साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सपनाको मलामी

अहंकार, अज्ञानता, सङ्कीर्णता भनेको सपना नै हो.... । सपनाले मृत्यु वरण गरिसक्याे । सपनाकाे लास बाेकेर म मसानघाटतिरकाे यात्रामा निस्केकाे छु । अब मलाइ कसैले नराेक ।

Nepal Telecom ad

नवनिर्मित हिमालको चुचुरोमा थ्याच बसेर सुस्केरा हाल्नु पनि एउटा सानो सपना होइन । तपाई मान्नुस वा नमान्नुस् यसरी झट्ट बस्नु मान्छेको निजी विचार हो । प्रत्येक व्यक्तिको सपनाको हिडाई उठाई-बसाई औडेखोडे भए पनि आराम गर्नु एउटा अस्त्र हो । सपना एउटा सिक्काको कमाइ हो । हरेक कुरामा थाक्नु र पाक्नु मात्र सपना होइन । रातको प्रहरमा देखिने सपना मात्र सपना कहाँ हुन्छ र ? चैत महिनामा सिरकभित्र गुम्सिनु मात्र पनि सपना होइन । सपनामा मास्टरी गर्नुभन्दा व्याटरी बन्नु राम्रो हुन्छ । प्रत्येक सपनाको पाइलामा हामीले सेलको रेल जन्माएका हुन्छौं अनि सपनामै गुमाएका हुन्छौं । फलानोको छोरा तिलानोले फलानो अंशको सपना देखेछ- हामी भन्छौं । प्रेमले प्रेमिकालाई देखेनछ । यो कुरा सुनेर टाउकोमा फुलौरा खाएको नसम्झिए हुन्छ । सेताम्पर साठी सत्तरीमा बृद्धभत्ता खानेले पनि सपना देख्न कुनै महाज्ञानी हुनु पर्दैन । मीठो कुरो बुजो हालेर मरन घाट पुगेर पनि सपना देख्न ऐया आथ्थु भन्नुपर्दैन । सपना देख्न मर्नु न हाँस्नु गर्नुपर्दैन, सपनामा सिन्को भाँचेको पनि महत्वको घटना हुन्छ । यो सपनाको मन्तव्य भै हाल्यो ।

गाईको बाछो लाटो भए पनि आमाको थुन तान्छ । कौवा बाठो भएर पनि आची खान्छ । मानिस बाठो भएर कावा खान्छ भन्छन् । कानमा नराम्रो अनेक वतास नचलेपछि मात्र सपना देखिने कुरा सत्य होइन । सपनामा कतै कमाउनु छ कतै रमाउनु छ त कतै गुमाउनु छ । यसलाई पनि सपनाको मन्तव्य मानि दिउँ ।

तपाइँ जुनसुकै सुताइमा सपना रङ्गाएर कल्पिनु होस् । जुनसुकै रङ्ग र जुनसुकै आकारको देखे पनि बाँच्ने रहरमा सपनाले पर्छादैन होला । वास्तवमा सपना कतै पोलिएर, पेलिएर, तासिएर, नाघिएर जस्तो बेलामा पनि हँसमुख हुन तम्सिने सपनालाई कुतकुत लाग्न सक्छ । हरेक अनुत्तरित सपनाले सोझो सास मात्र फर्दैन, उसले बाँच्ने अभिलाषा बोकेको पनि हुन्छ । सपनाले जुक्ति फुराउन सक्छ । यो युग सपनाको मोलमलाईमा सडकमा हिडिरहेको छ ठमठम । उसलाई सपना पाल्ने फुर्सद छैन । यो सपनाकै मन्तव्य हो ।

वास्तवमा प्रत्येक हिंडाइमा सपना भेटिन्छ । झन् अफिस तिरको को त के झन चर्को छ । जुनसुकै दुःख परे पनि नमर्ने सपना ठगाहको सपना । रोई कराई गरेर भुस खाने सपना । मनमा अनेक पिर पिधेर पनि झ्ल्याटुङ्गे पिँजडामा सुगा थुन्ने सपना । आङ नाङ्गै भए पनि ्धक्कु लाउने सपना । तालमेल नमिले पनि काम लिने कामठगीको सपना । साइकल किन्न नसक्नेले महाँगो कारमा सवार हुने सपना । एक कित्ता शेयर किन्न नसक्नेले करोडौँ कारोवारको सपना । घरमा नुनतेलको जोहो गर्न नसक्नेले गाईको गुइठामा आगो ताप्ने सपना । म्याराथुन कुनै खेल जित्न नाङ्गै कुद्ने सपना । झिँगटी छानामा बस्नेले गुच्चा जत्रो महलमा बस्ने सपना । टाटेपाङ्ग्रेले सिंहासनमा बस्ने सपना । तीनपाने पिउने सपना । झ्याउरे गाएर न्याउरे हुने सपना । पुन्टे भएर भुन्टेको सङ्गीत भर्ने सपना । संसार स्वप्निल छ र यो त्यी स्वप्निल संसारको सपना-मन्तव्य हो ।

