान, सरलाई धूप नहाली मान्छे निर्धक्क सास फेर्न सक्दैन । महाशय, महोदयलाई विस्थापित पारेर लहरिएको सर शब्दले दुनियाँलाई आफ्नो जालमा पारेर सुखभोग गरिरहेको छ । वर्षभरि गुरुको सत्तोसराप गरेर बिताउने चेलाचेलीहरूले गुरुपूर्णिमामा गुरुको सम्मानको विगुल बजाएको देख्दा हाँसो लाग्छ । भेट्दा सर नभेट्दा सराप अहिले हामीमा चलेको संस्कार यही हो । पूर्वीय सभ्यतामा गुरु र आचार्य नामले पुकारिए पनि अहिलेको आधुनिक समयमा सर सौन्दर्यको पगरी बनेको छ । यसलाई चुडाल्नुभन्दा गाँस्दा नै सबैमा विनयशीलताको विकास हुने र सरको सम्मान हुने देखिन्छ ।
०००
ओखलढुङ्गा
९८४३०५४१६१
Subscribe
Login
0 Comments
Oldest







































