विनाेद खनालऐलानी कवि गोष्ठी
कार्यक्रम उद्घाटन लगत्तै प्रमुख अतिथिलाई मन्तव्य लागि निमन्त्रण गरियो, तीस मिनेटको छोटो मन्तव्य राखेर मायाको चिनो लिएर प्रमुख अतिथि टाप कसे । त्यो दिनको रमाइलो संझदा संझदै कतिखेर फुस्सै निदाएछु !!

ऐलानी सभाहलबाट कविगोष्ठी कार्यक्रममा निम्तो आएपछि म फुरुक्क परें । फुरुक्क परेर जुरुक्क उठें र खुरुक्क भान्साघरमा गएर घरबुढीलाई सुनाएँ, ऊ त बुरुक्क पो भई । म छक्क परें, सधैं त यस्तो खबर सुन्नेबित्तिकै “म पनि जान्छु है तपाईंको कार्यक्रममा, मलाई पनि एउटा कविता लेखिदिनू, म पनि सुनाउँछु” भन्ने मान्छेले यसो किन गरी भनेर अनुसन्धान केन्द्रबाट खोजी गरे जत्तिकै गरेर कारण खोजें । कारण चैं कस्तो परेछ भने, त्यही दिन भाउजूकी बहिनीको नन्दकी भाञ्जीको छोरीको गुन्यूचोलीको निम्तो आको रछ । यता मेरो कविगोष्ठी, उता त्यति नजिकैको सम्बन्धबाट आएको निम्तो । बुढाबुढीको भनाभनबाट सुरु भएको युद्ध हानाहानसम्मै पुग्यो, सत्ता पक्ष र प्रतिपक्ष जत्तिकै । तर पैसा खाने कुरामा काङ्ग्रेस, एमाले, माओवादी, राप्रपा, मदेसबादी दलहरू मिलेजस्तै जाने कुरामा पनि हाम्रो सहमति भइहाल्यो । यताको कविगोष्ठी मेरो भागमा पर्ने नै भयो, उताको गुन्यूचोली उनको । यति कुरामा पनि पहिल्यै सल्लाह मिलाको भा भइहाल्थ्यो, यति कुरामा पनि निहुँ खोज्ने हामी पनि नेपालका नेता जत्तिकै भइयो ।
अघिल्लै दिन बेलुका दुई जना बसेर बजेट सेन्सन गर्न थालियो, तर सेन्सनले त टेन्सन गराइहाल्यो नि । गुन्यूचोलीमा जान पनि निकै ठूलो बजेट पो चाहिने रछ त, एउटी चेली मात्र चोली लाएर बसे त हुन्थ्यो नि ! उसका वरिपरि नेपालका प्रधानमन्त्रीका बढीगार्ड भन्दा बडी बसेका हुन्छन् लस्करै लोकन्ते भएर, ती सबैलाई भाग पुर्याउँनै पर्यो । यो कुराको निणर्य गर्न सरकारलाई संविधान बनाउनभन्दा साह्रो पर्यो । बल्लतल्ल निष्कर्ष निस्कियो, केन्द्रविन्दुमा दस रेक्टर स्केल र पराकम्पतिर पाँच पाँच गरेर समस्या सुल्झाउने निणर्य सरकारले भूकम्प पीडितलाई राहत बाँडे जस्तै गरि मिलाइयो । यति भएपछि सब्जी, पुलाउ, चटनी, जिलेबी, रसभरी खाइरहे पनि भयो । अब म आसन ग्रहण र उनी रासन ग्रहणमा जाने भइयो । दुई जनै हिंड्ने भएपछि खानपिनलाई झन्झट को गर्छ ! आखिर डेराको बसाइ त हो दुई/दुई कोसा केरा खाएर हिंडे भइहाल्यो, न पकाउनको टण्टा न भाँडा माझ्नको झन्झट भनेर म लुगा र दारी मिलाउन लागें उनी सारी मिलाउन थालिन् ।