नास्पातीको बोटमा अम्बा फलाउने सपना । भोगटेको बोटमा मेवा फलाउने सपना । सपनाको मर्म देखेर मख्ख नहुनु होस् । सपनाले कुन बाटो हिँडे कहा पर्‍याउँछ थाहा छैन । ओछ्यानमा पुग्नुहोस् अनि लचकदार बिछ्यौनामा सुतेर कालो कैलो ध्वाँसे टाटेपाटे पाङ्ग्रे जे जस्तो सपना देखे पनि सपना परिपक्क हुँदै थाक्न पाक्नु कुनै अड्कलबाजी नगरेकै बेस हो ।

नेपाली राजनीतिको सिलावरे थालमा राणा सासनकोे सपना । पञ्चायती प्रजातन्त्रको सपना । लोकतन्त्रको सपना र गणतन्त्रको सपनामा थाङ्ने कुर्सीदेखि झुत्रो सिहासन पाकिरहेको र ताकिरहेको सपना । सोमाजको साइवरमा बसेर सपनामा कोहि भुटुभुटु भुटिन्छन् । सपनाको बिचलनको खाडलमा खसेको छ । आँखै नदेख्नेले पनि सपना देख्छ भन्दा छक्क नपर्नू किन की सपना आँखाले देख्ने कुरा होइन । लुरे नसे ख्याउटे दुब्ले पातलो थसुल्लो जो कोहीले सपना देख्छ । अरुलाई पासोमा हालेर बोको खुइल्याए झंै हाँस्ने प्रविधि भैदिए कस्तो हुन्थ्यो होला ! बुढ्यौलीमा देखिने सपना पुतली जस्तो सुन्दर भए पनि अँध्यारै हुन्छ भन्छन् । अँध्यारो जङ्गलभित्रबाटै सपनाको मन्तव्य प्रशारित भइरहेको यो अनौ परिवेश हो ।

निधारका फुलेको फुलौराको सपनाले मान्छेलाई ऐश्यर्वशाली बनाउँछ भन्थे होइन रहेछ । हरेक कुरामा पूज्य भगवानहरूको नाम जपिरहनु सपना र जपनाको तिर्सना नै हो । कस्तो आश्चर्य ! ढुङ्गाको मूर्ति पुजेर सपनाको संकल्प गर्नुपर्ने । प्रत्येक व्यक्तिले आडम्बरको सपना देखेका हुन्छन् । पटक पटक सपना देखेर शरीरका आँख्ला र जोर्नी दुखे पनि सपनाको गन्ध । कसैको रुवाई हँसाई र लवाई खुवाई पनि सपना बनिरहेको हुन्छ । यो मेरो सपनाको मन्तव्य हो । कसैले हलुवामा बालुवा ठान्दै उराठिला आँखा गाडेर यो भाषणमा तालि बजाए बजाउन् । आखिर ताली बाहेक के पो बजाउन जानेका छन् र ?

आमाले हकारेको सपना । बाले ललकारेको सपना । मगजमा सड्ेको कुरा पुरिँदैन । म पुरा गर्न सक्दिन । म गोलभेडा जस्तो कति रातो हु्न कतिपटक सड्किए मुला भएँ । आलु खाँदाखाँदा पिँडालु् हाँस्न नपाइने यो संसार । यो मनले ज्ञानगुन खोज्दा दिक्क लागेर कति सपना देखेँ हुँला । कसैले खाने पानजस्तो तितो सपना देखेको होलान् । कसैलाई गाली गरेर ताली बजाउने सपना देखियो होला । नवनिर्मित धरहरे समाजको साइवरको कुर्सिमा थ्याच्च बसेर मान्छेले सपना कति देखे होलान् । लामखुट्टेको सपना अरुलाई डस्ने मात्र हुन्छ । स्यालको सपना अरुलाई लखेटी लखेटी मार्ने मात्र हुन्छ । झिँगाको सपना अरुलाई चुसेर फोहर गर्ने मात्र हुन्छ । हुँडारले जनि माया गरे पनि सताएकै हुन्छ । यस्तो कुरालाई स्वागत गर्न तिनबित्ता माथि उठ्न सकिँदैन । सपना खाएर सपनै देख्नलाई यो मन्तव्य काफी छ ।

