खगेन्द्र नेउपानेएउटा मान्छे
कतै कहीं व्यञ्जनाका बक्र भाषामा उसकै अनुहार झल्झल्ती देख्छु जब ऊ कहीं कतै बोलिरहेको हुन्छ मलाई भित्रभित्रै पोलिरहेको हुन्छ राजनीतिमा एउटा मान्छे छ मलाई ऊ मन पर्दैन ।

राजनीतिमा एउटा मान्छे छ
मलाई ऊ मनपर्दैन
तर मेरो मन पर्नु नपर्नुले
केहि पनि गर्दैन ।
हरेक पल्ट चुनावमा ऊ उठ्छ
ऊ जितोस् भनेर मान्छेहरू भोट हाल्छन्
ऊ हारोस् भनेर म धूप हाल्छु
मेरो धूप हाल्नु नहाल्नुले केहि गर्दैन
मलाई एउटा मान्छे मनपर्दैन ।
मेरो लागि अनर्गल शब्दहरूमा
ऊ बारम्बार बोलिरहन्छ
जब ऊ बोलिरहन्छ
मलाई भित्रभित्रै पोलिरहन्छ
ऊ माथि उडिरहेको देख्दा
म तल ओर्लिएर उसैलाई गाली गर्छु
उसको शान सौकतको उँचाइ देख्दा
म अन्तरकुण्ठाको अँगेनुमा हामफाली मर्छु
तर मेरो हर्कतले केहि गर्दैन
मलाई एउटा मान्छे मनपर्दैन ।
उसका समर्थक मान्छेहरूलाई
चोकमै चिथोरौं जस्तो लाग्छ
उसको बिरोधमा भित्ता भित्तामा
छाडा शब्द कोरौं जस्तो लाग्छ
मलाई देशको अत्यन्त माया लाग्छ
मेरो नजरमा ऊ देशद्रोही हो
म ऊ खाल्डोमा गिरोस् भन्ने कामना गर्छु
तर उल्टो ऊ उचाईको आरोही भो
हरेक पल्ट ऊ बिरुद्धको बीष बमनले केहि गर्दैन
मलाई एउटा मान्छे मनपर्दैन ।
उसलाई ताली बजाउँनेहरूलाई
म झोले भन्छु
उसको समर्थनका पछुवाहरूलाई
म टोले भन्छु
उसलाई पोखिएका बिरोधका शब्दहरू
मलाई अत्यन्त प्रिय लाग्छ
मेरो अन्तष्करणको आक्रमणले
बारम्बार उसैलाई ताक्छ
तर पनि मेरो वितृष्णाले
केहि खालो सर्दैन
मलाई एउटा मान्छे मनपर्दैन ।
आजभोलि फेसबुकका पानाहरूमा
म उसैलाई गाली गरिरहेको हुन्छु
मेरा अन्तरका फोहोरहरू
उसैतर्फ फालिरहेको हुन्छु
नानाभाँती झुट खबरहरू कोरेर
उसको सत्यतालाई चुनौती दिन्छु
सामाजिक मर्यादामा नपच्ने तस्वीरहरू जोडेर
आफ्नै तहमा उसको हुर्मत लिन्छु
मलाई थाहा छ
मेरो कार्यले उसको रौं पनि झर्दैन
मलाई एउटा मान्छे मन पर्दैन ।
उसले बोलिरहेको प्रसङ्गबाट
एउटा वाक्य फुत्त झिकेर
अर्कै अर्थ लाग्नेगरी बजारमा फालिदिन्छु
अन्तर कुण्ठाको फोहोरी आहालमा
उसका दुर्नाम अक्षरहरू पोको पारेर
आत्म सन्तुष्टिको रागमा छप्ल्याङ्ग हालिदिन्छु
बजारमा जे देखे पनि
उसैलाई जोडेर झटारो हान्छु
अर्कै प्रसङ्गको कुरा चल्दा पनि
कुरा मोडेर उसैमा लान्छु
मलाई ऊ डल्लै मन पर्दैन
मेरो मन पर्नु नपर्नुले केही गर्दैन ।
अक्सर गरेर आजभोलि
उसकै बिरोधका कुरा लेख्छु
कतै कहीं व्यञ्जनाका बक्र भाषामा
उसकै अनुहार झल्झल्ती देख्छु
जब ऊ कहीं कतै बोलिरहेको हुन्छ
मलाई भित्रभित्रै पोलिरहेको हुन्छ
राजनीतिमा एउटा मान्छे छ
मलाई ऊ मन पर्दैन ।
०००
गौरादह, झापा
Subscribe
Login
0 Comments
Oldest








