अरुबेला काठमाडौं, दिल्ली, बम्बै, कलकता, जतासुकै गए पनि कुर्ता सुरुवाल लाएर जाँदा हुन्थ्यो तर यस्ता भोज भतेरमा त सारी र गरगहना त लाउनै पर्यो, लाउनु पर्यो भन्दा पनि देखाउनु पर्यो । त्यही पनि गुन्यूचोलीमा जाने । अँ, गुन्यूचोलीको कुराले भने एउटा प्रसङ्गको संझना नगराई छोडेन । एकताका दाजुकी जेठीसासूकी भान्जीकी नन्दकहाँबाट गुन्यूचोलीमा निमन्त्रणा पत्र आयो । यति नजिकको साइनोबाट निमन्त्रणा आएपछि जाउँ न त “देश पनि हेरिने मुख पनि फेरिने” भनेर दुई जनै लागियो । विशाल पण्डालमा मान्छेहरू खचाखच थिए मध्याह्न आगाडि पुराणका श्रोता जत्तिकै । हामी पनि गएर एकाछेउतिर बस्यौं, केहीबेरमा एकजना खैरो कपाल भएकी, जिन्सपेन्ट र भेस्ट लगाएकी महिला स्टेजमा निस्किइन् । हामीले सोच्यौं, कार्यक्रम भव्य नै रहेछ, विदेशदेखिलाई समेत निम्ता रहेछ, यस्तो कार्यक्रममा हामी जस्तालाई निम्तो आउनु त अहोभाग्य हो भन्ने लाग्यो र स्कुल नै नआई पास भएको विद्यार्थी जत्तिकै खुसी भयौं ।
भरे त तिनले त सबैलाई एकमुष्ट नमस्कार गएर नेपाली मै परिचय दिइन्, ती त चेलीकी मामु पो रहिछन् । परिचयबाटै थाहा भयो कि उनी निकै ठूलो पदकी नेती रहिछन्, टोल विकास संस्था, महिला परिचालन बिभाग उपसमितिकी सदस्य । यो प्रसंग संझदै म पनि सुट टाइमा सजिन थालें । दुई घन्टाको तयारीपछि ढोका लाएर निस्किइयो र लागियो आआफ्ना गन्तव्यतिर । एघार बजेदेखिको कार्यक्रम, घरमै आठ बज्यो, एउटा पन्नामा कविता अघिल्लै दिन सारेको थिएँ, हालें गोजीमा र हस्याङफस्याङ गर्दै लागें गन्तव्यतिर । एक घन्टा अघि नै पुग्यो भने कार्यक्रम संचालकले देख्छन्, नमस्ते गर्न पाइन्छ र आसन ग्रहणमा नाम बोलाउँछन् भन्ने आफूलाई लोभ ।
म पनि नाम चलेकै साहित्यकार हुँ नि । पाँच सातवटा गजल र तीन चारवटा कविता त लेखेकै छु । प्रत्येक कविगोष्ठीमा त्यही गजल र कविता दोहोर्याई/तेहेर्याई वाचन गर्दा सबैले चिनेकै पनि छन् । गोष्ठीपिच्छे नयाँ गजल र कविता त कहाँबाट आउनु र ! आफू आशुकवि होइन, परियो आँसुकवि, यसो अरुहरूका गजल कविताबाट दुई चार लाइन सार्दै पाँच पन्नाको कविता लेख्ने मान्छे ।
दस बजे नै ऐलानी सभाहल पुगेर हेरेको त बाहिरबाट यत्रो भोटेताला ठोकेको छ, आँगनमा गाई पगाहा लाएको छ, बार्दलीतिर बाख्रा बसेका छन, नाम चै बार्दली सबैतिर किन खुल्ला राखेको होला भनेर छक्क परें । कि म पो झुक्किएछु कि क्या हो, मिति पो गल्ती हेरेंछु कि क्या हो भनेर कोटको खल्तीबाट निम्तोपत्र निकालेर हेरेको ठाउँ, ठेगाना, मिति सब मिल्यो । म त झुक्किएको होइन रहेंछु, आयोजक चैं झुक्किएछन क्यार, बिचरा !! भनेर फर्किदै थिएँ, एकजना लमरङ लमरङ आउँदै गरेको देखें । यिनै रहेछन् क्यार आयोजकका सचिव भनेर एक नमस्ते हानेर सोधेको “म आयोजक होइन, यो ऐलानी सभाहलको कार्यालय सहयोगी हुँ, साढे नौमै ढोका खोलीदिनु भनेर आयोजक संस्थाका सचिबले भनेका थिए र आएको साढे दस पो भएछ ।”
