मुक्तिनाथ शर्मामिश्रमामाको अक्कल
टोक्नु टोक्यो नि डाम्नाले डेङ्गो पनि भयो । सारै दुःख पाइयो । हाम्रा कुरा सुनेर मेरी उनी हाँसोलाई फुत्किन नदिन मुख थिचिरहेकी रहिछन् देखें ।

आज दिउसो मिश्र मामा ट्वाक्क आइपुग्नुभो । मामा निक्कै गलेजस्तो देखेर मैले कारण सोधें । मामाले प्वाक्कै भन्नुभो – त्यै डाम्नाले गर्नुगर्यो नि भाञ्जा !
मैले कुरा बुझें मामालाई डेङ्गो लागेछ । सँसङ्गै डेङ्गी पनि हुनसक्छ । म मनमनै त हाँसेको हुँ तर प्रकट गरेको थिइन मामाले भनिहाल्नुभो सारै बाठो हुँदो रहेछ नि भाञ्जा त्यो डेङ्गो डाम्नु ।
म केही नबोली उभिएकै थिएँ मामाले नै भन्नुभो मेरो बिस्तरामा त्यो तपाइँले दिएको झुल टाँगेर सुत्ने गर्थेँ लामखुट्टेहरू त आकाछन् आकाछन् भयो । किन यस्तो भो भनेर हेरेको त झुलमा ठाउँ ठाउँमा प्वाल रहेछन । त्यहिँबाट पस्दारछन् र खाँदै ओकल्दै गर्दा रहेछन् । अनि त म के गरुँ कसो गरुँ भएँ एउटालाई समाएर टोकिदिन्छु भन्दा भन्दै फुत्केर उड्यो अनि मैले सारा लाम्खुट्टेलाई जिल्याउने बुद्धि निकालें । त्यो ओछ्यान छाडेर अल्ली परतिर अर्को ओछ्यान बनाएर सुत्न थाले ।
लाम्खुट्टेहरू आउँछन् मान्छे पक्कै झुलभित्र छ ठान्छन् त्यहिभित्र जान्छन् यता म ढुक्कै निदाउछु भन्ने मेरो सोच थियो तर त्यस्तो हुँदोरहेनछ भाञ्जा ! टोक्नु टोक्यो नि डाम्नाले डेङ्गो पनि भयो । सारै दुःख पाइयो ।
हाम्रा कुरा सुनेर मेरी उनी हाँसोलाई फुत्किन नदिन मुख थिचिरहेकी रहिछन् देखें ।
सानीले चिया ल्याई । मुसुमुसु मुस्कान दिँदै चिया पिउनथालेँ । मिश्रमामालाई लागेको रहेछ चिया नास्ता सहित आउँछ । तर त्यस्तो भएन । मामा चिया तुर्याएर जानुभो । हामी दुई पेट मिचीमिची हाँस्न थाल्यौं ।
०००
यहाँ अलिकति खासकुरा पनि भनीदिउँ ऊ मेरा मामा खासमा होइनन् । धेरै पहिलेको कुरा हो एकजना मान्छे बेसार बेसार फलाक्दै आयो । बोलाइयो ऊ त शरीरभरी बेसारै बेसार भएको बेसार व्यापारी रहेछ । गाउँगाउँ गै बेसार किनेर सहरमा ल्याई बेच्ने मान्छे रहेछ । उसको अवस्था देखेर त्यहाँ भएका हामी सबै मुर्छा हुनेगरी हाँस्यौं ।
उनले के ठाने उनै जानुन् । मैले के ठाने भने यो बेसार बेपार सजिलो काम होइन । तर पनि गरेकै देखेर परिचय बनाउन खोज्दा ऊ त मिश्र थरी रहेछन् । मेरा मावली मिश्र भएकाले मामा भनिदिएको थिएँ ऊनी पनि खुसी भएछन् । यसरी बेलामौका भेट्न आउने गर्छन् ।
०००
नारी र पुरुषमा समान अधिकार हुनुपर्छ भन्ने बिषयमा चर्को बहस चल्न थालेको अवस्थामा हर्केका घरमा पनि त्यो बिषय सर्प दुलोमा सुत्त पसेझैं पसेछ । हर्केका पतिपत्नीमा पनि त्यो विषयले रडाको मच्चियो । यो कसरी बल्झियो त भन्दा दशैंको टिको लगाएपछि हर्केले श्रीमतीलाई आफ्नी आमाका गोडामा ढोग्नुपर्छ भन्दा श्रीमतीजी रिसले आगो भैचन । जति फकाउँदा पनि भएन । उनको माग रहेछ पतिकी आमाका पाउमा पत्नीले ढोग्न परेपछि पतिले पनि पत्नीकी आमाका पाउमा ढोग्नुपर्ने कुरा आएछ ।
हर्केले बिचार गरेछ पत्नी माता पनि आमा नै हुन ढोग्न हुन्छ भनेपछि हर्केजोडा सुुराली पुग्यो । टिकाटालोमा हर्के गोडा समात्न जाँदा सासुआमाले फुत्त गोडा हटाइन् । बहस जारी भएको कुरा मिश्रमामाले मलाई भने ।
०००
नयाँ वानेश्वर, काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































