केशव दुवाडीघरज्वाइँको धन्दा
मलाई परेन त बम्पर उपहार ? श्रीमती सधै डान्स रेस्टुरेन्टमा मस्त, सासू ससुरा पूजापाठमा व्यस्त, म पनि ढुङ्गाको मूर्तिझैँ एकै ठाउँमा व्यस्त । श्रीमतीले जेजे गरे पनि परेको वेहोर्ने म छँदैछु ।

म फुटेको कानो कौडीमा पनि नबिकेर धोबीको कुकुर जस्तो घरको न घाटको भैसकेको महामान्छे । पारख न पौरख काम न काज, खायो ढिँडो हल्लियो हिँड्यो, शरम न लाज । कोदालो काँधमा हालेर कृषिमा जाउँ भने पन्ध्रबर्षसम्म लिति कसेर जडाउरी र बासी शिक्षा हासिल गर्दा भएभरको शिरीखुरी चिलिमच्वाँट भैहाल्यो । जगिर खोज्न जाउँ भने कहाँ हराएको छ र ?
पन्ध्रबर्षसम्म गाँडमा भात लिएर शिक्षालयमा धाउँदा स्नातकको उपाधि त पाइयो तर अंग्रेजीको २६ र नेपालीको ३६ अक्षर भन्दा बाहिर जान सकिएन । चोरीचकारी गरेर पाएको प्रमाणपत्र जागिरमा जाउँमा भन्दा लिखितमौ फेल नौ रात नसुतेर लिखितमा बल्लबल्ल निकाल्यो अन्तर्बार्तामा तीन बल्ड्याङ्ग । फोर्स मरु कसो गरु । हामी सानो छँदा लेकाली दाइले नून बेच्न ल्याउँथे । त्यो बेला उनले भन्ने गरेको मेरो दिमागमा अझै जिउँका तिम छ ।
उनी भन्ने गर्दथे अदुवा हाल, खुर्सानी हाल, जीरा हाल, तर नुन नहाल त तेरो तिहुन कस्तो हुँदो रहेछ ? त्यही सूत्र अहिलेको प्रजातान्त्रिक प्रणालीको निष्पक्ष शासनमा लागु भएको छ । बीए पढ्, एमए पढ्, तर फोर्स नलगा त तेरो प्रमाणपत्र बाँदरको पुच्छर लौरो न हतियार हुन्छ कि हुँदैन ?
यता समयको बर्बाद उता पैसाको खती गरेर पत्रिकाको विज्ञापनमा दरखास्त हाल्नु भन्दा दरखास्त किन्ने पैसाले एकबोत्तल ठर्रा किन्यो छिँडीमा बस्यो नून खुर्सानीसँग दन्कायो । कमसेकम निद्र्र्रा त पाइन्छ कि ? ठर्राको अम्मल बोराको कम्मल शिक्षित बेरोजगार जिन्दावाद ।
बूढापाकाहरू भन्ने गर्थे ‘सांगो मात्र होइन पांगो पनि पढ्नु पर्छ, सुल्टो मात्र होइन उल्टो मन्त्र पनि जप्नु पर्छ, वेद मात्र हौइन भेद पनि पढ्नु पर्छ’ । स्नातकको प्रमाणपत्र चाकरीको चलाखीपूणर् कला बिना टुहुरो हुँदो रहेछ । १२ बर्ष रामायण रट्यो सीता कसकी जोई हिँड्दैछ पाइला मेट्दै छ, हात्ती आयो हात्ती आयो फुस्सा, माछा माछा भ्यागुता, हिसाब गर्यो गर्यो हातमा लाग्यो शून्य । अनि के गर्ने ? लाटोले केरा हेरे झैँ प्रमाणपत्र हेर्यो बस्यो ।
नहुने मामा भन्दा कानो मामा निको भन्ने कुरालाई बुझेर जागिरको खोजीमा भन्दा लागेँ कुस्त गाँठवाला ससुरालीको खोजीमा । कहिले भीडभाडमा बगली मार्ने, कहिले चलचित्रालयमा टिकट ब्ल्याकमा बेच्ने, गरेर केही पैसा बनाएँ । प्यारालाल पाइन्ट र डिंगो सुज किनेर लगाएँ । कपालमा खैरो मेहन्दी लगाएँ अनि बिहान बेलुका सडकका खम्बाहरूमा एक दुई लात हान्दै हा…हु… गरेर काठका डाडु जस्ता हात खुट्टा हल्लाएँ ।
चुइगम प्याट प्याट पड्काउँदै महलको झ्यालतिर आँखा लगाएँ । अंग्रेजी फेसन नेपाँगं्रेजी बात, छिडीमा काट्छु रात , खानु छ उसिना चामलको भात । म्याडोनाको तस्वीर माइकल ज्याक्सनको गीत गल्लीका भुस्याहा कुकुर सबै मेरा मीत । राती ट्वाँट खाएर गल्लीमा मुन्टो जोत्दा एक हुल भुस्याह कुकुरले मुखमा म्वाइँ खाँदै देब्रे खुट्टा उचालेर तुक्र्याए पनि दिउँसो महले मैयाले आँखा जुधाइहाल्छिन् ।
मोटरसाइकल किन्ने गाँठ नभए पनि हेल्मेटचाहिँ किनिहालेँ । पैसा भएको बेलामा भाँडाको मोटरसाइकल गुडायो नभएको बेलामा हेलमेट हातमा लियो पेटीबाट हिड्यो । हेलमेट हातमा लिएर गजल रेस्टुरेन्टको ढोकामा देब्रे हातले कपाल मिलाउँदै साइड हान्दै बसेपछि मैयाहरू बत्तीमा पुतली झुम्मिए झै झम्मिन्छन् । आज हेल्लो भोलि हाइ पर्सिदेखि त इलु इलु । भट्टीमा दन्काएर सार्वजनिक पिशावालयमा लाइनमा बसेर आची गर्दा पैसा लाग्छ भन्ने डरले कागजले पुछ््ने अनि सु गरेको भनेर हिड्ने मान्छेलाई महले मैयाको मायालु हातले स्पर्श गर्दा पार्वतीको शौन्दर्य देखेर जालन्धर मुच्र्छा परे झैँ झण्डै ढलेको म !
