साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सर !!

वर्षभरि गुरुको सत्तोसराप गरेर बिताउने चेलाचेलीहरूले गुरुपूर्णिमामा गुरुको सम्मानको विगुल बजाएको देख्दा हाँसो लाग्छ । भेट्दा सर नभेट्दा सराप अहिले हामीमा चलेको संस्कार यही हो ।

Nepal Telecom ad

एक दुई दशक अगाडि सर शब्द गहन, ओजपूणर् र आदर सूचक रुपमा परिचित थियो । अहिले यो शब्द सबैमा रामनाम झुन्डिए झैँ मुखाग्र छ । सर शब्द उच्च स्तरको भए पनि यसको प्रयोग सर्वसुलभ र सर्वप्रिय बनिदिँदा यसको ओजमा स्खलन पैदा भएको छ । यो निम्नस्तरको बोलक्कड, भरौटे, द्वारे, अगौटे, पछौटे आदि सबैको जिभ्रोमा रसाउने हुनाले यो अस्तित्वहीन बन्न पुगेको छ । विद्यालयका विद्यार्थी, कार्यालयका कर्मचारी, ठेक्का पट्टाका लाउके र सामाजिक सञ्जालका नाइकेमा पनि यसको प्रभुत्व जमेको छ । विद्यालयकै कुरा गर्ने हो भने त विद्यार्थीको मुखमा सर, फेरि सरका मुखमा सर । सर शब्दको डोरी तन्काउने हो भने दिनमै पृथ्वीको सात फन्को लागेर किलकिले समाउन बेर लाग्दैन । सर शब्दको उच्च आदर र अनादर पत्तो लगाउन भाषाविदलाई टुपी घुमाइ घुमाइ घोत्लिनु परेको छ ।

सर शब्द सामान्य लागे पनि यसको प्रभाव भने रवाफिलो र तागतिलो देखिन्छ । यसको मन्त्र जनै मन्तर्न बिर्सेजस्तो सहज छैन । यसको मन्तर बिर्सेमा यसले दुःख दिन शिवाय केही सिकाउँदैन । बोल्नमा कमजोरपना आए सर शब्दले सदरमुकामदेखि टोपी फुकालेर कुदाउँछ गोठघरसम्म । नेपाल उसै त गरिब देश त्यसमाथि पनि एकाइसौँ शताब्दीका भुत्ते खुकुरीले सर शब्दको उपमा पाउनु तालुमा आलु फले झैँ मान्छन् ।

आजको परिवेशमा सर शब्दको जरो पाताल पुगेकाले अति नै मौलाएको छ । ठाउँ खोज्दा खोज्दै बौलाएको पनि छ । सर शब्द चानचुने लागे पनि सर आउनु भो भनेपछि विद्यार्थीहरू घोत्लिन थाल्छन् । कर्मचारीहरू कलम घिसार्न थाल्छन् । सैनिकहरू जिउ तन्काएर खुट्टा बजार्न थाल्छन् । अपराधीहरू पालनकर्ताको आराधना गर्न थाल्छन् ।

सर शब्द विद्यालयमा पढाउने शिक्षकको मात्र पेवा नभएर सबै तह र तप्कामा विराजमान सज्जन दुर्जन सबैले पुष्पाञ्जली गरि सम्झने मन्त्र भएको छ । यो शब्दले मान्छेलाई मान्यवर बनाएर चिनाएको छ । त्यसैगरी नै यसको व्यवहारमा सदुपयोग भएदेखि हामी मान्छेका दुःखका दिन निवारण हुन्थे होला । सृष्टिले सुन्दरता फेथ्र्यो होला, नदीमा स्वच्छता बग्थ्यो होला । संसारले कोल्टे फेथ्र्यो होला । न्यूटनले गुरुत्वाकर्षणको नियम पत्ता लगाएपछि पाएको यो उपाधि अहिले जँडियाको गीत बनेको छ । कतै क्रियापदको काम भ्याउँछ कतै आदरताको वाणी ओकल्छ । सरलाई भालेमा तारेर खोया बिर्केको जल छर्के पछि बन्द भएका कार्यालय रातभरि चल्छन् । नहुने काम हुनेमा पुग्छन् भनेर मान्छेहरू कुर्लेका भेटिन्छन् ।