यस बेला गाउ शहरमा सपनाको भ्यूटावर बनाउने सकर्मलाई रोक्न लामखुट्को सुँढले अवरोध गरेको छ । यो प्रकरणले झिगाको कानमा बतास चलेको होइन । भुस्याहा कुकुरले पनि सु्नेको हैन । अरुको त कुरै छोडौं । कुनै दिन पेटको गाँस काटेर छाक टारेर बनाउन आँटेको भ्यूटावर बनिसक्यो भन्ने कुरा भुसुनाले सुनेको हैन । मान्छेकै कुरा गरौं न त । कुन दिन सपना बित्ने हो । यस दिन कि उस घडि था छैन । कहिले हो कुन्नी माड्साबले सपनाको मन्तव्य चरमचर चपायो । पहिला आधा शहर निल्यो । त्यसपछि गाउँ शहर टोल बस्ती एकै घुट्कोमा रित्यायो रे । सत्र हजार मान्छेको फिला समाउनेहरू अहिले संसदमा गिलास समाउने भएका छन् । सपना भनेको यहि हो र ? मान्छे रित्याएर माला भिर्ने । संसारका मान्छे हत्या गरेर सिद्धान्त बनाउने । बस्ति सिद्धाउने अनि सपना देखाउने । नयाँ सपना अरे ।

त्यसो नगर भनेर विशिष्ट कुरा उठान गरेर हात उठाउने कोही छैन । यहि सरोवर निल्ने सपनाको मन्तव्य फटाहाको भाषामा कोट्याउन खोज्दैछु । सपनाको मन्तव्य सेलजस्तो घुमाउरो छ, कि दाउरोजस्तो बाङ्गो टिङ्गो छ । दृश्य राम्ररी नबुझिए पनि तपाईंले अनुमान लगाइसक्नु भयो होला । धरहरा चुम्ने लामखुट्टेको माउले आकाश छोला जस्तो भैसक्यो । पाताल भासिएला जस्तो छ । यही प्रसङ्गमा सपनाको मन्तव्य गन्तव्य हेरेर चर्चा चोरेर चुल्याउन खोज्दैछु । कोहि फिस्स हाँसे पनि मैले देख्ने हैन । यो सपनाको केमेस्टी पनि हो ।

आजको युग खन्तीराजाहरूको जुग हो । सपना त मर्ने बेला सुन चाँदी र नगद नारायणको कुरा गरेर पनि पासो थापेको देखिन्छ । सपनामा डढेलो लागेको बेला विनम्रताको लड्डु पेडा पनि जलेको हुन्छ । यो सपनाको मन्तव्य नभए पनि जुगजमाना नाम पनि नफेरिन सक्छ । यो सपनाको मन्तव्य भै हाल्यो ।

अझै भन्ने हो भने टोलमा आफ्नै भएका बाटो मिचेर सपना बुन्ने पछि छन् । अंश लुटेर खानेलाई सपनामा हाच्छुयूँ आउँदा प्राज्ञिकले हात मिलाउछन् । खकार आउँदा थुक्न जाँदा दिने ज्ञानका विद्वानको भेल छ । प्रेमिकासित हिँड्नुस्, जँड्याहासित बसउठ गर्नुस् । सबै भन्दा पातलो पानी, पानी भन्दा पातलो कुरा हुन्छ । कति मज्जाको कुरा । नेतासित हात नमिलाउनुस् । गुरुसित नमिल्नुस् । एउटा मित्रसित अंकमाल गर्नुस् । अकस्मात उनिने पतलुगो कोट र टाई उनिनेमा पनि उनीहरूले अद्भुत पनि सपना देख्ने गरेका छन् । सपना देख्नेको लस्कर हेरेर समाचार पढेर खुशि मान्ने पनि वडा सदस्यदेखि सासद पनि धेरै छन् ।

