डा. छायादत्त न्यौपाने ‘बगर’मुस्कानका पाइला
सबैलाई मुस्कान पुर्याउने योग्यता सफलताले राख्छ । यसले सर्वाङ्ग मुस्कान पोतेर सृष्टि सौन्दर्यको सम्मान गर्न सक्छ । जीवन सम्पूर्ण अधर खोलेर मुस्कान छर्दै हिँड्छ ।
साझा कर्म हो सिर्जना । मनले रहर गर्छ । मस्तिष्क अभ्यासमा लाग्छ । चेतनाले पाइन हाल्छ । निरन्तर साधनाले परिष्कार गर्छ । सिर्जनामा स्वाद भरिन्छ ।
चुनौती हो सिर्जना । यसमा नवीनताले रस जुटाउँछ । सिर्जनाले सरस जीवन खोज्छ । यसमा कल्पनाका पालुवा अटाउँछन् । सिर्जना प्रकृति र भूगोलसँग खेल्छ । खेलमा खेलाडीहरूको प्रतिस्पर्धा हुन्छ । यस खेलमा समूह सक्रिय रहन्छ । खेलको दुनियाँमा व्यक्ति, समाज, देश र सिङ्गै भूगोल जुटेर बनेका समूहको बढी चासो रहने गर्छ ।
जीवन खेलहरूको सङ्गम हो । सिर्जनात्मक खेलले जीवनमा गति भर्छ । समूह निर्माण गरी सँगसँगै हिँड्न अराउँछ । यसले फरक परिवार र समाजका सदस्यहरू बिच एकता गराई सहकार्यमा जुट्न अभिप्रेरित गर्छ । यसले त जीवनमा केवल बिरुवा रोपेर चित्त बुझाउँदैन फूल नै फुलाउन चाहन्छ ।
खेल जीवनको रङ्गशाला हो । यसमा रङ रङका खेलाडी सहभागी हुन्छन् । व्यक्तिले व्यक्तिलाई पछारेर उत्सव मनाउँछन् । व्यक्तिले व्यक्ति पछार्नु नै सिर्जना हो ? यो अनुत्तरित प्रश्नले सिर्जना र जीवनको अन्तरङ्ग खोज्छ । यो खोजी चियामा चिनी खोजेजस्तै सिसिफसको कथा हो ।
यो सिर्जनाको सुइरो व्यक्तिले व्यक्ति पछार्नु होइन यश तथ्यलाई कतिले सहज स्विकार्छन् ? यही कुरा कतिलाई विश्वास नलाग्न सक्छ । मोती टिप्ने विषय मननीय चौतारी हो । चौतारीमा बिसाउनेहरू धेरै हुन्छन् तर सबैले बिसाउँछन् भन्ने हुँदैन । जीवन बाँच्ने सबै हुन्छन् तर जीवन अर्थ्याउने कम भेटिन्छन् । मोती टिप्ने रहर सबैलाई लाग्छ । धेरैले अभ्यास गर्छन् । केहीलाई सफलताले वरण गर्छ । धेरैलाई यो मौका पाउने सम्भावना न्युन रहन्छ । चल्तीको सफलता पत्याउने हो भने जनक, याज्ञवल्क्य, गौतम बुद्ध , अरनिको, जयपृथ्वीबहादुर सिंह, चाणक्य, कर्मचन्द गान्धी, अब्राहम लिङ्कन, कार्लमाक्स, नेल्सन मन्डेलाहरूसम्म पुगिएला । धेरैको नजरमा यसलाई सफल जीवन भनिन्छ तर ढुक्कले धारेहात लाउनेहरू छैनन् भन्न सकिन्न ।
यसो हो भने सफल को ? अर्को प्रश्न तेर्सिन्छ । के हो सफलता ? थप प्रश्नको घुइँचो ! चर्चामा आउनु, धनी हुनु, पदमा पुग्नु सफलता हो ? होेइन यो त प्रगति हो । सफलताले त सर्वप्राणीको अधरमा मुस्कान पोत्छ । सँगै सुखी हुन योगदान दिन्छ र बदलामा कुनै पनि प्रतिफल लिँदैन । यसले त प्रकृतिका हरेक अङ्गसित सहज सम्प्रेष्य भई सिर्जनाका डाली डाली सजाउन सक्छ । यो अरुको काँध चढेर अग्लिँदैन तर प्रगति अरुकै काँधमा उभिन्छ ।
सिर्जनाले संवेदनशील विधिव्यवहार गरे साझा जीवन मुस्कुराउन अप्ठेरो पर्दैन । बरु यसले सफलतालाई उज्यालो प्रदान गर्न सक्छ । जीवनका अङ्ग अङ्ग मुस्कुराउन पुग्ने कर्ममा सफलताको मुना पलाउनेछ सम्भावना बलियो हुन्छ तर सम्पन्नताले प्रगतिको सूचना दिन्छ । यसमा केही मान्छे मुस्कुराउँछन् । यसले सबैलाई पुग्ने गरी मुस्कान उत्पादन गर्न सक्दैन । सबैलाई मुस्कान पुर्याउने योग्यता सफलताले राख्छ । यसले सर्वाङ्ग मुस्कान पोतेर सृष्टि सौन्दर्यको सम्मान गर्न सक्छ । जीवन सम्पूर्ण अधर खोलेर मुस्कान छर्दै हिँड्छ । अस्तु ।
०००
पर्वत, हाल काठमाडौं
Subscribe
Login
0 Comments
Oldest






































