चिरञ्जीवी दाहालचोक्टा खान जाँदा
मलाई निकै असजिलो लाग्यो । अर्कोतिर मलाई भने झनै सङ्कट पर्यो । खाउँ च्याँख्ला पनि काँचो छ पिंडालु पनि काँचो, कसरी खानु ? नखाउँ भोकले पेटमा मुसा दौडन थालेको छ ।

मलाई लाग्यो सधैं घरको गुन्द्रुक र भात मात्र कति खानु ? यसो कहिले कसो त कसैका घरमा पाहुना बन्न पो जानु पर्छ कि के हो ? बुद्धि त आयो तर ढिलो आयो । यस्तो बुद्धि उहिले आइ दिएको भए घरको पनि जोगिने मिठो मसिनो पनि हसुर्न पाइने । जे होस् अब कतै न कतै जानै पर्यो । यसो विचार गरें छोरीका घरमा जाउँ, मान सम्मान त राम्रै होला तर भाले सम्धीकहाँ रित्तो हात जाने कुरा पनि भएन । आफू परियो पोथी सम्धी । मिठो मसिनो खाने लोभमा कोशेलीको पल्ला भारी पो हुन्छ कि भन्ने डर । साँच्चै भन्ने हो भने यो घाटाको पाहुना बन्ने कुरामा सचेत हुनैपर्छ । त्यसैले यो निणर्यलाई ठाडै रद्ध गरिदिएर अब छोराको ससुराली जाने योजना बनाएँ ।
अब भने भाले सम्धी आफै बन्न पाइने भइयो । बिना कोसेली पात लागें पाहुना बन्न आफ्नै पोथी सम्धीका घरतिर । सम्धीका घर जानु छ, दिउँसै पुग्नेगरी जाने कुरा पनि भएन । मध्यान्हतिर घरबाट निस्किएको मात्र के थिएँ, अचानक कालो बिरालोले बाटो काट्यो । एकमन लाग्यो, साइत परेन, कालो बिरालोले बाटो काटेपछि जानी जानी कसरी जानु ? हुन त आफू केही काममा निस्केको पनि त होइन नि ! साँझ राम्रै खातिरदारी कसो नहोला ? कमसेकम खसीको नभए पनि ब्रोइलरको मासुसँग भात खान पाए पनि आफूलाई पुगिहाल्यो । आफ्नो मूल उद्देश्य भनेको कम्तिमा पनि एक दुई छाक भने पनि घरको गुन्द्रुक भात छल्ने मात्र न हो । कमसेकम भाले सम्धी पाल्नु भो भनेर मिठो मसिनो ख्वाउने नै छन् । नाथे बिरालोले बाटो काट्दा के पो नापिन्छ र ? मजाले सम्धीको मेजबानी कल्पना गरिसकेको मेरो अन्तरआत्माले अन्ततः जाने नै निधो गर्यो । म मुख मिठ्याउँदै बाटो लागें ।
जब म सम्धीका घर पुगें, सम्धी घरमा थिएनन् । सम्धिनीसँग ढोगभेट भयो, सन्चो बिसन्चोका कुरा भए । लाग्यो राम्रै खातिरदारी होला जस्तो । सम्धी भने किनमेलका लागि बजार गएका रहेछन् । सम्धिनी भान्सामा आगो फुक्दै थिइन् । घरभित्र मात्र होइन बाहिर पनि धुवाँले बसिनसक्नु थियो । निकै बेरपछि सम्धी आइपुगे । सायद अँध्यारोका कारण उनले मलाई देखेनन् । भित्र पस्नासाथ आफ्नी अर्धाङ्गिनीसँग भन्दै थिए । “पुरानो पैसा नतिरेसम्म चामल नदिने रे । भतुवाले उधारो दिन आनाकानी पो गर्यो त ! लौ बुढी आज पनि मकैको च्याँख्ला नै खानु पर्ने भयो ।“
सम्धिनी भन्दै थिइन “ हत्तेरी बाहिर सम्धी आएका छन् । अलि बिस्तारै बोल्नुस् । बरु अब के कोचाउने हो ? बित्यास पो पर्यो त !