टोलमा मलामी जाँदा भात र छालाको जुत्ता बजाएर जानेको डाको ठूलो छ । यस्तोलाई खै के को सपना भन्ने । आफु त जवानीको काक्रो किन्ने त परै जावोस् त्यसको थाक्रो हाल्ने डेडअक्कली बन्न समेत सकेको छैन । गल्लीमा हल्लिखल्ली गरेर सपनाको चर्चा उहि पराले आगो झै बढेको छ । सपना भन्ने कुरा बजारको तरकारीको परिकार भन्दा भिन्न छैन । सपनाको हिम्मत दुब्लो पातलो अग्लो होचो मोटो थप्चो जस्तो भए पनि ऊ समाजमा होची अर्गेली हुँदैन ।

यहाँ चर्चा गरिएको प्रसङ्ग किन यस्तो औडे र खौडे भएर सतह नमिलेको भन्नु होला । सोझै बुझ्दा यो नै सपनाको विशिष्ट रुप हो । सपनाले समाजलाई कब्जा गर्न खोजेको छ । देशविरामी पर्दा धेरै धर्यै बस्ने उपाय भएको हँुदा यो काम लाग्ने कुरा हो । यो विचारको तहमा सपना फरक धारणा भए पनि भविष्य बनाउन हिडेका मानिसलाई विद्वानले पनि नयाँ नयाँ सपना देख्ने सल्लाह दिन्छन् । आफूले देखेको सपना राम्रोसित सजाएर राख्न नसके चल्र्यामचुर्लम फुट्न के बेर ! समाजको सिर्जनाकार सपना नै हुन् ।

समाजमा लाखौ मानिसले मनपरि ढंगले देख्ने सपनामा पनि कमाउधन्दा देखिन्छ । सामान्य मानिसले पनि पुरानो सडकलाई नयाँ सडक भनेजस्तो लाग्छ । मनको छेकथुनमा पनि झण्डा नपाउने झण्डा र डण्डाको सपना । सपना जति गनाए पनि वैज्ञानिकले यसको नाम फेरिन सक्दैन । माथि पुग्ने सपना तल झर्ने सपना । कतै कसैलाई दोब्रयाउन गरिने साँठगाँठको सपना हो । फुटबलको खेलको सपना बेग्लै पाराको छ । ११ मिलेर ११ लाई हत्याउने । कतारको विश्व कप त्यहि भयो आजसम्म सपनामा तीनपाने पिउने पनि चमेनामा रमाउने थालेका छन् । काली नदी जाने साली नदीमा पुगेका छन् । चारमाने पनि धुरीमा रमाउने भएका छन् ।

एैया र आथु गरेर बाँचिरहको मेरो कलम पनि सपनाको शब्द कोरेर बृद्धपितामह जस्तै बूढो भएको छ । कतै सपनाले पहाड छोला जस्तो । कतै पाताल डुब्ला जस्तो सपना । यो मत्र्यलोकको मनमोहकता भनेकै सपनाको मन्तव्य हो । यो अध्यारो सौन्दर्य होइन । कमल शब्द कोर्दाकोर्दै सपनाको परमधाममा गए पनि त्यसको बोधार्थ पत्र कतै आपिसमा दिनु पर्दैन ।

ठ्याक्कै भन्ने हो भने प्रकृतिमा जन्मेको दुर्बलता, अहंकार, अज्ञानता, सङ्कीणर्ता भनेको सपना नै हो । किन हो कुन्नि मेरो कलमले मलाई अनेक अर्डर गरेर मुटु कमाउने गरि घोक्राइरहेछ । झिनो सासको आशामा काम्दो स्वर लिएर म त सपनामा सपनाकै मन्तव्य दिन पुगेको रहेछु । अहंकार, अज्ञानता, सङ्कीर्णता भनेको सपना नै हो…. । सपनाले मृत्यु वरण गरिसक्याे । सपनाकाे लास बाेकेर म मसानघाटतिरकाे यात्रामा निस्केकाे छु । अब मलाइ कसैले नराेक ।

०००
काठमाडौ
२०७९ पौष २५

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सेकुवा बाजेलाई अर्को पत्र !

सेकुवा बाजेलाई अर्को पत्र...

ठाकुरप्रसाद अधिकारी
टुकुचा !

टुकुचा !

ठाकुरप्रसाद अधिकारी
बडोहरूको तगडो चर्चा

बडोहरूको तगडो चर्चा

ठाकुरप्रसाद अधिकारी
हल्ला जस्तो हल्ला किन ?

हल्ला जस्तो हल्ला किन...

ठाकुरप्रसाद अधिकारी
आधुनिक नाता आतङ्क

आधुनिक नाता आतङ्क

ठाकुरप्रसाद अधिकारी
खुट्टा

खुट्टा

ठाकुरप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x