हत्तपत्त सम्हालिएर खुट्टा घुमाउँदै हाउ आर यु ? भन्दा लगौँटीमा लागेको आचीको खोष्टाले दुख्नेगरी पाछ्यो । करोडपति बाउको अरबपती छोरा भनेर परिचय दिएपछि मैयालाई रेस्टुरेन्ट भित्र त लानै पर्यो । बेराले मेनु ल्यायो, मैयाले चिनो लगाइन्, खानेकुरामा लाएको चिनो देख्दा दिमागमा आठ रेक्टर स्केलको भुईंचालो गइहाल्यो । अनि अलिकति खाए झैँ गरी मोटरसाइकल पार्क निषेधित ठाउँमा राखेको छु मिलाएर आउँछु भन्ने निहुँले बाहिर निस्किएर भक्कुचुर तालले कुदेँ । त्यसपछि सात दिनसम्म मैयाको महलको बाटै हिडिन ।
मसान घाटको गौंडो ढुकेर बसेपछि लास कसो नआउला भन्ने सोचेर लागेँ फेरि आफ्नै धन्दामा । साला जेठान कोही पनि नभएको गाँठवाली एकली सुपुत्रीको खोजीमा धेरै ठाउँ चाहारेँ । पढाइमा स्नातक लबाइमा पङ्कस, करोडपति बाउको एकलो छोरो भनेर हिँडेपछि बल्छीमा माछा नपर्ने त कुरै भएन । भने जस्तो जोडी भेटाइहालेँ । ‘आउन त आयौ प्रिये तर आची खाएर आयौ’ भनेझैँ पाउन त पाएँ तर जडाउरी पाएँ । सेकेण्ड ह्याण्ड लभ गर्नु जिन्दगीको ब्याड गेम भन्ने गीत त सुनेकै हुँ तर एउटा चर्चित अंग्रेजी उपन्यासमा ‘लभ इज नेभर ओल्ड’ अर्थात् प्रेम कहिल्ये पूरानो हुँदैन भनेर पढेको कुरा सम्झेर राहत महसुस गरेँ ।
उनलाई पनि मन पर्यो मलाई पनि मन पर्यो, उनको परिबारलाई पनि मन पर्यो । बल्लबल्ल घरज्वाइँको सपना साकार भयो ।
‘हुन त हुने तर अलिकति गन्हाउने’ भनेझैँ पेटमा अल्झेको अर्काको नासो आठ महिने भैसकेछ । ‘अर्काको नासो गलपासो’ भन्ने त सुनेको हो आफ्नै भनेर हल्ला चलाएँ । आफ्नो पनि भलो, उनको पनि भलो, बाउ आमाको पनि भलो, चार थरीको भलो हुने काम गरेपछि पापै गरे पनि अधर्म हुँदैन भनेर ब्रम्हपुुराणमा पढे जस्तो लाग्छ ।
जहाँसम्म स्त्री बिटुलो भन्ने सबाल छ बिहे गर्नुभन्दा अघि नै अर्काको भुँडी बोकेर बच्चा फाल्ने कुन्ती, पाँचजनालाई पति बनाउने द्रौपदी, आफ्नै यजमानसँग बिग्रने तारा, इन्द्रसँग सहबास गर्ने अहिल्या, आदिलाई हाम्रो धर्मशास्त्रले पञ्चकन्याको संज्ञा दिँदै ‘अहिल्या द्रौपदी तारा कुन्ती मन्दोदरी तथा मञ्चकन्या श्मरेत् नित्यम् महापातक नाशनम्’ । यी पाँचकन्यालाई बिहानै सम्झे ठूलै पाप पनि नास हुन्छ भनेको छ भने मेरी मैया अशुद्ध हुने त कुरै भएन ।
सबैकुरा ठीक पारेर बिहे गरेँ । दुई महिनामै पुत्रलाभ ! जिन्दगीको भुजा पनि चल्यो मरेपछि ढिकुराको पुजा पनि चल्यो । मलाई परेन त बम्पर उपहार ? श्रीमती सधै डान्स रेस्टुरेन्टमा मस्त, सासू ससुरा पूजापाठमा व्यस्त, म पनि ढुङ्गाको मूर्तिझैँ एकै ठाउँमा व्यस्त । श्रीमतीले जेजे गरे पनि परेको वेहोर्ने म छँदैछु । गल्लीको गुण्डाबाट करोडपतिमा बढुवा भैहालेँ सात पुस्तालाई पुग्ने सम्पति पनि हात पारे हालेँ, मजाले बस्या’छु खा’छु श्रीमतीको आफ्नै धन्दा सासूससुराको आफ्नै धन्दा म जोईटिंग्रे घरज्वाइँलाई खानाको मात्रै धन्दा ! हि..हि..!
०००
गोरखापत्र २०५४
Subscribe
Login
0 Comments
Oldest







