उनले ढोका खोलेपछि म पनि भित्र गएर सबैले देखुन् र फोटो पनि आओस् भनेर अघिल्लै हारको पहिलो कुर्सीमा नै बसें । करिब आधा घन्टा जति एक्लै बसेपछि अरु दुईतीन जना आइपुगें र नमस्कार गर्दै भने “अघि नै आइपुग्नुभो सचिवज्यू ! हामी त भर्खर पो आउँदै छौं” म छक्क परें, म त कुनै संस्थाको सचिव त होइन । उनीहरू पनि म जस्तै पाहुना पो रहेछन् । सचिवलाई नमस्ते गर्यो भने भरे आसन ग्रहणमा पहिला पहिला नाम आउँछ भनेर मलाई नमस्ते गरेका रहेछन् ।
निकैबेरको पर्खाइपछि २/४ जना महानुभावहरू आइपुग्नुभयो । अध्यक्ष, सचिव, कोषाध्यक्ष यस्तै यस्तै के के । सबैले उठेर सबैलाई नमस्कार गर्यौं । अलि अलि गर्दै आगन्तुकहरू आउन थाल्नुभयो, तर प्रमुख अतिथिको अत्तोपत्तो थिएन । आजै सातवटा कार्यक्रममा प्रमुख अतिथि बन्नुपर्ने अरे । बल्लबल्ल प्रमुख अतिथि आइपुग्नुभो र तोकिएको समयभन्दा तीन घन्टापछि कार्यक्रम सुरु भयो । आसनग्रहणमै एक घन्टा बित्यो । मेरो पनि यथास्थानका लागि नाम आउँदा गजक्क फुलेर आसन ग्रहण गरियो । आसन ग्रहणदेखि नै सभापति र प्रमुख अतिथिबिच खासखुस सुरु भैहाल्यो, आसन ग्रहणलाई स्थगित राख्दै राष्ट्रगान नै नगराई कार्यक्रम सञ्चालकले कार्यक्रम उद्घाटन गराए, कारण रहेछ प्रमुख अतिथिले अझै तीनवटा कार्यक्रम भ्याउनुपर्ने रहेछ । बिहान सात बजेदेखि कार्यक्रमका कार्यक्रम कसरी पो भ्याउनु गाडीकै भरमा मन्त्री भएको भए पनि हेलिकप्टर त पाइन्थ्यो, अहिलेका प्रमुख अतिथि र सोर सराद्का पुरेतलाई उत्तिकै चटारो छ ।
कार्यक्रम उद्घाटन लगत्तै प्रमुख अतिथिलाई मन्तव्य लागि निमन्त्रण गरियो, तीस मिनेटको छोटो मन्तव्य राखेर मायाको चिनो लिएर प्रमुख अतिथि टाप कसे । प्रमुख अतिथिसँग फोटो खिच्दा बिदा गर्दा आधाघन्टा बितिहाल्यो, स्वागत मन्तव्य, स्वागत गान, स्वागत नृत्य हुँदै कार्यक्रम अघि बड्यो । कविता वाचनका लागि उद्घोषकले जानकारी दिए । सञ्चालकको पाँच मिनेटको पृष्ठभूमि, पाँच मिनेटको टिप्पणी हुँदै कार्यक्रम अघि बड्यो ।
कविज्यूको एउटा अनुमती पाउँ ? भन्दै तीनचारवटा कविता पस्किदा पस्किदै साँझ पर्दासम्म कार्यक्रम हुँदै थियो, सभापति मात्र रहेको हुँदा म पनि उठेर हिडें । घर पुग्दा श्रीमती पनि भर्खरै आइपुगेकी रहिछन् । उनले भनिन् “खाना त पकाउनु पर्दैन होला नि मैले त उहीँ तीनपटक खाएर आएँ” मैले पनि भनें किन पकाउनु त मैले पनि उतै खाएर आएँ । हुन पनि कार्यक्रममा एउटा समोसा, आठदसवटा निम्की र एउटा अमलाको दानु जत्रो रसभरी खाएकै थिएं । त्यो दिनको रमाइलो संझदा संझदै कतिखेर फुस्सै निदाएछु !!
०००
धुलाबारी, झापा
‘तितो मीठो’ बाट
Subscribe
Login
0 Comments
Oldest







