आफूलाई भने औडाहा हुन थाल्यो, छटपटी भयो । घरको तातो गुन्द्रुक र भात सम्झिएँ । घरमा भएको गुन्द्रुक भात खाइसकेर पनि यतिबेला त ओछ्यान तातो भइसक्थ्यो । अब मलाई मिठो मसिनो होइन आजको दिन जे जस्तो खाएर हुन्छ पेट भर्न पाए हुन्थ्यो भन्ने लागिसकेको थियो ।
फेरि सम्धिनीले बोलेको सुनियो “लौ मार्यो च्याँख्ला पनि सकिएछ । अब सम्धीलाई के घिचाउने होला ? पाहुना पनि घरमा सबै चिज सकिएको बेला अन्भरिनु पर्ने, लाज नभएका । हुन त उखानै छ, “पाहुनालाई आइ’दे भयो बच्चालाई रोइ’दे भयो ।”
अब भने मलाई खपिनसक्नु भयो, सायद आज भोकै सुत्नुपर्छ होला । एक छिनपछि जाँतो चलाएको जस्तो लाग्यो । सायद च्याँख्ला पिस्ने काम हुँदै थियो । यसै बिच करिब रातको एघार बजेको हुँदो हो, भित्रबाट बोलावट भयो “भान्सा गर्न पाल्नुस् । अलिकति उत्साह, केही शङ्का र भारी मन लिएर भित्र पसें । राम्रोसँग नपिसिएको मकैका आधा फक्लेटो उसिनेको च्याँख्ला देख्ने बित्तिकै मेरो उत्साह मर्यो । सायद राम्रोसँग आगो बलेन कि के हो ? च्याँख्ला काँचै थियो । च्याँख्लामाथि बटुकोको पिंडालुको तिहुन खन्याएर खान खोज्दा थाहा भयो पिंडालु पनि काँचै रहेछ । पिंडालु पाकेको छ कि भनेर मिच्न लाग्दा फुत्त चिप्लिएर भान्साको कराहीमा फ्यात्त खस्न पुग्यो । अब भने कराहीको बाँकी पिंडालु सबै जुठो भयो । लौन नि, तिहुन जुठो भइहाल्यो नि ! के गर्नुभा होला सम्धीले यस्तो ? अब यो जुठो तिहुन कसरी खानु ?
म सम्धीलाई झोक चलेछ, बाँकी पिंडालु कुँडो पकाएको ताउलोमा खन्याएँ । मलाई त एक कचौरा तिहुन छ । अब बूढाबूढीले केसँग खालान् ? मलाई निकै असजिलो लाग्यो । अर्कोतिर मलाई भने झनै सङ्कट पर्यो । खाउँ च्याँख्ला पनि काँचो छ पिंडालु पनि काँचो, कसरी खानु ? नखाउँ भोकले पेटमा मुसा दौडन थालेको छ । अन्तमा खाउँ या नखाउँको अन्तद्र्वन्द पछि जसोतसो आधा जति च्याँख्ला खाएर उठें । राती नराम्रोसँग पेट दुख्न थाल्यो । जब बिहान भयो चर्पीको ढोकाबाट भित्र छिर्न पनि भ्याइएन । सुरुवालको इजार खोल्न प्रयास गर्दै थिएँ, तर अहँ समय अपर्याप्त भयो । एकजोर मात्र सुरुवाल धोइपखाली गर्नु परेपछि मेरो कुन हविगत भयो होला ? आफै अनुमान गर्नुस् । चोक्टा खान गएकी बूढी झोलमा डुबेर मरी भनेको यसैले रहेछ ।
हुन त पाहुना लाग्ने काम सजिलो काम होइन रहेछ । आखिर जता पाहुना बन्न गए पनि आखिर कुरो भने उस्तै रहेछ ।
अस्ति भर्खर सिंहदरबारमा पाहुना लाग्न गएका एकजना पाहुनाको कथा पनि करिव मेरो जस्तै रहेछ । पहिले निकै स्वागत सत्कार र खातिरदारी भएछ । जब साँझ काँचो च्याँख्ला कोचाइयो, सुन्दैछु तिनले पनि सुरुवाल खोल्न भ्याएनन् अरे ।
०००
चितवन
Subscribe
Login
0 Comments
Oldest







