सर शब्द झोलीको देउता हो । यसलाई आफ्नै खोकिलामा राखेर बोझ हलुका पार्न सकिएन भने यसले उकालो ओरालो दौडाएर खुट्टामा सारो ठेला उठाएको पीडा भोग्ने तपाईं पनि पक्कै हुनुपर्छ जस्तो म मन्द बुद्धि भएको मनुवालाई लाग्दछ । कार्यालयको ढोकाभित्र छिर्न अगाडि हात जोड्न बिर्सेर कर्मचारी अगाडि बिन्ती बिसाउन पुगे तीन पुस्ता अघिको आक्रोश ओकल्न भ्याउँछन् कर्मचारीहरू । मेरो अनुभवले भन्छ सर शब्द बियरको झोलबाट मान्छेको रगतमा अन्तरघुलित भएपछि वंशाणुगत गुण बनेर फैलिएको छ । राति बाटोमा कराउँदै हिँडेको पियक्कडलाई सर नभने तपाईंलाई उसले ढुङ्गा बजार्छ ।

काम गर्नेलाई आदरसाथ भनिएको यो शब्द ज्यानको आयतन अनुसार जप्नु पर्छ । निहुरिएर, घुमेर, दौडिएर, वरबाट, परबाट जताबाट भए पनि हात नजोडे किलकिले समाएर दारा उछिट्याउन बेर लगाउँदैनन् । एक दिन बाटोमा खुट्टा बटारी बटारी हिँड्दै गरेका मेरो गाउँका एक नामुद जड्याहाले मलाई गजवले झपारे । सायद उनको आँखाले मलाई कमिलो देख्यो होला । उनको मादक वचनले आफू सर भएकोमा मलाई हीनताबोध लाग्न थाल्यो । सर होस् कि आकाश होस् तँलाई किन नमस्कार गर्ने ? भन त सर । म सुनिरहेँ । ऊ कराउँदै उकालो चढ्यो ।

प्रत्येक व्यक्ति अहिले सर हो । सर्वव्यापी, सर्वशक्तिमान यो शब्द मलिन र सिथिल देखिन्छ । अहिले पाइलैपिच्छे सरको स्वस्ती र हवन नगरे काम ओछ्यान पर्छ । मानमा अपमान छ्यापिन्छ । अहिले डोजर साहुलाई सर भनिएन भने बाटो खनिदैन । डोजर साहुले अपरेटरलाई सर भनेन भने डोजर चल्दैन । सूचिकार, कुचिकार, डाक्टर, कन्डक्टर, पाखण्डी, शिखण्डी सबैलाई बक्नु पर्ने शब्द हो सर । अहंताबाट निहुर्‍याउँछ यो शब्दले । भेट्दा होस् कि छुट्दा होस् । जन्मदा होस् कि मर्दा होस् । लुट्दा होस् कि कुट्दा होस् । पाटीमा होस् कि साक्षीमा होस् । नित्य कर्ममा अनित्य कर्म भित्र्याउन भूमिका खेल्ने सर शब्दले देशको आधा बजेट सारेर कुन दुलोमा पुर्‍याउँछ कुनै सरहरूलाई पत्तो हुँदैन ।

मान्छे ईश्वरसँग टाढा रहे पनि सरसँग खडा रहनु पर्छ । बिहानको झिसमिसे उज्यालो होस् वा बेलुकाको ओछ्यान, सरलाई धूप नहाली मान्छे निर्धक्क सास फेर्न सक्दैन । महाशय, महोदयलाई विस्थापित पारेर लहरिएको सर शब्दले दुनियाँलाई आफ्नो जालमा पारेर सुखभोग गरिरहेको छ । वर्षभरि गुरुको सत्तोसराप गरेर बिताउने चेलाचेलीहरूले गुरुपूर्णिमामा गुरुको सम्मानको विगुल बजाएको देख्दा हाँसो लाग्छ । भेट्दा सर नभेट्दा सराप अहिले हामीमा चलेको संस्कार यही हो । पूर्वीय सभ्यतामा गुरु र आचार्य नामले पुकारिए पनि अहिलेको आधुनिक समयमा सर सौन्दर्यको पगरी बनेको छ । यसलाई चुडाल्नुभन्दा गाँस्दा नै सबैमा विनयशीलताको विकास हुने र सरको सम्मान हुने देखिन्छ ।

०००
ओखलढुङ्गा
९८४३०५४१६१

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
टाउको

टाउको

भोलानाथ सुबेदी
कर खोई ?

कर खोई ?

भोलानाथ सुबेदी
सापटीले पार्छ आपत्ति

सापटीले पार्छ आपत्ति

भोलानाथ सुबेदी
सबैजना आओ

सबैजना आओ

भोलानाथ सुबेदी
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
दोब्बर पुरस्कार

दोब्बर पुरस्कार

टीकाराम रेग्मी
केही लघुव्यङ्ग्यहरू

केही लघुव्यङ्ग्यहरू

हरिशंकर परसाईं
दुई नम्बरीको संसारमा

दुई नम्बरीको संसारमा

काेइराला वत्सराज
पागलको पनि पापी पेट हुन्छ

पागलको पनि पापी पेट...

सञ्जय साह मित्र
0
Would love your thoughts, please comment.x
()
x