डा. विदुर चालिसेबिचल्ली
नेताज्यूको सबारीमा चलिरहेको वासनाको सुगन्धले मग्मगाइरहेको परिवेशमा वाकवाकी लाग्ने सुगन्धबारे प्वाक्क कसैले मुख खोलेर भन्यो ! - “रेमिट्यान्सको तेल !”

– “हतार भो है हतार भो !”
एकजना प्रमुख अतिथि कार्यक्रम आयोजकतिर लक्षित गरेर ठुस्ठुसाइरहेका थिए । आयोजकले कार्यक्रम तन्काउँदै लगेको बेलामा एक दर्शकको नाकमा कता कताबाट आएर सुगन्धको बासना चल्यो । त्यो दर्शकले अर्को छेउको साथीलाई त्यत्तिकै सोध्यो ।
– “पर्फिमको सुगन्ध कताबाट आयो ?”
– “खै, थाहा भएन !”
त्यो साथीको नाकमा खासै सुगन्ध ठोकिएको थिएन । उसको नाकमा सन्ताप, शंसय, भय र भद्दा विरक्त थियो । उसले नाक मिच्यो । हाच्छिउँ गर्यो। रूघा लागेको जस्तो गरेर उसको नाकबाट पानी बगिरहेको थियो । उसलाई साथीले सोध्यो ।
– “रूघा त कडै लागे छ त !”
त्यो साथीले गफ हान्न थाल्यो । गफको धुनमा आफ्नो बेलि विस्तार लगायो । आफ्नै जीवनको कथाहरू भन्दैगयो । उसले दसवर्ष विदेश बस्दा भोगेका कहानी सुनाउँदै आफ्नै जीवनको करूण गाथा भन्न थाल्यो ।
– “म त साह्रै पीडित छु यार !”
– “विदेशमा पनि कोही पीडित हुन्छ र ? जोक गरेको होला !”
त्यो साथीको आँखाबाट करूणा र विस्मयका साथ वेदनाका आँसुहरू चुहिए । उसले अप्रत्यासित रूपमा भन्यो ।
– “मेरो स्वास्नी त पोइल हिंडी नि यार !”
उसको साथी झसङ्ग हुनथाल्यो । उसले पनि साथीको वेदनायुक्त कथामा मिसिएको एक्लो जीवनको पीडा बिच सोध्यो ।
– “कमाएको पैसा त होला नि ?”
– “कमाएको जति पैसा विश्वासमा पठाउँदै गएँ । आफू पनि हिंडी पैसा पनि लगेर नाठोलाई पोसी !”
– “अनि बालबच्चा ?”
– “चारवटा थिए । पाटीमा बसेका छन् !”
त्यो साथीको कहानी सुन्दा नसुन्दै कार्यक्रमका प्रमुख अतिथि माननीय नेताज्यू हतार हतारमा उनीहरू बसिरहेको छेउमा आए । नेताज्यूको सबारीमा चलिरहेको वासनाको सुगन्धले मग्मगाइरहेको परिवेशमा वाकवाकी लाग्ने सुगन्धबारे प्वाक्क कसैले मुख खोलेर भन्यो !
– “रेमिट्यान्सको तेल !”
त्यसपछि घरजम भत्केको त्यो साथीले लामो सासमा दुखेसो पोख्यो ।
– “यता न उताको भएर नेताज्यू खोज्दै बसेको ?”
०००
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest






































